October 21, 2012

इमेल नम्बर तीन

प्रिय गौरव, सुमधुर प्रेम !
अचानक तिम्रो मेल पाउँदा मलाई निकै अचम्म लागेको छ । आठ महिनापछि आएको तिम्रो मेललाई मैले सपना हो कि विपना छुट्याउन सकेकी छैन । यसलाई हर्ष भनौँ कि विस्मात मैले केलाउन सकेकी पनि छैन । तर तिम्रा शब्द र शैलीले यो तिम्रै मेल हो भनेर मैले विश्वास गरिसकेकी छु । यसरी विश्वास नगर्नुको कारण तिम्रो मेलको प्रतीक्षामा मैले सबै यथार्थलाई पनि भ्रम हो भन्न थालिसकेकी छु । जब म प्रत्येक पल तिम्रो मेलको प्रतीक्षामा हुन्थेँ त्यो बेला मैले सबै भ्रमलाई यथार्थ मान्न पुगेकी थिएँ । त्यसैले यो यथार्थ एकपल्ट मैले भ्रम ठान्न पुगेँ । यहाँसम्मकी मैले पठाएको मेलको तिमीले एक शब्दसम्म लेखेर प्रतिउत्तर दिन आवश्यक ठानेनौ । मेरो मेल पढेर ढुङ्गाझँै हृदय भएको मानिसको हृदय पनि पग्लन्थ्यो होला तर तिम्रो हृदय पग्लेन । तिमीले मलाई एउटै पनि प्रतिउत्तर पठाउन सकेनौ । मैले पठाएको त्यो मेल यस प्रकारको थियो —

प्रिय गौरव
सुमधुर प्रेम

म तिम्रो प्रतीक्षामा बाटोभरि आँखा बिछ््याएर बसेकी छु । तिमीसँगको प्रत्येक पलले मेरो आँखा ब्यूँझाइरहन्छ । प्रेमको असीम आनन्दमा डुब्दै त्यसलाई साक्षात्कार गर्दै अलौकिक आनन्दमा डुवेको क्षणमा कति तृप्ति हुन्छ म भन्न सक्दिनँ । तिम्रो प्रेम कोही बेला मधुर धुन बनेर मेरो कानमा गुन्जन आइपुग्छन् भने कोही बेला तिम्रो सम्झनाको तरङ्ग झङ्कृत भएर मेरो मानसपलमा सादृश्य हुन आइपुग्छन् । त्यो तृष्णामा छटपटाउँदै जब म यथार्थमा आउँछु त्यहाँ शून्यता पाउँछु । शून्यबाहेक अरू केही हुँदैन । त्यहाँ सबै कुरा रित्तो पाउँछु । मेरो हृदयका असीम पीडा झरना बनेर आँखाबाट झर्न थाल्छन् । कोहीबेला सबै पीडा समेटेर एउटा ठूलो पीडामा परिणत गर्छु र त्यसबाट एउटा ठूलो शक्ति प्राप्त भएको महसुस गर्छु जसरी पानीको बाफबाट रेल चल्न ऊर्जा प्राप्त गर्छ । हो त्यस्तै ठूलो ऊर्जा आफूभित्र सन्चित भएको महसुस गर्छु । त्यो उर्जामा म एउटा ठूलो शक्ति पाउँछु र म जीवनमा जुनसुकै उतारचढाव आए पनि अब लड्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्छु । साँच्चै तिम्रो मायाले मभित्र कति ठूलो शक्ति पैदा गरेको छ । तिमी त्यसको अनुमान पनि लगाउन सक्दैनौ । मभित्र त प्रेम नै प्रेम रहेछ अनि त यति ठूलो शक्ति प्राप्त हुनसक्यो । नत्र कसरी प्राप्त हुन्थ्यो होला र होइन ? वास्तवमा म त प्रेमको धनी रहेछु । तिमी पो गरिब रहेछौ । तिमीलाई मैले प्रेम दिनुपर्छ । तिमीबाट लिने वा लिन चाहना गर्ने होइन किनभने जोसँग प्रेम छ उसले मात्र दिन सक्छ र यी सब अनुभूत गर्न सक्छ । जीवन अनुभूतिको सागर हो गौरव, यो सागरको भन्डारबाट अनुभूतिको ज्ञान जसले लिन सक्छ उसले ठूलो मोक्ष पाउन सक्छ । तर तिमीले यी सब कुरालाई लिन सकेनौ । त्यसैले तिमीमा धेरै कमी छ । मभित्रको त्यो अलौकिक प्रेमको शक्ति खै तिमीले अनुभूत गर्न सक्यौ र ? तिमी त भौँतारिरह्यौ मात्र क्षणिक वासनाको लागि । अनि त्यसैलाई जीवनको ठूलो उपलब्धि ठान्न पुग्यौ । त्यो एउटा भोक क्षणिक हुन्छ र आत्माको गहिराइदेखि धेरै टाढा हुन्छ । जहाँ तिमीले प्रेमको स्वर्गीग आनन्द पाउन सक्दैनौ । तिमीले जीवनमा एउटा गहिरो प्रेमबाट पाउने तृप्तिलाई कहिल्यै लिन सकेनौ । त्यो तृप्ति तिमी टाढा बसेर पनि लिन सक्थ्यौ । तर तिम्रो सोचाइको सीमारेखा त्यहाँसम्म पुग्न नै सकेन । त्यसैले अब म आपूmलाई रित्तो र निरीह ठान्न छाडेकी छु । म त यति धेरै सम्पन्न र शक्तिशाली रहेछु भन्ने अनुभूत हुन थालेको छ । मभित्र यो शक्ति एकएक पल तिम्रो प्रेमको तड्पनमा सङ्ग्रहित भएका छन् । यो शक्ति त्यसै आएको छैन । कसरी भनेर तिमी भन्छौ भने सुन म धेरै दिनसम्म तिम्रो तृष्णामा तड्पिरहेँ । तिमी र म घुमेको प्रत्येक ठाउँमा तिम्रो पदचापको ध्वनि सुन्न हराइरहेँ । तिमी र हामी घुमेको ठाउँ र त्यो मधुर मिलन भएको दृश्यमा हराइरहेँ । प्रत्येक पल आफूलाई त्यसको आराधानामा डुबाइरहँदा ढुङ्गा पनि देवता बन्दो रहेछ भनेको हो रहेछ । यसरी मैले प्रत्येक पल तिम्रो सम्झनाको आराधानामा लगाइरहेँ । त्यसपछि मभित्र ठूलो ईश्वरीय शक्ति प्राप्त भएको महसुस भयो । अब म जस्तो सुकै परिस्थितिसँग पनि लड्न सक्छु भन्ने शक्ति प्राप्त भयो । मैले अब नौलो अनुभूतिले जीवनलाई प्रेरणादायी बनाएर बाँच्ने प्रण गरेँ । त्यो बाँच्ने शक्ति तिम्रै प्रेमले दिएको छ । तिमी पनि जहाँ कहीँ छौ सक्छौ भने त्यो अलौकिक प्रेमको चरम आनन्दमा हराउने गर । तिमी आपूm हारेको अनुभव हुन ेछैन र आपूm दुःखी भएको महसुस पनि गर्ने छैनौ । तिमीले जीवनमा नयाँ शक्ति पाएको महसुस गर्नेछौ ।
उही तिम्री हिमशिखा

तिमीलाई मैले यो पछिल्लो मेल पठाएपछि तिम्रो कुनै प्रतिउत्तर आएन । कैयौँ दिन तिम्रो मेलको प्रतिउत्तरका लागि म भाँैतारिरहेँ । जब तिम्रो यो मेल हात प¥यो त्यसपछि यसलाई सुक्ष्म रूपले विश्लेषण गरेर पढेँ । तिमीले मलाई धोका नदिएको कुरा बारम्बार लेखेका रहेछौ तर अन्तिममा एउटा कुरा भन्न चाहन्छु के सङ्गीताको मृत्यु नभएको भए तिमी मलाई सम्झेर फर्केर आउँथ्यौ ? के तिमी सङ्गीतालाई छोडेर मलाई अपनाउँथौ ? यो सम्भव छैन । किनकि तिमी सङ्गीतालाई कुनै पनि हालतमा छोडेर आउन सक्दैनथ्यौ । आएको भएपनि तिम्रो आत्माले तिमीलाई धिक्कारिरहन्थ्यो । तिम्रो सबै कथा पढेर मैले कुनै निर्णय लिन सकेकी छुइनँ । एकपल्ट म फेरि विचलित बनेको छु । तिम्रो सबै कथा पढिसकेपछि मैले पनि आफ्नो कथा तिमीलाई सुनाउन जरुरी सम्झेको छु । तिमीले मलाई छोडेर हिँडेपछि तिम्रोजस्तो मेरो पनि जीवनमा केही घटना घट्न गयो । मेरो आफ्नै काकाकी छोरी जो भर्खर प्लस टु पढ्दै थिई । उसले स्लिपिङ्ग ट््याबलेट खाएर आपूmलाई सुसाइट गर्न खोजी । उसलाई निकै दिन अस्पतालमा राखेर उपचार गरेपछि निको भई तर यसले हाम्रो परिवारमा छोरीलाई नहेर्ने नजर नै अर्को हुन थाल्यो । भएको के रहेछ भने उसको एउटा केटासँग प्रेम रहेछ । उनीहरू पोखरा घुम्न पनि गएका रहेछन् । पोखरामा उसले त्यही केटासँग रात बिताएकी रहिछ । त्यो केटाले उसका सम्पूर्ण यौनक्रिडाका भिडिओ खिचेको रहेछ । पछि उसले सो भिडिओ सार्वजनिक गरिदिने भनेर व्ल्यमेल गर्न थालेछ । यसको डरले उसले सुसाइट गर्न खोजेकी रहिछ । हामी नारी जाती कति कमजोर हुँदा रहेछौ । आफ्नै पे्रमीले आपूmमा यति ठूलो विश्वासघात गर्दा पनि थाहा नपाउने । त्यसपछि हाम्रो घरमा सबैको नजर ममाथि पर्न गयो । मैले पनि यस्तै खराब काम गछर््ु कि भन्ने सबैलाई डर भयो । अब मैले कि त मेरो प्रेमी भए प्रेमी देखाउनुपर्ने नत्र भए बिहेको लागि बुबाआमाले हेरिदिएको केटासँग राजी हुनुपर्ने बाध्यता आयो । सायद तिमी यहाँ भएको भए म तिमीलाई प्रस्ताव राख्थेँ र घरपरिवारलाई भन्थेँ तर तिमी त मदेखि धेरै टाढा कुन संसारमा थियौ मलाई पत्तो भएन । त्यसैले मैले बुबाआमाले रोजेको केटोसँग विवाह गर्न राजी भए । केटा काठमाडौँकै उच्च घरानको शिलस्वभाव राम्रो भएको छ । धेरैको मुखबाट उसको प्रशंसा सुनेपछि मैले विवाहको लागि राजी भइदिएको छु । ऊ परिवारको मात्र होइन गाउँको नै उदाहरण बनेको आदर्श पुरुष रहेछ । अहिले हामीबीच राम्रो सम्बन्ध भएको छ । हामीले एकअर्कालाई राम्रोसँग बुझिसकेका छौ । विवाह आउन अब पन्ध्र दिन मात्र बाँकी छ । हामी दुवैको सरसल्लाहले सबै किनमेल गरिसक्यौँ । ऊबाट म निकै प्रभावित छु । जिन्दगीलाई नयाँ गोरेटोबाट ऊर्जाशील बनाएर बाँच्ने प्रेरणा तिम्रै प्रेमले मलाई दिएको छ । वास्तवमा बाँच्नलाई काल्पनिक प्रेमभन्दा व्यावहारिक प्रेम नै चाहिँदो रहेछ । काल्पनिक प्रेमले अवास्तविक जीवनमा बाँच्न प्रेरणा दिँदो रहेछ भने व्यावहारिक प्रेमले जीवन बाँच्नलाई चाहिने भौतिक आधार दिँदो रहेछ । अहिले मसँग दुवै प्रेम छ काल्पनिक प्रेम पनि र व्यवहारिक प्रेम पनि । अब मलाई बाँच्न कुनै कठिन पर्दैन । तिमीले मलाई यति ठूलो प्रेमको उपहार दिएका छौ त्यसको लागि म जीवनभर तिम्रो ऋणी हुनेछु । सक्छौ भने तिमी पनि त्यो प्रेमबाट कुनै शक्ति अनुभूत गर्ने गर तिमीले जीवनमा ठूलो आत्मसन्तुष्टि पाउनेछौ । यो हाम्रो अन्तिम मेल पनि हुन सक्ने कुरा पनि तिमीलाई म बताउन चाहन्छु ।
उही तिम्री हिमशिखा

आयामिक जीवनमा प्रेमको परिभाषा

प्रिय अमर,
अमर ! धेरै दिनदेखि धुम्मिएको आकाश आज उघ्रेको छ छ्याङ्ग भएर – मेरो मनजस्तै । अहिले म सम्झँदै छु – यस्तै उघ्रेको दिन तिमी र म तराई जाने तयारीमा थियौँ । अहिले पनि त्यो बेलाको जस्तै मेरा श्रीमान् मलाई जाउलो खान कर गरिरहेका छन् । तर मलाई खान मन छैन । म वेडरेस्टमा छु । मेरा श्रीमान् मेरो सेवामा तल्लिन छन् । कति माया गर्छन उनी मलाई । मैले उनको मायाको परिभाषा बुझ्न सकेको भए मैले यो हविगत भएर ओछ्यानमा सुतिरहेको हुनुपर्ने थिएन । यस्तै अवस्थामा विगतका यादहरू तरङ्गित बनेर स्मृतिपटल छाइरहँदो रहेछ । अरू बेला त दसदेखि चार बजेसम्म बन्धनमा बाँधिएको जीवन । मस्तिष्कले यो उन्मुक्ति कहाँ पाउनु र ? यति धेरै सोच्ने फुर्सद कहाँ पाउनु र ?
अमर ! तिमी यसलाई जे नाम दिन पनि सक्छौ । यसलाई मनोवाद, कथा वा पत्र जे भन्न पनि सक्छौ । अहिले मैले आफ्नो भावनालाई भाषामा परिणत नगरी नहुँने अवस्था सिर्जेको हुनाले पनि तिमीलाई सम्बोधन गरेर मैले यो मेरो आत्मकथा सार्वजनिक गर्न गइरहेको छु । रङ्ग र कुचीसँग खेल्ने मान्छेलाई शब्द र शैलीसँग खेल्न निकै गारो पर्दो रहेछ । त्यसैले मैले मुश्किलले यो मेरो सत्य कथालाई शब्द र शैलीमा सजाएर सार्वजनिक गर्दैछु ।


– अँ, साँच्चि अहिलेजस्तै त्यो समय पनि मेरा श्रीमानले जाउलो पकाएर मेरो अगाडि राखिदिएका थिए । तिम्रो फोन मोबाइलमा आयो । मेरा श्रीमान्ले मोबाइल अन गरेर मलाई बोल्नलाई हातमा दिए । म हिँड्ने हतारोमा थिएँ । पाँचदिनको तराई बसाईको लागि सब सामान ठीक पार्नु थियो । केही सामान त श्रीमान्ले नै मिलाइदिएका थिए । तिमीसँग जाने विषयमा केही बोलेर मैले मोबाइल अफ गरिदिए । मेरा श्रीमान्ले फेरि मोबाइल चार्जमा राखिदिए । बिहान चाँडै कतै हिँडनु प¥यो भने जाउलो खाएर हिँड्ने मेरो बानी थियो । मैले जाउलो पकाउन भ्याएको थिइनँ । श्रीमान्ले नै पकाइदिए र ल्याएर छेउमा राखिदिएका थिए । त्यसबेला पनि मलाई श्रीमान्को निक्कै माया लागेर आएको थियो ‘कति माया गर्छ ऊ मलाई तर म ? म आफैमाथि प्रश्न गर्छु । किनकिन यो माया देखेर पनि कहिलेकाहीँ दिक्क लागेर आउँछ । फेरि सोच्छु नेपालमा यस्तै श्रीमान्को माया नपाएर कति महिलाहरू तड्पीतड्पी बाँच्न बाध्य छन् भने म भने यस्तो कर्तव्यपरायण पति पाउँदा पनि यसरी वितृष्णा जगाइरहेको हुन्छु । मेरो यो मनको तुषारो त्यो समय फाट्न सकेको थिएन । किन सकेन ? मलाई अचम्म लाग्छ ।’

– अँ, साँच्चि मलाई जान हतार छ । भनौ तिमीलाई भेट्न हतार छ । तिमीलाई प्रायः हरियो रङ्ग मनपथ्र्यो । मैले हरियो रङ्गको बाक्लो कुर्ता सुरवाल लगाएँ । हरियो रङ्गलाई सिर्जनाको प्रतीक मान्थ्यौ तिमी, मेरो सिर्जनाजस्तै । मैले पुलुक्क श्रीमान्को अनुहार हेरेँ । उनी मलाई जाउलो खान कर गरिरहेको भाषा आँखाबाट बोलिरहेका थिए ‘पेटको विमारी भोको बस्न हुन्न, बाटोमा सारोगारो के होला ।’ श्रीमान्को यो गनगन थियो । मलाई झर्को लागेर आयो । मैले झर्कदै जाउलो खाइदिएँ । हिँड्ने बेलामा श्रीमान्को मुख हेरेँ । उनी मलाई अँगालोमा बाँधेर म्वाई खाने धुनमा थिए । मैले वेवास्ता गर्दै व्याग टिपेर हिँडेँ । बाहिर निस्केपछि मोबाइलको सम्झना भयो । फेरि फर्केर ‘साइत बिग्रियो’ भन्दै श्रीमान्लाई चार्जमा राखिदिएकोमा रिस पोखे । श्रीमान्ले पनि ‘हिँड्ने बेलामा किन रिसाउँदै हिँड्छे राम्रो हुन्न’ भन्दै थिए । मैले सुन्दै नसुनी आफ्नो हिँडाइलाई अघि बढाएँ ।

‘म ट्याक्सीसम्म पुयाइदिन्छु ।’ श्रीमान् भन्दै थिए ।
मैले ‘घरमा केटाकेटी सुतिरहेका छन्, कोठामा कोही हुन्न ।’ यति भनेर हतारिँदै पछाडि पनि फर्कदै नफर्की सरासर बाटो लागेँ । मस्तिष्कमा तिमी बाहेक अरू केही थिएन ।
– सुषुप्तअवस्थामा रहेको मेरा चित्रकारिता मौलाउँदै थियो । एनजीओको जागिरे म अनि तिमी समाजसेवी । अफिसले तराईमा शीतलहरको लागि कपडा र कम्बल बाँड्ने योजना अन्र्तगत हामी तराई जाँदै थियौँ । तर यो त हात्तीका देखाउने दाँत जस्तै थिए हाम्रा लागि । वास्तवमा हामी दुवै गहिरो प्रेमको तलाउमा चुर्लुम्म डुबेका थियौँ । तिमी सामाजिक सेवामा लागेका मानिस म एनजीओको जागिरे । कतिपय अवस्थामा एनजीओले तिमीहरूजस्तो समाजसेवीको सहयोग लिनुपर्ने अवस्था हुन्थ्यो । यस्तो भेटघाटको प्रक्रियामा हाम्रो परिचय भएको थियो । तिमी काठमाडौँको धनाढ्य–तिमीले दुईचार लाख समाजसेवामा लगाउँदा पनि कुनै फरक नपर्ने अवस्था थियो । तिमी मनका पनि धेरै धनी थियौ । हो वास्तवमा त्यो बेला तिमीमा मैले गुणैगुण मात्र देख्दथे । यति धनी भइकन पनि तिमीमा घमन्डको कतै कुनै गन्धसम्म पनि आभास हुँदैनथ्यो । तिम्रो व्यक्तित्वपनि त्यस्तै निखारिएको थियो । तिम्रा दुइचारवटा फ्याक्ट्री र आफ्नै फाइनान्स कम्पनी पनि थियो ।
– अँ, साँच्चि हामीले तराईमा चलेको शीतलहरका लागि कपडा र कम्बल भेला पार्ने योजना बनाएका थियौँ । यसमा तिमीलाई सहभागी नबनाउने कुरै हुँदैनथ्यो । यस अघि नै हाम्रा भावनाहरू फेसबुक र मोबाइल हुँदै मनभित्र पसिसकेका थिए । बिस्तारै हामी दुई बीचमा प्रेमको बीउ उम्रन थालेको थियो । फेसवुकमा मेरो चित्रकारितालाई धेरै मन पराउनेमा तिमी पनि थियौ । मेरो चित्रकारिता फेसवुकको नौलो संसारमा बिस्तारै तरङ्गित भएर प्रशंसा पाउँदै थियो । तिम्रो स्टाटस हेरेर म तिमीप्रति आकर्षित भएकी थिएँ । आफ्नो मौलाउँदै गरेको चित्रकारिता कसरी समाजमा सजाऊ भन्ने चिन्ताले मलाई खाइरहेको थियो । यसको लागि तिमी सहारा हुनसक्दथ्यौ । बिस्तारै तिम्रो मानसिक समर्थन पाउन फेसबुकमा तिमीप्रति म आर्कषित हुँदै थिएँ । तिमी पनि आकर्षणको नयाँनयाँ गोटी फ्याक्न कम थिएनौ । त्यसैपनि सामाजिक सेवामा लागेको मानिस, मेरो चित्र प्रदर्शनीमा केही सहयोग पक्कै गर्छौ हौला भन्ने सोचि मेरो मनको कोलाजलाई तिम्रो च्याटमा यसरी पेस्ट गरेको थिएँ – ‘म चित्र प्रदर्शनीको धुनमा छु केही सहयोग गर्नुहुन्छ ?’
तिमीले पनि सजिलै भन्यौ – ‘यहाँलाई केही सहयोग गर्न सके मेरो अहोभाग्य हुनेछ । धेरै त होइन थोरै यो हृदयको कुनाबाट सहयोग गर्न सक्छु ।’

