पात्र - २५-३० वर्षी आमा
छोरी - ठूली छोरी ८-१० वर्षी
छोरी - सानी छोरी २ वर्षी
(आठ-दसजना आर्मी-पोसाक लगाएका)
दृश्य न.-१
(एउटा सानो कोठा । छेउमा दाउराको चूल्हो र आमा भात पकाउँदै गरेकी ।एउटी छोरी काखमा अर्की छोरी छेउमा आमासँग बसेर कुरा गर्दै गरेका, खोपीमा कुपी बलेको,)
ठूली छोरी - आमा,आज पनि कनिकाको खोले पकाउनुभयो । हैन - कहिलेकाहीँ त, भात खान पनि मन लाग्छ नि
आमा - के गरौँ छोरी - भात खान चामल चाहिन्छ । चामल किन्न पैसा छैन । यही कनिका पनि दिनभरि पल्ला घर ठूल्दाइकहाँ चामल केलाएर ल्याएकी छु । नत्रभने हामी भोकै हुन्थ्यौँ छोरी । यति भएपछि पेट भरिन्छ अनि रातभर आरामले सुत्न सकिन्छ नि
ठूली छोरी - त्यो त हो आमा र अनि तपाइँ एक्लै कमाएर खुवाउन कहाँ सक्नु हुन्छ र - खोइ त हाम्रा बा - बा, कहाँ जानुभयो नि -
आमा - तिमेरूका बा कहाँ जानुभयो, किन जानुभयो - मलाई केही थाहा छैन, छोरी । मलाई केही नभनी हिँडेका हुन् ।
ठूली छोरी - अनि आमा सधैँभरि रेडियोले कति मान्छे मरे कति बन्द भयो कति हमला भयो भन्छन् नि र त्यो के भनेको हो आमा -
आमा - खै छोरी र के भएको हो - म पनि केही बुझ्दिन । तेमेरुका बा पनि त्यतै कतै परे होलान् कि नत्रभने घर आउनुपर्ने हो । यसरी हामीलाई माया नमार्नुपर्ने हो
ठूली छोरी - आमा र अनि हाम्रा बा त आतङ्ककारी रे, अनि पुलिसहरूले लगेर मारे रे भनेर गाउँमा मलाई सुनाउँछन् नि हो - त साँच्चै र हाम्रा बा आतङ्ककारी हो रे ?
आमा - खै छोरी, त्यो मलाई थाहा छैन । सबैजना सुखमा मात्र साथ दिँदा रहेछन् ।आपत्तिमा कोही आफ्नो हुँदैनन् रहेछन् । कति खोजेँ, खबर गरेँ तर कतै पत्ता लागेन । तिमेरूलाई छोडेर टाढा जान पनि सक्दिनँ । पढ्या-लेख्या केही छैन । केही जानेको छैन ।
सानो छोरी - आमा, भात पाक्यो - खाऊँ न ।
आमा - पख् न पख् यसैलाई हतार पर्दो रहेछ । यसैले गर्दा नि र यो छोरो भएर जन्मेकी भए पनि त मैले यो दिन देख्नुपर्ने थिएन होला ।
ठूली छोरी - अनि आमा - कान्छी छोरो भएकी भए हाम्रा बा हामीलाई छोडेर जाँदैनथे ?
आमा - हो छोरी.., तँ सानै छेस् । तैँले धेरै कुरा बुझ्नु बाँकी छ । तँलाई म सानैदेखि धेरै कुरा बुझाउनेछु ताकि तैले मैलेजस्तो पीर खेप्नु नपरोस् । तैँले पढेर ठूली मान्छे हुनुपर्छ अनि धेरै कुरा सिक्नुपर्छ । अरूलाई पनि सिकाउनुपर्छ ।
(लामो सास फेर्छिन् )
ठूली छोरी - अनि हाम्रा बाले किन हामीलाई छोडेर गएका नि - भन्नोस् न् आमा ?
