January 28, 2010

बाँसुरीको धुन

तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने खबर तीन महिना अघि नै चारैतिर फैलिसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजू, ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको उपहार ल्याएकी थिए । आफूभन्दा सानालाई भागअनुसारको भागबण्डा लगाइदिएकी थिएँ । विदेशी साडी, घडी, खेलौना, कपडामा खुसीहरू साटिएका थिए । त्यो दिनभर घरका कुना कुनामा खुसी र उमङ्गका लहरहरू फैलिएको थियो । विदेशी गफ र फोटोहरूमा घडीको सुई चलिरहेको थियो ।


लोग्नेमान्छे खलक मेरो श्रीमानसँग र स्वास्नीमान्छे खलक मसँग गप्फिन व्यस्त थिए । मेरी काखकी छोरीले झन् सुनमा सुगन्ध छरिदिएकी थिई । मसिना केटाकेटीहरू मेरी छोरीसँग मस्त थिए । मेरो बुवाको नाक घोक्रेर घिरौला जत्रो भएको थियो । छोरीले राम्रो जुवाइँ पाएकी अनि विदेश गएर दुईचार लाख रूपैयाँ पनि ल्याएकी हुनाले आफैँ गर्वले फुलेर मख्ख हुनुहुन्थ्यो । मेरी आमा भने मैले ल्याएका सामानहरूको अनुमानित मोलतोल गर्दै असल कमसल मूल्याङ्कन गर्न व्यस्त हुनुहुन्थ्यो । घरका भाँडावालहरू सबैका मुहारमा उत्सुकता र उमङ्गका भावहरू छरिएका थिए ।

पहिलो दिन कति चाँडै बित्यो मलाई थाहा पत्तै भएन । दोस्रो दिनदेखि मेरो चासो र उत्सुकता घरको संघार काटेर छिमेकीको आँगनतिर पुग्न थाल्यो । मैले आमासँग छिमेकीको बारेमा पनि सोधीखोजी गर्न थालेँ । मैले आफ्ना पुराना नमा छिमेकीको एउटा झ्यालसंग नाता गाँसिएको अनायास सम्झना गर्न पुगेँ । मेरो जीवनको पानामा त्यो झ्यालसँग अतीतका केही घटना गासिएको थियो । त्यहाँ सुधिरको चित्र थियो । मैले आमासँग सुधिरको बारेमा सोधीखोजी गरेँ । हाल सुधिर कुनै प्राइवेट स्कुलमा टिचिङ्ग गर्दैछ भन्ने कुरा पत्ता लगाएँ । त्यसपछि म घरायसी काममा व्यस्त भएँ । विदेश बसेर आएको मेरो माइतमा मैले श्रीमानको टहलपहल गर्नुपर्ने अभिभारा थियो । साँझ पर्‍यो, हामी खाना खाएर केही छिन सपरिवार गप्फिएर सुत्नतिर लाग्यौँ ।

राति अचानक कतैबाट बाँसुरीको धुन बज्न थाल्यो । त्यो बाँसुरीको धुनसँग मेरो अतीत नाच्न थाल्यो । म छटपटाएँ । सुत्न सकिनँ । मेरो श्रीमान्ले सोधे- के भयो - मैले भने- "हेर्नोस् न कसैले कति नमीठो गरी बाँसुरी बजाइरहेछ ।" उसले सजिलै उत्तर दियो - "होला कोही आफ्नो प्रेयसीको विरहमा बजाउने ।" उसको मार्मिक उत्तरले मेरो मुटु ढुकढुक गर्न थाल्यो । कतै उसले थाहा पायो भने । हुन त हामी यस्ता कतिपय गफहरू खुल्लारूपमा गर्र्छौँ । ऊ पनि विवाहअघि आफूलाई मन पराउने केटीहरूको लिष्ट नै सुनाउँथ्यो । म पनि केही कम थिइन । अझ मरमसला थपेर स्वादिष्ट व्यञ्जन बनाएर पस्कन्थेँ । यस्ता व्यञ्जन पस्कने क्रममा हाम्रो होडबाजी नै चल्दथ्यो । अनि अन्त्यमा मैले नै हार खानु पर्दथ्यो ।

म सुत्न नसके पनि ओछ्यानमा पल्टेर बाँसुरीको धुन सुनिरहें । त्यो करुणरसले भरिएको धुनको तालसँगै मेरो अतीत तरङ्गति हुनथाल्यो । आजभन्दा करिब चारवर्षअघिको कुरो, म धकढ्य बाबुकी छोरी थिए । सुधिर उही बाँसुरी बजाउने युवक छिमेकमा कोठा लिएर बसेको थियो । ऊ निम्नवर्गीय थियो । हामी दुवै साइन्स क्याम्पस पढ्थ्यौँ। ऊ मभन्दा एक वर्षसिनियर थियो । प्रायः घरमा अनि क्याम्पसमा हाम्रो देखादेख हुन्थ्यो । सुरुमा म उसलाई त्यति चासो राख्दिनथे“ । क्याम्पसमा आफ्नै व्याजको केटाहरू, त्यो पनि सम्पन्न परिवारको केटाहरूसँग मात्र मेरो सर्म्पर्क हुन्थ्यो । उसको लवाइ साधारण थियो, तर बोलचालमा भने केही गम्भीरता र दार्शनिकता थियो । ऊ कहिलेकाहीँ आफ्नो झ्यालबाट हाम्रो महलको भव्यता, शान, शौकत एकोहोरो हेरिरहन्थ्यो । ठूलो घर, ठूलो परिवार अनि ठूलै रौनकतालाई ऊ गाउँको मान्छे भएर आकषिर्त गरेको होला म ठान्दथेँ । तर होइन रहेछ ऊ त विशाल आकाशमा चन्द्रमाको चाँदनीमा शीतलताको अनुभव गर्न चाहँदोरहेछ । मैले पछि थाहा पाएँ, ऊ मसँग नजिक हुन चाहँदोरहेछ । क्याम्पसमा पनि के के बहाना बनाएर मसंग बोल्न खोज्दथ्यो । कहिलेकाहीँ कविगोष्ठीमा कविता सुनाउँदा मलाई नै भनिरहेछ भन्ने भान हुन्थ्यो । बिस्तारै उसको चासोको पारो चढ्न थालेको थियो । हुन त मेरो अनुपस्थितिमा मेरी आमासँग मेरो पढाइको विषयमा सोधीखोजी गर्दथ्यो । मेरी आमालाई 'साइन्स गाह्रो हुन्छ मसँग पढ्न पठाइदिनोस् म पढाइदिन्छु' भन्दथ्यो । आमा उसको कुरालाई फोटोकपी गरेर मलाई सुनाउनु हुन्थ्यो, तर म वेवास्ता गर्दथेँ।

हाम्रो घरमा एकसेएक स्मार्ट र पढेलेखेको केटाहरूको आवतजावत हुन्थ्यो । कोही काकीको भाइ, कोही भाउजूका दाजु, अनि कोही भाँडावालका आफन्तहरू । सबै मसँग वैवाहिक सम्बन्ध गाँस्न केही न केही बहाना लिएर आउँदथे । विस्तारै घरमा मेरो विहेको कुरो चल्न थाल्यो । म भने तुरुन्त विवाह गर्ने पक्षमा थिइनँ । समय लम्बिदै गयो । बीचमा क्याम्पस केही दिन बन्द भयो । ऊ त्यो झ्यालमा देखा पर्न छोड्यो । मैले सोचेँ सायद ऊ घरमा चामल र खर्च लिन गयो होला । मलाई ऊप्रति किन हो विस्तारै दया र सहानुभूति जागेर आउँन थाल्यो । केही दिन पछि ऊ पुनः देखा पर्‍यो । किनभने उसले आफ्नो पढाइ खर्च पूरा गर्न केही ठाउँमा ट्युसन पनि पढाउने गरेको थियो । घरबाट आएको दिन उसले यति मीठो बाँसुरी बजायो- म सुनिरहेँ । उसले बजाउन पहिल्यै नै सिकेको हुनुपर्छ । नत्रभने यति छोटो समयमा कसरी सिक्यो होला । ममा कौतूहलता जाग्यो । कौतूहलतालाई मौनताको बाकसमा बन्द गर्दै दैनिक क्रियाकलापमा आफूलाई व्यस्त बनाएँ ।

