November 13, 2009

सिर्जनशील सशक्त नारी हस्ताक्षर शर्मिला खड्का (दाहाल)

वाणी प्रकाशनमा सुनेको थिएँ- इटहरीको बालग्राममा पढाउने एकजना शिक्षिका हुनुहुन्छ साहित्य, बाल-साहित्यमा रुचि राख्ने । उहाँले वाणी प्रकाशनको सदस्यताका लागि रकम बुझाउनु भएको कुरा पनि सुनेको थिएँ । परन्तु त्यो रकम हामीकहाँ प्राप्त भएन, न त सम्बन्धित शिक्षिका नै आउनुभयो । समय आफ्नै किसिमले बगिरह्यो ।
एकदिन शर्मिला आफ्नो 'सानी' को पाण्डुलिपि लिएर वाणीमा आइपुग्नुभयो- के कस्तो छ भनी प्रतिक्रिया लिन र परिचय गर्न । उहाँको पाण्डुलिपि हामी बूढाबूढी (कल्पना प्रधान र म) ले राम्ररी पढ्यौँ । धेरै बेर छलफल गरेर हामी एउटै निष्कर्षा पुग्यौँ- यो बाल-उपन्यास अति राम्रो छ । आधुनिक प्रविधि र शैलीमा लेखिएको यस्तो उपन्यास नेपाली बाल साहित्यभण्डारमा अति आवश्यक छ ।
फेरि हामीले सल्लाह दियौँ- यो उपन्यास तुरुन्त छाप्नुहोस् । उनले स्वीकारिन् । आफ्नै खर्चमा छापिन् र बधाई छ उनको पहिलो सन्तानले साझा बालसाहित्य पुरस्कार पायो । उनको लेखनका निमित्त यो ब्रेक भयो । 'गरिमा'मा प्रकाशित उनको रचनागर्भमा उहाँले सानीको विस्तृत दिनुभएकै छ । अनि थाहा भयो- उनका आधा दर्जन भन्दा बढी बालउपन्यासहरू रहेछन् । ती सबै उम्दा र आधुनिक रहेछन् तर दराजमाथन्किएर बसेका रहेछन् । अझ थाहा भयो- उनी प्रौढ कथाहरू पनि लेख्दि रहिछन र ती पनि नराम्रो भन्न नमिल्ने रहेछन् । अझ जानकारी भयो - उनी सानीको सिरिज लेख्दै रहिछिन् । मैले स्वीकारेँ - हेरी पोर्टरको प्रभाव । तर उनले केही दिनमा नै अर्को पाण्डुलिपि ल्याइन्- सानी भाग दुइ अर्थात् 'सानीको साहस' । मैले विश्वास गरेँ - नेपाली साहित्यको जङ्गलमा कहीँकतै सुन्दर प्रतिभायुक्त फूल फुलेको रहेछ । अनि सोचेँ- यस्ता फूलहरू जङ्गलमा नै ओइलाउन नदिऔँ, त्यसमा मलजल हालौँ । ती फूलहरू कुनै व्यक्ति वा समुदायका नभई राष्ट्रका हुन् र राष्ट्र हामी सबैको हो ।
शर्मिला खड्का (दाहाल)को बाल-साहित्यलेखनको फरक अध्ययन हुनसक्छ । तर म अहिले उनको पहिलो कथा-सङ्ग्रह 'समयको क्यानभासमा' पढेर, सोचेर आफ्नो मन्तव्य लेख्न बसेको छु । पहिले स्पष्ट पार्न चाहन्छु- यो समालोचकीय टिप्पणी होइन । खालि परिचय, पृष्ठभूमि वा अर्न्तर्कथा हो ।