अहो ! कति मीठा थिए ती शब्दहरू ! आफैमा तरङ्गित प्रेमको मधुर ध्वनिजस्तो । रसैरसले भरिएको महको चाकाजस्तो । तिम्रा शब्दहरूमा म त्यसैत्यसै लट्ठ परेकी थिएँ । मलाई लाग्यो मैले ठूलो बैशाखी पाएको छु । अब लङ्गडो बनेको मेरो चित्रकारिता तिम्रो बैशाखी पाएर दौडनेछ । ठूलो विश्वास पलायो तिमीमाथि मेरो । मेरो चित्रप्रदर्शनीमा तिमीले ठूलो भौतिक र मानसिक सहयोग ग¥यौ । मेरो प्रर्दशनी चर्चित बन्यो । मिडियाहरूले राम्रो कभर गरिदिए । यसमा तिम्रो ठूलो हात थियो । मिडियामा आउन अलिक दरै बैशाखी नभई कसैले सक्दिैन रहेछ भन्ने कुरा यो कार्यक्रम गरेपछि मलाई थाहा भयो । मिडियाको लिक कहाँ कसरी फैलिएको हँुदो रहेछ भन्ने कुरा तब मात्र मैले थाहा पाएकी थिएँ । तर तिम्रो दरो सहाराले गर्दा होला मैले कुनै दुःख गर्नु परेन । त्यसैपनि तिमी समाजमा प्रतिष्ठित र स्थापित छँदै थियौ । तिम्रो व्यक्तित्वको अगाडि मेरो श्रीमान्को व्यक्तित्व निकै मायालाग्दो देखिन्थ्यो । उनी अपरिचित मानिसहरूसँग खासै बोल्न सक्दैनथे । फेरि उनलाई यो क्षेत्रमा त्यति धेरै ज्ञान पनि थिएन । यसरी हामी बीचको सम्बन्धको दुरी छोटिदै थियो । यसरी फेसवुक, च्याट मोबाइल हुँदै हाम्रो दुरी शून्यमा आएर विलिन भयो । हामी बीचको गहिरो सम्बन्ध दिन प्रतिदिन उच्च तापमानमा बढ्दै गयो ।
‘अमर ! जीवन कति आनन्दमय रहेछ ।’ म तिम्रो प्रेमको समुद्रमा डुबुल्की लगाउँदै भन्थे । तिमीबाट म एउटा सुरक्षित प्रेम पाएको महसुस गर्दथे । घरपरिवारमा हुने अनेकौ तनावबाट टाढा तिम्रो प्रेमको मधुर ध्वनीमा हराइरहु जस्तो लाग्दथ्यो मलाई । जीवनमा सबै कुरा भएर पनि तिम्रो प्रेमबिना त म अधुरो नै रहेछु जस्तो लाग्दथ्यो । तिमी पनि आफूले अहिलेसम्म यस्तो साथी नभेट्टाएको भन्दै ममाथि प्रशंसाका नयानयाँ फर्मूला प्रयोग गर्दथ्यौै । म मख्ख पर्ने गर्दथे तिम्रा यी कुराहरूमा । एकातिर तिमीजस्तो समाजमा स्थापित र प्रतिष्ठित व्यक्तिलाई साथी बनाउन पाउनु अर्कोतिर मेरो चित्रकारिता पनि मौलाउँदै जानुले म निकै उमङ्गित बनेकी थिएँ । लाग्थ्यो मेरो जीवनमा उमङ्गको बाढी नयाँ भेल आएको छ । त्यो भेल कसरी थाम्नु ? आफैलाई मुश्किल लाग्दथ्यो । तिम्रो यो प्रेमको छहारीले मलाई कति शीतलता दिएको छ भन्ने कुरा म तिमीसँग भेटमा भनिरहन्थे । तिम्रो यो प्रेम नपाएको भए मेरो जीवन के हुन्थ्यो होला ? आफै कल्पना गर्न सक्दिनथे । ढुसी लागेको सुन्तलाझै कुहिएर आफै झथ्र्यो होला मेरो यो जीवन । म तिम्रो प्रेममा डुब्दा असीम आनन्दको महसुस गर्दथे । यसरी हामीबीचको एकआपसी समझदारीले पनि हाम्रो सम्बन्धले दिन प्रतिदिन फल्ने र फुल्ने अवसर पाएको थियो ।
– अहिलेको तराईको भ्रमणमा तीनदिन मेरो काज थियो भने दुई दिन तिमीसँग बिरगन्जमा बिताउने सल्लाह भएको थियो । तिमीले आफै आइट्वान्टी चलाएर लगेका थियौ । अरू साथीहरू सामान राखिएको गाडीमा बसेका थिए । म र केही अन्य साथी तिम्रो गाडीमा चढेका थियौँ । तीन दिनसम्म तराईको केही जिल्लामा कपडा र कम्बलहरू बाँड्न हामी व्यस्त भयौँ । निकै झन्झटिलो काम थियो यो । यसभित्र पार्टी र जातीयताको नमिठो गन्ध छि¥यो । हामीलाई निकै गारो भयो समयमा वितरण गर्न । देशको राजनितिले दुरदर्शीता नअपनाउँदा हामी विना बाउका टुहुरा सन्तान जस्ता बन्न पुगेको चारित्रिक प्रमाणपत्र यहाँ भेट्टाएझँै लाग्यो मलाई । ग्याँस, पानी, विजुली, इन्धन बिना पनि बाँच्न हामी बाध्य नेपाली हरु कुनै दिन अफगानीस्तानको लडाइमा औपधि नपाई मर्ने बिमारीको हालत हुन्न भन्न के बेर र ? अझ साम्प्रादायिकताको उग्ररुप देखेर सर्वियाको गृहयुद्धमा कोसोभोको एउटी बूढीआमै आफ्नै चिहान खनेर मृत्यु कुरेर बस्नु पर्ने बाध्यता हामी नेपालीलाई आउँदैन भन्न के बेर छ र ? हो , यो सामाजिक सेवामा पनि आत्मसन्तुष्टिलाई बिथोल्ने विषाक्त तत्वबाट हामी नराम्ररी सक्रमित बनेका थियौँ । एकातिर तराईवासीको भाषा नबुझिने भएर पनि हामीलाई धेरै कठिनाइ परेको थियो । स्थानीय संघसस्थाले हामीलाई सहयोग गरे पनि उदारकर्ताले गरेको यत्रो सहयोगलाई पनि उनीहरू खासै अनुग्रहीत हुन नसकेको व्यवहार गर्दथे । यसले हाम्रो मानसिकतामा हल्का नकरात्मक असर परेको थियो । तर जान्ने बुझ्नेहरूले यस कार्यको सह्राना र प्रशंसा गरेर हामीलाई धन्यवाद दिएका थिए । वास्तवमा सबै क्षेत्रमा अँध्यारो र उज्यालो दुईवटा पाटो हुँदोरहेछ जो हामीले पनि यहाँ भेट्टाएका थियाँै ।

चौथौ दिनको काम सकेर दिउँसो साथीहरू काठमाडौँ फर्के । हामी दुईजना चाहिँ बिरगन्जको रक्सौलमा सामान किनेर फर्कने भनेर बहाना बनायौ । केही साथीलाई हाम्रो सम्बन्धको बारेमा थाहा थियो । अहिलेको समयमा धेरैजसोले यस्ता कुरालाई सामान्यरुपमा लिन थालेका छन् । अहिलेको खुला स्वतन्त्रता भएको समयमा यस्ता कुरालाई खोतलिरहने कसलाई फुर्सद होस् र ! हामीले विरगन्जको एउटा लजमा कोठा बुक गराएका थियौ । त्यही बसेर भोलिपल्ट सपिङ्ग गरेर घर फर्कने योजना ग¥यौ । यो योजना तिमीले नै बनाएका थियौ । मलाई यसरी रक्सौलमा सबै साथीभाइले थाहा पाउने गरी आउने विचार थिएन । तर तिमीले पटक्कै मानेनौ । तीनदिनसम्म तिमीले मसँग कुनै प्रेमलीला मनाउन नपाएकोले मेरो सान्निध्यताको लागि निकै व्यग्र देखिन्थ्यौ ।
त्यो व्यग्रता एकान्त कोठामा यसरी पोखियो, तिमी भन्दै थियौ – ‘लुकेर गरेको यस्तो माया कति प्रिय हुन्छ हगि डालिङ्ग हेर न घरमा श्रीमती भएपनि तिम्रो यो चुम्बन कति मीठो छ ।’
मैले तिम्रो भनाइमा पौष्टिकता थपेर रसिलो बनाएर तिमीलाई यसरी पिलाइदिए– ‘हो नि घरको खानाभन्दा बाहिरको चट्ट पकाएर दिएको कति मीठो हुन्छ । घरमा त पकाउँदा पकाउँदै अमन भइसकेको हुन्छ ।’
मेरो भनाइले तिमीलाई निकै उर्जा दिएछ क्यार मलाई अझ जोडले च्याप्तै म्वाइ खाइदियौ । म पनि लुटपुटिएर तिम्रो चौरासी व्यन्जनको भोजनमा मिठास थप्न उद्विग्न बनेँ । तिमीले ममाथि खर्च गरेको पैसा र समयको एकएक पाइ उकास्न मबाट आत्मसन्तुष्टि लिइरह्यौ । हुन पनि हो यति धेरै पैसा र लगानी गरेपछि जो कोही पनि लगानी उठाउन तत्पर रहन्छ भन्ने तिम्रो वकालती तर्कलाई मैले पूर्णरुपले व्यवहारिक समर्थन गरेकी थिएँ । तिम्रा कुनै पनि कुरालाई म नकार्न सक्दिनथेँ । वास्तवमा यो एकपक्षिय लेनदेन थिएन, दुई पक्षिय थियो । तिमीमा भएको चीज तिमीले मलाई दिएका थियौ । ममा भएको चीज मैले तिमीलाई दिएकी थिएँ । यसमा कसैलाई हानी भयो कसैलाई नाफा भयो भन्ने थिएन । लजमा पुगेको दिन र रात तिमी मेरो यौनको मधुर रस पिउन निमग्न रह्यौ । हामी यौनको नौलोनौलो चरणपार गर्दै आकासिइरहेका थियौ, बेखवर यो दुनियाँबाट धेरै टाढा हराइरहेका थियौँ । निकै लामो दैहिक र अलौकिक आनन्दपछि हामी यथार्थ जीवनको धरातलमा ओर्लन आइपुग्यौँ । प्रेमको रुग्ण प्राणीझैँ तिम्रो प्रेमको शीतल जलले मेरो जीवनले संजीवनी पाएसरह महसुस ग¥यो ।
अमर ! तर आज ती सब बिलाएका छन् । मात्र म खालीखाली शुन्य छु । मभित्र महाशुन्य मात्र छ । अरू सब अतीतका गर्तमा बिलाइसकेका छन् । अहिले छ भने मात्र सहरभरि तिमीसँग मैले नाजायज सम्बन्ध गाँसेर तिमीबाट फाइदा लिएको प्रदुषित हावाका झोकाहरू छन् । जुन झोकाहरू काँडा बनेर मेरो मन र मस्तिष्कलाई बिझाउने गर्छन् । हेर, अमर ! नारीहरू कति विवश र निरीह रहेछन् । हुन पनि हो प्राचीनकालदेखि नै शक्ति हुनेले निर्धो र निरीहलाई थिचोमिचो गर्दै आएको छ । यसमा हामी नारीहरू पुरुष र समाजबाट थिचिएको कुरा अपवाद हुनसक्दैन । वास्तवमा तिम्रो र मेरो सम्बन्ध लोकलाई सुहाउँदो थिएन । यसलाई मानिसहरूले मान्यता दिने कुरा हुँदैनथ्यौ किनकि हामी दुवैको आआफ्नो संसार थियो । तर जब मान्यताको कुरा आउँछ समाज द्विविधामा पर्न जान्छ । यसलाई अनैतिक र चरित्रहिनताको उपाधि दिन पुग्छ । यसमा पनि तिमी पुरुषलाई समाजले यथेष्ट बचावट गरिदिन्छ अनि सबै आरोप र लाञ्छानाहरू कन्टेनर बनेको हाम्रो भाग्यमा थोपरिदिन्छन् । यो अचम्मको कुरा पनि होइन । एउटा महिला कसैसँग प्रेम सम्बन्ध राखेर गर्भधारण गर्छे तर समाजले पुरुषलाई केही भन्दैन ऊ चोखो रहन्छ तर महिलालाई नै व्यभिचार र पातकी भन्ने विभुषणले विभुषित गरिदिन्छ ।
– हो, अहिले सहरभरि यही हल्ला छ । तर तिमीले यसको प्रतिकारको लागि केही भनेका छैनौ । त्यसैले मेरो मन बोझिलो भएको थियो । धेरै दिनसम्म हुस्सु लागेको आकाशजस्तो भइरह्यो । मैले मेलमा यसबारे तिमीलाई प्रश्न र जिज्ञासा राखेको थिएँ तर धेरै दिनसम्म तिमीले कुनै प्रतिउत्तर दिएनौ । त्यसैले धेरै दिनसम्म मेरो मन हुस्सुलागेको आकाशजस्तो भइरह्यो । मैले तिम्रो मेलको धेरै प्रतीक्षा गरे भने मोबाइल त तिमीले उठाउँदै उठाएनौ ।

– अँ साँच्चि, हामी बिरगन्जको रक्सौलबाट सामान किनेर फर्कदै थियौ । गाडी तिमीले नै ड्राइभ गरेका थियौ । जे हुनु थियो यही समयमा भयो । समयले ठूलो बिडम्बना बोकायो मेरो भाग्यमाथि । आउँदाआउँदै मुग्लिङमा हाम्रो कार एक्सिडेन्ट भयो । मैले केही थाहा पाउन सकिनँ । पछि हस्पिटलमा होश आउँदा मलाई टाउकोमा ठूलो चोट लागेको थियो । एउटा खुट्टा दुई ठाउँमा फ्याक्चर भएको थियो । अर्को खुट्टा र हातहरूचाहिँ राम्रै थिए । यो घटनापछि हाम्रो सम्बन्धको विषयमा दुषित हावा सहरभरि अश्रुग्यासझै फैलियो । तिमीले त आफ्नो बचावको लागि आफूलाई मानसिक र शारिरीकरूपले नै तयार राखेका रहेछौ । एक्सिडेन्ट भएको देख्ने मान्छे भन्थे ‘ड्राइभरले आफूलाई जोगाएछ ।’ हो, तिमीले आफूलाई जोगायौ । त्यसैले तिमीलाई केही भएन । तिमीले आफ्नो शरीर मात्र जोगाएनौ आफ्नो चरित्रलाई र व्यक्तित्वलाई पनि जोगाउन हस्पिटलमा ‘मलाई को ?’ भनेर मानिसहरूले सोध्दा ‘बाटोमा लिपट दिएकी मान्छे हो’ भनेर भनेछौ । तिमीले किन यसौ ग¥यौ ? ‘तिमीले मेरी प्रेमिका भनेर भन्न पनि त सक्थ्यौ नि !’ तिमी यति लाचार र पानीमरुवा हौला भन्ने मैले कहिले सोचेकी थिइनँ । म स्त्रीजाती भएर अर्काकी श्रीमती भएर पनि आज म तिमीलाई मैले प्रेम गर्थे भनेर यी सब कुरा सार्वजनिक गर्ने साहस गर्दैछु भने तिमीले मलाई त्यो मरणशील अवस्थामा किन यस्तो निर्दयी व्यवहार ग¥यौ ? तिमीले मलाई मेरी पे्रमिका, साथी वा अरू कोही आफन्त भन्न पनि सक्थ्यौ । किन सकेनौ ? तिमीलाई त केही भएको रहेनछ । मलाई हेर्न एकपल्ट पनि किन अस्पताल आएनौ ? तिमीलाई तिम्रो आफ्नो स्टाटसको यत्रो चिन्ता रहेछ ! तिमीले मलाई तिम्री पे्रमिका नै भनेको भए पनि मलाई विवाह गर् भनेर म भन्ने थिइनँ । तिमीसँग म अंश माग्न पनि आउने थिइनँ । किन की हामीले जे ग¥यौ त्यो सब दुवैको सहमती र आत्मसन्तुष्टिका लािग गरेका थियौ तर तिमीले आफ्नो घृणित हृदयको परिचय यसरी दिन्छौ भन्ने मैले सोचेकी सम्म थिइनँ । तिम्रो त्यो नालायकी पुरुषार्थप्रति मेरो धिक्कार छ । आज तिमीले मेलमा आफ्नो मनको कालो सबै पोखेका रहेछौ । त्यसैले पनि मेरो मन आज घाम लागेको दिन भएर उज्यालिएको छ ।
अमर ! आज म धेरै खुसी छु । मेरो श्रीमान् मेरो स्वास्थ्यको लागि हरदम लागिपरेका छन् । सहरभरि आफ्नो श्रीमतीको बारेमा चारित्रिक हत्या हुने हल्ला फैलदा पनि उनी पटक्कै निरश र विचलित बनेका छैनन् । अझ मेरो स्वास्थ्यप्रति उनी निकै चिन्तित छन् र मेरो सेवासुसारमा उत्तिकै लागिपरेका छन् । वास्तवमा प्रेम को परिभाषा के हो ? मैले प्रेमको परिभाषालाई यसरी बुझेको छु – पवित्र प्रेम त्यो रहेछ जुन आफ्नो खुसी सँगै खुसी हुन्छ र दुःखसँग दुखी हुन्छ । अहिले मैले त्यो पवित्र प्रेम मेरो श्रीमान्को आँखा पढिरहेको छु किनकी म तिमीसँग रासलीलामा बिताएको समय खुसी हुँदा उनी पनि खुसी देखिन्थे र अहिले म तिम्रो घृणित व्यवहारबाट दुःखी बन्दा उनी पनि दुःखी बनेका छन् ।

आइफल – तिमीसँग बाँच्दा

फ्रान्सबाट फर्केपछि म जयाजीको घरमा बस्ने कुरा तय भएको थियो । मलाई लिन वाटर लु स्टेशनमा बुद्धि दाइ आइपुग्नुभएको थियो । जयाजीको घरमा आएपछि जयाजीलाई लेख्नका लागि केही पेपर मागेँ । उहाँले मलाई मोटो डायरी हातमा थमाइदिनुभयो । मैले ‘भो दुइचार वटा पेपर भए हुन्छ’ भन्दा पनि उहाँले पटक्कै मान्नुभएन ।


‘तपाईंले यो डायरी भर्नुपर्छ साथी ।’ साथी जयाको अनुग्रहयुक्त आत्मीय बोलीले मलाई गलाएको थियो । त्यसो त बेलायतमा संस्मरण विमोचन हुने र पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गोपीकृष्णजीले गर्ने भनेपछि मेरो संस्मरण ‘सिर्जना र सन्त्रास’को पिडीएफ फाइल पठाइसकेकी थिएँ । मेरो संस्मरण ‘सिर्जना र सन्त्रास’ पढिसकेका गोपीकृष्णजी भेट हुँदैपिच्छे मेरो सस्मरणसङ्ग्रहको ‘के सारो हाउ..!’ स्तम्भ निकै मन परेर मलाई बारम्बार जिस्काइरहनु हुन्थ्यो । अनि भेट हुँदैपिच्छे संस्मरणमा यो कुरा त पक्कै आउँछ होला नि भनेर मलाई जिस्काइ रहनुहुन्थ्यो । धेरै साथीहरूले ‘बेलायत भ्रमणको बारेमा चाहिँ पक्कै लेख्नुपर्छ है ।’ भनेर हुटहुटी लगाइरहनु भएको थियो । यो हुटहुटीको भेल भेटमा त छँदै थियो अझ बढी अहिले निकै चलेको भेटघाटको चौतारो फेसबुकमा भेलबाढी उर्लेर नै आउने गरेको थियो । सबै भेलबाढीलाई साम्य बनाइ बेलायतको यात्रामा यात्रारत थिएँ म । अरू यात्राको जे जस्तो भए पनि मेरो यो पहिलो विदेशको साहित्यिक भ्रमणलाई पक्कै शब्दमा अमर बनाउँछु भन्ने दृढसंकल्पले मेरो मनमा इच्छाको खिचडी पकाइरहेको थियो । मेरो लेखनको फाँटमा एउटा यात्रासंस्मरणको विज त्यहीसमय मैले रोपिसकेकी थिएँ । बेलायत र फ्रान्सको भ्रमणभरि मैले उक्त बिज हुर्काउन र मलजल गर्न हरसम्भव प्रयास गरिरहेँ । भ्रमण र सम्मेलनको प्रत्येक पललाई मैले आफूभित्र जीवित बनाइरहेँ । परदेशमा लेख्नको लागि अनुकुल वातावरण हुन सकेको थिएन । फ्रान्सबाट फर्केपछि चाहिँ जयाजीको एकान्त कोठामा केही लेख्ने अनुकुलता मिल्यो । जयाजीले डायरी दिनुबित्तिकै भ्रमणलाई यसरी खेस्राको रूपमा अभिलेख गर्न थालेकी थिएँ ।

