December 3, 2009

पुनर्निर्णय

वसन्त ऋतुले उराठलाग्दो बनाएको तर्राईको परिवेश, खरले छाएका दुर्इचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ ।
भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र स्निग्ध छ भन्ने थाहा हुन्छ । शहरको चहलपहलभन्दा निकै टाढा त्यस वस्तीमा आधुनिकताको कुनै सङ्केत पाँइदैन । जताततै गरिबी बाँचेको पाइन्छ , विवशता र बाध्यता हाँसेको पाइन्छ ।
मनसरा भारी पाइला लिएर घरभित्र पस्छे । उसको मन पनि सुकेका पातझैँ भौतारिएको थियो । अहिले शान्त भएको छ । उसले सोच्तै नसोचेको र कल्पना नै नगरेको कुरा भयो । आज उसलाई बैँसको हुरीले खोक्र्याएको छ, रित्याएको छ । घरभित्र उसका पाइलासँगै ठूलो साँझ भित्रिन्छ ।
उसकी आमा कराउँछिन्-" कतै से एल्ही - फगुवाके रमझमो वोरयागेलै - -(कहाँ गएर आइस् होलीको रमझम पनि सकियो । )"
मनसरा मन नलागी नलागी बाल्छे-" कतौ ने, घइमकै अवैछी । -(कही होइन घुमेर आएको )"
आमा फेरि झर्किन्छिन्-" जवान बेटीके बारेमे बौहत बात सुनैले परैछै । -(बढेको छोरीको बारेमा धेरै कुरा सुन्नुपर्छ । )"
मनसरा निशब्द हुन्छे ।
टाटीको बारमा माटोले लिपेको भित्ता । आमा चुल्हाधन्दा गर्दैछे । एउटा कुनामा चारपाइमा बाबु बेलाबेलामा खोक्तै सुतिरहेको छ । धेरै समयदेखि उसको बाबु बिरामी भएर सुतिराखेको छ । डाक्टरले टिबीको बिमार बताएको छ । औषधिले केही पत्तो लागेको छैन । उसको बाबु इटाभट्टामा काम गथ्र्यो । तर, अहिले बिमारी भएयता काम गर्न सकेको छैन । उसकी आमा जान्छे भट्टामा काम गर्न तर वषार्याम भट्टामा काम बन्द हुन्छ । त्यससमयमा उनीहरू भोकभोकै सुत्नुपर्छ । झोपडीनजिकै केही खाली जग्गा घडेरी बनाउन छोडिएका छन् । जहाँ धनीहरूले सुख छरेका थिए खुसी उमार्न । तर उनीहरू दुःख र्छर्थे - मुसुरी उमार्न । अहिले भट्टा चलिरहेछ । त्यसैले उनीहरूको चुल्हा जलिरहेछ ।
मनसरा चारपाइ ओछ्याएर सुत्छे । आमाको फगुवा शब्दले उसलाई रोमाञ्चित र आत्मग्लानि दुवै बनाउँछ । ऊ फगुवाको रङ्गमा रगिन पुग्दछे ।
बुधराम , उसका साथीहरू र मनसरा सबैसँगै मिलेर होली खेल्दै थिए । बुधराम मनसरालाई धेरै पछ्याउँदै थियो । गाउँमा होलीको रौनक चढेको थियो । के बच्चा के बूढा सबैमा जोश र उमङ्गको लहर थियो । यसपालीको होली मनसरालाई किन हो किन अर्कै लागिरहेको थियो । ऊ खुब हौसिदै खेल्दै थिई । चौध काटेर पन्ध्र लाग्दासम्म उनीहरूको जातिमा बिहे भइसक्नु पथ्र्यो । उसका केही साथीहरूको बिहे भइसकेका थिए भने केहीको हुनलाई कुरा चलिरहेथ्यो । तर उसका बाबुले तिलक दिन नसकेको हुनाले कतैबाट कुरो चलेको थिएन । ऊ माथि दुर्इ दिदीको बिहेले उनीहरूलाई रित्याएको थियो ।
मनसरालाई बिहे भन्ने शब्दसँग खूब चाख लाग्दथ्यो । उसको चासोको विषयलाई बेलाबेलामा बुधरामले कुरा उठाइ 'मसँग बिहे गर मनसरा' भन्दा उसलाई आनन्द लाग्दथ्यो । ऊ बिस्तारै बुधरामको कुरालाई चासो दिन थालेकी थिई । ऊप्रति आकषिर्त हुँदै गएकी थिई । बुधरामले उसको मनोभाव बुझेको हुनाले बेलाबेलामा मीठामीठा सपना देखाउने गर्दथ्यो ।