उसले फेरि मेरी आमालाई मेरो परीक्षाको चिन्ता गर्दै नोटकापी लिन आउन समाचार छोडेछ । मैले पनि आफूलाई फाइदा हुने काममा किन पछि पर्ने भनेर एकदिन उसको कोठामा गएँ । उसको कोठामा स्टोभ बलिरहेको थियो । कराहीमा भात र तरकारी एकै ठाउँमा पाकिरहेको थियो । मैले झट्ट देखेँ । उसले हतारहतार छोप्यो । अनि स्टोभ बन्द गर्‍यो । सायद गफ गर्दा डिर्स्र्टब हुन्छ भनेर होला । मैले 'किन बन्द गर्नु भएको पाकोस न्' भन्दा 'हैन पाकिसक्यो' भनेर मलाई विशुद्ध झुटो बोल्यो । मैले त्यो काँचै छ भन्ने अनुमान लगाइसकेकी थिएँ । कुराको सर्न्दर्भ मोड्दै मैले आफ्नो परीक्षाको विषयमा सोधीखोजी गरें । उसले केही कुरा सिकाइदियो अनि नोटकापीहरू पनि दियो । त्यस समयमा म अलिक उट्पट्याङ्गे स्वभावकी थिएं । त्यही माथि यौवनका उन्मुक्त छालहरू हसीमजाकमा तरङ्गति हुने समय थियो । मैले उसलाई 'खाना खुवाउनु हुन्न' भनी ठट्टा गरे । उसले मेरो कुरा नकार्न सकेन- मलाई प्लेटमा अलिकति हालेर दियो । मैले उसको खाना काँचो छ भनेर आफूले बोलेको कुरालई सत्य साबित गराउन 'खाना खुवाउनु हुन्न' भनेको थिएँ । साँच्चिकै खाना काँचो थियो । मैले 'यो पूरै काँचै छ' भनेर एक चम्चा मात्र मुखमा हालेर मिल्काइ दिएँ । उसलाई सायद नराम्रो लाग्यो होला । उसले अनुहार नमीठो बनायो अनि 'फेरि पकाउँछु' भनेर गम्भीर भयो । म भने उसको यथार्थको खिल्ली उडाउँदा र आफूले बोलेको कुरा सत्य साबित गर्न पाउँदा खुसी भएकी थिएँ । मेरो व्यवहारले सायद उसलाई चोट पर्‍यो होला, किनभने पीडा भोग्नेलाई मात्र थाहा हुन्छ पीडाको भोगाई । त्यो रात उसले रातभर बाँसुरी बजाइरह्यो । मध्यरातमा म ब्यूझिँदा पनि बजाइरहेको थियो । सायद मैले उसको विपन्नताको नचाहिँदो प्रदर्शन गरेर होला उसको आत्माबाट वेदनाहरू छरिएर बांसुरीको सुरसँग निस्किरहेको थियो । मलाई आत्मग्लानी भएर आयो । मैले आफ्नो सम्पन्नता र वैभवकताको मादकतामा कुनै निर्धनको उपहास गर्नु ठीक थिएन । उसले मलाई धेरै पटक सहयोग गरेको थियो । मैले उसलाई कृतज्ञताको बदला कृतघ्नता दिइरहेकी थिएँ । मलाई उप्रति दयाको साथसाथै माया र सहानुभूति जागेर आयो । त्यसपछि ऊ प्रत्येक रात बाँसुरी बजाउँथ्यो । कुनै रात बजाएन भने म छट्पटिन्थेँ, किन बजाएन भनेर, म उसलाई निकै चासो दिन थालेकी थिएँ ।

केही समयपछि ऊ क्याम्पस आउन छाड्यो । उसलाई मैले नोटकापी बुझाउनु पर्दथ्र्यो तर्सथ मैले उसको डेरा जाने निश्चय गरेँ । योजना मुताबिक म उसको डेरामा पुगेँ । डेरामा उसकी आमा आउनुभएको रहेछ । ऊ निकै विमारी भएको रहेछ । मैले नोटकापीहरू दिएँ र धन्यवाद पनि । ऊ निकै सिकिस्त भएको रहेछ । म पनि गम्भीर भएँ ।
"नानीको घर कहाँ हो -" उसको आमाले परिचयको पर्दा खोल्नुभयो । मैले पनि सम्पूर्ण औपचारिकता पूरा गरेँ । अनि उहाँले भन्न थाल्नुभयो- "हेर न्, नानी बाँसुरी नबजाउनू छातीको विमार छ भनेर डाक्टरले भनेको थियो, मानेन । अस्ति जवरजस्ती घर जाँदा लिएर आयो । सायद रातभरि बजायो होला । बिमारी भएछ । पढ्नेमान्छे यसरी विमार भएर कहाँ हुन्छ र म यही समाचार सुनेर आएको नि नानी ।" उसको आमाको कुरा सुनेर म स्तब्ध भए“, आत्मा पोल्न थाल्यो । त्यो बाँसुरी बनाउन बाध्य गर्ने त म नै थिएँ । उसको पहेँलो अनुहार, दार्शनिक हेर्राई अनि असक्तताले मलाई पिरोल्न थाल्यो । उसको आमालाई सब कुरा भन्न पनि सकिनँ अनि असमञ्जस्यताको खाडलबाट उक्लदै 'राम्रो उपचार गर्नुपर्छ' भन्ने सल्लाह दिँदै म बाहिरिएँ । कोठाबाट बाहिरिए पनि त्यो घटना र परिवेशबाट बाहिरिन सकिनँ ।

मैले घरमा आमासँग आएर यो सब कुरा सुनाएँ । किनभने मेरी आमा मेरो प्रत्येक क्रियाकलापको निगरानी राख्नु हुन्थ्यो र म पनि उहाँलाई अनभिज्ञताबाट टाढा राख्न सक्दिनथेँ । उहाँले मेरो र सुधिरको विषयमा भित्रभित्रै धेरै कु
रा मनन गरिरहनुभएको थियो । उहा“को पनि ऊप्रति सहानुभूति थियो । हाम्रो घरमा गाई पालिएको थियो । मैले उसलाई दूध पठाउन आमालाई भनेँ । आमाले पनि मैले भने मुताबिक नै गर्नुभयो । उसको कोठामा मेरो आवतजावत केही बढ्न थाल्यो । उसले बाँसुरी बजाउन छोडिसकेको थियो । कहिलेकाहीँ म उसको कोठामा जाँदा बाँसुरी हेरिरहन्थ्यो । मेरो सुधीरसँग सर्म्पर्क केही बढेकोले घरमा गाइगुइँ कुरा चल्न थाल्यो । म घरको जेठी छोरी थिएँ । मैले केही काम गर्दा पनि सबैको आँखा र्सतक हुन्थे । अनि घरभरि मसम्बन्धी कुराहरू असरल्ल छरिएका हुन्थे । त्यो समयमा छोरीलाई परपुरुषस“ग हेलमेल बढाएको राम्रो मानिदैनथ्यो । अझ प्रेम सम्बन्धलाई अपराध जत्तिकै मानिथ्यो । मेरो विवाहको कुरामा घर, खान्दान, सम्पत्तिको कुरा अगाडि आउदथ्यो । यी सब कुराको अगाडि हाम्रो प्रेम लाचार र विवश थियो । मेरी आमाले यी सब कुराबाट विज्ञ भए पनि केही गर्न सक्ने हिम्मत उहाँमा थिएन । म आफैँ पनि घर, खान्दान र सामाजिक प्रतिष्ठाको बली दिएर सुधिरसँग सम्बन्ध गाँस्न सक्दिनथेँ । तर म ऊप्रति कसरी हो धेरै नजिक हुँदै गएकी थिएँ ।

