December 14, 2009

भावनाको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, अहिले मलाई मेरा पात्रहरूले दुर्इटा आरोप लगाएका छन् । त्यो के भने मैले नारी पात्रलाई मात्र विषयवस्तु बनाई कथा लेखे रे अर्को आरोपचाहिँ मेरो कथामा लेखकीयप्रवृत्ति अगालिएका कथालाई मात्र मान्यता दिए रे । यो आरोप मलाई पात्र मात्र हैन पाठकहरूले पनि लगाउने गरेका छन् । वास्तवमा कथाकार जुन परियिस्थतिमा बाँचेको हुन्छ, जुन धरातलमा उभिएको हुन्छ त्यसको प्रभाव उसमा परेको हुन्छ । त्यसैले उसको लेखनमा सशक्तताका साथ त्यो परिस्थितिको चित्रण जीवन्त भएर आएको हुन्छ र उक्त कथाकार सफल पनि हुन्छ । यसका थोरै उदाहरण म यसरी दिन चाहन्छु - फ्रान्सका प्रसिद्ध कथाकार मोपासाँको वेश्याहरूसँग बढी सम्बन्ध भएकोले उनले वेश्यासम्बन्धि कथाहरु चर्चित छन् । त्यस्तै हाम्रै देशको कुरा गर्ने हो भने कथाकार महेशविक्रम शाह प्रहरी भएका हुनाले द्वन्द्वकालीन उत्कृष्ट कथा लेखेर मदन पुरस्कार प्राप्त गर्न सफल भएभने अर्का उपन्यासकार पत्रकार नारायण वाग्लेले रिपोटिङ्गसम्बन्धि उपन्यास 'पल्पसा क्याफे'बाट चर्चित बने । वास्तवमा यो यथार्थ हो कथाकार कथाकार हुनुअधि उसलाई जुन वातावरणले उसलाई हुर्काउँछ ऊ त्यसैमा बाँच्न चाहन्छ र जीवन्त हुन चाहन्छ ।
कथाकार दिवाकर नेपालीज्यू, अब कुरो को चुरो तिर जाऊ । आज मेरो भेट एकजना पैसठ्ठीवर्षो बूढोसँग रत्नपार्कमा भएको थियो । ऊ रानीपोखरीको छेउमा चना खाँदै उभिएको थियो । म गाडीको प्रतिक्षामा उभिएकी थिए“ । उसले मलाई झट्ट देख्यो र समातेर भन्यो -
'तपाई कथाकार अनामिका हैन -'मैले होइन भन्न सकिनँ ।
उसले भृकुटी खुम्चाउँदै भन्यो- 'तपाईर्ले धेरै पात्रको कथा लेखिसक्नु भयो रे । म बुढोमान्छेको पनि कथा लेखिदिनुपर्यो ।'
मैले नाइँ भन्न सकिनँ किनभने म पनि कथाको खोजिमा भौतारिने मान्छेलाई 'के खोज्छस् कानो आँखो' भयो ।
'हुन्छ नि बुबा, म तपाईँको कथा सुन्न तयार छु भन्नुहोस् । त्यसपछि उसले एउटा बेन्चमा बस्ने् इशारा गर्यो । हामी दुवै बेन्चमा बस्न गयौँ ।
ऊ कथा भन्न थाल्यो- 'सुन्नुहोस् यो कथा आजैको हो । बिहान म बसमा चढ्न मात्र के आँटेको थिए, उसले मलाई हेरेर मुसुक्क हाँसी । मेरो बूढोयौवनमा नयाँ उमङ्ग दौडियो । बुढेसकाल लागेपछि भनौँ साठी वर्षनाघेपछि यसरी हेरेर मुसुक्क हाँस्ने तरुनीको सङ्ख्या धेरै घटिसकेका थिए । तरुनीहरूले भेटेकी बाजे, अङ्कल, मामा, बुबाको सम्बोधनले मेरा यौवनकालीन भावनाहरू धामीले ढ्याङ्ग्रो ठोकेर भूत भगाएझैँ भागिसकेका थिए ।'