त्यसपछि बुधरामले मनसरालाई लखेट्तै धेरै टाढासम्म पुर्यायो । उनीहरू एउटा मन्दिरमा पुगे । दुवैले भाङ खाएका थिए । भाङको नशा र थकाइ मेटाउन दुवै मन्दिरमा बसे । बुधरामले मनसराको हात समाउँदै भन्यो -" हेर मनसरा त मलाई माया गर्छेस् हैन -"
"र्एइ बुधराम... यो के गरेको हात छोड, माया गरेर के गर्नु मेरो बापो मइयासँग मागेर बिहे गर न ..।"
"बिहे˜ गर्न त माया गरेको तँलाई नत्र भने किन माया गर्नु हेर... म बजारमा राम्रो जागिर पाएपछि तँलाई कन्या बनाएर लैजान्छु बुझिस...् ।"
"तेरो पनि घरमा पैसा छैन.. अनि कसरी तेरो बापोले तिलक दिन्छ र तेरो बिहे हुन्छ ..भन त । "
"हुन्छ नि ˜˜ जसरी भए पनि । "
दुवै भाङले लटि्ठएका हुनालेसँगै बसेका थिए । बुधरामले लरबराउँदै भन्यो-" सुन.. मनसरा त र म आज बिहे गरौँ है ।"
"कसरी.. -" मनसरा बिहे शब्दले उत्साही भई ।
"लौ हेर.. यहाँ मसँग रङ्ग छ । तेरो सिउँदोमा हालिदिन्छु अनि तेरो र मेरो बिहे भइहाल्छ नि.. । "
"सिन्दुर हालेर मात्र कहाँ हुन्छ रे बुधे.... त वर भएर आउनुपर्छ अनि म कन्या भएर तेरो घरमा जानपर्छ बुझिस् ।"
"ओहो † घरमा जानु नै पर्छ भन्ने के छ र नगई बिहे गरे पनि हुन्छ नि... ।"
"भैगो , तैँले मलाई छल्न खोज्दै छस् । म बुझ्दै छु... । मेरो मइयाले भनेको केटाहरू यसरी नै केटीको छल्छ रे.. ।"
"तैले मलाई चिनेको छैनस् म साँच्चै नै तँलाई बिहे गर्छु बिहे गर्यो भने कस्तो मजा आउँछ सुन...अहिले हामी बिहे गरौ“ ल...।"
उनीहरूको जातमा काली भए पनि ठूलठूला आँखा भएकी, हिस्सी परेकी मनसराले आँखा नचाउँदै भनी-" यो बुधे साह्रै छट्टु छ रे , यहाँ कोही नभएको बेलामा पनि बिहे हुन्छ ।"
"हुन्छ नि यस्तो बेलामा सजिलो हुन्छ ।" मनसराभन्दा केही वर्षजेठो बुधरामले भन्यो । उसलाई धेरै कुरा थाहा थियो र बुझेको पनि थियो ।
"मलाई त डर लाग्छ बुधे..।"- मनसराले नशामा लटि्ठदै भनी ।
बुधरामले मनसरालाई सिन्दुर हालिदियो । सिन्दूर लाइदिएपछि सुमसुमाउँदै भन्यो-" हेर त र म आजदेखि श्याबौह ...है तलाई मैले बिहे गरे । "
"र्एइ बुधराम हामीले यस्तो गर्यो भने गाउँमा सब हल्ला हुन्छ अनि कसरी मुख देखाउनु । "
"कसले ढोल पिट्छ कि हामीले बिहे गर्यौँ भनेर ।" बुधरामले बिस्तारै मुसार्दा मनसरालाई रमाइलो लागिरहेको थियो । वास्तवमा नै बिहे भनेको रमाइलो रहेछ भन्ने लाग्यो मनसरालाई । त्यस एकान्त वातावरणमा त्यसपछि के भयो उसले थाहा पाउन सकिन । त्यसपछि ऊ कसरी घर आई भन्ने कुरा उसलाई सपनाजस्तो लाग्यो ।
