January 27, 2012

विखण्डनको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, जीवनको प्रेम काँचमा खाँदिएको कार्बनजस्तै हुँदोरहेछ । विश्वासको धरातलमा थिचिएर तयार भएको काँचलाई अविश्वासको धरातलमा बर्जन गयो भने कसरी विखण्डन हुन्छ भन्ने कुरा मैले यस क्यानभासमा सजाएकी छु । विखण्डित प्रेम कसरी काँचको टुक्राटुक्रामा छरिन्छ भन्ने कुरा यहाँ सादृश्य गराएकी छु ।
म बुद्धको शरणमा परेँ ।

लाग्छ यो समय कहिल्यै अतीत नबनोस् ! छ वर्षपछिको कठोर तपस्याबाट प्राप्त भएको यो मिलनको घडी ! प्रत्येक पल गन्दै प्रलापको भकारीमा भरिएका अनगिन्ती निष्ठुरी रातहरू ! आज बन्धनमूक्त भएर छरिन चाहन्छन् । ती रातहरू आकाशमा तारा गन्दै बितेका अनिदा रातहरू । पृथ्वीको वल्लो छेउ र पल्लो छेउ । ती अनिदा रातहरूले तिमीमा यो संदेश पु¥याउन सक्लान् ? म आफै कल्पना गर्दथे । तर बिचरा ती निरीह रातहरू जाँदाजाँदै बाटैमा सूर्यका उज्याला किरणहरूले गन्तव्यविहीन हुन पुग्दथे । खै कसरी बिते ती रातहरू ? लाग्थ्यो बिहानको सूर्यले तिम्रो संदेश बोकेर साउती मार्न आइरहेको छ— “हेर प्रिय हाम्रो मिलनको घडी एक दिन छोट्टिएको छ ।”
तिम्रो संदेश म उषासँगै लिन्थे अनि सन्ध्यालाई पठाउँथेँ यसरी— “जाउ मेरो प्रियतमलाई ओछ्यानमा मेरो मीठो चुम्बनले स्पर्शगरी ब्युूँझाई देऊ ।” भनेर । मेरा कल्पनामा ती निष्प्राण पलहरू आज कसरी ब्युँझेर एउटा सिगो यथार्थ बनेको छ । लाग्छ यो दृश्य हृदयमा समेटिरहूँ, लाग्छ यो समय छातीमा कोरिरहूँ । कतै मीठो संगीतको ध्वनिझैँ ‘शाब्दी’ तिम्रा उच्चारित शब्द लाग्छ गहना बनाएर शरीरमा सजाइरहूँ ।
हल्का पिंक रङ्गको मधुर प्रकाश अनि भित्तामा उही रङ्ग, झ्याल र ढोकामा उही रङ्गको पर्दा । तिमी आउनअघि म तिम्रै कल्पनामा यहाँ मीठो सङ्गीतसँगै अनुभूतिका धुनहरू बजाइरहेकी हुन्थेँ । जीवन एउटा अनुभूतिको सागर त रहेछ नि । अनुभूतिभन्दा पर मैले केही देखेको छैन, भेटेको पनि छैन । त्यसैले मैले ती पलहरू यस ठाउँमा सेयर गरेकी छु, तिम्रो अनुपस्थितिमा । हृदयमा कोरिएका तिम्रो चित्र कस्तो अमेट थियो । कसैगरी नमेटिने । जीवनको त्यो शाश्वता, त्यो अमर चित्र । म अनेकौँ पटक ठोकिन्थे त्यो चित्रमा, अनेकौँ पटक अल्झन्थे त्यो चित्रमा, अनेकौँ पटक बाँडिन्थे त्यो चित्रमा । आज त्यो चित्र सजीव भएर उभिएको छ मभित्र । तिम्रो यो स्पर्श अनेकौँ लहर सँगसँगै बहिरहने छालजस्तै मेरो हदयमा उठ्तै, बस्तै गर्दैछ । दुई लहरहरू ठोक्किएको समय कतै अभिलेख गरेर राख्न पाए कस्तो हुन्थ्यो ? तिम्रा