वास्तवमा निबन्ध, लेख्छु र सङ्ग्रह बनाएर प्रकाशित गर्छु भन्ने सोच उषाकालीन मेरो साहित्य लेखनमा उदय भएकै थिएन । मेरो सीमित सोचाइको घेरामा निबन्धसङग्ररूपी विराट महासागरले आकार नै लिएको थिएन । सबै सोचेको कुरा हुन्छ भन्ने छैन र सबै नसोचेका कुरा हुँदैनन भन्ने सिद्धान्त सबैको जीवनमा लागु हुन्छ भन्ने कुरा म मान्छु । यो जडसूत्र जन्मनुको मुख्य कारणचाहिँ मेरो बौद्धिकतामा हुने यान्त्रिक खराबी हो- म भन्छु । जसले गर्दा निबन्धरूपी वायुयान धेरै चोटि उडाउन खोज्दाखोज्दै पनि असफल भएकी थिएँ । यदि कसैले मेरो विषयमा भन्नुपर्दा यही कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ जसलाई म होलसेलमा नै स्वीकार गर्न तयार छु । यसलाई मेरो तर्फाट स्पष्टिकरण दिनुपर्दा म मेरो साहित्यिक पृष्ठभूमि अलिकति उर्घार्न चाहन्छु । आइए र बिए गाइडको भरमा प्राइवेट पास गर्नु र तीनवटा दायित्वलाई सफलताका साथ पूरा गर्नु पर्दा साहित्यलाई तेस्रो दर्जामा राख्नु नै यसको मुख्य कारण हो । जसको कारण साहित्यको अध्ययन र लेखनलाई कम समय दिनुले यो कुरा स्वतः सप्रमाणित भएर आउँछ । निबन्धको जटिलतामा आफूलाई बाधेर पोखिनु नसक्नु मेरो कमजोरी भएको छ । तर आज त्यो कमजोरीलाई मैले ठोकठाक, जोडजाड पारेर ‘सिर्जना र सन्त्रास’ सङ्ग्रहमा आत्मगतता निबन्धमार्फत निबन्धरूपी आकाशमा पाठकहरूलाई विचरन गराउने प्रयास गरेकी छु ।
बि.स. २०६० सालमा सानी छापिएर पुरस्कार पाएपछि म बालसाहित्यकारको रूपमा साहित्यिक क्षेत्रमा पदार्पण हुन पुगेँ । तर सानी छापिनुअधि नै बि.स.२०५५ सालमा समष्टिमा मेरो कथा 'असफल सङ्धर्ष’ ले कथाजगतमा केही हलचल मचाएको थियो । यो कथापछि अन्य दुईचारवटा कथाहरूले प्रशंसा बटुलिसकेका थिए । कथा र बालसाहित्य लेख्दालेख्दै मैले जीवनसँग धेरै अनुभूति र भावनाहरू साटिसकेकी थिएँ । यस्तै भावना र संवेदनाहरूले शब्दसँग कुस्ती खेल्दाखेल्दै यो संस्करण, जीवनी र लेखहरू लेखेर थुपार्न थालेकी थिएँ । ‘सिर्जना र सन्त्रास’ सङ्ग्रहमा भएका मध्ये मलाई सम्झना भएअनुसार 'सानी जन्मदेखि पुरस्कारसम्म' नै पहिलो सस्मरण हो । यो रचनागर्भको पनि रचनागर्भ छ । सानीले साझा बालसाहित्य पुरस्कार-२०६० प्राप्त गरेको भोलिपल्ट म खुसी बाड्न परशुदाईकोमा गए ।
परशुदाइले भन्नुभयो- 'बहिनी यो सानीको रचनागर्भ छ भने लेख्नोस् ।' मैले दाजुको रचनागर्भहरू पढेकी थिएँ ।
' खै लेख्न सक्छु र दाजु -' मैले भनेँ।
'कोशिस गर्नुहोस् न ।' -उहाँले भन्नुभयो ।