शीर्षक ऐतिहासिक सम्मेलन र मेरो बेलायत भ्रमण वा बेलायतबाट बिदा लिँदा
बुदाँहरू १)बेलायतबाट बिदा लिँदा
२) आइफल – तिमीसँग बाँच्दा
३) सत्यको विजय
३)इतिहासका स्वर्ण अक्षरले लेखिएको त्यो क्षण
४)कार्निभलको त्यो मेला

यति बुँदा लेखिसकेपछि म सर्वप्रथम ‘आइफेल–तिमीसँग बाँच्दा’को बुँदामा पोखिन पुगँे । मेरो जीवनको यात्रामा म आइफल टावरमा पुग्दाको जस्तो रोमाञ्चित कहिल्यै कतै हुनसकेको थिइनँ । टावरमा पुगेर मैले पानामा त्यहाँ पुग्दा मलाई कस्तो अनुभूति भयो त्यो कुरा लेखेकी थिएँ । त्यहाँ पुग्दा म यति रोमाञ्चित भए कि सकेसम्म म त्यो अनुभूति चाँडो शब्दमा उतार्न चाहन्थे । त्यसैले मैले पहिलो संस्मरण ‘आइफल– तिमीसँग बाँच्दा’ लेख्न पुगे ।
‘जीवनका अनुभूतिले अनेकौँ रङ्ग बोकेर हिँड्दो रहेछ । मैले सायदै कल्पना गरेकी थिएँ हँुला । एकदिन आइफल टावरमा चढछु भनेर । त्यो कल्पना अहिले यथार्थ भएको छ । जीवनको अनुभूति बोकेर हिँड्ने क्रममा हामी अनेकौँ यात्रामा दौडिरहेका हुन्छौँ । बालककालदेखि नै म पहाड चढेको सपना देख्थे । कहिलेकाहीँ माथिबाट तल हेर्दा डराइरहेकी हुन्थे र त्यो पहाड चढाइ आज आइफल टावरमा आएर साकार रूप लिएको छ । सपनामा पहाड चढनु सफलताको प्रतीक मानिन्छ । सायद मेरो जीवनले पनि एउटा सफलताको उचाइ बोकेर आइफेल टावरबाट मेरो सपनालाई विपनामा परिणत गरिरहेको छ । यो सौन्दर्यको अद्भूत दृश्य सायदै कतैबाट देख्न सकिएला ! टावरको मुनि सेन नदी मलीन मुस्कान बोकेर बगिरहेकी छे । स्टीमरमा खचाखच पर्यटक बोकेर सेन नदी दौडिरहेकी छे । सेन नदी पर्यटकको रमझम देखेर नयाँ दुलहीझँै लज्जालु मुस्कान बोकेर शालीन भावमा चहलपहल गरिरहेकी छे । लाग्थ्यो आइफल टावर आत्मास्वाभिमानको बिशाल छाती लिएर पेरिस सहर र सेन नदीलाई आफ्नो आस्तित्वको आभास गराइरहेको छ । त्यसैले विश्वको लाखौँ पर्यटकले उसलाई आरोहण गर्दा पनि ऊ पटक्कै बिचलित भएको छैन । अझ ऊ गौरव र आत्मस्वाभिमानको प्रतीकात्मक कथा बनेर विश्वलाई पढाइरहेको छ । मलाई टुप्पोमा आएर करीव तीनसय मिटर तल हेर्दा पटक्क डर लागेको छैन । बेलाबेलामा यो टावर हल्लिएझैँ लाग्छ । पर्यटकहरू खचाखच छन् । अग्लोबाट तल हेर्दा देखिने डर र त्रास मलाई पटक्कै भएको छैन । म पेरिस सहरको मनोरम सौन्दर्यमा आफैलाई हराउँछु । टावरको एकतर्फ जोडले हावा चलिरहेको छ । अर्को तर्फ म साथी गीता छौँ । अब केहीछिन पछि हामी फोटो खिच्न लाग्नेछौँ ।’

टावरको टुप्पामा पुगेर मैले यी माथिका वाक्यांश एउटा पेपरमा लेखेकी थिएँ । मनमा अनेकौँ अनुभूति र भावहरू तछाडमछाड गर्दै टावर हल्लिएझैँ मन हल्लिरहेको थियो । तर सबै भावलाई एकैछिनको बसाइमा पोख्न नसकिदो रहेछ । टावर चढ्न फेदीमा बस्दादेखि नै मेरो मन त्यसैत्यसै विचलित भएको थियो । म कसरी यहाँ आइपुगेँ ? मनभित्र प्रश्नका उत्तरहरू एकपछि अर्को पाना उघ्रिएझँै उघ्रन तम्तयार थिए । हामी आइफल टावर चढ्न फेदीमा टिकट काटेर लिफ्टमा चढ्न लाइनबद्ध भएर बसेका छौँ । आइफेलको भव्यता देखेर म अघि देखि नै निकै रोमाञ्चित भइरहेकी थिएँ । आइफेलको अगाडि रहेको ठूलो पानीको फोहरा भएको दृश्यलाई आँखाभरि बिछ्याएर आइफेल टावरलाई हृदयमा उभ्याएका थियौ । आइफेलको अगाडि रहेको ठूलो पानीको फोहरा भएको दृश्यलाई आँखाभरि बिछ्याएर आइफेलको आँगनमा आइपुगेका छौँ । आइफेल टावरको चार ठूलठूला स्तम्भ जमिनमा यसरी गाडिएका छन् कि ती आफै जमिनबाट उम्रिएका हुन् कि झैँ लाग्दथे ।
आजभन्दा करीब सवासय वर्षअगाडि तयार भएको यो आइफेलको भव्यता देखेर भित्र कताकता डर लागेजस्तो अचम्म लागेजस्तो भएर अनेकौँ अनुभूतिले छोपेजस्तो भएको थियो । अहिले हामी आइफल टावरको टुप्पाबाट तलतिर झर्दै गरेको लिफ्टको प्रतीक्षामा छौँ । हामी उभिएको छेउमा ठूलठूला पहेँला घ्याम्पाजस्ता मेसिन उठेर माथि आउन थाल्यो । यसरी आउँदा माथिका लिफ्ट तलतिर झर्दो रहेछ । त्यो दुई खन्डमा बाँडिएको लिफ्टमा झण्डै पचासजना जति पर्यटकहरू राखिदो रहेछ । त्यो स्वचालित लिफ्टलाई ठूलठूला फलाममा डोरीले तल झार्दै र माथि तान्ने काम गरिदोरहेछ ।

यसरी चारैतिरको स्तम्भबाट यस्ता लिफ्टहरूमा मानिसहरूलाई टावरको सेकेन्ड फ्लोरमा पु¥याइदो रहेछ । त्यसपछि अर्को सानो लिफ्टमा करीब बीस जनाजतिलाई टुप्पामा लागिदो रहेछ । निकैबेरको पर्खाइपछि हामी सेकेन्ड फ्लोरमा पुग्यौँ । त्यहाँ मानिसहरू खचाखच थिए । धेरै जसो फोटो खिच्नमा व्यस्त थिए । हामी पनि एकछिन फोटो खिचेर टुप्पामा जाने लिफ्ट चढ्न लाइनबद्ध भयौँ । झण्डै पैतालिीस मिनेटको प्रतीक्षापछि हामीले सानोे लिफ्ट चढ्ने सौभाग्य पायौँ ।
यतिञ्जेल म भावनामा नै डुबिरहेकी थिएँ । मनमा फ्रान्स भ्रमणको तयारीको नोस्टाल्जियाले वर्तमानको ढोका ढकढकाउन थाल्यो । क्रमशः सबै दृश्यहरू एकपछि अर्को गर्दै मेरो स्मृतिबिम्बमा उघ्रन थाले ।

फ्रान्स आउन म मनोवैज्ञानिकरूपले तयार थिइनँ । किनभने फ्रान्समा कोही नातेदार वा चिनजानको मानिस नहुनु यस्को प्रमुख कारण थियो । तर मित्र जया र विकलको बारम्बारको फ्रान्सको भिसा पनि जसरी भए पनि लिएर आउनू
भन्ने आत्मीय आग्रहलाई मैले नकार्न सकेको थिइनँ । फ्रान्सको भिसा लिनु मेरो लागि अत्यन्त बोझिलो काम भएको थियो । तर पनि साथीहरूको आत्मीय भावले लफ्रक्क भिजायो मलाई अनि त्यो बोझिलो काम पन्छाउन फ्रान्सको भिसा अप्लाई गर्न गोविन्ददाजु र गीताजीसँगै फ्रान्स एम्बेसी पु¥यायो मलाई । युके उड्नु पाँच दिन अगाडि हामीले भिसाको लागि पासपोर्ट एम्बेसीमा बुझाएका थियौँ । हामीलाई सोमबार पासपोर्ट दिने भनिएको थियो तर सोमबार नदिएर मङ्गलबार दिने भनियो । हाम्रो युकेको उडान बुधबार थियो । तर हातमा पासपोर्ट थिएन । मनमा अनेकौँ शका र उपशकाले धर्ना दिइरहेका थिए । मङ्गलबार बिहान फ्रान्सको भिसा हातमा परेपछि मात्र युकेजान पाउने सफलताले मनमा खुसीको पङ्खा लगाएर नाच्न थालेको थियो । हातमा भिसा लागेको पासपोर्ट परेपछि मात्र आफू वास्तविक रूपमा सपनाको सहर युके पुग्ने भए भनेर मनमा उमङ्गको बाँसुरी बज्न थालेको थियो । सबै साथीभाइ र इष्टमित्रबाट पाएको शुभकामनाहरू बाँसुरीको मिठो धून भएर कानमा गुन्जन थालेपछि मन रोमाञ्चित र हर्षित भएर नाच्न थालेको थियो । कहिल्यै बोइङ्ग नचढेको यो तन मन भावनाका अनेकौँ लहरले उचालिन र पछारिन थालेको थियो । बेलायत जाने भनेपछि नै मैले यो सम्बन्धि यात्रासस्मरणका केही थोरुै पुस्तक पढ्न थालेकी थिएँ ।

अहिले गीताजी र म लाइनबद्ध छौ । युके आएदेखि हामी एकछिन पनि छुट्टिएका छैनौँ । अहिले गफका विभिन्न च्यानलहरू फेर्दै हामी गप्फिन मस्त छौँ । आइफेल टावरको फलामको यो बनोट देखेर म यति मन्त्रमुग्ध हुन्छु कि कसरी यी यन्त्रहरूलाई एकअर्कामा जोडेर यत्रो भीमकाय मेसिन बनाउन इन्जिनियरहरू सफल भए होलान् । मनले विचारसँग दोहरी खेल्न थाल्यो । यतिधेरै वर्षसम्म ती फलामहरूलाई कसरी स्याहारसम्भार गरेर जतनले राखिएको होला भन्ने उत्सुकताले मनको पहाडलाई खोतल्न थाल्यो । फ्रान्सको भौतिक विकासमा यो आइफल टावरलाई उत्कृष्ट उदाहरण मान्नुपर्छ । यसले गर्दा आज फ्रान्सले पर्यटकक्षेत्रमा राम्रो प्रगति गर्न सकेको होलाझै लाग्यो मलाई । मैले आइफेल टावरसम्बन्धी अघिपछि केही जानकारी लिएकी थिएँ । यो टावर इन्जिनियर गुस्ताभ आइफलले सन् १८८९मा दुई वर्ष दुई महिना पाँच दिन लगाएर बनाएका थिए । वर्षको करीब ६ करोड मानिसहरू यो टावर को अवलोकनलाई आउँदथे । संसारको सातौँ आश्चर्य मध्ये एक पर्ने यो टावर फ्रान्सको मात्र नभई विश्वको नै ऐतिहासिक धरोहरको रुपमा स्थापित रहेछ । यसरी आइफेल टावर सम्बन्धि छोटो जानकारी मलाई थियो ।

म यो टावरको प्रत्येक सानासाना यन्त्रहरूमा आँखा डुलाउन पुग्छु । ती साना यन्त्रहरू यति धेरै मिलाएर राखिएका छन् म निकै अचम्मित बन्दछु । हामी टुप्पामा पुग्न लाइनबद्ध भएको छौँ । यस दोस्रो तलामा रेस्टुरेन्ट र केवीनहरू छन् । मानिसको सुरक्षाको लागि ठूलठूला तारको बार बनाइएको छ । भने प्रत्येक ठाउँमा कता जाने भन्ने विषयमा राम्ररी निर्देशन दिइएको छ ।

एकछिन पछि हामी लिफ्टमा चढ्छौँ । यो लिफ्टलाई चलाउन भित्र एकजना मानिस बसेका थिए । लिफ्ट माथि जानथालेपछि मनमा डरले बास लिएजस्तो भयो । सिसाबाट टाढा र मुनिका दृश्यहरू देखिइरहेका थिए । फलामका ठूलठूला विमहरूलाई छिचोल्दै लिफ्ट माथिजान थाल्यो । अहो यहाँबाट झरे कसरी तल पुगिएला? मानिसले यात्रामा मनको डरलाई निकालेर घरमा नै ताला लाएर हिँडेमात्र यात्राको वास्तविक मजा लिन सकिन्छ भन्ने आफ्नो मनको सिद्धान्तले आफैलाई सिँगारेर राखे आइफेल टावरको सौन्दर्यसँगै । त्यसपछि मन केही शान्त भयो ।

माथि पुगेपछि मलाई मेरो सगरमाथाको सम्झना भयो । वास्तवमा उचाइ भनेको उचाइ नै हो । मेरो सगरमाथाबाट पनि यस्तै दृश्य देखिएला जस्तो लाग्यो । आइफेल टावर र मेरो सगरमाथाबीच ठूलो भिन्नता थियो त्यो के भने मेरो सगरमाथा प्रकृतिको अनुपम उपहार थियो भने आइफेल टावर मानिसको उच्च बौद्धिकता र लगनीलताको प्रत्यक्ष उदाहरण थियो । टुप्पामा पुगेपछि लाग्यो म आइफल टावरसँग समाहित भएकी छु । म यसैभित्र हराएकी छु । सम्पूर्ण विश्वलाई आत्मास्वाभिमानको पाठ पढाइरहेको आइफल टावरलाई म यसरी पढिरहेकी छु ।

‘आइफल तिमी महान छौ । कसरी तिमी ससारलाई आफ्नो अस्तित्व कायम राख्दै सेन नदी र पेरिस सहरलाई आफ्नो भव्यता र सुन्दरताको परिचय दिइरहेका छौँ ।’ यो परिचय तिमीले त्यत्तिकै पाएका हैनौ । तिमीले कति लडाई लड्नुप¥यो होला यो परिचय दिन । तिमीले ठूलो सङ्घर्ष गरेका छौँ । आज लाखौँ पर्यटकले तिमीलाई आरोहण गर्दा पनि तिमी पटक्क विचलित भएका छैनौ । हो तिमीबाट हामीले धेरै कुरा सिक्नुपर्छ । एउटा सङ्घर्षशील, अपराजित मानसिकता, उत्कृष्ट कालगढीको सफल नमूना बनेर तिमी हाँसिरहेका छौँ । मलाई लाग्छ तिमी म हौ र म तिमी हुँ ।’
आइफलाई मैले यसरी पढेँ । मन असाध्यै रोमाञ्चित र उद्वेलित भएको थियो । मैले मेरा प्रिय मित्र जया र विकललाई सम्झे र धेरै धेरै धन्यवाद दिएँ । उनीहरूले आत्मीय आग्रह नगरेको भए आज म विश्वलाई आफ्नो आत्मस्वाभिमानको पाठ पढाउने आइफललाई आरोहण गरी आफूभित्र समाहित गर्न सक्ने थिइनँ हुँला । मलाई लाग्यो मेरा अघिका पूर्खाले यो आइफललाई हेर्न पाएनन् भनौँ सकेनन् । अब मेरा आउने पुस्तामा पनि कसैले हेर्न पाउला कि नपाउला मेरो मनले मनको तार लाई रेट्न थाल्यो मेरो जीवनले ठूलो मोक्ष पाएको राग अलाप्न थाल्यो । आज मैले विश्व प्रसिद्ध टावर आइफल टावरलाई आरोहण गरेकी छु । मेरो जीवनको लक्ष्य आइफेल टावरको अस्तित्वसँगै प्रतीकात्मक भएर मनभित्र उभिएको छ । मेरो मनमा अर्को आइफेल टावर बन्दैछ सघर्ष, अस्तित्व, लगनशीलता, साधना र आत्मस्वाभिमानको ।

म डुबिरहेको छु, आइफेलको भव्यतामा । जति नै आइफललाई पढ्न खोज्छु उति नै आफूले कम पढेझैँ लाग्छ । आइफलको भव्यतासँगै यसका निर्माणकर्ता इन्जिनियर गुस्ताभ आइफलको प्रतिबिम्ब मेरो आँखामा उत्रन्छ । जस्को फोटो टावरको ठाउँठाउँमा राखिएको छ । टावरको टुप्पामा एउटा केविनभित्र उनै इन्जिनियरको मूर्ति अहिले बोलुलाझँै गरी राखिएको छ । साथमा अन्य एक स्त्री र अको एकजना सहयोगीको मूर्ति पनि छ । मलाई लाग्यो प्रतिभा कला, लगनशीलताका पयार्यबाची बनेका तिनै इन्जिनियर गुस्ताभ आइफल नै टावर हुन कि भनेझै लाग्यो । यसरी मैले विभिन्न कोणबाट आइफललाई पढेँ ।

शब्दलाई आकृतिसँग संयोजन मिलाउन हामी फोटो खिच्न तम्तयार हुन्छौ । टावरको टुप्पामा धेरैजसो मानिस फोटो खिच्नमा नै व्यस्त देखिन्थे । टावरबाट पेरिस रहरको टाढाटाढाको दृश्यलाई आँखामा कैद गरेर राखेँ मैले । टुप्पाबाट देखिने सबै दृश्यलाई आँखा र मनमा समेटेपछि हामी तल झर्ने मनसायले सिढीबाट ओरालिन्छौँ । कहाँकहाँ धेरै तल मानिसहरू एउटा बिन्दु सल्बलाइझँै सल्बलाएका देखिन्छ । निकै तलझरेपछि चारवटा स्तम्भ जोडिएको एउटा ठूलो क्षेत्रफल भएको फराकिलो बजार जस्तोमा हामी आइपुग्छौ । यहाँ आइपुग्दा हामी टावरमा छौँे जस्तो पनि लागेन । यो एउटा व्यस्त बजारजस्तो लाग्यो । रुखबिरुवा फूलबारी भएको अनि ठूलो रेस्टुरेन्ट र सिनेमा हल भएको बजारजस्तो लाग्दथ्यो । हामी चारैतिर फनफनी घुम्यौ र फोटो खिच्यौँ । अघि माथि जाँदा हामीले यो भाग देख्न पाएका रहेनछौँ । अहिले हिँडेर आउँदा थाहा पायौँ । यसरी हिँडेर आउँदा राम्रो गरेको लाग्यो । अब फर्कनलाई सूत्र मिलाउन थाल्यौँ । अब हिँडेर जान निकै तल रहेछ । त्यसैले बरु लिफ्टबाट जाऊ भन्ने मनको तार मिलेपछि हामी लिफ्टका लागि लाइनबद्ध हुन्छौँ । केही बेरको प्रतीक्षापछि लिफ्टले हामीलाई सिधै फेदीमा पु¥यायो । हामी अहिले फेदीमा थियौँ ।

जैविक प्रक्रिया वास्तवमा मानिसको जीवनको अत्यावश्यक कुरामा पर्दोरहेछ । त्यसपछि मात्र भावना र अनुभूतिका कुरा आउँदारहेछन् । आइफेल टावरको भव्यताको अनुभूतिमा डुबिरहेको मनलाई अहिले भोकले आक्रमण गरिरहेको थियो ।
हरिहरमामाको बुहारी ज्योति अर्यालले टावरमा खान भनी झोलामा प्रेमपूर्वक राखिदिएको चिप्स र बिस्कुटले टावरमा लाइनबद्ध हुँदा नै मुक्ति पाइसकेका थिए । फेदीमा आएपछि सर्वप्रथम हामीहरूलाई शौचको समस्याले आक्रमण ग¥यो । आइफेल टावरको फेदीको छेउमा रहेको ट्याइलेटमा मानिसको लाइन निकै लामो थियो । मलाई अचम्म लाग्यो, दिनमा नै हजारौँ पर्यटक हेर्न आउने आइफेल टावरमा किन एउटा मात्र ट्याइलेट राखेको होलाजस्तो लाग्यो । यस कुरामा चाहिँ ध्यान नदिएको हो कि झै लाग्यो । हुन त अन्त पनि हुन सक्छ । शौचको कार्यलाई सुध्याइ गरेपछि हामी भोजनका लागि तडपियौँ । भाषाको अनभिज्ञताले हामीले आँखा अगाडिको सामान पनि किनेर खान सकेनौँ ।

