May 28, 2010

प्रिये आज एसएमएस गरिन्

प्रिये आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झनाको उपवासमा बसेकी छु ।
उपवासको भोक मेटाउन कविताको फलाहार लिइरहेकी छु ।
हामी धेरै हरायौ
एसएमएसमा, फोनमा, च्याटमा र पत्रहरूमा
हामी कहिले आकृतिविहीन भएर हरायौ
हामी कहिले रङ्गविहीन भएर हरायौ
हामी कहिले संवादविहीन भएर हरायौ
हामीले आफूले आफूलाई चिन्न नसकिने
गरेर हरायौ
त्यसैले प्रिये आज एसएमएस गरिन्

प्रिये आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झना उत्तरआधुनिककालको
गुफामा गुप्तवास बसेको छ ।
विज्ञानको युग, साइवरको युग
एक्काइसौँ शताब्दीको युग
तर पनि भावनाहरू
किन यसरी मुक्तवास खोज्छन्
फोनले तिर्सना किन मेट्दैन ।
कम्प्युटरले सपना किन देख्दैन ।
उत्तरआधुनिकताले भविष्यवाणि किन गर्दैन ।
विज्ञानले अविश्वासलाई किन मार्दैन ।
विश्वासको सफल आरोहरण गर्न पनि
मैले आज एसएमएस गरिन् ।

प्रिये,मैले आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झनाको धरातलीय
क्षेत्रफल नाप्न बसेकी छु ।
कलम र कापीले सम्झनाका
लम्बाइ र चौडाइ नापीरहेकी छु ।
हामी असीमित लम्बाई चौडाइमा फैलियौ ।
फैलनुको कुनै सीमा रहेन ।
कुनै रेखा रहेन ।
कुनै कोण रहेन ।
तर पनि हामी स्वयम् शून्यमा हराइरहेका छौ ।
सायद शून्यको अगाडि एक अङ्क थप्न सके
हामी सम्पूर्ण हुन्थ्यौ होला ।
तर त्यो हाम्रो जीवनको
गणितीय सिद्धान्तको विपरीत छ ।
हाम्रो जीवन शून्यमा हराइरहेको हुनाले पनि
प्रिये आज एसएमएस गरिन्
मलाई माफ गर प्रिये
आज मैले एसएमएस गरिन्

No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।