म लिङ्गभेद, विशेषतः साहित्य सृजनामा गर्न चाहन्नँ । तर पनि नेपाली महिला कथालेखनबारे केही प्रस्तुत गर्न चाहन्छु । यसको प्रारम्भ पनि 'शारदा' -१९९२ वि.स.) बाट नै भएको छ र तुषारमल्लिकाको कथा 'स्त्रीरत्न' ले प्रथम नेपाली महिलाको कथाको रेकर्ड राखेको छ । शारदामा महिलाहरू एक समूह नै आए जसले नेपाली कथालाई सशक्त रूपमा प्रारम्भ गरे । मोतीलक्ष्मी उपासिका एम.लक्ष्मी, वियोगिनी, श्रीमती सुशीला कोइराला, श्रीमती एम.पी.पी. शर्मा, सिस्टर इन्दिरा र बुना बरालहरूले प्रारम्भ गरेको महिला कथालेखनलाई २००० को दशकमा आफ्ना केही कथाहरू लिएर लोकप्रियादेवी जोशी उदाइन् । अर्की नारी कथाहस्ताक्षर श्री विद्यादेवी दीक्षित पनि यस समयमा आफ्ना केही पारिवारिक कथाहरू लिएर देखा परिन् जसको कथासङ्ग्रह भने धेरैपछि अर्थात् २०२० को दशकमा मात्र प्रकाशित भयो ।
श्री देवकुमारी थापा यही दशकमा बालमनोविज्ञानमा आधारित सशक्त, साहित्यिक मूल्यका कथा लिएर अगाडि आइन् । उनका हालसम्म पा“च कथासङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । भारतीय प्रवासी क्षेत्रमा लेख्खीदेवी सेवा, राधिका राया, अमृता क्षेत्री र नीलम प्रधानहरू पनि यही समयमा देखा परे ।
श्री प्रेमा शाहको उपस्थिति नेपाली कथासाहित्यमा भिन्न रूपमा भयो । मनोवैज्ञानिकताभित्र यौनजन्य भावनालाई प्रेमा शाहले अगाडि बढाइन्, जसका दुइ कथासङ्ग्रह २०२० को दशकमा आएर प्रकाशित भएका छन् । नारीअधिकार र चेतनालाई विषयवस्तु बनाई 'स्वास्नीमान्छे' की सम्पादिका शशीकलाको कथासङ्ग्रह उसको सुरुवाल २०१९ मा प्रकाशित भए पनि, कोसेढुङ्गाको रूपमा नारी जागरणलाई प्रस्तुत गरेकी छिन् । अर्की प्रगतिवादी मोड वा धारामा पारिजातले आफ्नो वर्चस्व कायम गरिन् । उनका प्रकाशित चार कथासङ्ग्रहले मानवीय संवेदना, नारीप्रेमका साथै नारीचेतनालाई सबल रूपमा प्रस्तुत गरेर आफ्नो प्रतिष्ठा कायम गरेकी छिन् ।
२०२० को दशक नारी कथालेखिकाहरूको उपलब्धिपूर्ण दशक रह्यो । नारीकथाकारहरूको यौटा सशक्त समूह नेपाली कथासाहित्यमा सबल रूपमा प्रवेश भयो । जसमा अङ्गुरबाबा जोशी, माया ठकुरी, भुवन ढुङ्गाना, बेञ्जु शर्मा, मञ्जु काँचुली, भागीरथी श्रेष्ठ, अनिता तुलाधर र पद्मावती सिंहहरू मुख्य छन् । यसमा अङ्गुरबाबा जोशीबाहेक अन्य लेखिकाहरू अहिले पनि कथालेखन र चिन्तनमा सक्रिय छन् ।
