"हेलो शर्मिलाजी के छ हालखबर -" एउटा साहित्यिक कार्यक्रममा मेरो ऊसँग भेट हुन्छ । म पनि औपचारिकता निभाउँछु । उसँगको मेरो चिनारी कलिलै थियो । ऊ केही आक्रोशित र चिन्तित देखिन्थ्यो । ऊ झरनाबाट झरेको पानीझैँ बग्न थाल्यो - "तपाईँका कथाहरू त भटाभट छापिन्छन् नि, कसरी छापिन्छन् - मलाई पनि उपाय बताउनोस् न् । तपाईँको 'समय'मा छापिएको कथा 'समयको क्यानभासमा' र गरिमामा छापिएको 'अनिर्णयको बन्दी' पढेँ । तर मलाईचाहिँ 'समयको क्यानभास'मा नै मन पर्यो किनभने आफूपनि एउटा सफल कथाकार भएर तपाईँले झैँ कुनै युवतीले मलाई त्यसरी नै मन पराउँछे कि भन्ने लागेको छ ....."ऊ अस्पष्ट हाँसो हाँस्यो । मैले उसको मनोवैज्ञानिक अध्ययन गरेँ ।
"तर खैर यो कुरा छाडौँ । हेर्नोस् न मैले एउटा कथा कति मुस्किलले लेखेको थिएँ । तर त्यो छापिन नै सकेन । लेख्नुको पीडा बेग्लै, फेरि नछापिदाको पीडा बेग्लै । अब त आफू लेख्न पनि छोडुजस्तै लागेको छ । त्यसैले म अति दुखी छु । शर्मिलाजी , तपाईँको कतै चिनजान भए प्रयास गरिदिनुहोस न् ।" यति भनेर ऊ रोकियो ।
ऊ आफू धेरै बोल्ने अरूको कम सुन्ने व्यक्तिमा पर्दथ्यो । त्यसैले ऊ कहिले आफ्नो कुरामा ब्रेक लगाउँला भन्ने प्रतीक्षामा थिएँ म ।
"त्यो कुन कथा होला हेरौँ न । यदि कथा उत्कृष्ठ र समसामायिक भएमा छापिने समस्या नै हुँदैन किन पीर मान्नु हुन्छ - फेरि सुरुसुरुमा त सबैलाई गाह्रै हुन्छ । मलाई पनि कति गाह्रो भएको थियो भन्ने कुराको तपाईँ कल्पना नै गर्न सक्नुहुन्न । अहिले मात्र केही सजिलो भएको हो । अहिले पनि कतिपय मेरा रचना प्रकाशित हुन सकेका छैनन् । लेखन पनि माझिनुपर्दो रहेछ ।" उसको विश्वास जित्न खोज्दै भन्छु । उसले फेरि एक्सिलेटर दबायो ।
"यो कथा मैले धेरैअगाडि लेखेको हुँ। त्यसबेला यो समसामायिक थियो । तर एउटा कथा एक ठाउँमा दिएपछि एकवर्षसम्म अर्को पत्रिकामा नदिनू भन्ने नियमले यो कथा त्यसै प्रकाशनको मारमा पर्यो । फेरि पछि दिँदा यसको कुनै दम छैन भनेर सम्पादकहरूले त्यसै हुत्याइदिए । हेर्नोस् न मेरो कथा मैले कति मिहिनेत गरेर लेखेको छु । तपाईँले पढेपछि थाहा पाइहाल्नुहुन्छ... ।"
मैले नै उसको कुरामा ब्रेक लगाउँदै भनेँ - "मलाई पनि कथा पढ्न दिनोस् न, त्यसपछि म तपाईँको कुरा सुन्न तयार हुन्छु ।" त्यसपछि उसले आफ्नो सानो ब्यागबाट कथा निकालेर पढ्न दियो ।
ऊ फेरि सुरु भयो- " हेर्नोस् यो मेरो आफ्नै कथा हो । यो कथा पढेपछि थाहा पाइहाल्नुहुन्छ ।
म कथा पढ्न थालेँ । कथा यसप्रकारको थियो ।
मेरो अन्तिम कामना यही छ †