मैले वास्तविकतालाई क्षणिक प्रेमले अन्धो बनाउन हुँदैन भन्ने कुरालाई मनन गरेँ । उसले जस्तै म पनि उसलाई प्रेम गर्थे । तर प्रेम भनेको प्राप्ति मात्र हैन बलिदान पनि हो । प्राप्तिले भन्दा प्रेम बलिदान र त्यागले अमर हुन्छ र सधैँ स्मरणीय पनि । मैले यो सब कुरा उसलाई अवगत गराएँ । ऊ मेरो सबै जसो कुरामा सहमत भयो । मैले अब उप्रान्त बाँसुरी नबजाउनू भन्ने वाचा समेत गराएँ। घरमा मेरो विवाहको कुरा चलिरहेकोथ्यो । भनेजस्तो कुलटुम्ब अनि विदेश पढ्न जाने योग्य वर सबैबाट स्वीकृत भएपछि मेरो विवाह भयो । विवाह पश्चात म दुइपल्ट माइत आएकी थिएँ । मैले उसप्रति खासै चासो राखिनँ । त्यसपछि म तीन वर्षा लागि विदेशिएको थिएँ । अचानक छोरीको रुवाइले मेरो तन्द्रा टुट्छ । उसले बाँसुरी बजाउन छोडिसकेको हुन्छ । म बिहान उठेर ऊसँग भेटेर गफ गर्ने निश्चय गरेर निदाउन प्रयत्न गर्न थालेँ ।

विहान म उसको कोठामा पुगेँ। कोठामा ताला लगाइएको थियो । म छक्क परेँ । यति विहान ऊ कहाँ गयो भनेर । मैले उसको घरवेटीलाई सोधेँ। उसको घरवेटीले मेरो हातमा सानो पत्र राखिदियो । 'सानु म तिम्रोजीवनदेखि धेरै टाढा जान चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदै छु ।तिम्रो सफल जीवनको लागि शुभकामना - उही सुधिर ।' पत्र पढेर म केहीछिन स्तब्ध भएँ । अनि परिचित छिमेकीसँग केही औपचारिक गफ गरेर त्यहाँबाट सधैँलागि विदा भएँ। मन एक तमासको भइरह्यो । सुधिरको अनुहारले पछ्याइरह्यो......। उसले भनेझैँ लाग्यो - 'अब मेरो लागि कुनै सोधखोज नगर्नू ।'

January 9, 2010

म हराएको समयकथा


जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन गर्न गईरहेकी छु ।

काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु । अफिस टाइम काठमाडौंको सडकमा गाडी जाम हुनु सामान्यजस्तै भइसकेको छ । टेम्पोमा दुई जना नवयुवती, एक जना अधँवैशे महिला, एक जना ड्राइभर, म र चारजना वयस्क केटाहरू छौ - झण्डै बाइस वर्षदेखि पच्चीस वर्षसम्मका ठिटाहरू । गाडी निकै लामो समय सम्म जाममा पर्छ । म उनीहरूको वार्तालाप सुन्न बाध्य हुन्छु । एउटा केटो जो धेरै बालिरहेको छ, ऊ पातलो जीउ भएको गोरो चिटिक्क अनुहार परेको छ । ऊ झट्ट हेर्दा मङ्गोलियन जस्तो लाग्दछ । अर्को पातलो अलिक अग्लो कालोकालो केटो झट्ट हेर्दा उस्तैजस्तो लाग्दछ । त्यस्तै अरु दुई जो सुनिमात्र रहन्छन् केही बोल्दैनन् ती पनि त्यस्तै कुनै जातको जस्तो लाग्दछ । म आफ्नो सिटमा बसेर मन नलागी मन नलागी पनि त्यो धेरै बोल्ने केटोको कुरो सुन्न बाध्य हुन्छु ।

ऊ भन्छ - 'यार˜...˜ , त्यो सहायक मन्त्री छ नि के के हो याँ..˜ त्यो त क्रिमिनल मान्छे हो नि ।'
दोस्रो चाहिँ भन्छ - 'हो यस्तै क्रिमिनल त मन्त्री हुन पुग्छन् ।'
उनीहरू यस्तै राजनीति गफ गर्छन् । अनि एकछिन पछि नगरकोट जाने कुरा गर्छन् ।
उही पहिलो केटो बोल्छ- 'याँ.˜..˜. नगरकोट जाने हो याँ..˜ केटी लिएर जाने भा पो यार -'
दोस्रो बोल्छ- ' मलाइ भन न म मिलाई हाल्छु नि ।'
पहिलो बोल्छ - 'छोड यार. याँ...˜ अस्तिको कुरा सुन न क्या त्यो अनलाइन कि छे नि याँ..˜ त्यो केटीलाई गुहेश्वरीमा बोलाएको याँ ..˜ आइ क्या ।'

अरू ध्यानमग्न भएर उसका कुरा सुनिरहन्छन् । म आफ्नो अनलाइनको घटना सम्झन पुग्छ । अहिले समय नै फेसबुक र ब्लगको छ । फेसबुकमा साथीहरूसँग एउटा घर परिवारको जस्तो गफ गर्न सकिन्छ र विश्वास पनि । फेसबुकमा नयाँनयाँ घटनाहरू थाहा पाइराखिन्छ । आफू पनि दिनको दुइघण्टा फेसबुकमा हराउने गर्दछु । फेसबुकको च्याटमा मान्छे चिनेने हुनाले च्याट गर्दा पनि विश्वास हुन्छ । अनलाइनमा नचिनेका धेरैले च्याटका लागि निम्तो गर्छन त्यसैले म अनलाइन च्याटमा बस्न त्यति रुचाउदिनँ र जहिले पनि इन्डिभिजिएवल अर्थात अदृश्यमा बसेर काम गर्छुँ । तर एकदिन के भएर हो क भिजिएवलमा अर्थात दृश्यमा रहेछु । कसैले च्याटको लागि आमन्त्रण गर्‍यो । मैले एसेप्ट गरिदिएँ । एक दुइ चोटिको गफमा नै उसले 'आइ लभ यु' भनेर प्रस्ताव राख्यो । म छक्क परेँ । मैले उसलाई सोधे 'मलाई चिन्नु हुन्छ म को हो -' यसले भन्यो 'अहँ ' 'त्यसो हो भने यो आइ लव यु शब्दलाई किन यति सस्तो बनाउनु हुन्छ ।'
उसले अन्तिममा 'सरी' भन्यो । मलाई लाग्यो यो केटो पनि उही मलाई 'आइ लभ यु भन्ने केटोको डयाङ्गको रहेछ । ऊ आफ्नो कुरा बोल्दा नक्कली लवजले छोपुलाझै गरी बोल्दै थियो -
'यार ˜..˜ मेरो त हेर याँ..˜ के भाको याँ..˜ केटीहरू त् याँ..˜ भुतुक्कै हुन्छ । त्यस अनलाइनकीलाई याँ˜ गुहेश्वरी बोलाएको याँ..˜.. ऊ आइ अनि क्या घर जान्छु भन्दै थिई ..........याँ ..˜ मैले काँ..˜ ....घर जाने भनेर बोलाएको हु र .........याँ..˜ ........गेष्ट हाउस जाने नि याँ..˜ उसलाई लिएर म गेस्टहाउस गएँ । क्याबोर याँ..˜ त्यहाँ त उसको गाउँको मान्छे रहेछ । याँ..˜ ........ उसलाई पैसा दिएर पन्छाए याँ ..˜ अनि क्या मज्जा यार ।'

