August 20, 2009

धूर्त स्याल र चतुर स्याल

एकादेशमा धूर्त नाम गरेको स्याल थियो । त्यो स्याल रानीवनको जङ्गलमा बस्थ्यो । त्यहाँ सिंह, हात्ती, बाघ, भालु बस्दथे । त्यो जङ्गलको राजा सिंह थियो भने महामन्त्री त्यही धूर्त स्याल थियो । महामन्त्री धूर्त स्यालको कपट र स्वार्थले सिंह राजा नाममात्रको राजा थियो । मौका परेको बेला जङ्गलका अरू जनावरहरू पनि र्सर्वेर्सवा हुन खोज्थे । धूर्त स्याल बाघ, भालु र हात्तीमा एकआपसमा कुरा लगाएर झगडा गराउँथ्यो । ऊ मौका हेरी चापलुसी र चुक्ली लगाउँदथ्यो । ऊ आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्दथ्यो । यसैले गर्दा राजा सिंह कमजोर हुँदै गएको थियो । बाघ, भालु, हात्ती राजा सिंहको कुरा मान्न तयार हुँदैनथे । उनीहरूको जङ्गल राम्रो थियो । तर एक-आपसको फुट र झैझगडाले गर्दा जङ्गलको अझ विकास गर्न सकेका थिएनन् ।
यसै जङ्गलको अलिक तल सिमसार नाम गरेको जङ्गल थियो । त्यहाँ चतुर नाम गरेको स्याल महामन्त्री थियो । त्यो जङ्गलमा पनि सिंह राजा थियो । त्यस जङ्गलमा बाघ, भालु, हात्तीहरू पनि थिए । त्यस जङ्गलमा बाघ, भालु, हात्तीहरू सिंहका कुरा मान्दथे । तिनीहरूको एक-आपसमा राम्रो मिलाप थियो । महामन्त्री चलुर स्यालको चातर्ुय र कुशलताले गर्दा राजा सिंहको कुरा सबै जनावर मान्दथे । ऊ बुद्धिमान् भएको हुनाले बेला-बेलामा सिंह राजालाई समेत अर्ती-उपदेश दिन्थ्यो । ऊ कसैप्रति नराम्रो भाव राख्दैनथ्यो । ऊ चापलुसी चुक्ली कहिल्यै गर्दैनथ्यो । ऊ सबैको भलो हुने कुरा अनि काम गर्दथ्यो । त्यो जङ्गलमा मेलमिलाप शान्ति भएको हुनाले धेरै राम्रो कामहरू हुन्थे । त्यस जङ्गलका जनावरहरू पनि असाध्यै खुसी हुन्थे ।
दुर्भाग्यवश त्यो जङ्गलमा ठूलो बाढी आयो । अलिक होचो ठाउँ परेको हुनाले पानीले जङ्गल पूरै ढाकिदियो । ती जनावरहरू बस्ने ठाउँ कतै भएन । तिनीहरूको बिचल्ली भयो । तिनीहरूले चतुर स्यालको शरण लिन पुगे । चतुर स्यालले पनि आफ्नो बुद्धि खियायो ।
उसलाई रानीवनमा जनावरहरूको मिलाप छैन भन्ने कुरा थाहा भयो । त्यसैले ऊ सरासर रानीवनतिर गयो । रानीवनमा गएर धूर्त स्यालसँग मेलमिलाप गर्‍यो । अनि उसले स्याललाई लोभ देखायो ।
'राजा सिंह र अरू ठूला-ठूला जनावरलाई सिमसार जङ्गलमा बाढीले धेरै माछा ल्याएको छ भन्ने कुरा बताऊ न ।' चतुर स्यालले धूर्त स्याललाई भन्यो । धूर्त स्यालले पनि लालचमा परेर आफ्ना जङ्गलका ठूला-ठूला जनावरलाई सिमसार जङ्गलमा पठायो । त्यही मौका छोपेर चतुर स्यालले आफ्नो राजा सिंह र अरू सबै जनावरलाई रानीवनको जङ्गलमा ल्याएर राख्यो ।