यहाँहरूलाई थाहै छ, म नव सिलवालको "कारगिलको मोर्चा" मा बाँचेछु भने आफ्नै देश र्फकन्छु भनेको । साँच्चै कारगिलको युद्धमा म बाँचेँ । मृत्यु मबाट निराश भएर र्फकनुपर्यो, भनौँ मुखमा आएको मृत्यु फर्केर गयो । तत्पश्चात् म भाँडाको सिपाही भएर अस्तित्वविहीन र उद्देश्यविहीन भएर हैन आफ्ने देशको परिचय लिएर बाँच्छु भनेर भारतीय सैनिकबाट राजीनामा दिएर फर्केँ ।
देश र्फकदा मसँग केही रकम, राष्ट्रियताले पोलेको मुटु र साथी हर्केको माया छातीभरि थियो । यो सब बोकेर म आफ्नो गाउँ तनहुँको वसन्तपुरतिर लागेँ ।
बाटामा मेरा काका पर्नेको घर थियो । मृत्युले फ्याकेको अनुहार एकपल्ट काकालाई देखाएर मात्र गाउँ जाऊ भन्ने सोचले म काकाको घरमा पसेँ । काकाको घरमा पसेपछि पो थाहा पाएँ, काकाको घरमा ठूलो आपत्ति आइपरेको रहेछ भनेर । म ड्युटीमा रहेकाले देशमा भएको यत्रो ठूलो दुर्घटनाप्रति म अनभिज्ञ रहेछु । मेरा काकाको छोरालाई इराकमा आतङ्ककारीले वीभत्स हत्या गरेका रहेछन् । काकाले मलाई देख्नेबित्तिकै डाँको छोडेर रुन थाल्नुभयो । सायद मलाई देख्दा आफ्नो कलकलाउँदो मुनाजस्तो छोराको सम्झना आयो होला उहाँलाई । फेरि काकाको छोरा र म दाजुभाइमात्र नभई दौँतरी पनि थियौँ । त्यसैले मेरो उपस्थितिमा छोराको सम्झनाले पिरोलेको हुनसक्छ उहाँलाई । समयसँग सम्झौता गर्दै थामिएको पीडाको भेल एक्कासि पोखियो मेरा समीपमा । त्यस समयमा उहाँ मात्र हैन लाखौ नेपालीको मुटु दुखेको थियो रे नेपाली हुनुको पीडाले । राष्ट्रियताको बाढी उर्लेको थियो रे । अनि धेरै राष्ट्रिय सम्पत्ति बगायो रे त्यस बाढीले । राष्ट्रियताको भावनाले पोलेको मेरो मनले केही शीतलता प्राप्त गर्छ कि भनेर सोचको थिएँ, तर झन् तड्पियो मेरो मन । जेनतेन आफूलाई सम्हाले अनि काकालाई सहानुभूतिका शब्दले शीतलता प्रदान गरेँ । त्यसदिन काका र मैले एकआपसमा पीडा साटासाट गर्यौ । मैले देशको स्थितिको बारेमा धेरै कुरा थाहा पाएँ । काकाले मेरो गाउँ जाने कुरामा असहमति जनाउँदा-जनाउँदै पनि म भोलिपल्ट आफ्नो गाउँतिर लागेँ ।
गाउँ जाँदा बाटामा पहिलाको जस्तो चहलपहल केही थिएन । गाउँघर असाध्यै शून्य थिए । मान्छेविहीन, पशुपन्छीविहीन गाउँ निर्जीवजस्ता देखिन्थे । बाटैमा रात पर्यो । वास बस्नका लागि उपर्युक्त घरको खोजी गर्न थाले । जताततै सन्नाटा थियो । केही पर एउटा घरमा धूवाँ आएजस्तो देखेँ । त्यहाँ केही गाईबस्तु पनि देखेँ। त्यहीँ सजीवताको अभासले मलाई त्यसै घरतिर डोर्यायो ।
"घरमा को हुनुहुन्छ - वास पाइन्छ कि.... -" - मैले विनम्रता बिछ्याएँ।
घरभित्रबाट एकजना वृद्ध लौरो टेक्तै बाहिर निस्के अनि सशङ्कित र आर्श्चर्यमिश्रति भावले घोरिँदै मलाई हेरेर भने- "बाबुको नि - परदेशीलाई वास बस्न दिन पनि गाह्रो छ †"
मलाई आर्श्चर्यभावले घेर्यो, पाहुनालाई भगवान्सरह मान्ने हाम्रो सभ्यतामा एउटा बुजुगले यसो भनेको सुनेर ।