निर्मलभाइले आइफेल टावरको प्राङ्गनमा छोडेपछि हामी आफै दिनभरि घुम्छौँ भनेर गफ हाकेका थियौँ नब्बेको स्पिडमा । अहिले ब्रेक लागेझै भयो । अब आइफेल टावरको अवलोकनपछि कता जाने भनेर सोच्दासोच्दै पानी पर्न थाल्यो । पानी छल्न सेन नदी माथि बनाइएको एउटा रेस्टुरेन्टमा पस्यौँ । के खाने ? उही भाषाको समस्याले हामी अलमलियौँ । र तुरुन्त बाहिर आयौँ । अहिले पानी रोकिइसकेको थियो । अब स्टीमर चढ्न दुई जनाको सल्लाह भयो । स्टीमर चढेर मानिसहरू घुमिरहेको देख्यौँ तर यो कहाँसम्म जाने हो, कति समय लाग्ने हो केही थाहा पाएनौ ? के गरौ त अझै मनमा अनिश्चितता बादल छ । अनिश्चितताको बादलमा मडारिदै बरु स्टीमर नचढौँ, नक्सा हेर्दै पेरिस गएर लुभ्र म्युजियम जाऔँ भन्ने हामी दुईको सल्लाह भयो । नक्सा हेर्दै, भाषा नबुझे पनि सोध्दै पेरिस गेटसम्म आइपुग्यौँ । पेरिस गेट आइपुग्दा सम्पूर्ण पार्टपूर्जा ढिला भइसकेका थिए । भोक थकान र हैरानले चुटेर हामीलाई लखतरान पारेको थियो । नजिकको एउटा बुकपसल जस्तो पसलमा सबै मानिस पसेको देख्यौँ । हामी पनि त्यतै पस्यौँ । यो पसल डिपार्टमेन्टस्टोर रहेछ । त्यहाँ पानी किन्यौ र एउटा सादा ब्रेड बोकेर बाहिरको फलैचाँमा बसेर निस्फिक्री खान थाल्यौ ।
अब भोकलाई हामीले पराजित गरिसकेका थियौँ । तर थकाइले चाहिँ जरो गाडेर शरीरका सम्पूर्ण पार्टपूर्जालाई समाएर बसेको थियो । गीताजीले पेरिस गेटको पारिपट्टि जाऔँ भनेर निकै चोटि भन्नुभयो तर म अलिकति पनि ढलमल गर्न नसक्ने अवस्थामा थिएँ । उहाँको तोलाको वचन खोलामा गएपछि आफ्नो भाउलाई घटाएर शून्यमा पु¥याउनु भयो र मेरो इच्छामा सम्झौता गर्न बाध्य हुनु भयो ।

ज्योति बहिनीले गीताजीलाई मोबाइल दिनुभएको थियो । अब हामीले त्यही मोबाइलबाट निर्मल भाइलाई बोलाएर घर जाने अन्तिम फैसला ग¥यौ । नभन्दै निर्मल भाइ र ज्याति वहिनी हामीलाई लिन आइपुग्नु भयो । बिहेको रमझमबाट समय चोरर हामीलाई लिन आउनुभएको थियो । हामीलाई घर पु¥याएर उहाँहरु फेरि बिवाह मन्डपतिर लाग्नुभयो । घरमा भात, दाल तरकारी सबै पकाएर तयार गरेर ज्याति बहिनी जानुभएको रहेछ । हामीलाई सबै कुरा देखाइदिएर भोक लाग्यो भने खानु है भनेर जानु भयो । अहो कस्तो आत्मीयता ! कत्रो प्रेम ! यो प्रेमको कस्तो परिभाषा होला ? ज्याति बहिनीलाई सोध्न मन लाग्यो । तर उहाँको बिवाहमा जनाउनुपर्ने हाजिरीको व्यस्तताले यो प्रश्नको दस्तावेज मेरै हृदयमा मात्र लेखियो । त्यो भोकमा त्यस्तो परिकारयुक्त भोजन देख्ता मेरो मनको हर्षले स्वर्गको विरचन गरिरहेको महसुस ग¥यो । मलाई लाग्यो मैले ठूलै धर्म गरेको रहेछु नत्र यो परदेशमा यो आत्मीययुक्त चौरासी व्यञ्जन पाउनु पेरिसजस्तो सहरमा इन्द्रको भाग्य नै मैले खोसेर लिएको हो कि झँै लाग्यो । हामी दुई भकाभकी मनमा खान इच्छाभएको खानेकुरा लिएर भोजनकक्षमा दाइँ गर्न थाल्यौँ । गीताजीले सुरुमा खरवुजा खाने इच्छा दर्ता गराउनु भयो मैले भने दाल, भाल, कुखुराको चाइनिज परिकारमा आफ्नो इच्छाशक्तिलाई सुदृढ बनाउँदै मैले सन्तुष्टिको मोर्चा कसेँ ।

धन्य ! ज्योति बहिनी, निर्मल भाई यो स्वर्गजस्तो देशमा इन्द्रको आसनलाई डगमगाउने धर्म तपाईँहरूले गर्नुभयो । कतै तपाईँले बली राजाले झैँ पाताल भासिनुपर्ने हुन्छ कि यो धर्मको ज्योतिलाई अलिक कम गर्नुभए घरको ज्योतिलाई अलिक राहत मिल्ला कि ?

August 21, 2012

फेसबुकको साहित्यिक संसार

अचम्मको छ फेसबुकको संसार । यसले मानिसलाई चकित मात्र पार्दैन उत्तेजना, आक्रोश, खुसी, दुःखको ज्वारभाटाले लपटेर वल्लोछेउ र पल्लोछेउ पु¥याउँछ । असम्भवलाई सम्भव बनाउँछ, सम्भवलाई असम्भव । वर्षौ हराएकालाई भेट गराउँछ भने आन्द्रा नै गाँसिएकालाई अलग गराउँछ । परापूर्वकालमा वर्णित कुनै लोककथाको जादुई यन्त्रजस्तो । यसभित्र के छैन ? एउटा सानो सिंगो संसार छ । यसभित्र मानवीयता, अन्तर्गत पर्ने हास्य, विस्मात, दुःख, हाँसो, श्रृड्गार, त्रास, करुण, भयानक काव्य शास्त्रको नौवटै रस रहेको छुन्छ । त्यस्तै राजनिति, संस्कृति, कला, विज्ञान, प्रकृति, ईश्वर सबै अटेको हुन्छ ।
आजभन्दा पन्ध्रवर्षअघि नेपाली समाजमा मोबाइलको छाया पनि परेको थिएन । आजभन्दा सात वर्षअघिसम्म नेपाली समाज फेसबुकको जादुई संसारबाट धेरै टाढा थियो । विज्ञानक्षेत्रमा भएको प्रविधिको यो विकासले समाजलाई दिनपरदिन बदल्दै लगेको छ । हाल नेपाली समाजमा फेसबुकको सन्जालमा नलठिठनेको सख्या धेरै थोरै हुँदै गएको छ । यसमा पोस्ट हुने ताजा ताजा समाचार, अचम्म लाग्दा दृश्य, आफ्नो मनको कुन्ठा, हर्ष समाचार सबै पोस्ट गर्न पाइने हुनाले पनि यसको पे्रमीको सख्या दिन पर दिन बढ्दै गएको हो । म स्वयम पनि फेसबुकमा हराउने गर्दछु । कतिपय हास्यास्पद कुराहरुले मनको तनावलाई अर्कै संसारमा लगेर छोडिदिन्छ ।
एकाबिहानै के कुरामा हो मेरो मुडअफ भइदिन्छ । मेरो मुडअन गर्ने एउटै साधन भैदिएको छ त्यो हो फेसबुक संसार । कहिले फेसबुकको मेसेजमा आउने प्रशसकहरुको प्रशसाको पत्र त कहिले मित्रहरुको आउने आत्मीयताको मेसेजहरु त कहिले फेसबुकमा पोस्ट हुने मीठामीठा चुटकिलाहरु, गीत, गजल र विभिन्न जानकारीहरु । त्यसैले एकाबिहानै फेसबुक सुमसुमाउन पुग्छु म प्रेमीले प्रेमिकालाई सुमसुमाएझैँ । फेसबुकमा पोस्ट गरिएको यो एउटा चुकटिलाले खित्का छोडेर हसाउँछ मलाई ।
अमेरिकाबाट गाउँमा रामलाई फोनमा फूर्ति लगाउँदै श्यामले भनेछ ।
श्याम– “ओबामालाई चिन्छेस् ?”
राम– “चिन्दिन यार ।”
”श्याम–.“एन्जेलिना जोलीलाई नि ?”
राम– “अहँ चिन्दिन यार ।”
श्याम– “अग्रेजी फिल्म हेरे पो चिन्थिस् । रिहानलाई नि ?”
राम– “चिन्दिन यार ।”
श्याम– “अग्रेजी गीत सुने पो चिन्थिस् । लन्ठु ।”
श्यामको कुरा सुनेर रामले झर्कैदै भन्यो ।
राम– “भक्तेलाई चिन्छेस् ?”
श्याम अहँ चिन्दिन यार ।
राम– “तेरो स्वास्नीको ब्याय फ्रैन्ड हो । कहिल्यै घर बसे पो चिन्छेस् ।“
त्यस्तै अर्को बिल गिटस सम्बन्धि यो चुकटिला निकै रोचक थियो ।
एकपल्ट कतारको एउटा होटलमा बिल गेटसको छोरा खाना खान गएछ । खाइसकेपछि वेरालाई ५०० डलर टिप्स दिएछ । भोलिपल्ट बिल गेटस गएछ उसले ५० डलर दिएछ । बेरालाई अचम्म लागेछ र सोधेछ । अनि बिल गेटसले भनेछ– “मेरो छोरा संसारको सबैभन्दा धनी बाबुको छोरा हो तर बिल गेटस एउटा मजदुरको छोरा हो ।”
फेसबुकमा साहित्यको आफनै संसार छ । कहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनावमा भएको धाँधली त कहिले प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता प्रतियोगितामा भएको अनियमितताले फेसबुक तातिइरहेको हुन्छ । विभिन्न ठाउँमा भएका साहित्यिक गतिविधि र यस सम्बन्धी चर्चा परिचर्चाका समाचार, फोटो र अझ भिडियोले मनको तरड्गमा रोमान्चकता थपिदिन्छ । पाण्डुलिपिको चर्चासँगै कृष्ण धरावासीको दोस्रो विहेमा भएको क्रिया प्रतिक्रियाले फेसबुकको स्टाटस तातिएको हुन्छ । सावन १ गतेका दिन कृष्ण धरावासीले स्टाटसमा यस्तो लेखे– “सावने सक्रान्तिको शुभकामना । मानसिक लुतो हुनेको लुतो जाओस् ।” तल एउटा कमेन्ट यस्तो थियो– “सेम टु यु ।“
मलाई हाँस उठ्यो । फेसबुकको चमत्कारी लीला देखेर । यस्ता हजारौ कमेन्टहरु कहाँ थिएन होलान् पहिला । के त फेकबुकले नै जन्माएका हुन् त यी कमेन्टहरु ।
फेसबुकमा सबैभन्दा बढी आफ्नो भावना, विचार र सन्देशहरु सम्प्रेषण गर्नेमा मैले साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीलाई देखेको छु । उनको स्टाटस पढन लायक ज्ञानवद्र्धक, समसाययिक राजनीति र सामाजिक वेथितिलाई कडा व्यग्य हानेर लेखिएको हुन्छ ।
एक पल्ट उनले यस्तो लेखे
‘नेपाली महिला वास्वतमा नै नवचेतना र जागरणले भरिएका छन् तर के सबै महिलामा महिला आस्तित्वको वोध छ ? भारतको अयोध्यामा जन्मेको श्यामवर्णका रामको महिमा सम्मानमा रामनवमी मनाउँछन् तर जस्तै क्रान्तिकारी महिलाले पनि आजसम्म सीताजयन्ती मनाएको मैले थाहा पाएको छैन ।’
प्रकाश सायमी यस जिज्ञासाले मेरो चेतनालाई यसरी उघायो–
‘प्रकाश दाइ यति सरल कुरा पनि थाहा पाउनुभएन ? क्रान्तिकारी महिला सीतालेझै समाज र श्रीमान्ले अन्याय गरे भने सहेर सहनशील भएर बस्नु पर्छ भन्ने सिद्धान्त नै मान्दैनन् ।’
यसरी फेसबुकमा आउने कतिपय यस्ता स्टाटसलाई म आफनो बलबुताले भ्याएसम्म कमेन्ट गर्छु । तर फेसकुकमा महिलाको उपस्थिति धेरै कम हुने हुनाले यस्ता कमेन्टमा प्रतिउत्तर दिने धेरै कम हुन्छन् ।
फेसबुकमा साहित्यको आफ्नै संसार छ । यहाँ पोस्ट हुने छोटामीठा मुक्त, गजल, गीतले पाठकलाई तानिहाल्छ । तर ती रचना जति प्रभावकारी हुन्छन् त्यत्तिकै चोरिने सम्भावना बढी हुन्छ । त्यसैले फेसबुकको रचनाको असली रचनाकार सधँ रहस्यको धरातलमा नै रहन्छ । फेसबुकको एउटा यो कविताले मलाई तुरुन्तै तानेको थिया

भैँसी बेची मोबाइल किने कुखुरा बेची सिम
हतारहतार फेसबुक खोले पार्दै आँखा चिम
राम्री रहेछ नि साथी उनी च्याटमा दिनका दिन
भेट भयो मिलन चोकमा गरियो खानापिन
गोजी पनि खाली भयो लाग्यौ त्यो रिन
गाइबाख्रा बेचसिके अब आयो घर बेच्ने दिन

फेसबुकमा सबै खाले साहित्य पढन पाइन्छ । हल्काफुल्का साहित्यदेखि गम्भीर खालका साह्त्यििक लेख, रचना र गीत गजल पाइन्छन् । एउटा फेसबुककै मुक्तक

निष्ठुरीको बाचाकसम पिपलका पात लाग्यो
एउटा चोट आलो थियो फेरि अर्को साथ लाग्यो
चन्द्ररुपी मुहार अनि कल्कलाउँदो यौवन उनको
किन धाउनु मधुशाला नपिउँदैमा मात लाग्यो
अर्को यो पदम राम्जालीको गजल करुणरसले भरिएको थियो –
हजारौँको भीड बीच मौनताले पिरेजस्तो
कलेजो नै निकालेर बन्दगीमा तिरेजस्तो
सहरभरि धेरै घर छन् मनकारी मुटु भन्थे
चौपायाझैँ लावरिस मै सडकमा फिरेजस्तो
हल्किएका आँखालाई परेलीले बाँधेपनि
मनभित्रै प्वालपारि तप्किएर गिरेजस्तो
मृत्युले त तरस खाइ उपहार मै छाडेपनि
जिन्दगी नै तिर बनी मुटुभित्र छिरेजस्तो

यो गजल पढपछि मलाई मेरो यो करुण रसले भरिएको कविता पोस्ट गर्न मन लाग्यो

आ“सु बने सागर
अ“ासु बने सागर, किनारा कतै देखिएन
पीडाको सागरमा डुबिरह,े मोती कतै भेटिएन ।

बुझाउन सम्झाउन यो मन, भाषा कुनै भेटिएन
अथाह पीडा पोख्न, शब्द कुनै भेटिएन ।

भाग्यको खेल अनौठो कर्म दासी हुदोरहेछ
भाग्य भयो बैरी दुःखले कहिल्यै साथ छोडेन ।

मृत्युस“ग जीवन साट्ने, चाहाना धेरै भयो
चाहाना मेट्ने बाटो खोजे, तर समयले साथ दिएन ।

जीवनको पाइला स“गै पीडाले सधै पछ्याइरह्यो
पाइलास“ग छाया मेटियो तर पीडा कहिल्यै मेटिएन

यो कविता पछि कवि नवराज सुब्बाको कविताले मलाई तानिहाल्यो–

एकैछिन अघि यतै कतै
यही माटोमा
रोपेको थिए मैले मन
यही ढुड्गामा बिसाएको थिए
माया
तर
खै छैन त ?
कसले लग्यो भन्दै
एउटा बालक रोरह्यो
रुदै भुईमा
लडिबुडि गरिरह्यो
यसरी बिचरा म रुदारुदै पो बूढो भएछु ।

फेसबुकमा धेरैजसो विदेशमा बस्ने नेपालीहरु भेटिन्छन । उनीहरु साहित्यमार्फत आफना प्रेमिकालाई यसरी सन्देश पठाउँछन् ।

विदेश बस्दाबस्दै घर मैले भुल्ने हो कि ?
मलाई छोडि मेरो नानु बाहिर कतै डुल्ने हो कि ?
शंका गरेको होइन नानु माया लाग्छ तिम्रो अति
दुःख नमाली बस्नु है यस्तै रहेछ जिन्दगानी

अर्का विदेशी सर्जक अभागी कान्छा “गाउँले“ को यो मीठो गजल

काटे रगत सबको एक, जातको कुरा नगर
सानो ठूलो भनी सधैँ घातको कुरा नगर भो
बुझ्नुपर्छ नारी पुरुष, एकै रथका दुई पाग्रा
दुवै मिले के हुन्न र, हातको कुरा नगर भो
गाउँभरि चर्चा होला, जवानीले मात्तिएर
बाध्यताले प्रदेशीय, मातको कुरा नगर भो

लिलामीमा पर्यो जीवन, दिन पनि रात भो
पलपल मरि बाँची रा’ छु रातको कुरा नगर भो
भाग्न खोज्दा प्रवासमा हाँसो खुसी लुटी छाड्यो
समाजमा शब्दरुपी लातको कुरा नगर भो
लन्डन बसेर निरन्तर कविता विधामा कलम चलाइरहने एकजना कवि दुर्गाप्रसाद पोखरेलको कविता मलाई निकै उत्कृष्ट लाग्छन् । उनको यो कविताको जीवन दर्शनले भरिेको कविताबाट म निकै प्रभावित भए ।

त्यो बाटै होइन पनि भन्लान्, चित्त रुवाउने गरी
चुन्नु सुन्दर बाटो आफ्नो लक्ष्य सुहाउनेगरी
राम्रा काम गर उनीहरुमा ईष्या र जलन हुनेछ
तर कति नथाक्नू पछि त्यो तिनको चलन हुनेछ
उत्साह भर्नेहरु कमै मिल्लान् काम गर्दा धेरै नखोज्नू
पछि ताली बनाउन आउँलान् काम बनेपछि खाज्नू
मीठो बोली देउ नमीठा नै भए पनि मान्छहरु
भोलि पस्कनेछन् तिम्रै बोली घरघरमा भान्छेहरु
आत्मशक्ति भाग्दछ मन रोगी भएपछि
आत्मशक्ति जाग्दछ कर्मयोगी भएपछि
मन राख्नु सदा स्वस्थ्य दःुख संताप हटदछ ।
प्रफुल्ल मनले रहे मनमा नै विश्व अट्दछ।
यस्तो सोच राख्नू मनमा केही बाँचेर गर्न सकियोस्
यस्तो सोच राख्नु मनमा परे हाँसेर मर्न सकियोस्

फेसबुकमा विपरित लिगीको बेग्लै आकर्षण देखिन्छ । अझ केटीको फोटो छ भने लाइक गर्ने र कमेन्ट लेख्नेको धुइरो लाग्छ । यसले गर्दा कतिपयले केटीको फोटो राखेर फक आइडी पनि चलाएको पाइन्छ । फेसबुकमा सबैभन्दा चर्चित हुने स्टाटस भनेको राजनीति नै हुन्छ । राजनीतिप्रतिको वितृष्णालाई जनताहरुले विभिन्न किसिमको कार्टुन बनाएर र कविता बनाएर पोस्ट गरिेएको हुन्छ ।
विशेषत जेठ १३ गते संविधान बन्न नसकेको अवस्थामा जनताको आक्रोश थामिनसक्नु भएर फेसबुकमा पोखिएको थियो । कुनै गीत कविता र कार्टुन मार्फत नेताहरु र सभासदहरुलाई भन्नुसम्मको गाली गलौज गरिएको थियो । फेसबुकमा विशेष माओवादिको नेता प्रचन्ड र प्रधानमन्त्री बाबुरामको विभिन्न कार्टुनहरु बनाएर राखिएको पाइन्छ । राजनीतिलार्इृ कवितमा जनताले यसरी रिस पोखेको थिए–
प्रचन्ड र ज्ञानेन्द्र छोराको पीरमा
बाबुराम सरकार कृष्णभिरमा
सुशील र रामचन्द्र कता गए
देउवाजी अब एक्लै भए
माकुनेलाई पिर छ श्रीपेचकै
ओलीजीको जिन्दगी दाउपेचमैै
मधेशी बाँच्छ विहारीको पिरमा
राख्छ यसलाई दिल्लीले शिरमा
जाबो जनतालाई के छ र पिर
यिनका मुटुमा महँगीकै तिर

फेसबुकमा राष्टियताप्रति तीव्र व्यग्ड्य हान्दै राष्ट्रिय गीतलाई यसरी प्यारोडी बनाएको पाएँ मैल–े
सयौँ थुगा नेताका जुगा तान्ने हामी नेपाली
बाइसीएल र थुथफोर्स भै फैलिएका मेची महाकाली
बन्द हडताल कोटी कोटी भ्रष्टाचारीको आँचल
जोकोही बादी आए नि विदेशी कै दलाल
शान्ति छैन, संविधान छैन हरुवा छन् केवल
राष्टियता बाँकी छैन नाममात्रै माधव नेपाल
प्रचन्डभूमि फोेरमभूमि तराई पहाड हिमाल
जताततै टुक्रिएका ससाना राज्य नेपाल
गुटबन्दी फुटबन्दी समस्या छन् विशाल
संविधान लेख्नै नसक्नेहरुको प्रतिगामीको नेपाल
राजनीति मात्र नभई फेसबुकमा चलचित्रको समसामयिक विषयबस्तुलाई पनि साहित्यमा यसरी उतारेको पाइन्छ ।
मालतीको भट्टि
रौसी जाबो उमेर छँदा कति पिइयो कति
घरभन्दा प्यारो लाग्थ्यो मालतीको भट्टि
मजस्तै भुसतिघ्रे अरु पनि आउँथे
चाउरी प¥या बुढा पनि त्यही भट्टि धाउँथे
झम्के साँझको पर्खाइमा दिन काट्नै गाह्रो
घरकी बूढी भन्दा पनि मालती नै प्यारो
आफनो ठाउँ भट्टिभित्र अलि कुनापट्टि
ससुराली भन्दा प्यारो लाग्थ्यो मालतीको भट्टि
मालतीको कड्के नजर चारैतिर डुल्ने
आफू भने मालतीको मुस्कानमा भुल्ने
घरमा चाहिँ बूढीले भान्सा कुरी बस्ने
आफू भने मध्यरातमा घरभित्र पस्ने
मालतीले कुम्ल्याई हजुर पैसा भएजति
सम्झदा’ नि दिक्क लाग्छ मालतीको भट्टि