नभन्दै घरमा आएर प्रयास गरे राम्रो रचनागर्भ तयार भयो । त्यो रचनागर्भ गरिमामा पठाएँ। त्यो रचनागर्भ पुरस्कार पाएको दिन गरिमामा छापिएर सोही पुरस्कार पाउने समारोहमा बाँडिएको थियो । मेरो खुसीको कुनै सीमा थिएन । एक त साझा पुरस्कार प्राप्त गर्दाको गरिमामय र भव्य वातावरण त्यही माथि मेरो पहिलो रचना गरिमामा छापिएको गौरवमय क्षण । म त्यो खुसी शब्दमा वर्णन गर्न सक्दिनथेँ । तर पनि मैले प्रयास गरे र त्यो समयलाई जीवन्त बनाउन एउटा संस्मरण 'सत्य सधै अमर हुन्छ' लेखेकी थिएँ । त्यो संस्मरण कुन पत्रिकामा दिए थाहा भएन । मलाई दुख लागिरहेछ अहिले मसँग त्यसको केही अंशमात्र बाँकी छ । त्यो यसप्रकारको थियो -
वि.स.२०६२ साल वैशाख ३ गते मेरो जीवनमा रोमाञ्चकता र कौतूहलताले भरिपूर्ण भएको दिन थियो । म धेरै दिन अघिदेखि त्यो दिनको प्रतिक्षामा थिए । उक्त दिन म नयाँ ठाउँ, नयाँ परिवेशमा बेहुलीझैँ प्रबेश गर्दै थिएँ । नयाँ ठाउँ नयाँ परिवेशमा ठूलठूला व्यक्तित्वहरूको माझ म सम्मानित र पुरस्कृत हुँदै थिएँ। सो अवसर मलाई प्रदान गरेको थियो साझा प्रकाशनले । साँच्चै भव्य तयारी गरिएको रहेछ, सो कार्यक्रमलाई मैले हृदयदेखि स्वागत गरे र सम्मिलित हुन पुगेँ । म सबैको लागि अपरिचित थिएँ र धेरैजसो साहित्यिक व्यक्तित्त्वहरू मेरा लागि अपरिचित हुनुहुन्थ्यो । नयाँ बेहुलीझैँ अज्ञानताले भरिएको मुहार अपरिचित व्यवहार बोकेर उपस्थित भएकी थिएँ म प्रज्ञा प्रतिष्ठानको आँगनमा ।
केही सामान्य परिचयपछि लक्ष्मीदिदीले भन्नुभयो- 'तपाईँ त आजको हिरोइन ।' तर मेरो आत्माले उहाँको अभिव्यक्तिलाई नकारी रहेको थियो । बरु उहाँले मलाई बेहुली भनिदिनु भएको भए म सहमतीमा पुग्थेँ हुँला । किनभने हिरोइनलाई सबैले चिनेको हुन्छ , देखेको हुन्छ । तर बेहुलीको नाम र उसको प्रशंसा मात्र सुनेको हुन्छ । तर मैले उहाँको अस्वस्थ्य वाचनलाई पाचन गरेँ किनभने म त्यो नौलो परिवेशमा बेहुलीधर्मिता पूरा गर्दै थिएँ ।
साँच्चै, म बेहुलीझैँ थिएँ त्यो दिन । सबैको उत्सुकतापूर्ण हेर्राई र कौतूहलतापूर्ण नजरको वर्षा भइरहेकोथ्यो त्यो क्षण म माथि । अपरिचित परिवेशमा म त्यो क्षणको आनन्द लिइरहेकी थिएँ । किनभने त्यो अपरिचित वातावरण म फेरि चाहेर पनि पाउन सक्दिनथेँ । त्यो क्षण चा“डै नै समाप्त हुँदै थियो । त्यसैले जतिसक्दो म त्यो वातावरणको आनन्दमा डुब्न चाहन्थेँ । तर त्यो सौभाग्य म धेरैबेरसम्म टिकाउन सक्दिनथेँ किनभने चाँडै नै पार्क भिलेज रिसोर्टमा त्यो वातावरण सदासदाको लागि समाप्त हुँदै थियो ।
नभन्दै उदधोषिका सन्ध्या पहाडीज्यूले बालसाहित्यको पुरस्कृत व्यक्तित्व भन्नुबित्तिकै सबै विशिष्ट व्यक्तित्वहरू परिचयको पावरफूल चस्मा लगाएर हेर्न थाल्नुभयो । म नवदुलहीझैँ लाजले धकाएँ । म सबैको मायालु र स्नेहालु व्यवहारको आशामा आङ्काक्षाको डुङ्गा तैरिरहेकी थिएँ । हुन त केही समय अघिदेखि मैले यस्तो व्यवहार जिएम नवराज कार्की लगायत केही नगण्य परिचित व्यक्तिहरूबाट पाइरहेकी थिएँ ।