उसले यसरी बोल्न सुरु गर्दा नै मैले मेरो नाक, कान र मुख छोपिसकेकी थिए । किनभने मलाई यस्तो कुरा सुन्नु नपरोस् जस्तो लाग्छ । त्यो बोल्न केटो कुनै लाज, धीन, शरम नमानी आफ्नो व्यक्तिगत अश्लीलता ओकलिरहेको थियो । यो केटो कस्तो परिवारमा हुर्केको होला किनभने व्यक्ति चरित्र आचरणमा उसको जन्मेको हुर्केको परिवेशले पुरै असर पारेको हुन्छ भन्ने मैले सोचेँ । चरित्रहीन केटाहरू यौन र वासनालाई कसरी महत्त्व दिँदै सोझासाझा केटीहरूलाई प्रेमको जालमा फसाएर यौनसुख भोगेर छोडछन् भन्ने कुरा मलाई थाहा थियो । तर यसरी सार्वजनिक स्थलमा आमासरहको महिला दिदीबहिनीको अगाडि यस्तो घृणितकार्यको बारे ब्याख्या गर्दा केही शरम लाज त मान्नु पर्ने हो नि मैले त्यो केटो अनुहार पुलुक्क हेरेँ । अहँ उसको अनुहारमा लाजडरको कुनै लक्षण थिएन । ऊ लज्जास्पद वाक्यलाई केही ढाकछोप गर्ने पाराले भन्दै थियो ।
त्यसपछि मलाई हेर्न पनि लाज लाग्यो । अहिले मैले मुख सबै छोपे । उनीहरूको कार्यको विरोध जनाउन पनि मैले यसो गरेकी थिए । गाडी अझ जाममा थियो ।
'यार ˜.. छ चोटी याँ..˜ क्या मज्जा या..˜ च्वाक । '
त्यसपछिको वाक्यहरू मैले सुन्न सकिनँ । उसका अभिव्यक्तिलाइ पचाउन उसका साथीहरूलाई पनि शायद मुश्किल परिरहेको थियो । किनभने उनीहरूले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

मलाई टेम्पोबाट ओर्लू-ओर्लू लाग्यो । तर ओर्लने अनुकुलता थिएन । बाटो पुरै जाममा थियो । एक मनले लाग्यो त्यो केटोलाई भनू - 'भाइ हेर्नोस्, तपाईको अगाडि आमा दिदी बहिनीहरू छन् यस्तो ठाउँमा यस्तो असभ्य कुरा नगर्नुहोस् । तपाईमा अलिकति सरम लाज छैन । तपाईँका आमा, दिदीबहिनीहरू छैनन् ।' तर मेरो वाक्य घाँटीको कण्ठमा नै अङकिएर रह्यो । यस्ता सोमतहीन अव्यवहारिक केटोहरूलाई यसो भन्दा आफै माथि जाइलाग्ने हो कि । कुनै ठोस् नियमकानून नभएको देशमा जिल्लाको सुरक्षाको लागि खटिएको सिडियो त कुटिन पर्छ भने हामी सामान्य नागरिकको के मूल्य होस् र । फेरि उनीहरू ठूलाठूला क्रिमिनल मन्त्रीहरूको बारेमा कुरो गरिरहेका थिए ।

हे भगवान यो देशको हालत के हुने हो - भोलि यो समाजको हविगत के होला नि - म पशुहरूको पति पशुपतिको शरणमा परेँ किनभने नेपालमा मानिसहरू भन्दा पशुहरू नै सभ्य छन् जस्तो लाग्न थाल्यो मलाई ।'
म त्यो अनलाइनकी केटीको बारेमा सोच्न थालेँ कस्ती केटी हो कस्तो घर खानदानकी होली केटोले बोलाउन बित्तिकै जाने । हुन त अहिले धेरै जसो युवाहरू विदेशिएका हुनाले धेरै केटीहरू विवाह नगरी बस्न बाध्य छन् । अलिक राम्रा र पढे, लेखेका केटाहरू देखेपछि केटीहरू मरिहत्ते हाल्ने गरेको कुरा मैले सुन्दै आएकी छु । पाश्चात्य खुला योन सँस्कारले प्रवेश पाइसकेको हाम्रो समाजमा यसरी धेरै केटीहरू खराब केटाहरूको माया जालमा फसेर आफ्नो अस्तित्व लुटाउन बाध्य छन् । हुन त खराब केटीहरूले पनि केटाहरूलाई फसाउँदैनन् भन्न खोजिएको होइन् तर यो स्वतन्त्रताको सदुपयोग जति केटाहरूले लिन्छन् केटीहरूले त्यसको कम उपभोग गरेका हुनसक्छन् । म सोच्छु पूर्वीय संस्कारले पनि केटीहरू पराश्रति, बन्धित बनाएको छ । पाश्चात्य समाजको जस्तो स्वतन्त्र हुन नसके पनि पूर्वीय संस्कारले नारीहरुलाई केही मात्रामा सुरक्षित बनाएको छ । तर नारीहरू जसरी पनि ठगिएका छन् । यो मेरो मान्यता हो ।

त्यो केटो बोलुञ्जेल मलाई त्यो ठाउँबाट बिलाइजाऊ, हराइजाउ- जस्तो लाग्यो । तर त्यो सम्भव थिएन । एक छिन पछि उनीहरू शहिदगेटमा झरेँ मैले राहतको सास फेरेँ ।
दिनभर किनमेल गरुञ्जेल त्यो केटाले बोलेका बेसोमति कुराहरू मस्तिष्कमा घुमिरह्यो । जति बिर्सू भन्छु बिर्सन सकिन् । त्यसपछि काम सकेर म घर फर्के ।

घरको नित्यकाम सकेर म सदाझैँ कम्प्यूटरमा बसेँ । कम्प्यूटरमा छोरीले आफ्नो मेल साइन आउट गरेकी रहिनछ । खोल्न बित्तिकै उसको मेल देखियो । उसको इनबक्समा दुइवटा मेल आएका रहेछ । त्यो के रहेछ हेर्नुपर्‍यो भनेर हेरेँ । पहिलोमा हेरेँ -अङग्रेजीको रोमनमा मुश्किलले बुभ्न सकिने गरी लेखिएको थियो ।
' मैया .....याँ....क्या त्यो दिन त गेष्टहाउस गएको दिन क्या विक भए नि । दिनभर घरमा रेष्ट गरेर सुते । अनि तिम्रो के खबर छ । या फेरि भेट्ने होइन-'

यो मेल पढेर म छाँगोबाट खसेजस्तै भएँ । तर पनि मेल अस्पस्ट भएको के हो–के हो बुझिन् । त्यसपछि अर्को मेल खोलेँ । अर्को मेलमा फाइल अटेच गरिएको रहेछ । त्यो फाइल खोलेँ । त्यो फाइल फोटोको रहेछ खुल्न निकै समय लाग्यो । जब त्यो फाइल पुरै खुल्यो तब मलाई म मुनिको जमिन भासिएझैँ लाग्यो । त्यहाँ उही केटोको फोटो र छोरीको फोटो थिए । फोटो उत्तेजक अवस्थामा खिचिएको थियो । तीनवटा फोटो सबै पालैपालो हेरेँ । मलाई रिगँटा लाग्दै गयो । मैले दुइदिन अगाडि छोरीले साथीको घरमा पूजा छ म उही बस्न जान्छु भनेको कुरा सम्झेँ ।