फेसबुकले हाँसो खुसी मात्र दिने होइन कहिलेकाही नसोचको टेन्सन पनि हुन्छ । विभिन्न विचारधाराका मानिस हुने भएकाले विभिन्न सोच्दै नसोचेको टेन्सन हुने काम पनि हुन्छ । आफूले भनेको कुरालाई अरुले अर्कै अर्थलगाएर बुझिदिने, अरुले भनेको कुरा आफूले अर्कै अर्थ लगाएर बुझिएको हुनसक्ने हुन्छ । यसले अझ आफूलाई तनावमा राख्दछ । कतिपत व्यक्ति नराम्रो धारणा राखेको हुन्छन उनीहरुले फेक आइडी चलाएर आफूलाई जस्तोपायो त्यस्ते कमेन्ट पठाएको पनि हन्छ ।
नेपाली साहित्यमा फेसबुकको चर्चा गर्दा पेन लभर्स भन्ने ग्रुपको चर्चा गरिएन भने त्यो अधुरो रहन जान्छ । पेन लभर्सले नेपाली साहित्यको समाचार, जानकारी, साहित्यिक गतिविधिको फोटोहरु राखिएको हुन्छ । जसलाई सन्चालक किशोर पहाडीले निकै मेहेनत गरेको पाइन्छ । तर कहिलेकाही यस गु्रप नचाहिले तर्क विर्तक गरेको पाइन्छ भने कुनै कुनै समाचार पोस्ट नगर्नुपर्ने पोस्ट गरेको पाइन्छ । साहित्यिक क्षेत्रमा यो ग्रुपको महत्व निकै बढेको छ । त्यस्तै फेसबुकमा विभिन्न साहित्यिक वेवसाइडहरुको लिंक पनि प्रसस्त पढन र थाहा पाउन सकिन्छ । अर्कोतिर यो फेसबुकको जादुई संसारले अनेकौ जादुई लीला गर्छ, चमत्कार गर्छ, खुरापात गर्छ । कहिले मन्दिर जाँदै नजानेपनि फेसबुकमा इश्वरको भक्ति गरेको फोटो राखेर स्तुति भजन ट्याग गरेको पाइन्छ । फेसबुकले मानिसलाई कतिसम्मको वनावटी र देखावटी बनाएको छ भन्ने एउटा सानो घटना म यहाँ राख्न चाहन्छु । एकपल्ट गीतकार भीम विरागको देवहसान भएको खबर फेसबुक र साथीभाइ मार्फत थाहा भयो । एकजना साथीले “लौ आर्यघाट जाऔँ हामी पनि जाने ।” भन्नुभयो ।
“हामी एकछिनमा अरु साथीहरुसँग आउँछौ तपाई जादैगर्नुहोस् । ” भन्नुभयो । म पनि आफ्नो काम छाडि उँहालाई हार्दिक श्रद्धान्जली चढाउन आर्यघाट पुगे । त्यहा त कोही साहित्यकार हुनुहुन्थेन । मैले सोचेको थिए त्यहा टनाटन साहित्यकार हुनुहोला । तर उल्टो भयो । मैले एकदुई जनालाई फोन गरे कसैले थाहा नपाएको कुरा गर्नुभयो कसैले फुर्सद नभएको कुरा गर्नुभयो । पछि मलाई जाऔ भन्ने साथी पनि आउनुभएन । म घर फर्के । घर आएर यही मायवी फेसबुकमा घुम्न थाले । मलाई अचम्म लाग्यो फेसबुकमा गीतकार भीम विरागलाई श्रद्धान्जली दिनेको भीड देखेर । काठमाडौ बाहिरको त आउनुसक्नु हुन्न काठमाडौँ भित्रको कोही कोही एकदुई जना मात्र भएनि आउनु पर्ने हो नि भन्ने लाग्यो । अनि फेसबुकले हामीलाई कति औपचारिक बनाइदिएछ भनेर नमज्जा लाग्यो ।

January 27, 2012

विखण्डनको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, जीवनको प्रेम काँचमा खाँदिएको कार्बनजस्तै हुँदोरहेछ । विश्वासको धरातलमा थिचिएर तयार भएको काँचलाई अविश्वासको धरातलमा बर्जन गयो भने कसरी विखण्डन हुन्छ भन्ने कुरा मैले यस क्यानभासमा सजाएकी छु । विखण्डित प्रेम कसरी काँचको टुक्राटुक्रामा छरिन्छ भन्ने कुरा यहाँ सादृश्य गराएकी छु ।
म बुद्धको शरणमा परेँ ।

लाग्छ यो समय कहिल्यै अतीत नबनोस् ! छ वर्षपछिको कठोर तपस्याबाट प्राप्त भएको यो मिलनको घडी ! प्रत्येक पल गन्दै प्रलापको भकारीमा भरिएका अनगिन्ती निष्ठुरी रातहरू ! आज बन्धनमूक्त भएर छरिन चाहन्छन् । ती रातहरू आकाशमा तारा गन्दै बितेका अनिदा रातहरू । पृथ्वीको वल्लो छेउ र पल्लो छेउ । ती अनिदा रातहरूले तिमीमा यो संदेश पु¥याउन सक्लान् ? म आफै कल्पना गर्दथे । तर बिचरा ती निरीह रातहरू जाँदाजाँदै बाटैमा सूर्यका उज्याला किरणहरूले गन्तव्यविहीन हुन पुग्दथे । खै कसरी बिते ती रातहरू ? लाग्थ्यो बिहानको सूर्यले तिम्रो संदेश बोकेर साउती मार्न आइरहेको छ— “हेर प्रिय हाम्रो मिलनको घडी एक दिन छोट्टिएको छ ।”
तिम्रो संदेश म उषासँगै लिन्थे अनि सन्ध्यालाई पठाउँथेँ यसरी— “जाउ मेरो प्रियतमलाई ओछ्यानमा मेरो मीठो चुम्बनले स्पर्शगरी ब्युूँझाई देऊ ।” भनेर । मेरा कल्पनामा ती निष्प्राण पलहरू आज कसरी ब्युँझेर एउटा सिगो यथार्थ बनेको छ । लाग्छ यो दृश्य हृदयमा समेटिरहूँ, लाग्छ यो समय छातीमा कोरिरहूँ । कतै मीठो संगीतको ध्वनिझैँ ‘शाब्दी’ तिम्रा उच्चारित शब्द लाग्छ गहना बनाएर शरीरमा सजाइरहूँ ।
हल्का पिंक रङ्गको मधुर प्रकाश अनि भित्तामा उही रङ्ग, झ्याल र ढोकामा उही रङ्गको पर्दा । तिमी आउनअघि म तिम्रै कल्पनामा यहाँ मीठो सङ्गीतसँगै अनुभूतिका धुनहरू बजाइरहेकी हुन्थेँ । जीवन एउटा अनुभूतिको सागर त रहेछ नि । अनुभूतिभन्दा पर मैले केही देखेको छैन, भेटेको पनि छैन । त्यसैले मैले ती पलहरू यस ठाउँमा सेयर गरेकी छु, तिम्रो अनुपस्थितिमा । हृदयमा कोरिएका तिम्रो चित्र कस्तो अमेट थियो । कसैगरी नमेटिने । जीवनको त्यो शाश्वता, त्यो अमर चित्र । म अनेकौँ पटक ठोकिन्थे त्यो चित्रमा, अनेकौँ पटक अल्झन्थे त्यो चित्रमा, अनेकौँ पटक बाँडिन्थे त्यो चित्रमा । आज त्यो चित्र सजीव भएर उभिएको छ मभित्र । तिम्रो यो स्पर्श अनेकौँ लहर सँगसँगै बहिरहने छालजस्तै मेरो हदयमा उठ्तै, बस्तै गर्दैछ । दुई लहरहरू ठोक्किएको समय कतै अभिलेख गरेर राख्न पाए कस्तो हुन्थ्यो ? तिम्रा समझनाका पलहरू कसरी ब्युँझन्छन् एकएकगरी मभित्र । सम्झनाका अनगिन्ती छालहरू तरङ्गिदै भिजुयल हुन पुग्थे आधुनिक यन्त्रमा । ती मीठा शब्दहरू पढ्न आतुर मेरो हृदय कतिखेर निर्जिव यन्त्र सजीव भएर उभिन्थ्यो मेरो हृदयमा, दृश्य बनेर । अनि म ती दृश्यहरूमा हराउने गर्दथे । अदभूत आनन्दको एउटा लहर मभित्र ठोक्किएर हराउँदथ्यो । केही दिनसम्म म पौडिरहन्थे त्यही छालहरूमा र म आफै हराइरहेको हुन्थे । यसरी नै छालहरू ओहोरदोहोर गरिरहन्थे निर्जीव यन्त्रमा र हामी हराउने गर्दथ्यौँ कतै एकान्तमा ।
त्यो पल खै कसरी हरायो मभित्र ? अहिले तिमी छौ र त म छु अनि म छु र त तिमी छौ । ती प्रलापका रागहरू अब कतै नबजून, ती विलापका गीतहरू अब कतै नगुन्जिउन । अब यी मिलापका रागहरू, मिलनका अनुभूति मात्र कोरिनेछन् हाम्रो जीवनमा । अब अर्को मुनामदन लेखिनुपर्छ तडपन पछि मिलनको अदभूत कथा बनेर । समयलाई बिर्साउने त्यो कथा जहाँ संसारको सम्पूर्ण सुखानुभूति खाँदिएको हुनेछ ।
तिम्रा यी कोमल औलाहरू अनि हत्केलाहरू । म घोरिन्छु तिम्रा मुलायम औला र हत्केलाहरूमा यसले मेरो विश्व थाम्नेछ—म सोच्छु । सायद तिमीले पनि त्यही सोचिरहेका छौ । कतै अविश्वासको ज्वारभाटा उम्लेर हाम्रो विश्वासको आणविक भट्टि भत्काउने त होइन ? जहाँ हाम्रा दुई मुटु धडकनरूपी उर्जा सञ्चय गरिरहेका छन् । म सतर्क बन्छु– सायद तिमी पनि । अमूक भाषाहरू हामीभित्र ओहोरदोहोर गरिरहेका छन् । यो ससार विश्वासैविश्वासको तत्वले बनेको छ । यो पञ्चभूत तत्व एक अर्काको विश्वासमा उभिएको छ । नत्र सूर्यले बिहान नहुन किन भुल्दैन ? हावाले अस्तित्व भत्काउन किन सक्दैन ? पानीले सिञ्चित गर्ने धर्म किन छोडदैन ? हो यसैले यो संसार विश्वासैविश्वासको धर्मयुद्ध लडिरहेको छ । के तिमी त्यो धर्मयुद्धको एउटा नायक होइनौ र ? हो तिमी एक नायक र म एक नायिका । आऊ त्यो धर्मयुद्धमा अर्को एउटा अध्याय थपौँ । मधुर मिलनको वस्त्र पहिरिएर एक अर्कामा हराउने प्रचेष्टा गरौँ । हामी जन्मदा पनि निर्वस्त्र थियौँ नि । हामीलाई जीवनको यही धर्मयुद्धले लाज, घिन, प्रेम, पीडा, अनुभूति सिकाएको हो । तिमी र म एउटा नयाँ अध्याय कोर्न सक्छौ । त्यो अध्याय नै अबको नयाँ धर्मयुद्ध हुनेछ ......।
नेपालीको भाग्य विदेशिनु पीडा छैठीेले हामीलाई जन्मदै निधारमा लेखिदिइसकेको हुँदो रहेछ । के गर्नु घरको मूली बाउ नै फटाहा, रक्सिया र निकम्मा भएपछि अरूको के लाग्छ र ? आमाले के गर्ने सक्छिन् र ? उल्टै रक्साहा लोग्नेले आफनो छोराछोरी मारेर निसन्तान बनाउला भनेर जोगाउँदै उनलाई हैरान । हाम्रोे भाग्य त्यस्तै भयो । राजनीतिरूपी बाउ निकम्मा र बदमाश भएपछि नेपाली भाग्य फुटेको हाँडी जस्तो भयो । निकम्मा बाउका अभागी छोराछोरीहरू अरूकोमा जुठा भाँडा माझ्नु बाहेक अरू विकल्प के हुन्छ र ? छोराछोरीको भोको पेट, पत्नीको नाङ्गिएको शरीर, उडेको घरको छानो बाहेक उसले सपनामा अरू कुरा सोच्नै सक्दैन । त्यही विडम्वनाको शिकारले रन्थनिएर तिमी विदेशीयौ । आधा दर्जन वर्ष मैले उही फटाहा बाउलाई सक्दोसराप गरेर बिताएँ– “हेर तिमीलाई हजारौँ मजस्ता विरहणीको पाप लाग्छ । जो आफ्नो सम्पूर्ण यौवन यसरी अलाप विलाप र प्रलापमा बिताइरहेका छन । तिमी राम्रोसँग आफ्नो घर सम्हाल । छोराछोरीलाई उचित मार्गदर्शन देऊ । यसरी घरलाई टुक्राउने, फुटाउने, मौका परे घरको श्रीसम्पत्ति लुकाउँदै बेच्ने नगर । तिमीलाई हजारौँ आत्माको श्राप लाग्छ । कम्तिमा सर्वज्ञाता ईश्वरसँग त डराऊ ।” तर उसलाई मेरो प्रलापले के छुन्थ्यो । हवाइट हाउस, व्लाक हाउसको बानी लागेको उसलाई म र मेरो ईश्वरको पुकाराले के छुन्थ्यो र ? उसलाई परापूर्वकालदेखि नै आफ्नै आदत र बानीमा लट्ठिने नशा लागिसकेको थियो ।
एकाएक म वर्तमानमा ब्युँझिएँ । किनकिन तिमी मबाट टाढा भएको महसुस भयो मलाई । किन यस्तो भयो ? मैले थाहा पाउन सकिनँ । म त तिमीलाई सम्पूर्ण रूपले आफूमा समर्पित गर्न चाहन्थेँ । तर तिमी यसरी टाढिनुको कारण मैले बुझिरहेकी थिइनँ । म त तिमीमा हराउन चाहन्थेँ । के मेरो प्रेममा कुनै खोट थियो ? के मेरो समर्पणमा कुनै अभाव थियो ? तिमी निस्पृह रहनुको तात्पर्य ? मैले तिम्रो भाषा बुझिरहेको छुइँन, कि तिमी मेरो भाषा बुझिरहेका छैनौ ? म भन्न सक्दिनँ एउटा लामो समय छोट्टिएर छोटो भएको समय । तिमी किन टुक्रयाइरहेका यो समयलाई पनि । म बुझ्न सकिरहेको छुइनँ । एक छिनपछि तिमी उठेर गयौ । तिमी आफ्नो लगेजमा केके खोज्न थाल्यौ । अहिले तिम्रो हातमा एचआइभी पोजिटिभ प्रेस्क्रिप्सन थियो ।
मभित्रको वर्लिन पर्खाल गल्यार्मगुर्लम ढल्यो । मेरो आस्था विश्वास त्यही पुरियो । एउटा ठूलो अनुष्ठान प्रारम्भ नभई समाप्त भइसकेको थियो । तिमी चेतनाशून्य उभिरहेका थियौ । संवादविहीन तिम्रा आँखाहरू निष्प्राण देखिन्थे तर तिम्रो हृदयको तार कताबाट मेरो हृदयमा कनेक्शन हुन आइपुग्यो तिम्रो ढूकढूकी भन्दै थियो – “शाब्दी मलाई माफ गर । म अपराधी हुँ । मैले विवश भई आफैलाई बेच्नुप¥यो । तिमीहरूको खुसीको लागि । क्रेडिट क्रन्चले अमेरिकालाई निलेको थियो । अभावमा मैले अरू केही देखिन तिम्रो खुसीको लागि मैले आफनो अस्तित्व बेचेँ । मलाई माफ गर ।”
म कसरी विश्वास गरूँ ? के तिमी त्यो समयको क्षतिपूर्ति तिर्न सक्छौ ? म प्रतिप्रश्न गर्छु ऊसँग । अघिका ती भावना र अनुभूतिका रसायन पोखिएर खै कता हराए कता ! म सोच्थे तिमी छौ र त म छु म छु र त तिमी छौ । तर होइन रहेछ त्यहाँ तिमी नहुनुको पीडा मलाई बिझाइरह्यो । म चाहन्थेँ तिम्रो उपस्थिति सूर्यको किरणमा भेटिरहूँ, म चाहन्थे तिम्रो स्पर्श जूनको जुनेलीबाट पाइरहुँ, म चाहन्थे तिम्रो मुस्कान फुलका थुगाहरूमा टिपिरहुँ तर तिमी नहुनुको पीडा फूलको काँडाहरू बिझाइरहयो मलाई । त्यो आस्थाको मूर्ति कसरी ढल्यो । अफगानीले बुद्धको मन्दिर ढालेझैँ । त्यो विश्वासका धरातल कसरी विखन्डित भयो– महाप्रलय आएझैँ । म आफैभित्र टुक्रिएँ । अब त्यो कुन रसायनले जोडिएला ? मधुर मिलनको खुसी एउटा ठूलो सुनामीले क्षणभरमा नै तहननहस भयो । सबै भावना र इच्छाहरू भताभुङ्ग भए । जो म चाहन्नथेँ ।
अब मभित्र कुने तत्व बाँकी थिएनन् । म खाली–खाली शून्य थिएँ । कतै बुद्धको ध्वनी मेरो कानमा गुन्जियो ‘बुद्धम् शरणम् गच्छामि’ । म बुद्धको शरणमा परेँ ।

January 13, 2012

शर्मिलाका नवीन ढङ्गले लेखिएका रचना

  •  डा. कुमारप्रसाद कोइराला
यो नयाँ ढङ्गमा लेखिएको कृति हो । यसलाई मुक्त तरिकाले लेखिएको कृति पनि भन्न सकिन्छ । यो न कथासङ्ग्रह हो न उपन्यास नै । यसलाई कथासङ्ग्रह र उपन्यास नभनेर आख्यानात्मक कृति भन्न सकिन्छ । यहाँ स्वतन्त्र रूपका कथा लाग्ने रचना छन् र तिनलाई कथाकार दिवाकर र अनामिकाका सम्बन्ध र संवादले एकअर्काबिच जोडेका छन्, तर यी परम्परागत ढङ्गमा लेखिने कथाभन्दा भिन्न छन् । त्यस्तै यसलाई उपन्यास पनि भन्न सकिएला तर यो प्रचलित ढाँचाको उपन्यास पनि होइन । नेपाली साहित्यमा यस्ता ढङ्गका कृति लेखिन थालेका छन्, जस्तै कृष्ण बरालको अवतरण (२०६१) अमर न्यौपानेको पानीको घाम (२०६६¬) आदि ।

खड्काको यस कृतिलाई यस्तै नवीन ढङ्गको आख्यान भन्न सकिन्छ । यसका कतिपय कथामा कथाकार स्वयम् पात्र बनेको र कतिपय कथामा कथाकारकै निजी कथा व्यक्त भएको पनि देखिन्छ । यस कृतिमा प्रयुक्त पात्रहरू कथाकारका इच्छामा निर्भर छैनन् र ती स्वतन्त्र लाग्दछन् ।

पात्रहरू कथा लेख्छन् । कथाको प्रतिउत्तर वा प्रतिकथा पनि लेख्छन् । यस्तै कथा र प्रतिकथाको शृङ्खलाले यस कृतिलाई एउटै बनाएको छ । यी कतिपय कथाका पात्रहरू कथाकारका कल्पनाबाट जन्मेका भन्दा बास्तविक छन् । यी कतिपय कथाका पात्रहरू कथाकारका कल्पनाबाट जन्मेकाभन्दा बास्तविक चरित्रलाई पात्र बनाइएका जस्ता देखिन्छन् । त्यसैले ती कथाकारका अधीनमा नबस्ने स्वतन्त्र छन् । बरु यिनीहरूले आफ्नो चरित्र देखाउन कथाकारलाई आफूसँगै लिएर हिँडेका छन् र कथाकार उनीहरूका पछि लागेर उनीहरूको चर्तिकला हेरिरहेको पनि देखिन्छ । यी सबै कारणले यो कृति नयाँ ढङ्गको भएको छ । मलाई के लाग्छ भने यस्तो नयाँ ढङ्गको लेखाइले यसलाई धेरै पाठकले मन पराउन सक्छन् ।

