March 13, 2010

साझा पुरस्कारदारा पुरस्कृत उपन्यास 'समानान्तर आकाश' बाट


वि स २०६२ सालको साझा पुरस्कार पद्मावती सिंहको उपन्यास 'समानान्तर आकाश'ले प्राप्त गरेको छ । यो समाचार सम्पूर्ण नारी साहित्यकारको लागि खुसी र गर्वको कुरो रह्यो । पुरस्कृत व्यक्तित्व पद्मावती सिह स्वयंलाई पनि यो अत्यन्त गौरवको क्षण हो । जीवनको उत्तर्रार्द्धमा उमेरको छेकाबन्दीलाई पार गर्दै सिर्जनशीलतामा लागेर उपन्यास लेख्नु मात्र होइन साझा पुरस्कार जस्तो सम्मानजनक पुरस्कार प्राप्त गर्नु एउटा आँटिलो र गर्विलो कार्य हो । जसलाई सम्पूर्ण नारी साहित्यसाधकले प्रेरणा र उदाहरणको रूपमा लिनु पर्दछ । नेपालको परिपे्रक्ष्यमा साहित्यिक क्षेत्रलाई उपेच्छा र अपहेलनाको भावले हेरिन्छ । यहाँ पुरुषलाई त साहित्यकारको रूपमा उभिएको परिवार र समाजले हेर्न चाहँदैनन् भने नारी साहित्यकारले यसरी साधनामा लागेर पुरस्कार हात पार्नु साहित्यिक क्षेत्रका लागि नै गौरवको विषय हो । यहाँ साहित्यिक क्षेत्रलाई उपेच्छा र अपहेलनाको भावले हेर्नुको पछाडि धेरै कारणहरू छन् । साहित्यकार भएर आफ्ना जीवनमा आइपर्ने विभिन्न अप्ठ्यारा क्षणहरूलाई भौतिकरूपले तह लाउँदै एउटा सुविधा सम्पन्न जीवन बाँच्न नसक्नु नै यसको प्रमुख कारण हुन् । त्यसपछि साहित्यकार स्वयंले झेल्नुपर्ने मानसिक विचलन, आर्थिक अभाव, समाज र राष्ट्रले गरेको असहयोग गुटबन्दी, नातावाद, कृपावाद, आदि हुन् । जसले गर्दा साहित्यकारहरू सम्मानित जीवन बाँच्न सकिरहेका हुँदैनन् । पुरुषको वाहुल्य रहेको हाम्रो समाजमा पुरुषसाहित्यकारको यो हविगत छ भने नारी साहित्यकारको स्थिति कस्तो होला - यो अत्यन्त सोचनीय कुरा छ । काठमाडौँको सुविधासम्पन्न र अनुकूल वातावरण भएको, हजारौ शिक्षित नारी भएको ठाउँमा त नाम चलेका नारी साहित्यकारहरूको नाम औँलामा भाच्दा पनि नपुग्ने अवस्था छ भने मोफसलको के हालत होला - जहाँ प्रत्येक पाइला नारीले सङ्र्घर्षका साथ अघि बढ्नुपर्छ । जहाँ बाँच्नको लागि कति सङ्र्घर्ष गर्नुपर्छ भन्ने कुरा उपन्यासकार पद्मावती को उपन्यास 'समानान्तर आकाश'मा पनि देखाइएको छ । जहाँ चेतनाको अभाव छ, भौतिक असुविधा छ , आर्थिक अभाव, प्रतिकुल वातावरण छ । यो अवास्थामा काठमाण्डौ बाहिरको नाम चलेका नारी साहित्यकारको नाम शीला खोज्दाझैँ खोजे पनि भेटिन गाह्रो हुन्छ । यस्तो अवास्थामा सम्पूर्ण नारीहरुले साहित्यमार्फत आफ्नो आस्तित्व कायम राख्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण आदरणीय पद्मावतीदिदीले दिनुभएको छ । लामो समयदेखि साहित्यसेवामा अनवरतरूप रही गुञ्जन साहित्यिक समूहको अध्यक्षको हैसियतले साहित्यिकसेवामा लाग्नु भएको पद्मावतीदिदीको सफलतालाई हामीले हृदयदेखि नै प्रशंसा गर्नुपर्छ ।
