April 3, 2010

उज्यालो बाटो शिक्षाको

पात्रहरू :-
वीरमान - बुबा -४५ वर्ष
आमा - -४० वर्ष
शेखर - दाजु, वीरमानको जेठो छोरा -१६ वर्ष
प्रदीप भाइ, वीरमानको कान्छो छोरा -१४ वर्षं
नेप्टे - १३ वर्ष नोकर
नरेन्द्र - प्रदीपको साथी
(अन्य साथीहरू -६, ७ जना)
रमा - छोरी -१० वर्ष

(साधारण बैठक कोठा । एकतिर भाइ प्रदीप पढ्न व्यस्त देखिन्छ । अर्कोतिर दाजु शेखर नेपाली डिस्को गीतमा नाच्न मस्त देखिन्छ । गीतको अन्तिम समयमा नोकर नेप्टे किस्तीमा चिया लिएर प्रवेश गर्छ । सुरुमा किस्ती नै बोकेर नाचको नक्कल गर्छ । फेरि किस्ती टेबुलमा राखेर आफ्नो धुनमा नाचको नक्कल गर्छ । यत्तिकैमा बुबाको प्रवेश हुन्छ ।)
बुबा - बन्द गर के गरेको - वाहियात आफू नपढे पनि भाइलाई त पढ्न दिनुपर्छ , नि ? उसको परीक्षाको समय छ ।
(नोकर नेप्टे डराउँदै चिया दिन्छ । दाजु शेखर डराएजस्तो र रिसाएजस्तो गर्छ । भाइ प्रदीप क्यासेट बन्द गर्छ ।)
शेखर - बुबा, (लाडे स्वर पार्दै ) आज ड्राई पिकनिक जानु छ, त्यसैले डान्स सिकेको, क्यासेट प्लेयर पनि लिएर जान्छु है ।
बुबा – पर्दैन (अलिक ठूलो स्वर पारेर) लिएर जानु, सँगैमा भाइ पढिरहन्छ । कक्षामा प्रथम भएर प्राइज लिएर आउँछ र पनि कुनै डिमान्ड गर्दैन । तँ भने डान्स पिकनिकमा दिन बिताउँछस् ?
शेखर – बुबा,,दुई सय रूपेयाँ पनि चाहिएको छ रिल किन्न
बुबा - तँलाई लाज लाग्दैन । भाइ कुनै फरमाइस गर्दैन । तेरो यस्तो नै चाला हो भने के गरेर आफ्नो खुट्टामा उभिन्छस् । सधैँ म तिमीहरूलाई पाल्न सक्दिनँ । मान्छेका छोराछोरी कस्तो दुःख गरेर पढ्छन् ।
नेप्टे – सबैजना चाहिँ पढ्न जान्छन् । मलाई पनि पढ्न रहर छ हजुर....
अघि हजुरले चाहिँ भन्नुभएकोचाहिँ मान्छे दुःख गरेर पढ्छन् चाहिँ त्यसैले म पनि दुःख गरेर पढ्न जान्छु हजुर ।
प्रदीप - बुबा, यो नेप्टे पढ्छ भने रातिको स्कुल हालिदिऊ न । दिनभरि काम गर्छ अनि राति पढ्न जान्छ, हुन्न -
बुबा - हुन्छ नि, त्यसै गर्नु ।
(बुबा जान्छन्)
शेखर - यो मोरो पढ्ने भएको खुरुक्क घरको काम गर्न छोडेर, पढेर के गर्छस ए मोरा . भाँडा कसरी माझ्नु भनेर पढ्छस होला, हैन (नेप्टेलाई हिर्काउँदै भन्छ ।)
नेप्टे - हजुर नपढ्नोस् न , म प्रदीप दाजुजस्तै पढ्छु । (कप टिप्तै क बाट कछुवा ख खरायो खरायोको सिङ छैन कता हरायो भन्दै शेखरलाई जिस्क्याउँछ ।)
प्रदीप - आफू नपढे पनि पढ्न मन हुनेलाई पढ्न दिनुपर्छ नि, दाजु ।
शेखर - पढेर के हुन्छ - नपढेहरू पढ्नेले भन्दा धेरै सम्पत्ति कमाएर ठाँटले बसेका छन् ।
प्रदीप - दाजु, पढ्नु भनेको सम्पत्ति कमाउनु मात्र हैन, आफूले आफूलाई चिन्नु पनि हो । पढाइलाई सम्पत्तिसँग तुलना नगर्नोस् । पढाइ भनेको ज्ञानको भण्डार हो । जसले ज्ञानको आँखा खोलिदिन्छ । पढाइले हाम्रो भित्री आँखा खोलेनौ भने पर्राईले हामीलाई पशुको जस्तो व्यवहार गरेको थाहा पाउन सक्तैनौँ । अनि हामी को आफ्नो को पराया छुट्याउन नै सक्तैनौँ ।
शेखर - भो, तेरो पढाइको भाषण तसँग राख ।
प्रदीप - हेर्नोस् दाजु, पैसा कमाउने लालचमा हामीले हाम्रो स्वाभिमान बेच्न हुँदैन । पैसा भन्दा पनि हामीले हाम्रो देशको नाम राख्ने काम गर्नुपर्छ । धन भन्दा ठूलो यश हो । हामीले हाम्रो काँधमा देश बनाउने अभिभारा लिएका छौँ । त्यसैले देश र जनताको सेवा गर्न केही बन्नुपर्छ । केही बन्न हामीलाई शिक्षाले नै उज्यालो बाटो देखाउँछ । शिक्षा भएन भने हामी अँध्यारामा रुमल्लिन्छौँ र ढल्छौँ । त्यसैले दाजु, हजुर पनि पढेर केही बन्ने अठोट गर्नुहोस् ।
शेखर - छोड्दे यी सब कुरा । मलाई मन पर्दैन । म ड्राइ पिकनिकमा हिँडेँ ।
(केही छिनपछि नोकर नेप्टेको प्रवेश हुन्छ )
नेप्टे - हजुरको चाहिँ साथी आउनुभएको छ ।
प्रदीप - पठाइ दे भित्र नै ।