आमा - सुन् म भन्छु ।त जन्मँदा छोरी भएर जन्मिस् । (भाँडाका भात चलाउँदै ) तँ छोरी भनेर तेरा बालाई त्यति पीर परेन किनभने अर्को सन्तान छोरो हुनसक्छ नि भनेर मन बुझाए । तर हाम्रो समाजका मानिसहरू अरूलाई गिराउँदा र खसाउँदा नै आनन्द मान्छन् । मीठो कुरा गर्दै किन पीर मान्छस्, अर्कोचोटि छोरा जन्मिहाल्छ नि भन्दै मुटुमा भाला रोप्थे । त्यसपछि धेरै समयसम्म बच्चा भएन । अनि गाउँले अर्को बिहे गर् छोरा पाउनसम्म भनेर तेरा बालाई उचाले ।तेरा बा पनि अरूका लहैलहैमा लागेर झन्डैझन्डै अर्की ल्याउन तयार भएका थिए रे र पछि केटीले आउन मानिन रे भनेको सुन्छु । त्यसपछि सानी छोरी जन्मने भई ।सानी छोरो भएर जन्मन्छे भनेर तेरा बा खुसीले रमाएका थिए । तर छोरी जन्मी भनेको सुनेर त्यो रात घर नै आएनन् ।कति दिनसम्म मसँग बोलेनन् । सुत्केरी जीउ, जसोतसो गरेर नानी र आफूलाई सम्हालेँ ।कोही मनमा भगवान् भएका मानिसहरू पनि हुदाँरहेछन् ।उनीहरूले तेरा बालाई सम्झाए अनि गाली पनि गरे । मलाई त मर्न मात्र मन लाग्थ्यो तर तिमीहरूको मायाले मर्न पनि त सक्दिनथेँ ।
ठूली छोरी - अनि आमा.., बा त्यसपछि घर आएनन् ?
आमा - त्यसपछि गाउँकाले पनि केके भनेर उचाले । नत्र के भनेर मन बिगार्थे र र उनी कहिलेकाहीँ मात्र आउँथे र डाँडाबजारमा व्यापार गर्छु भनेर अलिअलि रकम छोड्दै जान्थे । त्यही पैसाले घर चलाउँदै आएकी थिएँ ।अहिले त ठ्याक्कै छ महिना भयो नाकमुख नदेखाएको, कति जोखाना देखाइसकेँ अझै चारपाँच वर्षफर्केर आउँदैनन् भनेर झाँक्री बा भन्छन् । मन फर्काउनुपर्छ भन्छन् ।
-त्यसै बेला आर्मीजस्ता लुगा लगाएका आठ-दसजना मानिस प्रवेश गर्छन् ।आमा र छोरीहरू आत्तेकाझैँ हुन्छन् )
एकजना - खोइ ? चन्द्रे कहाँ छ ?
आमा - खोइ ? मलाई केही थाहा छैन, हजुर । छ महिना भइसक्यो नाकमुख नदेखेको ।
अर्को - ठीकै छ ! कुरा बनाउने हैन नि - आयो भने क्याम्पमा पठाइदिनू ।
आमा - हवस् हजुर, पठाइदिइहाल्छु नि ।
(तिनीहरू जान्छन्)
ठूली छोरी - आमा यिनीहरूले किन खोजेका हाम्रा बालाई ?
आमा - के थाहा छोरी मलाई र मलाई थाहा भएको भए भइहाल्थ्यो नि, म यिनीहरूको साथमा तेरा बालाई मरे कि बाँचे भनेर खोज्न जान्थेँ ।
ठूली छोरी - अनि आमा तपाइँलाई पनि यिनीहरूले लगे भने हाम्रो हालत के हुन्छ होला -
आमा - छोरी, म कतै मरेँ अथवा केही भइहालेँ भने सबै मानिसहरू खराब हुँदैनन् । अनाथ बच्चाहरूलाई पाल्न खोलिएका धेरै अनाथ-आश्रमहरू छन् । त्यस्तामा जानू अनि राम्रोसँग पढेर ठूली मान्छे बन्नुपर्छ तैँले ।
(आमा सुँक्कसुँक्क गरेर रुन थाल्छिन्)
ठूली छोरी - आमा नरुनोस् न । हाम्रा मामा पनि त हुनुहुन्छ नि हामीलाई माया गर्ने र
आमा - तेरा मामाले तिमीहरूलाई कति दिन पाल्न सक्नुहुन्छ र ? उनीहरूका पनि आफ्नै समस्या हुन्छन् । म तेरो मामालाई पनि खबर पठाउँछु ।सहरमा विदेशीहरूले खोलेका राम्राराम्रा अनाथ-आश्रम छन् रे अनि स्याहार पनि राम्रो हुन्छ र पढाइ पनि राम्रो हुन्छ रे । त्यसैमा लगेर हालीदिनू भनेर मामालाई भन्नू, अनि तैँले पनि बहिनीलाई सम्हाल्नू र माया गरेर राख्नू, है ?
