April 30, 2010

सानीको साहसदेखि मेरो साहससम्म


सिहंदरवारअगाडिको सडकको पेटीमा निलो शिरीष ढकमक्क भएर फुल्न थालेको छ । म काठमाडौं आउनअघि निलो शिरीष मैले पारिजातको शिरीषको फूलमा मात्र पढेकी थिएँ । यसरी देख्न पाएकी थिइनँ । निलो शिरीष देखेर म रोमान्चित हुन्छ । मलाई आफू पारिजातको शिरीषको फूलमा रुपान्तरित भएझैं लाग्छ र आफूलाई विश्लेषण गर्न थाल्दछु । धेरै हौसला, उत्साह र शक्ति लिएर काठमाडौं आएकी छु । म कीर्तिपुरबाट र्फकदै छु । गाडी जाममा छ । एकपछि अर्को गाडी आफ्नो अस्तित्वको शङ्ख फुकिराखेका छन्-कान खानेगरी । फेरि उनीहरूले ओकेलीरहेछन् विषाक्त धूवाँ पनि उसैगरी । सायद यिनीहरू पनि दिनभरिको चक्करमा दिक्क मानेर विद्रोहोग्नी ओकेली रहेछन् । यतातिर मेरा शरीरका पार्टपूर्जा पनि उसैगरी विद्रोहको सिटी बजाइरहेछन् । सबै जोर्नीहरू दुखेर अहिले उछिटिएर टुक्रन्छन्झै भएका छन् । हे इश्वर ! मलाई शक्ति देऊ, मेरो साधना मेरो तपस्या यसरी भङ्ग नगरी देऊ । म इश्वरसँग कामना गर्दछु । मस्तिष्कभरि विश्वविधालयमा प्राध्यापकहरूले पढाएका पाठहरू र प्राध्यापकका आ-आफ्ना पढाउने शैलीहरू घुमिरहेका छन् । फेरि र्फकदा बाटामा गर्नुपर्ने कामको लामो लिस्ट मस्तिष्कमा छ । वर्षौदेखि क्याम्पसीय जीवन बिताउने सपना अहिले पुरा भएको छ । कहिलेकाहीँ यो सपना हो कि जस्तो लाग्छ । तर होइन यो विपना हो यो मेरो सङघर्षको प्रतिफलको । यो मेरो विद्रोहको प्रतिबिम्ब हो ।
कीर्तीपुरको मेरो अध्ययनको कुरा गर्दा मैले साहित्यको चर्चा गरिनँ भने अधुरो हुन्छ र साहित्यको चर्चा गर्दा मेरो स्वास्थ्यको चर्चा गरिनँ भने झनै अधुरो हुन्छ । यी तीन कुरा मेरो वर्तमान जीवनमा एकअर्कामा चुम्बकीय शक्ति बनेर आकषिर्त छन् ।
ती तीनै कुराको पृष्ठभूमिमा मेरो जीवनको विगतको यो कथा उभिएको छ । कान्छीछोरी जन्मेपछि करीब तीनचार महिना पछाडि मेरो घुडाँ दुख्न थाल्यो । मैले घुडाँको चेकअप स्त्रीरोग विशेषज्ञलाई गराएँ । उसले हर्मोनको इन्जेक्शन दिएको रहेछ । हर्मोनको इन्जेक्शन भन्नेकुरा पछि मलाई थाहा भयो । त्यो इन्जेक्शन लगाएपछि म यति सारो मोटाएकी सबैजना छक्क पर्थे । मलाई खाने कुरा यति धेरै रुच्थ्यो त्यो भनिसक्ने अवस्था थिएन । प्रत्येक दिन बेलुका दालभात तरकारी मनग्ने भएर पनि दुईवटा अण्डाको अमलेट र एक गिलास दूध अनिवार्य