May 28, 2010

मनका कुरा

वास्तवमा निबन्ध, लेख्छु र सङ्ग्रह बनाएर प्रकाशित गर्छु भन्ने सोच उषाकालीन मेरो साहित्य लेखनमा उदय भएकै थिएन । मेरो सीमित सोचाइको घेरामा निबन्धसङग्ररूपी विराट महासागरले आकार नै लिएको थिएन । सबै सोचेको कुरा हुन्छ भन्ने छैन र सबै नसोचेका कुरा हुँदैनन भन्ने सिद्धान्त सबैको जीवनमा लागु हुन्छ भन्ने कुरा म मान्छु । यो जडसूत्र जन्मनुको मुख्य कारणचाहिँ मेरो बौद्धिकतामा हुने यान्त्रिक खराबी हो- म भन्छु । जसले गर्दा निबन्धरूपी वायुयान धेरै चोटि उडाउन खोज्दाखोज्दै पनि असफल भएकी थिएँ । यदि कसैले मेरो विषयमा भन्नुपर्दा यही कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ जसलाई म होलसेलमा नै स्वीकार गर्न तयार छु । यसलाई मेरो तर्फाट स्पष्टिकरण दिनुपर्दा म मेरो साहित्यिक पृष्ठभूमि अलिकति उर्घार्न चाहन्छु । आइए र बिए गाइडको भरमा प्राइवेट पास गर्नु र तीनवटा दायित्वलाई सफलताका साथ पूरा गर्नु पर्दा साहित्यलाई तेस्रो दर्जामा राख्नु नै यसको मुख्य कारण हो । जसको कारण साहित्यको अध्ययन र लेखनलाई कम समय दिनुले यो कुरा स्वतः सप्रमाणित भएर आउँछ । निबन्धको जटिलतामा आफूलाई बाधेर पोखिनु नसक्नु मेरो कमजोरी भएको छ । तर आज त्यो कमजोरीलाई मैले ठोकठाक, जोडजाड पारेर ‘सिर्जना र सन्त्रास’ सङ्ग्रहमा आत्मगतता निबन्धमार्फत निबन्धरूपी आकाशमा पाठकहरूलाई विचरन गराउने प्रयास गरेकी छु ।
बि.स. २०६० सालमा सानी छापिएर पुरस्कार पाएपछि म बालसाहित्यकारको रूपमा साहित्यिक क्षेत्रमा पदार्पण हुन पुगेँ । तर सानी छापिनुअधि नै बि.स.२०५५ सालमा समष्टिमा मेरो कथा 'असफल सङ्धर्ष’ ले कथाजगतमा केही हलचल मचाएको थियो । यो कथापछि अन्य दुईचारवटा कथाहरूले प्रशंसा बटुलिसकेका थिए । कथा र बालसाहित्य लेख्दालेख्दै मैले जीवनसँग धेरै अनुभूति र भावनाहरू साटिसकेकी थिएँ । यस्तै भावना र संवेदनाहरूले शब्दसँग कुस्ती खेल्दाखेल्दै यो संस्करण, जीवनी र लेखहरू लेखेर थुपार्न थालेकी थिएँ । ‘सिर्जना र सन्त्रास’ सङ्ग्रहमा भएका मध्ये मलाई सम्झना भएअनुसार 'सानी जन्मदेखि पुरस्कारसम्म' नै पहिलो सस्मरण हो । यो रचनागर्भको पनि रचनागर्भ छ । सानीले साझा बालसाहित्य पुरस्कार-२०६० प्राप्त गरेको भोलिपल्ट म खुसी बाड्न परशुदाईकोमा गए ।
परशुदाइले भन्नुभयो- 'बहिनी यो सानीको रचनागर्भ छ भने लेख्नोस् ।' मैले दाजुको रचनागर्भहरू पढेकी थिएँ ।
' खै लेख्न सक्छु र दाजु -' मैले भनेँ।
'कोशिस गर्नुहोस् न ।' -उहाँले भन्नुभयो ।
नभन्दै घरमा आएर प्रयास गरे राम्रो रचनागर्भ तयार भयो । त्यो रचनागर्भ गरिमामा पठाएँ। त्यो रचनागर्भ पुरस्कार पाएको दिन गरिमामा छापिएर सोही पुरस्कार पाउने समारोहमा बाँडिएको थियो । मेरो खुसीको कुनै सीमा थिएन । एक त साझा पुरस्कार प्राप्त गर्दाको गरिमामय र भव्य वातावरण त्यही माथि मेरो पहिलो रचना गरिमामा छापिएको गौरवमय क्षण । म त्यो खुसी शब्दमा वर्णन गर्न सक्दिनथेँ । तर पनि मैले प्रयास गरे र त्यो समयलाई जीवन्त बनाउन एउटा संस्मरण 'सत्य सधै अमर हुन्छ' लेखेकी थिएँ । त्यो संस्मरण कुन पत्रिकामा दिए थाहा भएन । मलाई दुख लागिरहेछ अहिले मसँग त्यसको केही अंशमात्र बाँकी छ । त्यो यसप्रकारको थियो -
वि.स.२०६२ साल वैशाख ३ गते मेरो जीवनमा रोमाञ्चकता र कौतूहलताले भरिपूर्ण भएको दिन थियो । म धेरै दिन अघिदेखि त्यो दिनको प्रतिक्षामा थिए । उक्त दिन म नयाँ ठाउँ, नयाँ परिवेशमा बेहुलीझैँ प्रबेश गर्दै थिएँ । नयाँ ठाउँ नयाँ परिवेशमा ठूलठूला व्यक्तित्वहरूको माझ म सम्मानित र पुरस्कृत हुँदै थिएँ। सो अवसर मलाई प्रदान गरेको थियो साझा प्रकाशनले । साँच्चै भव्य तयारी गरिएको रहेछ, सो कार्यक्रमलाई मैले हृदयदेखि स्वागत गरे र सम्मिलित हुन पुगेँ । म सबैको लागि अपरिचित थिएँ र धेरैजसो साहित्यिक व्यक्तित्त्वहरू मेरा लागि अपरिचित हुनुहुन्थ्यो । नयाँ बेहुलीझैँ अज्ञानताले भरिएको मुहार अपरिचित व्यवहार बोकेर उपस्थित भएकी थिएँ म प्रज्ञा प्रतिष्ठानको आँगनमा ।
केही सामान्य परिचयपछि लक्ष्मीदिदीले भन्नुभयो- 'तपाईँ त आजको हिरोइन ।' तर मेरो आत्माले उहाँको अभिव्यक्तिलाई नकारी रहेको थियो । बरु उहाँले मलाई बेहुली भनिदिनु भएको भए म सहमतीमा पुग्थेँ हुँला । किनभने हिरोइनलाई सबैले चिनेको हुन्छ , देखेको हुन्छ । तर बेहुलीको नाम र उसको प्रशंसा मात्र सुनेको हुन्छ । तर मैले उहाँको अस्वस्थ्य वाचनलाई पाचन गरेँ किनभने म त्यो नौलो परिवेशमा बेहुलीधर्मिता पूरा गर्दै थिएँ ।
साँच्चै, म बेहुलीझैँ थिएँ त्यो दिन । सबैको उत्सुकतापूर्ण हेर्राई र कौतूहलतापूर्ण नजरको वर्षा भइरहेकोथ्यो त्यो क्षण म माथि । अपरिचित परिवेशमा म त्यो क्षणको आनन्द लिइरहेकी थिएँ । किनभने त्यो अपरिचित वातावरण म फेरि चाहेर पनि पाउन सक्दिनथेँ । त्यो क्षण चा“डै नै समाप्त हुँदै थियो । त्यसैले जतिसक्दो म त्यो वातावरणको आनन्दमा डुब्न चाहन्थेँ । तर त्यो सौभाग्य म धेरैबेरसम्म टिकाउन सक्दिनथेँ किनभने चाँडै नै पार्क भिलेज रिसोर्टमा त्यो वातावरण सदासदाको लागि समाप्त हुँदै थियो ।
नभन्दै उदधोषिका सन्ध्या पहाडीज्यूले बालसाहित्यको पुरस्कृत व्यक्तित्व भन्नुबित्तिकै सबै विशिष्ट व्यक्तित्वहरू परिचयको पावरफूल चस्मा लगाएर हेर्न थाल्नुभयो । म नवदुलहीझैँ लाजले धकाएँ । म सबैको मायालु र स्नेहालु व्यवहारको आशामा आङ्काक्षाको डुङ्गा तैरिरहेकी थिएँ । हुन त केही समय अघिदेखि मैले यस्तो व्यवहार जिएम नवराज कार्की लगायत केही नगण्य परिचित व्यक्तिहरूबाट पाइरहेकी थिएँ ।
मेरो मन उमङ्गको लहरमा द्रविभुत हुँदै आनन्दको छलाङ्ग लगाइरहेको थियो । सबैको माया, स्नेह र सम्मानले श्रृगारिएर म साहित्यको बलियो बाहुपाशमा आफूलाई अझ बढी जकडिदै लादै थिएँ । स-सम्मान, भव्यताका साथ म साहित्यसँग आजीवन प्रणयसुत्रमा बाँधिदै थिए । जब सम्मानको समय आँखामा चम्किरहेको मोतीरूपी आँसुहरूलाई लुकाउन सकिनँ । कल्पनाको संसारमा मात्र चित्रित भएका वरिष्ठ साहित्यकारहरूका माझ राष्ट्रकविको हातबाट आफूलाई सम्मानित र पुरस्कृत हुन पाउँदा शायद साहित्यका लागि प्रताडित हुन पुगेको मेरो आत्मा हर्षाश्रति आँसु थाम्न सकिरहेको थिएन । मैले जिन्दगीमा यो भन्दा खुसी र सौभाग्य बिरलै पाउन सकुलाँ । मैले आफूलाई अत्यन्त भाग्यशाली ठानेँ ।
यो संस्मरणको अन्य भाग गुमाउनु पर्दा अहिले मलाई साह्रै दुख लागेको छ ।अब फर्कौ मनको गनथनमा ।
झण्डै दुई दर्जन कथा छापिएर कथाकारको उपाधि पाएपछि महानन्द सापकोटाको साहित्यिक महोत्सवमा भागलिने अवसर पाएकी थिएँ । त्यो यात्रा मेरो जीवनको अविस्मरणीय यात्रा रह्यो जसलाई मैले शब्दमा कैद गर्न सफल भएँ। त्यो नियात्राले पनि साहित्यिक माहौलमा निकै प्रशंसा बटुल्यो ।
एकपल्ट दिग्गज साहित्यिक साधक आदरणीय दाजु गोबिन्द भट्टर्राईज्यू मेरो निमन्त्रणा स्वीकारेर मेरो झोपडी पाल्नुभएको थियो । दाजुको प्रेरणा र हौसलाले म आफूमा भएको साहित्यिक खजाना सबै पोखेर दाजुको आत्मीयता र सदासयताको सागरमा चुर्लुम्म डुव्न चाहेँ। दाजुलाई मैले तत्काल भएको त्यो नियात्रा टक्रयाएँ । दाजुले त्यो नियात्रा गेस्टहाउसमा गएर राति पढ्नु भयो । बिहान मैले दाजुलाई चियाको निमन्त्रणा दिएकी थिएँ । दाजुले सो नियात्रा पढेर भन्नुभयो 'बहिनी, यस्ता निबन्ध अरू पनि छन् भने सङ्ग्रह निकाल्नु पर्छ ।' दाजुले भन्नुभएपछि म झल्याँस्स भएँ- 'अहो † मसँग यस्ता संस्मरण, लेखहरू त छँदै छन् किन नछाप्ने सङ्ग्रह बनाएर -' सायद दाजुले त्यसबेला त्यसो नभन्नु भएको भए ती निबन्धहरू कतै फाइलमा बिलाएर जान्थे होलान् । किनभने मेरा यस्ता केही राम्रा लेखहरू हराएर गए । 

