कथाकार दिवाकर नेपालीज्यू, तपाईँले भन्नु भएझैँ अहिले मेरो सम्झौता विदेशमा बसेको प्रवासी नेपालीसँग हुन गएको छ । प्रत्येक कुरा आयातीत मन पराउने हाम्रो नेपाली समाजको संस्कारमा म पनि बिटुलिन पुगेको छु । वौद्धिक विचार, खानपान , लवाइ, संस्कृति, संस्कार आदि सबै विदेशी मन पराउने हाम्रो समाजको प्रवृत्तिबाट म कसरी टाढिन सक्थेँ होइन र - फेरि उक्त पात्र स्वयम् पनि अत्यन्त अप्ठेरो स्थितिमा परेको हुनाले हामीबीच शान्ति सम्झौता सफल हुन गएको हो । फेरि तपाईँ स्वयमले पनि पात्रहरूसँग सम्झौता गर्ने विभिन्न उपाय र तरीकाहरू बताउनु भएर पनि यो सम्भव भएको हो । अहिले मलाई सजिलो भइरहेछ । जे भए पनि उक्त पात्रको कथा मैले भर्खरै सुनेकी छु । त्यसैले यहाँ उसकै भाषा, शैलीमा सुनाउन गइरहेकी छु ।
चौबीस वर्षो अल्लारे उमेर । आफ्नो रुपरङ्ग जीउडाल हेरेर आफै मख्ख पर्दथे । कतै केही खोजिरहेजस्ता आँखा, के-केको तिर्सना लागेजस्तो सायद वैंश यसैलाई भनिन्थ्यो क्यारे । व्यवस्थापन विषयमा स्नातक गर्दागर्दै मेरो भेट आस्थासँग भएको थियो । क्याम्पसको विविध कार्यक्रममा भाग लिने क्रमसगै हामी नजिकिएका थियौँ । क्याम्पसका भेटले मात्र हामीलाई पर्याप्त हुँदैनथ्यो । बिदाको् दिन र फुर्सदको समय हामी कतै पार्क मन्दिरमा हराउने गर्दथ्यौ । भावनाको तीव्रबगाइमा हामी कहाँ पुग्थ्यौँ हामीलाई थाहा हुँदैनथ्यो । हामी वर्तमानको विश्लेषणदेखि भविष्यको लेखाजोखा गर्नसम्म चुक्दैनथ्यौँ । हामीबीच सानाभन्दा साना आपसी घटनाहरू र विचारहरूका विषयमा छलफल हुन्थ्ये । उनी बाहिरबाट काठमाडौँमा पढ्न आएकी थिइन म भने काठमाडौको रैथाने थिए । त्यस समयमा क्याम्पसमा व्यायफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने चलन भर्खर चलेको थियो । यो चलनले हाम्रो सम्बन्धलाई बिना रोकटोक फस्टाउने अवसर दिएको थियो । तीनवर्षो स्नातक सकिले बेलासम्म हाम्रा साथीहरूले तीन दर्जन गर्लफ्रेन्ड र व्यायफ्रेन्ड फेरिसकेका थिए । तर हामीबीच कहिल्यै त्यस्तो भएन । हामीसँग जीवनलाई हेर्ने दृष्टिकोण नै अर्कै थियो । हाम्रो प्रेम झरनाको कञ्चन पानीझैँ जीवनको उद्देश्यखोज्दै अनवरत रुपमा बगिरहेको थियो । हामी कहिले स्वयभूको डाँडामा आफ्नो भविष्य खोजिरहेका हुन्थ्यौ त कहिलेबालाजुको पार्कमा । हाम्रो प्रेम उच्चशिक्षा हासिल गरी आफ्नो करियर बनाउने उद्देश्यका साथ अघि बढेको थियो । यस्तै क्रममा स्नातक सकिनेबित्तिकै मलाई मेरो काकाले अमेरिकाको विश्वबिद्यालयमा उच्चशिक्षाका लागि छात्रवृत्ति मिलाइदिएका थिए । आस्थाको भने त्यस्तो छात्रवृत्ति मिलाईदिने कोही थिएनन् । उनी नेपालमा नै बसेर डिग्री पढ्न