चाहिन्थ्यो । त्यो दूध एक जना बहिनीले ल्याउथी । त्यो दूध गन्हाउथ्यो । उसलाई भन्दा जहिले डब्बा गन्हाएको भन्थी । यसरी त्यो दूध धेरै पिउने म मात्र थिए । मैले एकदिन पत्रिकामा पढे भैसीलाई तुरुन्त दूध पगार्ने इन्जेक्शन लगाएर यसरी दूध दुहिन्छ भनेर र त्यस्ता दूधले क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यसपछि मैले त्यो दूध खान छाडेँ । त्यसपछि मेरो जीवनमा केही उतारचढाव भयो मैले सत्यको पक्षलिदा ठूलो तीतो यथार्थ भोग्नु पर्यो । जुन यथार्थ सँगै मैले अस्तित्ववोधको पीडामा पिल्सनुपर्यो । म रातभर त्यसपीडाले जलिरहन्थे । त्यसै पनि मेरो पढ्ने बानी थियो । त्यो पीडाले मलाई झन साहित्यीक अध्ययनतिर लगायो । त्यस पीडालाई मैले प्रतिभामा परिणत गरेँ । चारपाँच वर्षेखि पाण्डुलिपि रुपमा थन्किएको सानी छाप्न काठमाडौं आए ।
काठमाडौँ आएपछि मेरो पेटमा अचानक समस्या देखिन थाल्यो । पेट असाध्यै दुख्ने र दुखेपछि ट्याइलेट जानुपर्ने र गएपछि हातखुट्टा गलेर उभिनै नसक्ने हुने । विमारको यो लक्षणपछि विराटनगरमा डा. ज्ञानेन्द्र गिरिका चेक अप गराए । इन्डोस्कोपि गरेपछि आन्द्रा सुन्निएको र लिभरमा खराबी देखियो । एक महिनाको औषधि सेवन गरेपछि पनि विमार जस्ताको तस्तै थियो । त्यसपछि अर्को डाक्टरलाई जचाएँ । उसले पित्तथैलीमा बोसो जमेको छ र त्यो पित्तथौली काटेर फ्याक्नुपर्ने सल्लाह दिए । म फित्तथौली फ्याक्न काठमाडौँ आउन तयार भएँ । त्यसको दुइदिन अगाडि स्कुलमा निशुल्क स्वास्थ्य शिविर थियो । त्यो स्वास्थ्य शिविरमा सकीनसकी गए तर मेरो स्वास्थ्य स्थिति विग्रदै गयो. ।उभिन नसक्ने अवस्थामा भयो । त्यसपछि एकजना सर शशी श्रेष्ठज्यूको सहयोगमा घर आए ।
काठमाडौँ आएपछि डा. सरोज धिताललाई देखाए । उहाँले पित्तथैलीको बोसोले मात्र यो समस्या नहुन सक्छ एकपल्ट फिजिसियनलाई देखाउनुहोस् भनी सल्लाह दिनुभयो । धेरै मुश्किल पछि डा. सुन्दरमणि दिक्षितसँग भेट भयो । उहाँले बिहान धेरै ध्यू भएको परिकार खाएर रगत जचाउनुहोस् भन्नुभयो मैले सोही गरे । रिपोर्ट हेरेर के भन्नुभयो भने तपाईको रगतमा केही खराबी छ ध्यू र डाल्डामा बनेको परिकार नखानु होला । यति भनेर उहाँले एक महिनाको औषधि दिनुभयो । औषधि खादै जाँदा केही विशेक भएपनि हातखुट्टाका छाला लाटिएझँै भए । यो कुरा डाक्टरलाई अवगत गराउँदा औषधि खान