मेरा मन साह्रै चञ्चल छ । म निस्त्रिय र स्थीर भएर रहन सक्दिनं । यो मेरो स्वभाव हो । सायद यही स्वभावले गर्दा नै होला मैले बालसाहित्यमा विभिन्न बिधामा कलम चलाएकी हुँ । त्यस्तै प्रौढसाहित्यमा पनि कलम चलाउँदै छु । हुन त एउटै विधामा कलम चलाएर सिद्धहस्त भई कुनै उपाधि हासिल गर्नु राम्रो हो भन्ने कुराको तर्क दिई मलाई जोकोहीले हराउन सक्नुहुन्छ । म आफ्नो स्वभावको कमारी हुँदाहुँदै पनि मैले मेरो स्वभावलाई ठेलठाल, मिचमाच पार्दै कथाविधामा चाहिँ विशिष्टता हासिल गरुँ भनेर लागेकी पनि थिएँ । तर जब म साहित्यिक क्षेत्रमा आफूलाई तन, मन, धनसहित समर्पित गर्ने सोचले काठमाडौँ आएर कीर्तिपुर मा स्नातकोत्तर अध्ययन गर्न थालेण त्यसपछि मेरो स्वभावले हौसिने मौका पायो र अन्य विधातिर लम्कन थाल्यो । जसको नतिजा अहिले म पुस्तक समिक्षा, सस्मरण, निबन्ध, समालोचनातिर कलम चलाउदैछु ।