थालिन् । विदेशमा मात्र आफ्ना छोराछोरीको भविष्य सुन्दर देख्ने द्रष्ट्रान्त बोकेका आमाबुबाहरुको ताँतीमा मेरा आमाबुबा तथा आफन्तहरु पनि पर्दथे । माओवादीको जनयुद्धमा बुबाआमा मारिएर सडकमा निरुद्देश्य, निसहाय, निरुपाय भएर सडकमा फ्याकिएको बालकझैँ हाम्रो प्रेम करियर बनाउने उद्देश्यको अगाडि लाचार भयो । त्यै पनि अध्ययनपछिको मधुरो मिलनको सपनाको ढुकढुकी बोकेर हामी बिछोडिएका थियौँ । यसरी म आस्थाको प्रेमबाट टाढिएर अमेरिका आइपुगेँ । अपरिचतताको आँगनमा आफ्नो करियरको लडाइ लड्न थालेँ । दैनिक जसोको भागदौड अध्ययन र जागिरले मेरो जीवन अति व्यस्त बनायो । सुरुसुरुमा प्रत्येक दिनजसो हुने हाम्रो च्याटिङ्ग पातलिदै गयो । केहीसमय पछि मैले थाहा पाए आस्थाले बिहे गरीसकिन भनेर ।
अध्ययनपछि म सरकारी जागिरको लागि सङ्धर्षगर्न थालेँ। सङ्धर्षपश्चात् मैले राम्रै सरकारी जागिर पाएँ । म आफूले आफैलाई नियालेँ मेरो पनि बिहे गर्ने उमेर ढल्किसक्न आँटेको रहेछ । त्यसपछि मैले अमेरिकामा नै प्रबासमा हुर्केको नेपाली केटीसँग बिहे गरे । उसभित्र मैले मेरी नेपालकी आस्थाको छाया र बिम्ब खोजेँ
। यसरी खाज्नु मेरो मुर्खता थियो । किनभने उनी अमेरिकाजस्तो विकासशील देशमा जन्मिएकी स्वतन्त्रविचार धारा बोकेकी नारी थिइन् । तर मलाई मेरो मुर्खताप्रति सचेतना नै जागेन । अमेरिकामा हुर्केकी, पढेकी केटीमा नेपालकी मेरी आस्थाको बिम्ब र लक्षण हुनु अस्वाभाविक हो भन्ने कुरामा म सचेत हुन सकिनँ । उनी बच्चा नजन्माउने विचारमा थिइन् । उनी भाडाको आमा (सेरोगेटमदर) खोजेर बच्चा अरुलाई जन्माउन दिने विचारमा थिइन् । तर म यो पक्षमा राजी थिइन् किनभने मातृत्त्वसुख पछि मात्र कुनै पनि नारी सम्पूर्ण हुन्छ भन्ने मेरो सोचाइ थियो । मैले मुश्किलले बच्चा जन्माउन राजी गराएँ । तर उनले आफू आमा बनेको गर्व कहिल्यै गरिनन् । उनी बच्चाजन्माएपछि उत्पन्न हुने सम्पूर्ण शारिरीक र मानसिक सम्स्याको दोष मलाई थुपार्ने गर्दथिन् । एउटा बच्चा जन्मेपछि हामीबीच बारम्बार झगडा सुरु हुनथाल्यो । अन्तिममा गएर पारपाचुकेमा हाम्रो झगडाको अन्त्य भयो ।
त्यसपश्चात् आस्थाको सम्झना र अभावमा म भौतारिन थालेँ । दिनभर अफिसको काममा व्यस्त भए तापनि बिहान बेलुका म प्राय नेपालसम्बन्धी जानकारी लिन वेवसाइड हेरेर आयु छोट्याउन थालेँ । आफ्नो देश छोड्नुको पीडा, आस्थासँग बिछोडिनुको पीडाले मलाई टोकिरहन्थ्यो बिच्छिले टोकेझैँ । नेपालमा हुने गरेका अनौठाअनौठा राजनैतिक परिवर्तनले मलाई नेपलसम्बन्धी जानकारी लिने उत्सुकता बढाइरहन्थ्यो । त्यसैले केही जानकारी लिन र केही आत्मसन्तुष्टि लिन नेपालसम्बन्धी वेवसाइड