April 30, 2010

दुर्भाग्यको चोट

कान्तिपुरी असाध्यै राम्री थिइन् । उनको रूप र सौन्दर्य वर्णन गरिनसक्नुको थियो । उनको सौन्दर्य देखेर मुग्ध नहुने सायद कोही थिए होला । अझ उनको शिरको ताज यति सुन्दर थियो कि धेरैजसो मानिसहरू उनको सुन्दरता हेर्न लालायित हुन्थे । उनको सुन्दरताको वर्णन देशविदेशमा हुन्थ्यो । उनको सुन्दरतामा सबैभन्दा बढी आकर्षित भएको थियो विकास । विकास र कान्तिपुरी वनपाखामा रमाउँथे, घुम्थे । उनको प्रेमगाथा वनपाखामा घन्किन्थ्यो र प्रतिध्वनित हुँदै धेरै टाढासम्म पुग्दथ्यो । यसरी मौलाएको प्रेमकथा दुर्भाग्यले बीचैमा चुँडाइदियो । कान्तिपुरीको विवाह नेपालस“ग भयो । कान्तिपुरीको विवाहपश्चात् विकास पनि बिदेसियो । 

कान्तिपुरीका धेरै सन्तान भए । उनका श्रीमान्लाई उनका दाजुभाइले १०४ वर्षसम्म थुनामा राखे । थुनाबाट मुक्त भएपछि नेपालपरिवारमा केही सुखदको क्षण आएको मात्र के थियो, त्यसको आठदस वर्षमै उनका श्रीमान् नराम्रोसँग थलिए । त्यसपछि त कान्तिपुरी सामाजिक र आर्थिक रूपले धेरै कमजोर हुँदै गइन् । उनको सुन्दरतामा समयको कडा प्रहारले उमेर नपुग्दै वृद्धावस्थामा देखिने छापहरू देखिन थाले । उनलाई सबैले नेपाल्नी आमै भन्न थाले । नेपाल्नी आमैको आर्थिक स्थिति ज्यादै कमजोर भएको हुनाले छोरीछोरीले राम्रो शिक्षादीक्षा पाउन सकेनन् । नेपाल्नी आमैले सन्तानका लागि केही गर्न भरमग्दुर प्रयास गरिन् । कोही छोराछोरी टाठाबाठा भए । कोही जान्नेसुन्ने पनि भए । केही जानेबुझेकाले आफ्नी आमाको पहिले विकाससँग प्रेम भएको थाहा पाए । उनीहरूले आमाको मुहारमा खुसी ल्याउन पुन विकाससँग बिहे गराइदिने सल्लाह गरे । नेपाल्नी आमैले पनि विकास धेरै जान्ने र विद्वान् भएको हुनाले आफ्ना सन्तानलाई उचित मार्गदर्शन गर्ला भन्ने सम्झी राजी भइन् । धेरैजसो छोराछोरी मिलेर विकासलाई बोलाए । अनि हर्षबढाइँ पनि गरे । 

यसरी बोलाउनेमध्ये केही सन्तानलाई विकास आएको पाच्य भएन । निजी स्वार्थले गर्दा विकासको विरोधमा पाइला बढाए अनि भित्रभित्रै षड्यन्त्र रच्न थाले । यसरी गरिएका षड्यन्त्रले उनीहरूबीच अशान्ति ल्यायो । हुँदाहुँदै नेपाल्नी आमैका सन्तानबीच घमासान लडाइँ भयो । नेपाल्नी आमैले ती सन्तानबीच धेरै सम्झाइबुझाइ गरिन् तर पटक्कै मानेनन् । न त चेपेखोलावारिकाले बुझे न त चेपेखोला पारिकाले बुझे । चेपेखोलामा रगतको खोलो बगिरह्यो । त्यस रगतको बाढीले धेरैको कोख रित्यायो अनि सिउँदो उजाडिदियो । कतिलाई घरबारविहीन बनायो, कति नाबालकहरू टुहुरा भए । छाराछोरीको आ“सुको यो बाणले नेपाल्नी आमै मर्माहत भइन् । मुटु छियाछिया भयो । वेदनाहरू पोखिन नसकेर गुम्सिए । नेपाल्नी आमै रात–रातभर पीडाले छटपटाउन थालिन् । उनी रोग र शोकले व्याकुल भइन् । यस्तो स्थितिमा विकास पनि अबको पचास वर्षयता आउन नसक्ने बाध्यता देखायो । किनभने ऊ विदेशमा निकै सानसौकतमा रहने गरेको थियो । विकाससँगै आएका नेपाल्नी आमैका शुभचिन्तकहरूले पनि छोडेर हिँडे । नेपाल्नी आमैलाई पीडाको अर्को वज्रपात प¥यो । उनलाई दुर्भाग्यले दोबाटामा फ्यांकेको ढुङ्गोझैँ बनायो । तर उनका केही शान्तिप्रिय छोराछोरीहरूले आमाको दयनीय स्थितिप्रति आपत्ति जनाए । सबैलाई बाँच र बाँच्न देऊ भनी गुहार्न थाले । उनीहरूले आमाको दिनरात गरेर स्याहार गर्न थाले । आमाको चिन्ताजनक स्थिति देखेर भोलिको उज्यालो बिहानीको प्रतीक्षा गर्दै उनीहरू रात–रातभर रोइरहे । रोइरहे । 

कुहिरोभित्रको कागकथा


जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर । नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर ‘पत्रकार’ लेखिएको टिसर्ट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको ब्यानरमुनि स्वयम्सेवकहरू सेवा गर्न तल्लिन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आँखाहरूले पछ्याएझैँ लाग्छ । ती आँखाहरू कालो चस्माभित्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझैँ लाग्छ । म यथावत् रूपमा ठेलामा अडेस लगाएर उभिरहेकी छु अनि हेरिरहेकी छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यक्रम सञ्चालक शान्तिपूर्ण सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवयित्री कवितापाठ गर्छिन् । राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझिदनँ । म केही सतर्क हुँदै चारैतिर आँखा दौडाउँछु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सेर भागदौड हुनसक्छ । फेरि पनि ती जोरआँखाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यक्रमतिर ध्यान बटुल्छु ।
एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारीहरू उत्तेजित हुँदै नाच्न थाल्छन् । म आफ्नै ठाउँबाट मौन समर्थन जनाउँछु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म सतर्कता अपनाउने क्रममा फेरि आँखा दौडाउँछु । फेरि उही आँखाले पछ्याएको पाउँछु । म आफूलाई लुकाउछु र चोर नजरले हेर्छु । फेरि पनि ममाथि आँखाहरू बिछ्याएको नै पाउँछु । कतै चिरपरिचित हो कि म ध्यान बङग्याउँछु । होइन, कतै भेट भएको छैन । ऊ त पत्रकारजस्तो पनि लाग्दैन । पत्रकार भए टिसर्ट लगाउनुपर्ने, म एक्लिँदै कार्यक्रमतिर ध्यान बटार्छु । ठेलामा काँक्रा र खरबुजा बेच्न राखिएका छन् । केही मानिस त्यतैतिर आउँछन् । खरबुजा खान । मेरो ध्यान मोडिन्छ । त्यतैतिर त्यस हूलमा उक्त कालो चस्मा लगाउने मान्छेलाई देख्छु । पुरुषहरू नारीलाई किन यति बिध्न चासो दिएर हेर्छन् ? हुन त पुरुषलाई हेर्ने नारीको सङ्ख्या पनि समाजमा कम नहोला । तर म त्यति बिध्न सुन्दरी पनि छैन कसैको नजरलाई यति बढी आकर्षित गर्न सकूँ† ऊ मेरो छेउमा आउँछ ।
“मलाई चिन्नुभएन ?” अप्रत्याशित शब्दहरूले मलाई आक्रमण गर्छन् । म झस्कन्छु ।
“अह“ †”
“ल, अब भन्नोस् †” उसले चस्मा फुकाल्छ ।
“तपाइर्“ श्रीकान्त नेपाल †” मेरो मुखबाट अनायास निस्कन्छ ।
“हो ।” बल्ल हेराइको रहस्य खुल्यो । म छक्क परेँ ।
“तपाईँ किन त्यस झुन्डमा ?”
“म पत्रकार हुँ।”
श्रीकान्तले ‘कार’ उपाधि पाइसकेछ । हामी कुनै समय एउटै कक्षाका सहपाठी थियौँ । ऊ पत्रकारिता पढ्न गएछ, मलाई थाहा थिएन । अहिले ऊ चिनीनसक्नु भएछ । भौतिक बनोट पनि असाध्यै आकर्षक देखिन्छ । म पत्रकारहरूलाई सम्मानजनक नजरले हेर्छु । किनभने जनआन्दोलनमा उनीहरूको भूमिका सराहनीय छ । जुलसमा मध्यस्थताको भूमिका उनीहरूले निभाएका हुनाले रगतको खोलो बग्न कम भएको छ । तेहौँ दिनदेखिको जनआन्दोलन चरम उत्कर्षमा पुगेको छ । कतिचोटि कतिपय ठाउँमा पत्रकारहरू स्वयम्ले पनि रगतको खोला बगाउनुपरेको थियो अनि निरङ्कुशताको बज्रपात पनि सहनुपरेको थियो । कतिपय जनताले त राजतन्त्रप्रतिको आस्था मरेर तेहौँ दिनको काम कपाल समेत खौरने गरेका थिए ।
‘‘म पत्रकारलाई इज्जत गर्छु ।’’ मैले छोटकरीमा भनेँ।
करिब दस वर्षपछि हाम्रो भेट भएको थियो । मेरो निधारको टीका र घाँटीको मालाले विवाहिताको परिचय दिएको थियो । मलाई पनि ऊसम्बन्धी व्यक्तिगत खुल्दुली जाग्यो तर अवस्था अनुकुल थिएन । कुनै पनि समयमा भागदौड हुनसक्थ्यो । मैले आफ्नो बचाउका लागि भाग्नुपथ्र्यो भने ऊ अरूको बचाउका लागि दौडनुपर्ने अवस्था थियो । त्यसैले परिवेशप्रतिको संवेदनशीलताले हाम्रो संवादलाई बाधा दिइरहेको थियो । धेरै दिनको बन्दले आमजनताले पालेको तनावले म पनि ग्रस्त थिएँ भने ऊ पत्रकारहरूलाई गरेको कुटपिटले आक्रोशित थियो ।
ऊ कसरी, किन यो सहरमा देखा प¥यो, कौतुहलको आँधीले घे¥यो मलाई ।
“तपाईँ पत्रकार, तर तपाईँको नाम कतै पत्रिकामा देख्दिनँ नि ?” हुर्रिँदो मानसिकताले उत्सुकता मेटाउने प्रयास गरेँ ।
“म छद्मनामले लेखहरू लेख्छु ।”
म असामज्स्यको लिङ्गे पिङमा मच्चिन्छु । एउटा पत्रकार छ जसको नाम सन्देश हो । उसका रचनाहरू म असाध्यै मन पराउँछु । उसलाई म मेलमार्फत धन्यवाद र बधाई पनि दिइरहन्छु । म अनिश्चतताको कालो बादलमा मडारिन्छु कुहिरोको काग भएर, परिवेशजस्तै । म अत्यन्त प्रभावित छु उक्त पत्रकारका लेखहरूबाट । त्यसैले उसलाई मेलमार्फत आफ्ना मनका धेरै कुराहरू गर्छु । । म आन्तरिक पीडा पोखिरहेको छु मेलमा–
  ‘जीवन गहिरो छ, जति बहँदै गयो उति नै गहिरिँदै जाँदो रहेछ । किन हो तपाईँको लेखहरूले मलाई नयाँ ऊर्जा दिन्छ । नयाँ शक्ति दिन्छ । त्यो शक्तिले मलाई सधैँ तानेजस्तो लाग्छ । अनि ती हातहरू हेरूँ–हेरूँ र चुमूँ–चुमूँ जस्तो लाग्छ जसले यति सुन्दर शब्द, भाषा र शैलीहरू पोख्छन् । कहिले म पागल भएर तपाईँ का शब्दहरूसँग उडिरहूँ कल्पनाको आकाशमा अनि कहिले यथार्थमा नफर्कु जस्तो लाग्छ तर यो असम्भव छ । मलाई थाहा छ । तर म त्यही असम्भावनामा रमाउन चाहन्छु ।’
मलाई आफ्नो मेल सम्झेर लाज लागेर आउँछ । म धकाउँछु । श्रीकान्तलाई उसको छद्मनाम सोध्ने आँट आउँदैन कतै श्रीकान्त नै होइन उक्त पत्रकार † भए के भो त आखिर मैले पनि त छद्मनाम नै प्रयोग गरेकी छु उसले कसरी थाहा पाउँछ र ?
एउटा चर्को भाषण सुरु हुन्छ । हाम्रो ध्यान भाषणले तान्छ । म उसलाई त्यति चासो नदिएको नाटक गर्छु । म नाटकमा सफल हुने प्रयास गरिरहेको हुन्छु । घरीघरी म मेलका वाक्यहरूमा अल्झन्छु –
“प्रत्येक दिन म तपाईँको रचनाको प्रतीक्षामा हुन्छु । रचना आउन केही दिन ढिला भयो भने मलाई छटपटी बढ्छ । त्यस छटपटीलाई म शब्दमा बदल्न सक्तिनँ ।”
ऊ प्रायजसो छोटा मेल पठाउने गर्छ ।
‘तपाईँहरूजस्ता पाठकले नै मेरो लेखनशक्तिलाई बढाइदिएको छ ।’
“तपाईँ अहिले के गर्दै हुनुहुन्छ ?” उसको वाक्यले म यथार्थमा पछारिन्छु ।
“तपाईँसँग गफ गर्दै छु ।” म हल्का जबाफ दिन्छु । कतै मेरो मुखबाट पत्रकारलाई मेल गरेको कुरा फुस्कन्छ कि ? म अझ सतर्क हुन्छु ।
भाषण अझ जोसिलो बन्दै जान्छ । आन्दोलनकारीहरू बुरुकबुरुक उफ्रँदै ताली मार्छन् । भाषणले भन्दै छ –
‘राजाले गोलीगट्ठा तयार गरेको छ तर हामी जनताको गोली बोली हो । हामीले चार दिनका लागि भनेर मात्र तयार गरेका थियौँ । तर तेहौँ दिन बित्दा पनि हाम्रो बोली कसरी जीवित भइरहेछ भन्ने कुरा निरङ्कुश राजाले बुझ्दैनन् । ऊ शक्तिको भरमा टिकिरहन चाहन्छ । ऊ दमनको सास फेर्छ र अत्याचारको भात खाइरहेको छ ।’
भाषणले सबैलाई तताउँछ । हामी पनि उत्तेजित हुँदै ताली बजाउँछौँ ।
“तपाईँ कतिको लेखहरू पढ्नुहुन्छ ?” उसले मेरो ध्यान मोड्दै सोध्छ ।
“पढ्छु राम्रा लेखहरू, पत्रकारमध्ये सन्देशका लेखहरू खूब चाख दिएर पढ्छु ।” उसको छद्मनाम सोध्ने अझै पनि ममा साहस छैन । त्यसैले चोरसंवाद गर्दै छु ।
“म भोलि नै काठमाडौँ फर्कदै छु ।” ऊ सानो जानकारी दिन्छ ।
“ए † किन यति चाँडै ?”
“हिजो यहाँ पत्रकारमाथि भएको दमन र कुटपिटका लागि काठमाडौँबाट मानवअधिकार अनुगमनटोलीमा आएको थिएँ । त्यसैले रिपोर्ट लिएर फर्किहाल्नुपर्छ । म आफू विगत र वर्तमानको अनुगमनमा तल्लिन छु । ऊ हाई स्कुल पढ्दा कत्ति नपत्याउँदो केटो थियो । अहिले ऊ राष्ट्रिय स्तरको लेखक, पत्रकार, र मानवअधिकारवादी भइसकेको छ । जे भए पनि आफूसँगै पढेको साथीलाई राष्ट्रिय स्तरको व्यक्तित्वको रूपमा चिन्न पाउँदा म पुलकित हुन्छु । अर्को एउटा साथीले उसलाई ‘सन्देशजी’ भनेर बोलाएर लिएर जान्छ ।
सम्भावित शब्द सत्यमा प्रमाणित भएको सुनेर म रोमाञ्चित र लज्जित हुन पुग्छु । ऊ गएको विवश आँखाले हेर्छु । वातावरण रमाइलो लाग्छ । सूर्यका किरणहरूलाई लुकाउँदै बादल पानी झार्न तयार देख्छु । गर्मीको महिना तराईको परिवेश भए पनि मौसम रमणीय लाग्छ । अब मेरा आँखाको पालो आउँछ उसलाई पछ्याउने । यो समय नबिते हुन्थ्यो, नहराए हुन्थ्यो जस्तो लाग्छ । ऊ केही पर साथीहरूसँग गफ गर्दै छ । आफूलाई मनपर्ने लेखकलाई यति नजिकबाट फेरि साथीको रूपमा चिन्न पाउँदा म हर्षित हुन्छु । फेरि नजिकिने लालसाले म एकोहोरिन्छु । उसलाई बोलाउन चाहन्छु तर मेलका वाक्यहरूमा अल्झिन्छु– ‘कतै हाम्रो भेट भयो भने हामी अपरिचित हुन्छौँ होला हैन ? सायद तपाइँको वास्तविक नाम मलाई थाहा नहुन सक्छ र मेरो वास्तविक नाम तपाईँलाई थाहा नहुन सक्छ । तर त्यो अनिश्चितताले एउटा नौलो अनुभूति दिन्छ । किनभने म त्यही अपरिचिततामा बाँच्न चाहन्छु । हामी आँखामा मात्र विश्वास गर्छौँ त्यसैले हामी दोष र गुण छुट्ट्याउन विवश हुन्छौँ । जसले हाम्रो सम्बन्धलाई टुक्रयाइदिन्छ । अनि म मीठो अनुभूतिबाट सधैँ टाढा हुन विवश हुन्छु ।’
  एक्कासि पुलिसको लाठी मेरो टाउकामा बजारिँदा म ब्युझन्छु । म भाग्न असफल प्रयासमा छु । पुलिसको लाठी मेरो टाउकोमा बज्रन खोज्दै छ । अचानक कसैले लाठी समात्छ । म बेहोस हुन्छु ।
होस आउँदा म नर्सिङ होममा हुन्छु । आफन्तहरू छेउमा बसेका छन् । उनीहरू कुनै पत्रकारले फोन गरेर जानकारी दिएका कुरा गर्दै छन् । अनि पर्स र डायरी पनि उही पत्रकारले जिम्मा लगाएको कुरा बताउँछन् । पत्रकार भन्नेबित्तिकै श्रीकान्तको खोजीमा आँखा दौडाउँछु । निराश हुन्छु ।
म केही दिनपछि डिस्चार्ज हुन्छु । समय बिताउन मेल हेर्छु – ‘कुमुदिनी, स्वास्थ्य कस्तो छ ? भगवान्का कृपाले अब हामीलाई कहिल्यै भेट नगराइदिऊन् ।’
मेलका शब्दले म सन्तुष्ट हुन्छु । झ्यालबाट बाहिर हेर्छु लोकतन्त्र आइसकेको छ । कुहिरो फाटेर आकाश सफा र स्वच्छ भएझैँ लाग्छ । कागहरू निर्दिष्ट बाटो हिँडिरहेका छन् ।