शारदा शर्मा र सीता पाण्डेको उपस्थिति २०३० को दशकमा महत्त्वपूर्ण रूपमा उपस्थित भयो । सीता पाण्डेको कथाले यौनलाई अझ बोल्ड रुपमा प्रस्तुत गरी आएको छ भने शारदा शर्माको अन्तरमनोविज्ञान उल्लेखनीय रहेको छ । २०४० को दशकको प्रारम्भ र २०४७ को महत्त्वपूर्ण राजनीतिक परिवर्तनपछि नारी कथाकारहरूको एक प्रतिभासम्पन्न टोली नै नेपाली कथासाहित्यमा आयो । कमसेकम नामको सूची यस्तो छ- किरण शाक्य, चन्द्रकला नेवार, राधिका राया, आइ सिंह, कमला खन्तावली, शान्ता श्रेष्ठ, भद्राकुमारी घले, रेवती राजभण्डारी, मीरा प्रधान रेम, कल्पना प्रधान, लीला श्रेष्ठ, कमला सरूप, हिरण्यकुमारी पाठक, वेदकुमारी न्यौपाने, सम्पूर्ण र्राई, पुष्पलता आचार्य, कमला र्राई, साधना प्रतीक्षा, सुधा बस्नेत, बाबा बस्नेत, सङ्गीता स्वेच्छा, कमला पराजुली, ललिता दोषी आदि । यस लामो सूचीमा गीता केशरी र दार्जिलिङको विन्द्या सुब्बाको आख्यानीय योगदान पनि सम्झनयोग्य छ । नामको यो सूची अझै लामो छ- सानुमती र्राई, किशु सिलवाल, सुधा त्रिपाठी, इन्दिरा प्रर्साई“, विन्दिया प्रधान, सुलोचना मानन्धर, लक्ष्मी उप्रेती, निर्मला पोखरेल, देवी शर्मा, बबिता बस्नेत आदि इत्यादि । नारी कथाकारको यो सूची लगभग ५० जनाको छ । धेरैको कथासङ्ग्रह पनि प्रकाशित छन् भने कतिपयको फाटफुट कथाहरू प्रकाशित भइआएका छन् ।
एक दशकदेखि बालकथा र स्तरीय प्रौढकथामा आफ्नो सृजनशीलतामा सक्रिय सबल र सक्षम श्री शर्मिला खड्काको पहिलो कथा 'समष्टि' (२०५५)मा प्रकाशित भएको थियो र त्यसपछि उनका कथाहरू बरोबर राष्ट्रिय तथा क्षेत्रीय पत्र-पत्रिकामा प्रकाशित भइआएका छन् । लगभग एक दशकको कथा-लेखनयात्रामा समर्पित शर्मिलाको मूल्याङ्कन, समीक्षा लेख्नु न हतार हुन्छ न अहिल्यै शर्मिलाले धेरै उत्कृष्ठ कथाहरू लेखेर धेरै माथि पुगिन् भनेर फुर्क्याउन वा प्रशंसा गर्ने पनि आवश्यकता छैन र म यसको विरोधी पनि छु । त्यस्तै प्रति पेज रु.१००० लिएर ७०/८० पेजको पुस्तकभन्दा ठूलो भूमिका लेखिदिने समीक्षक डाक्टर पनि म होइन । तर पनि नयाँ प्रतिभा वा नयाँ बिरुवालाई घामपानी दिने, गरेको कामलाई प्रोत्साहित गर्ने, सृजनशीलताको कदर गर्ने, साहित्यप्रतिको र्समर्पणलाई हामी सबै स्रष्टाहरूको कर्तव्य हो भन्ने म ठान्छु ।
शर्मिलाका २५ कथाहरू यसमा सङ्गृहीत छन् । यी कथाहरू पढेर आफ्ना केही राय वा विचार समष्टिरूपमा राख्छु ।

