- डा. कुमारप्रसाद कोइराला
यो नयाँ ढङ्गमा लेखिएको कृति हो । यसलाई मुक्त तरिकाले लेखिएको कृति पनि भन्न सकिन्छ । यो न कथासङ्ग्रह हो न उपन्यास नै । यसलाई कथासङ्ग्रह र उपन्यास नभनेर आख्यानात्मक कृति भन्न सकिन्छ । यहाँ स्वतन्त्र रूपका कथा लाग्ने रचना छन् र तिनलाई कथाकार दिवाकर र अनामिकाका सम्बन्ध र संवादले एकअर्काबिच जोडेका छन्, तर यी परम्परागत ढङ्गमा लेखिने कथाभन्दा भिन्न छन् । त्यस्तै यसलाई उपन्यास पनि भन्न सकिएला तर यो प्रचलित ढाँचाको उपन्यास पनि होइन । नेपाली साहित्यमा यस्ता ढङ्गका कृति लेखिन थालेका छन्, जस्तै कृष्ण बरालको अवतरण (२०६१) अमर न्यौपानेको पानीको घाम (२०६६¬) आदि ।
खड्काको यस कृतिलाई यस्तै नवीन ढङ्गको आख्यान भन्न सकिन्छ । यसका कतिपय कथामा कथाकार स्वयम् पात्र बनेको र कतिपय कथामा कथाकारकै निजी कथा व्यक्त भएको पनि देखिन्छ । यस कृतिमा प्रयुक्त पात्रहरू कथाकारका इच्छामा निर्भर छैनन् र ती स्वतन्त्र लाग्दछन् ।
पात्रहरू कथा लेख्छन् । कथाको प्रतिउत्तर वा प्रतिकथा पनि लेख्छन् । यस्तै कथा र प्रतिकथाको शृङ्खलाले यस कृतिलाई एउटै बनाएको छ । यी कतिपय कथाका पात्रहरू कथाकारका कल्पनाबाट जन्मेका भन्दा बास्तविक छन् । यी कतिपय कथाका पात्रहरू कथाकारका कल्पनाबाट जन्मेकाभन्दा बास्तविक चरित्रलाई पात्र बनाइएका जस्ता देखिन्छन् । त्यसैले ती कथाकारका अधीनमा नबस्ने स्वतन्त्र छन् । बरु यिनीहरूले आफ्नो चरित्र देखाउन कथाकारलाई आफूसँगै लिएर हिँडेका छन् र कथाकार उनीहरूका पछि लागेर उनीहरूको चर्तिकला हेरिरहेको पनि देखिन्छ । यी सबै कारणले यो कृति नयाँ ढङ्गको भएको छ । मलाई के लाग्छ भने यस्तो नयाँ ढङ्गको लेखाइले यसलाई धेरै पाठकले मन पराउन सक्छन् ।
पात्रहरू कथा लेख्छन् । कथाको प्रतिउत्तर वा प्रतिकथा पनि लेख्छन् । यस्तै कथा र प्रतिकथाको शृङ्खलाले यस कृतिलाई एउटै बनाएको छ । यी कतिपय कथाका पात्रहरू कथाकारका कल्पनाबाट जन्मेका भन्दा बास्तविक छन् । यी कतिपय कथाका पात्रहरू कथाकारका कल्पनाबाट जन्मेकाभन्दा बास्तविक चरित्रलाई पात्र बनाइएका जस्ता देखिन्छन् । त्यसैले ती कथाकारका अधीनमा नबस्ने स्वतन्त्र छन् । बरु यिनीहरूले आफ्नो चरित्र देखाउन कथाकारलाई आफूसँगै लिएर हिँडेका छन् र कथाकार उनीहरूका पछि लागेर उनीहरूको चर्तिकला हेरिरहेको पनि देखिन्छ । यी सबै कारणले यो कृति नयाँ ढङ्गको भएको छ । मलाई के लाग्छ भने यस्तो नयाँ ढङ्गको लेखाइले यसलाई धेरै पाठकले मन पराउन सक्छन् ।
अर्को कुरा यो कृतिमा समसामयिक समस्यासँग सम्बन्धित रचनाहरूको आधिक्य छ । त्यसैले यो ताजा र नयाँ स्वादको लाग्छ । यसले अहिलेको नेपाली समाजलाई व्यञ्जित गरको छ । यसमा नेपाली समाजका खास गरी नारीवर्गका समस्यासँग सम्बन्धित रचना सबभन्दा बढी छन् । यिनलाई नारीवादी रचना भन्न सकिन्छ । किनभने यिनले पुरुषप्रधान नेपाली समाजमा नारीका के कस्ता समस्या छन् र उनीहरूको के कस्तो अवस्था छ भनेर व्यञ्जित गरेका छन् । हाम्रो समाजमा शिक्षित, नोकरी गर्ने, साहित्य लेख्ने र समाजमा पतिको भन्दा आफ्नो नाम कमाउने नारीहरूलाई पुरुषहरू कसरी हेप्न खोज्छन् र नारीका आत्मसम्मानमा कसरी ठेस लगाउँछन् भनेर सत्यताको क्यानभासमा र वर्तमानको क्यानभासमा नामक रचनाले प्रकट गरेका छन् । विदेशमा बस्ने नेपाली युवती अथवा कामदारका रूपमा विदेश गएका र परपुरुषबाट बलात्कृत भई विक्षिप्त बनेर स्वदेश फर्केका नारीका पीडालाई जीवनको क्यानभासमा र विद्रोहको क्यानभासमा नामक रचनाले व्यञ्जित गरेका छन् । विरहको क्यानभासमा विदेश गएको छोरालाई