"किन र बा, पाहुना त देवतासरह हुँदैनन् र -" मैले वास नपाउने सम्भाव्यतालाई पन्छाउँदै प्रश्न गरे“ ।
मेरो प्रश्न नसकिँदै बूढामान्छे जोसिए- "हुँदैन बाबु, हुँदैन, अब पाहुना देवतासरह मान्ने दिन सकिए ।"
वृद्धको कुराले बास नपाइएला कि भन्ने मनमा सन्त्रास उत्पन्न भयो अनि मैले अझ नम्र हुँदै भने- "साँझको पाहुना हुँ बा, अन्त कहाँ जाऊँ बास बस्ने ठाउँ पनि देखिँदैन । आजको रात दिनुहोस् कुनै अप्ठ्यारो पर्दैन,बरु धर्म नै हुनेछ ।"
मेरो कुराले बूढाको मुख अलिक उज्यालो भयो । ममा पनि आशाको मुना पलायो । बूढाले घरभित्र बोलाउँदै भने- "त्यसो भए आउनुहोस् बाबु, भित्र बस्नुहोस् भनेर अगेनीको छेउमा सुकुल बिछ्याइदिए ।
बूढा पनि आगो छेउमा बसे । आगोको उज्यालोमा वृद्धको मुहारमा अनौठा भावहरू देखिन्थे ।
कुराको लिस्नो थप्दै वृद्धले भन्न थाले- "बाबु धेरै समयपछि पहाड आउनुभएजस्तो छ ।....... यो पहाड पहिलाको जस्तो छैन बाबु,...... तपाईँले पढेको, भोगेको र देखेको जस्तो छैन । नत्रभए हेर्नोस् - गुरूप्रसाद मैनालीले हामीलाई गुमाने र्घर्ती र धनजीते भोटे बनाएर छिमेकमा जन्माए । उनले मर्दाको मलामी, जिउँदाको जन्ती भन्ने पाठ सिकाएका हुनाले हामी त्यस्तो काटामार झगडा गर्दा पनि मिलेर बस्यौँ । तर हाम्रा छोराछोरी छिमेकमा मिलेर बस्नु त कता हो कता आफूआफू दाजुभाइ काटामार गरेर मर्न लागे बाबु ।"
वृद्धको कुराले म रोमाञ्चित भएँ । गुमाने र्घर्ती र धनजीते भोटे यसरी मिलेर बसेको देखेर आनन्दित पनि भएँ । मलाई उक्त वृद्धको कुराले अझ बढी उत्साही र जिज्ञासु बनाउँदै लग्यो । मैले संवाद बढाउने चेष्टा गर्दै भनेँ-
"अनि बा तपार्इँ को नि -"
वृद्धले भने-"म धनजीते हुँ बाबु, गुमाने भित्र बिरामी भएर सुतिरा'छ । उसले पहिला मलाई बिमारी हुँदा निकै चाकर गरेको थियो त्यसैले आज म उसको स्याहार गरिरहेछु ।" असीबाट पनि निकै माथि लागेको वृद्धको शारीरिक क्षमता देख्ता म छक्क परेँ । "हुन पनि हो, पहाडको विशुद्ध हावापानी अनि विशुद्ध खानेकुरा खाएर हुर्केका मान्छे हुन् । हामीजस्ता हुन् र -"
मेरो उत्सुकता बढ्दै गयो । "अनि तपाईँका श्रीमती र छोराछोरी खोइ नि बा ।"
उनले भृकटी तन्काउँदै भने- "हाम्रा श्रीमतीहरू छोराछोरीका पीरले मरिसके । अनि हाम्रा छोराहरू त अघि नै भने“ नि बाबु । एकअर्काका शत्रुझैँ बनेका छन् । सानोतिनो कुरालाई बिर्सेर सबैजना एक भएर बस्नुपर्नेमा बाबु..............।"