धूर्त स्यालका राजा सिंह जब सिमसार जङ्गल पुग्यो तब मात्र थाहा पायो कि महामन्त्री स्यालले आफूलाई छलेको । एकछिनपछि त्यहाँ अरू सबै जनावरहरू आइपुगे । सबै जनावरहरूले आफूहरू ठगिएको थाहा पाए । आफूहरूमा राम्रो मेलमिलाप नभएको हुनाले धूर्त स्यालको कुराले फसाएको थाहा पाए । तर समय ढिलो भइसकेको थियो । तिनीहरूको त्यति राम्रो जङ्गलमा सिमसार जङ्गलका जनावरहरूले राज्य गरिसकेका थिए । अब उनीहरूलाई बस्ने ठाउँसम्म थिएन । पानी नै पानी भएको सिमसार जङ्गलमा तिनीहरूको बिजोक भयो । आफू-आफूबीचको फूट र झैझगडाले यो दिन देख्नुपरेको हुनाले उनीहरूले अब कहिल्यै झैझगडा नगर्ने वाचा गरे । अनि सिंह राजाले धूर्त स्यालको कपट कुराले यो गति भएकोले उसलाई सम्झाउने विचार गर्‍यो । सिंह राजाको यस कुरामा सबै जनावरले सहमति जनाए ।
धूर्त स्यालले चतुर स्यालको जङ्गलमा आश्रय पाउन सकेन । अनि ऊ आफ्नो राजा भएठाउँ आयो । त्यहाँ उसलाई सबैले भने- तिम्रै स्वार्थीपनले गर्दा आज हामीले यस्तो बिजोक सहनुपरेको छ ।'
सिंह राजाले पनि उसलाई सम्झायो-
'हेर, तिमीले गल्ती गर्‍यौ । हामीलाई झुक्याएर तिमीले आफूलाई समेत नोक्सान पुग्ने काम गर्‍यौ ।'
धूर्त स्यालले भन्यो- 'मैले त सिकारको लोभमा परेर पो यस्तो कुरा भनेको त !' तर उसले पनि यो दिन देख्नुपर्ला भन्ने कहाँ सोचेको थियो र ! स्यालले सबैको अगाडि माफी माग्यो-
'आइन्दा म कहिले पनि कपट, झूट र स्वार्थ राख्ने छैन ।'
जङ्गलका सबै जनावरहरूले उसलाई सुध्रने मौका दिए । उसले पनि अबदेखि चतुर स्यालले जस्तै आफ्ना राजा र अरू जनावरको लागि दिलोज्यान दिने प्रतिज्ञा गर्‍यो ।

दूधको पोखरी

एकादेशमा एकजना राजा थिए । उनका दुईजना छोरा थिए । राजाका ती दुई छोराहरू अलग-अलग विचार र स्वाभाव भएका थिए । राजाले मर्ने बेलामा ती दुई छोराहरूलाई आधाआधा राज्य बाँडिदिने निर्णय गरे । निर्णयअनुसार उनले आधा-आधा राज्य बाँडी पनि दिए । जेठो छोरा दयानन्द राजाको राज्यको नाम दयापुर रह्यो भने कान्छो छोरा उदयानन्द राजाको राज्यको नाम उदयपुर रह्यो । राज्य फरक भए पनि ती दुई राजाहरू एकआपसमा मेल-मिलाप र सर-सल्लाह गरिरहन्थे ।राजा दयानन्द र उदयानन्दको विचार र स्वभावमा फरक भएकाले उनीहरूले राज्य गर्ने कार्यशैली पनि फरक-फरक थियो । राजा दयानन्द जनतालाई छोराछोरी सरह माया गर्नुपर्छ, उनीहरूलाई स्वतन्त्रपूर्वक बाँच्न दिनुपर्छ भन्दथे । उनीहरूले चोरी डकैतीजस्तो अपराध गर्दा पनि सुध्रने मौका दिनुपर्छ भन्थे किनभने उनीहरूले बाध्यतावश र विवशतावश त्यो अपराध गरेको हुनसक्छ भन्ने विचार राख्दथे ।
राजा उदयानन्द दयानन्दको ठीक विपरीत सोचाइ राख्दथे । उनी जनतालाई डर र त्रासमा राख्नर्ुपर्छ । अनि मात्र जनताहरू स्वाभिमानी भई काम गर्ने गर्दछन् । चोरी डकैतीजस्तो अपराध गर्दा कडाभन्दा कडा सजाय दिइए मात्रै जनताले अपराध गर्दैन भन्ने सोचाइ राख्दथे ।