हेर्ने गर्दथे । एकदिन वेवसाइडमा आस्थाको फोटोसहित समसामायिक राम्रो लेख छापिएको थियो । यसरी आस्थाको लेख छापिनेक्रम बढ्न थाल्यो । पछि विभिन्न वेवसाइडबाट थाहा पाएँ उनी राष्ट्रियस्तरको लेखिकासाथै साहित्यकार भइसकिछिन् । मलाई औधी खुसी लाग्यो । मेरी आस्थाले जीवन खेर फ्याकेकी रहेनछिन् । उनी त पारिजातझैँ मगमगाइरहेकी रहेछिन्, कोहिनूरझैँ चम्कीरहेकी रहेछिन् । उनको लेख मुनिको उनको मेल ठेगानाबाट मैले उनीसँग सर्म्पर्क राखेँ । मैले आफ्नो छद्मनाम प्रयोगगरी उनको लेखसम्बन्धी प्रतिक्रिया पठाउन थालेँ । बिस्तारै हामीबीच विचारहरू र भावनाहरू आदानप्रदान हुन थाल्यो । उनी प्राय कम मेल गर्दथिन् । किनभने नेपालको विद्युत सप्लाई र उनको पारिवारिक व्यस्तताले हुन सक्दथ्यो । मेलमा उनले एक दुर्इपल्ट आफ्नो खराब स्वास्थ्यको बारेमा जानकारी दिएकी थिइन् । मैले उनलाई आफ्नो स्वास्थ्य बारे गम्भीर हुन सचेत पनि गराएको थिएँ । मेलअनुसार उनको पारिवारिक स्थिति राम्रो थियो । उनका दुवै छोराले माध्यमिकतहका पढाइसमाप्त गरी उच्चमाध्यमिक पढ्दै गरेका थिए । उनी आफ्नो पारिवारिक जीवनदेखि खुसी थिइन् । तर उनले जीवनमा भोगेका केही तीतामीठा घटनाले उनी साहित्यकार बनेको कुरा गर्दथिन् । म पनि आस्थाको सफलतामा रमाउने गर्दथे । तर आफ्नो एकाङ्की र उराठलाग्दो जीवनदेखि तडपिने गर्दथे । अमेरिकामा जताततै पैसासँग बगेको यौनलाई म थाम्न सक्दिनथेँ । मानवीय स्वार्थीपना र एकाङ्की जीवनदेखि विरक्त लागेर आउँदथ्यो । मलाई नेपालको माया र सम्झनाले औधी सताउन थाल्यो । धेरै मुस्किलले पाएको अमेरिकाको सम्मानित सरकारी जागिर छोडेर म नेपाल आउन पनि सक्दिनथेँ । फेरि नेपालको दिनपर दिन बिग्रेको राजनैतिक र आर्थिक अवस्थाले म गम्भीर बन्दथे । फेरि नेपालमा भएका मेरा आफन्तले नेपाल आउने सल्लाह नै दिददैनथे । किनभने नेपालमा राजतन्त्र समाप्त भएपनि राष्ट्रले राजनैतिक निकास पाउन सके्को थिएन । देशले संक्रमणकालबाट उन्मुक्ति नै पाएको थिएन । त्यसैले बिरानो देशमा आत्मीयताको सियाल खोज्दै म मेलमार्फ आस्थासँग नजिक भएको थिए । उनलाई मैले आफ्नो वास्तविक नाम र जीवन बारे केही भनेको थिइनँ ।
कथाकार अनामिकाज्यु, एकदिन के भयो थाहा छ - , अचानक अनलाइनमा आस्थासँग मेरो भेट भयो । त्यो दिन भ्यालेन्टाइन दिन परेको थियो । पाठकसँग भ्यालेन्टाइन शुभकामना साटन व्यस्त थिइन् उनी । अझ मैले थाहा पाएँ उनी आफ्नो व्यस्त समय झिकेर केही समय पाठकलाई दिने गर्दी रहिछिन् । उनलाई अनलाइनमा देख्ने बितिकै मैले फलो गरिहालेँ -
'हेलो लेखिकाज्यु नमस्ते, हैपी भ्यालेनटाइन, डे'
'नमस्ते थ्यक यु एन्ड सेम टु यु'