मनसरा भाङको नशा लागेको भनेर दुर्इ दिनसम्म सुतिरही । गाउँमा मुसुरी टिप्न र गुइठा बनाउन धमाधम थियो । ऊ हरबखत उही होलीको दिनको घटनामा आफूलाई अल्झाउन पुग्दथी । यो के भयो, कसरी भयो - उसले कसरी बुधरामलाई आफ्नो अमूल्य बैस सुम्पिदिई । हुन त उसको बैसलाई ठाडो आक्रमण गर्ने उसको पौहना, काका नभएका होइनन् । तर उसले जतन गरेर राखेकी थिई आफ्नो वैशलाई । किनभने घरमा मइयासँग गफ हुँदा यस विषयमा पनि चर्चा हुने गर्दथ्यो । उसकी मइयाले उसलाई सचेत गराएकी पनि थिई । त्यसैले उसले कतै चुडिन नदिई, भत्किन नदिई सम्हालेर राखेकी थिई । यस घटनापछि ऊ निकै डराएकी थिई । कसैले थाहा पायो भने केही भन्छ कि भनेर । तर कतैबाट यसको कुरा ननिस्केको हुनाले ऊ ढुक्क भई । अनि निर्धक्कसाथ आफ्नो काम गर्न थाली । गाउँमा बुधराम पनि थिएन । ऊ बुधरामलाई भेट्न चाहन्थी । ऊ बुधरामलाई सम्झिरहन्थी ।, ऊ बुधरामसँग बिताएको समयमा आफूलाई हराउन पुग्दथी ।
बुधरामको आफ्नो कथा थियो । ऊ टुकुटुकु हिँड्ने हुँदा उसको बाबु खसेको थियो । उसको बाबुको खानामा विषालु पदार्थ मिसिनाले र समयमा उपचार नपाउनाले ज्यान गएको थियो । उसकी आमाले उसलाई अत्यन्त दुःखले हुर्काउदै लगी । तर उसकी आमाले आफ्नो जवानीलाई छोराको मायाले बाध्न सकिन । त्यसैले ऊ फुकिएर कतै अन्तै गएर पोखिई । त्यसपश्चात बुधराम एक्लै भयो । बुधरामको दयनीय स्थिति देखेर उसकी हजुरआमाले जसोतसो उसलाई हुर्काउदै लगेकी थिइन् । कुपोषणयुक्त उसको शरीर साह्रै मायालाग्दो देखिन्थ्यो । बुधरामभन्दा मनसराको स्थिति केही राम्रो थियो । तर पनि उनीहरूको प्रत्येक पदचापमा अभाव र गरिबीका झङ्कार उठ्थे । जून झङ्कारले जोकोही धनाढ्यलाई संवेदनाका लहरले तरङ्गित बनाउन सफल हुन्थ्यो ।
बुधराम र उसको बचपनार्सगै हुर्केको थियो । नजिकै विदेशीले स्कुल बनाइदिएको थियो । उनीहरू त्यसै स्कुलमा पढ्न जान्थे । स्कुल राम्रो भएको हुनाले त्यस स्कुलमा उच्चवर्ग, मध्यमवर्ग र निम्नवर्गका विद्यार्थीहरू पढ्न आउँथे । तल्लोवर्गलाई विशेष ग्राहयता दिइने हुनाले उनीहरू पनि परेका थिए । अङ्ग्रेजी माध्यममा पढ्नुपर्ने हुनाले उनीहरूलाई अत्यन्त गाह्रो हुन्थ्यो । साना कक्षामा त राम्रै पढ्थे तर ठूलो कक्षामा उनीहरू लाई मुस्किल हुन्थ्यो । घरमा सिकाउने कोही हुदैन्थ्यो । वषामा घरवरिपरि पैनीमा माछाहरू उनीहरूको आहारा हुनलाई छट्पटाइरहेको हुन्थे । ती माछा मारेर उनीहरू ले आफ्नो भोक शान्त पार्नुपर्दथ्यो । घरमा पढ्नलाई बत्ती थिएन । वर्षामा ओढ्नलाई छाता थिएन । जाडोमा लगाउने तातो कपडा थिएनन् । गर्मीमा हावा खाने पङ्खा थिएन । यस्तो स्थितिमा कति समयसम्म पढ्ने र कसरी पढ्ने भन्ने प्रश्नचिन्ह तयार हुन्थे । स्कुल ले मुस्किलले किताब र पोशाक दिएको हुन्थ्यो अनि छात्रवृत्ति पनि ।