मेरो अगाडिको सबै दृश्य घुम्न थाल्यो । थामि नसक्नुको पीडाको भारी पलङ्गमा बिसाउन सिरक उचाले । सिरक पटक्कै उचाल्न सकिनँ । मेरो शरीर मलाई आफैलाई फूलको थुगाँजस्तो लाग्यो । यो के भयो म छक्क परेँ । आफूले आफैलाई हेर्न ऐना अगाडि गएँ । तर अचम्म, अहँ ऐनामा मेरो प्रतिबिम्ब पटक्कै देखिएन यो के भएको म छक्क परेँ । म चिच्याएँ । म चिच्याएको कसैले सुनेनन् । ऐनामा मैले राखेको टिका र पोते देखेँ । मलाई लाग्यो यो ठाउँमा हराइसकेको रहेछु । यहाँ त मेरो आकृति मात्र नाँचिरहेको रहेछ ।
मलाई अरू सबैभन्दा धेरै माया मेरो टीका र पोतेको लाग्यो । ऐनामा म हराएको समय नाचिरहेको थियो चलचित्र बनेर ।

आतिथि सत्कारको परिभाषा


गाउँमा हत्या, हिंसा र अपहरण बढेपछि ऊ नौ(दसजनाको सन्तानको भार बोकेर सहर पस्यो । तीन पुस्ताअघि चिनेको आफन्तकहाँ वासका लागि सहारा लिन पुग्यो । सहरको खुम्चिएको आत्मीयता र अपनत्वमा उसले वास पाउन सकेन । भाडामा दुर्इ कोठामा जीविका चलाएका उसका आफ्नाकी श्रीमतीले चार(पाँच दिनदेखि ननुहाएको गन्हाउने जीउ बोकेर आएका उसका सन्तानलाई वास दिन अस्वीकार गरी ।

नजिकैकको लजमा वास बस्ने सल्लाह दिई । तर लजमा बस्दा पैसा खर्च गर्नुपर्ने पीडाले ऊ मर्माहत भयो । केही नभए आफ्नो चिनारु अफिसबाट आएपछि वाससम्म देला भनेर ढोका कुरेर बस्यो । उसका आफ्नाले पनि परैदेखि गन्हाउने पोकापन्तरा बोकेका उसका सन्तान र उसलाई अपरिचित व्यवहार गर्यो । वासको अन्य विकल्प खोज्दै ऊ आफ्नाको भाइको घरमा पुग्यो । भाइचाहिँको आफ्नै घर थियो । भाइले राम्रो व्यवहार गर्यो , स्वागत , सत्कार गर्यो । हो यस्तो हुनुपर्दछ आफन्त भनेको अनि मानवीयता भनेको । साँझमा पाहुनालाई देवतासमान गर्नुपर्दछ । ऊ आफ्नाको भाइको आतिथ्यसत्कारबाट द्रवीभूत हुँदै कृतकृत्य भयो ।

उसले दाजुले गरेको निठुरी व्यवहार भाइलाई सुनायो । भाइले पनि आगोमा घिउ थप्दै दाजु र भाउज्यू आफन्तको वास्ता नगर्ने निठुरी भएका बखान गर्यो । उसले भाइको मुखेन्जी प्रशस्त प्रशंसा गर्यो । भोलिपल्ट बिहान आतिथ्यसत्कारबाट कृतज्ञ भएको उसको हृदयले भाइको सामु सुखदुखको पोको खाल्यो । उसले पहाडको घरजग्गा बेचबिखन गरेर पैसा ल्याएको र सहरमा सानो घरघडेरी किन्ने मनसाय आकल्यो । उसको कुराले भाइको आतिथ्यसत्कारमा अझ बढी ऊर्जा थपियो ।

ऊ उत्साही हुँदै बोलीमा मिठास र व्यवहारमा आत्मीयता देखाउँदै आफूले धेरैलाई घरजग्गा किनिदिएर समाजसेवा गरेको वृतान्त व्याख्या गर्यो । ऊ धन्यधन्य भयो । वास पनि पाइयो अब चाँडै घरघडेरी किनेर घरजम गर्न पाउने आशामा आनन्दित भयो । उसलाई पाँच लाखमा घरघडेरी किनाइदियो भाइले । ऊ पनि खुसी हुँदै घरजम गरेर बस्यो । केही दिनपछि छिमेकीको कर्कश गाली उसका कानमा पर्न थाल्यो । उसले घरबाट बजार आउँदाजाँदा छिमेकीको आँगन भएर जानुपर्ने कुरा उसले पछि बुझ्यो ।

आफ्नाको भाइको मीठो बोली छिमेकीको कर्कश गालीमा रूपान्तरित हुँदै गयो । केही दिनपछि पानी पर्न थाल्यो । उसको घर चुहेर उसको अज्ञानता र विवशतालाई चुट्न थाल्यो । उसको आत्मा रोएर वर्षाको पानीसगै बग्न थाल्यो आँसु बनेर । ऊ शहरको परिवेश र बाँच्ने शैलीसग बिस्तारै परिचित हुदै जान थाल्यो । ऊ गाउँ र्फकन सक्दैनथ्यो । शहरमा बाँच्नका लागि उसले कि आफ्नाको बाँच्ने शैली अपनाउनु पर्दथ्यो कि त आफ्नाको भाइको । शहरमा बाँच्नको लागि उसले पनि आफ्नाको भाइको नै जीवन शैली अपनायो । अनि ऊ निर्भिक सुरक्षित र सम्पन्न बन्दै गयो ।

मैनबत्तीको शिखा


आमापछिकी दिदी, उनको भावना पोखियो बैनीमाथि अनि एकिकार लियो माया र स्नेहले । उनले बैनीलाई एस.एल.सी पास गर्नेबित्तिकै लगिन् सहरमा पढाउन । सहरमा राम्रो क्याम्पसमा पढाइन् । बैनीले पनि दिदीको भावना उजिल्याउँदै लगी अनि सपना साकार पार्दै लगी । आफ्ना श्रीमान्का आफन्तहरूको विचारस“गै कुस्ती खेल्दै बैनीलाई धेरै पढाइन् । आफूले खाने गाँस मासिन् अनि आफूले लाउने लुगाको अधिकार खोसिन् । आफू त विवाह भइसकेकी मान्छे, बैनी भनेको लाऊँ-लाऊँ खाऊँ-खाऊँ भन्ने बेलाकी, उसका साथीभाइका अगाडि दाँजिएर हिँड्नुपर्छ भन्ने मान्यताले माझिन् आफूलाई । आफ्ना धेरै चाहनाहरूलाई बलिदान दिइन् । बैनीले पनि दिदीको माया र भावनाका भण्डारमा आफूलाई चुर्लुम्म डुबाएकी थिई ।

समय बग्दै गयो भावनाले बगेको खहरेमा । बैनीले पढिसकेर कुनै एन.जी.ओ.मा जागिर खान थाली । तलब मनग्गे थियो । बिस्तारै बैनीले सोही एन.जी.ओमा माथिल्लो तहको हाकिमसँग दाम्पत्यजीवन गाँस्न पुगी । बैनीको सफल भविष्य देखेर दिदी मख्ख पर्थिन् । आफूले छिट्टै विवाह गर्न परेर अस्तित्वविहीन भएर बाँच्नुपरेको पीडालाई बैनी सक्षम भएर समाजमा धेरै अगाडि बढेको खुसीले मलमपट्टी गर्दथिन् ।

समयले धेरै दूरी नापिसकेको थियो । वर्षाको खहरे खोल्सा सुकेर शरदको चिसो मुटु छेड्ने हावा बग्न थालेको थियो । एकपल्ट उनको छोरो निकै बिमारी भयो । उनले बिमारी छोराको निकै उपचार गरिन् र धेरै खर्च पनि गरिन् । तर निको भएन । उनले सोचिन् सायद बैनीले केही सहयोग गर्ली भनेर । उनले बैनीको अगाडि दुःखको बिस्कुन बिछ्याइन् ।