नरेन्द्र - हेलो यार (हात मिलाउँदै ) तिमीलाई बधाई छ ।
प्रदीप – (बस्न इसारा गर्छ ) के कुराको बधाई -
शेखर - तिमीले पठाएको निबन्ध प्रथम भएछ । हेर त -पत्रिका देखाउ“दै ) ∕ तिमीले दुइ हजार रूपैयाँ पाउने भयौ ।
प्रदीप - अहा धेरै राम्रो भएछ ।
शेखर - अनि अर्को ताजा खबर, हनुमाननगरमा बाढीले धेरै नोक्सान गरेको छ रे जाने हैन स्वयम्सेवक भएन जुनियर रेडक्रसको नाताले ।
प्रदीप - जानुपर्छ, यस्तो उद्धारकार्यमा ढिलो गर्न हुन्न । (बुबाको प्रस्थान हुन्छ ) बुबा हनुमाननगरमा बाढीले धेरै दुःख दिएको छ रे हामी उद्धार गर्न जान्छौँ है -
बुबा - हुन्छ जाओ ।
नरेन्द्र - बुवा हेर्नोस् प्रदीप निबन्धमा प्रथम भएछ । (पत्रिका देखाउदै)
बुवा - स्याबास् छोरा धेरै राम्रो गरेछौ । मलाई तिमीमाथि गर्व छ । अब उद्धारकार्यमा जाओ । तर आफ्नो ख्याल राख्नू, है ∕ (प्रदीप र नरेन्द्र हिँड्छन् । बुबा पत्रिका पढेर बस्छन् )
(आमाको प्रवेश हुन्छ । थालमा पूजासामग्री बोकेर )
आमा - खोइ केटाकेटी - -बुबालाई हेर्दै ) रमा ∕ ए रमा ∕ कहाँ गई हँ - भात पकाउन ठीक पारिसकिस् -
रमा - हजुर ∕-भन्दै प्रवेश हुन्छ)
आमा - खोइ - भान्सा तयार गरिस् ।
रमा - कहाँ गर्नु नि - आफूलाई होमवर्क गर्दै ठीक छ ।
आमा - काम अह्रायो कि होमवर्क हुन्छ, हैन -
बुवा - हैन, तिमीले छोरीलाई किन गाली गरेकी - छोरीले काम नै गर्नुपर्छ भन्ने छ - छोरीलाई पनि पढ्ने अवसर प्रशस्त दिनुपर्छ ।
आमा - छोरीले नगरे कसले गर्छ त - म एक्लैले भ्याउँछु र ∕
बुवा – तिम्रो त्यो लाडे छोरो छ नि, त्यसलाई काम लगाउन सक्तैनौ - तिमीले बिगारेका त हौ नि, मेरो लायकको छोरो भनेर ।
आमा - अं, बिगे्रका जति मलाई अनि सप्रेको जति आफूलाई । खोइ त हजुरको त्यो किताबको कीरो छोरो ।
बुबा - दुवै हिँडे । एउटा पिकनिक हिँड्यो रमाउन । अर्को हिँड्यो बाढी पीडितको उद्धार गर्न ।
आमा - यी यस्तै हुन्छ ∕ छोरीलाई काम लाउन दिँदैनन । छोराहरू घर बस्दैनन् । म मात्र कति दलिनु -
बुवा - हिँड काम भनेको सबैले गर्नुपर्छ । म पनि सघाउँला । -आमा बुबा र रमा भित्र प्रस्थान ) -एकछिनपछि नेप्टे झाडू, बाल्टिन लिएर मञ्चमा आउँछ । अनि क्यासेट बजाएर नाच्तै सफा गर्छ । फेरी सम्झन्छ । अनि एउटा हातमा किताब बोकेर पढेजस्तै गरेर सफा गर्छ । एकछिनपछि क्यासेट बन्द गरेर पढ्दै काम गर्छ ।
नेप्टे - दुइ एकान दुर्इ, दुर्इ दुना चार पढ्ने लेख्न नपाए आफैँलाई लोपार । दुर्इ तिहाई छ दुइ चौका आठ पढ्न-लेख्न नजाने हान आफैँलाई झापड ।
(एकछिनपछि प्रदीप, शेखर, नरेन्द्र र साथीहरू घरभित्र पस्छन् । शेखरलाई अरूले बोकेर ल्याएका हुन्छन् । नोकर नेप्टे डराएजस्तो गर्छ । अनि चिच्याउँछ । हजुरचाहिँ हजुर । भन्दै ।)
(बुबा, आमा, के भयो भन्दै मञ्चमा आउंछन् )
बुवा - के भयो शेखरलाई -
प्रदीप - हामी बाढीपीडितलाई उद्धार गर्न जाँदा बाटामा शेखरदाजुको गाडी दुर्घटना भएको देख्यौँ अनि सबै मिली घाइतेहरूलाई अस्पताल लग्यौँ । शेखरदाजुलाई साधारण चोट लागेको हुनाले पट्टी लगाइदिएको छ ।
(आमा माया गर्छिन् )
बुवा - यस्तै हुन्छ । बरालिएर हिँड्नेलाई ।
शेखर - बुबा अब म बरालिएर कहिल्यै हिँड्दिनँ । प्रदीप र उसका साथी नभएको भए आज म मर्ने थिएँ । मेरा आँखा उघ्रिए । प्रदीपले भनेको मानेको भए यस्तो भोग्नुपर्ने थिएन । मेरो एउटा आँखामा ठूलो चोट लागेको छ रे । मेरो एउटा आँखामा चोट लागे पनि मेरो भित्री आँखा उघ्रेको छ । म अब सधैँ उज्यालो बाटो शिक्षाको नै पहिल्याउनेछु ।
बुवा - प्रदीप आज तिमीले ठूलो काम गर्यौ । तिमीले शेखर र उसका साथीको उद्धार गरेर ठूलो काम गर्यौ । हो यसरी सबैले पहिले आफ्नो घर सपारेर अनि समाज र देशको स्थिति सुधार्नुपर्छ । तिमीले शेखरलाई सही बाटामा ल्याएर ठूलो काम गर्यौँ ।
शेखर - भाइ मलाई माफ गरिदेऊ ।