ती दुईको आ-आफ्नो सोचाइमा कहिलेकाहीँ विवाद चल्दथ्यो । दुवैजना आफ्नो विचार अनि कार्यशैली सही र महान् हो भनी घमण्ड गर्थे । एक दिन संयोगवश उनीहरू भएठाउँ एकजना नाम चलेका महषिर् आइपुगे । महषिर्लाई देखेर दुवैजनाले दण्डवत् गरी आ-आफ्नो विवादको छिनोफानो गरिदिने अनुरोध गरे ।
महषिर्ले दुवैको कुरा राम्ररी सुने । अनि दयानन्दको कुरालाई सही र महान् हो भनी महषिर्ले सुनाए । यो कुरा राजा उदयानन्दलाई ठीक लागेन । किनभने उनी आफ्नो विचारलाई नै सही र महान् मान्दथे । उनले महषिर्को कुरामा विरोध गनाए । उनले यो कुरा प्रमाणित गर्न महषिर्लाई दबाव दिए । महषिर्ले केही छिन विचार गरेर एउटा जुक्ति निकाले ।
उनले भने- 'तिमीहरू आ-आफ्ना कुरा कुन ठीक हो र कुन गलत हो भन्ने कुरा हर्ेन चाहन्छौ भने ल सुन, दुवैजनाले आ-आफ्ना देशमा पोखरी खनाउन लगाउनू । अनि पोखरी खनिसकेपछि एकै दिन उर्दी लगाउनू 'राजालाई दूधको पोखरी बनाउने चाहना छ, त्यसैले बेलुकाको आ-आफ्ना घरको दुहुनाको दूध ल्याएर पोखरीमा खन्याउनू' भनेर । अनि यति भनेपछि त्रि्रा जनताले साँच्चिकै दूध खन्याए भने त्रि्रो कुरा सही हुनेछ तर पानी खन्याए भने गलत हुनेछ ।" महषिर्ले यति कुरा बताएर तपस्या गर्न जङ्गलतिर प्रस्थान गरे ।
ती दुवै राजाले महषिर्ले भनेअनुसार पोखरी खन्न लगाए । पोखरी खनाइसकेपछि एकै दिन उर्दी लगाए- 'राजालाई दूधपोखरी हर्ेने इच्छा छ । सबैजनाले बेलुकाको दुहुनाको दूध पोखरीमा खन्याउनू ।' राजा उदयानन्दलाई पर्ूण्ा विश्वास थियो । आफ्ना जनताले पोखरीमा दूध नै खन्याउनेछन् भनेर । किनभने उनका जनता ऊसँग डराउँछन् भन्ने थियो । तर उनका जनता उनीसँग खुसी थिएनन् । त्यसैले जनताहरूले आ-आफ्ना छोराछोरीलाई खुवाउने दूध पोखरीमा खन्याउन रुचाएनन् । सबैले सोचे 'म एकजनाले दूध नहाले के भयो र अरूले दूध हालिहाल्छन् ।' सबैले यस्तो सोचेको हुनाले पोखरीमा दूध ल्याएर खन्याउने कोही भएनन् ।
राती सबैजनाले पानी खन्याए । भोलिपल्ट बिहान उज्यालो हुनेबित्तिकै राजाले पोखरी हर्ेन पठाए । पोखरी त दूध नभएर पानी भएको थियो । यो कुरा मन्त्रीले लगेर राजालाई सुनाए । राजा यो कुरा सुनेर रिसले मर्ुमुरिए । आफ्नो विचार र कार्यशैली ठीक भनेर घमण्ड गरेकामा बेठीक साबित भएको देखेर क्रोधित भए । उनले जनतालाई दण्ड दिने विचार गरे ।
उता दयानन्दको राज्यमा पनि पोखरी खनाएर उर्दी लगाइएको थियो । उनको राज्यको जनतामा राजाप्रति स्नेह र श्रद्धा भएको हुनाले सबैले इमान्दारितापूर्वक पोखरीमा दूध खन्याए । भोलिपल्ट राजाले मन्त्रीलाई पोखरी हर्ेन पठाए । पोखरी दूधको बनेको सुनेर राजा खुसी भए । आफ्ना जनताले आफ्नो इच्छा पूरा गरेर आफ्नो विचारलाई ठीक साबित गरिदिएकोमा खुसी भए । अनि उनले आफ्ना जनतालाई प्रशस्त गाईबस्तु बाँडिदिए । उनको राज्यमा सबै जनता खुसी भए ।