'तपाईँका लेखहरू, कथाहरू मलाइ असाध्यै मन पर्छन् । धेरै लामो समय पछि म नेपाली साहित्य पढन थालेको छु । '
'ए हो किन नपढनु भएको नि -'
'नेपाली साहित्य शब्दका थुप्रा मात्र हुन्छन् । तर तपाईँका साहित्यमा पाठकलाई उत्तेजनाको पल्लोछेउ र वल्लोछेउ पुयाउने शक्ति हुन्छ । '
'त्यसको लागि धन्यवाद म प्रयास गरिरहेको छु ।'
'म केही समय पाठकसँग कुरा गर्ने गर्छु र म अलिक व्यस्त हुन्छु । '
'राम्रो,, तपाईँको विचार अति उच्च छ । जस्तो सौर्न्दर्य र कलामा निखार छ ।'
'प्लिज मलाई मेरो व्यक्तिगत प्रशसा नगरिदिनुहोला बरु मेरा सिर्जनाको गरे हुन्छ । '
'हो अझ कस्तो उच्च विचार आइ सल्युट यु ओ प्रिय लेखिका ।'
'यति धेरै क्रेज राखेको म निको मान्दिनँ ।'
'प्लिज मलाई अन्यथा नलिनु होला । म धेरै समयदेखि अनलाइनमा तपाईँलाई खोजिरहेको थिए,, खासै म कोहीसँग च्याट गर्न रुचाउदिनँ ।'
'म कसरी विश्वास गरु तर म यसलाई मेरो लेखनको सफलता मान्न सक्छु ।'
'हो लेखिकाज्यु आइ एप्रिसिएट यु’
यसरी त्यो दिनको हाम्रो च्याट सकियो ।
पुन अर्को दिन उनी सँग च्याटमा मेरो भेट भयो ।
'हाइ मेरी प्रिय लेखिकाज्यु गुड मर्नि ङ'
'गुड मनिङ'
'आफ्नो व्यस्त समय मलाई अलिकति दिनुभएकोमा धेरैधेरै धन्यवाद ।'
'वेलकम तर म धेरैबेर बस्न सक्दिनँ अनलाइनमा धेरै पाठकहरू हुन्छन् '
'ए हो कोही त म जस्ता क्रेजी होलान् तिनीहरूलाई के भन्नुहुन्छ ।'
'उनीहरूको भावना बुझेर कुरा गर्छु म पाठकको भावानाको सम्मान गर्छु'
'युआर ग्रेट आस्था , तिम्रो लेख र कथाहरूले मलाई तानिरहन्छ किन मलाई यस्तो भइरहन्छ मलाई थाहा छैन ।'
'प्राय पाठकहरू मलाई यसै भन्नुहुन्छ । यो राम्रो कुरा हो जस्तो लाग्छ । म जान्छु है अव विदा हौ है ।'
'गइहाल्ने म दुइ घन्टादेखि तिमीलाई अनलाइनमा कुरिरहेको छु । '
म तपाईँबाट तिमी भन्न पुग्छु उनी यसलाई मौनर्समर्थन गर्छिन् ।
'तपाईँ मिठो गफ गर्नु हुँदो रहेछ । '
'एउटा कुरा भनु रिसाउनु हुन्न नि -'
'अहँ रिसाउदिनँ बरु चाँडै भन न ।'
''यति मीठो गफ गरेर अहिले सम्म कति वटा गलफ्रेन्ड बनाइसक्नु भयो -
अमेरिकाजस्तो फ्रि कन्टीमा बस्नु भएको छ ।'
उनको प्रश्नले म कक्रयाकुक्रुक हुन्छु । कस्तो प्रश्न सोध्न सकेकी होली एक मनले सोचे उनलाई भनिदिउकि म तिम्रो सुवास हुँ भनेर ।
तर मैले भन्न सकिनँ ।
'विश्वास गर्नुहुन्छ म अर्न्तमुखि छु नि केटीसँग सामुन्ने पर्न लजाउछु ।'
'कसरी पत्याउनु -'
'आइ लभ यु आस्था ।'
'थैकयु भेरी मच तर प्रेम शब्दको मिसयुज चाहिँ नगर्नुहोस् है यो अत्यन्त पवित्र शब्द हो । '
उनको यस्तो कुराले म मर्माहत बन्न पुग्छु । मैले गफको सर्न्दर्भ मोड्दै अन्त लगेँ ।