सानीको साहसदेखि मेरो साहससम्म


सिहंदरवारअगाडिको सडकको पेटीमा निलो शिरीष ढकमक्क भएर फुल्न थालेको छ । म काठमाडौं आउनअघि निलो शिरीष मैले पारिजातको शिरीषको फूलमा मात्र पढेकी थिएँ । यसरी देख्न पाएकी थिइनँ । निलो शिरीष देखेर म रोमान्चित हुन्छ । मलाई आफू पारिजातको शिरीषको फूलमा रुपान्तरित भएझैं लाग्छ र आफूलाई विश्लेषण गर्न थाल्दछु । धेरै हौसला, उत्साह र शक्ति लिएर काठमाडौं आएकी छु । म कीर्तिपुरबाट र्फकदै छु । गाडी जाममा छ । एकपछि अर्को गाडी आफ्नो अस्तित्वको शङ्ख फुकिराखेका छन्-कान खानेगरी । फेरि उनीहरूले ओकेलीरहेछन् विषाक्त धूवाँ पनि उसैगरी । सायद यिनीहरू पनि दिनभरिको चक्करमा दिक्क मानेर विद्रोहोग्नी ओकेली रहेछन् । यतातिर मेरा शरीरका पार्टपूर्जा पनि उसैगरी विद्रोहको सिटी बजाइरहेछन् । सबै जोर्नीहरू दुखेर अहिले उछिटिएर टुक्रन्छन्झै भएका छन् । हे इश्वर ! मलाई शक्ति देऊ, मेरो साधना मेरो तपस्या यसरी भङ्ग नगरी देऊ । म इश्वरसँग कामना गर्दछु । मस्तिष्कभरि विश्वविधालयमा प्राध्यापकहरूले पढाएका पाठहरू र प्राध्यापकका आ-आफ्ना पढाउने शैलीहरू घुमिरहेका छन् । फेरि र्फकदा बाटामा गर्नुपर्ने कामको लामो लिस्ट मस्तिष्कमा छ । वर्षौदेखि क्याम्पसीय जीवन बिताउने सपना अहिले पुरा भएको छ । कहिलेकाहीँ यो सपना हो कि जस्तो लाग्छ । तर होइन यो विपना हो यो मेरो सङघर्षको प्रतिफलको । यो मेरो विद्रोहको प्रतिबिम्ब हो ।
कीर्तीपुरको मेरो अध्ययनको कुरा गर्दा मैले साहित्यको चर्चा गरिनँ भने अधुरो हुन्छ र साहित्यको चर्चा गर्दा मेरो स्वास्थ्यको चर्चा गरिनँ भने झनै अधुरो हुन्छ । यी तीन कुरा मेरो वर्तमान जीवनमा एकअर्कामा चुम्बकीय शक्ति बनेर आकषिर्त छन् ।
ती तीनै कुराको पृष्ठभूमिमा मेरो जीवनको विगतको यो कथा उभिएको छ । कान्छीछोरी जन्मेपछि करीब तीनचार महिना पछाडि मेरो घुडाँ दुख्न थाल्यो । मैले घुडाँको चेकअप स्त्रीरोग विशेषज्ञलाई गराएँ । उसले हर्मोनको इन्जेक्शन दिएको रहेछ । हर्मोनको इन्जेक्शन भन्नेकुरा पछि मलाई थाहा भयो । त्यो इन्जेक्शन लगाएपछि म यति सारो मोटाएकी सबैजना छक्क पर्थे । मलाई खाने कुरा यति धेरै रुच्थ्यो त्यो भनिसक्ने अवस्था थिएन । प्रत्येक दिन बेलुका दालभात तरकारी मनग्ने भएर पनि दुईवटा अण्डाको अमलेट र एक गिलास दूध अनिवार्य चाहिन्थ्यो । त्यो दूध एक जना बहिनीले ल्याउथी । त्यो दूध गन्हाउथ्यो । उसलाई भन्दा जहिले डब्बा गन्हाएको भन्थी । यसरी त्यो दूध धेरै पिउने म मात्र थिए । मैले एकदिन पत्रिकामा पढे भैसीलाई तुरुन्त दूध पगार्ने इन्जेक्शन लगाएर यसरी दूध दुहिन्छ भनेर र त्यस्ता दूधले क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यसपछि मैले त्यो दूध खान छाडेँ । त्यसपछि मेरो जीवनमा केही उतारचढाव भयो मैले सत्यको पक्षलिदा ठूलो तीतो यथार्थ भोग्नु पर्यो । जुन यथार्थ सँगै मैले अस्तित्ववोधको पीडामा पिल्सनुपर्यो । म रातभर त्यसपीडाले जलिरहन्थे । त्यसै पनि मेरो पढ्ने बानी थियो । त्यो पीडाले मलाई झन साहित्यीक अध्ययनतिर लगायो । त्यस पीडालाई मैले प्रतिभामा परिणत गरेँ । चारपाँच वर्षेखि पाण्डुलिपि रुपमा थन्किएको सानी छाप्न काठमाडौं आए ।
काठमाडौँ आएपछि मेरो पेटमा अचानक समस्या देखिन थाल्यो । पेट असाध्यै दुख्ने र दुखेपछि ट्याइलेट जानुपर्ने र गएपछि हातखुट्टा गलेर उभिनै नसक्ने हुने । विमारको यो लक्षणपछि विराटनगरमा डा. ज्ञानेन्द्र गिरिका चेक अप गराए । इन्डोस्कोपि गरेपछि आन्द्रा सुन्निएको र लिभरमा खराबी देखियो । एक महिनाको औषधि सेवन गरेपछि पनि विमार जस्ताको तस्तै थियो । त्यसपछि अर्को डाक्टरलाई जचाएँ । उसले पित्तथैलीमा बोसो जमेको छ र त्यो पित्तथौली काटेर फ्याक्नुपर्ने सल्लाह दिए । म फित्तथौली फ्याक्न काठमाडौँ आउन तयार भएँ । त्यसको दुइदिन अगाडि स्कुलमा निशुल्क स्वास्थ्य शिविर थियो । त्यो स्वास्थ्य शिविरमा सकीनसकी गए तर मेरो स्वास्थ्य स्थिति विग्रदै गयो. ।उभिन नसक्ने अवस्थामा भयो । त्यसपछि एकजना सर शशी श्रेष्ठज्यूको सहयोगमा घर आए ।
काठमाडौँ आएपछि डा. सरोज धिताललाई देखाए । उहाँले पित्तथैलीको बोसोले मात्र यो समस्या नहुन सक्छ एकपल्ट फिजिसियनलाई देखाउनुहोस् भनी सल्लाह दिनुभयो । धेरै मुश्किल पछि डा. सुन्दरमणि दिक्षितसँग भेट भयो । उहाँले बिहान धेरै ध्यू भएको परिकार खाएर रगत जचाउनुहोस् भन्नुभयो मैले सोही गरे । रिपोर्ट हेरेर के भन्नुभयो भने तपाईको रगतमा केही खराबी छ ध्यू र डाल्डामा बनेको परिकार नखानु होला । यति भनेर उहाँले एक महिनाको औषधि दिनुभयो । औषधि खादै जाँदा केही विशेक भएपनि हातखुट्टाका छाला लाटिएझँै भए । यो कुरा डाक्टरलाई अवगत गराउँदा औषधि खान छोड्ने सल्लाह पाएँ । त्यसपछि अर्को विकल्प अप्रेशन गर्नु नै थियो अप्रेशन डा. सरोज धितालबाट भयो । उहाँ अत्यन्त मिजासिलो र असल हुनुहन्थ्यो । यसबेला सानीले साझा बालपुरस्कार प्राप्त गरिसकेको थियो । अप्रेशनताका काठमाडौं बहिनीजुवाइ मिना र माधव बस्नेतको सहयोग तिरिनसक्नु भएर रह्यो । यति विमारी हुँदा पनि मेरो साहित्यलेखन दूवो मौलाएझैँ मौलाएको थियो । अझ स्पष्ट भन्दा जतिजति म अस्वस्थ्य हुन्थे उति साहित्य लेखन अघि लागेर हिँड्थ्यो । अप्रेशन गरेपछि चाहिँ मेरो स्वास्थ्य स्थिति अत्यन्त नाजुक भयो । म उठेर बस्न सक्दिनथेँ चियाको गिलास मुस्किलले उठाएर खान्थे । लाग्थ्यो जीवनको यो अन्तिम क्षण हो । यो अवस्थामा पनि म सानीको भाग दुईको लागि चिन्तित भइरहन्थे । घरमा सबैबाट लेख्न र पढ्न पूरै बन्देज लगाइएको थियो । धेरै अघिदेखि सानीको साहसको विषयवस्तु सोचिरहेकी थिएँ । शरीर अशक्त भएपनि मस्तिष्क क्रियाशील थियो र तर लेख्नलाई हात लाग्दैनथ्यो । मुश्किलले सानीको साहसको पहिलो खेस्रा तयार गरेँ । त्यो छोटो थियो र अहिलेको जस्तो विस्तृत थिएन । त्यो खेस्रा परशुदाइलाई हेरिदिनु होला भनेर पठाए । दाजुले त्यो खेस्रा त्यति राम्रो छैन भनेर ठाँउठाउँमा कमेन्ट गरेर पठाउनु भयो । वास्तवमा त्यो राम्रो छैन भन्ने मेरो पनि मनमा थियो ओछ्यानमा सुतेको अवस्थामा कल्पना गर्ने समय म सँग प्रशस्त थियो तर लेख्न र कम्प्युटरमा बस्न मनाही थियो अब मैले सम्पूर्ण रूपमा अहिलेको सानीको साहसको विस्तृत विषयवस्तु मस्तिष्कमा तयार गरेँ । त्यसपछि लुकीलुकी लेख्न थालेँ । लेख्दा हात दुखेर खपी नसक्नु हुन्थ्यो । आँखाबाट आँसु तररर झर्थे र हातलाई थिच्दै, मिच्दै लेख्ने गर्दथे । असह्य भएपछि लेख्न छाड्थे । मर् इश्वरलाई प्राथना गर्दथे । हे इश्वर मेरो साधना खेर नजाओस् यो कृति सबैको प्रिय बनोस् । लेखिसकेपछि म आफू सन्तुष्ट भए । मैले सानीलाई न्याय गरेजस्तो लाग्यो र परशुदाईलाई हेरिदिनु भनी पठाएँ । परशुदाईले भन्नुभयो बहिनी सारै राम्रो लेख्नु भएछ मैले सास नै नफेरी पढिसिध्याएँ । त्यो कथावस्तु लेखि सक्दानसक्दा सासू सिरियस हुनुहुन्थ्यो । मेरो सासू चौरानब्बे वर्षो हुनुहुन्थ्यो । सासू बित्नुभयो भने मैले उपन्यास पूरा गर्न सक्दिन वा विषयवस्तु बिर्सन्छु भनेर नै मैले हतार गरेकी थिएँ । सासू बित्नुभयो मेरो स्वास्थ्यमा अझ प्रतिकुल असर पार्यो । मैले ध्यू खान नहुने सासू बित्नुहुँदा ध्यू खानुपर्यो । मेरो स्वास्थ्यस्थिति झन बिग्रियो । मैले स्कुलमा छ महिनाको विदा लिएकी थिएँ । फेरि डाक्टरलाई देखाएँ । उसले इन्डोस्कोपी गर्यो स्टोम्याग (भातेभुडी) एकदमै फुलेको देखायो र एक महिनाको औषधि दियो । एक महिनासम्म औषधि खाँलाखाँदै मलाई अर्को असर के पर्यो भने भोक लागे जस्तो भइ रहने, आन्द्रा चुडिने गरी दुख्ने र चक्कर लाग्ने जस्तो त्यपछि मर्छ कि मर्छु जस्तो हुने । त्यसपछि डाक्टरको सल्लाहअनुसार त्यो औषधि खान छोडे । त्यसपछि एकदमै मुख बार्ने जस्तै - दूध, दही, ध्यू, माछा, मासु र चिल्लो चिजबिज नखाने गरेपछि स्वास्थ्य राम्रो नभए पनि सामान्य अवस्थामा चाहिँ रह्यो त्यसपछि सानीको साहस छाप्ने दायित्व छँदै थियो र घरमा आफू विमारी भएपछि तीन छोराछोरीको रेखदेख राम्ररी गर्न सकेकी थिइन् । जसो तसो व्यवहार चल्दै गयो ।
मैले साहित्यमा लागेको घरपरिवारलाई त्यति निको लागेको थिएन कसैबाट सहयोग र प्रोत्साहन पाएकी थिइन् । यसको कारण मेरो खराब स्वास्थ्य स्थिति हुन सक्थ्यो । साहित्यप्रतिको लगाव र मेरो खराब स्वास्थ्यस्थिति जुम्लयाहा भएर जन्मेका थिए मैले उपन्यास लेखिसकेको तीन महिनापछि श्रीमानलाई सानीको साहस छाप्नलाई मनाएँ । त्यसपछि काठमाडौँमा अनिल पौडेलको सहयोगमा सानी छाप्न र भूमिका लेख्न परिबन्द मिलाएँ । यस अवसरमा मित्र दिनेश पौडेलले धेरै सहयोग गर्नुभयो । वास्तवमा साहित्यले लेखनको प्रारम्भिक चरणमा मित्र दिनेश पौडेलको सहयोग अवर्णनीय छ । त्यस्तै परशुदाइको आत्मीयता र हार्दिकता र प्रेरणाले मलाई एउटा उचाइमा पुर्यायो जहाँबाट हरदम दायित्व र चुनौतिका दृश्यहरूले मलाई झकझकाइ रहन्थ्यो । वास्तवमा दाजु बहिनीको पवित्र सम्बन्धको एउटा सफल उदाहरण थियो त्यो । सानीको साहस छापिने बेलामा विभिन्न सोच्दै नसोचेका बाधा अड्चनहरू आउँथे । झण्डै यसको सबै काम मिलाएर प्रेशबाट छापिन छ महिना लाग्यो मलाई अत्यास लाग्यो सकेसम्म चाँडो होस् भन्ने चाहन्थे तर त्यो हुँदैनथ्यो जे भएपनि छापिएर आयो यसमा मैले सन्तोष मानेँ । यो पुस्तकको राम्ररी विमोचन गर्ने धोको थियो तर त्यो विभिन्न प्राविधिक कारणले पूरा हुन सकेन । किताब छापिएर आएपछि पद्नलाई केही पत्रकार र साथीहरूलाई बाँडे । उनीहरूको प्रतिक्रिया यस्तो थियो ।
'तपाईको किताब पढ्न थालेपछि मेरी छोरीले छोड्नै मानिन । भात खान बोलाउँदा पनि आइन कस्तो किताब लेख्नु भएछ - '
'तपार्इँको किताब पढेर मलाई तरक्क आँशु आयो ।
' मेरो छेाराहरूले तपार्इँको किताब रातभर बत्ति बालेर पढिसिद्धाए । ' यस्ता प्रतिक्रियाहरू धेरै आए । केही कमले चाहिँ अन्धविश्वास र रुढीगत भएकोले बालबालिकाको मस्तिष्कमा नराम्रो असर पर्न सक्छ भन्ने तर्क दिए । यस कुराको खण्डनचाहिँ मैले आफ्नो पारामा राम्ररी दिएँ ।
मेरो विद्यालयमा मैले मेरा साथीहरूलाई किताब 'किन' भन्न सकिनँ । एउटा, दुइटा पुस्तक बिक्रीसम्बन्धी नमीठो घटनापछि म कसैलाई मेरो पुस्तक किन भन्दिनँ । सित्तैमा बाट्न पनि सकिनँ । एउटी साथीकी छोरी केही ठूली भएकाीले उसलाईचाहिँ 'किन छोरीलाई काम लाग्छ' भने । उसले पनि किनी । किनेको आठदस दिनपछि स्कुलका सबै साथीहरूलाई अचम्म मान्दै भनी -'ओहो ! कति राम्रो किताब लेख्नु भएछ । मत कति ठाउँमा रोए । मेरो छोरी र मैले पढे । कस्तो अचम्मको राम्रो छ ।' त्यसपछि सबैले कञ्जुस्याई नगरी किनिदिए ।
यो पुस्तकले कुनै पुरस्कार प्राप्त गर्नुपर्छ र नेपाली बालसाहित्यमा एउटा उत्कृष्ट पुस्तक हो भन्ने मलाई लागिरहन्थ्यो । किनभने आफ्नो पुस्तकको पहिलो समालोचक लेखक आफैँ हो अरे । त्यसैले मैले यो अनुमान गरेकी थिए नभन्दै अन्तर्राष्टिय नेपाली साहित्य समाज अमेरिकाको सर्वोत्कृष्ट नारी हस्ताक्षर पुरस्कार प्राप्त गर्यो ।
मैले सानीको साहस त लेखिसकेकी थिएँ । तर आफ्नै जीवनको साहस देखाउने समय आइसकेको थियो । मलाई धेरै दायित्व र चुनौति थपिँदै गए । बालसाहित्यका छापिनुपर्ने परिमार्जन गर्नुपर्ने धेरै पुस्तक धेरै थिए । त्यस्तै पौढ साहित्यका निबन्ध, कथाहरू धेरै थिए । जागिरे जीवनले केही गर्न पाएकी थिइन्ँ । विधालय विदा पाउन मुश्किल पर्दथ्यो । वास्तवमा त्यसबेला बन्द, हडताल नहुने हो भने म केही लेख्न सक्दिनथेँ । त्यही बन्द हडतालमा प्राय म कथाहरू लेख्थे । किनभने एउटा कथा लेख्न मलाई दिनभरिको समय चाहिन्छ । फेरि दुइ छोरी काठमाडौंमा क्याम्पस पढ्दै थिए उनीहरूको पिर लाग्दथ्यो । स्कुलबाट खासै हार्दिकता र आत्मीयता पाइनँ जसले गर्दा पनि मलाई विद्यालय छोड्न गारो भएन । नत्र भने चौधवर्षजागिर खाएको ठाउँ गारै पथ्र्यो होला । काठमाडौ आउनुको अर्को विकल्प थिएन । तर आएर के गर्ने - मेरा दुइवटा रोजाई थिए- एउटा पैसा कमाउन व्यापार विजनेश गर्ने वा साहित्यमा लाग्ने र अध्ययन गर्ने । मैले दोस्रो रोजाई रोजेर पुर्णरुपले साहित्यमा समर्पित भएर किर्तीपुरमा स्नाकोत्तर पढ्न लागे नेपाली विषयलिएर ।
काठमाडौ आउनु मेरो साहसिक कार्य थियो । दाजु गोबिन्द भट्टर्राई भनिरहनुहुन्थ्यो- 'बहिनी कुन आँटले यसरी आउनु भयो -' यसको उत्तर मसग पनि थिएन । त्यस्तो ठूलो आट त मैले पाएकी थिइनँ । र्सवप्रथम त म यहाँ आउनु नै विद्रोह थियो । मेरो श्रीमान र बुबाआमाले पटक्क रुचाउनु भएको थिएन । घर व्यवहार, इष्टमित्र आफन्त भएकालाई यति सजिलो पनि नहुँदो रहेछ । तर मैले आउने चाहिँ आँट गरे । स्कुल छोड्दा केही रकम र दुइटा घडेरी बेचेर आएको थिए । म सँग लगभग पाच - छ लाख रुपैया थियो । त्यही रकमले तीनवटा पूस्तक छाप्नुपर्ने, चार छोराछोरीको लालनपालन गर्नुपर्ने, कृष्णले गोवर्धन पहाड उचाले झै महङ्गीलाई उचालेर बाच्नुपर्ने मन सारै अत्यासिन्थ्यो । सोच्थेँ साँच्चै म कुन आँटले काठमाडौँ आए ।
यहाँ आएर अरू कुरापनि सजिलो थिएन । हातमा पैसा भएपनि ग्यास थिएन, पानी थिएन । इटहरीमा सब व्यवस्थित थियो । यहाँ सबैतिर आफै दोडनुपर्ने फेरि खराब स्वास्थ्यस्थिति हरदम थकान र हैरान मात्र लाग्थ्यो । इटहरीमा हुँदा साथीहरू भन्थे 'तपाई काठमाडौ गएपछि धेरै गर्न सक्नुहुन्छ । यही हुँदा त यति धेरै गरिसक्नुभयो ।' मलाई पनि होला जस्तो लाग्थ्यो । तर अपरिचित ठाउँ, कतिकुराको मेलोमेसो नहुँदा धेरै दुःख पाएँ । यद्धपि बहिनी गीता र मिनाले मनग्गे सहयोग गरे । उनीहरू हात भइदिए, खट्टा भइदिए । म त मात्र सिंगो शरीर थिएँ । मलाई लाग्न थाल्यो म केही गर्न नसक्ने रहेछु । स्वास्थ्यस्थिति झन बिग्रियो । कैयौँ दिन विश्वविद्यालय जान्न थिएँ । मलाई लाग्यो म केही दिनको पाहुना हुँ मैले यस धर्तीमा केही राम्रा पुस्तक छोडेर जानुपर्छ जसले गर्दा बच्चादेखि वृद्धसम्मको स्पन्दनमा राज गर्न सकूँ । त्यसपछि म पाठ्यपुस्तकमा भन्दा साहित्य लेखनमा एकाग्र हुन्थेँ । 'समयको क्यानभासमा‘ त तयार गरेर भूमिकाको लागि गोबिन्ददाजुलाई बुझाइसकेकी थिएँ । मलाई कथोपन्यास ‘क्यानभासमा कोरिएका कथाहरु‘ चाहिँ चाडै सकौँ भन्ने लाग्यो र भटाभट केही कथाका सिरिज लेख्न थालेँ । अहिले तिनै कथाका सिरिजहरु विभिन्न पत्रपत्रिकामा आइरहेका छन् ।

प्रस्थानबिन्दुको अभिव्यक्ति मेरो जीवनको दैनिकी भएको थियो त्यसबेला । वास्तवमा सङ्र्घर्ष र सम्झौता जीवनको मिलनबिन्दु भएर बाँचेका छन् अहिले पनि मेरो हृदयमा ।

पुग्न पाए हुन्थ्यो

हावासँग म पनि
उड्न पाए हुन्थ्यो
माथिमाथि बादलमा
पुग्न पाए हुन्थ्यो

चड़गा उडछ सररर
 धागोलाई समाउदै
म उड्दा कसले समाउने
सोध्न पाए हुन्थ्यो

घाम हुन्छ पानी हुन्छ
 आकाशमा उड्दा
घामपानी छेकिदिने
छहारी पाए हुन्थ्यो

भोक लाग्छ थकाइ लाग्छ
धेरै माथि पुग्दा
खानेबस्ने ठाउँ पाए
कति राम्रो हुन्थ्यो

साथीभाइ सबै मिली
खेल्न पाए हुन्थ्यो
माथिमाथि आकाशलाई
छुन पाए हुन्थ्यो

मायाको परिभाषमा खोज मेरो माया

उजाड मरभूमिमा खोज मेरो माया
सुन्दर फूल बनेर फुलेको पाउनेछौ ।
त्यो फूलमा तिमीपनि मायाको अलिकति सुगन्ध छर
हावाभरि मेरो माया सुवासित भएको पाउनेछौ ।।

झरनाको कञ्चन पानीमा र्स्पर्श गर मेरो माया
मधुरो धूनसहितको निश्चलता पाउनेछौ ।
प्रकृति बनेर तिमीपनि अलिकति सौर्न्दर्य छर
त्यस सौर्न्दर्यमा आफैँलाई हराएको पाउनेछौ ।।

मायाको क्यानभासमा सादृश्य गर मेरो माया
मोनालिसाझैँ मेरो माया मुस्कुराएको पाउनेछौ ।
अलिकति मेरो मायामा तिम्रो पनि मायाको रङ्ग थप
लियोनार्दो दा भिन्ची कमजोर भएको पाउनेछौ ।।

मायाको अर्थमा परिभाषित गर मेरो माया
शब्द-शब्दमामा मेरो माया जीवित भएको पाउनेछौ ।
त्यही शब्दबाट तिमी एउटा मायाको कथा बनाऊ
मुनामदनको प्रेमकथा निरर्थक भएको पाउनेछौ ।।

मायाको तराजुमा जोख मेरो माया
रेडियमको मुल्य तुच्छ पाउनेछौ ।
मायको प्रयोगशालामा आविष्कार गर मेरो माया
म्याडम क्युरीको नामलाई विस्थापित गर्नेछौ ।।

क्लियोपेट्राको सौर्न्दर्यसँग दाँज मेरो माया
इतिहास सुन्दरीको सुन्दरता फिका पाउनेछौ ।
मेरो मायामा अलिकति तिम्रो मायाको सौर्न्दर्य छर
ताजमहलको सौर्न्दर्य औचित्यहीन ठान्नेछौ ।।

समयको मागलघुकथा


ऊ पूर्णरूपले आस्तिक थियो । एक दिन उसको भेट ठूलो नाम चलेका सन्तसँग भयो । सन्तसँगको सत्सङ्गले उसले धेरै अर्ती–उपदेश पायो । उसले सन्तबाट कहिल्यै पनि अरूको ईष्र्या, डाहा नगर्नू, असन्तुष्टि नलिनू, अरूको भलाइ छाडी क्षणिक आनन्दमा नरमाउनू, अरू कुमार्गमा लागेका छन् भने सुमार्ग देखाउनु, अरूलाई अर्ती–उपदेश दिनू, अरूका खुट्टा नतान्नू र अरूलाई सत्य कुराको अवगत गराउनू आदि शिक्षा पायो । ऊ पनि सन्तजस्तै भएर सन्तको आदेश पालना गर्न थाल्यो ।
त्यसउप्रान्त उसले कार्यालयमा कसैको हानिनोक्सानी नहोस् भनी अर्तीउपदेश दिन थाल्यो । अरूको भलाइ होस् भनी सत्य कुराको अवगत गराउन थाल्यो । उसले सबैलाई समान व्यवहार गर्न थाल्यो । आफूभन्दा मुनिका कारिन्दाको सम्मान गर्न थाल्यो । यसो गर्दै जाँदा आफूमुनिका कारिन्दासमेतले उसलाई हेप्न थाले । आफू चापलुसी, चुक्ली नगरी त्यसो गर्ने अरूहरूलाई पनि अर्तीउपदेश दिँदा ऊ छुच्चो कहलियो । असत्य कुरामा होमा हो नमिलाउँदा ऊ असामाजिक मानिसमा गनिन पुग्यो । यसरी ऊ कार्यालयमा हाकिमको समेत आँखाको कसिङ्गर बन्न पुग्यो । उसको सरुवा दुर्गम ठाउँमा भयो ।
उसलाई दिक्क लाग्यो । सन्तले देखाएको जीवनमार्गमा हिँड्दा सुखशान्ति मिल्ला भनेको झन् ठूलो आपत्ति आइप¥यो । उसले राजीनामा दियो । अनि ऊ व्यापार गर्न थाल्यो । व्यापारमा पनि उसले उदारवादी नीति र सत्यवादी नीति अपनाएको हुनाले ठूलो घाटा बेहोर्नुप¥यो । ऊ धेरै गरिब हुँदै गयो । घरमा खानलाई एक गेडो अन्नसमेत रहेन । एक दिन उसको घरमा चोर आयो । चोरले चोर्ने सामान केही नदेखेपछि उसलाई गाली ग¥यो । उसलाई चोरले यसरी गाली गरेकामा साहै चित्त दुख्यो ।
उसले चोरलाई आफ्ना विगतका कुरा सबै बतायो । चोरले उसलाई सन्तको होइन आफ्नो सत्सङ्ग गर्ने सल्लाह दियो । चोरले उसलाई आफूजस्तै बन्ने र समयको प्रवाहअनुसार आफूलाई पनि बहाउने सल्लाह दियो । चोरले यी सबै सिक्न उसैसँग जानुपर्छ भनी सल्लाह दियो । उसले पनि चोरसँग जानुसिवाय अरू विकल्प केही देखेन । किनभने घरमा समेत ऊ स्वास्नी–छोराछोरीबाट दिक्क भइसकेको थियो ।
ऊ चोरसँग केही वर्ष बिदेसियो । केही सम्पत्ति लिएर पुनः घर फर्कियो । अब उसले समाजमा बाँच्ने सबै तरिका सिकेर आएको थियो । उसले समयको माग बुझेको थियो । अब उसले मागबमोजिमकै व्यवहार गर्न थाल्यो । ऊ सबैको अगाडि आस्तिक देखिन्थ्यो । तर भित्रभित्रै समाजलाई हानि हुने जुनसुकै काम पनि गथ्र्यो । ‘मुखमा रामराम पेटमा छुरा’ हुने काम गथ्र्यो । उसले व्यापार सुरु ग¥यो । व्यापारबाट उसलाई ठूलो फाइदा भयो । ऊ केही वर्षभित्रमा नै करोडपछि व्यापारी मात्र भएन प्रतिष्ठित समाजसेवी र ठूलो धर्मात्मा कहलियो । घरमा सम्पन्नताले गर्दा होला सबै खुसी र सन्तुष्ट थिए । तर जब ऊ सन्तका कुरा सम्झन्थ्यो उसको मन कुँडिन्थ्यो अनि आत्मा तड्पिन्थ्यो । 

सानी सानी पुतली

ससानी सानी पुतली
सानो छ झोली
त्यो झोलीमा बस्ने
पुतलीको छ बोली

खोइ मेरा बाआमा
 खोई मेरा साथी
पुतलीले सोधिन् मलाई
मेरो बेहुला खोई

जुन पनि ल्याइदिउला
 तारा पनि ल्याइदिउला
मेरी पुतली तिमीलाई
राम्रो बेहुला ल्याईदिउला

सानी सानी पुतली
हुदैछिन् बेहुली
बेहुला लिन आउनेछ
राम्रो डोली लिई

सानी सानी पुतली
सानो छ झोली
बेहुला बेहुली बस्नेछन्
सधै मिलिजुली

April 5, 2010

जीवनको परिवृतमा

हतार-हतार गर्दै बाटो काट्छे । झण्डै एउटा टेम्पोले हानेको, उसले थाहा नै पाइन । जब पछाडि र फर्केर टेम्पो ड्राइभरले 'मर्लास नि !' भनेर गाली गर्यो तब मात्र ऊ झसङ्ग भई । झण्डै इहलीला नै समाप्त भएको । उसको मुटु ढुकढुक गर्यो - 'थुइक्क ˜.. आज यो बनढाडेको गाली खानुपर्यो एकाबिहानै ।' उसले मनमनै सरापी, त्यस टेम्पो ड्राइभरलाई ।
'यो हतार, यो व्यस्तता, यी पाइलाहरू पनि अलिक लामा भइदिए हुने नि ! फटका जति लामो पारु भन्छु त्यति नै छोटो भइदिन्छ । नौ-बीसमा स्कुल पुग्नु पर्यो,यही नै नौ-बीस भइसक्यो । आज पनि ढिलो भएर गाली खाइने भइयो । कहिले के भएर गाली, कहिले के भएर गाली यो जीवन नै गाली खान खाली भएजस्तो लाग्छ ।'