०००००००

जनस्वास्थ्य अदालत

पात्रहरू- एकजना न्यायाधीश
- दुर्इजना वकिल
- एक बेन्च-असिस्टेन्ट
- तीनजना कीटाणु -भाइरस,ब्याक्टेरिया र अमिबा लेखेको पोसाक लगाएका)
- अन्य छ-सातजना दर्शकहरू

- अदालतको कोठा, एउटा मेच न्यायाधीशका लागि, छेउमा बेन्च-असिस्टेन्ट दुर्इजना वकिल मेचमा बसेका, अन्य छ-सातजना दर्शकहरू, न्यायाधीशको प्रवेश हुन्छ । सबैजना अभिवादन गर्छन् अनि बस्छन् । एकजना वकिल उठेर बोल्न थाल्छन् ।)

वादी वकिल - श्रीमान्, म आज मुद्दाको पक्षको तर्फाट बोल्दै छु । र्सवप्रथम, म श्रीमान्समक्ष आजको मुद्दाको विषयवस्तुको जानकारी गराउन चाहन्छु । मुद्दाको पक्षतर्फा मानिसहरूले अदालतसमक्ष के जाहेरी गरेका छन् भने कीटाणुले मानिसहरूलाई बेलाबखतमा दुःख दिएर धनजनको प्रशस्त हानिनोक्सानी गर्ने हुनाले सोको क्षतिपुर्तिसहित कीटाणुहरूलाई उचित दण्ड दिनुहुन अनुरोध गर्छु । तर्सथ श्रीमानमा म यो निवेदन गर्छु कि अदालतको नजिरअनुसार कीटाणुहरूलाई उचित दण्ड दिनुहुन अनुरोध गर्छु ।

(वादी वकिल बस्छन्, प्रतिवादी वकिल उठ्छन्)

प्रतिवादी वकिल - श्रीमान्, म आजको मुद्दाका विपक्षी कीटाणुहरूको पक्षबाट बोल्दै छु । श्रीमान्, मानिसहरूले कीटाणुहरूलाई विभिन्न आरोप र प्रत्यारोप लगाएर अदालतमा नालिस हालेका हुनाले सोको सही मूल्याङ्कन होस् भनी अदालतसमक्ष निवेदन गर्छु । श्रीमान्, कीटाणुहरूको वासस्थान नै फोहोरमैला सडेका खानेकुराहरू हुन् । मानिसहरूले यस्ता खानेकुरा पैसाका लोभमा वा लापरबाहीका साथ चलाउने हुनाले त्यसमा रहेका कीटाणु पेटमा पुग्छन् । अनि मानिसहरू बिमारी हुन्छन् । त्यसैले श्रीमान्, विपक्षी कीटाणुहरूको यसमा कुनै दोष छैन । यसमा श्रीमानले विचार गरी उचित न्याय दिनुहुन अनुरोध गर्छु ।