'कतै तपाईँले मलाई पात्र बनाएर कथा लेख्दै हुनुहुन्न । '
'अहँ लेख्न चाहेको हो तर सकेको छैन , परशुप्रधानको जस्तो अनलाइनमा सुमन भन्ने
तर लेख्न सकेको छैन ।'
'तपाईँ पात्रहरूलाई किन यसरी नचाउनुहुन्छ । भन्नोस्, कुनै बेला तपार्इँका पात्रहरूले आन्दोलन गर्लान है । '
'ए पख्नोस् पख्नेस् , एउटा कथा मेरो अपुरो थियो , अहिले भर्खर पूरा भयो ।'
'किन मलाई पात्र बनाएर साच्चै लेख्न लाग्यौ कि क्या हो -'
'होइन होइन एउटा अपुरो कथा थियो त्यो अहिले पुरा भयो । एउटा पात्र तपाईँजस्तै विदेश गएको थियो उसैको कथा हो । त्यो कथा पुरा गरेर म तपाईँलाइ मेल गर्छु । '
'थ्यैङक यु प्रिय पाठक अहिले म विदा हौ है -'
'यो त स्वार्थीपन भएन र आफ्नो काम सकिने बित्तिकै मलाई छोडिदिने अनि कथाको प्लट अलिकति बताउ न।'
'होइन म सकेपछि मेल गरेर पठाउला है ।'
'ल त आस्थाजी यु आर भेरी ग्रेट । हेव अ नाइस डे ।
धेरैभन्दा धेरै लख्नु है।',
यति भनेर त्यो दिन हामी च्याटबाट छुटि्टयौँ ।
फेरि निकै दिनसम्म मलाई च्याटमा बस्ने फुर्सद भएन ।
आस्थाले मलाई त्यो पठाउछु भनेको कथा पनि पठाइनन् ।
म टाढा बसेर नै आस्थाको प्रेमको सुगन्ध लिन चाहन्थेँ । तर्सथ सधैँ उनको सफलता र सुखको कामना गर्दथेँ । त्यसैले वेवसाइटहरूमा उनको लेख र कथाहरूमा प्रतिक्रिया पठाउन कहिल्यै चुक्दिनथेँ । समसामयिक नेपाली राजनीतिको बारेमा लेखिएका रचना निकै चाख लाग्दा हुन्थेँ । उनको प्रतिभा म भित्र झागिँदै गएको थियो । यसबाट म उनलाई नजिकबाट र्स्पर्श गरेको महसुस गर्दथेँ । एकदिन च्याटमा फेरि हाम्रो भेट भयो -
'हाइ लेखिकाज्यु व्यस्त हो -'
'हो र होइन पनि , व्यस्त त भइहालिन्छ नि '
'किन किन तिमीसँग कुरा गर्दा मलाई बेग्लै आनन्द आउँछ । मैले आफूभित्र तिमीलाई विजारोपण गरेको छु ।'
'मलाई यति धेरै भावुक भएको मन पर्दैन । म नेपाली समाजमा हुर्केको नारी हुँ । मेरो घर व्यवहार छोराछोरी छन् श्रीमान हुनुहुन्छ ।प्लिज यसरी दुख नदिनुहोला ।'
'घर परिवारसँग डर लाग्छ -'
'हो लाग्छ नि, यो नेपाल हो अमेरिका होइन ।'
'ए, हो त हगि मैले कस्तो बिर्सेछु । सरी है । ' मैले कुरा मोड्दै भने 'अस्तिको कथा किन नपठाएको त - कि पात्रहरू आन्दोलनमा छन् -'
'होइन होइन पात्रहरू त ठीकै छन् तर लोडसेडिङ्गले भिलेनको रोलमा छ के गर्ने -'
'पुरै सरकार नै भिलेन छ भनन लेखमा त सरकारलाई त भन्नु नभन्नु भन्छौ नि -'
'भनेर मात्र के गर्नु कानमा बतास लाग्ने होइन क्यार ।... अब म जान्छु है अनलाइनमा धेरैबेर बस्न सक्दिनँ घरमा धेरै काम छ फेरि आज छुटि्टको दिन हो ।'
'कहिले भेटने त... फेरि ...-
'फेरि के -'
'च्याटमा भनेको । भोलि है ।'
'नट स्योर'
'आइ मिस यु आस्था ..'