छोड्ने सल्लाह पाएँ । त्यसपछि अर्को विकल्प अप्रेशन गर्नु नै थियो अप्रेशन डा. सरोज धितालबाट भयो । उहाँ अत्यन्त मिजासिलो र असल हुनुहन्थ्यो । यसबेला सानीले साझा बालपुरस्कार प्राप्त गरिसकेको थियो । अप्रेशनताका काठमाडौं बहिनीजुवाइ मिना र माधव बस्नेतको सहयोग तिरिनसक्नु भएर रह्यो । यति विमारी हुँदा पनि मेरो साहित्यलेखन दूवो मौलाएझैँ मौलाएको थियो । अझ स्पष्ट भन्दा जतिजति म अस्वस्थ्य हुन्थे उति साहित्य लेखन अघि लागेर हिँड्थ्यो । अप्रेशन गरेपछि चाहिँ मेरो स्वास्थ्य स्थिति अत्यन्त नाजुक भयो । म उठेर बस्न सक्दिनथेँ चियाको गिलास मुस्किलले उठाएर खान्थे । लाग्थ्यो जीवनको यो अन्तिम क्षण हो । यो अवस्थामा पनि म सानीको भाग दुईको लागि चिन्तित भइरहन्थे । घरमा सबैबाट लेख्न र पढ्न पूरै बन्देज लगाइएको थियो । धेरै अघिदेखि सानीको साहसको विषयवस्तु सोचिरहेकी थिएँ । शरीर अशक्त भएपनि मस्तिष्क क्रियाशील थियो र तर लेख्नलाई हात लाग्दैनथ्यो । मुश्किलले सानीको साहसको पहिलो खेस्रा तयार गरेँ । त्यो छोटो थियो र अहिलेको जस्तो विस्तृत थिएन । त्यो खेस्रा परशुदाइलाई हेरिदिनु होला भनेर पठाए । दाजुले त्यो खेस्रा त्यति राम्रो छैन भनेर ठाँउठाउँमा कमेन्ट गरेर पठाउनु भयो । वास्तवमा त्यो राम्रो छैन भन्ने मेरो पनि मनमा थियो ओछ्यानमा सुतेको अवस्थामा कल्पना गर्ने समय म सँग प्रशस्त थियो तर लेख्न र कम्प्युटरमा बस्न मनाही थियो अब मैले सम्पूर्ण रूपमा अहिलेको सानीको साहसको विस्तृत विषयवस्तु मस्तिष्कमा तयार गरेँ । त्यसपछि लुकीलुकी लेख्न थालेँ । लेख्दा हात दुखेर खपी नसक्नु हुन्थ्यो । आँखाबाट आँसु तररर झर्थे र हातलाई थिच्दै, मिच्दै लेख्ने गर्दथे । असह्य भएपछि लेख्न छाड्थे । मर् इश्वरलाई प्राथना गर्दथे । हे इश्वर मेरो साधना खेर नजाओस् यो कृति सबैको प्रिय बनोस् । लेखिसकेपछि म आफू सन्तुष्ट भए । मैले सानीलाई न्याय गरेजस्तो लाग्यो र परशुदाईलाई हेरिदिनु भनी पठाएँ । परशुदाईले भन्नुभयो बहिनी सारै राम्रो लेख्नु भएछ मैले सास नै नफेरी पढिसिध्याएँ । त्यो कथावस्तु लेखि सक्दानसक्दा सासू सिरियस हुनुहुन्थ्यो । मेरो सासू चौरानब्बे वर्षो हुनुहुन्थ्यो । सासू बित्नुभयो भने मैले उपन्यास पूरा गर्न सक्दिन वा विषयवस्तु बिर्सन्छु भनेर नै मैले हतार गरेकी थिएँ । सासू बित्नुभयो मेरो