वादी वकिल- श्रीमान्, -साक्षी बकपत्र पेस गर्दै) म साक्षी बकपत्र पेस गर्दै यो भन्न चाहन्छु कि कीटाणुहरूले लाखौँ मानिसहरूको ज्यान केही समयमा नै खाइदिन्छन् । ब्याक्टेरिया, भाइरस र अमिबा भन्ने कीटाणुहरूले दिनको चार रातको चौगुणा गर्दै आफ्ना सन्तान बढाउँछन् र मानिसहरूलाई हमला गर्छन् । जति नै सरसफाइ राखे पनि उनीहरू आफ्ना सन्तान बढाउन सफल हुन्छन् । उनीहरूको लक्ष्य नै मानिसहरूलाई यो संसारबाट खतम गरेर उनीहरू आफूमात्रै बाँच्न चाहने हो । त्यसैले श्रीमान्, पक्ष मानिस पीडित छन् । न्याय पाउने निवेदन गर्छु ।
प्रतिवादी वकिल- श्रीमान्, मेरा विपक्षी साथीले भन्नुभएको कुरा सरासर गलत हो ।
वादी वकिल- होइन श्रीमान्, यो गलत होइन । यो कुरा साक्षी बकपत्रमा अझ प्रस्ट छ ।
प्रतिवादी वकिल- होइन श्रीमान् ।
न्यायाधीश- अर्डर, अर्डर, अर्डर, -पुन- प्रतिवादी बोल्न उठ्छन् वादी बस्छन् )
प्रतिवादी वकिल- श्रीमान्, मेरा प्रतिपक्षी कीटाणुहरूको लक्ष्य मानिसको वंश खतम गर्ने भन्ने कुरा सरासर गलत हो । किनभने सबै कीटाणुहरूले मानिसहरूलाई हानि गर्दैनन् । कति ब्याक्टेरिया र भाइरसले उनीहरूलाई फाइदा गर्छन् । त्यसैले श्रीमान्समक्ष म ब्याक्टेरिया र अमिबा नामको कीटाणु पेस गर्न चाहन्छु ।
न्यायाधीश- अनुमति छ ।
बेन्च-असिस्टेन्ट- ब्याक्टेरिया, भाइरस, अमिबा हाजिर हुने ।
(ब्याक्टेरिया, भाइरस, अमिबा अदालतसामु आउँछन् )
(बेन्च-असिस्टेन्ट गीताको किताब छुवाउँछन् )
कीटाणुहरू- म साँचो र सत्यमात्र बोल्छु ।
वादी वकिल- के तपाईँहरू मानिसहरूलाई हानि मात्र गर्नुहुन्छ - मानिसहरूको वंश खतम गर्न चाहनुहुन्छ -
ब्याक्टेरिया- होइन श्रीमान्, हामी मानिसहरूको वंश खतम गर्न चाहन्नौ । हामी, म ब्याक्टेरियाको सन्तानमध्ये कतिले मानिसहरूलाई फाइदा गर्छौँ । मानिसहरू दूधबाट दही बनाउँदा हामीलाई नै प्रयोग गर्छन् । अरू मीठा-मीठा खानेकुरा, औषधि हाम्रा सन्तानले बनाइदिन्छन् ।
अमिबा - श्रीमान्, म अमिबा पनि आफ्नो सफाइ दिन चाहन्छु । श्रीमान्, मानिसहरू संसारमा र्सवश्रेष्ठ प्राणी हुन् । उनीहरूले आफ्नो वंशलाई जोगाउन विभिन्न औषधिहरू पत्ता लगाइसकेका छन् । त्यसैले उनीहरूलाई नाश गर्नु सम्भव कुरो पनि होइन । कति मानिसहरू फोहोर पानी पिउँछन्, जहाँ म बसेको हुन्छु । त्यस्ता फोहोर पानी र खानेकुरा खाँदा नै म मानिसहरूलाई झाडापखाला लगाउँछु । त्यसैले मानिसहरूले स्वच्छ पानी पिइदिए सफा सुग्घर भए हामी उनीहरूको नजिक पनि बस्ने थिएनौँ, श्रीमान् ।
भाइरस - हो श्रीमान्, मानिसहरूलाई जस्तै यो संसारमा हामीलाई पनि बाँच्ने अधिकार छ । हामीलाई प्रकृतिले यस्तो वासस्थान दिएको छ । हामी यस्तामा नबसी कहाँ बस्न जाने - त्यसैले श्रीमान्, कीटाणुको पक्षमा न्याय गरिदिनुपर्यो ।
प्रतिवादी वकिल- तपार्इँहरूलाई जान अनुरोध गर्छु ।
(तीनजना कठघराबाट बाहिर निस्कन्छन् )
(केही छिनपछि )
न्यायाधीश- आजको बहसमा भएको पीडित पक्षको सुनवाइ र विपक्षीको सुनवाइअनुसार कीटाणुको कुनै दोष नभएको यो अदालत ठहर गर्छ । यस सुनवाइमा मानिसहरूले आफ्नो लापरबाहीका कारण फोहोरमैलामा बस्ने र त्यस्ता ठाउँमा बसेका कीटाणु भएका खानेकुरा खाने हुनाले उनीहरूलाई आफ्नो सुरक्षाका लागि सफासुग्घर भएर बस्ने, खाना खानुअघि र पछि हात धुने, चर्पीको राम्रो प्रयोग गर्ने, सफा पानी पिउने र सडेगलेका खानेकुरा नखाने आदेश दिँदै जनस्वास्थ्य-अदालत कीटाणुको कुनै दोष नभएको ठहर गर्छ ।