तर बैनीले उनलाई आर्थिक सहयोग गर्नुको बदला मानसिक र्समर्थनधरी गरिन । "छोरालाई बिमारी बनाउने तिमी नै हौ" भनेर उनको आशा र विश्वासलाई जलाएर खरानी पारिदिई । दिदी जल्दै गई मैनबत्तीको शिखाझै“ । उनले आफ्नो जीवनको उद्देश्य नै आफू पग्लँदै अरूलाई उज्यालो दिनु हो भन्ने सोचिन् । उनले बिर्सिदिइन् बैनीले जलाएको माया, विश्वास अनि आशालाई, अनि साहित्यकार बनिन् । साहित्यमा आफ्ना पग्लेको भावना जमाएर आफूलाई कठोर पार्दथिन् । उनले लेख्दा-लेख्दा गरेर धेरै सिर्जना थुपारिन् ।

एक दिन आफ्नो जलेको आशा र विश्वास पुनजीवित पार्दै बैनीको घरमा गइन् । बैनीसँग पुस्तक प्रकाशित गर्न केही सहयोग मागिन् । त्यो रकम उसको लोग्नेको एक महिनाको तलबको आधा थियो । उनको आशा र विश्वासमा पुसको चिसोले तुषारापात पारेझैँ पार्दै भनी - "हेर दिदी, यो साहित्यलर्ँइ भनेर ज्वाइँले एक पैसा पनि दिइसिन्न । वहाँ साहित्य र साहित्यकार नै मनपराइसिन्न । तैपनि तिमी माग्न आइछौ, म भनिदिउँला । हेर न, सबैजना पैसा माग्नका लागि मुख ताकेर आउँछन् । यसो अलिक कमाएर बस्नु पनि गाह्रो हुँदो रहेछ, नदिऊँ मुन्टो बर्टार्छन् अनि नानाथरी कुरा काट्छन्, । के गर्नु दिऊँ फेरि फर्केर आउँदैन । तिम्रा लागि पैसाको कुरा गरेँ भने ज्वाइँले उही अरूलाई सोचेझैँ सोचिसिन्छ, तिम्रो प्रेस्टिज नै डाउन हुन्छ । बरु त्योभन्दा नमाग्दा नै बेस हुन्छ । बरु यो किताब छाप्ने काम नै नगरे हुन्थ्यो ।" बैनीको शब्दले उनी धूवा“ हुँदै गइन् । उनी खिइँदै गइन्, पग्लँदै गइन् । फेरि त्यो पग्लाइलाई जमाउने चेष्टा नै गरिनन् ।

उनले आफ्नो लेखकीयतामा गरिएको उपहासले थोपाथोपामा परिणत हुँदै विखण्डित हुँदै गइन् । कण-कणमा परिवर्तित र विखण्डित भएका भावना बोकेर उनी त्यहाँबाट हिँडिन् । उनका भावनासँगै उनको आशा र विश्वास जलेर खरानी भइसकेको थियो । उनले फेरि त्यो आशा र विश्वासको शिखा जलाउने कोसिस नै गरिनन् । मैनबत्तीको शिखा जलेर खरानी भइसकेको थियो भने पग्लेको मैन कण-कणमा विखण्डित भई चिसो सिरेटोले जमिसकेको थियो ।

अस्तित्वको खोजी


ऊ सहर बसेर पढ्यो । सहरमा नै जागिर खायो । बेलाबखत विदेश पनि जान्थ्यो । उसले आर्थिकोपार्जनका लागि यथेष्ट जिजीविषाहरू पहिल्यायो । लगनशीलताका पाइलासँगै जीवनमा सफलताले चुली उक्लँदै गयो । आधारभूत आवश्यकतका सम्पूर्ण काँडे झ्याङहरू उखेलेर सम्पन्नतालाई घेरेर राख्यो । उसको महत्त्वाकाङ्क्षा जीवनको सफलतासँगै उचालिएर गयो । अनि सम्पन्न घरानाकी केटीसँग वैवाहिक सम्बन्ध गाँसेर सम्पन्नतालाई वैभवताले माझेर समाजमा प्रतिष्ठित भएर चम्कने चाहना गर्न थाल्यो । नभन्दै उसले प्रतिष्ठित अनि धनाढ्य बाबुकी छोरीलाई माखेसाङ्लोमा पार्‍यो । क्याम्पस, घर र आफन्तबाट हुने सबै उपाय लगाएर साङ्लोलाई अझ मजबुत बनाउँदै लग्यो । एकदिन उसले जीवनको यो महत्त्वपूर्ण कार्यमा पनि सफलता पायो ।

उसको जीवन सहरमा मात्र पूर्ण थिएन । उसको जीवनको आधा पाटो गाउँको घर, बाआमा अनि आफन्तबीच पनि फैलिएको थियो । एक दिन जीवनका सफलताहरूको दृश्यपान गराउन नवदुलही लिएर गाउँ गयो । गाडीमा एक रात चढेर अनि एक दिन हिँडेर पुग्नुपर्ने ठाउँमा उसको घर थियो ।

नवदुलही लिएर ऊ घर गयो । गाडीको बाटो सकिएर अब पहाडको उकालो हिँड्नुपर्ने थियो । हिँड्दा-हिँड्दै नवदुलहीलाई ठेस लाग्यो । उनी लडिन् र उसलाई पर्नु पीर पर्‍यो । हतार-हतार नवदुलहीलाई उठाउँदै भन्यो- "ओहो प्रिय तिमीलाई ठेस लागेछ, खुट्टामा घाउ पनि भएछ । अब कसरी हिँड्छौ । पर्ख, म डोलीको व्यवस्था गरिदिन्छु । आखिर नयाँ दुलही नै त हौ नि डोलीमा चढ्दा के हुन्छ ।"

उसले तुरुन्त डोलीको व्यवस्था गरिदियो र घर पुर्‍यायो । घरमा स्वागतार्थ सबै जना थालमा दियोकलश र गाग्रीमा पानी लिएर बसेका थिए । नवदुलही आफूप्रति गरिएको व्यवहारबाट प्रफुल्ल भइन् । समय बग्दै गयो । उसले काँधमा काँध मिलाएर आफ्नो दायित्व बोक्ने छोरो पनि पाइसकेको थियो । उसको जीवनमा सफलताले र प्राप्तिले लगाम दिन थालिसकेको थियो । पहिलेको जस्तो उत्साह, उमङ्ग अब कम हुन थालिसकेको थियो ।

पुनः सात वर्षछि ऊ श्रीमती लिएर घर गयो । अघि-अघि ऊ अनि उसको छोरो, पछिपछि भरिया अनि उसकी श्रीमती थिइन् । बाटामा हिँड्दा-हिँड्दा उसकी श्रीमती सात वर्षघि लडेको ठाउँमा फेरि लडिन् । उसले सामान्य सहानुभूति देखाउँदै भन्यो- 'कस्तो बाटो नहेरी हिँडेको - राम्रोसँग बाटो हेरेर हिँड्नुपर्छ नि - ठीकै छ भरियासँग आउँदै गर्नु म जाँदै गर्छु' उसकी श्रीमती सात वर्षघिको दिन सम्झँदै घ्रि्रन थालिन् ।

उसको जीवन पहाडको बाटोजस्तै उकाली, ओराली अनि होचोअग्लो हुँदै अघि बढ्न थाल्यो । समयले धेरै दूरी नापिसकेको थियो । दस वर्षछि फेरि उसले श्रीमती लिएर घर जानुपर्ने भयो । ऊ पुनः श्रीमती लिएर घर गयो । गाडीबाट सँगै झरेर सबैजना हिँड्न थाले । उसकी श्रीमती फेरि पहिला लडेको ठाउँनेर ठेस लागेर लडिन् । ऊ श्रीमतीभन्दा धेरै अगाडि थियो । उसले श्रीमती लडेको थाहासम्म पाएन ।