समझनाका पलहरू कसरी ब्युँझन्छन् एकएकगरी मभित्र । सम्झनाका अनगिन्ती छालहरू तरङ्गिदै भिजुयल हुन पुग्थे आधुनिक यन्त्रमा । ती मीठा शब्दहरू पढ्न आतुर मेरो हृदय कतिखेर निर्जिव यन्त्र सजीव भएर उभिन्थ्यो मेरो हृदयमा, दृश्य बनेर । अनि म ती दृश्यहरूमा हराउने गर्दथे । अदभूत आनन्दको एउटा लहर मभित्र ठोक्किएर हराउँदथ्यो । केही दिनसम्म म पौडिरहन्थे त्यही छालहरूमा र म आफै हराइरहेको हुन्थे । यसरी नै छालहरू ओहोरदोहोर गरिरहन्थे निर्जीव यन्त्रमा र हामी हराउने गर्दथ्यौँ कतै एकान्तमा ।
त्यो पल खै कसरी हरायो मभित्र ? अहिले तिमी छौ र त म छु अनि म छु र त तिमी छौ । ती प्रलापका रागहरू अब कतै नबजून, ती विलापका गीतहरू अब कतै नगुन्जिउन । अब यी मिलापका रागहरू, मिलनका अनुभूति मात्र कोरिनेछन् हाम्रो जीवनमा । अब अर्को मुनामदन लेखिनुपर्छ तडपन पछि मिलनको अदभूत कथा बनेर । समयलाई बिर्साउने त्यो कथा जहाँ संसारको सम्पूर्ण सुखानुभूति खाँदिएको हुनेछ ।
तिम्रा यी कोमल औलाहरू अनि हत्केलाहरू । म घोरिन्छु तिम्रा मुलायम औला र हत्केलाहरूमा यसले मेरो विश्व थाम्नेछ—म सोच्छु । सायद तिमीले पनि त्यही सोचिरहेका छौ । कतै अविश्वासको ज्वारभाटा उम्लेर हाम्रो विश्वासको आणविक भट्टि भत्काउने त होइन ? जहाँ हाम्रा दुई मुटु धडकनरूपी उर्जा सञ्चय गरिरहेका छन् । म सतर्क बन्छु– सायद तिमी पनि । अमूक भाषाहरू हामीभित्र ओहोरदोहोर गरिरहेका छन् । यो ससार विश्वासैविश्वासको तत्वले बनेको छ । यो पञ्चभूत तत्व एक अर्काको विश्वासमा उभिएको छ । नत्र सूर्यले बिहान नहुन किन भुल्दैन ? हावाले अस्तित्व भत्काउन किन सक्दैन ? पानीले सिञ्चित गर्ने धर्म किन छोडदैन ? हो यसैले यो संसार विश्वासैविश्वासको धर्मयुद्ध लडिरहेको छ । के तिमी त्यो धर्मयुद्धको एउटा नायक होइनौ र ? हो तिमी एक नायक र म एक नायिका । आऊ त्यो धर्मयुद्धमा अर्को एउटा अध्याय थपौँ । मधुर मिलनको वस्त्र पहिरिएर एक अर्कामा हराउने प्रचेष्टा गरौँ । हामी जन्मदा पनि निर्वस्त्र थियौँ नि । हामीलाई जीवनको यही धर्मयुद्धले लाज, घिन, प्रेम, पीडा, अनुभूति सिकाएको हो । तिमी र म एउटा नयाँ अध्याय कोर्न सक्छौ । त्यो अध्याय नै अबको नयाँ धर्मयुद्ध हुनेछ ......।