००००००००


लुरेको सफलता

पात्रहरू-
लुरे- आठ-नौ वर्षो केटो
मामा- २४-२५ वर्ष (लुरेको मामा)
आमा- २६-२७ वर्ष(लुरेकी आमा)
साने- लुरेको साथी
सानो केटो- ४-५ वर्षो
दिदी, बहिनी- लुरेकी दिदी अनि बहिनी
(मञ्चमा बोल्ने, पुरस्कार दिने र केही दर्शकहरू)
दृश्य- -घरको आँगन, आँगनमा लुरेका मामा उभिएका छन् ।)
मामा- ए लुरे, ए लुरे ∕ के गर्नु भान्जा-भान्जीलाई पनि यसरी हकारेर बोलाउनुपर्छ । भानिज.., ए भानिज..., कहाँ गए हँ ∕ दिन यतिका भइसके, अझ गाईबस्तु फुकाएका छैनन् कता मर्न गए भनेको ह“ -
लुरे- हजूर.. -देखापर्छ)
मामा- हैन आज गाईबस्तु फुकाउनुपर्दैन कि क्या हो - जुम्रा मारेर बसेर हुन्छ -
लुरे- म गाईबस्तु हेर्दिनँ मामा । मलाई पढ्न पठाइदिनोस् न ।
मामा- पढ्ने अरे.. तिम्ले पढेर कसले हेछन् यी गाईबस्तु । यसो भिनाजु पनि खसिहाले । दिदीलाई लाउन-खान दिन पनि धौ-धौ पर्यो भनेर दयामाया गरेको त पढ्न जान्छु, पढाइ दिनोस् पो भन्छन् है गाँठे । क्यारे≤ आफ्नो छोरो पढाउन त आफूलाई कुन हविगत । अनि यी अर्काका सिसो-बासो , न त जस दिन्छन् क्यारे, न त फलिफाप हुन्छ ।
लुरे- मामा, तपार्इँले मेरी आमालाई भानिजलाई पढाइदिन्र्छु भनेर ल्याउनुभएको होइन । बाउ पनि मरिगए । बाउ भएका भए मलाई पनि तपाईँका छोरालाई जस्तै पढाउँथे होलान् ।
मामा- यी भानिज साह्रै बोल्ने भएछन् ए गाँठे... चाहिने मामलको भातले पोस लागेछ कि क्यार । ल्याउँदा मर्छन् कि बाँच्छन् जस्ता थिए । अहिले यस्तो बोल्ने भए भनेर कसले पत्याउ“छन्.. ए गाँठे । लौ खुरुक्क गाईबस्तु हेन जाऊ । बढ्ता कुरा नगर ।

-लुरे भित्र पस्छ । मामा पनि स्टेजभित्र पस्छ ।)
-एकछिन लुरे मसिना केटाकेटीलाई गाईबस्तु बनाएर स्टेजमा देखापर्छ । हँ... हँ... माले भन्दै गाईबस्तुलाई स्टेजको एउटा ढोकाबाट निकालेर अर्को ढोकातिर लान्छ । साने भन्ने केटो पनि लुरेजस्तै गाईबस्तु निकालेर एउटा ढोकाबाट अर्को ढोकातिर खेद्छ । दुवैजना आएर एकै ठाउँमा बसेर गफ गर्न थाल्छन् ।)

साने- हैन हाउ.. लुरे, तेरो मुख निकै अँध्यारो देख्छु नि, क्या हो के परो भन न
लुरे- तेरो मुखमा किरा परो । नकरा मलाई (र्झकदै भन्छ ) ।
साने- हैन हाउ साने त्यसो नभन् न हाउ । आखिर म तेरो साथी हुँ । जे भए पनि तलाई हाँसेको देख्न चाहन्छु म ।
लुरे- देखिनस् ती मामा भनाउँदा, मलाई पढाउँदैनन् अरे । म सधैँ तिनीहरूका गाईबस्तु हेरेर बस्नु अरे । आफूलाई पढेर ठूलो मान्छे बन्न अनि क्या हो≤ त्यो मान्छे बोक्ने घ्याम्पोजस्तो ठूलो हुन्छ अरे नि, त्यसमा गुड्न मन छ । तर यी मामा मेरा कंस हुन् क्या कंस अब म यिनीहरूकोमा सधैँ बसिरहन्नँ। भागेर गएर मधेसमा भाँडा माझेर भए पनि पढ्छु । अनि ठूलो मान्छे भएर यी मामाहरूलाई देखाउँछु ।
साने- हैन हाउ भाग्ने कुरा बन्दै नगर् न हाउ । मेरो माया लाग्दैन तँलाई ।
लुरे- लाग्छ नि... ∕ लागेर के गर्नु, मलाई तँ जस्ता धेरै साथी बनाउनु छ अनि धेरै साथीको माया छातीभरि राख्नु छ ।
साने- त्यसो भए तँ मान्छे चढ्ने घ्याम्पामा चढ्न जान्छस् हैन त... -
लुरे- हो त्यो धरानमा छ अरे भनेको सुन्छु । हेरौँ । कहिले हेन पाइने हो ।

(त्यत्तिकैमा हेलिकप्टरको आवाज आउँछ । दुवैजना आवाज सुन्छन् ।)

साने- ए लुरे, सुन त त्यो मान्छे बोकेर हिँड्ने ठूलो चील हुन्छ रे नि, त्यसको आवाज आउँदै छ । अस्ति हाम्रा बाले भनेका त्यसमा मान्छे चढेका हुन्छन् रे । त्यो माथिको आर्मी क्याम्पमा कहिलेकाहीँ आउँछ नि, मलाई त हेर्न कस्तो मन छ ।
लुरे- हो नि हाउ मलाई पनि त हेर्न कस्तो मन छ । हेर्न जाउ भने गाईबस्तु हराउलान् भन्ने पीर । हराए भने मारिहाल्छन् मामाले ।साने- हराउँदैन हाउ, ऊ त्यहाँ हेर आर्मी क्याम्पतिर -उठेर देखाउँदै) आउँदै छ । जाऔँ अलिक मास्तिरबाट हेरौँ । मान्छे कसरी बस्दा रहेछन् । अनि कसरी उड्दो रहेछ हेरौँ।
लुरे- छोड् दे साने गाईबस्तु हराउँछन् ।
साने ( आइज न आइज, -तान्दै) अलिक पर लगेर घाँटी तानी-तानी हेर्छन् । हेर त मान्छे निस्केका । त्यसका त लामा-लामा जुँगा पनि रहेछन् । भुँडी पनि कत्रो ठूलो हगि । त्यसभित्र त मान्छे पो कोचिँदा रहेछन् त ।
लुरे- हो त मैले पनि अलि-अलि देखेँ । मान्छे सबै झरे । अब कुन बेला उड्छ कोनि ।
साने- अब एकछिनपछि उड्छ । त्यसलाई थकाइ लाग्यो होला । त्यतिन्जेल हामी खाजा खाऔँ न । अनि उडेको हेर्न मजा आउँछ क्या । आँ.., कति डराउनु, जे पर्ला, पर्ला नि हाउ... ।
(दुवैजना पोल्टाबाट मकै झिकेर खान थाल्छन् ।)