स्वास्थ्यमा अझ प्रतिकुल असर पार्यो । मैले ध्यू खान नहुने सासू बित्नुहुँदा ध्यू खानुपर्यो । मेरो स्वास्थ्यस्थिति झन बिग्रियो । मैले स्कुलमा छ महिनाको विदा लिएकी थिएँ । फेरि डाक्टरलाई देखाएँ । उसले इन्डोस्कोपी गर्यो स्टोम्याग (भातेभुडी) एकदमै फुलेको देखायो र एक महिनाको औषधि दियो । एक महिनासम्म औषधि खाँलाखाँदै मलाई अर्को असर के पर्यो भने भोक लागे जस्तो भइ रहने, आन्द्रा चुडिने गरी दुख्ने र चक्कर लाग्ने जस्तो त्यपछि मर्छ कि मर्छु जस्तो हुने । त्यसपछि डाक्टरको सल्लाहअनुसार त्यो औषधि खान छोडे । त्यसपछि एकदमै मुख बार्ने जस्तै - दूध, दही, ध्यू, माछा, मासु र चिल्लो चिजबिज नखाने गरेपछि स्वास्थ्य राम्रो नभए पनि सामान्य अवस्थामा चाहिँ रह्यो त्यसपछि सानीको साहस छाप्ने दायित्व छँदै थियो र घरमा आफू विमारी भएपछि तीन छोराछोरीको रेखदेख राम्ररी गर्न सकेकी थिइन् । जसो तसो व्यवहार चल्दै गयो ।
मैले साहित्यमा लागेको घरपरिवारलाई त्यति निको लागेको थिएन कसैबाट सहयोग र प्रोत्साहन पाएकी थिइन् । यसको कारण मेरो खराब स्वास्थ्य स्थिति हुन सक्थ्यो । साहित्यप्रतिको लगाव र मेरो खराब स्वास्थ्यस्थिति जुम्लयाहा भएर जन्मेका थिए मैले उपन्यास लेखिसकेको तीन महिनापछि श्रीमानलाई सानीको साहस छाप्नलाई मनाएँ । त्यसपछि काठमाडौँमा अनिल पौडेलको सहयोगमा सानी छाप्न र भूमिका लेख्न परिबन्द मिलाएँ । यस अवसरमा मित्र दिनेश पौडेलले धेरै सहयोग गर्नुभयो । वास्तवमा साहित्यले लेखनको प्रारम्भिक चरणमा मित्र दिनेश पौडेलको सहयोग अवर्णनीय छ । त्यस्तै परशुदाइको आत्मीयता र हार्दिकता र प्रेरणाले मलाई एउटा उचाइमा पुर्यायो जहाँबाट हरदम दायित्व र चुनौतिका दृश्यहरूले मलाई झकझकाइ रहन्थ्यो । वास्तवमा दाजु बहिनीको पवित्र सम्बन्धको एउटा सफल उदाहरण थियो त्यो । सानीको साहस छापिने बेलामा विभिन्न सोच्दै नसोचेका बाधा अड्चनहरू आउँथे । झण्डै यसको सबै काम मिलाएर प्रेशबाट छापिन छ महिना लाग्यो मलाई अत्यास लाग्यो सकेसम्म चाँडो होस् भन्ने चाहन्थे तर त्यो हुँदैनथ्यो जे भएपनि छापिएर आयो यसमा मैले सन्तोष मानेँ । यो पुस्तकको राम्ररी विमोचन गर्ने धोको थियो तर त्यो विभिन्न प्राविधिक कारणले पूरा हुन सकेन । किताब छापिएर आएपछि पद्नलाई केही पत्रकार र साथीहरूलाई बाँडे । उनीहरूको प्रतिक्रिया यस्तो थियो ।