मलाई अघि बुबा भनेकोमा पश्चाताप लाग्यो । मैले सोचेँ अब म पात्रज्यू मात्र भन्नेछु । ऊ भन्दै थियो- 'कथाकार अनामिकाज्यू, अब मात्र यौवनकालका विस्मृत सम्झनाहरू सँगालेर हिँडने गर्दछु । -ऊ एकछिन रोकियो ) उमेरमा म कति हेण्डसम थिए । खाइलाग्दो शरीर, बान्की मिलेको गोरो अनुहारमा कालो जुङ्गा देखेर एकपल्ट लट्ठ नपर्ने तरुनी प्रायः कमै हुन्थे । अझ नेपाल सरकारको अफिसर जागिरले मेरो व्यक्तित्त्वलाई केमिकलले काँसका् भाँडा टल्काएझैँ टल्काइदिएको थियो । कुनै काम गराउन पर्यो भने मसक्क मस्किँदै आउने तरुनीको आशामा अफिसमा समय बित्दथ्यो । कुनै दिन एउटै राम्री तरुनीको अनुहार हेर्न पाइनँ भने वा बोल्न पाइनँ भने त्यो दिन पाउरोटीमा ढुसी लागको जस्तै मेरो मन पनि ढुसीले ढाक्दथ्यो । यस्तै अफिसको कामले काजमा वा सरुवा भई काठमाडौँ बाहिर जाँदा कति तरुनीसँग रसरङ्गमा बिताइयो त्यसको लेखाजा्खा नै छैन । यसका लागि मलाई प्रशस्त गृहकार्य गर्नु पर्दथ्यो । त्यो केटी कस्ती खालकी हो - चरित्र कस्तो छ - कस्तो सम्बन्ध मन पराउँछे - यी सारा कुराको प्रशस्त अनुसन्धान गरेपछि मात्र म मिशनमा अघि बढ्दथे । र्सवप्रथम त तरुनीहरूलाई पहिले उसको रूपरङ्ग र फैशन र आभुषणको सक्दो प्रशंसा गरेर तातोपानीको कुण्डमा डुबाइदिनुपर्छ । त्यसपछि उनीहरू सबै आनाशक्ति पखालेर आफूप्रति समर्पित हुन आइपुग्छन् । बिस्तारै देखभेट बढेपछि प्रशस्त मनोवैज्ञानिक अध्ययन गरेपछि ऊ जुनसुकै होटेल र रेष्टुरेण्टमा जान तयार हुन्छे । यस्तो अवस्थामा बढी भावुक र व्यवहारिक केटी पटक्कै काम लाग्दैनन् । किनभने उनीहरू पछिसम्म आफ्नो गलाको पासो हुनसक्छन् । आफू त लोग्नेमान्छे न परियो केही समय रासलीला गर्ने अनि अर्कै स्वादका लागि भौतारिने । भवरा एउटै फूलको रस खाएर किन अघाउथ्यो र - युवास्थाको त्यो क्षण, त्यो तृप्ति त अब कहाँ जीवित रह्यो र - ज्यानले सुगर र प्रेशरलाई निमन्त्रणा दिई सकेको छ । न त पहिलाको जस्तो शरीरमा शक्ति छ न त परिस्थिति नै अनुकुल छ । रिटायर भएपछि सबकुरा बन्द भएर ताल्चा लाग्यो । तर पनि मान्छे बूढो भएपनि मन बूढो कहाँ हुँदोरहेछ र कथाकार अनामिकज्यू - हेर्नोस् कहिलेकाहीँ यो मन त्यसै रोमान्चित भएर आउँछ । अझ बजारमा ठिटाठिटी नारिएर हिँडेको देखे भने मन त्यसै कुडिएर आउँछ । अझै त ज्यानमा शक्ति छ नि भनेर कहिलेकाहीँ ढाटिएर हिँड्न मन लाग्छ । कसैले बूढोमान्छे भनी दियो भने तीनपुस्तालाई पुग्ने गाली गरुझैँ लाग्छ र भन्छु- 'तेरो बाउ बूढो, तेरो हजुरबुबा बूढो , तेरो जिजुहजुरबुबा बूढो ।'