नेपालीको भाग्य विदेशिनु पीडा छैठीेले हामीलाई जन्मदै निधारमा लेखिदिइसकेको हुँदो रहेछ । के गर्नु घरको मूली बाउ नै फटाहा, रक्सिया र निकम्मा भएपछि अरूको के लाग्छ र ? आमाले के गर्ने सक्छिन् र ? उल्टै रक्साहा लोग्नेले आफनो छोराछोरी मारेर निसन्तान बनाउला भनेर जोगाउँदै उनलाई हैरान । हाम्रोे भाग्य त्यस्तै भयो । राजनीतिरूपी बाउ निकम्मा र बदमाश भएपछि नेपाली भाग्य फुटेको हाँडी जस्तो भयो । निकम्मा बाउका अभागी छोराछोरीहरू अरूकोमा जुठा भाँडा माझ्नु बाहेक अरू विकल्प के हुन्छ र ? छोराछोरीको भोको पेट, पत्नीको नाङ्गिएको शरीर, उडेको घरको छानो बाहेक उसले सपनामा अरू कुरा सोच्नै सक्दैन । त्यही विडम्वनाको शिकारले रन्थनिएर तिमी विदेशीयौ । आधा दर्जन वर्ष मैले उही फटाहा बाउलाई सक्दोसराप गरेर बिताएँ– “हेर तिमीलाई हजारौँ मजस्ता विरहणीको पाप लाग्छ । जो आफ्नो सम्पूर्ण यौवन यसरी अलाप विलाप र प्रलापमा बिताइरहेका छन । तिमी राम्रोसँग आफ्नो घर सम्हाल । छोराछोरीलाई उचित मार्गदर्शन देऊ । यसरी घरलाई टुक्राउने, फुटाउने, मौका परे घरको श्रीसम्पत्ति लुकाउँदै बेच्ने नगर । तिमीलाई हजारौँ आत्माको श्राप लाग्छ । कम्तिमा सर्वज्ञाता ईश्वरसँग त डराऊ ।” तर उसलाई मेरो प्रलापले के छुन्थ्यो । हवाइट हाउस, व्लाक हाउसको बानी लागेको उसलाई म र मेरो ईश्वरको पुकाराले के छुन्थ्यो र ? उसलाई परापूर्वकालदेखि नै आफ्नै आदत र बानीमा लट्ठिने नशा लागिसकेको थियो ।
एकाएक म वर्तमानमा ब्युँझिएँ । किनकिन तिमी मबाट टाढा भएको महसुस भयो मलाई । किन यस्तो भयो ? मैले थाहा पाउन सकिनँ । म त तिमीलाई सम्पूर्ण रूपले आफूमा समर्पित गर्न चाहन्थेँ । तर तिमी यसरी टाढिनुको कारण मैले बुझिरहेकी थिइनँ । म त तिमीमा हराउन चाहन्थेँ । के मेरो प्रेममा कुनै खोट थियो ? के मेरो समर्पणमा कुनै अभाव थियो ? तिमी निस्पृह रहनुको तात्पर्य ? मैले तिम्रो भाषा बुझिरहेको छुइँन, कि तिमी मेरो भाषा बुझिरहेका छैनौ ? म भन्न सक्दिनँ एउटा लामो समय छोट्टिएर छोटो भएको समय । तिमी किन टुक्रयाइरहेका यो समयलाई पनि । म बुझ्न सकिरहेको छुइनँ । एक छिनपछि तिमी उठेर गयौ । तिमी आफ्नो लगेजमा केके खोज्न थाल्यौ । अहिले तिम्रो हातमा एचआइभी पोजिटिभ प्रेस्क्रिप्सन थियो ।
मभित्रको वर्लिन पर्खाल गल्यार्मगुर्लम ढल्यो । मेरो आस्था विश्वास त्यही पुरियो । एउटा ठूलो अनुष्ठान प्रारम्भ नभई समाप्त भइसकेको थियो । तिमी चेतनाशून्य उभिरहेका थियौ । संवादविहीन तिम्रा आँखाहरू निष्प्राण देखिन्थे तर तिम्रो हृदयको तार कताबाट मेरो हृदयमा कनेक्शन हुन आइपुग्यो तिम्रो ढूकढूकी भन्दै थियो – “शाब्दी मलाई माफ गर । म अपराधी हुँ । मैले विवश भई आफैलाई बेच्नुप¥यो । तिमीहरूको खुसीको लागि । क्रेडिट क्रन्चले अमेरिकालाई निलेको थियो । अभावमा मैले अरू केही देखिन तिम्रो खुसीको लागि मैले आफनो अस्तित्व बेचेँ । मलाई माफ गर ।”
म कसरी विश्वास गरूँ ? के तिमी त्यो समयको क्षतिपूर्ति तिर्न सक्छौ ? म प्रतिप्रश्न गर्छु ऊसँग । अघिका ती भावना र अनुभूतिका रसायन पोखिएर खै कता हराए कता ! म सोच्थे तिमी छौ र त म छु म छु र त तिमी छौ । तर होइन रहेछ त्यहाँ तिमी नहुनुको पीडा मलाई बिझाइरह्यो । म चाहन्थेँ तिम्रो उपस्थिति सूर्यको किरणमा भेटिरहूँ, म चाहन्थे तिम्रो स्पर्श जूनको जुनेलीबाट पाइरहुँ, म चाहन्थे तिम्रो मुस्कान फुलका थुगाहरूमा टिपिरहुँ तर तिमी नहुनुको पीडा फूलको काँडाहरू बिझाइरहयो मलाई । त्यो आस्थाको मूर्ति कसरी ढल्यो । अफगानीले बुद्धको मन्दिर ढालेझैँ । त्यो विश्वासका धरातल कसरी विखन्डित भयो– महाप्रलय आएझैँ । म आफैभित्र टुक्रिएँ । अब त्यो कुन रसायनले जोडिएला ? मधुर मिलनको खुसी एउटा ठूलो सुनामीले क्षणभरमा नै तहननहस भयो । सबै भावना र इच्छाहरू भताभुङ्ग भए । जो म चाहन्नथेँ ।
अब मभित्र कुने तत्व बाँकी थिएनन् । म खाली–खाली शून्य थिएँ । कतै बुद्धको ध्वनी मेरो कानमा गुन्जियो ‘बुद्धम् शरणम् गच्छामि’ । म बुद्धको शरणमा परेँ ।

January 13, 2012

शर्मिलाका नवीन ढङ्गले लेखिएका रचना

  •  डा. कुमारप्रसाद कोइराला
यो नयाँ ढङ्गमा लेखिएको कृति हो । यसलाई मुक्त तरिकाले लेखिएको कृति पनि भन्न सकिन्छ । यो न कथासङ्ग्रह हो न उपन्यास नै । यसलाई कथासङ्ग्रह र उपन्यास नभनेर आख्यानात्मक कृति भन्न सकिन्छ । यहाँ स्वतन्त्र रूपका कथा लाग्ने रचना छन् र तिनलाई कथाकार दिवाकर र अनामिकाका सम्बन्ध र संवादले एकअर्काबिच जोडेका छन्, तर यी परम्परागत ढङ्गमा लेखिने कथाभन्दा भिन्न छन् । त्यस्तै यसलाई उपन्यास पनि भन्न सकिएला तर यो प्रचलित ढाँचाको उपन्यास पनि होइन । नेपाली साहित्यमा यस्ता ढङ्गका कृति लेखिन थालेका छन्, जस्तै कृष्ण बरालको अवतरण (२०६१) अमर न्यौपानेको पानीको घाम (२०६६¬) आदि ।

खड्काको यस कृतिलाई यस्तै नवीन ढङ्गको आख्यान भन्न सकिन्छ । यसका कतिपय कथामा कथाकार स्वयम् पात्र बनेको र कतिपय कथामा कथाकारकै निजी कथा व्यक्त भएको पनि देखिन्छ । यस कृतिमा प्रयुक्त पात्रहरू कथाकारका इच्छामा निर्भर छैनन् र ती स्वतन्त्र लाग्दछन् ।