ऊ मनको गनथन मनमा नै पोको पारेर लम्कन्छे । धेरै कुरापछाडि छोडेर जानुछ उसलाई । अगाडि बढ्नलाई पछाडि धेरै कुरा छोड्नै पर्छ । जीवनको परिवृतमा जति अगाडि बढ्न खोज्यो उति पछाडि हुन्छे ऊ । उसको जीवन नै वृताकार छ । त्यसैले घुमिरहन्छ, घुमिरहन्छ कुनै उद्देश्य र लक्ष्यविना नै वृतको वरिपरि ।

अहिले ऊ धेरै अगाडि आइसकेकी छे । झण्डै स्कुल पुग्न पाँच मिनेटको बाटो बाँकी रहँदा उसको सेन्डिलको फिता चुडिन्छ ।
'थुइक्क !!’ आज अवासी नै अवासी लाग्ने दिन रहेछ । यो सेन्डिल पनि यही बेला फुस्कनुपर्ने । सबै सामान डुप्लिकेट ल्याएर महगोमा बेचेपछि यस्तै हुन्छ । व्यापारी न हुन, कसले नियन्त्रण गर्ने बजारको महगी र सामानको मूल्यको स्तरीयता । जति भनेर बेच्दा पनि भएको नै छ । अझ अलिक नयाँ डिजाइनको छ भने त भाउले आकाश छुन्छ । हुन त हामी उपभोक्ता नै उस्तो ।'

ऊ मनको गनथनसँग रन्थनिदै दौडन्छे । खुट्टा घिस्याउँदै मुश्किलले स्कुल पुग्छे । स्कुलमा कक्षा संचालन भइसकेको छ । सबै स्टाफ क्लासमा छन् । उसको साथी मीना चाहिँ चक लिन स्टाफ रुममा आइपुग्छे ।
'गुड मर्निङ्ग'
'गुड मनिङ्ग' ऊ र्फकाउछे ।
'तिमीलाई प्रिन्सिपल सरले सोध्दै हुनुहुन्थ्यो ।'
' हेर न आज सेण्डिलको फिता फुस्केर बाटोमा आपत पर्यो भन्या । त्यसैले ढिला भयो ।' उसले राम्रो बहाना पाई । किनभने उसको स्कुल आउन त त्यसै पनि ढिला भएकै हो नि ।
'यो प्रिन्सिपल पनि मापाको छ । कस्तो स्ट्रिक गर्छ । पहिलाको प्रिन्सिपल त सोझो थियो, कुरा पनि बुझ्थ्यो । यो त सोझै भन्छ मलाई तपाईहरूलाई गाली गर्न छुच्चो हुन नै फाउन्डरले तलब दिएको छ । कस्तो अधर्मी बूढो छ ! व्यावहारिक कुरा नै बुझ्दैन । लेडिजलाई कस्तो समस्या हुन्छ भनेर । ऊ होस्टेलमा खान्छ । केही काम गर्न पर्दैन । हामीले कति थोक भ्याउनुपर्छ । नाथे आठ हजारले काठमाडौँको ठाउँमा बाँच्नुछ । डेरामा ग्यास सकिएको छ । दुइ चार लिटर मटि्टतेल मागेर खाना बनाउँदैछु । आज सेण्डिलको फिता फुस्कियो । यो पनि घाटा नै लाग्यो । यस्तो जिन्दगी पनि के जिन्दगी यस्तो लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा त माठोमीठो खान पाउनु र राम्रो राम्रो लाउन पाउनु अनि पो जिन्दगी ।

मनभित्र धेरै कुरा उकुसमुकुस हुन्छ उसको । ऊ मन नलागी-नलागी प्रिन्सिपलको कोठामा पस्छे 'थ्याक गड बूढो रहेनछ ।' ऊ खुसी हुन्छे । हतार-हतार उपस्थिति वहीखातामा उपस्थिति जनाएर कक्षाकोठातिर हानिन्छे । चकझैँ उसको जीवन घोटिएको ठ्याक्कै सात वर्ष भयो । उसको जीवनको ब्लाकबोर्डमा धेरै कुरा लेखिदै, मेटिदै गरेका छन् । अचानक उसको कानमा गाउँको सासू कराएको आवाज आउँछ-
'ए शिवे !! तेरो दुलहीको चाला के हो ? हेर आठ बजेसम्म सुतिरहन्छे । घरमा कति काम छ, धान सुकाउनुपर्ने । चामल अस्ति ने सकिएर पैचो मागेर काम चलाइरा' छु । गहुँ घाममा सुकाउनु पर्ने कीराले सबै खाइ सके । बिउ नै मासिने भो । तिमीहरूको कुरा सुनेर खेती पनि अधियामा दिइयो । धान पनि राम्रो आउँदैन । केले घरधन्दा खेप्नु । महँगी बढेर कहाँ पुग्यो । रुपैयाँ पैसा त माटाको भाउ भए । के समय आयो यस्तो... !'

ऊ भसङ्ग हुन्छे । ऊ अहिले कक्षाकोठामा छे । अघिका सासूका संवाद ब्लाकबोर्डमा मेटिइसकेको छ । ऊ वर्तमानमा तरङ्गति हुन्छे । ऊ विगत भुल्न चाहन्छे तर पनि किन यसरी पछ्याइरहन्छ उसलाई । उसको छाती भारी भएर आउँछ । खोई खुसी, खोई रहर, खोई चाहना, खोई सन्तुष्टि ? ऊ ब्लाकबोर्डभरि यिनै शब्द मात्र कोर्न चाहन्छे । सके आफ्ना पीडाहरु लेख्न चाहन्छे । तर लेखिदैन । लेख्न खोज्यो चक नै मधुरो भइदिन्छ ।
बिद्यार्थी कराउँछन् - 'टिचर चकले केही लेखिएन ।'
'थुइक्क !! चक, चक पनि यस्तो ! चक बनाउने कम्पनी पनि चोरैचोर हुन् ।' ऊ चकलाई आक्रोश पोख्छे ।
'टिचर लेखेको बुझिएन ।' एउटा छात्र कराउँछ ।
उसलाई झनक्क रिस उठ्छ । गुरु गुरुआमाबाट मिस, मैम हुँदै अहिले टिचर शब्दमा प्रदुषित हुँदैछन् गुरु र गुरुआमाहरू, काठमाडौको प्रदुषणजस्तै । गुरु र गुरुआमा शब्दमा कति गहनता छ सम्मान छ । अब त टिचर शब्दमा सम्बोदित हुनुपर्ने । होइन ! यी आयातित शब्दहरू कहाँबाट उडेर आउँछन् फुत्तफुक्त । आधुनिकताको नाममा सबै सम्मानजनक शब्दहरू उडाइसके नेपालीहरूले कम्प्युटरमा डिलिट गरेझै अब त बुबाआमालाइृ डैडीमम्मी भन्दाभन्दै पनि फादर मदर भन्न थाल्छन् होला । वाह रे सभ्याता ! यसलाई कसले थाम्ने र रोक्ने सबैलाई आधुनिक हुनुछ ।'
'टिचर हिजोको मेरो होमवर्क कापी दिनु भएकै छैन ।' एउटा छात्रा कराउँछे ।
'ए ! ल आज टिफिन पछाडि दिन्छु है , ल यो कक्षागत कार्य गरेर देखाऊ ।'
अब ऊ कक्षाको कार्यमा स्थिर हुन्छे ।
'हिजोको होमवर्क चेक गरेको छैन्, युनिट टेष्टको प्रश्नप्रत्र तयार गर्नुपर्ने, लेशन प्लान्ट बनाउनुपर्ने, कतिखेर भ्याउनु ?' ऊ अत्तालिन्छे । बिद्यार्थीलाई कक्षागत कार्य गर्न दिएर गृहकार्यको कापी चेक गर्न थाल्छे ।
कापीभरि गाउँको सासू र लोग्नेको चित्र चित्रित हुन्छन् ।
'खान्दानकी छोरी ल्याइस् आफै मन पराएर । ढलेको लोटा उठाउँदिन । हेरौँ न सुत्केरी हुँदा कसले स्याहार्दो रहेछ ।'
उसको लोग्ने भन्दै छ - 'आमा दुर्इजीउकी हुँदा यस्तै हो काम गर्न मन लाग्दैन । सधैँ यसरी रिसाएर हुन्छ ।'
साँच्चै ऊ सुत्केरी भई । बच्चा सिजर गरेर निकाल्नु पर्यो । उसलाई स्याहार्ने कोही भएनन । माइतबाट भाउजू र भदैनी हस्पिटलमा हुँदासम्म स्याहार्न आए । त्यसपछि घर ल्याएपछि आउन मानेनन । उसलाई स्याहार्नेको नाममा गाउँकी सानीमा पर्ने आउँथिन । तिनी बच्चालाई तेल लगाइदिने , कपडा धोइदिने गर्थिन । जिउँदो मूढाजस्तो बीस दिनसम्म ओछ्यानमा लडी रही । छोरालाई दूध खुवाउन सम्म सकिन । दूध थुनिलो भयो । पीडाले सहीनसक्नु भएपछि ऊ माइत गई । छोरालाई पनि निमोनिया भइसकेको थियो । मुश्किलले आमा छोरालाई हस्पिटलमा भर्ना गराइदिएर बुवाआमाले निको पारिदिए । त्यसपछि बुवाआमाले उसलाई घर जान दिएनन । उसको लोग्नेले आमाबुवासँग अंश माग्यो । उनीहरू छुटि्टएर व्यापार गर्न थाले । व्यापारमा कसरी घाटा लाग्यो उसले थाहा पाउन सकिन । अभावले उनीहरूलाई माछालाई पाहामा पछारेझैँ पर्छानथाल्यो । अभावसँगै कलह पनि उम्रियो अनि झ्यागिन थाल्यो । त्यसपछि उसको लोग्ने विदेशिनुको विकल्प थिएन ।
उसको लोग्ने थियो र ? ऊ झसङ्ग हुन्छे । साँच्चै थियो । उसले त लोग्ने थियो भन्ने कुरा पनि बिर्सीकेकी रहिछ । आज यो गृहकार्यको कापीमा कसरी उसको लोग्नेको चित्र आयो ? थियो र त आयो उसले मन बुझाई ।
टिफिनमा उसको मिल्ने साथीले कानमा भनी 'हेर तिमीलाई सस्पेन्स गर्ने हल्ला छ रे ।' ऊ थरर काम्छे । उसको जागिर फुस्क्यो भने कसरी बाँच्ने ? त्यसै पनि नेपाली विषय पढाउने टिचरको कुनै औकात नै हुँदैन । उसले अंग्रेजी पढाउन जानेकी भएदेखि यस्ता नाथे पढाउने काम जति पनि पाउँथी तर के गर्नु नेपाली पढाउने टिचर फालाफाल हुन्छन् अनि स्कुलले पनि भाउ खोज्छ ।
ऊ आज ढिलो आएकोमा पछुतो मान्छे ।

'मीस गीता, तपाईले स्टुडेन्ट कन्टोल गर्न सक्नुभएन । '
'मीस गीता तपाई अफिस टाइममा कहिले आइपुग्नु भएन ।'
'मीस गीता तपाईले समयमा लेसन प्लान्ट बनाएर बुझाउन भएन ।'
'मीस गीता, तपाईलाई प्यारेन्टसहरूले कम्प्लेन गरेका छन् ।'
'मीस गीता, तपाईले क्रियटिभ वर्क गर्न सक्नुभएन ।'
'त्यसैले तपाईको यो महिनाको तलब रोक्का गरिएको छ ।'

ऊ छाँगोबाट खस्छे । ऊ घर आइपुग्छे । घरमा प्रिन्सिपलको तीनै शब्द कानमा गुन्जिरहन्छ । ऊ कान थुन्छे । तर पनि आवाज कहाँबाट भित्र गुन्जिरहेको हुन्छ । उसले घरको भाडा तिर्न सकेकी छैन । छोराको लागि फिस माइतमा पठाउनुपर्नेछ । केले बाँच्नु ? ऊ अत्तासिन्छे । विकल्पका बाटाहरूमा भौतारिन्छे । सहाराको लागि कोही देख्दिन । मानवसागरले भरिएको काठमाडौ खण्डहरजस्तो देख्छे । बाँच्नुको बाध्यताले उसको यौवनलाई त्यसै सुकाईसक्यो । अभाव र आवश्यकताले यौवनका सुखद अनुभूतिहरू खडेरी लागेको खेतझैँ सुकिसके । ऊ निसासिन्छे । अब सास कसरी फेर्ने ? कुनै माध्यम छ ? कुनै विकल्प छ ? जिन्दगी उसलाई भारी भएर थिच्न आइपुग्छ ।

ऊ फेरि स्कुलमा पुग्छे जीवनको भारी बोकेर । ऊ कापी काटिरहेकी हुन्छे । उसको कानमा प्रिन्सिपलका तिनै वाक्यहरु दोहोरी रहेका हुन्छन् ।
'टिचर टिचर' एउटा विद्यार्थी कराउँछ । ऊ केही सुन्दिन । फेरि छेउमा आएर जोडले कराउँछ - 'टिचर मेरो करेक्ट वर्कमा पनि कट्टा गरिदिनु भयो ।'
ऊ एक झापड हान्छे । विद्याथी रुन थाल्छ । सबै विद्यार्थी सशंकित र त्रसिद बन्छ ।
उक्त विद्यार्थीको गालामा रातो छाप बस्छ । ऊ देख्छे । त्यसपछि उसलाई आत्मलानि हुन्छ । ऊ उक्त विद्यार्थीमा आफ्नो छोराको रुप देख्छे । उसलाई माया लागेर आउँछ । एकछिन पछि डरले थरर काम्छे । 'कतै प्यारेन्टसले कम्लेन्न गर्ने हुन कि यस्ता सजायको विषयमा बारम्बार पत्रिकामा खबर आउने गरिराख्छ ।' ऊ विद्यार्थीलाई मायलुभाव राख्दै मुख धुन पठाउँछे । उसको कानमा फेरि प्रिन्सिपलको आवाज गुन्जिन थाल्छ । अहिले आवाजमा नयाँ संवाद पनि थपिएको छ ।

'मिस गीता, तपाईले विद्यार्थीलाई कडा फिजिकल पनिसमेन्ट दिनुभयो त्यसैले तपाईलाई दुर्इ महिनाको लागि सस्पेन्स गरिदै छ । '

तीजको कथा

नेपाली हिन्दूनारीहरूको महान चाड तीज यसरी आउँछ नेपालको शहरमा, शहरको के भन्नु नाम मात्रको शहरलाई गाउँघरमा तीजको रमझम यसरी सुरु हुन्छ -
सुरूमा नारी सामाजिक सँघ, सँस्थाबाट तीजको कार्यक्रम सुरु हुन्छ ।
पहिलो दिन - दर खाने
देास्रो दिन- नृत्य प्रतियोगिता
तेस्रेा दिन- नारी शक्तिकरण विषयमा वक्तृत्वकला प्रतियोगिता
चौथो दिन- रक्तदान कार्यक्रम
पाँचौ दिन- नारीहरूको अधिकारबारे कानूनी सल्लाह गोष्ठी
पाँचौ दिने कार्यक्रम मिटिङ्गबाट पारित हुन्छ ।
' तीजमा नाच्नलाई चुरा र धागो चाहिँ एउटै मिलाएर किन्नु पर्छ है साथी हो !'
' दिदी, यसपाली तपाईको रातो साडी छ भने दिनोस् है । कति एउटै साडी लगाएर माइत जानू, पूरानो डिजाइन भइसक्यो । नयाँ किन्न सकिएको पनि होइन । '
' यसपाली त हाम्रो तीज मान्नै भएन जेठाजू खस्नु भएको छ ।'
'साहुजी, तिलहरी चाहिँ चाँडै सकिदिनु है । पोते उन्न ढिला हुन्छ नि !'
' आफू त पन्ध्रदिन देखि तीजको दर खाँदाखाँदा घर भात राम्ररी खान पनि पाएको नै छैन ।'
'काकी तपाईँको त छोराको बिहे गरेको पहिलो वर्षएक सेट लुगा त सासूलाई ढोग्न दुलहीले ल्याउँछिन होला नि ।'
'तीजको लागि नयाँ नेकलेसको सेट किनी दिनुपर्छ है् हजूर । सबै दिदी बहिनी कस्ता बनिएर आँउछन् । आफ्नो त उही पुरानो बिहेको नेकलेस कति लगाउनु हाउ । '
' आ अब त सुन लगाउने जमाना पनि गयो । ग्यारेन्टीवाला किन्यो नयाँ नयाँ डिजाइनको अनि फेरिफेरि लगायो ।'
'पोहोर पशुपतिको भीड मेरो भाउजुको नेकलेस झण्डै फुस्काएर लगेनछ चोर मोराहरूले ।'
'मेरो श्रीमानको त तीजमा म माइत गए भनेघरमा बास नै हुँदैन । त्यसैले मलाई माइत जान नै मन लाग्दैन ।'
'भाउजू तपार्इँको माइतबाट लिन को आउँछन् -'
'आफ्नो त भएको एउटा दाजू पनि विदेशमा हुनुहुन्छ अरु को आउथे र -'
' म माइत गएको बेला टिल्ल खाएर मातेर घर आउने चाहिँ होइन नि बुझ्यिस्यो थाहा छ कि - '
तीज आयो कि मेरो बूढाको त मुख नै अँध्यारो हुन्छ । तिम्रो तीजले मेरो वर्षदिनको बजेट नै डामाडोल हुन्छ भन्नुहुन्छ । '
'रमिला भाउजूले तीजमा लाउन पाँच हजारको साडी किनेकी छिन रे ।'
' साडी मात्र के कुरा गछ्यौ- साडीलाई सुहाउने अरु गरगहना त केके हो केके । '
'कमाइ हुने श्रीमानले त किनी दिन्छन् नि । आफ्नो त के गर्नु चाडबाड पनि नआए हुन्थ्येा जस्तो लाग्छ । आफूलाई किन्यो छोराछोरी नाङ्गै हुन्छन् भने जस्तो लुगा नै हुँदैन । छोराछोरीको मुख हेर्यो आफ्नो रहर नाङ्गै ।
' आफ्नो त माइत पनि यति टाढा छ मेची र महाकाली छ कसरी तीजमा जानु नि बन्द र चक्काजामले हैरान पार्छ ।'
'होइन यो दर खाने दिन चाहिं किन विदा नदिएको होला सरकारले । दर नखाई कसरी भोकै बस्न सकिन्छ व्रत ।'
'पहिला पहिला यही शरीर हो दिनभरी पानी सम्म नखाई व्रत लिइन्थ्यो । अहिले त साह्रै हम्मे पर्छ बा । उमेरले डाँडाँ काटेर पो हो कि । '
' कहाँ उमेरले मात्र हुन्थ्यो - अहिले खाना पिनामा हेनोर्सन कस्तो मिसावट छ । चोखो र शुद्ध केही खान पाइदैन । '
' हो त दिनभर केही नखाइ त बस्न नै सक्दिन बा । हल्का जूस र फलफूल खाइनँ भने भुतुक्कै हुन्छु बा ।

'को नखाइ भनेको छ कोल्डडि्रङ्कस त खान भइ हाल्छ नि । ' पानी पो खान हुदैन नि !'
' म पनि हल्का जूस र फलफूल खान्छु तर अरूलाई चाहिँ ढाँटेर खादिनँ भन्छु अहिलेको जमानामा पनि को भोकै बस्छ । के गर्नु खान्छु भन्यो भने खिल्ली उडाउँछन् । उनीहरू पनि खाँदा होलान् नि ।'
'पुरुषहरू हाम्रो नाममा व्रत लिएर भोकै बस्छन् र - म त टन्न खान्छु । मेरो श्रीमानले मलाई कति माया गर्नुहुन्छ । तीजमा भोकै बस्नै दिनुहुन्न । तिमीलाई ग्याष्टिकले सारो पार्छ भन्नु हुन्छ ।'
'लोग्नेको आयू बढ्छ । शिवजीको आराधना गरेर भोकै बसेर व्रत लियो भने तर अहिलेको आइमाइहरू कस्ता खरा कुरा गर्छन् हाम्रो जस्तो समय हो र -'
'अनि पति नहुनेले चाहि किन व्रत लिएका त -'
'उनीहरूले शिवजीलाई खुसी पार्न लिएका नि । श्रीमानको परलोक पनि सुखमय होस भनेर रे ।'
'ए लोग्ने मान्छेले हाम्रो यही जुनीलाई नर्क बनाएर मोजमस्ती गर्दै हिँडछन् अनि हामीचाहिँ उनीहरूको परलोक पनि र्स्वर्गै होस् भनेर व्रतलिने ।'
' भो । भो । यो व्रत पूजापाठको जमाना गयो । अब समानताको जमाना आएको छ ।'
' यो नारी पुरुष समान भन्ने कुरा, कुरा मात्र होला व्यवहार मा त खोई ।'
'ब्यवहारमा ल्याउने हो भने तीज मान्नै हुँदैन नि '
'तीज मानिएन भने हाम्रो दिदी बहिनीको भेटघाट चाहिँ कहिले हुने नि । अनि मीठो खाने राम्रो लाउने कहिले नि !'
' खै यस्ता कुरा गर्दै गयो टाउको दुख्छ बरु केही नसेाच्यो लोग्नेले कमाएर ल्याएकै छन् । उनीलाई पनि कमाउन छोराछोरी पढाउन कति धौ धौ छ । मीठो खायो । खुसी भन्यो रमायो आनन्दले बस्यो ।'
'यी जाड्याहा लोग्नेले कहाँ पाल्छन् र दुइचार पैसा कमाउन थाल्यो कि वियर र सेकुवामा सक्छन् । अनि तरुनीलाई खुवाएर सक्छन् । हैन तरुनी भनेपछि चाहिँ कति मरेहत्ते हालेको यी लोग्नेमान्छेहरू, झन तीजको बेला तँ मीठो खान्छस् म चाहिँ खानु रमाइलो गर्न नपाउनु भनेर निहुँ खोज्नु पो थाल्छन् ए गाँठे ! '
' ए दिदी तपाईँका तीजका चुरा धागो र व्लाउजको सेट मिल्यो - '
' सुशीलाका जेठानी देउरानी त देखासिकी गरेर लाउँछन् । को भन्दा को कम भएर '
' गायत्रीको अगाडि त कसैले राम्रो साडी र गहना लगाउनै हुँदैन मुख लेपारीहाल्छे बई । '
'हैन अहिले घरमा हो कि कहाँ - गीत बजिरहेछ त -'
'हैन डार्लिङ घरमा नै हो यो हल्ला त टिभीको हो - '
' टिभी बन्द गर्दा हुदैन त - कि रेष्टुरेन्टमा हो - '
'हृोइन, होइन तिमीलाई किन ढाटनु -
'अनि भुजा खाइस्यो । फ्रिजमा चिकेन रोष्ट राखिदिएछु नि ! '
' ए ! त्येा खाइसकेर टिभी हेर्दैछु । तिमी चिन्ता नगर न तीज राम्ररी मानेर आउ ।'
' चाडै मन्दिरमा दर्शन गरेर कार्यक्रममा नाच्नु पुग्नु पर्छ है ।'
'पोहोरको भन्दा राम्रो नाच्नु पर्छ नि !'
'ए ! केटा हो मन्दिर जाने होइन क्या च्वाक केटीहरू आउँछन् । साइड मार्न मजा आउँछ ।'
'यी तरुनीहरू पनि किन भाङ धतुरो खाने शिवजीको मन्दिर धाएका होलान् । हामी सद्धे केटाहरू हुँदाहुँदै ।'
'ए यार ! पोहोर त एउटी क्या च्वाक सँग साइड मारेथे । के गर्नु बोल्ने मौका नै परेन । अप्सरा जस्तै थिई ।'
' त्यो केटीलाई शिवजीले जोगाएछ् त जस्तो मरनाच्यासे सँग त फसिनछे ।'
'ओई नकरा ! कति जना भुतुक्क हुन्छन् तलाईँ के थाहा आफू छस् पशुपतिको बाँदर जस्तो अनि अरूलाइ पनि त्यस्तै देख्छस् ।'
' यो तीजमा त बाटाघाटा मन्दिर, बजार चारैतिर रातै हुन्छ । मलाई त यो रातो रङ्गदेखि एलर्जी हुन्छ ।
' ए ! यो साले कस्तो कुरा गर्छ रातो रङ्गमा एलर्जी हुन्छ रे । त्यही रातो रङ्गमा कत्रो शक्ति छ । 'भैगो छोडदे यो हिजडा जस्तो कुरा गर्छ । मलाई चाहि' तीजमा दिदी लिन जान एलर्जी हुन्छ । दिदीकी सासूले नानाथरी गफ गरेर क्या वोर गर्छिन । लिन नजाऊ भएन । पोहोर त उनको आफन्तको एउटी छोरीसँग कुरा मिलाउन ठिक्क परेकी थिइन् ।'
' जे होस् तीजको बहानामा हाम्रो घरमा चाहिँ मीठामीठा खानेकुरा पाक्छन् ।'
'के गर्नु तीजमा आफू माइत गइन्छ । छेारा छोरी र श्रीमानको चाहिँ विदा हुँदैन घरमा हेरिदिने कोही हुदैनन् ।
' ए हजूर बेलुका आउदा छेाराछोरी लिएर माइत आइसक्यो है । मैले नानीहरूका फेरफार गर्ने कपडा बोकेर गएकी छु ।'
' यो तीजमा कहिले चेलीबेटीलाई खुसी पार्न सकिएन बा । जस्तो राम्रो साडी किनिदियो मुख खुम्चाउँछन् । हामीले बाउको सम्पत्ति खाएको रिस गर्छन । '
'आफ्नो त दाजूभाइ पनि कोही छैनन । तीजमा माइत जान रहर लागेर उधूम हुन्छ कहाँ
जानू र ।'
ए तरुनीवरुनी हो नाच है हामी ताली मार्र्छौ हाम्रा नाच्ने दिन गै गए ।
तयार छौ हैन ,
भगवानको भजन पो गाउनुपर्छ त योफिलीमसिलीमको गीतमा के नाचेका होलान् ।
मादल बजाउने तयार छौ हैन

ल ल सुरु गर ... ..तीजको लहर आयो बरी लै ........

