August 7, 2009

क्यानभासमाथि कोरिएका कहानीहरु

- जनार्दन वराल
'जीवन इन्द्रणीझैं छ, जीवनको क्यानभासमा कहिले, कहाँ खुशी कोरिन्छ कसलाई के थाहा हुन्छ र ? !' एउटा कथाकारको आफ्नो कथाको मनपर्ने कथाकारलाई लेखेको अन्तिम वाक्य हो यो । शर्मिला खड्का (दाहाल) नवीन कथासङ्ग्रह 'समयको क्यानभास' बाट यो वाक्य यहाँ सापटी लिइएको लिइएको हो । जीवनका रङ्गीन क्यानभासमा प्रममय जीवनमा खुसीको खोजी गरिरहेका कथाहरुको सङ्गालो हो- 'समयको क्यानभासमा ।'
'समयको क्यानभासमा' मोफसलमा बसेर नेपाली साहित्यमा समर्पित स्रष्टा शर्मिला खड्काको २४ वटा कथाहरुको नवीनतम् सङ्ग्रह हो । यस सङ्ग्रहमा उनले विविध विषयवस्तुका कथाहरुलाई स्थान दिए पनि उनको कथाको मुख्य भावभूमि चाहिँ प्रेम नै बनेको छ अझ विशेषगरी असफल प्रेम । संसारमा प्रेमका विषयमा लेखिएका प्रेमकहानीहरु विशेषगरी असफल वा अव्यक्त प्रेमकहानीमै आधारित भएर लेखिएका पाइन्छन् । ती कुराहरु शर्मिलाका कथाहरुमा पनि पाइन्छ तर उनको लेखनीमा बेग्लै किसिमको नवीनता र मिठास पाइन्छ ।
यिनको कथासङ्ग्रहको पहिलो कथा 'समयको क्यानभासमा' सिङ्गो सङ्ग्रहलाई शीर्षक प्रदान गर्ने कथा हो । मनोवादीय र पत्रलेखन शैली अंगालिएको यस कथामा आफ्नो मन परेको लेखक भेट्दा र अनायासै फेरि छुट्दा एकजना नारी प्रसंसकले गरेको अनुभूतिहरु सँगालिएको छ । आफ्नो प्रिय लेखकप्रति एकजना नारी प्रशंसकको झुकाव, लगाव, र प्रेम शक्तिलाई यस कथाले खोतलेको छ । यस कथामा बुझिने किसिमले यौनलाई पनि संङ्केत गरिएको छ ।
'कल्पनाको क्यानभासमा' कथा यसै कथाको प्रत्युत्तर हो । यो कथामा पनि मनोवादीय शैली अँगालिएको छ भने प्रसंशक नारीमा भएको झुकाव, लगाव र प्रेमाशक्ति प्रसंशित लेखकमा पनि भएको देखाइएको छ ।
'पवित्र सम्बन्ध' पनि समग्रमा प्रेम र यौनकै वरिपरि घुमेको कथा हो । यस कथामा पनि एकजना लेखकलाई उभ्याइएको छ जुन पहिलो कथामा थियो । यस कथा पनि मनोवादीय शैली प्रयोग गरेर लेखिएको छ यसमा एक केटा साथी र एक केटी साथबीचको नजिकको सम्बन्ध र स्वयम् केटीको स्वतन्त्र साहित्यलेखनका कारणले उनको श्रीमानसग पारपाचुके भएको प्रसङ्ग छ ।
'असम्बर्द्धित शान्ति' नारीसङ्र्घर्षको कथा हो भने यसमा प्रकृतिजनित कारणले पनि नारी पीडित हुनुपरेको कुरा कलात्मक ढङ्गले उठान गरिएको छ ।
'निश्चय अनिश्चय'ले परिवार तथा समाजमा छोरी पाउदा एक स्वास्नीमान्छेले झेल्नु परेको समस्या अनि समाज र परिवारले गर्ने व्यवहार र छोरी मात्र जन्मिएका कारण पुरुष प्रवृतिको भण्डाफोर गरेको छ ।
अर्को कथा 'सुकन्या उर्फनिलिमा' एउटा सशक्त द्धन्द्धकथा हो । यस कथाले माओवादीको १० वर्षो जनयुद्धको ताजा स्मरण गराउँछ । यस कथामा एकजना महिला माओवादी छापामारले आफ्नो जीवन तिलाञ्जली लिएर एउटा सीडिओको ज्यान बचाएको प्रसङ्गलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । आफुलाई नागरिकता नदिने सिडिओ जसका कारणले ऊ माओवादी बन्न बाध्य बनी, त्यही सीडिओलाई घाइते अवस्थामा पारेर उपचार गरेर समय विताउनु र आफ्नो ज्यान जोखिममा पारेर हिड्नु जस्ता घटनाहरु आदर्शवादी लाग्छन् । यद्यपी, एउटी नारी कति कोमल हृदयी हुन्छे भन्ने शन्देश भने कथाले निकै राम्रो संग दिएको छ । वास्तवमा यस कथामा वन्दुक वोकेर जंगल पसे पनि र मृत्युसँग लुकामारी खेल्न अभ्यस्त भए पनि आफ्नो जीवनमूल्य चुकाएरै भए पनि उसलाई आश्रय दिन्छ भन्ने शन्देश कथाले भरभूर दिएको छ ।
'ओ अपराजिता' कथामा एकजना स्वाभिमानी नारीलाई हराउन एकजना पुरुषले गरेको प्रयासहरु पुरुषकै डायरीका माध्यमबाट प्रस्तुत गरिएको छ । मनोवादिय शैलीमा लेखिएको यो कथामा अमूर्त शैली प्रयोग गरिएको छ । स्वाभिमानी र निडर नारीलाई सयौं प्रयासले पनि हराउन नसकिने कुरा यहाँ प्रस्तुत गरिएको छ ।