एकछिनपछि

साने- साह्रै तिर्खा लाग्यो हाउ लुरे मलाई त । ऊ त्यता कुवा छ कि म पानी खान्छु । अनि तँलाई पनि ल्याइदिऊँ कि क्या हो ।
लुरे- ले र आ न त । म यहीँ बस्दै गर्छु
(साने पानी लिन जान्छ ।)
(एकछिनपछि लुरे उङ्न थाल्छ । अनि निदाउँछ ।)
(एकछिनपछि हेलिकप्टर उडेको आवाज आउँछ । लुरे तर्सेर उठ्छ अनि हेर्न थाल्छ । सानेको बाटो हेर्छ ।)
(एकैछिनपछि साने आइपुग्छ ।)
लुरे- के बिघ्न ढिला गरिस् साने तैँले त । म त बाटो हेर्दाहेर्दै निदाएछु ।
साने- तँ डरछेरुवा हेर्न हिँड् न जाउँभन्दा मानिनस् अनि म त क्याम्पसम्म पुगेर आएँ । त्यो चील उडेको पनि हेरे। क्या मज्जा आयो । त्यसका जुँगा त कस्तो गरी घुम्दो रहेछ । रोटेपिङ भन्दा छिटो । फननन..... गरेर । -आफै घुमेर देखाउँछ )
लुरे- छोड.. (समाउदै भन्छ ) तँ गाईखाने उता गइस्, मलाई डरछेरुवा भन्छस् । भरे बस्तु हराए भने तँलाई नै पोल हालिदिन्छु । ल हिँड् साँझ पनि पर्न लागिसक्यो ।
साने- ल.. हिँड त.. हिँड् ।
(दुवैजना "ए तार ए काली लाखे है लाखे भन्दै कराउँछन् )
(एकछिनपछि अघि चर्न गएका गाईबस्तु स्टेजमा एउटा ढोकाबाट देखापर्छन् र अर्को ढोकाबाट निस्कन्छन् ।)
लुरे- हैन हाउ साने, त्यो राती गाई त छैन नि हाउ । भरे मामाले दूध दुहुने बेलामा खोज्छन् । मार्ने भए आज, के गरौँ -
साने- नडरा न, भोलि आइहाल्छ नि । हाम्रा बाले भनेका जङ्गलमा बाघ, चितुवा छैनन् रे केले खान्छ र ∕ आज साँझ- परिसक्यो । हिँड् जाऔँ ।
(दुवैजना गाईबस्तुसँगै ढोकाबाट भित्र पस्छन् )

दृश्यपरिवर्तन – (चुल्हा छेउमा हजुरआमा छेउमा मामाका छोरा, लुरे भात खादै गरेको , भान्सा कोठाको दृश्य)
हजूरआमा- (सानो केटालाई) ला .. बाबू दूध खा ।
लुरे - हजूरआमा, अलिकति दूध मलाई पनि दिनोस् न ।
हजूरआमा- के रे - दूध ∕ गाईबस्तु राम्रो चराउन नसक्नेलाई दूध । अहिले यही अगुल्टाले हानिनँ भने । दूधचाहिँ खान जा न त्यही राती गाईको । दूध दुहुना गाई हराएर भुत्रो खान्छस् । अब गाई पनि बिग्रिने भयो । पख् न तेरी आमा आएपछि सबै कुरो लाइदिन्छु ।
लुरे- आज हराएर के भो त हजूरआमा । भोलि भेटिइहालिन्छ नि । सानेका बाउले भनेका जङ्गलमा बाघ, चितुवा छैन रे केले खान्छ र । मलाई दूध दिन कति गाह्रो मान्नुभएको ।
हजूरआमा- जो चोर, उसकै ठूलो स्वर । तेरा घरमा खान्छस् होला नि दूध । तेरा बाउलाई टोकिहालिस् । अब मामलकालाई पीर दे न ।
लुरे- हजूरआमा, त्यसरी नभन्नू न । मलाई पढाइ पनि दिनुभएन अनि खान र लाउन पनि राम्ररी दिनुभएन भने म त जान्छु भागेर सहर । (रुन्चे स्वरमा भन्छ )
हजूरआमा- बाउलाई टोकिस्, अब भागेर आमालाई पिर् न । अरू के गर्न सक्छस् (रिसाएर) ।
लुरे- त्यसो भए अब म आमासँगै जान्छु । यहाँ बसेर म के गरूँ । सँगैमा मामाका छोराहरू दूध खान्छन् । मलाई भने गाली ।
हजूरआमा- तँ डाँक्लेलाई कसले दिन्छ दूध, दूध खान त बालख हुनुपर्छ । पख्, तेरी आमा आउन दे । म सब पोलिनछु भने । मरी जाउँ ।