बोल्दाबोल्दै धनजीते बाका शब्द रोकिए । मलाई धनजीते बाका कुराले मुटु छोयो । हुन पनि हो छिमेकमा गुमाने र धनजीते कसरी मिलेर बसेका थिए रे । गाउँमा एउटा नमूना थियो रे त्यस समयमा । एकआपसमा झैझगडा भए पनि परेको बेला ज्यान दिन पनि तयार हुन्थे रे । तर आज तिनै गुमाने र धनजीतेबाका छोराहरू मिलेर बस्नु परै जाओस् पानी-बाराबार भएका छन् । "जिउँदोका जन्ती मर्दाका मलामी" भनेर बस्ने बाबुका छोराहरू "मर्दाको जन्ती, जिउँदाको मलामी" भएका छन् । यसो कसरी भएछ त भनेर मैले धनजीते बालाई प्रश्न राखेँ -"धनजीते बा, कसरी तपाईँका छोराछोरी मिलेर बस्न सकेनन् त ......अनि यो गाउँ यति बिघ्न उजाड कसरी भयो -"
मेरो कुराले धनजीते बा गम्भीर भए अनि भन्न थाले -"हेर बाबु, कसरी हाम्रा छोराछोरी एकआपसमा मारामार गर्न थाले, हामीलाई केही थाहा छैन । हामीले त हाम्रा छोराछोरी पढ्न सहर पठाएका थियौ“ । छोराछोरी धेरै पढ्छन्, बाबुआमालाई सुखशान्ति दिन्छन् अनि गाउँ र देशको विकास गर्छन् भनेर सोचेका थियौँ । तर उनीहरू त एकआपसमा मारामार गोली हानाहान गर्न पो सिकेछन् बाबु........ कतै यो सब त्यही अधर्मी र्घमानन्द पाध्येको काम हो कि भन्छु म त बाबु । किनभने मुखमा रामराम बगलीमा छुरा हुनेको भर हुन्न रे बाबु, हाम्रा अल्लारे छोराछोरीहरूलाई उसैले बझाएको हो कि भन्छु बाबु, म त । तर के गर्नु हाम्रा कुरा खाँदैनन् छोराछोरीहरू, उनीहरू आफै पनि त पढेलेखेका विद्वान् छन् नि बाबु, हैन त, ल भन्नोस् त ।"
धनजीते बाको "होमा होँ मिलाएँ मैले । उनी फेरि जोस्सिँदै भने- "हामीले कति दुःख गरेर हुर्काएका छोराछोरी मर्दा क्रिया गर्छन् बूढेसकालमा सहारा हुन्छन् भन्ने सोचेका थियौँ । तर अहिले भकाभकी मरेको खबर आउँछ । कहिले गुमानेको छोरा मर्छ कहिले मेरो, बाबु ..। हामी जिउँदै मरेजस्ता हुन्छौँ यता पुत्रशोकले आँसु बगाउनबाहेक केही सक्तैनौँ भने उता विधवा बुहारी र नातिनतिनाको बिजोक हेरेर बस्नबाहेक केही गर्न सक्तैन बाबु हामी .........।" यति भनेर धनजीते बा घुँक्कघुँक्क गरेर रुन थाले । म पनि पग्लिएँ धनजीतेबासँगै । मुटु फुलेर आयो, मस्तिष्क शून्य भएर आयो । मैले धनजीतेबाका आँखामा आँसु रोक्न सकिनँ । रात निक्कै छिप्पिसकेको थियो । धनजीतेबालाई निक्कै समयसम्म सान्त्वना र आश्वासन दिएपछि उनी सामान्य भए ।
मेरो पेटमा भोकले मुसा कुदिरहेको हुनाले साथमा रहेको चाउचाउ पकाएर खाने विचार जाहेर गरेँ । धनजीतेबाले पनि "हुन्छ" भनेर सबै सरसामान ठीक पारिदिए । चाउचाउ खाएपछि हामी सुत्ने तरखर गर्न थाल्यौ“ । मलाई भने निन्द्रा पटक्कै लागेको थिएन ।
देशको माया, गाउ“को सम्झनाले पिरोलिएर आएको मान्छे म अब गाउँ के जानु, गाउँ त पहिलाको जस्तो कोही रहेनछ । यहाँ त साथीभाइ, नाताकुटुम्ब आफन्त सबै साइनो मरिसकेछ । अब के भनेर गाउँ जाऊँ । बरु सहरतिर लागेर देशका लागि केही गर्नुपर्यो, यस्तै विचारले द्रवीभूत हुँदै साथी हर्केको सम्झना त्यही बिसाएर काठमाडौँ जाने विचार गरेँ मैले ।
