May 28, 2010

महत्त्वपूर्ण सम्पत्ति

उनले आफ्नी आमा पालेकी थिइन् । चारभाइ छोरामध्ये कसैसँग अटाउन सकेकी थिइनन् उनकी आमा । कुनै समय उनकी आमाको विचार यसरी सार्वजनिक भएको थियो– ‘मैले किन अंश भाग लिनु र ? सबै छोराहरूले बाँडून् । म एउटी आमालाई कुनै न कुनै छोराले एक छाक खान र लाउन त देलान् नि †’ उनकी आमाको इच्छाअनुसार चारै भाइले अंश भाग लिएका थिए । साइँलो छोरो अलिक पढेको र ढिलो बिहे गरेको हुनाले बूढीआमैले साँइलो छोरासँग बस्ने निधो गरेकी थिइन् । साइँला छोरालाई उसको शिक्षाले डो¥यायो जागिरतिर अनि पु¥यायो सहरमा । उसले जागिरे केटी नै बनाएथ्यो जीवनसँगिनी । बूढी आमै पनि छोरालाई पछ्याउँदै पुगेकी थिइन् सहरमा । तर सहरको वातावरणले उनको गाउँले परिवेशलाई रमाउन दिएन । छोराबुहारी जागिरमा गइहाल्ने अनि दिनभर समय काट्ने साधनको अभाव हुन्थ्यो उनलाई । उनको सुखदुःख उनी आफैसँग पौँठेजोरी खेल्थे । छोरासँग बसेर बुहारीको घरधन्दामा हैकम चलाएर बस्ने बूढीआमैको चाहना मनको लड्डु भयो । छोरा–बुहारीको सीमित आय अनि समयको पाबन्दीमा बूढी आमैका धेरै इच्छाहरू खुम्चिए ।

बूढी आमैसँगै उनका छोरीहरू र नातिनातिनाहरूको आवतजावतले छोराबुहारीहरूको व्ययभार अझ बढ्न गयो । आफूहरूले मात्रै बूढी आमैको सम्पूर्ण खर्च बेहोर्नुपर्दा उनीहरू कुँढिन थाले । कहिलेकाहीँ असन्तुष्टिभाव पोखिन्थे बूढीका पोल्टामा । बूढीआमैको मनको मानो पनि छोराबुहारीको स्याहारबाट कहिले भरिन सकेन । अरू छोराबुहारीहरूले आमाको चाहनास“ग साक्षात्कार हुनै चाहेनन् । फ्याकेको थोत्रो वस्तुसरह व्यवहार गरे । केही समयपछि आमा ओछ्यान परिन् । अनि उनले जागिरे भाइबुहारीको समस्या बुझेर घरैमा ल्याएर, आमा पालेर, आमाको सत्गत गरेकी थिइन् ।

उनलाई लागेथ्यो आमाले आफ्नो साथमा सम्पत्ति नराखेको हुनाले सबै छोराबुहारीबाट तिरस्कृत हुनुपरेको भनेर । त्यसैले उनले विचार गरेकी थिइन् आफूले मर्ने बेलासम्म आफ्नो सम्पत्ति कसैलाई नदिने । त्यसैले उनले छोराहरूलाई अंशभाग गर्दा आफ्नो भागमा पनि मनग्गे सम्पत्ति राखेकी थिइन् । अहिलेका छोराबुहारीले पाल्छन् भन्ने भरोसा उनलाई थिएन ।

समयको पाना पल्टँदै गयो । उनकी आमाले जस्तो गल्ती गरेको छैनँ भनेर जीवनका पानाहरू सुनौलो अक्षरले भर्ने उनको चाहना थियो । ‘म ताक्छु मूढो बन्चरो ताक्छ घु“डो’ भनेझै“ उनको उचित मार्गदर्शन पाएर जीवनमा सफलता नै सफलता पाउँदै गएका उनका छोराहरूले सम्पत्तिलाई महत्त्व दिएनन् । उनीसँग सम्पत्ति त थियो तर छोराहरू धेरै टाढा भइसकेका थिए । ‘आमासँग सम्पत्ति छँदै छ नि, मान्छे राखेर काम लाउँदा भइहाल्छ नि । हामी पनि बेफुर्सदी हुन्छौँ।’ छोराबुहारीहरूको यस्ता अभिव्यक्तिबाट मर्माहत हुन्थिन् अनि खोज्थिन् आफ्नोपन । आधुनिक परिवेशको प्रतिस्पर्धामा छोराबुहारीहरूको जीवनचर्याले आमाप्रतिको दायित्व र कर्तव्यलाई सुलुत्त निलिदिएको थियो । अनि पिल्सिएको थियो उनको बुढ्यौली । उनले उमेरभरि आफ्ना दुई छोराहरूका लागि गरेका त्याग र बलिदान समयको हुरीले धेरै टाढा पु¥याइसकेको थियो । जीवनले थकाइको सुस्केरासँगै धेरै अनुभुतिसँग लुकामारी खेलिसकेको थियो । उनले बुझिन् समयको धारले जीवनको महत्त्वपूर्ण सम्पत्तिलाई उजिल्याउ“दो रहेछ अनि सबैले त्यसलाई आत्मसात् गर्नुपर्दो रहेछ ।

1 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।