लोग्ने र लात्ती

उसको श्रीमान् आज पनि टन्न सोमरस पिएर आउँछ । बाटैदेखि हल्ला गर्दै आउँछ । "ढोका खोल पुन्टेकी आमा, ढाका खोल...." गायक हुँदै घरको नायक हुन पुग्दछ ।
"जा भात पस्की †" स्वास्नीको छेउमा आएर कराउँछ । स्वास्नी पनि रौद्ररस पिउँछे Ð"आज पनि रक्सी धोकेर आयौ, हैन.... - हातमा पैसा पर्न हुन्न घरमा कति थोकको आवश्यकता छ । यस्ता हुतिहाराको स्वास्नी हुनु भन्दा त मर्नु निको †" पत्रिका पढ्दै पड्किन्छे ।
"मलाई धेरै रिस नउठा, तेरो मुख देख्नैबित्तिकै मलाई के भएर आउँछ कुन्नि खुत्रुक्कै घुचुक्कमा हानेर मारिदिउ जस्तो लाग्छ । जान्छेस् कि मारिदिऊ“ - "
यस्ता जुम्रा मार्नै नसक्नेले स्वास्नी मार्छन् - मरेको बिरालो बोक्ने हिम्मत छैन † "
"धेरै कराउँछेस् एक लात्ती दिएँ भने थाहा पाउँलिस् ।" उ लात्ती उज्याउँछ ।
"हो, यसरी पत्याउने कुरा पो गर्नुपर्छ त † नेताहरूले जस्तो नपत्याउने कुरा गरेर हुन्छ कही“ -" Ð स्वास्नी जुरुक्क उठेर भात पस्कन जान्छे ।

भ्रामक सत्य

चिया उद्योगका कर्मचारीले गरेको हडताल झन्डै दुई हप्ता भइसक्यो । मेरो चिन्ताको तापक्रम बढेको बढ्यै छ । न सम्झौता हुन सक्यो न त सहमतिमा नै पुगियो । सब बर्बाद छ । चियाको पत्ता बढेर कामै नलाग्ने भइसक्यो । न वार्ता नै सफल हुन सक्या छ । यी मु....हरू ले गर्नसम्म गरे , न आफू गरेर खान्छन् न अरूलाई गर्न दिन्छन् । म क्रोधित हुन्छु आफैँसँग के गरौँ - स्वास्नी , छोराछोरी माया मारेर विदेश बसेर ल्याएको सम्पत्ति सबै चिया खेतीमा लगाइयो । अहिले कमाइ खानेबेलामा यो हविगत भयो । कतै काठमाडौमा बसेर पनि टाढाको फल सजिलै खान पाइँदो रहेछ त - यो भन्दा त बरु घरघडेरीमा लगाएको भए दिनको दुना रातको चौगुना बढिसक्थ्यो , के बुद्धि आएछ ... शनि नै बसेछ क्यार ग्रहमा त्यसबेला आफैसँग रुष्ट हुन्छु , आफ्नो गलत प्रक्रियाबाट । आँ.. जे हुनु भइहाल्यो अब चिन्ता लिएर के फाइदा... चिन्तित आत्मालाई सान्त्वानाको लेपन लगाउन पुग्दछु । सबै लागेका छन् - मानवअधिकार , नागरिक समाज, हेरौँ दूईचार दिन केही भइहाल्छ कि अनि जाउँला पूर्वतिर ।

ओहो !.. बहिनी जुवाइका सामानहरू मिलाई दिनुछ । उनीहरू अमेरिकातिर लागे , अफिसले पठाएपछि जानैपर्यो । जुवाईलाई त जान मन थिएन, तर के गर्नु जागिर न हो । सञ्चार माध्यममा काम गरेर कमाएका विश्वासले जान पाएका छन् । नत्र जो कोहीलाई कहाँ पठाउँथे अमेरिकामा इन्चार्ज बनाएर । अमेरिकाबाट उनीहरूको पत्रिका 'द एभरेस्ट' प्रकाशित हुने भन्नेबित्तिकै जाने मान्छेका ताँती थिए रे । तर जुवाइलाई नै पठाएछन् एमडीले यो उहा“ले कमाएको विश्वासको ठूलो पुरस्कार हो ।

गैरसरकारी संस्थाको जागिर अफिस नै कोल्याप्स भएपछि केको जागिर । रिटायर्ड जीवन सरह दिन बिताउनु परेको छ.. यस्तै सुसेधन्दा गरेर के गर्नु.. ती तलबका मूठा यी दिनमा कहाँ हराए कहाँ.. आफैलाई थाहा छैन । गर्नसम्म गरे यी माउवादी र चल्लावादीहरूले । देश मात्र डुबाएका हुन् र हजारौँ जनताको खाने गाँस , बास, कपास नै उडाए - हावामा बेलुन उडाएझैँ ।

मेरो सुसेधन्दामा सहायकको भूमिका निभाउन आइपुग्छे - मेरी श्रीमती । दुवैजना भएर बहिनीजुवाइका सामान मिलाउन थाल्छौँ । सबै सामान छोडेर गएकी छे, मेरी एकलौटी बहिनी । त्यसैले उसको सामानको राम्रो हेरविचार गरिदिनु मेरो परम कर्तव्यमात्र हैन धर्म पनि हो ।

ओहो †.. सामानमा त मेरो चिया फ्याक्टीमा उत्पादन भएको चियाको प्याकेट पो रहेछ । जहाँसम्म मलाई थाहा छ यो रजिर्स्र्टड नम्बर भएको चिया मैले कसैलाई उपहार दिएको थिएँ । तर कसरी आइपुग्यो मेरी बहिनीकोमा † म अनुसन्धान कार्यमा लाग्छु र श्रीमतीलाई सोध्छु- "तिमीले यो चियाको प्याकेट शारदालाई दिएकी थियौ -"

उनले भनिन् -" हैन मैले दिएकी छैन यो बिना दूधमा खाने चिया नानीलाई मन पर्दैन । नानीहरू कडा रङमा खाने चिया मन पराउनुहुन्छ । "

श्रीमतीको उत्तरले मेरो आशङ्का र कौतूहलतालाई अझै गहिरो बनाउँदै लान्छ । मेरो सोचाईले भ्यागुते उफ्राई उफ्राई विभिन्न शङ्का र आशङ्काका डाँडा नाघ्न पुग्दछ । तर सही निष्कर्षजन्माउन सक्दैन । अनभिज्ञताको प्रसवपीडाले छटपटाउँछु । म दिनभर झोक्राइरहन्छु । कसरी त्यो चियाको प्याकेट बहिनीजुवाइकोमा पुग्यो । दिनभर जसो दिमागलाई जागिरे बनाएर खोजतलासमा लगाइरहेँ ।

साँझ पर्यो । बेलुका खाने समयमा डाइनिङ टेबुलको अगाडि उही चियाको प्याकेट हाँसिरहेकोथ्यो । अचम्म ! यसरी निर्जिव वस्तु पनि कतै हाँस्छ । तर होइन यो त हाँसिरहेछ । बेलुका हल्का डिङ्क्स गर्ने आदत छ । हिस्कीसँगै त्यो चियाको प्याकेटको इतिहास पनि निल्न पाए हुने ऊ कसरी यहाँ आइपुग्यो भनेर तर यसले भन्न सक्दैनन । यसको असली हकदार बहिनीजुवाइ अमेरिका पुगिसकेका पनि छैनन् । अब कसो गरूँ... इतिहासको खोजीमा अलिक बढी नै पिइएछ क्यार... । मस्तिष्क र आँखाको सामञ्जस्यता मिलिरहेको छैन । म विगतको इतिहास पिउन थाल्छु , म भ्रामक सत्य भित्र रुमलिन पुग्दछु ।

"हाकिम साहेब, यो चिया उपहार हजुरलाई टक्राऊँ कि..?" म भन्दै थिएँ ।
"होइन पर्दैन, यस्तो चियासिया, तपाईँ दुःख नगर्नुहोस् त्यसै.. हुन्छ , नि । किन दुःख गर्नु हुन्छ । " हाकिम भन्दै थिए ।
"होइन ऋण अफिसले दिने , अफिसले असुल्ने हो अनि हजुरहरू यति टाढाबाट आएर हाम्रो सेवा गरिदिनु भएको छ । यसो घरमा खानलाई यो केमिकल नहालेको चिया राम्रो हुन्छ सर ।" म भन्दै थिएँ ।
"हुन्छ नि, दिनुहुन्छ भने भैगो । "

कुन बेलामा टीभी हेर्न कोठामा आइपुगेँ , मलाई थाहा छैन । टीभीमा उही चिया नाचिरहेछ । उपहार चियाको एडले मलाई फेरि उही चियाको प्याकेटमा हराउन बाध्य बनाउ“छ । मेरो अर्धचेतन मनलाई आफ्नो कलात्मक अभिव्यक्तिले लट्ठ्याउन सफल हुन्छ उक्त चियाको प्याकेट ।

ऊ नाच्तै मेरो छेउ आइपुग्छ । म झस्कन्छु । म बोल्दैछु -"हैन तँलाई मैले एउटा हाकिमको साथ लगाएर पठाएको हैन त फेरि कसरी मकहाँ आइपुगिस् -"
ऊ रुन्चे स्वर पारेर भन्दै छ - " मालिक, हजुरले मलाई त्यो हाकिमको साथमा पठाउँदा मेरो मन कति रोएको थियो । त्यससमय म बेचिएको थिएँ । मेरो अस्तित्व बेचिएको थियो । लाखौँ नेपाली चेलीबेटीको अस्तित्व बेचिएझैँ ।"उसको प्रत्येक वाक्यले मलाई लाग्दैथ्यो पक्कै यो हजारौ नेपाली चेलीबेटीका आवाज हुन् ।
"हजुरलाई थाहा छ छैन हामी भनेको उपभोग्य वस्तु हौँ । उपभोग्य बस्तुलार्इर् उपभोक्ताले मात्र सही सदुपयोग गर्न जानेका हुन्छन् । किनभने त्यसको लागि उसले पसिना बगाएर कमाएको सम्पत्ति लगाएको हुन्छ । अनि आफ्नो पैसा एकएक गरी असुल्छ । उपभोक्ता र हामीबीच नङ मासुको सम्बन्ध हुन्छ । तर हजुरले मलाई उपहारको रूपमा कसैको हातमा सुम्पनुभयो । तर ऊ मेरो असली उपभोक्ता हुन सकेन त्यसैले मेरो महत्व उसले बुझ्न सकेन । म लाचार भएर उसको घरमा मूल्यहीन र अर्थहीन भएर बस्न बाध्य भए ।

"अनि के भयो त , त्यसपछि , उनीहरूले उपभोग गरेनन् तँलाई -"- म केही चर्को स्वरमा भन्दै छु ।
"गरेनन् हजुर.. , गरेको भए म यहाँ हजुरकोमा कसरी आइपुग्थे - "
"त्यसपछि के भयो लौ बता.. म जान्न साह्रै इच्छुक छु । "
"म दराजमा बन्द भएर बसेको धेरै समयपछि एकदिन हाकिमकी स्वास्नीको स्वर सुने, ' ए हजुर.. यो चियाको प्याकेट पल्लोघरको डाक्टरलाई दिऊ है , उसले कस्तो सहयोग गर्छ , रात बिरात बच्चाहरू बिमारी हुँदा पनि आएर हेरिदिन्छ । केही दिनु पर्छ नत्र लाज हुन्छ । यसरी फोकटमा आएको चीज हो । त्यसै बसेको छ दिऊ है ।'
"देऊ न त , आखिर काम लाग्ने मानिस हो । दिँदा पनि यसको महत्व बढ्छ ।" यसरी म एकठाउँबाट अर्को ठाउँमा बेचिएँ। म लाचार र विवश थिएँ । म मृतआत्मा लिएर बाँच्न बाध्य थिएँ ।"
"त्यसपछि के भयो भन न त ।"
"त्यसपछि डाक्टरको घरमा पनि म निकै दिन बसे किचनको कपबोर्डमा । त्यहाँ पनि कसैले मेरो सदुपयोग गरेनन् । डाक्टर कफी पिउथ्यो । अरू कडा रङ्गको चिया खान्थे । म त्यसै उनीहरूको रमिता हेरेर बस्न बाध्य थिएँ । एकदिन कानमा डाक्टरले मेरो नाउ लिएको आवाज आयो ।
ऊ भन्दै थियो - "सुन ओ डार्लिङ्ग यो चियाको प्याकेट छ नि त्यसै पडिरहेछ । यसलाई कतै तह लाऊ है । "
"कहाँ तह लाउने हो भनि हाल्नुस् न । "
"कहाँ तह लाउने नि उही त हो । जहाँबाट सब काम कुरा हुन्छ । अहिले टेनिङ् को हल्ला चलिरहेछ , कतै विदेश जानेमा आफ्नै नाम परिहल्छ कि भनेर काठमाडौ जाँदै छु । उही उपसचिव कहाँ पुर्याउनुपर्यो । श्रद्धा पनि बढ्छ । काम पनि भइहाल्छ । "
"हुन्छ , लगिहाल्नुस् न त यसको यहाँ के काम छ । "
यसरी म फेरि डाक्टरकोबाट उपसचिवको घरमा भित्रिए ।
"अनि त्यसपछि के भो - "
म धङधङतीमा नै सोध्दै छु ।

"त्यसपछि म त्यहाँ पनि धेरैदिनसम्म बसेँ । एकदिन उपसचिवकी श्रीमतीले मेरो नाम पुर्कादै थिइन् - " ए हजुर सुनिस्योस, यो चियाको प्याकेट छ नि त्यो मिडियाको मान्छेलाई दिऊ है । उसले मेरो धेरै काम गरिदिएको छ । हामी यहाँ कोही खाँदैनौँ फिका चिया, उनीहरू फिका चिया नै खान्छन् । "

उपसचिवकी श्रीमती लेखिका थिइन् । उनको लेखहरू पत्रिका छापिरहन्थ्यो । त्यसैले मिडियाको मान्छे भनेको हजुरको बहिनीजुवाइलाई दिने भनेर भनेका थिए । उपसचिवले पनि सजिलै हुन्छ भनिदियो । त्यसपछि म फेरि मिडियाको घरमा पुगेँ । यसपल्टचाहिँ मलाई खुसी लागेको थियो उनीहरू फिका चिया नै मन पराउँछन् भनेको सुनेर । तर चाँडै नै मेरो खुसीमा चट्याङ्ग पर्यो किनभने उनीहरू चाँडै नै अमेरिका जाने कुरा गर्दै थिए । उनीहरू अमेरिका जाँदा कतै मलाई कन्टेनरमा मिल्काएर जान्छन् कि भन्ने मलाई ठूलो चिन्ता थियो । तर भाग्यबश हजुरका बहिनीजुवाइ रहेछन् र मलाई सही ठाउँमा ल्याइ पुर्याइए । अब मलाई खुसी लागेको छ ।..हजुरसँग म एउटा बिन्ती चढाउँछु...अब हजुरले कहिल्यै यस्तो उपहार दिनु हुने छैन , जुन उपहार , उपहारको लागि उपहार होस् उपहारको पनि सही अर्थ लागोस् र यसको सही सदुपयोग होस् । "

यति भन्दै ऊ रुन थाल्यो । उसको रुवाइ देखेर मेरो मन विचलित भयो वास्तवमा चियाको कहानी सुनेपछि एकछिन म स्तब्ध भएँ । अब कहिल्यै कसैलाई त्यस्तो उपहार टक्रयाउदिनँ जुन उपहार उपहारको लागि उपहार हुनेछ भनेर कसम पनि खाएँ ।
यत्तिकैमा छोराले झकझकायो, मेरो तन्द्रा टुटछ । ऊ भन्दै थियो "बुबा, बुबा टीभीमा भन्दै छ भोलिदेखि चिया फ्याक्टीमा काम शुरु हुन्छ रे हडताल फिर्ता लिए रे । "
'हो' म झस्केँ । अब मेरो चिया प्याकेट जस्ता हजारौँ चियाका प्याकेटहरू मेरो चेतन अवस्थामा सही उपभोग हुन पाउने भए भनेर रमाउने छन् । मेरो मन रुवा जस्तो हलुङ्गो भयो ।

बालसाहित्यकार विजयराज आचार्यको व्यक्तित्व र कृतित्व

बालसाहित्यको छोटो परिचय -
विद्यालयको पाठ्यक्रमलाई आधार नमानी स्वतन्त्रतापूर्वक लेखिएको बालमस्तिष्कलाई रुचिकर हुने सरल, सुलभ भाषाका साहित्यलाई बालसाहित्य भनिन्छ । बालसाहित्य बालकको उमेर, अवस्था परिवेशलाई ध्यानमा राखी उनीहरूको बालमनोविज्ञानलाई नजिकबाट अवलोकन गरी लेखिन्छ । नेपालमा बालसाहित्यको इतिहास त्यति लामो छैन । गाउघरमा काम गर्दै, अँगेनीको डिलमा केटाकेटीलाई राखेर आगो ताप्दै लोककथाहरू सुनाउने चलनसँगै बालसाहित्यको विकास भएको हो । दुई दशक अघिसम्म नेपाली बालसाहित्यमा यथेष्ट विकास नभएको अवस्थामा अहिले यो क्षेत्र फराकिलो हुँदै गएको छ । नेपाली बालसाहित्यको विकासको कुरा गर्दा पाठ्य बालसाहित्यको आधारभूमि पहिल्याउनुपर्ने हुन्छ । नेपालमा पहिलो पाठ्य बालसाहित्य लेख्ने श्रेय गङ्गाधर द्रविडलाई छ । उनले गोरखा पैह्ला किताब (प्रथम भाग) वि.सं. १९४९ मा निकालेका थिए । यस पश्चात विभिन्न लेखकबाट पाठ्यबालपुस्तक प्रकाशित भएको पाइन्छ । बालबालिकालाई औपचारिक रूपमा शिक्षा दिनका लागि राणा–प्रधानमन्त्री देव शमशेरले वि.सं. १९५८ मा पहिलोपल्ट विद्यालयको स्थापना गरेपश्चात नेपाली भाषामा पाठ्यसामाग्रीको आवश्यकता महसुस गरियो र यस कार्यलाई जयपृथ्वीबहादुरको योगदानलाई महत्वपूर्ण मानिन्छ । वि.सं. १९७० मा गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना भएपछि बालपाठ्यसामाग्रीको लेखन र प्रकाशनमा संस्थागत प्रयासको थालनी भएको देखिन्छ । यस संस्थामा बसी राममणि आ.दी., चक्रपाणि चालिसे, लेखनाथ पौड्याल, रुद्रराज पाण्डे, बदरीनाथ भट्टराई आदिले बालउपयोगी पुस्तकहरू प्रकाशित गरेका छन् । बालपाठ्य पुस्तकको विकाशक्रममा नेपाल बाहिर दार्जिलिङ्गमा पनि उल्लेखनीय कार्य भएको देखिन्छ । बालपाठ्यसाहित्यको पृष्ठभूमिमा बालसाहित्यको प्रथम मौलिक पुस्तक लक्ष्मीप्रसाद देवकोटाको वि.सं. १९९७ मा प्रकाशित बालखण्डकाव्य राजकुमार र प्रभाकरलाई लिन सकिन्छ । यस क्षेत्रको अध्ययन, अनुसन्धानको कमीले कैयौ“ कृतिहरूको लेखकको नाम र मिति उल्लेख नभएको अवस्थामा छ । यस क्षेत्रमा गहन अनुसन्धानको खा“चो देखिएको छ । प्रधान प्रमोद (नेपाल वालवाङ्मय परिचयकोश–२०६४)

विषय प्रवेश -
नेपाली बालसाहित्यले विभिन्न चरण र मोडहरू पार गर्दै आधुनिक बालसाहित्यको यो अवस्थामा आइपुगेको छ । बालसाहित्यका विभिन्न अप्ठ्यारा पक्षलाई पार गर्दै आधुनिक बालसाहित्यले नयाँ विकास मार्ग कोरेको हो । बालसाहित्यमा उत्कृष्ट बालसाहित्यको अभाव, प्रकाशनका अप्ठ्यारा पक्ष र अनुदित पुस्तकको अभावलाई चुनौतिको रूपमा स्वीकार्दै यस क्षेत्रमा तन, मन, धनका साथ लागि परेका बालसाहित्यकार विजयराज आचार्यको व्यक्तित्व र कृतित्वको यहाँ छोटो चर्चा गरिएको छ । युवा बालसाहित्यकार विजयराज आचार्य (२०३३) यस क्षेत्रका विभिन्न विद्यामा हस्ताक्षर र क्रियाशील व्यक्तित्व हुन् । छोटो समयमा उनले यस क्षेत्रमा गरेको कार्य उल्लेखनीय र प्रशंसनीय छ । यसलाई उनको जीवनीको आधारमा सडकसडकमा पत्रिका बेच्दै हिँड्ने केटोको लगनशीलता, परिश्रम र प्रतिभाले दिएको सफलताको ठूलो खुड्किलो मान्नुपर्दछ । उनको जीवनी नै बालबालिकाका लागि प्रेरणादायी र उदाहरणीय बनेको छ । उनको सफलताको अर्को एउटा खुड्किलो हो– विवेक सिर्जनशील प्रकाशन । उनले आफ्नै लगानीमा खोलेका विवेक सिर्जनशील प्रकाशनबाट धेरैवटा पुस्तक प्रकाशित गरी नेपाली बालसाहित्यमा एउटा सेतुको काम गरेका छन् । उनी अन्य लेखकको मात्र नभई आफैं लेखक भई नेपाली बालसाहित्यमा भएको अभावको खडेरीलाई केही मात्रामा भए पनि सिचाई गर्ने काम गर्दै आएका छन् । उनले बालसाहित्यको विभिन्न विद्यामा कलम मात्र नचलाई प्रकाशनको सुव्यवस्थित वितरकको भूमिका पनि सकुशल निर्वाह गर्दै आएका छन् । बालबालिकाका लागि ठूल–ठूला खोक्रो भाषण र पा“च तारे होटलमा सेमिनार गरेर नअघाउने नेपालको राजनैतिक र सामाजिक परिवेशीय वातावरणमा उनको यो कार्यले चुनौति दिएको महसुस गर्न सकिन्छ । सर्वप्रथम यहाँ उनको सिर्जनाका विश्लेषणात्मक व्याख्या गरिएको छ । उनका सिर्जना मौलिक र अनुदित दुई प्रकारमा बा“ड्न सकिन्छ । उनका प्रकाशित मौलिक रचना झण्डै एक दर्जन रहेको छ भने प्रकाशित अनुदित रचना डेढ दर्जन रहेको छ । त्यस्तै मौलिक र अनुदित गरी उनका प्रकाशोन्मुख रचना करीब डेढ दर्जन रहेको छ । यसबाट उनको बालसाहित्यप्रति कटिबद्धता र क्रियाशीलता छर्लङ्ग भएको महसुस गर्न सकिन्छ । उनका कृतिहरू विशेष गरी आख्यान विद्यामा आधारित देखिन्छ । आख्यान विधाअन्तर्गत नै उनको बालउपन्यास, बालकथा, बालनाटक, जीवनी र अन्तवार्ता रहेको छ । उनले ‘चौध चम्किला कोपिलामा’ उत्कृष्ट बालसाहित्य पुरस्कार २०६० प्राप्त गर्न सफल भएका छन् ।