उज्यालो भएपछि धनजीतेबासँग बिदावारी भएर काठमाडौँतिर हान्निएँ म । जीविकोपार्जनका लागि केही त गर्नैपर्यो । भोकभोकै केही गर्न पनि त सकिँदैन नि, फेरि पुख्यौली सम्पत्ति पनि केही थिएन जीविकोपार्जनका लागि मैले धेरै सोच बनाएँ । तर जुनसुकै क्षेत्र पनि देशमा चलेको गृहयुद्धले तहसनहस भएको रहेछ । होटेल खोलौँ भने पर्यटन व्यवसाय चौपट्ट थियो । उद्योगधन्दा खोलौँ भने बन्द र आन्दोलनले आक्रान्त थियो । मैले कुनै बाटो पहिल्याउन सकिनँ । त्यसपछि मैले कला, साहित्य, सङ्गीततिर आफूलाई डोर्याएँ । त्यतातिर पनि मैले सबै ठाउँमा देश दुखेको देखे । राष्ट्रियताको भावले ओतप्रँेत भएको मेरो मस्तिष्कले राष्ट्रियता पोखिने बाटो खोज्यो । मैले सबैभन्दा बढी राष्ट्रियता भण्डारन हुने ठाउँ साहित्य नै देखेँ । त्यहाँ मैले मजस्ता धेरै पात्रहरू मजस्तै सजीव भएर बाँचेको देखेँ । त्यहाँ मैले धेरै दिदी बहिनीहरू परशु प्रधानका 'सीताहरू' र 'निर्मला', अनि महेश विक्रम शाहको 'सिपाहीको स्वास्नी' भएर बाँचेको देखे । धेरै दाजुभाइहरू नगेन्द्रराज न्यौपानेको 'लुरे 'र महेश विक्रम शाहको 'छापामारको छोरा' भएर बाँचेको देखे । त्यस्तै प्रदीप वाग्लेलाई 'अघोषित युद्ध'मा पिरोलिएको देखेँ । महेश विक्रम शाहलाई "गाउँमा गीत गुन्जँदैनन्" भन्दै भौतारिएको देखेँ ।
यसरी धेरै कथाकारको कथामा गीतकारको गीतमा, चित्रकारको चित्रमा, मन्दिरको शङ्खमा विद्यालयको घण्टीमा देश दुखेको देखेँ । देशका लागि केही गर्छु भनेर आएको म मेरो सुर्याइँ मसँग सीमित रह्यो । म राष्ट्रका लागि केही गर्न नसक्ने नामर्द भएँ । जताततै च्यातिएको मेरो राष्ट्रियताको ध्वजा कतै सिलाउने र टाल्ने ठाउँ नै मैले देखिनँ र भेटिनँ । त्यसैले म आफैँ भत्किएँ, टुक्रिए । यसरी टुक्रिएर, भत्किएर बाँच्नुभन्दा त देशको माया छातीमा राखेर भाँडाको सिपाही भएर बस्ता नै मलाई शान्ति थियो । अब त एउटै कुरामात्र अनुरोध गर्न सक्छु त्यो के भने देशमा यस्तो वीर पुरुषहरूको जन्महोस् जसले देशको अस्तित्व, राष्ट्रियता चम्काउन सकोस् अनि शान्ति फर्काउन सकोस् । धनजीते र गुमानेबाका शिक्षा र आदर्शलाई जीवन्त राख्न सकून । मेरो अन्तिम कामना यही छ ।
मैले कथा पढ्दापढ्दै धेरैचोटि रोकिएर उसको मुख हेरेको थिएँ । ऊ विदेशबाट फर्किएको भन्ने चाहिँ थाहा थियो । उसको स्वभावले नै ऊ सिपाही हो भन्ने पनि देखिन्थ्यो । तर ऊ त नव सिलवालको कारगिलको मोर्चाको पात्र भन्नेचाहिँ मलाई थाहा थिएन । म कथा पढिसकेर पाना बन्द गर्दानगर्दा उसले फेरि आफ्नो रफ्तार शुरु गयो । म उसकै कथाको विषयमा घोरिइरहेको थिएँ। यो कसरी सम्भव छ भनेर । एउटा कथाको पात्र पनि जीवित भएर बा“च्न सक्छ । उसले शुरु गयो - "हेर्नोस् न शर्मिलाजी, यसो कथालेखन गरेर देशको सेवा गरौ भनेको यो आफ्नै कथा लेख्दा त छापिएन भने अरू त के छापियोस् । त्यसैले मत लेख्ने काम छोडूझैँ लागेको छ ।"