'तपाईको किताब पढ्न थालेपछि मेरी छोरीले छोड्नै मानिन । भात खान बोलाउँदा पनि आइन कस्तो किताब लेख्नु भएछ - '
'तपार्इँको किताब पढेर मलाई तरक्क आँशु आयो ।
' मेरो छेाराहरूले तपार्इँको किताब रातभर बत्ति बालेर पढिसिद्धाए । ' यस्ता प्रतिक्रियाहरू धेरै आए । केही कमले चाहिँ अन्धविश्वास र रुढीगत भएकोले बालबालिकाको मस्तिष्कमा नराम्रो असर पर्न सक्छ भन्ने तर्क दिए । यस कुराको खण्डनचाहिँ मैले आफ्नो पारामा राम्ररी दिएँ ।
मेरो विद्यालयमा मैले मेरा साथीहरूलाई किताब 'किन' भन्न सकिनँ । एउटा, दुइटा पुस्तक बिक्रीसम्बन्धी नमीठो घटनापछि म कसैलाई मेरो पुस्तक किन भन्दिनँ । सित्तैमा बाट्न पनि सकिनँ । एउटी साथीकी छोरी केही ठूली भएकाीले उसलाईचाहिँ 'किन छोरीलाई काम लाग्छ' भने । उसले पनि किनी । किनेको आठदस दिनपछि स्कुलका सबै साथीहरूलाई अचम्म मान्दै भनी -'ओहो ! कति राम्रो किताब लेख्नु भएछ । मत कति ठाउँमा रोए । मेरो छोरी र मैले पढे । कस्तो अचम्मको राम्रो छ ।' त्यसपछि सबैले कञ्जुस्याई नगरी किनिदिए ।
यो पुस्तकले कुनै पुरस्कार प्राप्त गर्नुपर्छ र नेपाली बालसाहित्यमा एउटा उत्कृष्ट पुस्तक हो भन्ने मलाई लागिरहन्थ्यो । किनभने आफ्नो पुस्तकको पहिलो समालोचक लेखक आफैँ हो अरे । त्यसैले मैले यो अनुमान गरेकी थिए नभन्दै अन्तर्राष्टिय नेपाली साहित्य समाज अमेरिकाको सर्वोत्कृष्ट नारी हस्ताक्षर पुरस्कार प्राप्त गर्यो ।
मैले सानीको साहस त लेखिसकेकी थिएँ । तर आफ्नै जीवनको साहस देखाउने समय आइसकेको थियो । मलाई धेरै दायित्व र चुनौति थपिँदै गए । बालसाहित्यका छापिनुपर्ने परिमार्जन गर्नुपर्ने धेरै पुस्तक धेरै थिए । त्यस्तै पौढ साहित्यका निबन्ध, कथाहरू धेरै थिए । जागिरे जीवनले केही गर्न पाएकी थिइन्ँ । विधालय विदा पाउन मुश्किल पर्दथ्यो । वास्तवमा त्यसबेला बन्द, हडताल नहुने हो भने म केही लेख्न सक्दिनथेँ । त्यही बन्द हडतालमा प्राय म कथाहरू लेख्थे । किनभने एउटा कथा लेख्न मलाई दिनभरिको समय चाहिन्छ । फेरि दुइ छोरी काठमाडौंमा क्याम्पस पढ्दै थिए उनीहरूको पिर लाग्दथ्यो । स्कुलबाट खासै हार्दिकता र आत्मीयता पाइनँ जसले गर्दा पनि मलाई विद्यालय छोड्न गारो भएन । नत्र भने चौधवर्षजागिर खाएको ठाउँ गारै पथ्र्यो होला । काठमाडौ आउनुको अर्को विकल्प थिएन । तर आएर के गर्ने - मेरा दुइवटा रोजाई थिए- एउटा पैसा कमाउन व्यापार विजनेश गर्ने वा साहित्यमा लाग्ने र अध्ययन गर्ने । मैले दोस्रो रोजाई रोजेर पुर्णरुपले साहित्यमा समर्पित भएर किर्तीपुरमा स्नाकोत्तर पढ्न लागे नेपाली विषयलिएर ।