महत्त्वपूर्ण सम्पत्ति

उनले आफ्नी आमा पालेकी थिइन् । चारभाइ छोरामध्ये कसैसँग अटाउन सकेकी थिइनन् उनकी आमा । कुनै समय उनकी आमाको विचार यसरी सार्वजनिक भएको थियो– ‘मैले किन अंश भाग लिनु र ? सबै छोराहरूले बाँडून् । म एउटी आमालाई कुनै न कुनै छोराले एक छाक खान र लाउन त देलान् नि †’ उनकी आमाको इच्छाअनुसार चारै भाइले अंश भाग लिएका थिए । साइँलो छोरो अलिक पढेको र ढिलो बिहे गरेको हुनाले बूढीआमैले साँइलो छोरासँग बस्ने निधो गरेकी थिइन् । साइँला छोरालाई उसको शिक्षाले डो¥यायो जागिरतिर अनि पु¥यायो सहरमा । उसले जागिरे केटी नै बनाएथ्यो जीवनसँगिनी । बूढी आमै पनि छोरालाई पछ्याउँदै पुगेकी थिइन् सहरमा । तर सहरको वातावरणले उनको गाउँले परिवेशलाई रमाउन दिएन । छोराबुहारी जागिरमा गइहाल्ने अनि दिनभर समय काट्ने साधनको अभाव हुन्थ्यो उनलाई । उनको सुखदुःख उनी आफैसँग पौँठेजोरी खेल्थे । छोरासँग बसेर बुहारीको घरधन्दामा हैकम चलाएर बस्ने बूढीआमैको चाहना मनको लड्डु भयो । छोरा–बुहारीको सीमित आय अनि समयको पाबन्दीमा बूढी आमैका धेरै इच्छाहरू खुम्चिए ।

बूढी आमैसँगै उनका छोरीहरू र नातिनातिनाहरूको आवतजावतले छोराबुहारीहरूको व्ययभार अझ बढ्न गयो । आफूहरूले मात्रै बूढी आमैको सम्पूर्ण खर्च बेहोर्नुपर्दा उनीहरू कुँढिन थाले । कहिलेकाहीँ असन्तुष्टिभाव पोखिन्थे बूढीका पोल्टामा । बूढीआमैको मनको मानो पनि छोराबुहारीको स्याहारबाट कहिले भरिन सकेन । अरू छोराबुहारीहरूले आमाको चाहनास“ग साक्षात्कार हुनै चाहेनन् । फ्याकेको थोत्रो वस्तुसरह व्यवहार गरे । केही समयपछि आमा ओछ्यान परिन् । अनि उनले जागिरे भाइबुहारीको समस्या बुझेर घरैमा ल्याएर, आमा पालेर, आमाको सत्गत गरेकी थिइन् ।

उनलाई लागेथ्यो आमाले आफ्नो साथमा सम्पत्ति नराखेको हुनाले सबै छोराबुहारीबाट तिरस्कृत हुनुपरेको भनेर । त्यसैले उनले विचार गरेकी थिइन् आफूले मर्ने बेलासम्म आफ्नो सम्पत्ति कसैलाई नदिने । त्यसैले उनले छोराहरूलाई अंशभाग गर्दा आफ्नो भागमा पनि मनग्गे सम्पत्ति राखेकी थिइन् । अहिलेका छोराबुहारीले पाल्छन् भन्ने भरोसा उनलाई थिएन ।

समयको पाना पल्टँदै गयो । उनकी आमाले जस्तो गल्ती गरेको छैनँ भनेर जीवनका पानाहरू सुनौलो अक्षरले भर्ने उनको चाहना थियो । ‘म ताक्छु मूढो बन्चरो ताक्छ घु“डो’ भनेझै“ उनको उचित मार्गदर्शन पाएर जीवनमा सफलता नै सफलता पाउँदै गएका उनका छोराहरूले सम्पत्तिलाई महत्त्व दिएनन् । उनीसँग सम्पत्ति त थियो तर छोराहरू धेरै टाढा भइसकेका थिए । ‘आमासँग सम्पत्ति छँदै छ नि, मान्छे राखेर काम लाउँदा भइहाल्छ नि । हामी पनि बेफुर्सदी हुन्छौँ।’ छोराबुहारीहरूको यस्ता अभिव्यक्तिबाट मर्माहत हुन्थिन् अनि खोज्थिन् आफ्नोपन । आधुनिक परिवेशको प्रतिस्पर्धामा छोराबुहारीहरूको जीवनचर्याले आमाप्रतिको दायित्व र कर्तव्यलाई सुलुत्त निलिदिएको थियो । अनि पिल्सिएको थियो उनको बुढ्यौली । उनले उमेरभरि आफ्ना दुई छोराहरूका लागि गरेका त्याग र बलिदान समयको हुरीले धेरै टाढा पु¥याइसकेको थियो । जीवनले थकाइको सुस्केरासँगै धेरै अनुभुतिसँग लुकामारी खेलिसकेको थियो । उनले बुझिन् समयको धारले जीवनको महत्त्वपूर्ण सम्पत्तिलाई उजिल्याउ“दो रहेछ अनि सबैले त्यसलाई आत्मसात् गर्नुपर्दो रहेछ ।

'सलिजो' लाई सजिलो गरी बुझ्न खोज्दा

आफ्नो रहनसहन , पहिरन, र सस्कृतिभन्दा बेग्लै किसिमको रहनसहन, पहिरन र सस्कृतिलाई मानिस भिन्नै दृष्टिकोणले हेर्ने गर्दछ । त्यसलाई मानिसको सोचाइले सहजै स्वीकार गर्दैन । तदअनुरुप त्यस परम्परालाई मानिस विभिन्न दृष्टिकोण राख्छ र शंका र उपशंकाका झटारो हान्न थाल्दछ । कुनै नौलो परम्परालाई विश्वास गर्नु भनेको पुरानो परम्परालाई तोड्नु हो । कुनै पनि पुरानो विश्वास वा मान्यतालाई भत्काएर नयाँ विश्वास वा मान्यतालाई प्रतिस्थापन गर्दा मानिसहरुलाई एक प्रकारको स्ट्रेश वा तनाव पर्छ भन्ने कुरा दार्शनिकहरू भन्दछन् । यसरी तनाव सिर्जना गरेर नयाँ परम्परालाई साहित्यमार्फत समाजमा पदार्पण गर्ने उपन्यासकार हुन् - मोहनराज शर्मा । 'सलिजो' मार्फत एउटा नयाँ मान्यतालाई साहित्यमा भावनात्मकरूपले र कलात्मकरूपले उनले साहित्यमा प्रवेश गराएका छन् । यो एउटा साहसिक कदम भएको कुरा डा. गोविन्दराज भट्टर्राई पुस्तकको भूमिकामा बताउँछन् । उनी बताउँछन् समलिङ्गीको बारेमा लेख्एिको उपन्यास 'सलिजो' मार्फत नेपाली समालोचनाक्षेत्रमा क्वीअर सिद्धान्त (सन्दिग्ध सिद्धान्त)ले अवतरण गरेको छ । समलिङ्गीयतासम्बन्धी अध्ययन र अनुसन्धान अहिले अवश्यक भएको छ । समलिङ्गीहरूको बारेमा धेरै अध्ययन गरी लेखिएको डा.गोविन्दराज भट्टर्राईको भूमिकाले समलिङ्गीयताको बारेमा अन्तर्राष्टिय व्याख्या, विश्लेषण, घटनाहरूलाई र्छलङ्ग बनाउँछ जसले पाठकलाई उपन्यास पढ्दा वास्तविकताकेा किनारामा धकेल्न मद्दत गर्छ र विश्वासको जरो पक्रन मदत गर्दछ ।