उता राजा उदयानन्दले जनतालाई सजायस्वरूप प्रत्येक घरको घरमूलीलाई पचास-पचास कोर्रा हान्ने फैसला सुनाए । फैसलाअनुसार कोर्रा हानियो पनि । राजाको यो कार्यबाट जनताहरू रिसाए अनि आक्रोशित बने । त्यस राज्यमा गृहयुद्ध चर्कियो । गृहयुद्धले जताततै अशान्ति छायो । बिस्तारै जनता एकत्रित भएर राजालाई नै त्यस देशबाट लखेटे । राजा उदयानन्द शरण माग्न राजा दयानन्दकहाँ पुगे । राजा दयानन्दले पनि भाइलाई सम्झाईबुझाई शरण दिए ।
उदयपुर राज्य गृहकलहले गर्दा कमजोर भएको हुनाले राजा दयानन्दले आक्रमण गरे । उनले सजिलै विजय हासिल गरे पनि ।
राजा दयानन्दले त्यो राज्य फेरि आफ्नै भाइलाई फर्काए । उनले अब राज्य गर्दा जनताको इच्छानुसार गर्नू भनी जनतालाई धेरै अधिकार दिएर राजा उदयानन्दलाई राज्य फर्काइदिए । राजा उदयानन्द पनि दाजुको जस्तै विचार र कायैशैली अपनाएर राज्य गर्न थाले ।

August 15, 2009

बूढाबूढी र हीरा

धेरै वर्षगाडिको कुरो हो, पूर्वाञ्चलको एउटा हिमाली क्षेत्रमा सामदुङ नाम गरेको एउटा गाउँ थियो । त्यस गाउँका मानिसहरू असल थिएनन् । त्यस गाउँमा कोही परदेशी घुम्दै आए भने उसको सामान खोसिदिने, उसलाई दुःख दिने गर्दथे । धनसम्पत्ति धेरै ल्याएका परदेशी भए खूब चाकर गरी बस्नलाई वास दिन्थे । अनि भोलिपल्ट उसका मालसामान खोसेर, चुटेर त्यहाँबाट धपाउँथे । यसरी त्यस गाउँका मानिसहरूको गुजारा चल्दथ्यो ।
एक दिनको कुरा हो । भगवान् शिवजी हिमाली प्रदेशको यात्राको क्रममा त्यहाँ आइपुग्नुभयो । यसो गाउँतिर हर्नुभयो, उहाँलाई त्यो गाउँ रमाइलो नै होला भन्ने लाग्यो । उहाँ गाउँभित्र पस्नुभयो । शिवजी जोगीको भेषमा आउनुभएको हुनाले सबै गाउँलेहरूले नियालेर हेर्न थाले । शिवजीले प्रत्येक घरमा वास बस्न माग्नुभयो तर कसैले पनि वास बस्न दिएनन् ।
शिवजीको साथमा धनसम्पत्ति नभएको हुनाले ती गाउँलेहरू टक्टकिन थाले । शिवजीले त्यस गाउँका चालचलन थाहा पाइहाल्नुभयो । शिवजी गाउँबाट बाहिर निस्कनुभयो । यसो डाँडामाथि आँखा लगाउनुभयो । त्यहाँ एउटा झुपडी घर थियो । शिवजीले त्यतैतिर पाइला बढाउनुभयो ।
त्यस झुपडीमा बूढा र बूढी बस्दथे । ती बूढा-बूढी गाउँदेखि अलग्ग छुट्टएर बसेका थिए । किनभने ती बूढा-बूढीलाई गाउँलेहरूको खराब बानी मन पर्दैनथ्यो । ती गाउँलेहरू पापी र अधर्मी थिए भने बूढा-बूढी धर्मात्मा र दयालु थिए । साँझ परिसकेको थियो ।