काठमाडौ आउनु मेरो साहसिक कार्य थियो । दाजु गोबिन्द भट्टर्राई भनिरहनुहुन्थ्यो- 'बहिनी कुन आँटले यसरी आउनु भयो -' यसको उत्तर मसग पनि थिएन । त्यस्तो ठूलो आट त मैले पाएकी थिइनँ । र्सवप्रथम त म यहाँ आउनु नै विद्रोह थियो । मेरो श्रीमान र बुबाआमाले पटक्क रुचाउनु भएको थिएन । घर व्यवहार, इष्टमित्र आफन्त भएकालाई यति सजिलो पनि नहुँदो रहेछ । तर मैले आउने चाहिँ आँट गरे । स्कुल छोड्दा केही रकम र दुइटा घडेरी बेचेर आएको थिए । म सँग लगभग पाच - छ लाख रुपैया थियो । त्यही रकमले तीनवटा पूस्तक छाप्नुपर्ने, चार छोराछोरीको लालनपालन गर्नुपर्ने, कृष्णले गोवर्धन पहाड उचाले झै महङ्गीलाई उचालेर बाच्नुपर्ने मन सारै अत्यासिन्थ्यो । सोच्थेँ साँच्चै म कुन आँटले काठमाडौँ आए ।
यहाँ आएर अरू कुरापनि सजिलो थिएन । हातमा पैसा भएपनि ग्यास थिएन, पानी थिएन । इटहरीमा सब व्यवस्थित थियो । यहाँ सबैतिर आफै दोडनुपर्ने फेरि खराब स्वास्थ्यस्थिति हरदम थकान र हैरान मात्र लाग्थ्यो । इटहरीमा हुँदा साथीहरू भन्थे 'तपाई काठमाडौ गएपछि धेरै गर्न सक्नुहुन्छ । यही हुँदा त यति धेरै गरिसक्नुभयो ।' मलाई पनि होला जस्तो लाग्थ्यो । तर अपरिचित ठाउँ, कतिकुराको मेलोमेसो नहुँदा धेरै दुःख पाएँ । यद्धपि बहिनी गीता र मिनाले मनग्गे सहयोग गरे । उनीहरू हात भइदिए, खट्टा भइदिए । म त मात्र सिंगो शरीर थिएँ । मलाई लाग्न थाल्यो म केही गर्न नसक्ने रहेछु । स्वास्थ्यस्थिति झन बिग्रियो । कैयौँ दिन विश्वविद्यालय जान्न थिएँ । मलाई लाग्यो म केही दिनको पाहुना हुँ मैले यस धर्तीमा केही राम्रा पुस्तक छोडेर जानुपर्छ जसले गर्दा बच्चादेखि वृद्धसम्मको स्पन्दनमा राज गर्न सकूँ । त्यसपछि म पाठ्यपुस्तकमा भन्दा साहित्य लेखनमा एकाग्र हुन्थेँ । 'समयको क्यानभासमा‘ त तयार गरेर भूमिकाको लागि गोबिन्ददाजुलाई बुझाइसकेकी थिएँ । मलाई कथोपन्यास ‘क्यानभासमा कोरिएका कथाहरु‘ चाहिँ चाडै सकौँ भन्ने लाग्यो र भटाभट केही कथाका सिरिज लेख्न थालेँ । अहिले तिनै कथाका सिरिजहरु विभिन्न पत्रपत्रिकामा आइरहेका छन् ।