क) शर्मिलाका सबै कथाहरू समसामयिक आधुनिक चेतनाको प्रतिनिधित्व गर्छन् । अर्थात् यिनले नेपाली कथाको मूलधारलाई छाडेका छैनन् । आज सक्रिय, सिर्जनशील र नाम कमाएका कथाकारहरूको लाइन वा रेखामा सबै कथाहरूलाई लिएर शर्मिला खड्का उभिएकी छिन् ।

ख) शर्मिलाका कथाहरूमा नारी-संवेदना, नारी-पीडा, वेदना, चिन्ता र शोषणहरूको राम्रो तस्बिर पढ्न पाइन्छ । तर, नारी हुनुको कारणले मात्र ती लेखिएका होइनन्, सामाजिक यथार्थका प्रतिबिम्बहरू हुन् । तिनले सबै क्षेत्र, वर्ग, स्तरका नारीहरूको मनोभाव, बाँच्नुको पीडा र विसङ्गतिको घाउलाई प्रतिनिधित्व गर्छन् ।

ग) नारीवादी लेखन उनको पनि उद्देश्य हुन सक्छ तर नारी र पुरुष प्रकृतिका सुन्दर उपहार वा फूलहरू हुन्, तिनका बीचमा एक आपसमा शोषण हुनु हुँदैन, ती एक अर्काका परिपूरक अथवा सहयोगी भएर कर्मक्षेत्रमा अगाडि बढ्नुपर्छ भन्ने शर्मिलाको दृढ-विचार छ । नारीवादी लेखनका नाममा आएका उग्र क्रान्तिकारिता, विरोध र ज्वालाले नारी-पुरुषको प्राकृतिक, सामाजिक, आर्थिक र अन्य सबै सृष्टिकालीन सम्बन्धलाई समाप्त पार्छ भन्ने सोचाइ देखिन्छ ।

घ) शर्मिलाका कथाहरूमा विषयवस्तु, घटना र चरित्रको विविधता पाइन्छ । अर्थात् नेपालका पहाडी र तर्राई जिल्ला मात्र होइन, विश्वका उन्नत मुलुकहरू अमेरिका, अस्ट्रेलिया र जापानजस्ता विकसित देशमा पुगेका नेपाली चरित्रहरू पनि उनका कथाभित्र समेटिएका छन् । यसबाट उनका कथाको क्यानभास विश्वव्यापी ९न्यिदब० िर चिन्तन पनि साइबरमुखी छ भन्ने देखिन्छ । अनि द्वन्द्व र लडाइँका विश्वव्यापी चिन्ताको विषय पनि उहाँका कथाले छाडेका छैनन् ।

ङ) शर्मिलाको उमेर, शैक्षिक योग्यता, अनुभव, काम गर्ने स्कुल, साथीभाइ, परिवार र वातावरणले कथामा धेरै प्रभाव पारेको छ । यो नितान्त स्वाभाविक पनि हो । उहा“का समकक्षी धेरै साथीहरू यही परिस्थिति र वातावरणभित्र बाँचिरहेका अर्थात् जिन्दगी भोगिरहेका होलान्, तर शर्मिलाको अनुभूतिमा जुन तीव्रता छ, त्यसले उनलाई कथाकार बनाएको हो । यस्तो लाग्छ, कथा लेख्नु उनको विवशता र बाध्यता हो ।

च) कथाहरू पढ्दै जाँदा कुनै पनि पाठकलाई पट्यार लाग्दैन । एउटा खोलाको प्रवाह जस्तो हरेक कथामा stream of conscious अर्थात् चेतनप्रवाह छ, जो कथाको मुख्य शक्ति हो । यही शक्तिले कथालाई अन्य आख्यानात्मक तत्त्वबाट फरक राख्छ । त्यही फरक वा कथाबिन्दुलाई शर्मिलाका कथाहरूले टिपेका छन् ।

छ) नेपाली मध्यम र तल्लो परिवारका सामाजिक समस्या, तिनका घात-प्रतिघात, प्रेम र यौन, गरिबी र पीडा, बाँच्नुको सङ्घर्ष आदि नै उहाँका कथाका विषयहरू हुन् । यी दुइ वर्गले नै आजको नेपालको प्रतिनिधित्व गर्दछ । एक किसिमले समकालीन कथा भनेकै यिनै वर्गका विकृति, विसङ्गति, नियति, निर्णय निश्चयहरू हुन् । तिनको सम्यक् प्रतिनिधित्व प्रायः सबै कथाहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरेका छन् ।

ज) शर्मिलाका कथाहरूको उद्देश्य सकारात्मक छन् कहीँकतै नकारात्मक, ध्वंसात्मक वा नचाहिँदो व्रि्रोहात्मक छैनन् । सामाजिक यथार्थ, संरचना र घटनाले बगाएर ल्याएका पात्र-पात्रा उहाँका कथाहरूभित्र अटाएका छन् । कुनै बनावटी, नक्कली वा कृत्रिम पात्र-पात्राहरू कुनै कथामा छैनन् ।