उनका प्रकाशित कृति विधाका आधारमा तीनवटा बालउपन्यास रहेको छ भने तीन वटा नै जीवनीपरक सचित्र बालकथा रहेको छ । त्यस्तै सचित्र बालनाटक, बालअन्र्तवार्ता, बालकथासङ्ग्रह र सचित्र बालकथाको एक एकवटा कृति प्रकाशित भइसकेका छन् । उनको यहाँ विधागत आधारमा प्रकाशित कृतिको छोटो समिक्षा गरिएको छ ।

बालउपन्यासको विधागत परिचय– बालबालिकाहरूलाई साहित्यमार्फत् मनोरञ्जन, रोचकता र वौद्धिकता प्रदान गर्ने प्रमुख विधा उपन्यास हो । उपन्यासबाट उनीहरू भाषा, व्याकरण, नयाँ कुराको जानकारी, कल्पना, तिलस्मी र जादुका कुराहरू आदि थाहा पाउन सक्छन् । धेरै अघि उपन्यासलाई लोककथा, परिकथा, जादुका कथाबाट आकर्षित र रुचीकार पार्ने गरिन्थ्यो । अहिले आएर उपन्यासमा मनोवैज्ञानिक, सामाजिक विषयवस्तुमा बढी लेखिन थालिएको छ । अहिले नेपाली बालउपन्यासमा विदेशी साहित्यमाझै“ पात्रहरूलाई धारावाहिक उपन्यासमार्फत जीवन्त पार्ने चलन चलेको पाइन्छ । बालउपन्यास लेख्दा बालभावनाअनुरूप विषयवस्तु चयन, भाषाशैलीस्तर हेरि लेखिनुपर्दछ । बालउपन्यास, दर्शन, राजनीति उपदेशमूलक युक्तिहरूबाट अलग राख्नुपर्दछ भन्ने मान्यता पाइन्छ । धेरै पात्रपात्राहरू जटिल विषयवस्तु पनि बालउपन्यासमा वर्जित मानिन्छ । बालउपन्यास मानव र मानवतेर पात्र दुवैलाई प्रयोग गर्न सकिने मान्यता रहेको छ ।

बालसाहित्यकार विजयराज आचार्यको औपन्यासिक प्रवृत्ति -
बालसाहित्यकार विजयराज आचार्यको औपन्यासिक विशेषता खोतल्दा खासगरी उनका बालउपन्यास सामाजिक विषयवस्तुलाई लिएर सामाजिक विंसगति र विकृतिप्रति तीव्र आक्रोश व्यक्ति गरिएको पाइन्छ । तानाशाही राणाशासनले रोपेको सामन्ती संस्कारको वृक्ष प्रचायती व्यवस्था र बहुदलीय व्यवस्थामा हुर्कदै गएको हुनाले देशले राजनीतिक र सामाजिक क्रान्तिको ठूलो कष्टमय कालखण्डबाट गुजु्रनुप¥यो । सामन्ती संस्कारको सियालमा थिचिएका धेरै नारी, जनजाति, दलित, विपन्न वर्ग र शोषितवर्गको आवाज एकमुष्ट भएर विष्फोट भयो । यस्तै क्रान्ति र विद्रोहको आवाज बोकेर नया“ नेपालको निमार्णका संदेशात्मक आवाज हुन उनका बालउपन्यासहरू । सामाजिक र यथार्थवादी धारामा लेखिएको उनको उपन्यास माक्र्सवाद चिन्तनबाट अभिमुख भएको पाइन्छ । सर्वहारावर्गको आवाजलाई आन्दोलित बनाई ठूला–ठूला महलमा बस्ने सामन्तीहरूको पर्खाललाई हल्लाउन उनका बालआवाज सत्रिय र सशक्त छन् । राज्यले बालबालिकाप्रतिगर्ने उपेक्षा भाव, श्रमशोषण, सामन्ती संस्कारको जा“तोमा पिल्सिन बाध्य टुहुरा, अनाथ, दलित र विपन्न वर्गको बालबालिकाको हृदयस्पर्शी रोदनको झङ्कार उनका उपन्यास बज्दछन् । उनका पात्रहरू शोषित, पीडित वर्गका रहेका हुन्छन् । ती वर्गहरू विभिन्न अप्ठ्यारा मोडहरू पार गर्दै आफ्नो हक अधिकारका लागि आन्दोलित बन्न पुग्दछन् । क्रान्तिको ज्वालास“गै नया“ नेपालको सन्देश बोकेर अघि बढ्दछन् । उनका उपन्यासको अर्को विशेषता हो चित्रकारिता । बालबालिकाहरू चित्रप्रति बढी आकर्षित हुन्छन् । चित्रबाट पनि उनीहरूको भावनात्मक रूपले संवेदित हुन पुग्छन् जसले गर्दा कथा प्रभावकारी हुन पुग्दछ । उनका उपन्यासमा भाषाशैली पनि बालबालिकाको स्तरअनुसार लेखिएको हुन्छ । खासगरी उनका उपन्यास उत्तरावाल्यावस्याका बालबालिकाका भाषा र स्तरलाई हेरेर लेखिएको पाइन्छ । उनको औपन्यासिक प्रवृत्ति नीतिपरक र नवमानवतावादी समालोचनाको निकटस्थ भएर होला, उपन्यासमा कल्पना र रोमाञ्चकताको केही अभाव खटकिन्छ । यति भएर पनि बालबालिका आदर्शोन्मुख समाजको परिकल्पनामा नया“ सन्देश बोकेर अघि बढ्न चाहि“ प्रेरित हुन्छन् ।
यहाँ उनको बालउपन्यासहरूका छोटो समीक्षा गरिएको छ ।

नयाँ बस्ती
बालसाहित्यकार विजयराज आचार्यको वि.सं. २०६१ असोजमा प्रकाशित भएको यस कृतिमा चित्र स्वयम्वर हाङले कोरेका छन् । नयाँ बस्ती नयाँ विचार बोकेका शोषित पीडित वर्गको आवाज हो । दलितहरू गाउँघरमा कसरी जिम्मालबाट शोषित छन् भन्ने कुरा यसमा देखाइएको छ । आर्थिक विपन्नताका कारण उनीहरू सामन्ती जिम्मालको शोषणबाट कहिल्यै मुक्त हुन सकेका छैनन् । दलित मुने पा“च वर्षको उमेरदेखि नै जिम्मालको शोषणबाट शोषित हुन पुग्दछ । सार्कीको छोरा नुमे जिम्मालको घरमा गोठालो बन्न पुग्दछ । जिम्मालको स्वास्नीबाट औधी सताइएपछि ऊ सामाजिक संस्थाको कार्यकर्तामार्फत् सहरमा आइपुग्छ । सहरमा पनि उसले त्यस्तै कठिनाईहरू भोग्नुपर्छ । अन्त्यमा ऊ पंडितको छोरी गीतासँगै गाउँमा जिम्मालविरुद्ध विद्रोहको आवाज लिएर पुग्दछ । गाउँमा पनि उसले विभिन्न व्यवधान पार गर्दै अन्त्यमा नयाँ वस्ती बसाउन सफल हुन्छ । जातभात, छुवाछुतले नेपाली समाजलाई विकासको पछिल्लो ढोकातिर धकेलिरहेछ । नयाँ वस्तीमा नुमे र गीता समानता, एकता र मानवताको आवाज बोकेर आदर्श समाजको निर्माण तल्लीन हुन्छन् । यस पुस्तकले बालबालिकालाई आदर्शोन्मुख र नैतिकताको शिक्षा प्रदान गर्नको साथै विद्रोहको संदेश पनि दिन सफल भएको देखिन्छ ।

परिवर्तन
प्रकाशित समय उल्लेख नभएको विजयराज आचार्यको यो उपन्यास चित्रकार एकाराम सिंहको सुन्दर चित्रद्वारा सुसज्जित छ । सडक बालबालिकाको दैनिक जीवनको विषय–वस्तुलाई समेटिएको यस उपन्यासमा घरवारविहिन, आमाबुबा गुमाएका पा“च जना सडक बालबालिकाको कथा छ । यसरी सडकमा आइपुग्नुको कारण ती पा“च जना बालबालिका आफ्नै मुखद्वारा सुनाउ“छन् । पा“चजना बालबालिकामध्ये नुरबहादुर, निरज, गोपाल, श्याम, रीता छन् । सडक बालबालिका भए पनि मेहेनत गरेर पत्रिका बेचेर उनीहरू गुजारा चलाउ“छन् । यहा“ आर्दशवादी र नेतृत्वदायी चरित्र नुरबहादुरलाई देखाइएको छ । तर आर्दशवादी चरित्रको आवरणमा खराब आचरण पालेर बस्ने निशान्तकाकाको खराब आचरण प्रसाइकाकामार्फत् निर्मूल पार्ने प्रयास गरिएको छ । सामाजिक विसंगतिबाट ग्रसित बालबालिका कसरी सडकमा पु¥याइन्छ भन्ने कुरा यहा“ स्पष्टसाथ देखाइएको छ । सडक बालबालिका पनि असल काम गर्न सक्छन् र अ“ध्यारा गल्लीहरूमा उज्यालोको बाटो पहिल्याउन सक्छन् भन्ने संदेश यस उपन्यासमा रहेको छ । विजयराज आचार्यले अथक परिश्रम गर्दागर्र्दै पनि यस उपन्यासमा खट्किन पुगेको एउटै कुरा घटनाक्रम बरोबर दोहोरीरहनु हो । जसले गर्दा बालबालिकामा पुस्तकप्रति अरुचीकर हुन सक्छ । यस पुस्तकको सबैभन्दा राम्रो पक्ष लेखकको उदार हृदयको पारदर्शिता र स्पष्टवादिताको परिचायक स्वरूप राखिएको पाठक प्रतिक्रिया हो । पाठक प्रतिक्रियामा बालबालिकाले दिएको प्रतिक्रियाबाट पुस्तकको महŒव, उद्देश्य र लोकप्रियता झल्केको पाइन्छ । यस सन्दर्भमा लेखकले आफूलाई नढाँटी प्रस्तुत हुनुलाई ठूलो महानता मानिन्छ । नेपाली बालसाहित्यमा विभिन्न विधा पुस्तक अभाव रहेको अवस्थामा र विदेशी भाषा र साहित्यले संक्रमण गरेको अवस्थामा हाम्रा बालबालिकाले आफ्नै भाषामा आफ्नै समाजको सजीव चित्रण यस पुस्तकमार्फत् पाउन सक्छन् । यही नै यस पुस्तकको सफल पक्ष हो ।

हाम्रो आवाज
समाजको कलंकका रूपमा रहेको बालश्रमशोषण, उत्पीडन, गरिबी, अशिक्षा, सामन्ती निर्दयी संस्कार, त्यही संस्कारभित्रबाट गुज्रिरहेको वर्तमान समाजको कुरूप पक्षलाई सचित्र चित्रण गरिएको बालउपन्यास हो– हाम्रो आवाज । प्रकाशित समय उल्लेख नभएको विजयराज आचार्यको यो पुस्तक देव कोइमीको कलाले सुसज्जित छ । उपन्यासको प्रमुख पात्र बालक पासाङ उनको आमाको दुखद अवसानपछि उनका बुबाले एक नेताको होटेलमा छोडेर जान्छन् । होटेलमा नेताकी श्रीमतीले दिएको शारीरिक, मानसिक यातना एवम् श्रमशोषण जुन समाजमा अहिलेसम्म विद्यमान छ, त्यसको पुष्ट चित्र प्रस्तुत गरेका छन् विजयराज आचार्यले । उदार हृदय भएका मास्टरकाकाले बालकको उद्वारा गर्न खोज्दा पनि राजनीतिक नेताहरूको सामन्ती चरित्र, राज्यका नागरिक हक–अधिकारको रक्षा गर्ने जिम्मा लिएको पुलिसप्रशासनको मिलोमतोमा मास्टरकाका र बालक मानिसक रूपमा प्रताडित हुन्छन् र पुनः नेताकै होटलमा बालकलाई काम गर्न पठाइन्छ । चरम शोषणले सीमा नाघेपछि बालक पासाङ त्यहा“बाट भागेर भोको पेट र नाङ्गो शरीर लिएर सहरको गल्लीगल्लीमा कवाडी खोज्न बाध्य हुन्छ । गल्लीगल्लीमा भोकभोकै भौतारिदा पनि बालक पासाङ जीवनप्रति हरेक नखाई आशावादी भएर सफल जीवन बाँच्न सफल हुन्छ । यहाँ गैरसरकारी संस्थाका कार्यकर्ताहरूले डलरको खेती थन्क्याउने धुनमा निमुखा, असहाय सडक बालबालिकालाई कसरी प्रयोग गर्छन् भन्ने कुरा पनि देखाइएको छ । समाजको यथार्थ चित्रण उतारिएको यस उपन्यासबाट बालबालिकाले आफूजस्तै सडकका बालबालिका कतिको र कसरी पीडित हुन्छन् भन्ने कुरा थाहा पाउन सक्छन् ।



जीवनीपरक सचित्र बालकथामा विजयराज आचार्यको उपस्थिति
प्रेरणादायी जीवनीलाई चित्रसहित प्रस्तुत गरिएको आख्यानलाई जीवनपरक सचित्र बालकथा भनिन्छ । उपन्यासपछि बालसाहित्यमा विजयराज आचार्यको बढी हस्ताक्षर भएको विधा जीवनीपरक सचित्र बालकथा हो । यो विधामा उनले तीनवटा कृति तयार गरेका छन् । चित्रसहित प्रस्तुत गरेका हुनाले उनी यस विधामा सफल पनि भएका छन् । उनका कृति निम्नानुसार रहेका छन् ।
झमककुमारी
वि.सं. २०६० साउनमा प्रकाशित विजयराज आचार्यको झमककुमारी जीवनीपरक सचित्र बालकथा प्रशंसनीय र उदाहरणीय पुस्तक हो । यसको चित्र चित्रकार सुजन चित्रकारले कोरेका छन् । धनकुटा नगरपालिकाको कचिडे भन्ने ठाउँमा जन्मेकी झमककुमारी राष्ट्रकै प्रतिभा हुन् । शारीरिक रूपमा अपाङ्ग भएकी झमकले अनेकौँ अप्ठेरो र अचम्मलाग्दा परिस्थितिलाई थिचोल्दै अध्ययन र लेखनमा आफूलाई कसरी सक्षम बनाउन सफल भइन् भन्ने कुरा यहाँ देखाइएको छ । उनी बोल्न सक्दिनन् । दुवै हातले काम गर्दैनन् । यस्तो परिस्थितिमा पनि उनले घरमा नै बसी लुकीलुकी पढेर आफूलाई वैचारिक रूपले सक्षम र सबलाङ्ग बनाउन सफल भइन् । उनको यो प्रेरणादायी जीवनले बालबालिकामा भविष्यमा केही गरौ“ भन्ने प्रेरणा मिल्न सक्छ र परनिर्भता नभई आत्मनिर्भता बनौ“ भन्ने संदेश दिन्छ । काठमाडौ“देखि टाढा गाउँमा रहेको प्रतिभालाई खोजेर यसरी बालबालिकाको सामु प्रस्तुत गर्नु विजयराज आचार्यको बालबालिकाप्रतिको समर्पण भएको मूल्याङ्कन गर्न सकिन्छ । यो पुस्तक आत्मगत शैलीमा लेखिएको हुनाले पढ्दा कतै झमक आफैँले लेखेकी हुन् कि भन्ने भम्र पर्न सक्छ ।

केवलपुरे किसान

वि.सं. २०६१ सालमा प्रकाशित विजयराज आचार्यको अर्को जीवनीपरक सचित्र बालकथा हो– केवलपुरे किसान । यसको चित्रकार पनि देव कोइमी नै छन् । कविहृदय भएका किसान परिवारमा जन्मेका केवलपुरे किसानको आत्मगत शैलीमा लेखिएको यो आत्मकथा हो । कविको कविताबाट शुभारम्भ भएको यो कथामा कविले भोग्नुपरेको आर्थिक, सामाजिक र राजनीतिक प्रताडनाहरूको सचित्र व्याख्या गरिएको छ । सरस्वतीपुत्र केवलपुरे किसानले लक्ष्मीमाताको आर्शीवाद नपाउँदा–नपाउँदा अनेकौँ आर्थिक कठिनाई भोग्नुपरेको कथा यस पुस्तकमा उल्लेख छ । समाजमा शिक्षा र साहित्यको महत्व बुझाउँदै साधनामा लीन हुने केवलपुरे किसानले समाजसेवा गरी थप व्यक्तित्व उजिल्याउने काम गरेका छन्– उनको आत्मकथामा । मै खाऊँ, मै लाऊँ ससुखसयल सब मोज म गरुँ भन्ने समाजमा उनले श्रीमतीको सम्झनामा पानी ट्याङ्की निर्माण गरी समाजमा उदाहरणीय काम गरेका छन् । राणा शासन, पञ्चायती व्यवस्था र बहुदल व्यवस्थालाई प्रत्यक्ष रूपमा देखेका र भोगेका केवलपुरे किसान राजनैतिक विकृतिप्रति वितृष्णा व्यक्त गर्दछन् । सामाजिक भेदभाव र ठूलावडाको मात्र समाजमा बोलवाला रहने प्रवृत्तिबाट उनी विरक्तिएको सन्देश दिन्छन् । केवलपुरे किसान स्रष्टामात्र नभई द्रष्टाका रूपमा पनि प्रस्तुत भएको यस आत्मकथामा बालबालिकाले देशको सामाजिक, राजनैतिक अवस्थाको जानकारी पाउनका साथै सङ्घर्षमय जीवनमा पनि हरेश नखाई अघि बढ्ने प्रेरणा पाउन सक्छन् । प्रेरणादायी जीवन बिताएका केवलपुरे किसानजस्ता स्रष्टाको आत्मकथा प्रकाशित गर्ने विजयराज आचार्य स्वयम् प्रशंसनीय बनेका छन् ।

कान्छा कुमार -

वि.सं. २०६३ साल असारमा प्रकाशित भएको कान्छा कुमार पुस्तक जीवनीपरक सचित्र बालकथा हो । यसका चित्रकार एकाराम सिंह हुन् । कान्छाकुमार कर्माचार्यलाई चित्र जगतमा के.के. कर्माचार्यको नामले चिनिन्छ । उनको कारुणीक र दयनीय अवस्थाको बाल्यजीवन पढेर बालबालिका मात्र नभई जोकोही प्रभावित हुन पुग्दछन् । यस्ता प्रेरणादायी जीवन बाँच्न सफल वरिष्ठ चित्रकारको वाल्यावस्थालाई उजागर गरेर बालबालिकाको सामु पस्कनु लेखकको यो क्षेत्रमा ठूलो योगदान मान्नु पर्दछ । व्यक्तिमा प्रतिभा भए ऊ जुनसुकै कठिन परिस्थितिमा पनि आफूलाई माझेर समाजमा प्रकट हुनसक्छ भन्ने कुरा उनको आत्मकथाले देखाएको छ । वाल्यकालमा हातमा पैसा नहुँदा खेलौनाहरू बनाई, चित्रहरू कोरिदिए स्वावलम्बी हुने पाठ के.के. कर्माचार्यले बालबालिकालाई दिएका छन् । समाजमा चित्रकार उपेक्षित अवस्थामा रहेको भए पनि सफल चित्रकार भई समाजमा मान सम्मान इज्जत पाउन सकिन्छ भन्ने सन्देश उनको आत्मकथाले दिन्छ । यो पुस्तक विजयराज आचार्यको एउटा शशक्त र सफल पुस्तक मान्नुपर्दछ ।

सचित्र बालकथामा विजयराज आचार्यको ‘शान्तिको आत्मकथा’को संक्षिप्त विवेचना -
बालसाहित्यमा बालकथाहरूलाई चित्रसहित कथा प्रस्तुत गरिने वा चित्रमार्फत् कथा बुझाउने प्रवृत्तिलाई सचित्र बालकथा भनिन्छ । बालसाहित्यमा यो प्रवृत्तिलाई अत्यन्त उपयोगी र प्रभावकारी मानिन्छ । बालबालिकाहरू चित्रप्रति अत्यन्त आकर्षक हुन्छन् तसर्थ चित्रमार्फत् कुनै कुरा भन्न वा सन्देश दिन अत्यन्त प्रभावकारी मानिन्छ । उनका सचित्र बालकथामा शान्तिको आत्मकथालाई सफल चित्रकथा मान्नुपर्छ । यो पुस्तक वि.सं. २०५९ सालमा प्रकाशित भएको हो भने यसका चित्रकार शान्तिको आत्मकथामा पनि उनको उपन्यासझैँ विपन्न वर्ग र सम्पन्न वर्गको द्वन्द्व देखाइएको छ । शान्ति एउटी सानी फुच्ची पात्रको कारुणीक र दयनीय अवस्थाको चरित्र चित्रण गरिएको छ । जिम्मालको घरमा काम गर्न बसेकी शान्ति अनेकौँ सास्ती खेपेर पनि मास्टरकाकासँग पढेर साक्षर हुन्छे । पढेर ऊ गाउँमा नै मास्टरी काम गर्न थाल्छे । चित्रसहितको यो कथा अत्यन्त आकर्षक र प्रेरणादायी छ । भाषाशैली बालबालिकाले सुहाउँदो भएको यो आत्मकथामा प्रथम पुरुषवाचक सर्वनाम ‘म’ को प्रयोग गरिएको छ । यस कथाबाट बालबालिकाले प्रेरणा र हौसला प्राप्त गर्न सक्छन् साथै उनीहरूलाई मनोरञ्जन र बौद्धिक खुराक दिन पनि यो चित्रकथा सफल भएको छ ।

विजयराज आचार्यको सचित्र बालनाटक ‘उज्यालोको खोजीमा’ को संक्षिप्त विवेचना -
नेपाली बालसाहित्यमा सबैभन्दा कम लेखिएको विधा नाटक विधा हो । नाटक विधा लेखिँदैमा पूरा हुँदैन यसलाई मञ्चन गरेर बालबालिकामा पु¥याउन सकेमात्र यसले पूर्णता प्राप्त गर्दछ । ‘उज्यालोको खोजीमा’ विजयराज आचार्यको वि.सं. २०६१ मा प्रकाशित सचित्र बालनाटक हो । चित्रकार स्वयम्बर हाङको कुशल चित्रकारिताले यो बालनाटक संवादात्मक शैलीमा प्रभावकारी भएको छ । बालबालिकालाई सबैभन्दा गाह्रो राजनैतिक अवस्था र चिन्तनको विषयमा जानकारी दिनु हो । यस्तो अप्ठेरो विषयलाई विजयराज आचार्य संवादमार्फत् सरल भाषामा बालबालिकालाई राष्ट्रको राजनैतिक परिस्थिति ज्ञात गराउन सफल भएका छन् । प्रजातन्त्र के हो ? क्रान्ति, हडताल र आन्दोलन किन हुन्छ ? देशको राजनैतिक अवस्थाको जानकारी सानैदेखि राख्नुपर्छ भन्ने सन्देश यो नाटकले दिएको छ । यसमा बाबु र छोरालाई दुई पात्रलाई संवादका माध्यमबाट नेपालको राजनीतिप्रति तिखो व्यङ्ग्य हान्न लगाइएको छ । सहिदको रगतमा टेकेर नेताहरूले दमन, महँगी र भ्रष्टाचार गरेर प्रजातन्त्रको हुर्मत लिएको नाटकमा देखाइएको छ । देशले उज्यालो खोजीरहेको छ भन्ने प्रतिकात्मक सन्देशको रूपमा मैनबत्ती बालेको मान्छे देखाएर नाटक टुङ्ग्याइएको छ । नाटकका कतिपय विधागत प्रवृत्तिबाट विमुख भएको यस पुस्तकलाई चित्रकथा मात्रै भन्दा पनि खासै असर नपर्ने देखिन्छ । विषयवस्तु केही जटील भएको हुनाले सबै स्तरका बालबालिकाले यो सन्देश बुझ्न सक्छन् भन्ने गाह्रो हुन्छ । तर पनि चित्रात्मक शैलीमा कतिपय भाव व्यक्त गरिएको हुनाले नयाँ चेतनाको सन्देश बोकेको यो पुस्तक उत्तरवाल्यावस्ता बालबालिकालाई रुचीकर हुन सक्छ ।