घरमा पुगेर श्रीमतीले आफू लडेको र आफ्ना साथमा कोही नभएको गुनासो पोखिन् । श्रीमतीको कुरा उसको लागि गनगन भयो । अनि र्झकँदै उत्तर दियो- 'पहाडको बाटो यस्तै हुन्छ भन्ने थाहा छैन तँलाई - हामीले लडाइदिएका हौँ - ठीकै छ, अबउप्रान्त पहाड नआउनू ।' श्रीमतीलाई मुटुमा चोट पर्‍यो । उनी आफ्नो सत्र वर्षगाडिका दिनहरू सम्झन थालिन् । उसलाई बिहा गर्नका लागि उसले कुनचाहिँ सूत्र अपनाएको थिएन होला - आज यही सूत्र अप्रमाणित भएर उसको जीवनको अस्तित्वमा छापिन आएको छ । समयको अन्तरालमा आफ्नो अस्तित्व उनले कहाँ हराइन् पत्तै पाउन सकिनन् । सायद उनबाट पाउने सफलताका सबै ढोकाहरू अब उसको लागि बन्द भएर होला । उसले रस निचोरेर फ्याँकेको कागतीझैँ उसको अस्तित्वलाई मिल्काउन खोजिरहेछ भन्ने कुराचाहिँ उनले पक्कै बुझिन् ।