शिवजीले दैलामा आएर भन्नुभयो "यहाँ वास पाइन्छ कि -" बूढाले नम्र भएर भने- "पाइन्छ नि, बस्नोस् न ।" बूढीले पनि थपिन्-"हामीसँग खानेकुरा केही छैन । हामी साह्रै गरिब छौँ । खाने भए अलिकति ढिँडो दिन्छौँ ।"
"भो पर्दैन, मेरो नखाने व्रत छ । यहीँ ओछ्यान लगाएर सुत्छु ।" यति भनेर शिवजी ओछ्यानमा पल्टनुभयो ।
बिहान उज्यालो भयो । बूढाबूढीले यसो गाउँतिर आँखा लगाए । गाउँ जम्मै बगाएर लगेको थियो । त्यहाँ घरहरूको नामनिसाना थिएन । मानिसहरू ज्यान जोगाउन पाखातिर बसेका थिए । बूढा-बूढी छक्क परे । तिनीहरूले आत्तिएर शिवजीलाई उठाए । शिवजीले पनि तिनीहरू अचम्ममा परेको थाहा पाइहाल्नुभयो र भन्नुभयो-
ती गाउँलेहरू असाध्यै पापी थिए । तिनीहरूको पापको घडा भरिएको थियो । त्यसैले राती हिमताल फुटेर तिनीहरूको धन-सम्पत्ति बगाएर लग्यो तर तिमीहरू धर्मात्मा रहेछौ । त्यसैले तिमीहरूलाई केही भएन ।" परदेशीको कुरा सुनेर उनीहरूलाई त्यो परदेशी कुनै दिव्य पुरुष हुनुपर्छ भन्ने लाग्यो । उनीहरू डराए । उनीहरूले आफूले केही गल्ती गरेका छौँ भने माफ गरिदिनोस् भने । शिवजीले उनीहरूलाई "नडराऊ" भन्नुभयो । अनि उनीहरूको दुःख देखेर झोलाबाट हीराको टुक्रा झिकेर दिनुभयो र त्यहाँबाट बाटो लाग्नुभयो ।
गाउँ पनि जम्मै बगाएर लगेको हुनाले ती बूढा-बूढीले केही खानेकुरा पनि खान पाएनन् । यसरी भोकभोकै मर्नुभन्दा हीरा बेच्ने अनि बसाइ पनि र्सर्ने उनीहरूले विचार गरे । हीरा बोकेर बूढाबूढी कोसी नदीको किनारैकिनार तर्राई र्झन थाले । बाटामा रात परेको हुनाले एउटा पाटीमा वास बसे । त्यस पाटीमा अरू बटुवाहरू पनि थिए । बूढाबूढीले कनिकाको खोले पकाई खाए । सुत्ने बेलामा बूढीले बूढालाई "हीरा कहाँ राखेका छौ -" भनी सोधिन् । बूढाले पनि ँपोकोमा राखेको छुँ भने । ती बूढाबूढी सोझा थिए । अरूले चोरिदेलान् भन्ने उनीहरूलाई लागेन । नजिकै बसेको एउटा छट्टू वाले यो कुरा सुनिरहेको थियो । उसले राती नै हीरा चोरिदियो । बूढाबूढीले बिहान उठेर पोको खोलेर हेरे । त्यहाँ हीरा नदेख्ता उनीहरूको होसहवास नै उड्यो । त्यसपछि कसले हीरा चोर्‍यो भनी हल्लाखल्ला गर्न थाले । सबै बटुवाले आफूले चोरेको छैन भनी पोको खोलेर देखाए । त्यो छट्टु बटुवाले चाहिँ आफूलाई चोरको बात लाग्ला भनी अघि चोरेको हीरा नदीतिर फ्याँकिदियो ।
हीरा नभटेपछि बूढाबूढी साह्रै दुःखी भए । लाखौँ रुपियाँको हीरा हराएपछि उनीहरू भोक न प्यास भएर त्यही पाटीमा बस्न थाले । त्यहाँ नजिकै एउटा गाउँ थियो । त्यस गाउँका मानिसहरू माछा मारेर जीविका चलाउँथे । बूढाबूढीले पनि त्यसै गर्ने विचार गरे । बूढा दिनभरि माछा मारेर ल्याउँथे । बूढी त्यो माछा सिकुटी बनाई बेच्दथी । यसरी उनीहरूको गुजारा हुनथाल्यो ।