अनि सो बूढोमान्छे भन्ने व्यक्ति हाँस्दै भन्छ - 'हो त हजुरबुबा मेरा बुबा हजुरबुबा सबै बूढा नै हुन् । तपाईँले यसरी गाली गर्नै पर्दैन ।'
म अन्यमयस्क हुन्छ र आफैँ घोरिन थाल्दछु, 'आहो † यो मैले के भने ।' भनेर । कहिलेकाहीँ तरुनीहरूको शरीरबाट निस्कने रागात्मक वास्नाको गन्ध लिऊँलिऊँ लागेर उनीहरूको छेउछाउमा गई बस्न मन लाग्छ । उनीहरूले समयअनुसार गरेको फैशन र मेकअप देखेर लट्ठ परेर हेर्ने गर्दछु । थाहा छ - एक दिन त के भएछ कुन्नी † गाडीमा एउटी केटी सीटमा समाएर उभिई रहेकी थिई । उसका बाटुला, गोरा हातमा लगाएको चुरा देखेर लट्ठ परेछु । के भएर हो होशमा हो कि बेहोशमा उसको हात समाउन पुगेछु । त्यो केटीले हात झटकार्दै 'कस्तो पात्तेको बूढो रहेछ' भनेर गाली गर्दा पो झसङ्ग भएछु । के गर्नु बूढेसकालमा लोग्नेस्वास्नीको सम्बन्ध पनि अचम्मको हुँदोरहेछ । .कथाकार अनामिकाज्यू, सायद तपाईले त अनुभव गर्नु भएको छैन होला । म 'हो भन्न पुग्छु र उक्त पात्र यौनमनोविज्ञान बुझ्ने प्रयत्न गर्छु सायद फायडले धेरै अध्ययन र अनुसन्धान गरेर यौनमनोविज्ञानसम्बन्धि सिद्धान्त पत्ता लगाएका होलान भन्ने निश्कर्षमा पुग्दछु ।
उ भन्दै जान्छ- 'रोमान्टिक भावना जति चुहुने भाँडामा चुहेझै सबै चुहिसक्दोरहेछ । मात्र व्यवहार, अभाव र सामाजिकदायित्त्व मात्र थिग्रिएर यो उमेर आएर बस्दोरहेछ । कहिलेकाहीँ लाग्छ बूढी पच्चीस वर्षी भैदिए हुन्थ्यो र आफू तीस वर्षो भैदिए हुन्थ्यो नि † त्यसो भएर मनमा प्रेमिल भावना अङ्कुराएर रतिरागात्मक समयमा दिन बिताउन पाए हुने नि † कतिचोटि यस्ता इच्छा मनमा ओथारो नबसेको कहाँ हो - तर त्यो अप्राकृतिक ओथारो कसरी सफल हुन्थ्यो र - त्यो इच्छा कैयौँ चोटि गर्भित भयो अनि भ्रुणमा नै तुहियो । आज त्यो तरुनी धेरै दिनपछि मलाई हेरेर मुसुक्क हाँसेकी थिई । म पनि मुसुक्क हाँसेर आँखा झिम्काएको भए हुने नि कस्तो शुद्धि नै हराएछ । गाडीमा चढ्ने धुनले हेरेको हेर्यै भएछु । चिनेकी भए त बोल्नु पर्ने हो । ऊ अगाडि उभिएकी थिई । त्यसको ठीक पछाडि म उभिएको थिएँ । उसको शरीरबाट नारीत्वको वासनामय सुगन्ध आयो मेरो नाकमा । मैले घरीघरी उसलाई हेर्ने असफल प्रयास गरेँ । मलाई बोलुबोलू लाग्यो । तर के भनेर बोलूँ - नानी भनूँकी बाहिनी भनूँ की मैडम भनूँ की कुनै निर्णयलिन सकिनँ । गाडीमा एउटा रोमान्टिक हिन्दी गीत बजिरहेको थियो । म गीतमा हराएँ । गाडी नयाँबानेश्वर हुँदै अगाडि बढ्यो । गाडी रोकिदा उसको शरीर मेरो शरीरमा ठोक्किन आइपुग्थ्यो । म आनन्दित हुन्थेँ । उसको देहमाधुरीबाट मीठो वासना चल्थ्यो । मेरो पुरुषत्व पुलंकित भयो । यसरी ठोकिदा मेरो अतृप्त आत्माले एकछिन भए पनि आनन्दको घुट्को पिएर तृप्ति बन्थ्यो । म आफैँ पनि उही रोमान्टिक गीतमा हराइरहेको थिएँ । अचानक माइतीघरको ओरालोमा गाडीमा बे्रक लाग्यो । उसँगै म पनि हुत्तिएँ । उ गाडीको बोनटमा हुत्तिई । म उसलाई अँगालो मार्न पुगेँ । एकछिनपछि ऊ उठ्न खोजी म पनि उठेँ । मेरो चश्मा उछिटिएर झर्यो । कतै गाली गर्छेकी म धकाएँ । उसले केही भनिनँ । म ढुक्क भएँ । खलासीले चश्मा टिपिदिँदै भन्यो- 'बाजे चोट लाग्यो -'
मेरो रिसको ज्वालामुखि फुट्यो । मैले मनमनै सरापे त्यसलाई 'तेरो बाजे चोर, तेरो बाजे डाँका, तेरो बाजे अपहरणकारी । यति मीठो रोमान्टिक क्षणमा बाजे भनेर सबै कल्पना बिथोलिदिइस् ।'
म शहिद गेटमा झर्नुपर्ने थियो । तर झरिनँ । किनभने ऊ झरिन । गाडी मोडिएर रत्नपार्क पुग्यो । रत्नपार्कमा पनि ऊ झरिन । त्यसपछि गाडी मोडिएर बसपार्क पुग्यो । अब पक्कै ऊ झर्छे म पनि उसको पछिपछि झरे । ऊ झरेर पुतलीसडकतिर लागी म झरेर बागबजारतिर लागेँ । अलिक पर पुगेर फर्केर फेरि त्यो केटीलाई अघाउञ्जेल हेर्नुपर्यो भनेर हेर्न थालेँ । मैले हेर्दाहेर्दै बसपार्कमा फ्याकेको केरामा अल्झेर त्यो केटी नराम्ररी पछारिई ।, अब मलाई के चाहियो - त्यो केटीको समीप्यका लागि लालायित मेरो मन जातिसक्दो चाँडो त्यो केटीलाई उठाउन हाम्फाल्दै पुग्यो । त्यो केटी पीडाले 'उफ्उफ्' गर्दै थिई । मैले उसको अग्लो हिलवाला जुत्ता फुकाली दिएँ । खुटा सोझो पारेर मुर्सार्न थालेँ । म यो सब किन र कसरी गरिरहेछु मलाई थाहा छैन । उसलाई समाएर छेउको डिलमा बसाएँ । उसको हस्टपुस्ट शरीर समाउँदा मलाई आनन्द लाग्यो धेरै मानिस भेला भएर सोधीखाजी गर्न थाले । ती सारा मानिसलाई हटाएर एक्लै उसँग बस्न पाए हुन्थ्यो जस्तो लाग्यो । तर मानवीय भावनाले गर्दा होला, सहयोग गर्न धेरैजना वरिपरि झुम्मिए । मलाई भने भोकाएको सिँहको अगाडि शिकार आफैँ परेजस्तो भयो । मैले मायालु भावले् भने“ - 'तपाईंको घर कहाँ हो -'
उसले भनी- 'खम्बा गाडेको ठाउँमा ।'