यतिमात्रले उनीहरूको भविष्य बन्न सक्दैनथ्यो । विद्यालयमा होमवर्क नगरेको भनी हप्की पनि खानुपर्दथ्यो । ती शिक्षकहरूलाई उनीहरूको साथमा कापी, कलम थिएनन् भन्ने कुरा पनि थाहा हुदैनथ्यो । खाजा खाँदा हरबखत उच्चवर्गको वासनादार टिफिनमा आँखा र नाक पुगेका हुन्थे । सुख्खा चिउरा र मुरैलाई उनीहरू वासनादार टिफिनको कल्पनामा चपाउँथे । उनीहरूले मुस्किलले दुइ कक्षा पास गरे । तीन कक्षामा दुइपल्ट फेल भएपछि दुवै स्कुलबाट निकालिए । त्यसपछि उनीहरू नजिकको सरकारी स्कुलमा पढ्न थाले । दुवैजनाले पाँचकक्षासम्म पढेर चित्त बुझाउनु पर्यो किनभने त्यहाँ पाँच कक्षासम्म मात्र पढाइहुन्थ्यो । त्यसपछि मनसराले इट्टाभट्टामा काम गर्न थाली भने बुधरामले बजारमा गई रोजगारी गर्न थाल्यो ।
प्रतीक्षारत समय बिताउँदै थिई मनसरा । एकदिन मनसरा गुइठा बनाउँदै थिई , बुधराम आइपुग्यो । बुधरामलाई देखेर मनसराको मनमा खुशी र बिश्वास पलायो ।
"मनसरा के छ तेरो खबर -"
"तँ.. बता न कहा“ गएको थिइस् - "
"तेरो लागि जागिर खोज्न गएको थिए“ । "
"मेरो लागि रे आफ्नै लागि भन न ।"
"हैन तँलाई बिहे गर्न जागिर खानु परेन । "
"अनि जागिर भेटिस् त, भन न हामी कहिले बिहे गर्ने -"
"हेर, जागिर त भेटेको छु तर... रेस्टुरेन्टमा नाच्नुपर्छ ।" अघिपछि गाउँघरमा पनि नाच्ने बुधरामले नाच्ने जागिर पाएको थियो ।
"तर एउटा कुरा केटी लिएर आइज तेरो जागिर पक्का हुन्छ भनेको छ , के गर्नु भन त । "
"अनि केटी कसलाई लैजान्छस् त -"
"तँ हिँड् न.. पैसा पनि पाइन्छ ..मीठोमीठो खान पनि पाइन्छ । "
"अहँ... म जान्न, मलाई डर लाग्छ ।" अघिपछि गाउँमा राम्रो लुगा लाएका मान्छे आयो भने छोरीहरूले लुक्नुपर्ने चलन थियो , त्यसैले मनसराले विरोध जनाई ।
"म छु नि... के डर मान्छेस् । मानिसहरू भनेका बाघ भालु हैनन । हामीजस्तै त हो नि ...। तेरो डर पनि भाग्छ ।"
"मेरो मइया बापोले कहाँ दिन्छ त जान, फेरि मलाई तँलाई जस्तो नाच्न कहाँ आउँछ ।"
"बिस्तारै जनिहालिन्छ नि पहिला एक दुइ दिन हेर्न हिँड न ।"
"ल त मलाई लिएर जा है...।" मनसराले स्वीकृति दिई ।
भोलिपल्ट मनसरा बुधरामसँग रेस्टुरेन्टमा गई । उसलाई बुधरामले राम्रो लुगा किनिदिएको थियो । ऊ बुधरामले जागिर पाएकोमा र आफूले पनि जागिर पाउने भए भनेर मख्ख थिई । उसलाई बुधरामले धेरै कुरा सिकाएको थियो । ऊ बुधरामले आफूसँग छिट्टै बिहे गर्छ भन्ने कुरामा विश्वस्त थिई ।
रेस्टुरेन्ट देखेर मनसरा खुसी भई । यस्तो रेस्टुरेन्ट उसले आजसम्म कतै देखेकी थिइन । त्यहाँ उसले खानेकुरा लिएर जानुपर्दथ्यो । मानिसहरू उसलाई घुरेर हेदथे । यो कुराचाहिँ उसलाई मन पर्दैनथ्यो । तर पनि धनीमानीको संगत, चहलपहल र मीठो खानेकुराको अगाडि उसले सब कुरा बिर्सिदिई ।
गाउँमा हल्ला चलेको थियो । मनसराले राम्राराम्रा लुगा लगाएको देखेर पछाडि कुरा गर्नेहरू प्रशस्त थिए । तर मनसरालाई यो कुरामा कुनै मतलब थिएन । ऊ खुसी थिई । उसले यसलाई नै पर्याप्त ठानेकी थिई ।
बाबुको खोकीले उसको तन्द्रा टुट्छ । हिजोको खुसीलाई उसले आज तिलाञ्जली दिएकी छे । आज उसको विश्वासमा ठूलो घात भएको छ । उसले आज रेस्टुरेन्टको चिकन रोस्टमा आफूलाई बेचेकी छे । धनाढ्यहरू को बियर र रममा आफ्नो अस्तित्व साटेकी छे । ऊ लुटिएकी छे । टुक्रेकी छे । बुधरामको बिहेको वाचा भत्केको छ । उसले बुधरामको आत्मा पढ्न सकेकी भए उसलाई तनमन कहिल्यै दिने थिइन उसले । ऊ आफैबाट भत्केकी थिई । नजोडिने गरी ।