हाम्रो देशमा समलिङ्गीहरुको बारेमा पढ्ने र सुन्ने मौका हामीले भर्खरै पाउँदैछौँ । के हो समलिङ्गी भनेको - यसबारे र्सवप्रथम हामी प्रष्ट हुन जरुरी छ । किनभने हिजोसम्म हामीले नसुनेको शब्द, नदेखेको सस्कृति, नभोगेको परम्परा आज हामी देख्न र भोग्न थालेका छौँ । अहिलेको परिवर्तनशील समाजमा हामीले जे पनि भोग्न सक्ने र जे कुरालाई पनि आत्मसात गर्ने शक्ति पैदा गर्नुपर्ने हुन्छ । विश्वमा बढ्दै गएको प्रविधिले हाम्रो दैनिक कार्य र रहनसहन र परम्परालाई पनि असर पार्दै लगेको छ । हामी भित्र प्रत्येक क्षण परिवर्तनशील मस्तिष्कको विकास गर्दै लगेको छ । समलिङ्गी र तेस्रो लिङ्गीको अस्तित्व हाम्रो समाजमा परापूर्वकालमा रहेको कुरा विभिन्न धर्मग्रन्थहरूमा हामी पढ्न पाउँछौ । तर यसको विषयमा खुलारूपमा कुरा गर्ने परिपाटी र छलफल गर्ने र यस सम्बन्धी हक अधिकारका कुराहरू भर्खर मात्र हुन थालेका हुन् । साँच्चै यस विषयमा खोतलेर हेर्ने हो भने र समलिङ्गीको बारेमा संवेदनशील हुने हो भने योर् ईश्वरले दिएको अप्राकतिक प्रक्रिया हो यसमा कसैले रहरले वा कर वा इच्छाले गर्दा हुने कुरा होइन ।

'सलिजो' अर्थात स भनेको सम लि भनेको लिङ्गी र जो भनेको जोडी हो । 'सलिजो' ले समलिङ्गीहरूको बाँच्ने हक अधिकारको कुरा उठाएको छ । समलिङ्गीहरुलाई हामीले नजिकबाट बुझ्ने र उनीहरुको भावनाप्रति संवेदनशील हुनुपर्ने कुरा उपन्यासकार मोहनराज शर्माले उठाएका छन् । 'सलिजो' मा स्त्री समलिङ्गीको पीडा, भोगाइ र यथार्थलाई उत्खनन गरेर देखाइएको छ । पाठक यो उपन्यास पढुञ्जेल अलमल्ल परिरहन्छ अनि आफैलाई प्रश्नप्रश्नैको खातले थिचेको महसुस गर्दछ । पाठक आफैले आफैलाई प्रश्न गर्छ 'यस्तो पनि हुन्छ - उस्तो पनि हुन्छ र -' किनभने विषयवस्तु र घटनाक्रमहरू नितान्त नौलो र अस्वभाविक लाग्दछन् । यो एउटा साहसिक कार्यको क्रमभङ्गताको लागि पाठकलाई असहज र अवास्तविकताको धरातलमा पुर्याएर परम्परालाई चुनौति दिनु चानचुने कुरा होइन । यो विषयमा यो लेखन आफैमा एउटा चुनौतिपूर्ण हो । तर जहाँबाट उठेर मानवीयता बोल्छ त्यहा सबैले समर्थन र विश्वास गर्नैपर्छ ।

उपन्यासकार मोहनराज शर्मा आफू समलिङ्गी र तेस्रोलिङ्गीसँग नजिक भएको र उनीहरूको भावनालाई आफूले नजिकबाट बुझेको कुरा भूमिकामा बताउँछन् । शायद यसैबाट उनलाई 'सलिजो' लेख्न सजिलो भएको पनि हुन सक्छ । उनले आफूले बनारसमा छँदा समलिङ्गीहरुलाई समाजले गरेको घृणा र तिरस्कार आफैले देखेको कुरा लेख्छन् । स्त्री समलिङ्गीलाई समाजले विभिन्न लाञ्छाना र पीडा दिएर त्यतिले नपुगेर गुण्डा लगाई बलात्कार गराएर अन्त्यमा ती जोडीले आत्महत्या गरको कुरा बताउँछन् । यो पढ्दा लाग्छ समाज किन यति कु्रर भएको होला समलिङ्गीका लागि । समलिङ्गीका सम्बन्धी यस्तै रोचक कथा, दर्दनाक घटना र हृदयस्पर्शी पीडाले उपन्यास पढुञ्जेल पाठकलाई तानिरहन्छ ।