अर्को कुरा यो कृतिमा समसामयिक समस्यासँग सम्बन्धित रचनाहरूको आधिक्य छ । त्यसैले यो ताजा र नयाँ स्वादको लाग्छ । यसले अहिलेको नेपाली समाजलाई व्यञ्जित गरको छ । यसमा नेपाली समाजका खास गरी नारीवर्गका समस्यासँग सम्बन्धित रचना सबभन्दा बढी छन् । यिनलाई नारीवादी रचना भन्न सकिन्छ । किनभने यिनले पुरुषप्रधान नेपाली समाजमा नारीका के कस्ता समस्या छन् र उनीहरूको के कस्तो अवस्था छ भनेर व्यञ्जित गरेका छन् । हाम्रो समाजमा शिक्षित, नोकरी गर्ने, साहित्य लेख्ने र समाजमा पतिको भन्दा आफ्नो नाम कमाउने नारीहरूलाई पुरुषहरू कसरी हेप्न खोज्छन् र नारीका आत्मसम्मानमा कसरी ठेस लगाउँछन् भनेर सत्यताको क्यानभासमा र वर्तमानको क्यानभासमा नामक रचनाले प्रकट गरेका छन् । विदेशमा बस्ने नेपाली युवती अथवा कामदारका रूपमा विदेश गएका र परपुरुषबाट बलात्कृत भई विक्षिप्त बनेर स्वदेश फर्केका नारीका पीडालाई जीवनको क्यानभासमा र विद्रोहको क्यानभासमा नामक रचनाले व्यञ्जित गरेका छन् । विरहको क्यानभासमा विदेश गएको छोरालाई बुहारी कसरी चरित्रहीन भई भनेर दुःखी आमाले लेखेको पत्र छ । विवशताको क्यानभासमा माओवादी द्वन्द्व र युद्धको बेलामा यद्ध मैदानमा मरी भनेर छाडिएकी छापामार युवती संयोगले बाँचेकी र स्वतन्त्र र खुलारूपमा जीवनयापन गर्न नसकी यौनकर्मी भएर विदेशिएकी र ऊ विदेशमै षडयन्त्रपूर्वक मारिएको कथा छ । स्मृतिको क्यानभासमा र आकस्मिकताको क्यानभासमा एउटी टुहुरी केटीले कान्छी आमाबाट खेप्नुपरेको पीडा र असफल प्रेमसम्बन्ध र सफल दाम्पत्यजीवन तथा पूर्व प्रेमीको स्मृतिले उसमा जन्मेको मनोद्वन्द्व व्यञ्जित भएको छ । त्यस्तै आवृत्तिको क्यानभासमाले यौनकर्मी भएर जीवनयापन गर्न बाध्य महिलाले परपुरुषबाट भोग्नुपर्ने यौन, उत्पीडन र दुराचारको चित्रण गरेको छ । विखण्डनको क्यानभासले परदेश गएको पतिसँग भेट हुनेभयो भनेर खुसी भएकी तर पति एचआइभी पोजेटिभ किटाणुबाट सङ्क्रमित रहेछ भनेर अत्यन्त दुःखी भएकी पत्नीको असहनीय पीडा व्यक्त गरेको छ । अर्काको घरमा सहयोगी भएर काम गर्ने हकअधिकार विहीन महिलाको हक अधिकारको वकालत मानवीयताको क्यानभासमा नामक रचनामा गरिएको छ । यसरी यी नारीवादी रचनाले नेपाली नारीवर्गका विविध समस्यालाई चित्रण गरेर वर्तमान नेपाली समाजमा नारीहरूले भोगेका दुःख , पीडा, वेदना, आभिघात प्रकट गरेका छन् । नारीले नै लेखेकाले यी काल्पनिक र अतिरञ्जनापूर्ण छैनन् । स्वाभाविक र प्रभावकारी बनेका छन् ।

विकृतिको क्यानभासमा नेपाली सहरी समाजमा युवायुवतीबिच यौनउच्छुङ्खलता बढेको र तिनले असामाजिक र अनैतिक यौनक्रियाकलाप गरेर समाजलाई प्रदूषित बनाइरहेको प्रति चिन्ता प्रकट गरिएको छ । त्रासदीको क्यानभासमा व्यापारी कहाँ काम गर्ने केटाले साहुबाट आमाको उपचारमा सहयोग नपाउँदा साहुलाई मारेर पछुताएको प्रसङ्ग आएको छ । सांस्कृतिकताको क्यानभासमा नेपाली नारीहरूका लागि तिजको धार्मिक महत्त्व घट्तै गएको र त्यसको सामाजिक र मनोवैज्ञानिक बाँकी रहेको चर्चा गरिएको छ । अरू बाँकी रचनाहरू स्त्री र पुरुषबिच हुने रतिराग र प्रणयसम्बन्धसँग सम्बन्धित छन् । तिनले शारीरिक र आत्मिक दुवै प्रेमका विविध पक्ष उद्घाटन गरेका छन् । यस्ता रचना समाज निरपेक्षरूपमा आएका छन्, तर रति र प्रणयले तिर्खाएका पाठकहरूका लागि यी महत्त्वपूर्ण हुन सक्छन् । कथाकार दिवाकर र पहिले पाठक अनिपछि कथाकार नै भएकी अनामिका बिचको सम्बन्ध साहित्यकार र पाठक बिचको मात्र नभएर अलि भावुकतापूर्ण छ र कतिपय दृष्टिले प्रणयपरक हुँदै गएको देखिन्छ र अन्तमा सन्तान विहीन कथाकार दिवाकर र उसकी पत्नीका लागि अनामिका सेरोगेटेड मदर (अरूका लागि बच्चा जन्माइदिने आमा) बनेको समेत देखाइएको छ ।
यसरी यस कृतिको अध्ययन गर्दा के देखिन्छ भने शर्मिला खड्काको आख्यान लेखन एक खुडकिलो अरूमाथि उक्लेको छ । समयको क्यानभासमा (२०६५) नामक कथासङ्ग्रहबाट उनी नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेकी थिइन् भने यो दोस्रो कृतिबाट उनले नेपाली आख्यानमा आफ्नो उपस्थितिलाई गणनीय बनाएकी छन् । नेपाली नारी आख्यान लेखनको इतिहासमा उनको छुट्टै स्थान बनेको छ भन्ने कुरामा कसैले विमति जनाउन सक्दैन । उनको यस कृतिबाट उनी अहिले कस्तो लेखन छ, कस्तो रचना समसमायिक हुन्छ र कसरी लेख्दा नवीन हुन्छ भनेर अरूका रचना पढ्ने समसामायिक विचार अनुसार लेख्ने र रचनालाई नवीन पारेर प्रस्तुत गर्ने खालकी आख्यानकारका रूपमा अगाडि आएकी देखिन्छिन् । उनको यो प्रयास प्रशंसनीय छ । म उनको यो प्रयासको अभिनन्दन गर्दै अरू गहकिला रचनाको लागि शुभकामना पनि दिन चाहन्छु ।

December 16, 2011

इमेल नम्बर–एक

प्रिय गौरव

तिमीले बारम्बार मेल गर्न थालेपछि मैले केही नबोली धरै पाइनँ । म चाहन्थेँ, तिमीलाई केही नवोली धेरै कुरा बोलु । बोलीसकेपछि ती बोली मबाट रिक्त हुन्छन र तिमीलाइ मेलै मेल नगर्नुको अर्थ खुल्नेछ । तर म तिमीलाई कुनै अथै खुलाउन चाहन्थे । किनभने मैले अथै नखुलाउनुको पछाडि धेरै अर्थहरू हुनसक्छ । अनि ती अर्थ खोज्न तिमी हरदम लागिरहेका हुनेछौ । यो नै तिम्रो लागि एउटा सजाय पनि हुन सक्छ अवथा जुन मेरो लागि तिमीले मप्रति गरेको ब्यहवारबाट पाएको पुरस्कार हुन सक्थ्यो । प्रिय गौरव, म तिमीलाई धेरै कुरा भन्न चाहन्छु तर केही पनि भन्न नसकेको अवस्थामा पुगेकी छु । जिन्दगी एउटा नाटक रहेछ हामी यसका पात्र रहेछौ । साँच्चै तिमीले भनेको सही रहेछ । किनकी तिमीले मसँग खेल जस्तो पे्रमको नाटक गरेका रहेछौ । जो तिमीले धेरैसँग यस्तो खेलिसकेको हुनसक्छ वा नहुन पनि सक्छ । तर म त कुनै नाटकको परिभाषा नवुझेकी नादान र स्वच्छ प्रकूतिमा फुलेकी पवित्र हूदय भएकी फुल थिएँ । तर तिमी त पारखी भवराझै नाटक अभिनय गरेर मलाइ छोडेर हिड्यौ । यहाँसम्मकी आफै नाटक गरी मलाइ नाटकको प्रमुख कर्ताको आरोप लगाउनसम्म पछि परेका छैनौ । तिमीलाई म मेरो हृदय यसरी खोलेर देखाउन चाहन्छु ।
वास्तवमा तिमीले मसँग खेलेको नाटकको सुरुवात यसरी हुन्छ । पालनखेत– त्यो चर्चित हिन्दी फिल्म राजा हिन्दुस्तानीको हिरोहिरोइनले प्रणयलीला गरेको सुन्दर भू—भाग । जहाँ हामीले पनि प्रणयलीलाहरू खेल्यौँ । हावासँगै हामीले हाम्रा मनका भावनाहरू उडायौ । हूदयको झन्कारलाइ त्यही सुरम्य सँगीतमा गुन्जायौ अनि मुटुको ढुकढुकीलाई एक वनाउदै बादलका टुक्राहरूसँगै हाम्रो मिलनका स्वणिम क्षणहरू विताइरहयौ । खुसी के हो ? आन्नद के हो ? यही मन रहेछ । बल्ल मैले थाहा पाएकी थिएँ । मन भित्र यती धरै कुरा हुँदा रहेछन । पालनखेत– जहाँ हिरो अमिर खान र हिरोइन करिश्मा कपुर हरदम हराइरहन्थे प्रेमिल क्षणमा । त्यही हामी पनि त्यसरी नै हराइरह्यो । हामी कति जनाको आँखाको कसिगर पनि भयौ । तिमीले मप्रति देखाएको सदासायताको फल मैले अरु कति जनावाट तिरस्कूत हुनु पनि परेको थियो । त्यो हाम्रो शैक्षिक भ्रमणको टोलीको नेता तिमी भएका थियौ । तिमी धरै कुराको ज्ञाता थियौ । तिमी भारतको मुम्बइमा हुकैर पछि नेपाल आएका मान्छे । तिमीलाई भारतका बारेमा धरै कुरा थाहा थियो । त्यसैले विश्वविद्यालयले भारतको यो मुम्बइ, दिल्ली र अगराको हाम्रो भ्रमणको टोलीको नेता तिमीलाई छानेको थियो । किन हो यो भ्रमणमा तिमीलाई निकै ख्याल गरिरहन्थ्यौ । यसको कारण मेरो सुन्दरता हुनसक्थ्यो वा अरु कुनै कारण पनि हुनसक्थ्यो । मुम्बइमा एक दिन घुम्दाघुम्दै हामी तीन वटी केटी रेडलाइट एरियामा पुगेछौ । हामी नेपाली केटी देखेर त्यहाँका गुन्डाहरूले हामीलाइ हातपात गर्न लागे । हामी निकै अतालियौ र रुन कराउन थाल्यौँ । त्यही समय तिमीहरू हामीलाइ खोज्दै नआएको भए नजाने हाम्रो के छविगत भइसक्थ्यो । तिमीले गुन्डाहरूसँग गरेको प्रतिकार र तिमीले तिनको भाषामा वोलेर थर्काएको देखेर म निकै प्रभावित भएकी थिएँ । त्यसपछि तिमीप्रतिको मेरो प्रेमको विउ अँकुराउन थालेको थियो । हुनत विश्वविद्यालयमा हाम्रो जम्काभेट भइरहन्थ्यो । यो देखभेटमा पे्रम बसिहाल्छ भन्ने कुरामा म विश्वास गर्दिनथे । त्यसै पनि सुन्दर केटीलाई केटाहरूले हेर्नु म सामान्य मान्दथे । तिमीले त्यहाँ आफ्नो ज्यान समेत खतरामा पारेर हाम्रो उद्धार गरेका थियौ । हुनत तिमी त्यही ठाँउमा खाइखेली हुर्केको मानिस थियौ । तिमीलाई त्यहाँको कानुन, रहनुसहन सबै थाहा थियो । तर हामी त अनभिज्ञ र अपरिचित ठाँउमा त्यसै नर्भस भएका थियौँ । हाम्रो शैक्षिकभ्रमणभरि तिम्रो त्यो कुराको निकै चर्चा भइरह्यो । म लुकी लकी अरुको नजर चोरेर तिमीलाई हेर्ने गर्दथे । तिम्रो तस्वीर हृदयमा बसाई सकेकी थिएँ । कहिले म यो मेरो मनको कुरा सबै तिमीलाई खोलू भन्ने प्रतीक्षामा थिएँ । तर समयले साथ दिइरहेको थिएन । हामीले बोल्न एकान्त ठाँउ पाइरहेका थिएनौ । तिमी पनि मलाई निकै महत्व दिएको कुरा तिम्रो ब्यवहारबाट थाहा हुन्थ्यो । म मेरो डिजिटल क्यामरा खिचेको तिम्रो फोटो हेरेर सुत्ने गर्दथे । भ्रमणसँगै भएपनि सुत्ने बेलामा हामी केटा र केटीहरू अलगअलग हुने गर्दथ्यौ । कहिले उज्यालो हुन्छ र तिमीसँग भेटु भइरहन्थ्यो । हुन त तिम्रो हातमा भारतको सिमकार्ड भएको मोबाइल थियो तर मेरो मोबाइलमा सिमकार्ड हालिएको थिएन । भ्रमणमा अरू धेरै कुराको असुबिधा हुदोरहेछ । मैले घरदेखि धेरै टाढा भ्रमण गरेको यो पहिलो अवसर थियो । मेरी एकजना साथीको मोबाइलमा चाहिँ भारतको सिमकार्ड राखिएको थियो । एक दुई पल्ट उसँग मागेर तिमीलाई फोन गरे । तर एकदुई पटक कुरा गर्दा नै गफ सकिहाल्थ्यो । अरू कुरा बोल्नलाई केही हुदैन्थ्यो । साथीको अगाडि अरू के बोलू ? म असमञ्यसताको भुमरीमा रुमलिन्थे र फेरि तुरुन्त फोन काटिदिइहाल्थे । त्यतिञ्जेल लाज र डरले कालो निलो हुन्थे ।
भ्रमणसँगै भएपनि कहिलेकाहीँ तिमीहरूको गु्रप हामीसँग बिछोड भएर अन्तै घुम्न गइरहेको हुन्थ्यो । मुम्बइबाट दिल्ली भ्रमण छउञ्जेल मेरो स्वस्थ्य राम्रो थियो तर अगरा भ्रमण आउँदा बाटोमा मलाई फुट पोइजन भयो । हुनत अरू साथीहरूलाई पनि भएको थियो तर मेरो अवस्था अत्यत गम्भीर बनेको थियो । मलाई तुरुन्त अस्पताल नलगे म बाच्न नसक्ने अवस्थामा थिएँ । एक जना सर र तिमी भएर मलाई तुरुन्त आगराको एउटा प्राइभेट आस्पतालमा भर्ना गरायौ । दुई चार बोतल स्लाइन चढाएपछि म निकै जाती भए । त्यसपछि ती सरले मसँग तिमीलाई छोडेर अरू सहभागीलाई ताज महल घुमाउन लगे । त्यहाँ बस्नलाई भाषा बुझ्नेमा तिमीनै परेका थियौ । मैले त आफू बाँच्दिन होला भन्ने सोचिसकेकी थिएँ । तर दिनभर स्लाइन पानी दिएपछि मलाई अस्पतालबाट डिस्चार्ज गरियो । म निकै कमजोर भएकी थिएँ । भ्रमणको तालिका अनुसार भोलिपल्ट देहरादून हुदै नेपाल फर्कने थियो तर अब मलाई पूर्ण रेष्ट गर्नुपर्ने भएको थियो । त्यसैले सबै साथीको सल्लाहअनुसार अगराबाट प्लेनमा दिल्ली हुँदै मलाई नेपाल पठाउने सल्लाह भयो । मैले नेपाल नजाने बरु भ्रमणमा नै जाने अड्डी लिए तर साथीहरू र सरहरूले मलाई भ्रमणमा सगै लगेर खतरा उठाउन नसक्ने कुरा बताए । बाटोमा मलाई जे जति हुनसक्छ भन्ने कुरामा सबै साथीहरूलाई डर थियो । आमाबुवाकी एक्ली सन्तान मलाई बाटोमा केही भए कसैले स्पष्टीकरण दिन नसक्ने बताए । मलाई भने तिमीसँगको सान्ध्यिता बाटोमा नै टुङ्गिने भयो भनेर ठूलो अपसोच लाग्यो । तर मेरो मनको कुरा तिमीलाई भनेकै थिइन । भोलिपल्ट साथीहरू भ्रमणको तालिका अनुसार देहरादूनतिर लागे । तिमी भने मलाई प्लेनमा चढाउन मसँगै बस्यौ । हामीबीच सामान्य गफबाहेक केही हुनसकेको थिएन । तिमी पनि भ्रमणमा भएको असामयिक विचलनले विचलित बनेका थियौ । आगराको प्रसिद्ध ताजमहल मैले हेर्न पाएकी थिइनँ । म फेरि यो ठाँउमा कहिले आउन सक्छु र ? मैले तिमीलाई दिनभरिको समय सदुपयोग पनि हुने र ताजमहलको दर्शन पनि हुने भनेर ताजमहल हेर्न लैजान अनुरोध गरेँ । तिमीले नर्काने कुरा हुदैन्थ्यो । तर किनहो तिमी धेरै कम बोल्दथ्यौ । म तिमीलाई पढन खोज्थे तर तिमी यो अवसर मलाई दिदैनथ्यौ । बोल्दै नबोलेपछि मानिस भित्र के कुरा हुन्छन भन्ने कुरा पनि थाहा हुँदोरहेनछ । हामीहरू बिहानको खाना खाएर गेष्ट हाउसबाट ताजमहल हेर्न टयाक्सी लिएर हिँडयौ । यतिञ्जेल हामी औपचारिक गफगाफमा मात्र सिमित थियौ । हामी एकअर्कोका भावनाबाट अनभिज्ञ थियौँ ।
प्रेमको प्रतीक ताजमहल हेरेपछि अचानक मभित्र केके हुँदै आयो । मुमताजको कफन राखेको ठाँउमा पुगेपछि त्यहाँ भित्रकतैबाट आएको तपतप आवाजले मेरो हदयभित्र अचानक अनेकौ आवाजहरू तरगित भएर बाहिर आउन खोजेजस्तो भयो । मैले च्याप तिम्रो हात समाएँ । तिमीले पनि मेरो हात जोडले समायौ । एकछिनपछि आफनो शक्तिशाली हातले मलाई अँगालोमा बाँध्यौ । मेरो जिउ सिरिङ्ग भयो । एकछिनपछि हाम्रा आखाँआखाँ एक भए । हदयभित्रबाट अनेकौ भावनाका लहरहरू बग्न थाले । यो एक जुनीको जिन्दगी तिम्रै यिनै बहुशाली पाखुरीमा मर्न पाए पनि हुनेजस्तो लाग्यो । तिमीले त्यहाँ घुम्न आएका पर्यटनहरूलाई वास्तानै नगरी मेरो ओठमा गहिरो चुम्बन ग¥यौ । मैले पनि आफूलाई तिमीमा समर्पित गरे । म होसमा नै बेहोस जस्ती भएँ । मेरो मुखबाट कुनै वाक्य निस्कन सकेका थिएनन् । छाती भरिएर घाँटी नै अढ्याएको जस्तो भइरहेको थियो । निकै समयसम्म हामी एकअर्कोमा हराइरह्यौ । मलाई कस्तोकास्तो भएर आयो । मलाई रोउँरोउँ जस्तो लाग्यो । अघि म विरामी भएर बेहोस भएको कुरा सम्झेँ । म त्यो बेला मर्न पनि सक्थे । तिमीले मलाई यति धेरै माया गर्दारहेछौ भन्ने कुरा मैले थाहा नपाई मर्ने रहेछु भन्ने लाग्यो र आँखाबाट अचानक बलिन्द्र आँसु झर्न थाल्यो । तिमीले मेरो आँसु हातले पुछेनौ मात्र जिबेले चाटेर पिइदियौ । म तिम्रो यो मायामा बेखबर हराइरहे । मलाइ लाग्यो म मरेको भए तिम्रो हृदयमा यसरीनै शंहशाहले ताजमहल बनाएर रानी मुमताजको कफन सुरक्षित राखे जस्तै गरी मेरो सम्झना हृदयमा सुरक्षित राख्थ्यौ होला भन्ने लाग्यो । हामी एक अर्कोको हात समाउँदै ताजमहलको सुन्दरतासँगै हराईरहयौ । हामी निस्फिक्री घुम्दै हिँडयौ किन भने हामीसँग हाम्रा साथीभाई कोही थिएनन । मलाई लाग्यो यो समय नबगीदिए हुने । तिम्रो साथ छोडनुपर्ने समय बग्दै आइसकेको थियो । सायद तिमीलाई पनि बिछोडको पीडाले सताइरहेको थियो तर किन हो तिमी यसलाई सामान्य होकी जस्तै गरी ब्यवहार गरिरहेका थियौ । अझै पनि तिमीले आफ्नो मनको कुरा खुलस्त पारेका थिएनौ । किन हो तिमीमा कुनै लाज, धक थियो कि ? वा तिमी मेरै खुसीका लागि यी सब गरिरहेका थियौ कि ? मैले केही बुझन सकिरहेकी थिइन । समय चिप्लदै चिप्लदै साँझको तीन बजेमा गएर अडिएको थियो । दुई घण्टा अघि नै हामी विमानस्थल पुगिसक्नुपर्दथ्यो । अब बिछोडिनुपर्ने पीडाले म मर्माहत भएकी थिएँ । मैले तिम्रो फोन नम्बर इमेल आइडी लिएँ । तिमीले पुग्नेबित्तिकै मलाई फोन कि इमेल गर्नु भनेर भनेका थियौ । तिमी भ्रमणपछि पनि मुम्बइमा आफना आफन्तलाई भेटेर एक महिना पछि नेपाल फर्कने कुरा गरिरहेका थियौ । यसबीच भने तिमी केही भाबुक देखिन्थ्यौ र नेपाल आएपछि मसँग तुरुन्त भेट गर्नेकुरा गरिरहन्थ्यौ । जानेबेलामा तिम्रा आँखामा गहिरो गरी मैले पढ्न खोजे र आफैले आफैलाई प्रश्न गरेँ ‘के तिमी मलाई साँच्चै नै प्रेम गछ्यौ ? के हामी जीवनभर एक अर्काको जीवनसाथी भएर बाँच्न सक्छौ ? मैले तिम्रा आँखामा प्रतिउत्तर खोज । त्यहाँ मैले प्रेमको छहरीले शीतलता वर्षा गराएझैँ लाग्यो । म सुस्ताइरहे त्यो शीतलतामा । अनि मनमनै कल्पना गरे । भोलि समय के हुन्छ हामी भन्न सक्दैनौ हामी जीवनभर साथ भएपनि नभए पनि तिमीले मलाई देखाएको यो सदासयता र मानवीयताको पाठ म जीवनभर पढिरहने छु गौरव, म कहिल्यै बिर्सने छैन । तिमी मानवताको पुजारी हौ । मेरो हृदयमा तिम्रो यो प्रेम कहिल्यै मर्ने छैन । मैले तिम्रो मायालाई आफै भित्र जिवीत बनाइरहे । तिमी र म निकै समय अँगालोमा बाँधिरह्यौ । तिमी पनि सायद म .भित्र हराउन चाहन्थ्यौ । हाम्रा दुई मुटुका ढुकढुकी एक भएर बज्न थालेका थिए । निकै बेरपछि तिमीले मलाई सर्तक गराएँदै एयरपोर्टजानु पर्ने कुरा ग¥यौ । किनभने तिमी यस्तो भावनामा हराएर ब्यवहारलाई बिर्सनेमा पदैनथ्यौ । तिमीलाई व्यवहारिकताको प्रत्येक पाठ कण्ठ थियो जस्तो लाग्दथ्यो । तिमीले मलाई एयरपोर्टमा गर्नुपर्ने सबैकुरा एकएक गरी बुझाइसकेका थियौ । कतै म हराउछु की भनी तिमीलाई ठूलो चिन्ता थियो । तिमीले मेरो मोबाइलमा भारतको सिमकार्ड हालिदिएका थियौ । दिल्ली एयरपोर्टमा तिमीले चिनेको कुनै मानिसले मलाई नेपालको फ्लाइटमा चढाइदिने कुरा भएको थियो । यसकारणले पनि तिमीलाई मेरो ठूलो चिन्ता थियो । बारम्बार मैले गर्नुपर्ने कुरा तिमी सिकाइरहन्थ्यौ । म भने यो सब चिन्ताबाट टाढा तिमीसँग बिछडिनुपर्ने पीडामा जलिरहेकी थिएँ । तिमी चाहिँ मलाई सकुशल नेपाल पु¥याउनु पर्ने दायित्वको भारीले थिचिएका थियौ । तिम्रो व्यवहारले यो सब प्रस्ट गरी बुझाउँदथ्यो । तिमीले त्यो बेला नेपाल नपठाएर त्यतै राखेर दुईचारदिनपछि पठाउन पनि सक्थ्यौ । तर तिमी निकै परिपक्व र चारित्रवान देखिन्थ्यौ । त्यसैले तिमी आफ्नो कर्तब्य र दायित्वमा कुनै गुनासो राख्न चाहदैनथ्यौ । म तिम्रो यो व्यवहारबाट निकै प्रभावित भएँ । मैले सोचे यो ह्दयमा तिमी बाहेक अरु कोही हुने छैन र चाँडै हामी काठमाडाँैमा भेटेर हाम्रो भविष्यको निर्णय गर्नेछौ भन्ने लाग्यो । मनलाई सान्तावनाको अभिषेक गराएपछि केही ठन्डा भयो । इमिग्रेशनमा पस्दा तिमी परबाट हात हल्लाइरहेका थियौ मैले पनि तिमीलाई देखुन्जेल हात हल्लाइरहे । प्लेनभरि तिम्रो सम्झनाको तृष्णाले छटपटी बढिरह्यो । तर चाँडै भेट हुने आश्वासनमा आफूलाई संयमित बनाएँ । काठमाडौँ आइपुग्नेवित्तिकै तिमीलाई फोन गरँे तर तिमीसँग सम्पर्क हुनसकेन । फोन सम्पर्क नभए पछि मैले तिमीलाई मेल पठाएँ । मैले मेलमा म काठमाडौँ आइपुगेको सामान्य कुरामात्र लेखिकी थिएँ । त्यसपछि तिमीले लामो इमेल पठायौ जुन यसप्रकारको थियो ।