मेरो मन उमङ्गको लहरमा द्रविभुत हुँदै आनन्दको छलाङ्ग लगाइरहेको थियो । सबैको माया, स्नेह र सम्मानले श्रृगारिएर म साहित्यको बलियो बाहुपाशमा आफूलाई अझ बढी जकडिदै लादै थिएँ । स-सम्मान, भव्यताका साथ म साहित्यसँग आजीवन प्रणयसुत्रमा बाँधिदै थिए । जब सम्मानको समय आँखामा चम्किरहेको मोतीरूपी आँसुहरूलाई लुकाउन सकिनँ । कल्पनाको संसारमा मात्र चित्रित भएका वरिष्ठ साहित्यकारहरूका माझ राष्ट्रकविको हातबाट आफूलाई सम्मानित र पुरस्कृत हुन पाउँदा शायद साहित्यका लागि प्रताडित हुन पुगेको मेरो आत्मा हर्षाश्रति आँसु थाम्न सकिरहेको थिएन । मैले जिन्दगीमा यो भन्दा खुसी र सौभाग्य बिरलै पाउन सकुलाँ । मैले आफूलाई अत्यन्त भाग्यशाली ठानेँ ।
यो संस्मरणको अन्य भाग गुमाउनु पर्दा अहिले मलाई साह्रै दुख लागेको छ ।अब फर्कौ मनको गनथनमा ।
झण्डै दुई दर्जन कथा छापिएर कथाकारको उपाधि पाएपछि महानन्द सापकोटाको साहित्यिक महोत्सवमा भागलिने अवसर पाएकी थिएँ । त्यो यात्रा मेरो जीवनको अविस्मरणीय यात्रा रह्यो जसलाई मैले शब्दमा कैद गर्न सफल भएँ। त्यो नियात्राले पनि साहित्यिक माहौलमा निकै प्रशंसा बटुल्यो ।
एकपल्ट दिग्गज साहित्यिक साधक आदरणीय दाजु गोबिन्द भट्टर्राईज्यू मेरो निमन्त्रणा स्वीकारेर मेरो झोपडी पाल्नुभएको थियो । दाजुको प्रेरणा र हौसलाले म आफूमा भएको साहित्यिक खजाना सबै पोखेर दाजुको आत्मीयता र सदासयताको सागरमा चुर्लुम्म डुव्न चाहेँ। दाजुलाई मैले तत्काल भएको त्यो नियात्रा टक्रयाएँ । दाजुले त्यो नियात्रा गेस्टहाउसमा गएर राति पढ्नु भयो । बिहान मैले दाजुलाई चियाको निमन्त्रणा दिएकी थिएँ । दाजुले सो नियात्रा पढेर भन्नुभयो 'बहिनी, यस्ता निबन्ध अरू पनि छन् भने सङ्ग्रह निकाल्नु पर्छ ।' दाजुले भन्नुभएपछि म झल्याँस्स भएँ- 'अहो † मसँग यस्ता संस्मरण, लेखहरू त छँदै छन् किन नछाप्ने सङ्ग्रह बनाएर -' सायद दाजुले त्यसबेला त्यसो नभन्नु भएको भए ती निबन्धहरू कतै फाइलमा बिलाएर जान्थे होलान् । किनभने मेरा यस्ता केही राम्रा लेखहरू हराएर गए ।
मेरा मन साह्रै चञ्चल छ । म निस्त्रिय र स्थीर भएर रहन सक्दिनं । यो मेरो स्वभाव हो । सायद यही स्वभावले गर्दा नै होला मैले बालसाहित्यमा विभिन्न बिधामा कलम चलाएकी हुँ । त्यस्तै प्रौढसाहित्यमा पनि कलम चलाउँदै छु । हुन त एउटै विधामा कलम चलाएर सिद्धहस्त भई कुनै उपाधि हासिल गर्नु राम्रो हो भन्ने कुराको तर्क दिई मलाई जोकोहीले हराउन सक्नुहुन्छ । म आफ्नो स्वभावको कमारी हुँदाहुँदै पनि मैले मेरो स्वभावलाई ठेलठाल, मिचमाच पार्दै कथाविधामा चाहिँ विशिष्टता हासिल गरुँ भनेर लागेकी पनि थिएँ । तर जब म साहित्यिक क्षेत्रमा आफूलाई तन, मन, धनसहित समर्पित गर्ने सोचले काठमाडौँ आएर कीर्तिपुर मा स्नातकोत्तर अध्ययन गर्न थालेण त्यसपछि मेरो स्वभावले हौसिने मौका पायो र अन्य विधातिर लम्कन थाल्यो । जसको नतिजा अहिले म पुस्तक समिक्षा, सस्मरण, निबन्ध, समालोचनातिर कलम चलाउदैछु ।
1 comments:
यो अनुभूति साच्चै रोचक छ ।
Post a Comment