जब दुई स्त्री एकआपसमा भावानात्मक रुपले एक हुन जान्छन् र उनीहरु पुरुषको अस्तित्व स्वीकार गर्दैनन् तब उनीहरु स्त्री समलिङ्गी अर्थात् लेज्बियन हुन पुग्छन् । त्यस्तै जब दुई पुरुष स्त्रीको अस्तित्व स्वीकार नगरी भावनात्मक रूपले एक हुन्छन् तब उनीहरू पुरुष समलिङ्गी अथवा गे हुन पुग्छन् । स्त्रीहरू पुरुषबाट विकर्षण भई समलिङ्गीयतामा जानुको पछाडि धेरै कारण हुन सक्छन् । पहिलो त उनीहरुको शरीरमा पैदा हुने हर्मोनले स्त्रीत्वलाई छाडेर पुरुषत्वको विकास हुनु हो दोस्रो कारणमा स्त्रीको परिस्थिति, परिवेश, अवस्था र रहनसहनले असर पार्नु हो । यदि स्त्रीले सानैदेखि पुरुषदारा प्रताडित भइरही वा बलात्कार भई वा सानैदेखि पुरुषप्रति धृणा वा वितृष्णा हुने कुनै कार्य बारम्बार भइरहेर उसमा कट्टर नारीवादी भावना धारणा पैदा भएमा स्त्री समलिङ्गी हुने सम्भावना रहन्छ । यदि यस्तो भएको अवस्थामा स्त्रीले आफ्नो साथी स्त्री नै रोज्छे र भावानात्मक रूपले एक भई आत्मीक प्रेम गर्न थाल्दछे । यस्तो अवस्थामा ऊ यौन सुखलाई तुच्छ ठान्छे र आत्मीय प्रेमलाई र शारीरिक र्स्पर्शलाई नै यौनको सुख मान्न पुग्छे । उपन्यास 'सलिजो'मा यस्तै कुरालाई घटनाक्रम मिलाएर बर्णन गरिएको छ । दुई स्त्री ज्वाला र रूप स्त्री भएर पनि समाजमा बिवाह बन्धन बाँधिएर बस्छन् । विषमलिङ्गीको विवाहलाई मात्र मान्यता दिइएको हाम्रो समाजमा उनीहरुप्रति समाज घृणा र तिरस्कार उब्जाइरहन्छ । विषमलिङ्गीमा हुने आकर्षणबाट जैविक प्रक्रिया पुरा भई सन्तानोत्पतिको परम्परालाई मात्र मान्यता दिइएको हाम्रो समाजलाई यो उपन्यासले एउटा चुनौति दिएको देखिन्छ । त्यसैले पाठकहरूलाई उपन्यास पढुञ्जेल वैचारिक विचलनले छोपिरहन्छ । उपन्यास पढुञ्जेल पाठक विचलित भइरहन्छ । यौनको आर्कषणलाई मात्र यथार्थता मानेको हाम्रो समाजले ज्वाला र रूपा दूई स्त्रीको आत्मीय प्रेमको आर्कषणले पाठकलाई एक पल्ट अयथार्थको धरातलमा लगेर पछारिदिन्छ । तर उनीहरुले विवाह गरी बाँच्नका लागि गर्नु परेको सङ्धर्षे मानवीय भावनालाई जुरमुराइदिन्छ । हृदयमा कतैबाट मानवीय भावना उम्लेर आउँछ र 'कठै' भन्ने उच्छ्रवास मुखबाट निस्कन्छ । यो विश्वमा सबै प्राणीलाई बाँच्ने उत्तिकै हक, अधिकार छ उसले स्वतन्त्ररूपले बाँच्न पाउनुपर्दछ । फेरि समलिङ्गीका लागि समाज किन यति धेरै निर्दयी बनेको होला - साँगुरिएको यो मस्तिष्कलाई मानिसहरू फराकिलो संसारमा किन पुयाउदैनन् - पीडा र वेदना सबैको एउटै हो भनेर किन संवेदित बन्दैनन् -

प्रो. शर्मा मार्फत समलिङ्गीसम्बन्धी नयाँ धारणा र बिचारहरू उपन्यासमा व्यक्त गरिएको छ । उनी समलिङ्गीहरुको र्समर्थन गर्दछ र सहनुभुति राख्छन् जसले गर्दा ज्वाला र रूपालाई बाँच्नका लागि प्रेरणा मिल्दछ । डा. चकोरदारा पनि समलिङ्गीको बारेमा प्रश्स्त आवाजहरू उठाइएको छ । उपन्यासको अन्त्यमा समलिङ्गीहरु बीच भावनात्मक सम्बन्धले समाजलाई नयाँ सन्देश दिइएको छ । अब यो एउटा अनौठो परम्परा होइन यो परम्परा यही समाजबाट उठेर यही समाजमा अस्तित्व कायम राख्ने नयाँ परम्परा हो जर्सलई हामी सबैले आत्मसात गर्नैपर्छ ।
'सलिजो'लाई अझ, सजिलो गरी बुझ्नका लागि ब्यु डायमण्ड सोसाइटीका अध्यक्ष तथा बिधायक सुनीलबाबु पन्तको भूमिकामा रहका यी शब्दहरुले र्सार्थक पार्न सक्छ - 'सलिजो'ले यस विधामा पुरानो चलनको क्रमभङ्ग गर्दै नयाँ चलनको सुरुआत गरेको छ । लेखक मोहनराजशर्माले समलिङ्गी र तेस्रो लिङ्गीको वास्तविकता र हामीहरूले भोग्नुपरको समस्याको सही पहिचान गरी समाजमा रहेको भ्रम र अन्धविश्वासलाई चिर्ने प्रयत्न गर्नु भएको छ । उपन्यासका पात्र र घटनाक्रम काल्पनिक भए पनि धेरै समलिङ्गी र तेस्रोलिङ्गी व्यक्तिलाई आफ्नै जीवनका वास्तविकता लाग्नेछन् र अन्य पाठकलाई यस उपन्यासले यौनिक तथा लैङ्गकि अल्पसङ्ख्यको जीवन, भोगाइ र समस्याहरुका बारेमा एकपटक अर्को ढङ्गले सोच्न बाध्य अवश्य बनाउनेछ । उपन्यास आफैमा रोचक छ , यसमा दुई मत छैन, तर यो ऐतिहासिक कृति पनि हो नेपाली साहित्यमा । खुसी यस कारण पनि लागेको छ कि साहित्यबिधाको यस सहयोगले हाम्रो अधिकारको सङ्घर्ष अझ प्रभावकारी बनाउन मद्दत पुग्ने छ ।

बाल विकास– कोठाभित्र र कोठाबाहिर

बालबालिकाको सर्वाङ्गीण विकासका लागि एउटा विद्यालयमा भव्य अन्तक्र्रिया कार्यक्रम भइरहेको थियो । कोठाभित्र बालविकाससम्बन्धी ठूला–ठूला एजेन्डाहरू तयार भइरहेका थिए । बालबालिकाहरूका हकअधिकारदेखि उनीहरूले पाउनुपर्ने न्यूनतम सुविधाका बारेमा चर्काचर्की बहस चलिरहेको थियो ।
त्यस विद्यालयमा बालविकाससम्बन्धी धेरै लेखहरू लेखेकी र धेरै तालिमहरू प्राप्त गरेकी शिक्षिकाले बालबालिकालाई चौरमा खेल्न लगिन् । खेल्दा बालबालिकाले हल्ला गरे । अन्तक्र्रिया कार्यक्रममा बाधा प¥यो ।