मेरो कानमा बम पडकेकोजस्तो भयो । 'कस्तो खतरा केटी रहिछे । यत्रो सहयोग गर्दा पनि शत्रुलाई जस्तो व्यवहार गर्छे अहिलेका तरुनीहरू पहिलाका जस्ता कहाँ हुन्छन् र - बूढोमान्छे देखे भने भिमसेनी बोका गन्हाएझैँ परैबाट भाग्छन् । सहृदयी , मिजासिला र अनुशासित भने त पटक्कै हुँदैनन् ।' मेरो मन अमिलो भयो । त्यै पनि यति सहयोग गरिहालियो केही न केही आत्मीयता जताउँनुपर्ला । यो उसको नखरा पनि हुनसक्छ । केटी फकाउने विभिन्न कला दिमागमा उव्जिए । तर ती सबै डेटएस्पाएर भएर आफै ओइलिएर झरे । मैले साहस जुटाएर भने- 'यस्तो राम्री मान्छे खुटा केही भयो भने के गरेर हिँड्ने होला -'
उसले सुनेर पनि नसुनेझैँ गरी मोबाइल दबाउन थाली । मोबाइलमा खै कसलाई लिनलाई बोलाई । मलाई अझ बढी आत्मीयता दर्शाउनु थियो । 'तपाईँलाई अप्ठेरो भए म पुर्याइदिउँला नि ।' मैले आशक्ति बिछ्याएँ ।
कथाकार अनामिकाज्यू, त्यस केटीले के भनी थाहा छ - मलाई भन्नुपर्दा पनि जिउँदै मरेजस्तो हुन्छ । मेरो भावनामा नराम्ररी चोट लाग्यो । उसको रिसको भाडो ममाथि यसरी पोखियो -
'औ बाजे धेरै स्मार्ट हुनुपर्दैन म आफै पनि जानसक्छु । तपाईँले अघिदेखि गाडीमा पनि पछाडिबाट धकेलिरहनु भएकोथ्यो । अहिले पनि नानाथरिको कुरा गरेर मलाई डिर्स्र्टब गरिरहनु भएको छ । यदि तपार्इँ उद्धार गर्न चाहनुहुन्छ भने त्यो बाटामा लडेको माग्ने मान्छेको उद्धार गर्नुहोस् , मेरो गर्नुपर्दैन ।
अनामिकाज्यू, म झसङ्ग भएँ , सपनाबाट ब्युझेजस्तै गरी । ऊ त मैले गाडीमा पछाडिबाट धकेले भनेर पो रिसाएकी रहिछे । मैले त्यस्तरी धकेलेजस्तो त लाग्दैन । तर पनि बूढोमान्छे कतै धकेले कि - खासै दिमागमा के गरिरहेछु भन्ने पनि होश हुँदैन । अब भने मुटु ढुकढुक गर्न थाल्यो । तीस वर्षे उमेरमा रोमाञ्चित भएको मन पैसठ्ठी वर्षो उमेरमा आएर थचारियो । मलाई रिगटा लागेजस्तो भयो । मेरो कुमारी भावनाहरु बलत्कृत भएझैँ लाग्यो । मिठो अनुभूति सँगालेर बर्सिएका भावनाका फोकाहरू छिनभरमा नै बिलाए पानीका फोकाझैँ । म चुपचाप उठेर आफ्नो गन्तव्यतिर बढेँ पछाडि फर्कदै नफर्की । समयको ट्राफिकले कहिलेकाहीँ गतल सिग्नल दिँदा जीवनमा यस्तो असम्भावित दुघर्टना घट्तोरहेछ । मनमा अनेकौ तर्कना कल्पदै गन्तव्यतिर अघि बढेँ।
एउटा बूढोमान्छेको रोमाञ्चित भावनाहरु यसरी नै पानीको फोकाझै उठ्दै बस्दै गर्नुपर्ने नियति हुँदोरहेछ । तपाईले मेरो यो कथा अवश्य नै लेखिदिनु होला । यति भनेर उसले भनौ पात्रज्यूले बिन्ती गर्ने बहानामा मेरो हात समाउन खोज्यो । म र्सतर्क भएँ र हात छुटाउँदै भने- हुन्छ पात्रज्यू, म तपाईँको कथा अवश्य र्सार्वजनिक गर्नेछु । यति भनेर म ऊबाट टाढा भएँ । २०६५-५-१८

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।