विजयराज आचार्यको चम्किला चौध कोपिला (बालअन्तर्वार्ता) को संक्षिप्त विवेचना -
बालसाहित्यकार विजयराज आचार्यको बालअन्तर्वार्ताको रूपमा वि.सं. २०६० सालमा प्रकाशित भएको यो प्रशंसित पुस्तक हो । ठूलाको मात्र अन्तर्वार्ता छापिएको अवस्थामा प्रतिभाशाली चौध बालबालिकाको अन्तर्वार्ता समेटिएर छापिएको यो पुस्तक नेपाली बालसाहित्य यात्रामा नौलो आयाम मान्न सकिन्छ । विभिन्न स्थान तराई, पहाड, हिमाली साथै भारत प्रवासमा रहेका सामान्य बालबालिका तर प्रतिभावान बालबालिकाको जीवनीका साथै अन्तर्वार्ता छाप्नु चानचुने कुरा होइन । यस कार्यबाट उनी धन्यवादका पात्र बनेका छन् । चौधजना बालबालिकामा नौजना बालिका छन् भने पाँचजना बालक रहेका छन् । बालबालिकाहरू मध्ये तीनजना त अपाङ्ग छन् भने केही असहाय र टुहुरा छन् । तिनीहरू अभाव, कठिनाइ, श्रम र सङ्घर्षका माझ आफ्ना प्रतिभा प्रदर्शन गरिरहेका छन् । शिक्षा, साहित्य, संस्कृति, खेलकुद, परोपकार आदि क्षेत्रमा उनीहरूले प्रशंसनीय कार्य गर्दै आएका छन् । प्रस्तुत अन्तर्वार्ताको केन्द्रमा झमककुमारी रहेकी छिन् । अपाङ्गहरूका लागि मात्र नभएर सम्पूर्ण मानव समुदायकै निम्ति प्रेरणापुञ्ज बनेकी झमककुमारी अपाङ्गता विरुद्ध र आर्थिक प्रतिकुलता विरुद्ध सङ्घर्ष गरेर उदाहरणीय बाटो हि“डिरहेकी छिन् । हात नभए पनि खुट्टाका भरमा सम्पूर्ण काम र लेखपढ गर्दै प्रगतिपथमा लम्केकी सरस्वती शर्मा तथा सपना पोखरेलको उत्साह, कठिन आर्थिक अवस्थाको बीच पनि घरका काम र अध्ययन गर्दै गरिब–असहाय बालबालिकालाई दिनको दुई घन्टा पढाउने विमला राउतको समाजसेवा तथा आफ्ना पितामाताको काममा सघाउँदै पढाइमा पनि विशिष्टता–प्रदर्शन गर्ने सञ्जीव पाण्डेको कार्य प्रशंसा गर्न लायक छन् । पिताले भारतको आसाममा अरुको सुरक्षाका लागि लड्दा प्राण त्यागेपछि टुहुरो बनी घरजग्गा माया मारेर आमासँग नेपाल फर्केका कृष्णप्रसाद खरेल वा पिताद्वारा परित्यक्ता आमास“गै कवाडी काममा लागेका कृष्ण भुजेलका शिक्षा–आर्जनका रुचि एवम् उपलब्धि तथा आमाबुबा पहिरोमा पुरिएर टुहुरो हुनु परे पनि अध्ययनमा राम्रो प्रगति गरेर असहाय टुहुरा बालबालिकाको उद्धार गर्ने सीता केसीको असल चाहना उज्यालो विचारद्वारा आलोकित छन् । बाल्यकाल मै मीना कृष्ण खड्काले साहित्यिक क्षेत्रमा देखाएको उज्यालो छवि र दीपिका केसीले खेलकुदमा देखाएको क्षमता, आमालाई तरकारी पसलमा सघाएर पनि मिनु के.सी.ले पढाइमा गरेको प्रगति अनि सुमन पन्तको अध्ययनशीलता एवम् देशभक्तिपूर्ण भावनामा हाम्रो आशा एवम् भरोसाको बाली झुलेको देखिन्छ । यसरी नै पासाङ दोर्जे शेर्पा र सविन्द्र कुइँकेलका विद्यालय–जीवनका उपलब्धि एवम् भावी जीवनका लक्ष्यहरूले पनि असल बाटोलाई पछ्याइरहेका छन् । त्यसैले यो पुस्तक बालबालिकाको चरित्र निमार्णमा विशेष आधार बन्न सक्छ । विजयराज आचार्यको यस कृतिले बालबालिकाको वास्तविक सामाजिक अवस्था उदाङ्गो पार्नुका साथै राज्यलाई पनि यस्ता प्रतिभावान कोपिलालाई केही गर्न घचघचाएको महसुस गर्न सकिन्छ । समग्रमा बालबालिकास“ग प्रत्यक्ष कुराकानी गरेर उनीहरूको फोटोसहित प्रस्तुत गरिएको यो कृति बालसाहित्यको महत्वपूर्ण कृति हो । उनले यसै पुस्तकमा बालसाहित्य पुरस्कार– २०६० पनि प्राप्त गरेका छन् ।




अनुदित बालकृतिमा विजयराज आचार्यको उपस्थिति –
अर्को भाषाको कृतिलाई अर्कै भाषामा अनुवाद गरिएको कृतिलाई अनुवाद कृति भनिन्छ । भाषा साहित्यमा अनुवाद कृतिको आफ्नै महत्व हुन्छ । अनुवाद कृतिले आफ्नो भाषा साहित्यलाई समृद्ध र सुदृढ बनाउन सक्षम हुन्छ । अनुवाद कृतिमा लेखकको मौलिक भावना र कल्पना व्यक्त गर्न नसकिए पनि अनुवादसम्बन्धी प्रतिभा देखाउन सक्छन् । अनुवाद गर्दा लेखकले दुवै भाषामा गहिरो अध्ययन गरेको हुनुपर्दछ । कतिपय भाषा शैलीको ठीक तरीकाबाट अनुवाद गरिएन भने ठीक उल्टो अर्थ लाग्न पनि सक्छ । अझ बालबालिकाको क्षेत्रमा लेखक संवेदनशील र सचेत भएर लाग्नु पर्दछ । युवा बालसाहित्यकार विजयराज आचार्यको यस क्षेत्रमा विशेष अनुभव र ज्ञान हासिल भएको जानकारी उनका सत्रवटा अनुदित कृतिबाट थाहा पाउन सकिन्छ । उनका अनुदित कृतिमा धेरैजसो चिनिया“ भाषाबाट नेपाली भाषामा अनुवाद गरिएका छन् । रमाइला चिनिया“ बालकथाहरू, बालबगैँचा, एउटा नयाँ पुलको निर्माण, खरायोको पुच्छर किन छोटो भयो ? प्रसिद्ध चिनियाँ बालकथा (खण्ड–१), प्रसिद्ध चिनियाँ बालकथा (खण्ड–२), प्रसिद्ध चिनियाँ बालकथा (खण्ड–३), कृतज्ञ बाघ पुस्तकहरू चिनियाँ भाषाका रोचक बालकथाहरूलाई नेपालीमा अनुवाद गरिएको छ । उनले लियो टाल्सटायको उत्कृष्ट बालनाटकहरू, विश्वप्रसिद्ध जापानी लोककथाहरू, विश्वप्रसिद्ध बालकथाहरू (खण्ड–६), विश्वप्रसिद्ध बालकथाहरू (खण्ड–७), रवीन्द्रनाथ टेगोरका उत्कृष्ट बालकथाहरू अनुवाद गरी प्रकाशित गरेका छन् । पञ्चतन्त्रका रमाइला कथाहरू सम्पादन गरी प्रकाशित गर्नुका साथै प्रसिद्ध चिनियाँ बालकथाहरू संयुक्त अनुवाद गरी प्रकाशित गरेका छन् । यी पुस्तकहरू विजयराज आचार्यले आफ्नै प्रकाशनबाट स्तरीय पुस्तकका रूपमा प्रकाशित गरेका छन् ।
निष्कर्ष –
नेपाली बालसाहित्य क्षेत्र परम्परागत शैली र प्रयोग बाट विमुख भई नया“ प्रयोग र धारमा बगिरहेको अवस्थामा बालसाहित्यकार विजयराज आचार्यको उपस्थितिलाई उपलब्धीमूलक मान्नुपर्दछ । बालसाहित्य लेखिएर मात्र हुँदैन अभिभावकहरुले यसको महŒव बुझी आफ्ना बालबालिकालाई पढ्न दिइयो भने मात्र यसले सार्थकता पाउन सक्छ । त्यसैले बालसाहित्यलाई बालबालिकाले मात्र पढ्ने साहित्य मानिँदै आएमा उत्कृष्ट बालसाहित्यबाट बालबालिका सधै बन्चित रहने सम्भावान प्रवल रहन्छ भने अर्कोतिर उत्कृष्ट बालसिर्जना सिर्जित हुन पनि मुश्किल पर्दछ ।

सन्दर्भ विविध कृतिबारे
प्रधान, प्रमोद–२०५७, नेपाली बालसाहित्यको इतिहास
प्रधान, प्रमोद–२०६४, नेपाली बाल वाङ्मय परिचय कोष
विजयराज आचार्यका प्रकाशित सम्पूर्ण कृति
श्रेष्ठ, चंकी–२०६२, शब्द, स्पर्श र अनुभूति

चुलबुले बादल

बादलहरूकी आमा समुन्द्र थिइन् । समुन्द्र विशाल थिइन् । माता समुन्द्रले धेरै बादलहरूलाई जन्म दिएकी थिइन् । तीमध्ये फिका नीलो रङ्गको बादल अलिक चकचके थियो । उनीहरूले उसको नाम चुलबुले राखिदिएका थिए । बादलहरूले जन्म लिएपछि उनीहरूको धर्म पानी बोकेर आकाशमा जानु र संसारको रमिता हर्दै हिँड्नु थियो । त्यसैले सब बादलले गुरु हावाको साथमा आकाशमा जानुपर्दथ्यो ।
तीमध्ये चुलबुले बादलचाहिँ हतारहतार हावा गुरुको बुइ चढेर अकाश जान तम्सियो । आमा समुन्द्रले उसलाई सम्झाउँदै भनिन् "बाबु चुलबुले तिमी धेरै चकचक गर्र्छौ, त्यसैले बाटो बिर्सन सक्छौ । दाजुभाइहरूको साथ नछोड्नू हैं ।" आमा समुन्द्रको कुरा उसले सुनिरह्यो । तर उसलाई भने कहिले आकाशमा पुगिएला र धर्तीको रमिता हेर्न पाइएला भन्ने लागिरहेको थियो । त्यसैले उसले आमाको कुरा ध्यान दिएर नै सुनेन । सबैजना आमासँग विदावारी मागेर गुरु हावाको पछि लागेर आकाशतिर हिँडे । आमा समुन्द्रलार्इृ भने चुलबुले बादलको निकै चिन्ता लागिरहेको थियो ।

चुलबुले बादल जे कुरा पनि नसोधी नसम्झी गरिहाल्दथ्यो । त्यसपछि ऊ आफै पछुताउँथ्यो । तर आकाशमा पुगेर गल्ती गरियो भने पछुताउने समय पनि नहुन सक्दथ्यो । त्यसैले पहिलाको भन्दा अलिक र्सतकचाहिँ भएकोथ्यो । उनीहरूलाई गुरु हावाले आकाशमा कसरी हिँड्नुपर्छ भन्ने कुरा सिकाउनुहुन्थ्यो । तर चुलबुले बादलचाहिँ आकाशबाट देखिने रमिताले अझ बढी चञ्चल भई रहेकोथ्यो । उसले कल्पना गर्यो -"अहो † धरतीमा भएका रूखहरू कति साना देखिएको मानिसहरू त कमिलाजस्ता कति होचा देखिएका † उसलाई अचम्म लाग्यो ।"
ऊ अरू दाजुभाइ, साथीहरू छाडेर एक्लैएक्लै माथिमाथि जान खोज्यो । धेरै माथि नजान हावा गुरुले भनेका कुरा उसले सम्झ्थ्यो । तर पनि धेरै माथिबाट तल हेर्दा झन् मजा आउँदो रहेछ त्यसैले ऊ माथिमाथि जान थाल्यो । माथि त उसलाई चिसोचिसो हुनथाल्यो । उसलाई जाडो लागेर आयो । जाडोले ऊ थर्रर काम्यो । उसले गुरु हावाले भनेको कुरा झल्याँस्स सम्झ्यो । त्यसपछि ऊ पछुताउँदै तल झर्यो । तल उसका दाजुभाइ, साथीहरू आकाशमा चीलहरूबाट कसरी जोगिनुपर्छ भन्ने कुरा सिक्दै थिए । तर उसले भने यो कुरा सिक्न पाएन । उनीहरू आकाशमा उडदाउडदै रात परिसकेको थियो । राति पनि उनीहरू मजाले घुमे । जून लागेको दिन थियो । जून लागेको हुनाले धर्तीको दृश्य अझ राम्रो देखिन्थ्यो । उनीहरूले जूनको प्रकाश छेकिदिँदा धर्तीमा अँध्यारो भएको रमाईरमाई हेरे । उज्यालो हुने बेलामा उनीहरूले केहीबेर विश्राम लिए ।

भोलिपल्ट फेरि उनीहरू गुरु हावाको साथमा घुम्दैघुम्दै हिँड्न थाले । चुलबुले बादल फेरि साथीहरूलाई छोडेर एक्लिन पुग्यो । आकाशमा चीलहरू पनि उडिरहेका थिए । अरू बादलहरूले चाहिँ चीलबाट कसरी जोगिनुपर्छ भन्ने कुरा सिकिसकेका थिए । तर चुलबुले बादलले चाहिँ सिकेको थिएन । ऊ चीलको नजिक पुग्यो र भन्न थाल्यो -"ए डरछेरुवा चरो हो बाटो छोड, मलाई घुम्न देओ । " चीलहरू पनि ऊसँग डरायो । उनीहरूले उसलाई बाटो छोडिदियो । ऊ झन् हौसिदै रमाईरमाई उड्न थाल्यो । त्यसैबेला एउटा चीलभन्दा ठूलो डरलाग्दो चरो उसको छेउमा आयो । उसले त्यो चरोलाई पनि चीललाई जस्तो हकार्ने सोच्यो । तर उसले सोच्तासोच्तै त्यो ठूलो चील उसको नजिक आइपुगिसकेको थियो । ऊ डरायो । यो त ठूलो हवाइजहाज थियो । उसले कहिल्यै देखेको पनि थिएन । उसले गुरुबाट यसबारे शिक्षा लिएकै थिएन । त्यो ठूलो चील उसको धेरै नजिक आइसकेको थियो । उसले साथीभाइ खोज्यो । तर देखेन उनीहरू धेरै टाढा थिए । त्यो ठूलो चीलले उसलाई धक्का दियो । उ झन्डै-झन्डै भूइँमा खसेको तर उसले आफुलाई सम्हाल्यो । त्यसपछि उसलाई डर लाग्यो । डरले आफ्ना साथीभाइ खोज्यो । साथीभाइहरू गुरु हावासँग धेरै कुरा सिक्दै थिंए । ऊ पनि गुरुसँग सिक्न गयो ।

गुरु हावाले अब आफूसँग भएको पानी सबै धर्तीमा पोखेर पहाडको बाटो हुँदै घर र्फकनु पर्ने कुरा बतायो । तर चुलबुले बादल भने यति चाँडै घर र्फकन चाहदैनथ्यो । ऊ त अझै धेरै समय आकाशमा बिताउन चाहन्थ्यो । त्यसैले अहिले भने उसले गुरुको कुरा पटक्कै सुनेन् । अरू साथीभाईहरू धर्तीमा पानी पोखेर पहाडको बाटो हुँदै घर फर्के । तर चुलबुले बादलचाहिँ आकाशमा एक्लै घुमिरहेको थियो । सबै साथीभाइ घर गइसकेपछि चुलबुले बादल एक्लै आकाशमा घुम्न थाल्यो ।
एकदिन उसले आकाशमा इन्द्रेणीलाई देख्यो । उसले मनमनै भन्यो - 'ओहो ! इंन्द्रेणी रहिछिन् कति राम्री उसलाई इन्द्रेणीसँग बिहे गरूँगरूँ लाग्यो । उसले इन्द्रेणीलाई सोध्यो -"तिमी मसँग बिहे गर्र्छौ ।" इन्द्रेणीले भनिन् -"मेरो बाआमासँग मलाई माग , दिनुभयो भने बिहे गर्छु "

चुलबुले बादल इन्द्रेणीका वुवा इन्द्रराजासँग इन्द्रेणीको हात माग्न गए । इन्द्रराजाले चुलबुले बादल आकाशमा एक्लै उडिरहेको थाहा पाएको थियो त्यसैले उसले बिहे गरिदिनुको साटो उल्टै हकारेर भन्यो -"तिम्रो बास बस्ने ठाउँ छैन , तिमी आकाशमा उडिहिँड्नेलाई मेरो छोरी कहाँ दिन्छु मेरो छोरी बिहे गरेर कहा राख्छौ । जाउ भाग यहाँबाट ।"

चुलबुले बादललाई अहिले आएर चित्त दुख्यो । ऊ एक्लै भएको हुनाले दुखमनाउ गयो । ऊ रुँदैरुँदै हिँड्यो त्यहाँबाट । अहिले उसले साथीभाइ र गुरु सम्झ्यो । रुँदारुँदै उसँग भएको पानी पनि सकियो । कतिखेर ऊ पहाडमा ठोकिन पुग्यो त्यो कुरा पनि उसलले थाहा पाउन सकेन । पहाडमा ठोकिएपछि ऊ घर आइपुगिसकेको थियो ।

अस्थायी सम्झौता

दिनभरिको व्यस्ततापछि प्रकृतिले दिएको फुर्सदिलो समयको भरमग्दुर सदुपयोग गर्दै छन् सिर्जन र सिर्जना बिछ्यौनामा । साँच्चिकै भगवानले जुराइदिएका छन् उनीहरू लोग्नेस्वास्नीको एउटै नाम । सिर्जन मायालु भावले बोलाउँछ, पत्नी सिर्जनालाई- 'यता आऊ न ।'

"हजुरलाई खालि यस्तै कुरामा मात्र जोस आउँछ हैन.... विजयी हुन लागेको सिपाही झैँ । घरको अरू कुरामा गम्भीर बन्नपर्दैन हगि -" थर्मामिटरको पारो अलिक बढेको अनुभव गर्छ सिर्जन ।

"दिनभरिको थकाइपछि केही रिल्याक्स गर्ने समय र साधन यही त हो नि.... । अनि त्यत्रो गम्भीर हुने समस्या के आइपर्यो तिमीलाई -"- स्पष्टीकरणका साथ प्रश्न तेर्स्याउँछ ऊ ।

"हजूरलाई थाहा भएर पनि थाहा नपाएझैँ गरिसिन्छ हैन देखिसिन्न हिजो आज हाम्रो घर पाटी, धर्मशालाजस्तो भएको । दिनभरि हजारथरीका मान्छे आउँछन् । कोही चुरोट खाने, कोही मोजा गन्हाउने हरदम कार्यकर्ता र नेताको जमघट बैठक कोठामा । यसो बाहिर निस्कूँ भन्यो क्वारक्वारती हेर्छन् । कोठाभित्र कति बसिरहनु । छोराछोरी पनि दिक्क मान्न थालिसके । बुबा त तराई घरमा बसिस्या भए पनि हुने नि ।"- उसले मनको तीतो ओकेली ।

"तिमी-हामीले भनेर हुँदैन । गाउंमा अहिले बसिनसक्नु छ बुबालाई । बुबाको बाध्यता पनि बुझ्नुपर्छ नि हामीले । फेरि बुबाले आफैँले दुःख गरेर बनाइस्या यो घर । त्यही राजनीतिबाट हामीलाई धन-मान कमाइदिस्या छ । फलानाको छोराबुहारीभन्दा हामी कति गर्व मान्छौँ । केही पाउन केही गुमाउनुपर्यो नि..... मैयाँ । हामीले बुबाको लागि के गर्न सकेका छौँ, तिमी नै भन त...... -" उसले केही नम्र भएर भन्यो ।

"हजूरलाई कहिल्यै हजूरको बुबाको बारेमा केही कुरा भन्न हुन्न । मेरो पनि विवशता बुझ्नुपर्छ नि.... ।"
"नबुझेको कहाँ हो र मैयाँ... । ल भन... तिमी मेरो ठाउँमा भए के गथ्र्यौ -"- अँगालामा कस्दै उसले भन्यो ।
"छोडिस्यो, म त माइत गएर बसिदिन्छु ।"
"स्वास्नीमान्छेको यो नै एउटा बलियो अस्त्र रहेछ कि क्या हो - माइत जान्छु भनिदियो सकियो । सधैँलाई जान्छौ भने जाऊ.... ।" ऊ ठसक्क परी ।
उसले अनुहार मुसार्दै भन्यो- "तिमीले मजस्तो लोग्ने पाएकामा गर्व गर न । लोग्नेमान्छेहरू कस्ता खतम हुन्छन्, घरमा स्वास्नी हुँदाहुँदै बाहिर साइड खेलेर उधुम गर्छन् ।" उसले चारित्रिक प्रमाणपत्र पेस गर्यो ।
"के ठेगान हजूरको पनि... । गाईबस्तुलाई जस्तो गोठालो लाग्न सकिन्न क्यार.... । यहाँ मुखले ठिक्क पार्यो भरे तरुणी भनेपछि हुरुक्क होला" उसले आशङ्काको झटारो हानी ।

"ल भन, म त्यस्तो भएको भए अहिलेसम्म केही सुन्नुपर्ने तिमीले । हाम्रो विवाह भएको नै नौ-दस वर्षभइसक्यो ।" पुनः अंगालामा कस्दै भन्यो - "मेरो विषयमा कुनै नाजायज कुरा केही देखेकी छौ वा सुनेकी छौ - बत्ती बालेर खोज्यौ भने पनि भेट्नेछैनौ मैयाँ ।"

"हो.... बत्ती त हजूरले पो बालिस्या छ ।"
"मैले बत्ती नबाले तिमी अन्धी हुन्छौ नि त मैया“... ।" हाँस्दै भन्छ । माछो जालमा पर्न लागेकोमा खुसी हुन्छ ।

"हजूर पनि कति बाठो होइसिन्छ । कहा“ बुबाको कुरामा मलाई अलमल्याएर कहाँ पुर्याइसिन्छ, हैन - हामी आइमाईमान्छेलाई बुद्धू ठानिसिन्छ अनि फोहोर फ्याँक्ने कन्टेनर सम्झिसिन्छ हैन - अब हामी पनि बाठा भइसक्यौँ, बुझिस्यो.... -"
"तिमीलाई लाटी कसले भनेको छ नि मैयाँ । तिमी बाठी छौ र त मेरो घरको सारा परिपञ्च मिलाएकी छौ । तिमी नभए त म यो घरमा बस्ने कल्पना नै गर्न सक्दिनँ ।" प्रशंसाको चुली भर्दै भन्छ । अझै थप्छ-" मुवाले जहिले पनि तिम्रो कुरा गरिसिन्छ । " सिर्जनाले दुःख पाई । बुबा काठमाडौ गएर बसिस्या छ । त्यसलाई हैरान भयो भनिसिन्छ, बुझ्यौ ।"

"हो त, लोग्नेमान्छेको जात पो एउटै । आइमाईले आइमाईको कुरा बुझ्छन् भनेको यही हो ।" माछो जालमा राम्ररी फसिसकेको थियो । ऊ पनि खुसी भई । अनि सम्पूर्ण स्वीकृति साथ सुम्पिदिई ।
अँध्यारोले घप्लक्कै कोठालाई निल्यो । तातो निस्वासले कोठा तात्यो । केही छिनपछिको परम्परागत जैविक प्रक्रियापछि कोठामा सदाको झैँ निस्तब्धता छायो । भोलि बेलुकासम्मको लागि अस्थायी सम्झौताले स्वीकृति पायो ।

झिँजाको कथा

उसको नाम मानव थियो । उसलाई प्रकृतिको हरेक परिस्थितिसँग जुध्ने शक्ति दिइएको थियो । ऊ सङ्घर्ष गर्दै गयो । सङ्घर्ष गर्ने क्रममा उसले आगोको सिर्जना गर्यो । आगोको सिर्जना गरेर मात्र भएन उसले यसबाट फाइदा पाउन झिँजाको आवश्यकता पर्यो । अब झिँजा उसको सहयोगी भयो । झिँजाबाट उसले धैरै फाइदा पायो । त्यसपछि उसले आफूलाई मूढामा रूपान्तरित गयो । झिँजा नभई ऊ बल्न सक्दैनथ्यो । उसले झिँजालाई आफनो अस्तित्वको परिपूरक ठान्यो । 