झ) आजको कथाले विधाभञ्जन गर्न खोजिरहेको छ, अर्थात् परम्परागत पर्खाललाई तोड्न खोजिरहेको छ । कथावस्तु, शैली वा प्रस्तुति, पात्र-पात्रा, चरित्रहरूमा मात्र नवीनता होइन कि अन्य विधाहरू जस्तो कि निबन्ध, कविता, गजल,वा अन्य विधाहरूलाई आफूभित्र आत्मसात् गर्दै कथा-विधा अगाडि बढ्न खोजिरहेको छ । आजको इन्टरनेट युगमा कथाले खोजेको जुन नयाँ हाँक वा प्रस्तुति छ, त्यसलाई शर्मिलाका कथाहरूले पछ्याएका छन् अथवा त्यस ट्रेन्ड (गति) लाई बुझेका छन् ।

ञ) अन्त्यमा कथाका भाषा सरल, सरस र रोचक छन् । पात्र-पात्राहरू त्यही जीवन्त वा व्यावहारिक भाषामा कुराकानी गर्छन् जो प्रचलित छन् । शर्मिलाका सबै कथामा नेपालीपन अर्थात् हाम्रो खास मौलिकता छन् भन्ने मलाई लाग्छ ।

ट) शर्मिलाका कथा, बालकथा र कविताहरू पढेको छु । तर यस क्रमलाई राख्नुपर्दा उहाँ पहिलो सशक्त बाल-साहित्यकार नै हुनुहुन्छ, त्यसपछि कथाकार र अनि मात्र कवि वा गजलकार । अहिलेसम्मको लेखन-ऊर्जा वा सृजना-क्षेत्र हेदा उहाँलाई बाल-साहित्यकार नै भन्नुपर्छ, अरू क्रमशः आउँछन् वा आउनेछन् । किनभने उहासँग थुप्रै वर्षरू बाँकी छन् ।
शर्मिला खड्काका कथाहरूमा भविष्यमा राम्रो कथाकार -बाल पनि) बन्ने धेरै सबल पक्षहरू छन्, अर्थात् उनी अहिले आसलाग्दो बिरुवा हुनुहुन्छ । उहाँले साधना गर्नुपर्ने, भोग्नु र लेख्नुपर्ने धेरै लामा वर्षरू बाँकी छन् । नेपाल राष्ट्रले, नेपाली समाजले उनबाट धेरै स्तरीय, राम्रा साहित्यिक फलफूलहरू पाउन सक्छन् । उहाँलाई प्रोत्साहन गरौँ, मलजल हालौँ, गोडमेल गरौँ भन्ने मात्र मेरो अनुरोध हो, यसलाई कसैले अन्यथा नलिऊँ । भोलिका सफल कथाकारको सूचीमा शर्मिला खड्का दाहालको नाम हाम्रा भावी-पुस्ताले पढ्न पाऊन्, यही मेरो हार्दिक शुभकामना छ ।

अन्त्यमा उनलाई अमेरिकी नेपाली साहित्यँ समाजले अनेसास सर्वोत्कृष्ट नारी हस्तक्षार 2005 र 2006 को स्व डिल्लीराम तिम्सिना स्मृति पुरस्कारदारा सम्मान गरेको छ । अथार्त उनी राष्टियवाट अन्तराष्टिय भएको छिन ।
उनमा देखिएको साहित्यिक उर्जाशीलता , लगन, प्रतिभा र अध्ययनको मूल्याकन गर्दा नेपाली साहित्यले आख्यान र बाल-साहित्यमा उल्लेखनीय योगदान पाउने निश्चित देख्छु । राष्ट समाजले उहालाई अझ बढी प्रेरणा, सहलियता र सुविधा दिनपर्छ भन्ने मेरो दृष्टिकोण छ ।
परशु प्रधान,विराटनगर २०६४ साउन
(कथासग्रह “समयको क्यानभासमा” को भूमिकावाट लिइएको हो )

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।