कान्छी छोरी - आमा ! भोक लाग्यो, भात खाऔँ न ।
आमा - छोरी, थाल लेऊ, भात खाऔ अनि सुतौँला ।
(सबैजना खोले खाएर सुत्छन् ।)
("भोलिपल्ट" लेखेको कागज स्टेज अगाडि देखाउँदै एकजना जान्छ ।)
आमा - (उठेर पानी लिन जान्छिन्) पानी ल्याइसकेपछि ठूली छोरीलाई उठाउँछिन् ।) छोरी म सदरमुकाम जाँदै छु तेरा बालाई खोजी गर्न । बहिनीलाई बिहान, दिउँसो र बेलुका गरेर तीनपल्ट खोले खुवाउनू अनि मकै भुटेर खानू ।म बेलुका आउन भ्याउँदिन होला ।भोलिमात्र आउँछु । राति राम्रो ढोका लगाएर सुत्नू । पल्लो घरकी काइँली आमैलाई सुत्न भनिदिन्छु है ...।
ठूली छोरी - हुन्छ आमा, तपाइँ पीर नलिई बालाई खोज्न जानोस् । हामी राम्ररी बस्छौँ ।
(आमा सानो पोको चेपेर बाहिर जान्छिन् ।)
(एकछिनपछि अम्खोरा पानी सारेर मुख धुन ठूली छोरी पनि बाहिर जान्छे । कान्छी छोरी सुतिरहेकी हुन्छे । जेठी छोरी मुख धोएर खोले पकाउन थाल्छे । कान्छी छोरी उठ्छे अनि उसलाई मुख धोएर खोले खुवाउन थाल्छे ।नेपथ्यमा बम जस्तो पडकेको सुनिन्छ । दुवै केटी तर्सन्छन् । एक छिनपछि मानिसहरू उनीहरूकी आमालाई रगतपच्छे अवस्थामा बोकेर ल्याइपुर्याउँछन् ।)
ठूली छोरी - आमा र तपाईलाई के भयो ? तपाइँ किन यसरी रगतैरगत हुनुभएको ?
आमा - छोरी म बाटामा जाँदाजाँदै अचानक बम पड्केर मेरो यो हालत भयो (अशक्त भएर पनि केही बोल्छिन् ।) छोरी मैले भनेका कुरा सम्झनू । म मरेँ भने पनि हरेस नखानू ........ मामालाई मैले सबै कुरा भनेकी छु । बैनीको ख्याल गर्नू ।
(आमाको शब्द बन्द हुन्छ )
("ठूली छोरी र कान्छी छोरी जोडजोडले रुन्छन् अरू उपस्थित भएकाहरू पनि रुन्छन् ।)
एकजना केटो स्टेजमा "यो कसको पीडा" लेखेको बोर्ड सबैलाई देखाउँदै हिँड्छ अरू पात्र मूर्तिजस्तै भएर बस्छन् ।
नेपथ्य - (नेपथ्यबाट आवाज आउँछ ) यो कसको पीडा हो ? यो पीडा तपाईहाम्रै छोराछोरीहरूको पीडा हो । बाबुआमाबिनाका अनाथ बालबालिकाले कसरी बाँच्न सक्छन् ? कल्पना गर्नोस् त र ठूलाको लर्डाईमा पीडित भएका यी बालबालिकाहरूको के दोष छ र - यसको जिम्मेवार हामी नै छौँ र हामीले नै यसको समाधान खोज्नुपर्छ ।
(त्यसपछि पात्रको परिचय हुन्छ ।)
('उज्यालो बाटो शिक्षाको' बालएकाङ्की संग्रहमा समाविष्ट भएको)
June 16, 2009
1 comment
यो कसको पीडा ?
12:02 PM
बाल एकाङ्की, बालसाहित्य
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
मलाई पछ्याउनेहरु
फेसबुक शुभेच्छुक
बादल
mp3
(1)
Translate
(3)
अन्तरवार्ता
(2)
कथा
(59)
कविता
(11)
गीत
(2)
निबन्ध
(3)
नियात्रा
(1)
पत्रकथा
(1)
पत्रात्मक लेख
(2)
पद्य
(12)
फोटो
(1)
बाल उपन्यास
(1)
बाल एकाङ्की
(5)
बाल कविता
(1)
बालकथा
(13)
बालगीत
(3)
बालसाहित्य
(19)
मेरो अन्तरवार्ता
(1)
मेरो बारेमा
(1)
यौन कथा
(6)
लघुकथा
(22)
शुभकामना
(1)
समालोचना
(14)
समीक्षा
(6)
सम्प्रेषण
(2)
संस्मरण
(15)
अन्तरवार्ता सुन्नुहोस्
खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् ।
Click Here!! (Listen Live)
यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।
1 comments:
"sangham saranam gacchami"
Post a Comment