पात्रहरू कथा लेख्छन् । कथाको प्रतिउत्तर वा प्रतिकथा पनि लेख्छन् । यस्तै कथा र प्रतिकथाको शृङ्खलाले यस कृतिलाई एउटै बनाएको छ । यी कतिपय कथाका पात्रहरू कथाकारका कल्पनाबाट जन्मेका भन्दा बास्तविक छन् । यी कतिपय कथाका पात्रहरू कथाकारका कल्पनाबाट जन्मेकाभन्दा बास्तविक चरित्रलाई पात्र बनाइएका जस्ता देखिन्छन् । त्यसैले ती कथाकारका अधीनमा नबस्ने स्वतन्त्र छन् । बरु यिनीहरूले आफ्नो चरित्र देखाउन कथाकारलाई आफूसँगै लिएर हिँडेका छन् र कथाकार उनीहरूका पछि लागेर उनीहरूको चर्तिकला हेरिरहेको पनि देखिन्छ । यी सबै कारणले यो कृति नयाँ ढङ्गको भएको छ । मलाई के लाग्छ भने यस्तो नयाँ ढङ्गको लेखाइले यसलाई धेरै पाठकले मन पराउन सक्छन् ।

अर्को कुरा यो कृतिमा समसामयिक समस्यासँग सम्बन्धित रचनाहरूको आधिक्य छ । त्यसैले यो ताजा र नयाँ स्वादको लाग्छ । यसले अहिलेको नेपाली समाजलाई व्यञ्जित गरको छ । यसमा नेपाली समाजका खास गरी नारीवर्गका समस्यासँग सम्बन्धित रचना सबभन्दा बढी छन् । यिनलाई नारीवादी रचना भन्न सकिन्छ । किनभने यिनले पुरुषप्रधान नेपाली समाजमा नारीका के कस्ता समस्या छन् र उनीहरूको के कस्तो अवस्था छ भनेर व्यञ्जित गरेका छन् । हाम्रो समाजमा शिक्षित, नोकरी गर्ने, साहित्य लेख्ने र समाजमा पतिको भन्दा आफ्नो नाम कमाउने नारीहरूलाई पुरुषहरू कसरी हेप्न खोज्छन् र नारीका आत्मसम्मानमा कसरी ठेस लगाउँछन् भनेर सत्यताको क्यानभासमा र वर्तमानको क्यानभासमा नामक रचनाले प्रकट गरेका छन् । विदेशमा बस्ने नेपाली युवती अथवा कामदारका रूपमा विदेश गएका र परपुरुषबाट बलात्कृत भई विक्षिप्त बनेर स्वदेश फर्केका नारीका पीडालाई जीवनको क्यानभासमा र विद्रोहको क्यानभासमा नामक रचनाले व्यञ्जित गरेका छन् । विरहको क्यानभासमा विदेश गएको छोरालाई बुहारी कसरी चरित्रहीन भई भनेर दुःखी आमाले लेखेको पत्र छ । विवशताको क्यानभासमा माओवादी द्वन्द्व र युद्धको बेलामा यद्ध मैदानमा मरी भनेर छाडिएकी छापामार युवती संयोगले बाँचेकी र स्वतन्त्र र खुलारूपमा जीवनयापन गर्न नसकी यौनकर्मी भएर विदेशिएकी र ऊ विदेशमै षडयन्त्रपूर्वक मारिएको कथा छ । स्मृतिको क्यानभासमा र आकस्मिकताको क्यानभासमा एउटी टुहुरी केटीले कान्छी आमाबाट खेप्नुपरेको पीडा र असफल प्रेमसम्बन्ध र सफल दाम्पत्यजीवन तथा पूर्व प्रेमीको स्मृतिले उसमा जन्मेको मनोद्वन्द्व व्यञ्जित भएको छ । त्यस्तै आवृत्तिको क्यानभासमाले यौनकर्मी भएर जीवनयापन गर्न बाध्य महिलाले परपुरुषबाट भोग्नुपर्ने यौन, उत्पीडन र दुराचारको चित्रण गरेको छ । विखण्डनको क्यानभासले परदेश गएको पतिसँग भेट हुनेभयो भनेर खुसी भएकी तर पति एचआइभी पोजेटिभ किटाणुबाट सङ्क्रमित रहेछ भनेर अत्यन्त दुःखी भएकी पत्नीको असहनीय पीडा व्यक्त गरेको छ । अर्काको घरमा सहयोगी भएर काम गर्ने हकअधिकार विहीन महिलाको हक अधिकारको वकालत मानवीयताको क्यानभासमा नामक रचनामा गरिएको छ । यसरी यी नारीवादी रचनाले नेपाली नारीवर्गका विविध समस्यालाई चित्रण गरेर वर्तमान नेपाली समाजमा नारीहरूले भोगेका दुःख , पीडा, वेदना, आभिघात प्रकट गरेका छन् । नारीले नै लेखेकाले यी काल्पनिक र अतिरञ्जनापूर्ण छैनन् । स्वाभाविक र प्रभावकारी बनेका छन् ।