प्रस्थानबिन्दुको अभिव्यक्ति मेरो जीवनको दैनिकी भएको थियो त्यसबेला । वास्तवमा सङ्र्घर्ष र सम्झौता जीवनको मिलनबिन्दु भएर बाँचेका छन् अहिले पनि मेरो हृदयमा ।

8 comments:

बिमल गिरी said...

जीबनका मुर्त अमुर्त बिभिन्न पक्षको अभिब्यक्ती दिन खोज्ने प्रतिभाशाली कथाकार शर्मिला खड्का नेपाली जीबनको करुण पक्षबाट अन्तर्द्रबित कथाकार हुनुहुन्छ। नेपालीको दैनिक जीबनमा साना ठुला समस्याहरुलाई कथाबद्धगर्ने खुबी बेजोडकोछ। उहाको साहसलाई उत्कृष्ट सलाम।

शखदा said...

धन्यवाद विमलजी,

दीपक जडित said...

सानीको साहसको चर्चा सुनेको थिएँ । यसपाली नेपालमा हुँदा छोरीलाई केहि नेपाली बाल साहित्यका किताबहरु किनेर दिने बिचारले पुस्तक पसलमा लिएर गएँ र उपलब्ध भएसम्म सबै(नेपाली, अँग्रेजी र हिन्दी) बाल साहित्यका किताबहरु मागेँ । पसलेले देखाउनुभएका पुस्तकहरुको चाँङ्गबाट मेरी छोरीले सबैभन्दा पहिले तपाईंकै बालकथा सानीको साहस रोजेकि थिईन । त्यो तपाईंको पुस्तक हो भन्ने थाहा भएर र अझ तपाईंलाई ब्लगमा पनि चिनेर मैले यो पुस्तक कि लेखिका मेरो ब्लगर साथी हुन् भनेको थिएँ । उनले उक्त किताब पढिसकेपछिको प्रतिक्रिया सुन्न भ्याउने समय मसँग नभएकोले म फर्किएँ तर आशा गर्छु उनले सानीको साहस मनपराउनेछिन् ।

बाँकि तपाईंको साहसको कुरा पढेर मलाई पनि सलाम चढाउन मनभयो ।

हार्दिक सलाम !!

शखदा said...

दिपक भाइ कमेन्ट पढेर धेरै खुसी लाग्यो । तपाइले छोरीलाइ मेरो पुस्तक पढ्न दिनु भेएको कुराले औधी खुसी भए । मभित्र धेरै पीडा छ । मैले कोसेली,मुना जस्तो पत्रिकामा सानीको बारेमा केही लेखिदिनु न भनेर कतिपयलाइ अनुरोध गरे लेखिदिएनन । त्यसैले चर्चा हुन सकेन । तपाइको छोरी कति कक्षामा पढने हो ? पाच कक्षामाथिको बच्चाले मात्र राम्रोसग बुझ्न सक्छन, पाच कक्षा मुनिको लागि चाहि सानी ठिक हुन्छ । तर पनि पढदा राम्रै हुन्छ ।

sarita said...

didi kathako series kasari tayar garnu par6? ma saga pani pida ra yathartha bodh ka thuprai chang katha haru chan sahitya ma mero ati nai lagab6 tara katha lekhna bisaya bhaye pani uthan prakriya ra series tayar garna audaina???
baki tapaiko sahas lai aadar samaan garchu ma.. sani pade net ma k yati nai choto 6 ta sani pustak ma pani??????????? sarai ramro6 saani.. aaba sani ko sahas pani bolg ma padna paye hami jasta pardesi lai sajilo hune thiyo............

shakhada said...

प्रिय वहिनी सरिता, धेरै धेरै धन्यवाद छ । सानिको साहस निकै ठूलो पुस्तक हो तसर्थ व्लगमा राख्न गारो भएको हो । तर म सिरिजको रुपमा राख्ने प्रयास गर्नेछु । कथा लेख्ननको लागि सर्वप्रथम राम्रा कथाहरु निकै पढनु पर्छ ती कथा कसरी लेखिएको छ त्यो पनि मनन गर्नपर्छ । अनि मनलाइ स्थिर बुनाएर साधानामा डुब्नु पर्छ .यो अलिक गारो छ । तर निरन्तर प्रयास गरिरहनु पर्छ हरेस खान हुदैन , अवस्य सफल भइनछ ।

अनलाईनलिटरेचर्स .com said...

सानीको शाहस एकै घुट्को कफी सँग सके , तपाईंको शाहस त मानेनै अबो सानी हाम्रो ग्रामीण जनजीवन पनि पुग्नु पर्छ, हरेक पाठशालामा पढिनु पर्छ , जव बाल चेतनामा सानी को कथा भरिन्नन , सुनिन्नन, भने मेरो 'ग्रामीण चेतना' को किताब पनि अधुरो हुने ठहर गरे सानीको शाहस अब बेलायतको लागि पनि आवस्सेक ठाने । १०० प्रती यिनै हरफहरु सङगै मागे ।
सङ्केत

shakhada said...

हुन्छ नि केदार भाइ म विसेस छुटमा दिनेछु । कतिपय पुस्तकालयलाइ र बालबालिकालाइ मेरा पुस्तकहरु पढन सजिलो होस भनेर फ्रिमा दिने गेरको छु । यो जीवन नै समाजसेवा र साहित्य सेवामा समर्पित भए पछि अरु केही सोच आउदैन रहेछ ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।