यसरी हामी त्यो दिन छुटि्टएका थियौँ । आस्थासँग कुरा गर्दा म आनन्दित महसुस गर्दथेँ । मेरो समय उडेर उही नेपालमा हामी भेटेको समयमा पुग्दथ्यो । म उनको काल्पनिक र्स्पर्शमा हराउने गर्दथेँ ।
तर कथाकार अनामिकाज्यू, एकदिन के भयो थाहा . मेरो जीवनरूपी यान कतै एयर भ्याकुममा परेर सयौँ मिटर तल खसेको भान मलाई भयो । त्यो सङ्कटको भुमरी के थियो भने त्यो थियो आस्थाको मेल । त्यो दिनको आस्थाको मेल पढेपछि मलाई लाग्यो मेरो सोचाइ कुनै दुर्घटनाबाट छतविछत भइरहेछ ममा सोच्ने र सम्झने शक्ति नै विलिन भइरहेछ । त्यो दिनको आस्थाको मेल यसप्रकारको थियो - सुवासजी तपार्इँलाई मैले आफ्नो अत्यन्त नजिकको मित्र ठानेकी छु , लाग्छ, हामी धेरैअघिदेखिको साथी थियौँ । तपाईँको मेलले मलाई नयाँ उर्जा र शक्ति दिन्छ । नत्रभने नेपालको परिवेशमा एउटा नारीले यसरी लेख्नु भनेको ठूलो सङ्धर्षगर्नु हो । समाजमा विद्रोही भएर बाँच्नु हो । प्रत्येक पाइला ठेस र चोट लाग्छन् । जसलाई सहँदै, सम्हालिँदै हिँडनुपर्छ । कहाँ कुनबेला जीवन तहसनहस हुन्छ थाहा हुँदैन । जुन चुनौतिलाई स्वीकारेर मैले यो क्षेत्रमा लागेकी छु । मैले तपाईँलाई एउटा साँचोसाथीको रूपमा मानेकी हुनाले आज एउटा गोप्य कुरा भन्दै छु । मलाई बोनम्यारो भएको छ । यो कुरा कसैलाई थाहा छैन । मेरो परिवारलाई पनि थाहा छैन । यो कुरा गोप्य राख्नुहोला । म धेरैदिन बाँच्दिनँ । तर जीवनको अन्तिम श्वाससम्म लेखिरहनेछु । यो मैले कसरी थाहा पाएँ भने - एकपल्ट मलाई रक्तअल्पता भयो । तर किन र कसरी भयो भन्ने थाहा भएन । मलाई रगत चढाइयो । नेपालका डाक्टरले यो थाहा पाएनन् । त्यसपछि मलाई भारतको एउटा साहित्यिक सस्थाले सम्मान गर्न भनेर बोलाएको थियो । भारत जानेक्रममा आगराको ताजमहल हेरेर जाऊ भन्ने सल्लाहअनुसार साथीहरू सबै गयौँ । त्यससमय मलाई ज्वरो आयो । मैले आगराको राम्रो मेडिकल ट्रष्टमा उपचार गराएँ । उपचारको क्रममा रगत परिक्षणको क्रममा छोडेर आउनुपर्यो । उनीहरूले पछि मेरो अफिसको ठेगानामा रिपोर्ट पठाइदिएछन् । मैले मेडिकल भाषा बुझिनँ । एउटा राम्रो डाक्टर कहाँ गएर सोधेँ । उसले बोनम्यारो र बोनम्यारोसम्बन्धी धेरै सल्लाह र सुझाव दियो । मैले यो कुरा परिवारबीच गोप्य राखेँ।