प्रिय हिमशिखा,
तिमी सकुशल पुग्यौ भन्ने कुराले म निके खुसी भएँ । तिमीलाई विदा गरेपछि निकै नरमाइलो लाग्यो । तिमीसँग बसेको घुमेको सम्झनाले मलाई पिरोलिरह्यो । एक मनले सोचँे म पनि काठमाडौँ नै फर्कु । फेरि साथीहरूले पक्कै नराम्रो सोच्नेछन् भनेर डर लाग्यो भ्रमण टोलीको नेताले यसरी बीचबाटोमा साथीहरूलाई धोका दिनुहुन्न भन्ने कुराले म सर्तक भएँ । तिमीलाई पठाएर म पुनः भ्रमण टोलीलाई भेटन ट्रेन, वा बसबाट देहरादून पुग्नुपर्ने सल्लाह भएको थियो । मैले सबैलाई गाइड गर्नुपर्ने कुरा तिमीलाई पनि थाहा थियो । म भने तिम्रो सम्झनाले पिरोलिरहे । प्रत्येक क्षण तिम्रो बोली र हाँसो यो कानमा गुन्जिरहयो । जताहेरु त्यतै तिम्रो तस्वीरमात्र देख्दथे । तिमीलाई ठूलो स्वर चिच्याएर बोलाउजस्तो लाग्यो । यो मन तिमीसँग प्लेनमा उडिरहेको थियो । तिमी कहाँ गयौ ? कसरी बस्यौ ? कसरी डरायौ होला भन्ने लागिरहयो । म त मणि हराएको नाग झै भएको थिए । आफैलाई कहाँ के गदैछु भन्ने हेक्कासमेत भएन । कतै आफू पो हराउँछु कि भनी सतर्क भएँ । तिमीले त्यस्तो के मोहनी लगायौ ? यो के भएको हो बुझ्न सकिनँ । अब यो हृदय तिमीसँग भेट नभई यत्तिकै भौतारिने पो हो कि झै लागेको छ । केही केटीहरूसँग मेरो रोमान्स चल्छ तर म तिनीहरूसँग यसरी सिरियस कहिल्यै हुन सकिनँ । तर तिमीमा त्यस्तो के शक्ति रहेछ ? तिमीसँगको मिलनलाई म क्षणिक मिलनको रूपमा लिन सकिरहेको छैन । म तिमीभित्र हराउन चाहन्छु । तिम्रो त्यो कोमल हृदयमा मलाई लुक्न देऊ । म त्यही समेटिन चाहन्छु । यदि तिमी मलाई चाहन्नौ भने म जबरजस्ती गर्दिनँ । तर मलाई थाहा छ मलाई जस्तो भएको छ तिमीलाई पनि त्यस्तै भएको छ किनभने तिम्रो मुटुको धडकन मैले पढिसकेको छु । त्यहाँ मेरै नाम लेखिएको छ । त्यहाँ मेरै नाम गुन्जिरहेको छ । हाम्रो युनिभर्सिटिको यो अन्तिमवर्ष हो अब हामीले हाम्रो जीवनको फैसलागर्ने दिन आइसकेको छ । भविष्यलाई एउटा निश्चित मोडमा लानेसमय आइसकेको छ । म एक महिना मुम्बइ बसेर फर्कने योजना रद्द गर्दैछु । म भ्रमणटोलीसँगै नेपाल फर्कदैछु र चाँडोभन्दा चाँडो तिमीलाई भेट्नेछु ।
उही तिम्रो प्रिय गौरव
तिम्रो यो मेलले म कति खुसी भएकी थिए । तिमी आउँदै छौ । मेरो ढुकढुकी आउँदैछ जस्तो लाग्यो । म निकै रोमाञ्चित भएकी थिएँ । साँच्चै तिमी आयौ तिमी आउनासाथ मलाइ भेट्यौ । तिम्रो अनुहारमा मेरो अनुपस्थितिले सिर्जेका उदासभावहरू देखिन्थे । भेटघाटको निकै समयपछि अनुहारमा असीम खुसीको लहर देखिन थाले । तिमी अलिक धकाएझैँ पनि देखिन्थ्यौ । अव हामीले धेरै कुरामा छलफल गर्नु थियो । सर्वप्रथम हाम्रो प्रेमलाई कसैको आँखा नलागोस् भनेर मलाइ ईश्वरसँगै कामना गर्नु थियो । तिमीलाइ मैले दक्षिणकाली मन्दिर दर्शन गर्न जाने प्रस्ताव राखँ । तिमीले सजिलै स्विकार गर्यौ शतिmकी देवीसँग हामीले हाम्रो सम्वन्ध बलियो वनाउन शतिm माग्नु थियो । हामी दक्षिणकाली मन्दिर ग¥यौ । देवीको दर्शन ग¥यौ । नजिकैको सानो खोलाको पानीमा हात मुख धोयौ । हातमा पानी लिएर हाम्रो प्रेमको अमरताको लागि संकल्प ग¥यौ । मैले तिमीलाई टिका लगाइदिएँ । तिमीले मेरो सिउँदोमा अविर लगाइदियौ । मैले सोचेँ आजदेखि म सधैँको लागि तिम्री भएँ । त्यँहा तिमी मलाई अँगालोमा बाधेर चुम्वन लिन चाहन्थ्यौ तर अरु चिनेको मानिस हुनसक्ने सम्भावनाले म पछाडि सरेँ । निकैवेर घुमेर केही खाजा खाएर हामी घर फर्कियौ ।
दिन प्रतिदिनको भेटले मात्र हाम्रो अतृप्त आत्मा तृप्त हुनसकेका थिएनन् । तिमीले एक दिन नगरकोट जाने प्रस्ताव राख्यौ । म नकारने अवस्थामा थिइन म । मैले घरमा युनिभसिटिको डाटा कलेक्शन गर्न साथीहरूसँग नगरकोट जानुपर्छ भनेर आमाबुवासँग बहाना बनाएर अनुमति लिएँ । घरमा मलाई अविश्वास गर्ने कुरै थिएन । हामी योजानमुताविक बिहान नगरकोटतिर लाग्यौँ । नगरकोटमा तिमीले होटलको एउटा कोठा बुक गरायौ । म निकै डराएकी थिएँ । कतै कसैले देख्छ कि वा थाहा पाउँछ कि भनी सलले आधा मुख छोपेकी थिएँ । त्यहाँ तिमीले श्रीमान श्रीमती, पोखराबाट आएको भनी नाम लेखायौ । हामी नारी जाति जति नै स्वतन्त्रताको कुरा गरेपनि सारै कमजोर हँुदारहेछौँ अझ सामाजिक बन्धनका कुरामा सारै संकुचित हुन्छौ ।
हाम्रो प्रेमको अन्तिमबिन्दु यही थियो कि अथवा अरु केही मैले बुझ्न सकीरहेकी थिइनँ । म तिमीलाई पूर्णरुपले विश्वास गर्दथे । त्यसैले मैले यसलाई हाम्रो प्रेमको अन्तिमबिन्दु कदापि मान्न सकिनँ । हामी एकअर्कामा हराउन आतुर थियौँ । सायद तिमी यौनआनन्द प्रत्येक पत्रपत्र केलाएर सन्तुष्टि लिन चाहन्थ्यौ । तिमीभित्रको त्यो असीम प्रेम एकएक गर्दै पातमा शीतको थोपा बर्सिझै बर्सन थाल्यो । म पनि आफ्नो व्यग्र कौमार्यलाई तिम्रो शीतका थोपामा भिजाउन आतुर थिएँ । तर किनहो किन मलाई सामाजिक बन्धनको सम्झनाले झस्कायो । विवाहअघि यी सब कुरालाई हाम्रो समाजले अवैधानिक मान्दछ । फेरि तिमीले मेरो चरित्रको परीक्षा लिन पनि यसो गरेका हुनसक्थ्यौ । मैले आफूलाई नियन्त्रित गरेर तिमीलाई अन्त अरु कुरामा मोडेर भुलाए । तिमी पनि सायद यसकार्यले डराएको हुनुपर्दछ । फेरि तिम्रो छवि ममा नराम्रो पर्न सक्छ भन्ने डर थियो क्यार तिमीलाई । तिमीले आफूलाई सम्हाल्यौ । दिनभर हामी अनेकौँ मीठामीठा गफ गरेर बितायौँ । विवाहपछिको मधुर मिलनको आशामा हामी बिछडियौँ । तिम्रो त्यो व्यवहारले म अझ प्रभावित भए किनकी तिमी अरु यौनका भोका पुरुषहरू जस्ता थिएनौ । जो आफ्नो मुखमा आएको गाँसलाई पनि अलग्गै राखेर भोको बस्न राजी होस् । तिमीप्रतिको मेरो प्रेम अझ चुलिँदै जान थाल्यो । दिनमा कैयौघन्टा हामी फोनमा हराउने गर्दथ्यौ ।
तिमी मुम्बई जाने काम थाती राखेर आएको हुनाले मुम्बइजाने कुरा गरिरहेका थियौ । नभन्दै एकदिन तिमीले मुम्बइ जाँदैछु र चाँडै आउनेछु भन्ने कुरा फोनमा ग¥यौ । म पनि राजी भएँ । तिम्रो बुबाआमा मुम्बइ छोडेर नेपाल आएपछि तिमीहरूको पुरानो लेनदेन त्यहाँ भएको र पैसा उठाउनुपर्ने कुरा गरिरहन्थ्यौ । चाँडै नै हामी विवाह बन्धनमा बाधिने कुरा पनि गरिरहन्थ्यौ । मुम्बइ गएपछि तिमीलाई खै के भयो मलाई थाहा भएन तिमीले एक हप्तासम्म मलाई खवर पठाएनौ । म यहाँ छटपटाइरहे । तिमी किन रिसायौ मैले थाहा पाउन सकिनँ । तिमीले दोस्रो पटक पनि नगरकोट जाने प्रस्ताव राखेका थियौ जुन मैले अस्विकार गरिदिएको थिएँ । सायद यस कुराले तिमीलाई ठेस पुगेको हुनसक्छ । त्यसपछि तिम्रो व्यवहारमा मैले परिवर्तन आएको देखेकी थिएँ । हप्तादिनसम्म खवर नगरेपछि मैले नै तिमीलाई इमेल पठाएँ । त्यसको जवाफ तिमीले सामान्यप्रकारले दियौ । मेरो हृदयमा नराम्ररी चोट लाग्यो । तिमीले मसँग गाँसेको यति गहिरो माया यसरी यति चाँडै पातलिँदै जाला भन्ने मैले सपनामा पनि सोचेकी थिइनँ । तिमी दिनमा घन्टौ मेरो फोनमा हराउने मान्छे । आज यति लामोसमयसम्म पनि खाजखवर नगरी बसेका छौ यो मैले गरेको कल्पना भन्दा धेरै बाहिरको कुरा भएको छ । मेरो मनमा तिमीप्रति अनेकौँ शंकाउपशंका उब्जन थालेको छ । तिमीप्रति वितृष्णा जाग्न थाल्यो । तिमीले मेरो प्रेमलाई खेलौना बनाइ खेलाएर लत्याइदियौ । तिम्रो सम्झनामा म घन्टौ रोएर बस्दथे । ममा त्यस्तो कमी के थियो र तिमीले मेरो प्रेमलाई यसरी लत्याइदियौ ? मैले केही बुझ्न सकेको छैन । मात्र तिमीलाई एउटा कुरा सोध्नु छ के हाम्रो प्रेम होटलको कोठाको लागि मात्र हो र ? ममा तिमीले त्यस्तो के कमीकमजोरी पायौ र यसरी लत्याइदियौ ?
केहीदिनपछि तिमीले मुम्बइमा नै राम्र्रो कम्पनिमा जागिर पाएको र आफू निकै खुसी भएको खवर पठायौ । तर मेरो लागि यो खवर दुःखदायी थियो । किनकी तिमी मुम्बइ काम गर्ने भएपछि मेरो बुवाआमाले तिमीसँग मेरो विवाह गरिदिनु असम्भव नै थियो । आमाबुबाको एक्लो सन्तान मलाई काठमाडौँ बाहिर विवाह गरेर नदिने कुरा भएको छ । तिमीलाई मैले यस कुराको जानकारी पनि दिएकी थिएँ । तर तिमीले यो कुरामा कुनै मतलव नै नराखेकाझै ग¥यौ ।
तिमीले मेरो पवित्र प्रेममा अपवित्र झापड हानेका छौ । हुन त मेरो विवाह गराउन मेरो बुबाआमा एकसेएक केटा खोजेर ल्याउन सक्छन् तर पनि जीवनमा प्रेम के हो ? म बुझ्न चाहन्थे । यसलाई नजिकबाट हेर्न र छाम्न चाहन्थे । तर तिमीले मेरो हृदयमा प्रेमको परिभाषालाई नै गलत प्रमाणित गरिदिएका छौ । त्यो पवित्र आस्थालाई क्षणिक वासनामा लगेर टुङ्ग्याइदिएका छौ । प्रेममा यति धेरै व्यापार हुँदोरहेछ भन्ने मलाई थाहा थिएन ।
अहिले जुनसुकै समयमा पनि म तिम्रो सम्झनामा घोरिरहेको हुन्छु । नत खान मन लाग्छ नत निन्द्रा लाग्छ । हाँस्न, खेल्न त बिर्सिसके जस्तो लाग्छ । मैले कृष्ण धरावासीको राधा उपन्यास पढेकी थिएँ । अहिले उही विरहणी राधा झै म मनमा अनेकौँ कुरा खेलाउँदै तिम्रो बारेमा सोचेर बसिरहेको हुन्छ । कहिलेकाहीँ तिम्रो सम्झना आएन र अरु कुनै कुरामा व्यस्त भएभने कस्तो आनन्द आएजस्तो हुन्छ । सधैँ यस्तो भइदिए हुने नि जस्तो लाग्छ । तर म तिमीलाई विस्मृत बनाइ बाँच्नै नसक्ने भएकी छु । तिम्रो सम्झना यति गहिरिएर बसेको छ कि म जति नै निकालेर फ्याकु भन्छु उति आफूलाई पीडा हुन्छ । कैयौ चोटि सोच्छु यो खेल हो यस्ता खेल त जीवनमा कति खेलिन्छ नि तर किन हो यो मनले पटक्क स्विकार गर्दैन । शरीरका अवयवले खेल खेल्न सक्छन् तर आत्माले कहिल्यै खेल खेल्दैन । मैले आत्माले तिमीलाई प्रेम गरेकी हुँ तिमीलाई पैसा र शरीरले होइन । आत्मा कहिल्यै बेच्न सकिन्न रहेछ गौरव ! मलाई कुनै एउटा निकासा पक्कै दिनेछौ ।
गौरव तिमीलाई मैले राम्रोसँग पढन र बुझ्न सकेको रहेनछु कि अझ बाँकी म भन्न सक्दिनँ । तिमीलाई यो सब लेखेर पठाउ वा नपठाउ म सारै दोधारमा परेँ । अन्त्यमा तिमीलाई मैले मेरो मनको भावना पोख्नै पर्ने निष्कर्ष निकाले र यसलाई मेल गरी पठाएँ ।
अन्तमा म यो भन्न चाहन्छु प्रेमको गहिराइ अनन्त छ यो प्रेमको सागरमा तिमी यसको गहिराइलाई ठम्याउन सकेनौ भने सदैव भौतारिरहेका हुनेछौ ।

उही तिम्रो प्रिया हिमशिखा

क्रमश ः

October 8, 2011

यसरी भयो फेसबुकबाट मोहभङ्ग !