दृश्यपरिवर्तन- (घरको आगनमा लुरेलाई गाली गर्दै )

मामा- (लुरेलाई झापड हान्दै) राती गाई भेटिहाल्छ नि भन्दै गफ लगाएको हैन । ल जा... गाईबस्तु हेर्न जाने हो कि - चील उडेको हेर्न जाने - अब जाने कि नजाने -
(लुरे रुन थाल्छ, त्यसै समयमा हजूरआमा आइपुग्छिन् । मामालाई सम्झउँछिन् ।)
हजूरआमा- छोड् बाबु छोड् दे केटाकेटी नै छ । बुद्धि आँ छैन ।
मामा- छोड् भन्छौ । अनि राती गाई हराएको कसले ल्याउँछ ।

(त्यसै समय आमा पनि आइपुग्छिन्, आमासँगै लेपास्सिँदै लुरे रुन्छ ।)

हजुरआमा- हेर् कान्छी, क्यारे मेरो छोरालाई पिटे भनेर नभन् । हामीले खानलाउन मनग्गे दिएका हौँ । तेरो छोरो दिनभरि बरालिएर त्यही जाबो गाईबस्तु पनि राम्ररी नहेरे हामीले के गर्नु । हिजो राती गाई हरायो । मामा र मलाई ठाड्-ठाडै मुख लाग्छ । के गर्छेस्, भागेर सहराँ जान्छु भन्छ । भागिदियो भने तलाई पनि पीर अनि हाम्लाई पनि पीर ।
मामा- हेर दिदी, भिनाजु खसिहाले, तिम्रा अरू पनि केटाकेटी छन् । खानलाउन धौ हुन्छ भनेर यी भानिजलाई मैले राखिदिन्छु भनेर लेर आँ । तर तिम्रा छोरो बरालिएर हिड्छ । केही भन्यो उल्टै जबाप- लाउछ । क्यारे आफ्नो एउटै छोरो पढाउन त मलाई कत्रो हविगत छ । तिमी जे भन्छौ त्यही गर ।
आमा- हेर्नोस्, आमा, हेर भाइ, मेरो लोग्ने भने पनि छोरा भने पनि मेरो सहारा यही एउटै छ । यसले पढ्न अचाक्ली मन गरेको छ । म के गरौँ - गाईबस्तु हेरेर बस्दिनँ भन्छ । बाउ मरेर गइहाले नत्रभने बनिबुतो गरेर भए पनि एउटा छोरो पढाउँथे होलान् । मलाई पनि माइतको आड हुन्छ भनेर छोरो पठाएँ । खानलाउन त मेरो पेट काटेर भए पनि छोरो पाल्न सक्छु । तर के गरूँ । मामाहरूको सङ्गतले कखरा चिन्छ कि भनेर पठाएको । घरकाले पनि अंश दिन्नौँ पोइल जान्छेस् भनेर खेदो गरे । यी बालख लिएर कहाँ जाऊ म ।
मामा- आफ्नो औकात नभए किन पढाउन मन गर्र्छौ दिदी - यसलाई पढाउन हुनुपर्यो नि जायजेथा ∕ त्यसै आकाशको तारा ताकेर हुन्छ ।
आमा- हेर भाइ, यसले यहाँ नबसौँ सहराँ जाऔँ, म भाँडा माझेर भए पनि पढ्छु भन्छ । सहरामा ज्यालादारी काम पाइन्छ भन्छन् । म के गरूँ । मलाई घरकाले पनि आड दिएनन् । माइतको यस्तो चाला छ । दुःख परेको बेला कोही आफ्नो हुँदैन रहेछ । सबै सुखमा मात्र हाई-हाई गर्दा रहेछन् । -आमा सुँक्क, सुँक्क गरेर रुन्छिन् )
हजुरआमा- के गर्छेस् खोइ कान्छी । मलाई तेरो चिन्ता लागिरहन्छ नाइँ । तर के गर्नु । पर गएकी छोरी । अर्काको सिसोबासो बेहोर्न पनि सकिँदैन रहेछ । तेरो खुसी गर ।
आमा- आमा अब म जान्छु, मधेसतिर झर्छु अनि उतै अलिकति वन फँडानी गरेर यी छोराछोरी पाल्छु । छोराले साह्रै रहर गर्यो । मरे भने सबै सन्तान लिएर मरौला । भगवानले हात थापे बाँचौँला । औलोबाट बाँचे फेरि भेटौला आमा । अनि भाइ मलाई बिदा दे सन्चोसुबिस्ता खबर पठाउँला ।

(आमा बिदावारी मागेर हिँड्छिन्, हजुरआमा र मामा घरतिर पस्छन् । लुरे आमाको पछिपछि लाग्छ ।)