कतै टाढाबाट बाबु र आमाको गन्थन उसको कानमा ठक्कर खान आइपुग्छ । उसको बाबु भन्छ -" ऐ कथिले पिताइछी बेटी के – (किन कराउछेस्. ए छोरीलाई )"
आमा भन्छिन-"् नैगाइरद्याके कथि करबै - गाममे केन ग हल्ला छै कि मनसरा रेस्टुरेन्टमे काम करैछै । (नकराएर के गर्नु गाउँमा कस्तो हल्ला छ मनसरा रेस्टुरेन्टमा काम गर्छे भनेर ) "
बाबु खोक्तै भन्छ-" कैहैबलाके कैहैले दैहै कथि भेलै, एते नैबनिया काम नै करैबला के छै - रोग या भुखसे मोरै से त जेन गके भी जियैले ठीक (भन्नेलाई भन्न दे के भो र यहाँ खराब काम नगर्ने को छ र , रोग भोकले मर्नुभन्दा त जसरी भए पनि बाँच्नु जाती )"
आमाको स्वर सुनिन्छ ,-" तोहे कैहै छि ने, तर कथि करबै मुख देखाइले मुस्किल छै । बेटीके बिहा करैले नै सकलकै कहतै गौवा लोकसव ।
-( भन्छौ नि तर के गर्नु गाउँमा मुख देखाउन गाह्रो छ । छोरीको बिहे गर्न सकेन भन्छन् । ं)"
त्यसपछि मनसराले केही बुझिन , उसको कानमा बाबुले भनेको ' रोग या भुखसे मोरै से त जेन ग भी जियैले ठीक' निकैबेरसम्म गुन्जिरह्यो ।
मनसरा बिहान चाँडै उठी नयाँ उमंग भावना लिएर । अब उसले बुधरामको विश्वासलाई तोडिसकेकी छे । ऊ अब कसैको अगाडि नाङ्गिने छैन । उसले आफ्नो अस्मिता लिलाम हुन दिने छैन । ऊ अब कसैको अगाडि बिक्ने छैन । उसले दृढ सङ्कल्प गरी ऊ अब सङ्धर्षगरेर बाँच्ने छे । बिहानको सूर्योदयले उसलाई नयाँ जोश र हौसला दिएको अनुभव भयो उसलाई । उसले बुधरामसँग बजारमा जाँदा केही मान्छे चिनेकी थिई । त्यसैले उसले कामको खोजी गर्ने विचार गरी ।
ऊ दिनभरि जागिरको लागि भौतारि रही । तर भनेजस्तो जागिर कही पाइन । उसले कतै उसले सफलताको सिढी भेट्टाइन । वर्षाशुरु भइसकेको थियो । घरमा अभाव र गरिबीले साम्राज्य फैलाएको थियो । भोक र रोगले ताण्डव नृत्य देखाउँदथ्यो । जसोतसो उनीहरूले सास धानिरहेका थिए ।
अचानक एकदिन उसको बाबु अन्तिमस्थितिमा आइपुग्छ । मनसरालाई उसको बाबुले 'रोग या भुखसे मोरै से त जेन के भी जियैले ठीक' भनेको कुरा कानमा गुन्जिरहन्छ । बाबुको असक्त र निसहाय अनुहारले मनसराको सङ्कल्पलाई चुनौती दिइरहेको आभाष हुन्छ । मनसरा बाबुको अगाडि हार खान्छे । आफ्नो सङ्कल्पलाई तोडिदिन्छे । उसले बाबुको जीवनको अगाडि आफ्नो अस्तित्वको आहुति दिन्छे । आमाको च्यातिएको धोतीले उसको अस्तित्वलाई नङ्गाइराखेको अनुभूति हुन्छ उसलाई । समाजको प्रत्येक व्यक्तिलाई ऊ नाङ्गो देख्छे । ऊ गरिबी र अभावका पर्दा च्यातेर समाजलाई देखाउन चाहन्छे । ऊ नङ्गाउन चाहन्छे समाजका ती वर्गलाई जो सम्पन्नताका पारदर्शी पहिरनमा आफ्नो इज्जत ढाक्न असफल प्रयास गरिरहेका हुन्छन् । ऊ बुधराम भएठाउँजान्छे , पुनः उसँग विश्वास जोड्न ।

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।