'अनिर्णयको बन्दी' कथा स्वतन्त्रताको खोजीमा अमेरिका पुगेकी केटीले अनेक हन्डर ठक्कर खाएपछि विवाहका लागि बाबुआमाले रोजिदिएको केटा स्वीकार्न पुगेको घटनालाई प्रस्तुत गरिएको छ । अनेक सम्वन्धको असफलतालाई प्रस्तुत गरेर रुप, यौवन र बौद्धिकताको अभिमानले दिने हण्डर ठक्करलाई यस कथामा प्रस्तुत गरिएको छ । जति नै घमण्ड गरे पनि जीवन भनेको सम्झौता हो र सम्झौता गरेर नै जीवन जिउनुपर्छ भन्ने कुरा यस कथामा देखाइएको छ ।
'बासुरीको धुन' कथा एकजोडी असफल प्रेमीप्रेमिकाको कथा हो । यस कथामा कथाकारले 'नोस्टाल्जिया'को प्रयोग गर्ने खोजेका छन् । तीन वर्षो अन्तरालमा माइत पुगेर राती आफ्नो पतिसँग सुत्दा बाँसुरीको धुनले विगतमा आफ्नो प्रेमिले वजाएको बाँसुरीको धुनको स्मरण गराउँछ नायिकालाई । उनी आफ्नो पीडादायी प्रमकहानी स्मरण गर्दै निदाउँछिन र भोलिपल्ट विहानै आफ्नो पूर्वप्रेमि बसेको कोठामा पुग्छिन् । त्यहाँ उनको पूर्वप्रेमि हुदैन तर उनको चिठि हुन्छ, 'सानु म तिम्रो जीवनदेखि धेरै टाढा जान चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदैछु......।' यो असफल प्रेमकहानीले एकपटक मनमा 'चसक्क' बनाउँछ ।
यसरी यो कथा संग्रहमा सङ्ग्रहित कथाहरुले विशेष गरेर असफल प्रेमकहानीलाई आफ्नो कथ्य बनाएका छन् । कथा सिर्जनाका परम्परित मान्यतालाई भङ्ग गरेर लेखिएका कथा भए पनि यी कथामा छुट्टै किसिमको कलात्मक नविनता पाउन सकिन्छ । यस कुरामा परशु प्रधान पनि सहमत देखिन्छन् । प्रधान भूमिकामा लेख्छन् , 'आजको इन्टरनेट युगमा कथाले खोजेको जुन नयाँ हाँक छ त्यसलाई शर्मिलाका कथाले पछ्याएका छन् , 'ट्रेन्ट'लाई बुझेका छन् ।
शर्मिलाले आफ्ना कथाहरुमा प्रायशः सहरी परिवेशको प्रयोग गरेकी छन् । पश्चिमा आधुनिकता र नेपाली परम्पराको सङक्रमणबाट गुज्रेका नेपाली सहरी वातावरणलाई उनले आफ्नो कथामा टपक्के टिपेकी छिन् र आफ्ना कथामा त्यहि संक्रमणकालीन समाजलाई घटनाप्रवृत्तिहरुलाई उनकी छन् । उनका कथामा विशेष गरी त्यहि संक्रमणकालिन समाजमा देखिने प्रेमका घटनाहरु प्रतिनिधि घटना बनेर आएका छन् । यद्यपि, उनका कथा परिवेशका दृष्टिले नेपाली गाउँदेखि अमेरिकाका भव्य शहरसम्म नै नफैलिएका भने होइनन् ।
पात्रप्रयोगका हिसावमा उनका प्रायः कथामा सम्भ्रान्त परिवारका पात्रहरुको प्रयोग गरिएको छ । नारी लेखक भएरै हुनसक्छ उनले अधिकांश कथामा नारी पात्रलाई प्रमुख पात्र बनाएकी छन् भने दृष्टिविन्दु पनि नारी नै प्रयोग गरेकी छन् । उनले आफ्ना रचनामा वर्तमान समाजको नारीस्वरलाई नवीन व्रि्रोह र मूल्यचेतना सहित सशक्त रुपमा उठाएकी छन् ।
भाषागत हिसावले पनि कथाहरुमा नवीनता भेटिन्छ । उनले प्रयोग गरेको एकालापी वा मनोवादीय शैलीले कथाहरुलाई निबन्धात्मकता प्रदान गरे पनि त्यो असहज लाग्दैन । राम्रो कागज, राम्रो साजसज्जा र राम्रै छपाइका साथ आएको पुस्तकको सम्पादन कमारप्रसाद कोइरालाले गरेका हुन् भने पुस्तकको प्रकाशन उत्खनन नारी साहित्य प्रतिष्ठानले गरेको हो । बालसाहित्यमा आफ्नो छुट्टै स्थान बनाइसकेकी शर्मिला खड्का -दाहाल) ले यसअघि पनि एउटा लघुकथासंग्रह नेपाली आख्यान साहित्यलाई दिईसकेकी छन् । आफ्नो लेखनीमा नवीन चेतना र प्रयोग बोकेर नेपाली आख्यान साहित्यको यात्रामा यात्रारत खड्काको लेखनजादुको स्वाद लिँदा उनका कथामा भेटाइने प्रेमको असफलता उनको आख्यानयात्रामा भेट्टाइने छैन भन्न सकिन्छ, उनले सधैं पाठकको प्रेम पाइरहनेछिन् - पाइरहून...........।

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।