समय बित्दै गयो । झिँजा चाहिने नचाहिने ठाउँमा बल्न थाल्यो । उसले झिँजालाई सम्झायो, होसियार गरायो, खबरदारी गरायो । तर झिँजाले सुनेन । मूढालाई झिँजाको सल्काइ पोल्न थाल्यो । झिँजा उसको लागि काउछो भयो । अहिले ऊ न आफू बल्न सक्छ न त झिँजा निभाउन सक्छ । झिँजाको रापले पोलिएर ऊ धूंवाधूँवा भएर सल्किरहेछ ।



April 3, 2010

संवत्-अफिस

पुसमाघको मुटु छेड्ने चिसोले बिदा लिइसकेको छ । चारैतिर नयाँ पालुवा फेरिएको छ । वसन्त ऋतुले प्रकृतिलाई सिँगारेर सुन्दर बनाएको छ । थरीथरीका सुन्दर फूलहरूले सजिएकी प्रकृति बेहुलीजस्ती भएकी छिन् । प्रकृतिका प्रत्येक पदचापले नयाँ वर्षको आगमन हुँदै छ भन्ने कुरा बताइरहेको छ ।\

म चौतारीमा बसेर सुस्केरा लिँदै छु । मेरा स्मृतिपटलमा विगतका कुरा सलबलाउन थाल्छन् । आजको ठीक एक वर्षगाडि म यसै चौतारीमा सुस्केरा लिँदै थिएँ । यत्तिकैमा चिसो बतासले थकाइसँग मितेरी लगाएर होला म निदाउन पुगेकी थिएँ । निन्द्रारूपी सागरमा स्वप्नरूपी डुङ्गाहरू यसरी तैरिन थालेका थिए -

हाम्रो गाउँमा एउटा संवत्-अफिस रहेछ । सो संवत्-अफिस अन्तर्राष्ट्रय प्रकृतिनियमअनुसार खोलिएको रहेछ । सो अफिसको हाकिम श्रीमान् २०६6 परबाट खुसीसाथ आउँदै थिए । नयाँ जोस, जाँगर, उत्साह र उमङ्ग लिएर आउँदै गरेको नौजवान श्रीमान् २०६6 लाई उषाको मिर्मिरे लालीमा प्रकृतिले पनि हर्षोल्लासका साथ स्वागत गरेकी थिइन् । उसको साथमा अर्को एउटा साथी पनि थियो । त्यो साथी उसको सहायक रहेछ भन्ने कुरा मैले छोटो चिनारीपछि थाहा पाएँ । ऊ सहायक समयज्यू रहेछ । उसले मोटामोटा फाइलहरू पनि बोकेको थियो । फाइलमा के होला भन्ने जिज्ञासाले मलाई छोप्यो । मैले पनि उत्सुकतावश थाहा पाउने चेष्टा गर्दा श्रीमान् २०६6 ले भन्नुभएको थियो- 'यो फाइलमा जे छ त्यो सबै तपाईँहरूका लागि नै हो । यसमा तपाईँहरूको समाज, गाउँ र देशको परिस्थिति, योजना र कार्यक्रमहरू छन् ।' मलाई आफ्नो गाउँमा भविष्यमा हुने योजना केके रहेछ भन्ने कुरा थाहा पाउन कौतुहल जाग्यो । मैले फाइलहरू हेर्नलाई अनुरोध गरेँ । तर ती फाइलहरू सहायक समयज्यूले अन्तर्राष्ट्रय प्रकृतिनियमअनुसार कसैलाई थाहा दिन नहुने बताए । किनभने सहायक समयज्यूले नियमअनुसार चल्नुपर्ने र यसको प्रयोग उचित बेलामा गर्नुपर्ने बताए । श्रीमान् २०६6 आफ्नो अफिसतिर प्रस्थान गर्नुभयो । 

मैले एक वर्षगाडि देखेको यो सपनालाई आज म वास्तविक जीवनसँग दाँज्नु पुग्दै छु । वास्तवमा सहायक समयज्यूले हाकिम श्रीमान् २०६6का कार्यकालमा भएका कालघटनाको जानकारी हामीलाई आफ्नो नियमअनुसार दिँदै आएका छन् । उनले अब यो पनि थाहा दिएका छन् कि श्रीमान् २०६6को कार्यकाल समाप्त भई संवत्-अफिसमा नयाँ हाकिम श्रीमान् २०६7 आउँदै छन् भनेर । किनभने प्रकृतिले पनि उही रूप लिइसकेकी छिन् । हामीले पनि हाम्रो जीवन संवत् २०६6लाई बिदा गरेर नयाँ संवत् २०६7लाई स्वागत गर्नु परिरहेछ । अब संवत् २०६7ले पनि संवत् २०६6ले गरेका कुराको पुनरावृत्ति गर्नेछ अनि यो क्रम काल-कालान्तरसम्म निरन्तर चलिरहनेछ ।

कर्मको फल

हाकिम गजेन्द्रबहादुर गर्जियो पिउन होसप्रसाद माथि "जहिले पनि भुलेर आउँछौ के गरी काम गर्र्छौ, यो अफिसको...... कसरी काम लगाउनु मैले -..... तिम्रा नाबालक छोरा-छोरीको मुख हेरेर मात्र...... नत्र सरुवा गरेर पठाइदिन्थे सोलुतिर..... कमसे कम वहाँ पुगेर फोन त गर्नुपर्छ मलाई । कति सम्झाउनु - म नै हरेस खाइसकेँ जहिले पनि यस्तै हो, कहिले सुध्रिने हैन ।"
होसप्रसाद हाकिमको खुराकले टन्न अघायो । अनि हिँड्यो त्यहाँबाट लुसुक्क । माथि हाकिमको क्वार्टर थियो । तल गेटनिर पिउनको टहरो । होसप्रसाद टहरामा आयो । अनि बज्रियो स्वास्नीमाथि- "खै खाजा ले खाउँ।"
स्वास्नीले "खाजा छैन" भनी ।
"जहिले पनि यस्तै हो । कहिले भोक लागेको बेला खाजा हुन्न । तँलाई पठाइदिऊँ माइततिर अनि थाहा पाउलिस् π के सम्झेकी छेस् ए नखरमाउली † सधैँ हाकिमको गालीले अघाओस् भन्छेस् । तँलाई दिनरात सिरियल हेरेर अघाउँदिनस् हैन । गाली त तैँले खानुपर्ने हाकिमको..... तर के गर्नु मैले खानुपर्छ, होइन -" एक लात्ती बजायो स्वास्नीमाथि । स्वास्नी रुन थाली । होसप्रसाद भुतभुताउँदै हिँड्यो अफिसतिर- झ्यालढोका लगाउन ।

केही छिनपछि पिउनको छोरो कोठाभित्र आइपुग्यो । स्वास्नीले छोरालाई देखी अनि के-के भनेर छोरालाई चड्कन हान्न थाली । छोरा रुन थाल्यो । एकछिनपछि पाल्तु कुकुर छोराको खुट्टामा लुटपुटिन आइपुग्यो । छोराको पालो कुकुरलाई लात्तैलात्ताले हिर्कायो । कुकुर कुर्इँ-कुँइ“ गर्दै कर्सीमा डल्लो पर्यो । कुकुरको पालो सबैको रिस पोखिदियो कुर्सि- कसैले थाहा पाएन कुकुरले पोखेको रिस ।

भोलिपल्ट हाकिम भुई तलामा घाम ताप्न झरे । पिउन होसप्रसादले अभिवादन टक्र्यायो । "हाकिमसाहेब, कुर्सी ल्याउ बस्नलाई" उसले चाकरी पनि बिछ्यायो । "हुन्छ, लेऊ " उसले मर्जी तेर्स्यायो । पिउनले कुर्सी मगायो छोरासँग । छोराले कुर्सी राखेर गयो । हाकिम थचक्क बस्यो । अनि जुरुक्क उठ्यो । "हैन के गन्हाउँछ" पछाडि फर्केर कुर्सीतिर हेर्यो । उसले थाहा पाएन । यो उसको हिजोको कर्मको फल थियो भनेर ।

उज्यालो बाटो शिक्षाको

पात्रहरू :-
वीरमान - बुबा -४५ वर्ष
आमा - -४० वर्ष
शेखर - दाजु, वीरमानको जेठो छोरा -१६ वर्ष
प्रदीप भाइ, वीरमानको कान्छो छोरा -१४ वर्षं
नेप्टे - १३ वर्ष नोकर
नरेन्द्र - प्रदीपको साथी
(अन्य साथीहरू -६, ७ जना)
रमा - छोरी -१० वर्ष

(साधारण बैठक कोठा । एकतिर भाइ प्रदीप पढ्न व्यस्त देखिन्छ । अर्कोतिर दाजु शेखर नेपाली डिस्को गीतमा नाच्न मस्त देखिन्छ । गीतको अन्तिम समयमा नोकर नेप्टे किस्तीमा चिया लिएर प्रवेश गर्छ । सुरुमा किस्ती नै बोकेर नाचको नक्कल गर्छ । फेरि किस्ती टेबुलमा राखेर आफ्नो धुनमा नाचको नक्कल गर्छ । यत्तिकैमा बुबाको प्रवेश हुन्छ ।)
बुबा - बन्द गर के गरेको - वाहियात आफू नपढे पनि भाइलाई त पढ्न दिनुपर्छ , नि ? उसको परीक्षाको समय छ ।
(नोकर नेप्टे डराउँदै चिया दिन्छ । दाजु शेखर डराएजस्तो र रिसाएजस्तो गर्छ । भाइ प्रदीप क्यासेट बन्द गर्छ ।)
शेखर - बुबा, (लाडे स्वर पार्दै ) आज ड्राई पिकनिक जानु छ, त्यसैले डान्स सिकेको, क्यासेट प्लेयर पनि लिएर जान्छु है ।
बुबा – पर्दैन (अलिक ठूलो स्वर पारेर) लिएर जानु, सँगैमा भाइ पढिरहन्छ । कक्षामा प्रथम भएर प्राइज लिएर आउँछ र पनि कुनै डिमान्ड गर्दैन । तँ भने डान्स पिकनिकमा दिन बिताउँछस् ?
शेखर – बुबा,,दुई सय रूपेयाँ पनि चाहिएको छ रिल किन्न
बुबा - तँलाई लाज लाग्दैन । भाइ कुनै फरमाइस गर्दैन । तेरो यस्तो नै चाला हो भने के गरेर आफ्नो खुट्टामा उभिन्छस् । सधैँ म तिमीहरूलाई पाल्न सक्दिनँ । मान्छेका छोराछोरी कस्तो दुःख गरेर पढ्छन् ।
नेप्टे – सबैजना चाहिँ पढ्न जान्छन् । मलाई पनि पढ्न रहर छ हजुर....
अघि हजुरले चाहिँ भन्नुभएकोचाहिँ मान्छे दुःख गरेर पढ्छन् चाहिँ त्यसैले म पनि दुःख गरेर पढ्न जान्छु हजुर ।
प्रदीप - बुबा, यो नेप्टे पढ्छ भने रातिको स्कुल हालिदिऊ न । दिनभरि काम गर्छ अनि राति पढ्न जान्छ, हुन्न -
बुबा - हुन्छ नि, त्यसै गर्नु ।
(बुबा जान्छन्)
शेखर - यो मोरो पढ्ने भएको खुरुक्क घरको काम गर्न छोडेर, पढेर के गर्छस ए मोरा . भाँडा कसरी माझ्नु भनेर पढ्छस होला, हैन (नेप्टेलाई हिर्काउँदै भन्छ ।)
नेप्टे - हजुर नपढ्नोस् न , म प्रदीप दाजुजस्तै पढ्छु । (कप टिप्तै क बाट कछुवा ख खरायो खरायोको सिङ छैन कता हरायो भन्दै शेखरलाई जिस्क्याउँछ ।)
प्रदीप - आफू नपढे पनि पढ्न मन हुनेलाई पढ्न दिनुपर्छ नि, दाजु ।
शेखर - पढेर के हुन्छ - नपढेहरू पढ्नेले भन्दा धेरै सम्पत्ति कमाएर ठाँटले बसेका छन् ।
प्रदीप - दाजु, पढ्नु भनेको सम्पत्ति कमाउनु मात्र हैन, आफूले आफूलाई चिन्नु पनि हो । पढाइलाई सम्पत्तिसँग तुलना नगर्नोस् । पढाइ भनेको ज्ञानको भण्डार हो । जसले ज्ञानको आँखा खोलिदिन्छ । पढाइले हाम्रो भित्री आँखा खोलेनौ भने पर्राईले हामीलाई पशुको जस्तो व्यवहार गरेको थाहा पाउन सक्तैनौँ । अनि हामी को आफ्नो को पराया छुट्याउन नै सक्तैनौँ ।
शेखर - भो, तेरो पढाइको भाषण तसँग राख ।
प्रदीप - हेर्नोस् दाजु, पैसा कमाउने लालचमा हामीले हाम्रो स्वाभिमान बेच्न हुँदैन । पैसा भन्दा पनि हामीले हाम्रो देशको नाम राख्ने काम गर्नुपर्छ । धन भन्दा ठूलो यश हो । हामीले हाम्रो काँधमा देश बनाउने अभिभारा लिएका छौँ । त्यसैले देश र जनताको सेवा गर्न केही बन्नुपर्छ । केही बन्न हामीलाई शिक्षाले नै उज्यालो बाटो देखाउँछ । शिक्षा भएन भने हामी अँध्यारामा रुमल्लिन्छौँ र ढल्छौँ । त्यसैले दाजु, हजुर पनि पढेर केही बन्ने अठोट गर्नुहोस् ।
शेखर - छोड्दे यी सब कुरा । मलाई मन पर्दैन । म ड्राइ पिकनिकमा हिँडेँ ।
(केही छिनपछि नोकर नेप्टेको प्रवेश हुन्छ )
नेप्टे - हजुरको चाहिँ साथी आउनुभएको छ ।
प्रदीप - पठाइ दे भित्र नै ।
नरेन्द्र - हेलो यार (हात मिलाउँदै ) तिमीलाई बधाई छ ।
प्रदीप – (बस्न इसारा गर्छ ) के कुराको बधाई -
शेखर - तिमीले पठाएको निबन्ध प्रथम भएछ । हेर त -पत्रिका देखाउ“दै ) ∕ तिमीले दुइ हजार रूपैयाँ पाउने भयौ ।
प्रदीप - अहा धेरै राम्रो भएछ ।
शेखर - अनि अर्को ताजा खबर, हनुमाननगरमा बाढीले धेरै नोक्सान गरेको छ रे जाने हैन स्वयम्सेवक भएन जुनियर रेडक्रसको नाताले ।
प्रदीप - जानुपर्छ, यस्तो उद्धारकार्यमा ढिलो गर्न हुन्न । (बुबाको प्रस्थान हुन्छ ) बुबा हनुमाननगरमा बाढीले धेरै दुःख दिएको छ रे हामी उद्धार गर्न जान्छौँ है -
बुबा - हुन्छ जाओ ।
नरेन्द्र - बुवा हेर्नोस् प्रदीप निबन्धमा प्रथम भएछ । (पत्रिका देखाउदै)
बुवा - स्याबास् छोरा धेरै राम्रो गरेछौ । मलाई तिमीमाथि गर्व छ । अब उद्धारकार्यमा जाओ । तर आफ्नो ख्याल राख्नू, है ∕ (प्रदीप र नरेन्द्र हिँड्छन् । बुबा पत्रिका पढेर बस्छन् )
(आमाको प्रवेश हुन्छ । थालमा पूजासामग्री बोकेर )
आमा - खोइ केटाकेटी - -बुबालाई हेर्दै ) रमा ∕ ए रमा ∕ कहाँ गई हँ - भात पकाउन ठीक पारिसकिस् -
रमा - हजुर ∕-भन्दै प्रवेश हुन्छ)
आमा - खोइ - भान्सा तयार गरिस् ।
रमा - कहाँ गर्नु नि - आफूलाई होमवर्क गर्दै ठीक छ ।
आमा - काम अह्रायो कि होमवर्क हुन्छ, हैन -
बुवा - हैन, तिमीले छोरीलाई किन गाली गरेकी - छोरीले काम नै गर्नुपर्छ भन्ने छ - छोरीलाई पनि पढ्ने अवसर प्रशस्त दिनुपर्छ ।
आमा - छोरीले नगरे कसले गर्छ त - म एक्लैले भ्याउँछु र ∕
बुवा – तिम्रो त्यो लाडे छोरो छ नि, त्यसलाई काम लगाउन सक्तैनौ - तिमीले बिगारेका त हौ नि, मेरो लायकको छोरो भनेर ।
आमा - अं, बिगे्रका जति मलाई अनि सप्रेको जति आफूलाई । खोइ त हजुरको त्यो किताबको कीरो छोरो ।
बुबा - दुवै हिँडे । एउटा पिकनिक हिँड्यो रमाउन । अर्को हिँड्यो बाढी पीडितको उद्धार गर्न ।
आमा - यी यस्तै हुन्छ ∕ छोरीलाई काम लाउन दिँदैनन । छोराहरू घर बस्दैनन् । म मात्र कति दलिनु -
बुवा - हिँड काम भनेको सबैले गर्नुपर्छ । म पनि सघाउँला । -आमा बुबा र रमा भित्र प्रस्थान ) -एकछिनपछि नेप्टे झाडू, बाल्टिन लिएर मञ्चमा आउँछ । अनि क्यासेट बजाएर नाच्तै सफा गर्छ । फेरी सम्झन्छ । अनि एउटा हातमा किताब बोकेर पढेजस्तै गरेर सफा गर्छ । एकछिनपछि क्यासेट बन्द गरेर पढ्दै काम गर्छ ।
नेप्टे - दुइ एकान दुर्इ, दुर्इ दुना चार पढ्ने लेख्न नपाए आफैँलाई लोपार । दुर्इ तिहाई छ दुइ चौका आठ पढ्न-लेख्न नजाने हान आफैँलाई झापड ।
(एकछिनपछि प्रदीप, शेखर, नरेन्द्र र साथीहरू घरभित्र पस्छन् । शेखरलाई अरूले बोकेर ल्याएका हुन्छन् । नोकर नेप्टे डराएजस्तो गर्छ । अनि चिच्याउँछ । हजुरचाहिँ हजुर । भन्दै ।)
(बुबा, आमा, के भयो भन्दै मञ्चमा आउंछन् )
बुवा - के भयो शेखरलाई -
प्रदीप - हामी बाढीपीडितलाई उद्धार गर्न जाँदा बाटामा शेखरदाजुको गाडी दुर्घटना भएको देख्यौँ अनि सबै मिली घाइतेहरूलाई अस्पताल लग्यौँ । शेखरदाजुलाई साधारण चोट लागेको हुनाले पट्टी लगाइदिएको छ ।
(आमा माया गर्छिन् )
बुवा - यस्तै हुन्छ । बरालिएर हिँड्नेलाई ।
शेखर - बुबा अब म बरालिएर कहिल्यै हिँड्दिनँ । प्रदीप र उसका साथी नभएको भए आज म मर्ने थिएँ । मेरा आँखा उघ्रिए । प्रदीपले भनेको मानेको भए यस्तो भोग्नुपर्ने थिएन । मेरो एउटा आँखामा ठूलो चोट लागेको छ रे । मेरो एउटा आँखामा चोट लागे पनि मेरो भित्री आँखा उघ्रेको छ । म अब सधैँ उज्यालो बाटो शिक्षाको नै पहिल्याउनेछु ।
बुवा - प्रदीप आज तिमीले ठूलो काम गर्यौ । तिमीले शेखर र उसका साथीको उद्धार गरेर ठूलो काम गर्यौ । हो यसरी सबैले पहिले आफ्नो घर सपारेर अनि समाज र देशको स्थिति सुधार्नुपर्छ । तिमीले शेखरलाई सही बाटामा ल्याएर ठूलो काम गर्यौँ ।
शेखर - भाइ मलाई माफ गरिदेऊ ।

०००००००

जनस्वास्थ्य अदालत

पात्रहरू- एकजना न्यायाधीश
- दुर्इजना वकिल
- एक बेन्च-असिस्टेन्ट
- तीनजना कीटाणु -भाइरस,ब्याक्टेरिया र अमिबा लेखेको पोसाक लगाएका)
- अन्य छ-सातजना दर्शकहरू

- अदालतको कोठा, एउटा मेच न्यायाधीशका लागि, छेउमा बेन्च-असिस्टेन्ट दुर्इजना वकिल मेचमा बसेका, अन्य छ-सातजना दर्शकहरू, न्यायाधीशको प्रवेश हुन्छ । सबैजना अभिवादन गर्छन् अनि बस्छन् । एकजना वकिल उठेर बोल्न थाल्छन् ।)

वादी वकिल - श्रीमान्, म आज मुद्दाको पक्षको तर्फाट बोल्दै छु । र्सवप्रथम, म श्रीमान्समक्ष आजको मुद्दाको विषयवस्तुको जानकारी गराउन चाहन्छु । मुद्दाको पक्षतर्फा मानिसहरूले अदालतसमक्ष के जाहेरी गरेका छन् भने कीटाणुले मानिसहरूलाई बेलाबखतमा दुःख दिएर धनजनको प्रशस्त हानिनोक्सानी गर्ने हुनाले सोको क्षतिपुर्तिसहित कीटाणुहरूलाई उचित दण्ड दिनुहुन अनुरोध गर्छु । तर्सथ श्रीमानमा म यो निवेदन गर्छु कि अदालतको नजिरअनुसार कीटाणुहरूलाई उचित दण्ड दिनुहुन अनुरोध गर्छु ।

(वादी वकिल बस्छन्, प्रतिवादी वकिल उठ्छन्)

प्रतिवादी वकिल - श्रीमान्, म आजको मुद्दाका विपक्षी कीटाणुहरूको पक्षबाट बोल्दै छु । श्रीमान्, मानिसहरूले कीटाणुहरूलाई विभिन्न आरोप र प्रत्यारोप लगाएर अदालतमा नालिस हालेका हुनाले सोको सही मूल्याङ्कन होस् भनी अदालतसमक्ष निवेदन गर्छु । श्रीमान्, कीटाणुहरूको वासस्थान नै फोहोरमैला सडेका खानेकुराहरू हुन् । मानिसहरूले यस्ता खानेकुरा पैसाका लोभमा वा लापरबाहीका साथ चलाउने हुनाले त्यसमा रहेका कीटाणु पेटमा पुग्छन् । अनि मानिसहरू बिमारी हुन्छन् । त्यसैले श्रीमान्, विपक्षी कीटाणुहरूको यसमा कुनै दोष छैन । यसमा श्रीमानले विचार गरी उचित न्याय दिनुहुन अनुरोध गर्छु ।