"होइन, होइन, तपाईँको यो कथा धेरै राम्र्रो छ । तर अहिले देशमा शान्ति आइसकेको छ । त्यही भएर होला तपाईँको यो कथा जनयुद्घताकाको रहेछ ।
"होइन,यो कथा त मैले जनयुद्घताका लेखेर नै दिएको थिएँ । तर छापिन्छ भनेर कुदार्कुर्दा देशमा जनयुद्घ नै समाप्त भयो । त्यसपछि त कसैले छाप्न नै मानेन । तपाईँ पत्याउनुहुन्छ शर्मिलाजी - यो कथा छाप्नका लागि मैले कति दुख गरेँ । कोही भन्छन् यो गुमाने र धनजीते को हो - कोही भन्छन् तपार्इँ को हो - तपाईँको परिचय के हो - म त आजीत भइसकेँ । मेरो परिचय यही कथाले दिएको काफी छैन र - अहिलेको एक्काइसौँ शताब्दीको विश्व कहाँ पुगिसक्यो । यहाँ भने लेखकले अनेकौ परिचय दिनुपर्ने अनि पात्रले म पात्र भएर बाँचेको भन्न नपाइने । यो कहाँको न्याय हो -" म मनोवाद गर्दछु किनभने उसले मलाई बोल्ने मौका दिने छैन भन्ने मलाई थाहा छ । वास्तवमा हो पनि हामी नेपाली नयाँ कुरालाई सजिलै पचाउन सक्दैनौँ । नयाँ कुरा विश्लेषण गर्न सक्दैनौँ । कुनै पनि राम्रा नराम्रा कुरा अरूले भनिदिनुपर्छ । हामी नयाँ सोच र विचारलाई सजिलै पचाउन सक्दैनौँ । अझ झन नारीले गरेका नयाँ कुरा त कहिल्यै मान्य र पच्य हुँदैन यो समाजलाईं । म पनि उसका यी कुरामा सहमत थिएँ । तर उसको कथा छापिने विषयमा सहमत थिइनँ किनभने देशमा शान्ति आइसकेको छ भन्ने मेरो सोच थियो । यो अवस्थामा उसको कथा असान्दर्भिक हुन सक्थ्यो । मैले उसलाई सुझाव दिँदै भने- "तपाईँको यो कथा अति उत्कृष्ट छ । पाठकले रुचाउन सक्छन् । बरु यसलाई यसो परिमार्जन गर्नुभए राम्रो हुन्थ्यो ।"
ऊ जङिगदै भन्न थाल्यो- "शर्मिलाजी अझै देशमा स्थायी शान्ति आएको छैन । देशमा साम्प्रदायिक द्वन्द्व भट्किएको छ । तर्राई दुखिरहेको छ । अब मेरो भेट धनजीते र गुमानेसँग नभएर कुनै बुधराम, सनिरामसँग अवश्य हुनेछ अनि उनीहरूले मलाई यिनै कुरा गर्नेछ । मात्र तपाईं समय पर्खनोस् । मेरो अन्तिम कामना पूरा भएको नै छैन । बरु तपाईँ एउटा काम गर्नोस् तपाईँ नेट चलाउनु हुन्छ । कतै पत्रिकामा मेल गरेर पठाइदिनोस न् । तपाईँले पठाउँदा छापिन्छ कि - बरु कथाकारको नामचाहिँ आफ्नै राख्नोस् ।"
मैले निकैबेर साचे“ । अरूको कथा त्यो पनि कथाकार नव सिलवालजीको पात्रको कथा आफ्नो नाममा छाप्दा कतै अप्ठ्यारो पर्ला कि भनेर । तर यो कथा समाजले पढ्नै पर्छ भनेर मैले सोचेँ , कथाकार जो भए पनि के भो र अहिले अरूको गीतलाई रिमिक्स बनाउँदै गाउँदा त भइरहेको छ भने यो त झन् सिर्जनाको कुरा भयो । बौद्घकिताको कुरा भयो । यसमा नयाँ प्रयोग र धार पनि छ । त्यसैले मैलै उसको कथा आफ्नै छाप्ने निर्णय गरेँ र पत्रिकामा मेल गरेर पठाएँ ।
0 comments:
Post a Comment