एकजना वक्ता बालविकास र समाजसेवाको धेरै भाषण गरेर स्वर सुकेको तर कामचाहि“ केही नगरेर हातखुट्टा फुकेकाले भन्यो– “यो स्कुलको नियम के हो ? यस्तो पनि स्कुल हुन्छ । केटाकेटी चौरमा खेल्ने अनि हल्ला गर्ने ?” अर्को मरन्च्यासे जसले बालविकासको बहानामा धेरै विदेशी डलर खाएर नपचेर पेटको बिमार लागेकाले बोल्यो– “हो त, बच्चाहरूलाई यसरी चौरमा हल्ला गर्न दिन हुन्छ । उनीहरूलाई त कोठामा अनुशासित बनाएर राख्नुपर्छ ।”

उक्त विद्यालयका प्रधानाध्यापकको अनुहार रातोपीरो भयो । त्यहा“ वरिष्ठ व्यक्तिहरू र हर्ताकर्ताहरूको उपस्थिति थियो । सबैले ‘हो’ मा ‘हो’ मिलाए । खेललाई बालअधिकार हो भन्ने ठानिएन उनीहरूको इजलासमा । अनि कसैको मस्तिष्कमा ती अनभिज्ञ बालबालिकालाई अहिले कक्षाकोठामा राख्न अनुरोध गरौँ भन्ने बुद्धि फुरेन । उनीहरूको इजलासले वास्तवमा बालविकास कोठाभित्र हैन कोठाबाहिर भइरहेछ भन्ने निर्णय लिन सकेनन् । उनीहरूको कार्यक्रम बालविकाससम्बन्धी धेरै भावी योजनाहरूको घैँटो भरिएर समापन भयो ।

तर प्रधानाध्यापकको रिसको घैँटो उक्त शिक्षिकामाथि पोखियो । शिक्षिकाले तालिममा लिएका बालविकाससम्बन्धी जानकारी त कोठाभित्रको लागि मात्र रहेछ भनेर बल्ल बुझी । फेरि विदेशबाट करोडौ“ रूपैया“ बालविकासको लागि आउ“दा पनि बालविकास किन र कसरी नभएको रहेछ भनेर बल्ल थाहा पाई ।

त्यसपश्चात् कोठाबाहिरको बालविकास फक्रन नपाउँदै तुषाराले कठ्याङ्ग्रियो तर कोठाभित्रको बालविकास सभा, हल हुँदै फाइभस्टार होटेलको पिजा र सिजलरमा गएर टुङ्गियो ।

नारी तिमी उठ जाग हेर

नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन
वर्षौ धर्मका ठेकेदारहरूको आगोमा जिउँदै जलाइयौ
तिम्रो आयू उनीहरूले कोरिदिए
तिम्रो भाग्य उनीहरूले फोरिदिए
तर पनि तिमीले एक शब्द बोलिनौ
त्यसपछि पनि तिम्रो अस्तित्व समाजले स्वीकारेन
तिमीलाई समाजले मानिसको दर्जा दिएन
वर्षौ पशुको जीवन बाँच्दै आयौ
सामन्तहरूको दास र भोग्या बन्दै आयौ ।

नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन ।
अझै पनि भोग्यको जीवन बाँचिरहेछौ
लोमानीका गन्धमा गुम्सिएर
ल्याक्मेको प्रशोधनमा भुलेर
कति बाँच्छौ अरूका नै लागि
सामन्तीहरूको सुनको चुरा र पोतेमा
कति अल्झाउँछौ आफ्नो अमूल्य जीवन
घरको चार पर्खाल नाघेर हेर
नारीको अस्तित्व कसरी टाँगिएको छ
धुजाधुजा भएर समाजमा

नारी तिमी जाग उठ हेर
अनि आफूलाई चिन
तिमी पनि मानिस नै हो
तिम्रो पनि सोच्ने मस्तिष्क छ
काम गर्ने हातहरू छन्
सधै्र अरूले बनाएको नियममा
कति डो¥याउँछौ आफूलाई
आफै नियम बनाएर त हेर
कति असमनताका डोरीले बाँधिएका छन
तिम्रा हात र खुट्टा नफुकिने गरी
एकपल्ट फुकाइ त हेर
तिम्रा बोलीहरू कसरी निमोठिने छन्
तिम्रा भावनाहरू कसरी चिमोटिने छन्
तिम्रा विचारहरू कसरी सिरिने छन्
त्यसैले एकपल्ट नियम बनाइ त हेर ।

नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन
तिमी नै सरस्वती , लक्ष्मी, दुर्गा हौ
तिमी नै आदि अनादि हौ
तिमीभित्र संसार छ ।
तर तिमीले नै आफूलाई नचिनेपछि
कसले तिमीलाई चिनाइदिन्छ ?
आफ्नो लागि तिमीले आफै बाँच्नुपर्छ
सामन्ती शोषित समाजले दिएको बन्धन
तिमीले आफै तोड्नुपर्छ ।
नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन ।

'के सारो हाउ .....'

'के सारो हाउ !' यो पूर्वतिरको जनजीवनमा प्राय बोलिने वाक्य हो । यसलाई कतिपयले थेगोको रूपमा पनि प्रयोग गर्छन् । पूर्वमा पनि अझ धरानका मानिसहरूको जनजिब्रोमा सजिलै झुण्डिने वाक्य हो यो । आफूलाई कुनै कुरा चित्र बुझेको छैन भने वा अलिक बढी नै लागेको छ वा नकारात्मक भावाना पोख्नुपर्यो भने अलिक स्ट्रेस दिएर यो वाक्य बोलिन्छ - 'के सारो हाउ...।'

जब म घर पुग्छु साथीहरू सँगको भेटघाटमा हराउँछु अनि यो ध्वनि श्रवण गर्न बाध्य हुन्छ ।'के सारो हाउ... फोनसोन पनि छैन ।
'के सारो हाउ...˜ माया मारेको ।'
मलाई भन्न मन लाग्छ 'हो साथी जीवन सारो नै रहेछ । ओखर भन्दा पनि सारो । पीडाको धनले जति हाने पनि नफोडि्ने, बरु कहिले उछि्छटिएर धरान् इटहरी आइपुग्दो रहेछ फेरि कहिले उता काठमाडौँ बजारिदो रहेछ । तर कहिले फुट्न सक्दोरहेनछ । जहिले पनि सारोको सारै । शंकर लामिछानेले जीवनलाई कोमल प्याजको पत्रैपत्रमा तुलना गरेर गए । कसैले जीवनलाई केमा तुलना गरे, कसैले के मा तर म त जीवनलाई ओखरझैँ कडा देख्छु । यो कडा जीवनले जतिसुकै व्यवधान, हण्डर, पीडा सहदासहदा पनि जस्ताको तस्तै छ । मेरो जीवनले यस्तै कडा चीज चबाइरहेको हुन्छ । कडा चीजले चबाइएको बस्तु पनि त स्वादिलै हुन्छ नि नरम चीजले चबाएर निलेको भन्दा होइन र साथी ? हो साथी यही कडा जीवनले सारा विसँगति, विकृति, असत्यलाई स्वादिष्ट भोजनको रूपमा लिएर त्यसलाई पाचन र निर्मलीकरण गरेर अरुको जीवन लागि पौष्टिक तत्व सेचन गराउन तल्लीन छु म । त्यसैले म यही सारो जीवन मन पराउँछु । म यही सारो जीवनलाई कहिले नफुट्ने र नटुट्ने बनाउन चाहन्छु । तथापि कसैले कुनै बज्रले पनि मलाई टुटाउन सकून, फुटाउन नसकून ।