(केही छिनपछि एउटी ठूली छोरी, लुरे र सानी छोरी लिएर डोकामा मनग्गे सामान बोकेर आमा स्टेजमा देखापर्छिन् ।)
लुरे- हेर त आमा त्यसभित्र मान्छे चढेका हौ ।
आमा- बाबु, यसलाई गाडी भन्छन् । यसले मान्छेलाई बोकेर गुड्छ ।
लुरे- आमा हामी पनि चढौँ न कस्तो हुँदो रहेछ ।
आमा- छोरा यसमा चढ्न पैसा धेरै लाग्छ । अहिले नचढौँ । हामीले अझै हिँड्नु छ । हिँडेर नै पुग्नुपर्छ ।
लुरे- ठीकै छ आमा, हिँडौ न त । तर हामी कहाँ जाने आमा ।
आमा- मधेसमा तेरा हजूरबाका मीत छन् । उनको धेरै जमिन छ रे भनेको सुनेको हुँ । त्यहीँ गएर जमिन कमाएर बस्नुपर्छ । एक पेट त पालिएला नि, छोरा -
लुरे- हुन्छ आमा, अलिक राम्रो बन्दोबस्त भएपछि म पनि स्कुल जाउँला । हुन्न आमा । मधेसमा स्कुल पढ्न गाह्रो छैन । अनि आमा भोक लाग्यो, के खाने -
आमा- हिँड् न छोरा, आजसम्म पुगियो भने उतै भात पकाएर खाउँला भोक त लाग्दै गर्छ नि ।
(सबैजना हिँड्दै भित्र पस्छन् )

दृश्यपरिवर्तन ( भान्साकोठाको दृश्य, छेउमा चुल्हा, केही गाग्रा र थाल बटुकाहरू )

(लुरे र आमा खुइय गर्दै भित्र पस्छन् । ठूली छोरी चुल्होछेउमा भात पकाउँदै छे । सानी छेउमा सुति राखेकी छे ।
आमा- खोइ, ठूली भात ले, खाऊ।
लुरे- आमा थाकिएछ नि हाउ । भोक पनि जोडले लागेको छ ।
आमा- थाक्यौ नि छोरा । बिहानको ३ बजे देखि धान काट्न हिँडेका दिनभरिमा आमाछोरा भएर झन्डै एक बिघा खेतको धान काटिएछ अनि थाकिँदैन त ∕
लुरे- आमा, अब हामी भोकभोकै बस्नुपर्दैन हगि । मीत हजूरबाले अलिकति जमिन पनि दिन्छु भनेका छन् । उनी यहाँका ठूलाबडा पनि हुन् । अनि हामी धान काटेर पनि पैसा जोहो गर्र्छौँ, हैन आमा - अँ साँच्चि आमा, अब धान काट्ने काम सकिएपछि म स्कुल पढ्न जान्छु, है -
आमा- हो छोरा, अब तँ स्कुल पढ्न जानू । यत्तिकै लागि त म पहाडबाट हामफालेर माइतमामल छोडेर आएँ।
लुरे- खोइ लेऊ, दिदी, भात खाऊँ । एकछिन क, ख पढेर सुत्छु म त ।

(सबैजना भात खाएजस्तो गर्छन् । एकछिनपछि सुत्छन् । लुरे किताब पढिरहन्छ कुपी बालेर ।)

-नेपथ्य ( लुरेले धेरै मिहिनेत गरेर पढ्यो । उसले धेरै राम्रा-राम्रा काम गर्यो । उसले समाजलाई धेरै काम लाग्ने राम्रा-राम्रा किताब लेख्यो । उसले ठूलो दुःख भोग्यो तर पनि उसले कहिले हरेस खाएन । अनि आफूजस्तै दुःख परेकालाई धेरै सहयोग गर्यो । उनीहरूको उद्धार गर्यो । उसलाई धेरै मान्छेले चिने । धेरैले उसलाई माया तथा सम्मान गरे । आज उही लुरे देशको एउटा गौरवशाली व्यक्तिको रूपमा चिनिएको छ ।)

(एउटा मञ्चजस्तोमा लुरे र दुइचारजना मान्छे बसेका छन् । एउटा छेउमा उद्घोषक अनि अरू दर्शकहरू छन् ।)

उद्घोषक- आदरणीय उपस्थित सज्जनवृन्द तथा महिलाहरू, मानिसले जीवनमा धेरै दुःख गरेका हुन्छन् । तर दुःख गरेर पनि जोकोहीले यसरी राष्ट्रिय सम्मान पाउन सक्तैनन् । तर आज तपाईँ-हामीहरूको बीचमा एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले धेरै दुःख गरेर अनि आफूजस्तै दुःख परेकालाई सहयोग गरेर आज यो पुरस्कार तथा सम्मान पाउँदै हुनुहुन्छ । वहाँ हुनुहुन्छ साहित्यकार तथा समाजसेवी सफलबहादुर ।
वहाँले जीवनमा धेरै दुःख पाउनुभयो । तर त्यो दुःखलाई वहाँले हाँसीहँसी स्वीकार गरेर समाज अनि देशलाई भलो हुने काम गर्नुभयो । हामीले पनि वहाँको जीवनीबाट प्रेरणा लिनुपर्छ । अनि कहिले हार नखाई राम्रा-राम्रा काम गरेर सबैको प्रिय बन्नर्ुपर्छ । हामीले वहा“बाट ठूलो शिक्षा लिनुपर्छ ।
अब म प्रमुख अतिथिलाई पुरस्कार तथा सम्मान गर्नुहुन अनुरोध गर्छु ।
-प्रमुख अतिथि उठेर माला लाइदिन्छन् अनि पुरस्कार दिन्छन् । मञ्चमा बसेका सबैजना अबिर लाइदिन्छन् । दर्शकहरू उठेर ताली मार्छन् ।)

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।