एक दिन बूढाको जालमा अनौठो माछो पर्‍यो । त्यो माछो असाध्यै ठूलो थियो । बूढाले त्यो माछो घरमा ल्याए । त्यो माछाभित्र के रहेछ भनेर बूढाबूढीले चिरेर हेरे । त्यो माछाभित्र बूढाबूढीले आफ्नै हराएको हीरा भेट्टाए ।
हराएको हीरा भटेपछि बूढाबूढी दङदास परे । उनीहरूले आफ्ना दुःखका दिनहरू अब चाँडै सकिने कल्पना गर्न थाले । त्यसै समयमा त्यहाँ एउटा ठूलो व्यापारी आइपुग्यो । बूढाबूढीले पनि आफ्नो हराएको हीरा पुःन भेटिएको कथा त्यो व्यापारीलाई सुनाए । त्यो व्यापारी असाध्यै धनी थियो र दयालु पनि थियो । उसले त्यो हीरा किनिदियो र बूढाबूढीलाई प्रशस्त धनसम्पत्ति दियो । त्यो धनसम्पत्तिले बूढाबूढीले आफूलाई खान पुग्नेजति जग्गाजमिन किने । बाँकी रहेको सम्पत्तिले पाटी-पौवाहरू बनाइदिएर धर्म कमाए ।

August 7, 2009

क्यानभासमाथि कोरिएका कहानीहरु

- जनार्दन वराल
'जीवन इन्द्रणीझैं छ, जीवनको क्यानभासमा कहिले, कहाँ खुशी कोरिन्छ कसलाई के थाहा हुन्छ र ? !' एउटा कथाकारको आफ्नो कथाको मनपर्ने कथाकारलाई लेखेको अन्तिम वाक्य हो यो । शर्मिला खड्का (दाहाल) नवीन कथासङ्ग्रह 'समयको क्यानभास' बाट यो वाक्य यहाँ सापटी लिइएको लिइएको हो । जीवनका रङ्गीन क्यानभासमा प्रममय जीवनमा खुसीको खोजी गरिरहेका कथाहरुको सङ्गालो हो- 'समयको क्यानभासमा ।'
'समयको क्यानभासमा' मोफसलमा बसेर नेपाली साहित्यमा समर्पित स्रष्टा शर्मिला खड्काको २४ वटा कथाहरुको नवीनतम् सङ्ग्रह हो । यस सङ्ग्रहमा उनले विविध विषयवस्तुका कथाहरुलाई स्थान दिए पनि उनको कथाको मुख्य भावभूमि चाहिँ प्रेम नै बनेको छ अझ विशेषगरी असफल प्रेम । संसारमा प्रेमका विषयमा लेखिएका प्रेमकहानीहरु विशेषगरी असफल वा अव्यक्त प्रेमकहानीमै आधारित भएर लेखिएका पाइन्छन् । ती कुराहरु शर्मिलाका कथाहरुमा पनि पाइन्छ तर उनको लेखनीमा बेग्लै किसिमको नवीनता र मिठास पाइन्छ ।
यिनको कथासङ्ग्रहको पहिलो कथा 'समयको क्यानभासमा' सिङ्गो सङ्ग्रहलाई शीर्षक प्रदान गर्ने कथा हो । मनोवादीय र पत्रलेखन शैली अंगालिएको यस कथामा आफ्नो मन परेको लेखक भेट्दा र अनायासै फेरि छुट्दा एकजना नारी प्रसंसकले गरेको अनुभूतिहरु सँगालिएको छ । आफ्नो प्रिय लेखकप्रति एकजना नारी प्रशंसकको झुकाव, लगाव, र प्रेम शक्तिलाई यस कथाले खोतलेको छ । यस कथामा बुझिने किसिमले यौनलाई पनि संङ्केत गरिएको छ ।
'कल्पनाको क्यानभासमा' कथा यसै कथाको प्रत्युत्तर हो । यो कथामा पनि मनोवादीय शैली अँगालिएको छ भने प्रसंशक नारीमा भएको झुकाव, लगाव र प्रेमाशक्ति प्रसंशित लेखकमा पनि भएको देखाइएको छ ।