बुहारी कसरी चरित्रहीन भई भनेर दुःखी आमाले लेखेको पत्र छ । विवशताको क्यानभासमा माओवादी द्वन्द्व र युद्धको बेलामा यद्ध मैदानमा मरी भनेर छाडिएकी छापामार युवती संयोगले बाँचेकी र स्वतन्त्र र खुलारूपमा जीवनयापन गर्न नसकी यौनकर्मी भएर विदेशिएकी र ऊ विदेशमै षडयन्त्रपूर्वक मारिएको कथा छ । स्मृतिको क्यानभासमा र आकस्मिकताको क्यानभासमा एउटी टुहुरी केटीले कान्छी आमाबाट खेप्नुपरेको पीडा र असफल प्रेमसम्बन्ध र सफल दाम्पत्यजीवन तथा पूर्व प्रेमीको स्मृतिले उसमा जन्मेको मनोद्वन्द्व व्यञ्जित भएको छ । त्यस्तै आवृत्तिको क्यानभासमाले यौनकर्मी भएर जीवनयापन गर्न बाध्य महिलाले परपुरुषबाट भोग्नुपर्ने यौन, उत्पीडन र दुराचारको चित्रण गरेको छ । विखण्डनको क्यानभासले परदेश गएको पतिसँग भेट हुनेभयो भनेर खुसी भएकी तर पति एचआइभी पोजेटिभ किटाणुबाट सङ्क्रमित रहेछ भनेर अत्यन्त दुःखी भएकी पत्नीको असहनीय पीडा व्यक्त गरेको छ । अर्काको घरमा सहयोगी भएर काम गर्ने हकअधिकार विहीन महिलाको हक अधिकारको वकालत मानवीयताको क्यानभासमा नामक रचनामा गरिएको छ । यसरी यी नारीवादी रचनाले नेपाली नारीवर्गका विविध समस्यालाई चित्रण गरेर वर्तमान नेपाली समाजमा नारीहरूले भोगेका दुःख , पीडा, वेदना, आभिघात प्रकट गरेका छन् । नारीले नै लेखेकाले यी काल्पनिक र अतिरञ्जनापूर्ण छैनन् । स्वाभाविक र प्रभावकारी बनेका छन् ।
विकृतिको क्यानभासमा नेपाली सहरी समाजमा युवायुवतीबिच यौनउच्छुङ्खलता बढेको र तिनले असामाजिक र अनैतिक यौनक्रियाकलाप गरेर समाजलाई प्रदूषित बनाइरहेको प्रति चिन्ता प्रकट गरिएको छ । त्रासदीको क्यानभासमा व्यापारी कहाँ काम गर्ने केटाले साहुबाट आमाको उपचारमा सहयोग नपाउँदा साहुलाई मारेर पछुताएको प्रसङ्ग आएको छ । सांस्कृतिकताको क्यानभासमा नेपाली नारीहरूका लागि तिजको धार्मिक महत्त्व घट्तै गएको र त्यसको सामाजिक र मनोवैज्ञानिक बाँकी रहेको चर्चा गरिएको छ । अरू बाँकी रचनाहरू स्त्री र पुरुषबिच हुने रतिराग र प्रणयसम्बन्धसँग सम्बन्धित छन् । तिनले शारीरिक र आत्मिक दुवै प्रेमका विविध पक्ष उद्घाटन गरेका छन् । यस्ता रचना समाज निरपेक्षरूपमा आएका छन्, तर रति र प्रणयले तिर्खाएका पाठकहरूका लागि यी महत्त्वपूर्ण हुन सक्छन् । कथाकार दिवाकर र पहिले पाठक अनिपछि कथाकार नै भएकी अनामिका बिचको सम्बन्ध साहित्यकार र पाठक बिचको मात्र नभएर अलि भावुकतापूर्ण छ र कतिपय दृष्टिले प्रणयपरक हुँदै गएको देखिन्छ र अन्तमा सन्तान विहीन कथाकार दिवाकर र उसकी पत्नीका लागि अनामिका सेरोगेटेड मदर (अरूका लागि बच्चा जन्माइदिने आमा) बनेको समेत देखाइएको छ ।
यसरी यस कृतिको अध्ययन गर्दा के देखिन्छ भने शर्मिला खड्काको आख्यान लेखन एक खुडकिलो अरूमाथि उक्लेको छ । समयको क्यानभासमा (२०६५) नामक कथासङ्ग्रहबाट उनी नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेकी थिइन् भने यो दोस्रो कृतिबाट उनले नेपाली आख्यानमा आफ्नो उपस्थितिलाई गणनीय बनाएकी छन् । नेपाली नारी आख्यान लेखनको इतिहासमा उनको छुट्टै स्थान बनेको छ भन्ने कुरामा कसैले विमति जनाउन सक्दैन । उनको यस कृतिबाट उनी अहिले कस्तो लेखन छ, कस्तो रचना समसमायिक हुन्छ र कसरी लेख्दा नवीन हुन्छ भनेर अरूका रचना पढ्ने समसामायिक विचार अनुसार लेख्ने र रचनालाई नवीन पारेर प्रस्तुत गर्ने खालकी आख्यानकारका रूपमा अगाडि आएकी देखिन्छिन् । उनको यो प्रयास प्रशंसनीय छ । म उनको यो प्रयासको अभिनन्दन गर्दै अरू गहकिला रचनाको लागि शुभकामना पनि दिन चाहन्छु ।
0 comments:
Post a Comment