समयको गतिले अहिलेको समाजलाई आधुनिकबाट उत्तरआधुनिक बनाइसकेको छ । धेरै वर्षअघि हाते पुस्तक निक्लेको अवस्थामा छापाखानाको आविष्कारले समाजमा ठूलो क्रान्तिकारी परिवर्तन ल्याएको थियो । समाज पूर्व आधुनिकयुगबाट आधुनिक बनेको थियो । अहिले संचारक्षेत्रमा भएको ठूलो क्रान्तिकारी परिवर्तनमा डिजिटल प्रविधिले फेसवुक, ट्वीटर र अनेकौँ अरू सञ्जालद्वारा मानिसको जीवनमा ठूलो परिवर्तनकारी भूमिका खेलिरहेको छ । अहिले नेपाली साहित्यको ठूलो समूह फेसवुकमा आकर्षित छन् । तुरुन्त सिर्जना गर्ने पोस्ट गर्ने अनि प्रतिक्रिया पाइहालिने भएर धेरै सर्जकलाई फेसवुकले आफूतिर तानेर मोहित पारेको छ । यसरी सबै मोहित भएको ठाउँ म मोहित नहुने कुनै प्रश्न नै रहँदैन । विगत दुईवर्षदेखि डिजिटलीय संसारले मलाई मेरो लेखनकार्य ठूलो मद्दत गरेको छ । घरबसीबसी ब्लग संचालन गरेर म देश र विदेशका धेरै पाठकहरूको घरभित्र मात्र नभई मनमा पस्न सफल भएको छु । त्यस्तै मेलबाट सबै काम गर्ने हुँदा मेरो ठूलो साधन र स्रोत बचत हुने गर्दछ । अझ फेसबुकमा सक्रिय रूपले लाग्न थालेपछि धेरै पाठकसँग म अन्तरङ्ग सम्बन्ध राख्न सफल भएको थिएँ । तुरुन्त पाइने अन्र्तक्रियाबाट म निकै प्रभावित भएको थिएँ । मान्छे सधैँ प्रशंसाको भोको हुँदोरहेछ । यही प्रशंसाको तृष्णाले मैले आफ्नो बहुमुल्य समय फेसबुकमा बिताएको थाहै हुँदैन्थ्यो । कहिलेकाहीँ लाग्थ्यो मलाई फेसबुकको नशा नै लागेको छ । अब कसरी हटाउने होला ? म उपाय पनि खोज्ने प्रयास गर्दथे । तर नशाको अगाडि सबै उपाय बालुवामा पानी हालेझै हुँदोरहेछ । बेलाबेलामा म फेसबुकसम्बन्धी खराव कुराहरू सञ्चारमाध्यमका छापाहरूमा पढदथेँ तर म वेवास्ता गर्दथे । मेरो अरु खरावी केके होलान् म भन्न सक्दिनँ तर एउटा खरावीचाहिँ यो छ कि कुनै पनि कुरा गर्दा म त्यस्मा एडिकजस्तै नै भएर लाग्छु । चाहे त्यो जुनसुकै कार्य होस् । त्यसैले फेसबुकको नशामा पनि हरसमय लट्ठिने गर्दथे । वास्तवमा समय चेतनाका भोगाइहरू नै मानव जीवनका गुरुमन्त्र हुँदा रहेछन् । फेसबुकसम्बन्धी आफैसँग भएको यो घटनाले मलाई रक्सी खाएर नशाले छोडेझैँ भयो । मलाई बिहोशीबाट होश फिरेझैँ भयो । अघिसम्म त म अन्धो नै भएर लागेको रहेछु । फेसवुकको नशाले छोडेपछि मैले यसमा खरावी नै खरावी देख्न थाले । हुन त यो बिज्ञानले सञ्चारक्षेत्रमा गरेको विकासको शक्तिशाली फटका हो । तर बिज्ञानले आणविक वम बनाएर मानवको हितको कार्य ग¥यो की विनाशको ? यो छलफलको ठूलो विषय हुनसक्छ । तर विज्ञानलाई मानवीय विवेकले माखेसाङ्लोमा पार्न सकेन भने त्यो मानवको लागि ठूलो अभिशाप सावित हुनसक्छ । मैल फेसबुकलाई पनि विज्ञानले अविष्कार गरेको आणविक वम सरह ठानेँ । आणविक वमको प्रयोगमा अलिकति तलमाथि भयो भने यसले संसार ध्वस्त पार्न सक्छ । त्यस्तै यही फेसवुकको प्रयोग गलत ढङ्गले हुन थाल्यो भने यसले समाजमा विकृति र विसंगतिको ठूलो विकिरण फैलाइ समाजलाई पतनको ठूलो खाडलमा पु¥याउन सक्छ । यो कुरा मैले भविष्यको लागि अहिले गरेका वाणि हुनसक्छ । जब मैले यो कुरा पत्ता लगाए त्यसपछि फेसबुकलाई कहिलेकाहीँ ससुराली जाने जुवाईको घरजस्तो बनाएर राखेँ । सायद यो घटना नघटेको भए फेसवुकको नशाले म आफनो अति बहुमुल्य समयको दुरूपयोग गरिरहेको हुन्थे । तर ईश्वरको कृपा भनौ वा समयको परमकृपाले म यो सानो घटनाले ठूलो पतनको खाडलबाट म जोगिएँ । खासमा घटना यस प्रकारको थियो ।

फेसबुकमा पेन लभर्स ग्रुप निकै चर्चामा थियो भनौ छ । किशोर पहाडीले यसमा नयाँनयाँ समाचार राखिदिने भएकाले यो साहित्यिक क्षेत्रमा उपयोगी र चर्चित भएको थियो । फेसबुकको कथाकुनोमा एउटा घटना घटेपछि म उत्तिसारो कुनै पनि ग्रुपमा पोस्ट गर्ने र कमेन्ट गर्न छोडेको थिए । विना सन्दर्भ हरिकृष्ण डगोल भन्नेले मेरो साहित्यलाई खतम साहित्य भनेर लेखेका थिएँ । अहिले किशोर पहाडीको यो गु्रपमा निकै ज्ञानवद्र्धक सूचना र वौद्धिक जमात देखेपछि यसमा म निकै आर्कषित भएको थिएँ । 

संंविधान सभाको म्याद सकनालागेको तर संविधान नबनेको अवस्थामा यससम्बन्धी विषयमा नयाँनयाँ कुरा फेसबुकमा आउन थालेका थिए । त्यही सन्दर्भ राखेर मैले एउटा अपहरण र हत्यासम्बन्धी कथा गरिमामा आउँदै गरेको र संविधान सभासम्बन्धी कुनै संवेदनशील कथा लेख्दैछु भनेर पाठकलाई जानकारी दिएर पोष्ट गरेको थिएँ । एकजना कपिल सिवाकोटी ले जसले अरू साहित्यकाहरूलाई व्यक्तिगत गालीगलौज गरेर नभएका आरोपहरू लगाएर कमेन्ट लेखेका थिए । उसले मलाई पनि आत्मप्रचार गर्ने र मेरो लेखन गरूप्रसाद मैनालीको पाराको भनेर कमेन्ट गयो । मलाई लाग्थ्यो म जस्तो सुकै आलोचना पनि सहनसक्छु तर होइन रहेछ कस्ताकस्ता वरिष्ट साहित्यकारहरू आलोचनाको ‘आऽ’ सुन्न नसक्ने परिवेशमा म त बालक ववुरो न परेँ । किन हो त्यो आलोचना मेरो आलोच्य पाचनप्रणालीमा अलिक बढी गुणस्तर भएको प्राटिनझँै साबित भयो । अहँ त्यो आलोचना मलाइ पटक्कै पचेन । अनि मैले मेरो अपाच्य आहारालाई फेसबुकमा यसरी छरेँ —‘कपिलजी तपाईले मलाई आत्मप्रचार भनेर जुन कुरा भन्नुभयो त्यो कहाँ, कसरी गरे त्यो बताउनुहोला । मैले त्यही आत्मप्रचार हुन्छ भनेर झन्डै एक दर्जन पुस्तक निस्कदा पनि काठमाडौँमा एउटा कार्यक्रम गरेको छुइनँ । यदि मैले चाहने हो भने हजारौँ रूपैयाँ खर्च पत्रिका आत्मप्रचार गराउन सक्थे । तर म यो पटक्क चाहन्न । मैले केही गरेको नै छैन मैले अझै धेरै लेख्नुछ । अझ मेरो राइटिङ्गको विषयमा एक जना हरिकृष्ण डगोल भन्ने साथीले झुर छ भनेर लेख्नुभएको थियो । पछि त्यसलाई पाठकहरूले कसरी खण्डन गरेँ त्यो पनि यो लिकमा छ पढनुहोला मैले यति भनेर टिप्पणी पठाए । 

यो हरिकृष्ण डगोलको घटना कथाकुनोमा घटेको थियो । त्यो कुनोमा हरिकृष्ण भन्ने मान्छेले मेरो राइटिङ्ग झुर भएको भनी लेखिपठाएको थियो । मलाई यो कुरा चित्त बुझेन र पाठकहरूले साँच्चै के भन्नुहुन्छ भनी यो लिक स्टाटसमा सेयर गरेको थिएँ । पछि त्यसमा यति धेरै पाठकले मप्रति स्नेह जगाउनुभयो । अनि मात्र मलाई थाहा भयो वास्तवमा पाठकले मलाई कतिको रुचाउनुहुँदो रहेछ भनेर । सायद मलाई पाठकको त्यही हार्दिकताले भरिएको शुभेच्छुक शब्दले लेखनमा उर्जा दिइँरहेको छ । मैले यही लिक उक्त कपिल भन्ने व्यक्तिलाई सेयर गरेको थिएँ । उक्त व्यक्ति सहमतिमा आयो । तर पछि अनुपमा निर्झर र राममणि थापा र महेन्द्र भन्नेले मलाई यस्तै अनेकौँ आरोप लेखेर टिप्पणी गरेँ । उनीहरूलाई पनि मैले मेरो बलबुताले भ्याएसम्म आफ्नो स्पष्टिकरण दिएँ । अझ भनूँ उनीहरूले गर्दा अहिले मैले आत्मप्रचार गर्न पाएको थिएँ । मैले उनीहरूलाई धन्यवाद दिएँ तर यी सब गरुञ्जेल मेरो धेरैसमय खेर गइरहेको थियो भने अर्कोतिर म तनावमा रहिरहेँ । दिनभर जसो म तनावमा रहेँ । अन्तमा मैले त्यो पोस्ट नै डिलिट गरिदिएँ । कपिल, अनुपम र राममणी र महेन्द्र भन्ने व्यक्तिको लिक नै व्लग गरिदिएँ । पछि उनीहरूले के लेखे मैले थाहा पाइनँ । किशोर पहाडीले कसरी स्पष्टिकरण दिनुभयो थाहा पाइनँ । पछि मलाई एउटा नमीठो वितृष्णा फेसबुकप्रति उब्जियो । मैले ती मित्रहरूको प्रोफाइल हेरेँ । त्यहाँ कुनै परिचय थिएन । यो भीडमा ढुगाहान्ने प्रतिगामी तत्वको लागि मैले दिनभरको समय बेकारमा बर्बाद गरे जस्तो लाग्यो । मलाई भट्टीको आगोले जलाएझैँ जलाइरह्यो । मलाई ठूलो निन्द्राबाट ब्युझेजस्तो भयो । म आफ्नो उद्देश्य र लक्ष्यबाट धेरै टाढा पुगेझँै लाग्यो । मलाई लाग्यो अब मबाट यो गल्ती हुनुहुँदैन । सायद यो घटना नघटेको भए म यो भ्रमबाट मुक्ति पाउँदिनथे हुलाँ । फेसबुकमा राम्रैराम्रो मात्र देख्ने मेरो भ्रम टुटेर अहिले नराम्रै नराम्रो देख्न थाल्यो । म फेसबुकवारे मनोबिश्लेषण गर्न पुगेँ । वास्तवमा फेसबुक एउटै जात, स्तर, सोचाइ, प्रवृत्ति र स्वभाव भएको मानिसको सञ्जाल होइन । यो हजारौँ किसिमका मानिसहरूको सञ्चालको हातेसाङ्गलो हो । यसमा अपराधिक मनोवृत्ति जगाउने एउटा ठूलो स्थल पनि हुनसक्छ जहाँ मानिसहरू लुकेर अरुलाई हिलो छ्याप्ने र ढुगा हान्ने काम गर्न सक्छन् । यहाँ जसको चरित्र सफा छ, सेतो वस्त्रमा हुन्छ र हिलो छ्याप्नेलाई सेतो वस्त्र लगाएको मानिसनै चाहिएको हुन्छ । यहाँ मानिसहरूलाई हतोत्साही र आत्मबल गिराउने अनेकौ खेल हुन सक्छन् । फेसबुकबाट गरिएका विभिन्न अपराधिक कार्यहरू अहिले मेरो मस्तिष्कमा पलेशवैक भयो । त्यही फेसवुकमा कुनै साथीको सयौ कमेन्ट आउने तर आफनो एउटा पनि कमेन्ट नआउने युजरहरू कुण्ठित मनोवृत्ति पालेर बसेका हुनसक्छन् । हामी आफ्ना सिर्जना र लिंकहरू सेयर गर्छौ यो अर्थमा कि सबैले पढुन, र सके राम्रा कमेन्ट गरुन् भनेर तर यसमा हजारौ व्यक्ति सिधै कमेन्ट गर्न सक्ने हुनाले कुण्ठित मन हुनेले अनेकौँ निराधार आरोप र गाली गलौज पनि गर्न सक्छन् । यो डिजिटल संसारको मायवी चालमा जे सुकै र जस्तो सुकै घटना पनि घटन सक्छन् । म एकपल्ट यस्तै मायवी संसारको जालमा प्रशंसाको धुरीमा पुगेर यथार्थको धरातलमा पछारिन पुगेको छु । जीवनको तृप्त÷अतृप्त सम्पृक्त भोगाइ । जीवन घटनैघटनाको शृंखला रहेछ । जुन विस्मृत भोगाइमा उभिएर जीवनले नयाँनयाँ कथाको पर्खाल खडा गर्दोरहेछ । त्यो च्याटिङ्गको घटना थियो । त्यसपछि म च्याटिङ्गमा बस्न छोडेको थिएँ । बसीहाले भने पनि काम विशेषले मात्र बस्ने गर्दछु । अहिले यो फेसबुकको घटनाले मेरो मस्तिष्कमा फेसबुकविरुद्ध नयाँ सफ्टवेयर तयार गरेर इन्सटल्ड गरिदियो । त्यो सफटवेयरले मभित्र काम गर्न थाल्यो । यो घटना कसैलाई सानो जस्तो लाग्ला तर यसको रूप भयंकर पनि हुन सक्छ र यो घटना मेरो मात्र नभई मजस्ता धेरै पात्रको हुनसक्छ । 

अन्तमा म यो भन्न चाहन्छु यो डिजिटल संसार यस्तो एउटा संसार रहेछ जसलाई हामी पानीभित्रको छायाँ भन्न सक्छौ । त्यो देखिएको छायाँ कुनै पनि बेला हराउन सक्छ त्यो भ्रम हुन पनि सक्छ र यथार्थ पनि अथार्त दुवै पनि । यति हुँदाहुँदै पनि संचारक्षेत्रले तीव्ररूपमा विकास गरेको यो फेसबुक सञ्जालसँग हामी नाता तोडन सक्दैनौँ । तर त्यो नाता फेसबुकले हामीलाई लगाउने होइन हामीले फेसकुकलाई लगाउनुपर्छ र त्यो नाता जुनसुकै बेला पनि तोडन सक्ने हुनुपर्दछ । 

यो लेख लेखेर सर्वप्रथम मैले फेसवुकको नोटमा प्रकाशित गरेको थिएँ । मलाई लाग्थ्यो म फेसवुकको नशाबाट टाढा पुगिसकेको छु । तर अहिले फेरि नोटमा राखेपछि के र कस्ता किसिममा कमेन्ट आए भनेर हेर्न म लालयित थियो । फेरि म फेसवुकमा नै झुन्डिन थालेँ । यो लेखमा धेरे कमेन्ट आयो । यहाँ फेरि कपिलजस्ता युजर पनि भेटिए तर अहिले म पहिलाको जस्तो संवेदनशील हुन छोडिसकेको थिएँ । त्यहाँ आएका कमेन्ट मध्ये भोजराज वराल भन्ने युजरको कमेन्ट निकै राम्रो र सबैले मनन गर्नुपर्ने खालको थियो त्यो यसप्रकारको थियो —
कम्प्युटर तथा सूचना प्रबिधि अध्ययन र अध्यापन गरेको अनुभव लाई मध्य नजर राखेर भन्नु पर्दा म यसो भन्छु—

१) फेसबुक लगायत का अन्य सामाजिक सञ्जाल मा नचिनेको व्यक्ति वा प्रोफाइल पढ्दा शंका लाग्ने व्यक्तिलाई साथी नबनाउनुस् जो पायो उसैलाई साथी बनाएर बढी हानि हुन सक्छ । साथी बनाइसकेपछि पनि विचारहरू मिल्न छोडे भने उनीहरूलाई साथी बाट हटाउनुस, दुःख नै दिए भने मात्र ूप्रतिबन्ध लगाई दिनुस ।
२) आफ्नो फोटो राखेपछि अरुले त्यसलाई निकालेर राम्रो वा नराम्रो प्रयोजनका लागि उपयोग गर्न सक्छन तसर्थ हुनसक्ने परिणामलाई सोचेर मात्र तस्बिरहरू राख्नुस् । हुनसक्ने परिणाम तपाईले सोचेभन्दा हानिकारक जस्तै अश्लिल प्रयोजन, अरूको शरीरसंग मिलाई दिने इत्यादि हुन सक्छन् ।
३) अरूको फोटो राख्नु हुन्छ भने उनीहरूको अनुमति लिएर मात्र राख्नुस् नत्र कानूनी फन्दामा पनि पर्न सक्नु हुनेछ ।
४) कसैले लेखेका कुरा पत्याउनै पर्ने हुँदैन । ती कुराहरू मनगढ़ंते हुन सक्छन् किनकी तिनलाई दोस्रो व्यक्तिले कडाइका साथ पुनर्विचार गरेको नहुन दरो सम्भावना हुन्छ ।
५) आफ्नो काम छोडेर यस्ता संजालमा नलाग्नुस, सकेसम्म अन्य केही काम नपाएर बोर भएको बेला बिरामी पर्दा इत्यादि मात्र चलाउनुस नत्र लत लाग्न सक्छ अनि हात र औंला तथा शरीरका अन्य अङ्गहरू दुख्न सक्छन् ।
६) मनमा लागेका सबै कुरा उदांग नपार्नुस् । यसले सम्बन्ध, नाता, जागिर र सामाजिक प्रतिष्ठामा समेत नोक्सानी पु¥याउन सक्छ ।
७) अरूले राम्रो प्रतिक्रिया दिंदैमा उत्तेजित नहुनुस, किनकी सो समुद्रमा एक थोपा हुन सक्छ, अरू धेरैले मन नपराए पनि राम्रै प्रतिक्रिया दिन सक्छन । अनि अरूले नराम्रो प्रतिक्रिया दिए भन्दैमा चित्त नदुखाउनुहोस् दिने व्यक्तिमा राम्रो संग सोच्ने शक्ति नहुन सक्छ, वा लेख्ने बेला उ राम्रो मूड़मा नहुन सक्छ । प्रतिक्रिया आउँदै आएन भने पनि चित्त नदुखाउनुहोस् । अरूको फुर्सद नभएको बेला पर्न सक्छ वा उनीहरूलाई खबर गरेको समाचार जंकू फोल्डरमा पर्न सक्छ।
८) सबै भन्दा ठुलो कुरो सधै सजग रहनुहोस् किनकी त्यहाँ लेखिएका तपाईका विचारले अरूलाई पनि उत्तिकै मनोबैज्ञानिक क्षति वा लाभ पु¥याउन सक्छ अनि सो का परिणाम सम्हाल्नै नसकिने पनि हुन जान सक्छन् ।
९) च्याट गर्दा पनि बिचार पु¥याउनहोुस्, अरूको मूड़, तपाईंको मूड़ र समयको तारतम्य परेन भने झगडा हुनसक्छ ।
१०) सकेसम्म बिषयवस्तु, प्रतिक्रिया र लेखाइ आफ्ना आँखाले मात्र नहेर्नुहोस्, सबै कुरो अरूको आँखाबाट पनि हेर्ने प्रयास गर्नुहोस् ।
११) सोचाइ सकेसम्म फराकिल्ऽो पार्नुहोस्, तर त्यहाँ किुञ्चित संकुचित सोचाइ भएकाहरूको पनि भिड छ भन्ने कुरा नभुल्नुहोस् ।
१२) यस्ता संजाल बाट अपराध निरन्तर भै रहेको हुन्छ भन्ने कुरा नभुल्नुहोस् र आफ्नो व्यक्तिगत विवरण सकेसम्म अनावश्यक गरि नफुस्काउनुहोस् ।
१३ सबै भन्दा ठुलो कुरा तपार्इँले नकिने को चिट्ठा प¥र्यो भनेर कसैले भन्यो भने नपत्याउनुहोस्, किनकि किनेकै चिट्ठा पनि परेको खण्डमा तपाईंले नमागेसम्म सो संस्थानले दिन चाहदैन ।
१४) यी सबै कुरा मध्ये नजर गरेर प्रयोग गरेको खण्डमा फेसबुक र अन्य सामाजिक सञ्जाल्ऽ का प्रविधिहरू वरदान सिद्ध हुनेछन तर ढङ्ग नजानेमा यी सबैले दुर्दशा निम्त्याउँछन्। ।

सबैको शुभ होस् भन्दैमा भगवान वा भन्ने मान्छेले पु¥याई दिने होइन, हुने कुरो तपाईंको आफ्नै हातमा भर पर्छ ( तर शुभ होस् त भन्नै प¥यो )

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।