'पवित्र सम्बन्ध' पनि समग्रमा प्रेम र यौनकै वरिपरि घुमेको कथा हो । यस कथामा पनि एकजना लेखकलाई उभ्याइएको छ जुन पहिलो कथामा थियो । यस कथा पनि मनोवादीय शैली प्रयोग गरेर लेखिएको छ यसमा एक केटा साथी र एक केटी साथबीचको नजिकको सम्बन्ध र स्वयम् केटीको स्वतन्त्र साहित्यलेखनका कारणले उनको श्रीमानसग पारपाचुके भएको प्रसङ्ग छ ।
'असम्बर्द्धित शान्ति' नारीसङ्र्घर्षको कथा हो भने यसमा प्रकृतिजनित कारणले पनि नारी पीडित हुनुपरेको कुरा कलात्मक ढङ्गले उठान गरिएको छ ।
'निश्चय अनिश्चय'ले परिवार तथा समाजमा छोरी पाउदा एक स्वास्नीमान्छेले झेल्नु परेको समस्या अनि समाज र परिवारले गर्ने व्यवहार र छोरी मात्र जन्मिएका कारण पुरुष प्रवृतिको भण्डाफोर गरेको छ ।
अर्को कथा 'सुकन्या उर्फनिलिमा' एउटा सशक्त द्धन्द्धकथा हो । यस कथाले माओवादीको १० वर्षो जनयुद्धको ताजा स्मरण गराउँछ । यस कथामा एकजना महिला माओवादी छापामारले आफ्नो जीवन तिलाञ्जली लिएर एउटा सीडिओको ज्यान बचाएको प्रसङ्गलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । आफुलाई नागरिकता नदिने सिडिओ जसका कारणले ऊ माओवादी बन्न बाध्य बनी, त्यही सीडिओलाई घाइते अवस्थामा पारेर उपचार गरेर समय विताउनु र आफ्नो ज्यान जोखिममा पारेर हिड्नु जस्ता घटनाहरु आदर्शवादी लाग्छन् । यद्यपी, एउटी नारी कति कोमल हृदयी हुन्छे भन्ने शन्देश भने कथाले निकै राम्रो संग दिएको छ । वास्तवमा यस कथामा वन्दुक वोकेर जंगल पसे पनि र मृत्युसँग लुकामारी खेल्न अभ्यस्त भए पनि आफ्नो जीवनमूल्य चुकाएरै भए पनि उसलाई आश्रय दिन्छ भन्ने शन्देश कथाले भरभूर दिएको छ ।
'ओ अपराजिता' कथामा एकजना स्वाभिमानी नारीलाई हराउन एकजना पुरुषले गरेको प्रयासहरु पुरुषकै डायरीका माध्यमबाट प्रस्तुत गरिएको छ । मनोवादिय शैलीमा लेखिएको यो कथामा अमूर्त शैली प्रयोग गरिएको छ । स्वाभिमानी र निडर नारीलाई सयौं प्रयासले पनि हराउन नसकिने कुरा यहाँ प्रस्तुत गरिएको छ ।
'अनिर्णयको बन्दी' कथा स्वतन्त्रताको खोजीमा अमेरिका पुगेकी केटीले अनेक हन्डर ठक्कर खाएपछि विवाहका लागि बाबुआमाले रोजिदिएको केटा स्वीकार्न पुगेको घटनालाई प्रस्तुत गरिएको छ । अनेक सम्वन्धको असफलतालाई प्रस्तुत गरेर रुप, यौवन र बौद्धिकताको अभिमानले दिने हण्डर ठक्करलाई यस कथामा प्रस्तुत गरिएको छ । जति नै घमण्ड गरे पनि जीवन भनेको सम्झौता हो र सम्झौता गरेर नै जीवन जिउनुपर्छ भन्ने कुरा यस कथामा देखाइएको छ ।