सुवासजी, अहिले ममा धेरै थकान हुने बेलाबेलामा ज्वरो आउने भइरहेछ । जुन कुरा मेरो परिवारलाई सुनाउने गर्दिन । किनभने उनीहरू अत्यन्त हताश र निराश हुनेछन् । मैले सुनाए पनि यस्को उपचार अत्यन्त खर्चिलो र असम्भवप्राय रहेछ । त्यसैले उनीहरूलाई मैले थाहा नदिएकी हुँ । उनीहरूले थाहा पाउञ्जेत धेरै ढिला भइसक्नेछ । एउटा असलमित्रको रूपमा तपाईँले कुनै परीक्षा दिनुपरे तयार हुनुहोला र तपाईँको एउटा सुन्दर फोटो पनि पठाइदिनुहोला ।
कथाकार अनामिकाज्यू, आस्थाको यो मेल पढेपछि मेरो जीवनप्रतिको आस्था नै सब चकनाचुर भएको छ । मेरी प्रिय आस्था, अब थोरै दिन बाँच्दैछिन् । म उनको लागि के गर्नसक्छु र - बिधाताको लेखनलाई कसले मेट्न सक्छ र - म उनको जीवनको दीघार्यूको कामना मात्र भगवान्सँग गर्नसक्छुं । तर उनले मित्रताको परीक्षा भनेको के हो - त्यो चाहिँ मैले बुझिन । कतै उनले मलाई चिनीसकेकी त छैनन। तर चिन्नु नपर्ने हो - कतै मैले मेलमा मेरो यथार्थ ब्यक्त गरेको थिएँ कि । अहिले मेरो स्मरणशक्ति पनि क्षिण हुँदै गएको छ ।
कथाकार अनामिकाज्यू उनको अन्तिम इच्छा मेरो फोटो हेर्ने भनेकी छिन् म कसरी पठाउँ उनलाई मेरो फोटो । फेरि नपठाऊ त उनको अन्तिम इच्छा पूरा गर्न नसकेकोमा मलाई जीवनभर आत्मग्लानी हुनेछ । त्यसैले यो परिस्थितिमा तपाईँ मेरो कथा लेखेर पाठकहरूसँग मेरो समस्याको समाधान हुने उपाय माग्न सक्नुहुन्छ । अथवा कुनै वरिष्ठ कथाकारबाट सल्लाह लिएर यो आपतको भुमरीबाट निकाल्न सक्नुहुन्छ ।
कथाकार अनामिकाज्यू जसरी हुन्छ मेरो कथा र्सार्वजनिक गरिदिनु होला र पाठकलाई भनिदिनुहोला जीवन भोगाइमात्र होइन र अरु धेरै कुरा रहेछ । जीवनको क्यानभासमा जीवनको रङ्ग कसको कति गाढा छ भन्ने थाहा हुँदो रहेनछ । त्यो रङ्ग कसको कुनबेला उडेर सदाको लागि हराउँछ कसैलाई थाहा हुँदैन रहेछ । जीवनको क्यानभासमा यस्ता नियतिका हजारौँ रङ्ग पोखेर बाँच्नुपर्ने नेपालीको बिडम्बना रहेछ । हामी नेपाली न त रङ्गविहीन भएर बाँच्न सक्छौँ न त रङ्गिन भएर बाँच्न सक्छौँ ।
दिवाकर नेपालीज्यू, मेरो पात्रको कथा यही हो । ऊ जीवनको क्यानभासमा आफ्नो प्रेमिकाको आयू उड्दै गरेको देखिरहेछ । तपाईँ यदि उनको प्रेमिकाको जीवनको क्यानभासमा कुनै रङ्ग भर्न सक्नु हुन्छ कि अथवा मेरो पात्रलाई यो सङ्कट र निराशाको भुमरीबाट निकाल्न सक्नुहुन्छ कि - फेरि उसले आफ्नी आस्थालाई फोटो पठाउदा आस्थाले अवश्य उसलाई चिन्ने छे र उसको प्रतिक्रिया के हुनेछ - यस विषयमा तपाईँ मेरो पात्रलाई आफ्नो विद्धता मार्फत राम्रो उपाय बताउनसक्नु हुनेछ । यदि गर्नसक्नु भयो भने मेरो पात्र जीवनभरका लागि तपार्इँको ऋणी हुनेछ ।