मेरो जीवन मात्र होइन साथी, हामी सबै नेपालीको जीवन सारो भएको छ - नरिवलको दाना बाँदरको हातमाझैँ । हामी नेपालीको जीवन जति नै बन्द , हडताल, लोडसेडिङ्ग, जाम र महङ्गीको मारले हाने पनि नफुट्ने अनि हाम्रो नियत्तिचाहिँ बाँदरको हातमा नरिवलझैँ बनेको छ । ऊ नेपालीको भाग्य फुटाउन खोज्छ तर सक्दैन । बरु नेपालीको भाग्य उछिटिएर कहिले मरुभूमिको तातो हावा खान पुग्छ त कहिले युरोप अमेरिकाको चिसोमा कठ्ङ्याग्रिन पुग्छ अनि कहिले मुर्म्वईको कोठीमा पुग्छ । कहिलेकाहीँ म अनलाइनको च्याटमा बसेको हुन्छ अनि विदेशमा बस्ने नेपालीहरूसँग कुरा गरेको हुन्छु । जब हजारौँ नेपालीहरू आफनो देशलाई माया मारेर विदेशमा कामका लागि भौतारिएको थाहा पाउँछु अनि मेरो मन अत्यन्त मर्माहत बन्न पुग्छ । देश, गाउँ, इष्टमित्र छोडेर विरानो देशमा कति हण्डर खाएर बाँच्नुपरेको नेपालीको भाग्य देखेर म अनासयै भन्न पुग्छु- 'के सारो हाउ.. नेपालीको भाग्य ।' त्यस्तै कहिले घरेलु कामदारको रूपमा खाडी मुलुक गएका नेपाली नारीहरूको आर्तनाद सुन्दा मेरो मन सयौ मनको भारीले थिचेजस्तो हुन्छ । त्यस्तै कहिले आफनो गाउँठाउँ, आफन्त र मायालुलाई छोडेर विदेशमा मायालुको सम्झना ले तडपिएको आत्मा पढ्न पुग्छु अनि अनासयै मेरो मुखबाट निस्कन्छ - 'के सारो हाउ...। '

नेपालीको भाग्य किन यति सारो भयो म मनन गर्न पुग्छु । वास्तवमा नेपालीको भाग्य कसरी यति सारो भयो - यसको पनि कुनै ऐतिहासिक कथा हुनु पर्छ किनभने नेपालीको सबै कुरा सारो छ सारो नभई केही हुनेवाला छैन । त्यसपछि म वैचारिक धर्मशास्त्र पल्टाउन पुगेँ म त्यहाँ मैले एउटा यस्तो ऐतिहासिक कथा पाए जुन यसप्रकारको छ - धेरै समय अघिको कुरो हो । त्यस बेलाको कुरो हो । भगवान महादेव र पार्वती घुम्न भनेर युरोप र अमेरिका पुग्नुभएछ । त्यहाको विकसित समाज देखेर छक्क पर्नु भएछ । प्रसन्न भएर त्यहाका मानिसलाई के वर माग्छौ माग भन्नुभएछ । अनि उनीहरूले भनेछन् - 'प्रभु हामीहरूसँग सबै कुरा भयो तर काम गर्ने कामदार भएनन् । हामीले अह्राउने खटाउने मान्छे पाएनौ । त्यसपछि महादेव भगवानले भन्नुभएछ तिमीहरूको इच्छा पूरा हुनेछ । यति भनेर महादेव पार्वती र्फकनुभएछ । त्यसपछि महादेव भगवान त्यस्तो मानिस कहाँ सिर्जना गर्न सकिन्छ भनेर देश विदेश घुम्न थाल्नु भएछ । तर कतै उपर्युक्त ठाउ नभेटेपछि नेपाल आइपुग्नु भएछ । पक्कै पनि यो देशमा कामदार मानिस सिर्जना गर्न सकिन्छ । त्यसपश्चात उहाँले बुद्धि खियाउनु भएछ । उहाँले उही 'सारो' शब्द क्षेप्यास्त्रको रूपमा सिर्जना गर्नु भएर नेपालमा प्रक्षेपण गर्नुभएछ । अब नेपालमा सबैकुरा सारो हुँदै गयो । र्सवप्रथम त्यो 'सारो' शब्दको विष्फोटबाट निस्किएको विकिरणले नेपालको भूगोल र हावापानीमा असर पारेछ । उत्तरतिर पहाडैपहाड बनाउनु भएछ अनि दक्षिणतिर सम्मैसम्म पहाड पनि अन्त कतै नभएको 'के सारो पहाड र हिमाल ' भनेझै बनेछन् । त्यसपश्चात 'सारो' शब्दले हावापानीलाई असर पारेछ । हावापानीमा ऋतु परिवर्तन हुँदा उही सारो शब्द नभई अर्को ऋतु परिवर्तन नै नहुने भएछ । कसरी भने चिसो ऋतुमा चिसो वतासमात्र नभई शीतलहर र कठ्याङग्रिने चिसोले भुतुक्कै पार्दछ । अनि हामी भन्न पुग्छौ के सारो चिसो ' । यो सारो नभइ अर्को ऋतु परिवर्तन हुने कुनै छाँट नै देखिदैन । त्यस्तै वसन्तमा हावा र हुरीले उग्र रुप लिन्छ । चारैतिर हुण्डरीले ताण्डव नुत्य लिन्छ । धेरै ठाउँ आगलागी हुन्छ र सुख्खाले चारैतिर सन्त्रास फैलाउँछ अनि मात्र अर्को ऋतु बदलिन्छ । त्यस्तै गर्मीको प्रचण्ड रापले हायलकामल पार्दछ । अनि हामी भन्न पुग्छौ 'के सारो गर्मी, ' त्यस्तै ग्रीष्ममा वर्षाले चारैतिर सम्राज्य फैलाउँछ । यति मात्र होइन बाढी पहिरो र डुबानले उग्ररूप लिएपछि हामी भन्न पुग्छौ 'के सारो पानी.. ,' यसरी र्सवप्रथम सारो शब्दले हावापानीमा आक्रमण गयो त्यसपश्चात नेपालको राजनीतिमा यसले हस्तक्षेप गर्यो । त्यो 'सारो' शब्दको क्षेपास्त्र भगवानले सिहदवारमा हान्नु भएछ राष्ट्रलाई सचालन गर्ने सिहदरवारमा त्यो शब्दको प्रभाव नेताहरूमा पर्न गएछ त्यस पछि सबै कुरा सारो हुँदै गएछ । त्यससमयसम्म नेपालमा राणा शासन सुरु भइसकेको थियो । राणा शासकले आफनो शासनकाल यति निरकुश बनाएकी उनीहरूले नेपालीको जीवन ढुङ्गजस्तो कडा र स्थिर बन्यो । राणा शासनको अत्यचार नापी नसक्नुको भयो । अनि नेपालीहरू 'के सारो हाउ...।' भन्दै आन्दोलित बन्न पुगेँ । उनीहरू सारो फुटाउन एकजुट भए । । उनीहरूले त्यो विकिरणयुक्त, सारो फुटाए । अनि पञ्चायती व्यवस्थालाई ल्याए । पञ्चायती व्यवस्थालाई पनि सिहदरवार छिरेपछि उही सारोले आक्रमण गरी हाल्यो । पुन पञ्चायती व्यवस्था फेरि सारो बन्न पुग्यो । यसले नेपाली हक अधिकार बाधिदियो । तानाशाही प्रवृत्तिमा देश चल्न थाल्यो । भष्ट्रचार र कमिशनखोरले देशलाई थाङ्थिलो पारे । फेरि नेपालीहरू 'के सारो हाउ..' भन्दै एक जुट हुन थाले । सारो फुटाउन नेपाली जनताहरूले कसैले हतियार उठाए, कसैले कलम उठाए, कसैले औजार उठाए । केही नहुने आवाज उठाए । अनि बहुदल व्यवस्था ल्याए । पुन सारो लाई पन्छाएर केही नरम बन्न थाले नेपाली जनता । तर त्यो नरम फलामझैँ तातिदा नरम हुने मात्र थियो । बहुदलीय व्यवस्थाले नेपाली जनतालाई फलामझैँ सारो बनाइदिए । तातिने जति नरम हुन्थे अनि जता मोडेयो उतै मोडिन्थे नतातिनेहरूको जीवन फलामझैँ कडा बन्यो । सिहदरवार छिरेको बहुदल व्यवस्थालाई पनि सारोले आक्रमण गरिहाल्यो ।