वादी वकिल- श्रीमान्, -साक्षी बकपत्र पेस गर्दै) म साक्षी बकपत्र पेस गर्दै यो भन्न चाहन्छु कि कीटाणुहरूले लाखौँ मानिसहरूको ज्यान केही समयमा नै खाइदिन्छन् । ब्याक्टेरिया, भाइरस र अमिबा भन्ने कीटाणुहरूले दिनको चार रातको चौगुणा गर्दै आफ्ना सन्तान बढाउँछन् र मानिसहरूलाई हमला गर्छन् । जति नै सरसफाइ राखे पनि उनीहरू आफ्ना सन्तान बढाउन सफल हुन्छन् । उनीहरूको लक्ष्य नै मानिसहरूलाई यो संसारबाट खतम गरेर उनीहरू आफूमात्रै बाँच्न चाहने हो । त्यसैले श्रीमान्, पक्ष मानिस पीडित छन् । न्याय पाउने निवेदन गर्छु ।
प्रतिवादी वकिल- श्रीमान्, मेरा विपक्षी साथीले भन्नुभएको कुरा सरासर गलत हो ।
वादी वकिल- होइन श्रीमान्, यो गलत होइन । यो कुरा साक्षी बकपत्रमा अझ प्रस्ट छ ।
प्रतिवादी वकिल- होइन श्रीमान् ।
न्यायाधीश- अर्डर, अर्डर, अर्डर, -पुन- प्रतिवादी बोल्न उठ्छन् वादी बस्छन् )
प्रतिवादी वकिल- श्रीमान्, मेरा प्रतिपक्षी कीटाणुहरूको लक्ष्य मानिसको वंश खतम गर्ने भन्ने कुरा सरासर गलत हो । किनभने सबै कीटाणुहरूले मानिसहरूलाई हानि गर्दैनन् । कति ब्याक्टेरिया र भाइरसले उनीहरूलाई फाइदा गर्छन् । त्यसैले श्रीमान्समक्ष म ब्याक्टेरिया र अमिबा नामको कीटाणु पेस गर्न चाहन्छु ।
न्यायाधीश- अनुमति छ ।
बेन्च-असिस्टेन्ट- ब्याक्टेरिया, भाइरस, अमिबा हाजिर हुने ।
(ब्याक्टेरिया, भाइरस, अमिबा अदालतसामु आउँछन् )
(बेन्च-असिस्टेन्ट गीताको किताब छुवाउँछन् )
कीटाणुहरू- म साँचो र सत्यमात्र बोल्छु ।
वादी वकिल- के तपाईँहरू मानिसहरूलाई हानि मात्र गर्नुहुन्छ - मानिसहरूको वंश खतम गर्न चाहनुहुन्छ -
ब्याक्टेरिया- होइन श्रीमान्, हामी मानिसहरूको वंश खतम गर्न चाहन्नौ । हामी, म ब्याक्टेरियाको सन्तानमध्ये कतिले मानिसहरूलाई फाइदा गर्छौँ । मानिसहरू दूधबाट दही बनाउँदा हामीलाई नै प्रयोग गर्छन् । अरू मीठा-मीठा खानेकुरा, औषधि हाम्रा सन्तानले बनाइदिन्छन् ।
अमिबा - श्रीमान्, म अमिबा पनि आफ्नो सफाइ दिन चाहन्छु । श्रीमान्, मानिसहरू संसारमा र्सवश्रेष्ठ प्राणी हुन् । उनीहरूले आफ्नो वंशलाई जोगाउन विभिन्न औषधिहरू पत्ता लगाइसकेका छन् । त्यसैले उनीहरूलाई नाश गर्नु सम्भव कुरो पनि होइन । कति मानिसहरू फोहोर पानी पिउँछन्, जहाँ म बसेको हुन्छु । त्यस्ता फोहोर पानी र खानेकुरा खाँदा नै म मानिसहरूलाई झाडापखाला लगाउँछु । त्यसैले मानिसहरूले स्वच्छ पानी पिइदिए सफा सुग्घर भए हामी उनीहरूको नजिक पनि बस्ने थिएनौँ, श्रीमान् ।
भाइरस - हो श्रीमान्, मानिसहरूलाई जस्तै यो संसारमा हामीलाई पनि बाँच्ने अधिकार छ । हामीलाई प्रकृतिले यस्तो वासस्थान दिएको छ । हामी यस्तामा नबसी कहाँ बस्न जाने - त्यसैले श्रीमान्, कीटाणुको पक्षमा न्याय गरिदिनुपर्यो ।
प्रतिवादी वकिल- तपार्इँहरूलाई जान अनुरोध गर्छु ।
(तीनजना कठघराबाट बाहिर निस्कन्छन् )
(केही छिनपछि )
न्यायाधीश- आजको बहसमा भएको पीडित पक्षको सुनवाइ र विपक्षीको सुनवाइअनुसार कीटाणुको कुनै दोष नभएको यो अदालत ठहर गर्छ । यस सुनवाइमा मानिसहरूले आफ्नो लापरबाहीका कारण फोहोरमैलामा बस्ने र त्यस्ता ठाउँमा बसेका कीटाणु भएका खानेकुरा खाने हुनाले उनीहरूलाई आफ्नो सुरक्षाका लागि सफासुग्घर भएर बस्ने, खाना खानुअघि र पछि हात धुने, चर्पीको राम्रो प्रयोग गर्ने, सफा पानी पिउने र सडेगलेका खानेकुरा नखाने आदेश दिँदै जनस्वास्थ्य-अदालत कीटाणुको कुनै दोष नभएको ठहर गर्छ ।

००००००००


लुरेको सफलता

पात्रहरू-
लुरे- आठ-नौ वर्षो केटो
मामा- २४-२५ वर्ष (लुरेको मामा)
आमा- २६-२७ वर्ष(लुरेकी आमा)
साने- लुरेको साथी
सानो केटो- ४-५ वर्षो
दिदी, बहिनी- लुरेकी दिदी अनि बहिनी
(मञ्चमा बोल्ने, पुरस्कार दिने र केही दर्शकहरू)
दृश्य- -घरको आँगन, आँगनमा लुरेका मामा उभिएका छन् ।)
मामा- ए लुरे, ए लुरे ∕ के गर्नु भान्जा-भान्जीलाई पनि यसरी हकारेर बोलाउनुपर्छ । भानिज.., ए भानिज..., कहाँ गए हँ ∕ दिन यतिका भइसके, अझ गाईबस्तु फुकाएका छैनन् कता मर्न गए भनेको ह“ -
लुरे- हजूर.. -देखापर्छ)
मामा- हैन आज गाईबस्तु फुकाउनुपर्दैन कि क्या हो - जुम्रा मारेर बसेर हुन्छ -
लुरे- म गाईबस्तु हेर्दिनँ मामा । मलाई पढ्न पठाइदिनोस् न ।
मामा- पढ्ने अरे.. तिम्ले पढेर कसले हेछन् यी गाईबस्तु । यसो भिनाजु पनि खसिहाले । दिदीलाई लाउन-खान दिन पनि धौ-धौ पर्यो भनेर दयामाया गरेको त पढ्न जान्छु, पढाइ दिनोस् पो भन्छन् है गाँठे । क्यारे≤ आफ्नो छोरो पढाउन त आफूलाई कुन हविगत । अनि यी अर्काका सिसो-बासो , न त जस दिन्छन् क्यारे, न त फलिफाप हुन्छ ।
लुरे- मामा, तपार्इँले मेरी आमालाई भानिजलाई पढाइदिन्र्छु भनेर ल्याउनुभएको होइन । बाउ पनि मरिगए । बाउ भएका भए मलाई पनि तपाईँका छोरालाई जस्तै पढाउँथे होलान् ।
मामा- यी भानिज साह्रै बोल्ने भएछन् ए गाँठे... चाहिने मामलको भातले पोस लागेछ कि क्यार । ल्याउँदा मर्छन् कि बाँच्छन् जस्ता थिए । अहिले यस्तो बोल्ने भए भनेर कसले पत्याउ“छन्.. ए गाँठे । लौ खुरुक्क गाईबस्तु हेन जाऊ । बढ्ता कुरा नगर ।

-लुरे भित्र पस्छ । मामा पनि स्टेजभित्र पस्छ ।)
-एकछिन लुरे मसिना केटाकेटीलाई गाईबस्तु बनाएर स्टेजमा देखापर्छ । हँ... हँ... माले भन्दै गाईबस्तुलाई स्टेजको एउटा ढोकाबाट निकालेर अर्को ढोकातिर लान्छ । साने भन्ने केटो पनि लुरेजस्तै गाईबस्तु निकालेर एउटा ढोकाबाट अर्को ढोकातिर खेद्छ । दुवैजना आएर एकै ठाउँमा बसेर गफ गर्न थाल्छन् ।)

साने- हैन हाउ.. लुरे, तेरो मुख निकै अँध्यारो देख्छु नि, क्या हो के परो भन न
लुरे- तेरो मुखमा किरा परो । नकरा मलाई (र्झकदै भन्छ ) ।
साने- हैन हाउ साने त्यसो नभन् न हाउ । आखिर म तेरो साथी हुँ । जे भए पनि तलाई हाँसेको देख्न चाहन्छु म ।
लुरे- देखिनस् ती मामा भनाउँदा, मलाई पढाउँदैनन् अरे । म सधैँ तिनीहरूका गाईबस्तु हेरेर बस्नु अरे । आफूलाई पढेर ठूलो मान्छे बन्न अनि क्या हो≤ त्यो मान्छे बोक्ने घ्याम्पोजस्तो ठूलो हुन्छ अरे नि, त्यसमा गुड्न मन छ । तर यी मामा मेरा कंस हुन् क्या कंस अब म यिनीहरूकोमा सधैँ बसिरहन्नँ। भागेर गएर मधेसमा भाँडा माझेर भए पनि पढ्छु । अनि ठूलो मान्छे भएर यी मामाहरूलाई देखाउँछु ।
साने- हैन हाउ भाग्ने कुरा बन्दै नगर् न हाउ । मेरो माया लाग्दैन तँलाई ।
लुरे- लाग्छ नि... ∕ लागेर के गर्नु, मलाई तँ जस्ता धेरै साथी बनाउनु छ अनि धेरै साथीको माया छातीभरि राख्नु छ ।
साने- त्यसो भए तँ मान्छे चढ्ने घ्याम्पामा चढ्न जान्छस् हैन त... -
लुरे- हो त्यो धरानमा छ अरे भनेको सुन्छु । हेरौँ । कहिले हेन पाइने हो ।

(त्यत्तिकैमा हेलिकप्टरको आवाज आउँछ । दुवैजना आवाज सुन्छन् ।)

साने- ए लुरे, सुन त त्यो मान्छे बोकेर हिँड्ने ठूलो चील हुन्छ रे नि, त्यसको आवाज आउँदै छ । अस्ति हाम्रा बाले भनेका त्यसमा मान्छे चढेका हुन्छन् रे । त्यो माथिको आर्मी क्याम्पमा कहिलेकाहीँ आउँछ नि, मलाई त हेर्न कस्तो मन छ ।
लुरे- हो नि हाउ मलाई पनि त हेर्न कस्तो मन छ । हेर्न जाउ भने गाईबस्तु हराउलान् भन्ने पीर । हराए भने मारिहाल्छन् मामाले ।साने- हराउँदैन हाउ, ऊ त्यहाँ हेर आर्मी क्याम्पतिर -उठेर देखाउँदै) आउँदै छ । जाऔँ अलिक मास्तिरबाट हेरौँ । मान्छे कसरी बस्दा रहेछन् । अनि कसरी उड्दो रहेछ हेरौँ।
लुरे- छोड् दे साने गाईबस्तु हराउँछन् ।
साने ( आइज न आइज, -तान्दै) अलिक पर लगेर घाँटी तानी-तानी हेर्छन् । हेर त मान्छे निस्केका । त्यसका त लामा-लामा जुँगा पनि रहेछन् । भुँडी पनि कत्रो ठूलो हगि । त्यसभित्र त मान्छे पो कोचिँदा रहेछन् त ।
लुरे- हो त मैले पनि अलि-अलि देखेँ । मान्छे सबै झरे । अब कुन बेला उड्छ कोनि ।
साने- अब एकछिनपछि उड्छ । त्यसलाई थकाइ लाग्यो होला । त्यतिन्जेल हामी खाजा खाऔँ न । अनि उडेको हेर्न मजा आउँछ क्या । आँ.., कति डराउनु, जे पर्ला, पर्ला नि हाउ... ।
(दुवैजना पोल्टाबाट मकै झिकेर खान थाल्छन् ।)

एकछिनपछि

साने- साह्रै तिर्खा लाग्यो हाउ लुरे मलाई त । ऊ त्यता कुवा छ कि म पानी खान्छु । अनि तँलाई पनि ल्याइदिऊँ कि क्या हो ।
लुरे- ले र आ न त । म यहीँ बस्दै गर्छु
(साने पानी लिन जान्छ ।)
(एकछिनपछि लुरे उङ्न थाल्छ । अनि निदाउँछ ।)
(एकछिनपछि हेलिकप्टर उडेको आवाज आउँछ । लुरे तर्सेर उठ्छ अनि हेर्न थाल्छ । सानेको बाटो हेर्छ ।)
(एकैछिनपछि साने आइपुग्छ ।)
लुरे- के बिघ्न ढिला गरिस् साने तैँले त । म त बाटो हेर्दाहेर्दै निदाएछु ।
साने- तँ डरछेरुवा हेर्न हिँड् न जाउँभन्दा मानिनस् अनि म त क्याम्पसम्म पुगेर आएँ । त्यो चील उडेको पनि हेरे। क्या मज्जा आयो । त्यसका जुँगा त कस्तो गरी घुम्दो रहेछ । रोटेपिङ भन्दा छिटो । फननन..... गरेर । -आफै घुमेर देखाउँछ )
लुरे- छोड.. (समाउदै भन्छ ) तँ गाईखाने उता गइस्, मलाई डरछेरुवा भन्छस् । भरे बस्तु हराए भने तँलाई नै पोल हालिदिन्छु । ल हिँड् साँझ पनि पर्न लागिसक्यो ।
साने- ल.. हिँड त.. हिँड् ।
(दुवैजना "ए तार ए काली लाखे है लाखे भन्दै कराउँछन् )
(एकछिनपछि अघि चर्न गएका गाईबस्तु स्टेजमा एउटा ढोकाबाट देखापर्छन् र अर्को ढोकाबाट निस्कन्छन् ।)
लुरे- हैन हाउ साने, त्यो राती गाई त छैन नि हाउ । भरे मामाले दूध दुहुने बेलामा खोज्छन् । मार्ने भए आज, के गरौँ -
साने- नडरा न, भोलि आइहाल्छ नि । हाम्रा बाले भनेका जङ्गलमा बाघ, चितुवा छैनन् रे केले खान्छ र ∕ आज साँझ- परिसक्यो । हिँड् जाऔँ ।
(दुवैजना गाईबस्तुसँगै ढोकाबाट भित्र पस्छन् )

दृश्यपरिवर्तन – (चुल्हा छेउमा हजुरआमा छेउमा मामाका छोरा, लुरे भात खादै गरेको , भान्सा कोठाको दृश्य)
हजूरआमा- (सानो केटालाई) ला .. बाबू दूध खा ।
लुरे - हजूरआमा, अलिकति दूध मलाई पनि दिनोस् न ।
हजूरआमा- के रे - दूध ∕ गाईबस्तु राम्रो चराउन नसक्नेलाई दूध । अहिले यही अगुल्टाले हानिनँ भने । दूधचाहिँ खान जा न त्यही राती गाईको । दूध दुहुना गाई हराएर भुत्रो खान्छस् । अब गाई पनि बिग्रिने भयो । पख् न तेरी आमा आएपछि सबै कुरो लाइदिन्छु ।
लुरे- आज हराएर के भो त हजूरआमा । भोलि भेटिइहालिन्छ नि । सानेका बाउले भनेका जङ्गलमा बाघ, चितुवा छैन रे केले खान्छ र । मलाई दूध दिन कति गाह्रो मान्नुभएको ।
हजूरआमा- जो चोर, उसकै ठूलो स्वर । तेरा घरमा खान्छस् होला नि दूध । तेरा बाउलाई टोकिहालिस् । अब मामलकालाई पीर दे न ।
लुरे- हजूरआमा, त्यसरी नभन्नू न । मलाई पढाइ पनि दिनुभएन अनि खान र लाउन पनि राम्ररी दिनुभएन भने म त जान्छु भागेर सहर । (रुन्चे स्वरमा भन्छ )
हजूरआमा- बाउलाई टोकिस्, अब भागेर आमालाई पिर् न । अरू के गर्न सक्छस् (रिसाएर) ।
लुरे- त्यसो भए अब म आमासँगै जान्छु । यहाँ बसेर म के गरूँ । सँगैमा मामाका छोराहरू दूध खान्छन् । मलाई भने गाली ।
हजूरआमा- तँ डाँक्लेलाई कसले दिन्छ दूध, दूध खान त बालख हुनुपर्छ । पख्, तेरी आमा आउन दे । म सब पोलिनछु भने । मरी जाउँ ।

दृश्यपरिवर्तन- (घरको आगनमा लुरेलाई गाली गर्दै )

मामा- (लुरेलाई झापड हान्दै) राती गाई भेटिहाल्छ नि भन्दै गफ लगाएको हैन । ल जा... गाईबस्तु हेर्न जाने हो कि - चील उडेको हेर्न जाने - अब जाने कि नजाने -
(लुरे रुन थाल्छ, त्यसै समयमा हजूरआमा आइपुग्छिन् । मामालाई सम्झउँछिन् ।)
हजूरआमा- छोड् बाबु छोड् दे केटाकेटी नै छ । बुद्धि आँ छैन ।
मामा- छोड् भन्छौ । अनि राती गाई हराएको कसले ल्याउँछ ।

(त्यसै समय आमा पनि आइपुग्छिन्, आमासँगै लेपास्सिँदै लुरे रुन्छ ।)

हजुरआमा- हेर् कान्छी, क्यारे मेरो छोरालाई पिटे भनेर नभन् । हामीले खानलाउन मनग्गे दिएका हौँ । तेरो छोरो दिनभरि बरालिएर त्यही जाबो गाईबस्तु पनि राम्ररी नहेरे हामीले के गर्नु । हिजो राती गाई हरायो । मामा र मलाई ठाड्-ठाडै मुख लाग्छ । के गर्छेस्, भागेर सहराँ जान्छु भन्छ । भागिदियो भने तलाई पनि पीर अनि हाम्लाई पनि पीर ।
मामा- हेर दिदी, भिनाजु खसिहाले, तिम्रा अरू पनि केटाकेटी छन् । खानलाउन धौ हुन्छ भनेर यी भानिजलाई मैले राखिदिन्छु भनेर लेर आँ । तर तिम्रा छोरो बरालिएर हिड्छ । केही भन्यो उल्टै जबाप- लाउछ । क्यारे आफ्नो एउटै छोरो पढाउन त मलाई कत्रो हविगत छ । तिमी जे भन्छौ त्यही गर ।
आमा- हेर्नोस्, आमा, हेर भाइ, मेरो लोग्ने भने पनि छोरा भने पनि मेरो सहारा यही एउटै छ । यसले पढ्न अचाक्ली मन गरेको छ । म के गरौँ - गाईबस्तु हेरेर बस्दिनँ भन्छ । बाउ मरेर गइहाले नत्रभने बनिबुतो गरेर भए पनि एउटा छोरो पढाउँथे होलान् । मलाई पनि माइतको आड हुन्छ भनेर छोरो पठाएँ । खानलाउन त मेरो पेट काटेर भए पनि छोरो पाल्न सक्छु । तर के गरूँ । मामाहरूको सङ्गतले कखरा चिन्छ कि भनेर पठाएको । घरकाले पनि अंश दिन्नौँ पोइल जान्छेस् भनेर खेदो गरे । यी बालख लिएर कहाँ जाऊ म ।
मामा- आफ्नो औकात नभए किन पढाउन मन गर्र्छौ दिदी - यसलाई पढाउन हुनुपर्यो नि जायजेथा ∕ त्यसै आकाशको तारा ताकेर हुन्छ ।
आमा- हेर भाइ, यसले यहाँ नबसौँ सहराँ जाऔँ, म भाँडा माझेर भए पनि पढ्छु भन्छ । सहरामा ज्यालादारी काम पाइन्छ भन्छन् । म के गरूँ । मलाई घरकाले पनि आड दिएनन् । माइतको यस्तो चाला छ । दुःख परेको बेला कोही आफ्नो हुँदैन रहेछ । सबै सुखमा मात्र हाई-हाई गर्दा रहेछन् । -आमा सुँक्क, सुँक्क गरेर रुन्छिन् )
हजुरआमा- के गर्छेस् खोइ कान्छी । मलाई तेरो चिन्ता लागिरहन्छ नाइँ । तर के गर्नु । पर गएकी छोरी । अर्काको सिसोबासो बेहोर्न पनि सकिँदैन रहेछ । तेरो खुसी गर ।
आमा- आमा अब म जान्छु, मधेसतिर झर्छु अनि उतै अलिकति वन फँडानी गरेर यी छोराछोरी पाल्छु । छोराले साह्रै रहर गर्यो । मरे भने सबै सन्तान लिएर मरौला । भगवानले हात थापे बाँचौँला । औलोबाट बाँचे फेरि भेटौला आमा । अनि भाइ मलाई बिदा दे सन्चोसुबिस्ता खबर पठाउँला ।

(आमा बिदावारी मागेर हिँड्छिन्, हजुरआमा र मामा घरतिर पस्छन् । लुरे आमाको पछिपछि लाग्छ ।)

(केही छिनपछि एउटी ठूली छोरी, लुरे र सानी छोरी लिएर डोकामा मनग्गे सामान बोकेर आमा स्टेजमा देखापर्छिन् ।)
लुरे- हेर त आमा त्यसभित्र मान्छे चढेका हौ ।
आमा- बाबु, यसलाई गाडी भन्छन् । यसले मान्छेलाई बोकेर गुड्छ ।
लुरे- आमा हामी पनि चढौँ न कस्तो हुँदो रहेछ ।
आमा- छोरा यसमा चढ्न पैसा धेरै लाग्छ । अहिले नचढौँ । हामीले अझै हिँड्नु छ । हिँडेर नै पुग्नुपर्छ ।
लुरे- ठीकै छ आमा, हिँडौ न त । तर हामी कहाँ जाने आमा ।
आमा- मधेसमा तेरा हजूरबाका मीत छन् । उनको धेरै जमिन छ रे भनेको सुनेको हुँ । त्यहीँ गएर जमिन कमाएर बस्नुपर्छ । एक पेट त पालिएला नि, छोरा -
लुरे- हुन्छ आमा, अलिक राम्रो बन्दोबस्त भएपछि म पनि स्कुल जाउँला । हुन्न आमा । मधेसमा स्कुल पढ्न गाह्रो छैन । अनि आमा भोक लाग्यो, के खाने -
आमा- हिँड् न छोरा, आजसम्म पुगियो भने उतै भात पकाएर खाउँला भोक त लाग्दै गर्छ नि ।
(सबैजना हिँड्दै भित्र पस्छन् )

दृश्यपरिवर्तन ( भान्साकोठाको दृश्य, छेउमा चुल्हा, केही गाग्रा र थाल बटुकाहरू )

(लुरे र आमा खुइय गर्दै भित्र पस्छन् । ठूली छोरी चुल्होछेउमा भात पकाउँदै छे । सानी छेउमा सुति राखेकी छे ।
आमा- खोइ, ठूली भात ले, खाऊ।
लुरे- आमा थाकिएछ नि हाउ । भोक पनि जोडले लागेको छ ।
आमा- थाक्यौ नि छोरा । बिहानको ३ बजे देखि धान काट्न हिँडेका दिनभरिमा आमाछोरा भएर झन्डै एक बिघा खेतको धान काटिएछ अनि थाकिँदैन त ∕
लुरे- आमा, अब हामी भोकभोकै बस्नुपर्दैन हगि । मीत हजूरबाले अलिकति जमिन पनि दिन्छु भनेका छन् । उनी यहाँका ठूलाबडा पनि हुन् । अनि हामी धान काटेर पनि पैसा जोहो गर्र्छौँ, हैन आमा - अँ साँच्चि आमा, अब धान काट्ने काम सकिएपछि म स्कुल पढ्न जान्छु, है -
आमा- हो छोरा, अब तँ स्कुल पढ्न जानू । यत्तिकै लागि त म पहाडबाट हामफालेर माइतमामल छोडेर आएँ।
लुरे- खोइ लेऊ, दिदी, भात खाऊँ । एकछिन क, ख पढेर सुत्छु म त ।

(सबैजना भात खाएजस्तो गर्छन् । एकछिनपछि सुत्छन् । लुरे किताब पढिरहन्छ कुपी बालेर ।)

-नेपथ्य ( लुरेले धेरै मिहिनेत गरेर पढ्यो । उसले धेरै राम्रा-राम्रा काम गर्यो । उसले समाजलाई धेरै काम लाग्ने राम्रा-राम्रा किताब लेख्यो । उसले ठूलो दुःख भोग्यो तर पनि उसले कहिले हरेस खाएन । अनि आफूजस्तै दुःख परेकालाई धेरै सहयोग गर्यो । उनीहरूको उद्धार गर्यो । उसलाई धेरै मान्छेले चिने । धेरैले उसलाई माया तथा सम्मान गरे । आज उही लुरे देशको एउटा गौरवशाली व्यक्तिको रूपमा चिनिएको छ ।)

(एउटा मञ्चजस्तोमा लुरे र दुइचारजना मान्छे बसेका छन् । एउटा छेउमा उद्घोषक अनि अरू दर्शकहरू छन् ।)

उद्घोषक- आदरणीय उपस्थित सज्जनवृन्द तथा महिलाहरू, मानिसले जीवनमा धेरै दुःख गरेका हुन्छन् । तर दुःख गरेर पनि जोकोहीले यसरी राष्ट्रिय सम्मान पाउन सक्तैनन् । तर आज तपाईँ-हामीहरूको बीचमा एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले धेरै दुःख गरेर अनि आफूजस्तै दुःख परेकालाई सहयोग गरेर आज यो पुरस्कार तथा सम्मान पाउँदै हुनुहुन्छ । वहाँ हुनुहुन्छ साहित्यकार तथा समाजसेवी सफलबहादुर ।
वहाँले जीवनमा धेरै दुःख पाउनुभयो । तर त्यो दुःखलाई वहाँले हाँसीहँसी स्वीकार गरेर समाज अनि देशलाई भलो हुने काम गर्नुभयो । हामीले पनि वहाँको जीवनीबाट प्रेरणा लिनुपर्छ । अनि कहिले हार नखाई राम्रा-राम्रा काम गरेर सबैको प्रिय बन्नर्ुपर्छ । हामीले वहा“बाट ठूलो शिक्षा लिनुपर्छ ।
अब म प्रमुख अतिथिलाई पुरस्कार तथा सम्मान गर्नुहुन अनुरोध गर्छु ।
-प्रमुख अतिथि उठेर माला लाइदिन्छन् अनि पुरस्कार दिन्छन् । मञ्चमा बसेका सबैजना अबिर लाइदिन्छन् । दर्शकहरू उठेर ताली मार्छन् ।)

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।