'बासुरीको धुन' कथा एकजोडी असफल प्रेमीप्रेमिकाको कथा हो । यस कथामा कथाकारले 'नोस्टाल्जिया'को प्रयोग गर्ने खोजेका छन् । तीन वर्षो अन्तरालमा माइत पुगेर राती आफ्नो पतिसँग सुत्दा बाँसुरीको धुनले विगतमा आफ्नो प्रेमिले वजाएको बाँसुरीको धुनको स्मरण गराउँछ नायिकालाई । उनी आफ्नो पीडादायी प्रमकहानी स्मरण गर्दै निदाउँछिन र भोलिपल्ट विहानै आफ्नो पूर्वप्रेमि बसेको कोठामा पुग्छिन् । त्यहाँ उनको पूर्वप्रेमि हुदैन तर उनको चिठि हुन्छ, 'सानु म तिम्रो जीवनदेखि धेरै टाढा जान चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदैछु......।' यो असफल प्रेमकहानीले एकपटक मनमा 'चसक्क' बनाउँछ ।
यसरी यो कथा संग्रहमा सङ्ग्रहित कथाहरुले विशेष गरेर असफल प्रेमकहानीलाई आफ्नो कथ्य बनाएका छन् । कथा सिर्जनाका परम्परित मान्यतालाई भङ्ग गरेर लेखिएका कथा भए पनि यी कथामा छुट्टै किसिमको कलात्मक नविनता पाउन सकिन्छ । यस कुरामा परशु प्रधान पनि सहमत देखिन्छन् । प्रधान भूमिकामा लेख्छन् , 'आजको इन्टरनेट युगमा कथाले खोजेको जुन नयाँ हाँक छ त्यसलाई शर्मिलाका कथाले पछ्याएका छन् , 'ट्रेन्ट'लाई बुझेका छन् ।
शर्मिलाले आफ्ना कथाहरुमा प्रायशः सहरी परिवेशको प्रयोग गरेकी छन् । पश्चिमा आधुनिकता र नेपाली परम्पराको सङक्रमणबाट गुज्रेका नेपाली सहरी वातावरणलाई उनले आफ्नो कथामा टपक्के टिपेकी छिन् र आफ्ना कथामा त्यहि संक्रमणकालीन समाजलाई घटनाप्रवृत्तिहरुलाई उनकी छन् । उनका कथामा विशेष गरी त्यहि संक्रमणकालिन समाजमा देखिने प्रेमका घटनाहरु प्रतिनिधि घटना बनेर आएका छन् । यद्यपि, उनका कथा परिवेशका दृष्टिले नेपाली गाउँदेखि अमेरिकाका भव्य शहरसम्म नै नफैलिएका भने होइनन् ।
पात्रप्रयोगका हिसावमा उनका प्रायः कथामा सम्भ्रान्त परिवारका पात्रहरुको प्रयोग गरिएको छ । नारी लेखक भएरै हुनसक्छ उनले अधिकांश कथामा नारी पात्रलाई प्रमुख पात्र बनाएकी छन् भने दृष्टिविन्दु पनि नारी नै प्रयोग गरेकी छन् । उनले आफ्ना रचनामा वर्तमान समाजको नारीस्वरलाई नवीन व्रि्रोह र मूल्यचेतना सहित सशक्त रुपमा उठाएकी छन् ।
भाषागत हिसावले पनि कथाहरुमा नवीनता भेटिन्छ । उनले प्रयोग गरेको एकालापी वा मनोवादीय शैलीले कथाहरुलाई निबन्धात्मकता प्रदान गरे पनि त्यो असहज लाग्दैन । राम्रो कागज, राम्रो साजसज्जा र राम्रै छपाइका साथ आएको पुस्तकको सम्पादन कमारप्रसाद कोइरालाले गरेका हुन् भने पुस्तकको प्रकाशन उत्खनन नारी साहित्य प्रतिष्ठानले गरेको हो । बालसाहित्यमा आफ्नो छुट्टै स्थान बनाइसकेकी शर्मिला खड्का -दाहाल) ले यसअघि पनि एउटा लघुकथासंग्रह नेपाली आख्यान साहित्यलाई दिईसकेकी छन् । आफ्नो लेखनीमा नवीन चेतना र प्रयोग बोकेर नेपाली आख्यान साहित्यको यात्रामा यात्रारत खड्काको लेखनजादुको स्वाद लिँदा उनका कथामा भेटाइने प्रेमको असफलता उनको आख्यानयात्रामा भेट्टाइने छैन भन्न सकिन्छ, उनले सधैं पाठकको प्रेम पाइरहनेछिन् - पाइरहून...........।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।