विकृतिको क्यानभासमा नेपाली सहरी समाजमा युवायुवतीबिच यौनउच्छुङ्खलता बढेको र तिनले असामाजिक र अनैतिक यौनक्रियाकलाप गरेर समाजलाई प्रदूषित बनाइरहेको प्रति चिन्ता प्रकट गरिएको छ । त्रासदीको क्यानभासमा व्यापारी कहाँ काम गर्ने केटाले साहुबाट आमाको उपचारमा सहयोग नपाउँदा साहुलाई मारेर पछुताएको प्रसङ्ग आएको छ । सांस्कृतिकताको क्यानभासमा नेपाली नारीहरूका लागि तिजको धार्मिक महत्त्व घट्तै गएको र त्यसको सामाजिक र मनोवैज्ञानिक बाँकी रहेको चर्चा गरिएको छ । अरू बाँकी रचनाहरू स्त्री र पुरुषबिच हुने रतिराग र प्रणयसम्बन्धसँग सम्बन्धित छन् । तिनले शारीरिक र आत्मिक दुवै प्रेमका विविध पक्ष उद्घाटन गरेका छन् । यस्ता रचना समाज निरपेक्षरूपमा आएका छन्, तर रति र प्रणयले तिर्खाएका पाठकहरूका लागि यी महत्त्वपूर्ण हुन सक्छन् । कथाकार दिवाकर र पहिले पाठक अनिपछि कथाकार नै भएकी अनामिका बिचको सम्बन्ध साहित्यकार र पाठक बिचको मात्र नभएर अलि भावुकतापूर्ण छ र कतिपय दृष्टिले प्रणयपरक हुँदै गएको देखिन्छ र अन्तमा सन्तान विहीन कथाकार दिवाकर र उसकी पत्नीका लागि अनामिका सेरोगेटेड मदर (अरूका लागि बच्चा जन्माइदिने आमा) बनेको समेत देखाइएको छ ।
यसरी यस कृतिको अध्ययन गर्दा के देखिन्छ भने शर्मिला खड्काको आख्यान लेखन एक खुडकिलो अरूमाथि उक्लेको छ । समयको क्यानभासमा (२०६५) नामक कथासङ्ग्रहबाट उनी नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेकी थिइन् भने यो दोस्रो कृतिबाट उनले नेपाली आख्यानमा आफ्नो उपस्थितिलाई गणनीय बनाएकी छन् । नेपाली नारी आख्यान लेखनको इतिहासमा उनको छुट्टै स्थान बनेको छ भन्ने कुरामा कसैले विमति जनाउन सक्दैन । उनको यस कृतिबाट उनी अहिले कस्तो लेखन छ, कस्तो रचना समसमायिक हुन्छ र कसरी लेख्दा नवीन हुन्छ भनेर अरूका रचना पढ्ने समसामायिक विचार अनुसार लेख्ने र रचनालाई नवीन पारेर प्रस्तुत गर्ने खालकी आख्यानकारका रूपमा अगाडि आएकी देखिन्छिन् । उनको यो प्रयास प्रशंसनीय छ । म उनको यो प्रयासको अभिनन्दन गर्दै अरू गहकिला रचनाको लागि शुभकामना पनि दिन चाहन्छु ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।