January 8, 2010

मेरी अजी

जब म शारीरिक थकाइले चुर हुन्छु अनि क्रियाशील मस्तिष्कमा बौद्धिक ज्ञान घुसाउन अर्समर्थ हुन्छु तब म सिर्जनशील मस्तिष्कमा कल्पनाका तारहरू बुन्न थाल्दछु । बुन्दाबुन्दै एउटा राम्रो जाल बनाउन पुग्दछु अनि त्यही जालमा कथाको पात्रलाई माकुराले सिकार पारेजस्तै सिकार बनाउँछु । त्यो पात्र जोकोही पनि हुन सक्छ । एउटा अथवा एउटा भन्दा धेरै पनि । कल्पनाको जालो म मेरो परिवेशको वरिपरि नै बुन्छु । तर म यसलाई यति मजबुत बनाउन चाहन्छु कि कुनै पनि व्यवधानले यो नचुडियो्स । मजबुत बनाउने क्रममा वर्षौ लाग्न पनि सक्छ अनि केही समय पनि । तर म सधैँ कल्पनाको तार मात्र बुन्दिन । कहिलेकाहीँ विगत वा वर्तमानको यथार्थलाई नै तार बनाएर बुन्न पनि थाल्छु । यस्तै बुन्ने क्रममा धेरै समय देखि स्मरणको कुनामा थन्किएको अनि मजबुत जाल बुनेर फँसाउन नसकेकी पात्र हुन( मेरी अजी (नेवारीमा आमाको आमा० आज तिनै श्रद्धेय अजीलाई म मेरो साहित्यको शब्दजालमा फँसाएर सबैलाई उहाँको व्यक्तित्वसँगै चारित्रिक रसास्वादन गराउन चाहन्छु ।
मेरी अजी मलाई असाध्यै माया गर्नुहुन्थ्यो । अन्य नातिनातिनाभन्दा मलाई विशेष ख्याल र माया गर्नुहुन्थ्यो । मेरो आस्था र श्रद्धाको चुलीमा सधैँ मैले मेरी अजीलाई राखेकी थिएँ र छु पनि । हुन त मेरी अजी कतिजनाको लागि कडा स्वभावको, रिसाही र अव्यावहारिक पनि हुनुहुन्थ्यो । तर मेरा लागि सध“ै कोमल हृदय भएकी र दयालु नै हुनुभयो । मलाई कहिल्यै रिसाएर र झर्केर बोल्नुभएन । उहा“को रिसाउने र र्झकने बानी थियो । त्यो स्वाभाविक पनि थियो । किनभने मेरी अजीले धेरै दुःख र पीडालाई गुम्साएर राख्नुभएको थियो । त्यही दुःख र पीडा रिसमा परिणत भएर पोखिन्थ्यो । तीस वर्षो बै“समा मेरो अजाले उहा“लाई चारवटी छोरी जिम्मा लाएर परलोक जानुभएथ्यो । अजा खस्दा उहा“की कान्छी छोरी छ महिनाकी मात्र थिइन रे । अजी एक्लैले धेरै बुहार्तन खपेर चारवटी छोरीलाई हर्ुकाएर राम्रै घरजम गराउनुभएको थियो । छोरीहरूलाई केही भन्यो भने पोथी कुखुराले उसका चल्ला छु“दा ठाडै जाइलागेझ“ै जाइलाग्नुहुन्थ्यो रे । धरान प्रहरी ठानाको पा“च(सात घरमुनि घर भएकी मेरी अजीदेखि थानेदार, प्रधानपञ्च सबै डराउ“थे रे ।
भोजपुर पहाडमा अरूका घरमा धेरै बुहार्तन सहेर मेरी अजा, अजी बस्नुहुन्थ्यो रे । पेटभरि खान नदिने अनि अनेकौ“ लाञ्छनाले विभूषित गराउने आफन्तको घरबाट निस्केर घरान झर्नु भयो रे । घरानमा पनि टाउको लुकाउने ओत र खानेवस्नेको अभावले धेरै तडपिनु भयो रे मेरो अजाअजी । पछि विस्तारै सानो व्यापार गर्न शुरु गरेर स्थाई बसोवास बसाउन सफल हुनु भयो । मेरी अजी रातभरि काम गर्ुनहुन्थ्यो रे । काम गरेर कहिल्यै नथाक्ने मेरी अजीले विस्तारै खेतबारी जोड्न थाल्नु भयो । त्यस समयमा हालको बरगाछी अनि सदन स्कूल पछाडि असाध्यै जङ्गल थियो । त्यही जङ्गल फा“डेर मेरा अजा अजीले खेतवारी जोड्नु भयोे । जब बस्न र खानका लागि काम गरि खाने भा“डो बनाइसक्नु भएकोथ्यो तब अजाले एक्लै छाडेर जानु भयो । उहा“लाई अजाले असाध्यै माया गर्नु हुन्थ्यो रे ूत्र्रिा बूढाहरूले के माया गर्छन तिमेरूको अजाले जतिू भनेर अजाले गर्ने माया व्यक्त गर्नुहुन्थ्यो । हुन पनि हो ूधेरै पिरती थोरै दिनलाई थोरै पिरती धेरै दिनलाई (ू भनेझै“ भयो । अजा थोरै दिन बा“च्नु भए पनि धेरै माया गर्नु हुन्थ्यो रे । अजीलाई खेतमा जा“दा मुखमा घाम लाग्छ भनेर छाता ओढाएर लानु हुनथ्यो रे । काम धेरै गर्दा खुटांमा तेल लगाइदिनु हुन्थ्यो रे । अजीले ूआज मलाई यो खान भन छ भन्नेबित्तिकै त्यो खानेकुरा खोजेर ल्यादिनु हुन्थ्योू रे । अनि घरबाहिर जा“दा जहिले फूल ल्याएर लाइदिनु हुन्थ्यो रे त्यसताका छोरी पायो भने सुत्केरीलार्इर्र्फर्सर्ीीे झोल खुवाउनु पर्छ भन्ने उखान प्रचलित हु“दा पनि चारवटी छोरी जन्माउ“दा कहिल्यै रिसाउनु भएन रे मेरो अजा । बरु उल्टै अजीलाई सम्झाउनु हुन्थ्यो रे । यसरी अजीका झण्डै चालीस जना नातिनतिना सपरिवार भेला हुन्थ्या“ै चार्डपर्वमा अजीको घरमा । कति रमाइलो हुन्थ्यो त्यो दिन । दशै“मा अजीले टीका लगाएर त्यससमयमा दश रूपैया दि“दा म भुइ“मा न भा“डामा हुन्थे“ । स्कूल जा“दा म जहिले पनि अजीको घर निस्कन्थे“ । यसरी निस्कदा प्रत्येकपल्ट टीका लगाएर एक रूपैया दिनु ह“दा म फुरुक्क हुन्थ“े । अजीले प्राय ः हामीलाई अर्ती उपदेश दिइरहनु हुन्थ्यो । विशेषगरी विवाहको विषयमा सचेत गराउनु हुन्थ्यो । त्यस समयमा पढेका छोरी पोइल जान्छन भन्ने हल्लाले गा“उघर आक्रान्त हुन्थ्यो । त्यसैले मेरी अजी पनि मलाइ सम्झाएर भन्नु हुन्थ्यो ( ूजुन केटा मन पर्छ तिमिहरूले बाउलाई भन्नु नत्रभने बाउको कत्रो बेइज्जत हुन्छ ।ू भनेर सम्झाउनु हुन्थ्यो । मेरी अजी प्रेम विवाहलाई पनि प्राथमिकता दिनु हुन्थ्यो । प्रेम सम्बन्धमा उहा“ खुकलो हुनु भएपनि जातियतामा असाध्यै कठोर हुनुहुन्थ्यो । मेरो अजी रसिक र रमाइलो गर्ने अनि धार्मिक स्वभावको हुनुहुन्थ्यो । अजीको घरमा प्राय पूजापाठ, पुराण आदि कार्य भईरहन्थ्यो । यस्ता कार्यमा म दत्तचित्त भएर लाग्ने गर्दथे । त्यसैले पनि होला अजी मलाई माया तथा विश्वास गर्नुहुन्थ्यो । त्यो बेलाको सामाजिक संस्कार, रहनसहन अनि छोरीमान्छेले गर्नुपर्ने सामाजिक व्यवहार सारै संकिर्ण्राथयो । चार्डपर्वमा नेवार समाज केही सगुनको रूपमा मध्यपान गर्ने चलन अनुसार अजी केही पिएपछि भावुक बन्नुहुन्थ्यो अनि अजाको सम्झनामा के(के गीत गाउने गर्नुहुन्थ्यो ।
म मेरी अजीलाई गर्वको रूपमा लिने गर्दछु । किनभने मेरो बुबााको सन्तानलाई घरान बजारमा स्थापित गराउनमा मेरी अजीको ठुलो हात छ । मेरी अजीको आर्थिक तथा सामाजिक आयस्रोतमा मेरो बुबाले धेरै विकास गर्नु भएको थियो । पहाडबाट एक्लै र रितmै झर्नु भएको मेरो बुबास“ग बुद्धि र लगनशीलता त छ“दै थियो त्यसमा थप सहयोग गर्यो मेरी अजीको भावना र सहयोगले । छोरा नभएर छोरीलाई नै छोरा सरह ठान्नुभएको अजीले सबै छोरी जुवाइ“लाई उतmिकै भरमग्दुर सहयोग गर्नु भएको थियो । सहयोग गरेर मात्र हु“दैन लिने पनि त्यसको सदुपयोग गरेर अधि बढ्न सके मात्र जीवनमा सफलता पाइन्छ भन्ने कुरालाई मेरो बुबााले चरितार्थ पार्नु भएथ्यो । अजीलाई पनि मेरो बुबाप्रति गर्व र विश्वास थियो । सबै छोरीहरूको प्राय क्षेत्रीस“ग विवाह भएको हुनाले मेरी अजीमा क्षेत्री नेवार भन्ने विभेद थिएन । प्राय संस्कार, रीतिरिवाज क्षेबाहुनको नै गरिन्थ्यो ।
आजभन्दा चौध वर्षघि मेरी अजीको देहान्त भयो । अजीस“ग म भावनात्मक रूपले नजिक हु“दाहु“दै पनि अन्तिम समयमा मैले अजीलाई भेट्न पाइन“, साह्रै अफसोस लागिरह्यो । अजी दर्ुइ वर्षघि देखि थल्लिनु भएकोथ्यो । कहिलेकाही“ भेट्न जान्थ“े । मेरी आमा उहा“लाई स्याहार्न स“गै बस्नु भएकोथ्यो । अजीलाई घेरै पटक अस्पताल राखिएको थियो । अन्तिम समयमा वाक्य बस्ने बेलामा मलाई खूव खोज्नु भयो रे ूशर्मिला, खोइ किन आइन मस“ग रिर्साई कि †ू भनेर । तर म घरव्यवहार र जागिरले गर्दा इटहरीको मान्छे घरान पुग्न सकिन“ । त्यसको दर्ुइ दिनपछाडि जादा“ अजीको वाक्य बसिसकेकोथ्यो अनि मान्छे नचिन्ने अवस्थामा हुनुहुन्थ्यो । मलाई पछिसम्म खटपट भइरह्यो मलाई यति धेरै माया गर्ने अजीलाई जानेबेलामा ूम रिसाएको छुइन“ ू भन्न सकिन“ । अजीको देहान्तपछि वर्षदिनसम्म म अजीलाइ सपनामा देखिरहन्थे“ । शायद आत्मीय लगाव भएर होला ।त्यसपछि सम्झनामा मात्र सीमित रह्यो । बिस्तारै कतिपय कुरा विस्मृत बन्दै गए । अहिले जब म धरानको बजारमा पुग्छु त्यसपछि मेरो स्मृतिपटलमा अजीको घरमा बिताइएका रमाइला क्ष्ँणहरू प्रतिबिम्बित हुन थाल्दछन् । मेरी अजीलाई सा“च्चै एउटा सङर्घषशील, कर्तव्यपरायण सतीसाबित्री नारी मान्नर्ैपर्छ । उहा“ बुद्धिमानी अनि परोपकारी भनेर पनि मान्नै पर्छ । किनभने मेरी अजीले धेरै परोपकारी कामहरू गर्नु भएथ्यो । घरानको तीनकुने ढाटनिर रोपिएको वरपिपलको बोट र त्यसमुनि रहेको विश्रामस्थललाइ अजीको सामाजिक सेवाको यथेष्ट नमूना मान्नर्ुपर्दछ । मेरी अजी नारीवादी पनि हुनुहुन्थ्यो । उहाँ छोरा नभएर कतिपय सामाजिक वेथाले थिलथिलिएको मानसिकताले आक्रान्त हुनुहुन्थ्यो त्यसैले होला पुरुषहरूलाई हा“क दिन पछि पर्न हुन्नथ्यो । ममा पनि अजीका कतिपय प्रेरणदायी भावनाहरू प्रेरित भएका छन् । यद्धपी पितृसतात्मक समाज भएपनि म मेरी आमाकी आमा मेरी अजीलाई मेरो वंशको एउटा प्रमुख व्यतmिको रूपमा मान्दछु । किनभने उहाँ नभएको भए र उहाँले सङर्घषमय जीवन बिताएर हामीलाई आर्थिक सामाजिक रूपले संरक्षित नगरेको भए म र मेरो अजीका सन्तानहरू यो स्थान र यो स्थितिमा पुग्न सक्दैनथ्यौँ भन्ने कुरा म किटेर भन्न सक्छु । त्यसैले हाम्रा संरक्षक, पे्ररणादायी र ममताकी खानी अजीको चीर शान्तिको म सधै कामना गर्दछु

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।