राजनैतिक अस्थिरता, जनयुद्धको मारले नेपाली जनताको जीवन फेरि कडा बन्यो । धेरै जनताको रगत होली बनेर बग्यो । अब फेरि के सारो भन्दै जनता र्जुमुराए शान्तिको लागि । नेपाली जनताको भाग्यभन्दा धेरै टाढा थियो, शान्ति , सुव्यवस्था र सुख । अब धेरै नेपालीहरू युरोप अमेरिका र धेरै जसो अरब गइसकेका थिए । अझ जाने क्रम छ । अहिले नेपालीको जीवनको प्रत्येक पलपल उही 'सारो ले आक्रमण गरिरहेको छ ।
'के सारो महङ्गी हाउ...,' ,
'के सारो , लोडसेडिङ्ग हाउ...।'
'के सारो विकृति र विसँगति, अनि के सारो बिग्रेको राजनीति ।'
, 'के सारो अशान्ति...।,'
आज प्रत्येक नेपालीको मानसिकतामा विर्दशमा कामदार भएर बाँच्ने सोचाइ प्रत्येक दिन उम्रिरहेको छ ।
मलाई भन्न मन लाग्छ । यो कथा सत्य नहोस् । भए पनि शिवजीले यो सराप फिर्ता लिउन र नेपाली जनताले विदेशको भूमिमा छातीभरि देशको माया, परिवारको माया बोकेर बाँच्न नपरोस् । सिहदरवार छिरेको 'सारो' क्षेप्यास्त्र शिवजीको जटामा जाउन् र नेपालीले सुख र शान्तिले बाँच्न पाउन् ।

प्रिये आज एसएमएस गरिन्

प्रिये आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झनाको उपवासमा बसेकी छु ।
उपवासको भोक मेटाउन कविताको फलाहार लिइरहेकी छु ।
हामी धेरै हरायौ
एसएमएसमा, फोनमा, च्याटमा र पत्रहरूमा
हामी कहिले आकृतिविहीन भएर हरायौ
हामी कहिले रङ्गविहीन भएर हरायौ
हामी कहिले संवादविहीन भएर हरायौ
हामीले आफूले आफूलाई चिन्न नसकिने
गरेर हरायौ
त्यसैले प्रिये आज एसएमएस गरिन्

प्रिये आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झना उत्तरआधुनिककालको
गुफामा गुप्तवास बसेको छ ।
विज्ञानको युग, साइवरको युग
एक्काइसौँ शताब्दीको युग
तर पनि भावनाहरू
किन यसरी मुक्तवास खोज्छन्
फोनले तिर्सना किन मेट्दैन ।
कम्प्युटरले सपना किन देख्दैन ।
उत्तरआधुनिकताले भविष्यवाणि किन गर्दैन ।
विज्ञानले अविश्वासलाई किन मार्दैन ।
विश्वासको सफल आरोहरण गर्न पनि
मैले आज एसएमएस गरिन् ।

प्रिये,मैले आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झनाको धरातलीय
क्षेत्रफल नाप्न बसेकी छु ।
कलम र कापीले सम्झनाका
लम्बाइ र चौडाइ नापीरहेकी छु ।
हामी असीमित लम्बाई चौडाइमा फैलियौ ।
फैलनुको कुनै सीमा रहेन ।
कुनै रेखा रहेन ।
कुनै कोण रहेन ।
तर पनि हामी स्वयम् शून्यमा हराइरहेका छौ ।
सायद शून्यको अगाडि एक अङ्क थप्न सके
हामी सम्पूर्ण हुन्थ्यौ होला ।
तर त्यो हाम्रो जीवनको
गणितीय सिद्धान्तको विपरीत छ ।
हाम्रो जीवन शून्यमा हराइरहेको हुनाले पनि
प्रिये आज एसएमएस गरिन्
मलाई माफ गर प्रिये
आज मैले एसएमएस गरिन्

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।