प्रत्येक वर्षसाझाबाट प्रकाशित पुस्तकमध्ये एउटा उत्कृष्ट पुस्तकलाई दिइने यो पुरस्कारको राशी एकाउन्न हजार रहेको छ । यो पुरस्कारको राशी गत वर्षेखि बढाइएको हो । हुन त साझाबाट प्रकाशित अन्य पुस्तक पनि कम स्तरका थिएनन् । जसलाई हामी अनुमान लगाउन सक्छौ । वास्तवमा पुरस्कारको घोषणा गर्न निकै गाह्रो परेको हुन सक्छ । तर आधा आकाश ओगटेको नारीहरूको दयनीयस्थितिको उजगार हुनुपर्दछ , नारीवादी धारणाले नारी स्वयंले आफैलाई सक्षम पार्न सक्नुपर्दछ यो आजको नारा हो । पुरस्कार प्राप्त भएपछि मात्र सबैको आँखा त्यो पुस्तकमाथि पर्नु हाम्रो समाजको परम्परागत रोग छ । वास्तवमा हाम्रो देशमा पाठकले पुस्तक पढ्नलाई कि त पुस्तकले पुरस्कार प्राप्त गर्नुपर्छ कि त बढी विज्ञापन भएको हुनुपर्दछ कि त समसामायिक विषयवस्तुले पाठकको मन छुनुपर्दछ । यो कुराको पुष्टि अधिक ब्रिक्री भएका पुस्तकहरूले देखाएका छन् । हुन त म पनि पद्मावतीदिदीको उपन्यास धेरैअघि पढ्न चाहान्थेँ । तर मेरो बाध्यता र विवशताले पढ्न सकेकी थिइन् । जब पुरस्कारको घोषणा भयो म धरानको साझाको बिक्रीकक्ष गईकन पुस्तक किनेर ल्याई अद्योपान्त पढी सिध्याएँ । यो कुराको तीतो अनुभव म स्वयंले पनि भोगेकी छु । पद्मावतीदिदीको उपन्यासले साझा पुरस्कार पाए जस्तै मैले पनि मेरो पहिलो प्रकाशित बालउपन्यास 'सानी'ले साझा बालसाहित्य पुरस्कार प्राप्त गरेको थियो । पुरस्कार धोषणा भएपछि मेरी आफ्नै बहिनीले 'पुरस्कार पाएपछि मात्र दिदीको पुस्तक पढे' भनेर तीतो यथार्थ पोखेकी थिई । हाम्रो समाजमा साहित्यलाई हेर्ने दृष्टिकोण कस्तो रहेछ भन्ने कुराको पुष्टि यो अभिव्यक्तिले गर्दछ । पुरस्कार घोषणा भएपछि मजस्तै धेरै नारी साहित्यसाधक र पाठकहरूले यो पुस्तक खोजीखोजी किनेर पढ्ने छन् भन्ने कुरामा दुइ मत हुन सक्दैन ।
समालोचक सुधा त्रिपाठीको विवेचनात्मक अभिव्यक्ति भएको यो उपन्यास पूर्णरूपले नारीवादी उपन्यास हो । सुधा त्रिपाठीको शब्दमा 'मानिसजम्मा दुर्इ जात छन् - महिला र पुरुष । सामाजिक संरचनाले यी दुर्इ जातका भागमा दुर्इ छुट्टाछुट्टै कुरा पस्किएको छ । महिलाको भागमा रित्तो परेको छ भने पुरुषको भागमा पूर्णता । महिलाको आफ्नो भन्नु न त आकाश नै छ न त धर्ती नै । पुरुष एक्लै सिङ्गो आकाश ओढेर सिङ्गो धर्तीमाथि डङ्ग्रङ्ङ पल्टिएको छ । बिनाआकाशकी महिला अन्तरिक्षमा र्तुलुङ्ङ झुन्डिएकी छ । आकाश र धर्ती माथिको यो एकाधिकार समाप्त नभएसम्म जीवन कसैको पनि सुखी हन सक्दैन भन्ने कुरा बुझ्दै आएकी छ । यसैले आजका महिला यी दुर्इ कुरामाथि को अधिकार खोजिरहेको छ अन्तरिक्षमा झुण्डिएर भए उसले आकाश भनेर आकाशलाई पुरै ढाकेर बसेको बादललाई बुझेकी छ र त्यो बादल हो पितृसत्ता । उसले धर्ती भनेर धर्तीलाई पुरै ढाकेर बसेको तुवा“लो लाई बुझेकी छ र त्यो तुवाँलो हो पितृसत्ता । समालोचक सुधा त्रिपाठी को शब्दमा कति गहनता छ । अनि त्यो गहनतालाई जन्माएको छ पद्मावतीदिदीको उपन्यास- समानान्तर आकाशले । वास्तवमा नै नेपाली समाजमा नारीको स्थिति कस्तो छ भन्ने कुरा देखाइएको छ यस उपन्यासमा । पितृसत्तात्मक समाजमा हुर्केको अविनाश सुस्मितालाई भोग्या र विलासिताको रूपमा प्रयोग गर्नु नै उपन्यासमा उद्घाटन भएका विषयवस्तु हुन् । नारीलाई मानिसको दर्जा राख्न नचाहने र देख्न नचाहने धेरै पात्रहरू उदाएका छन् । ती पात्रहरूलाई नारी स्वयं स्वाभीमानी र स्वावलम्बी भई उनीहरूका विचारलाई धोईपखाली गरिएका छन- यस उपन्यासमा ।  

वर्षौदेखि हाम्रो समाज पुरुषको हैकमवादी संस्कारमा हुर्कदै आएको छ । नारी पुरुष समान भनिएता पनि घरभित्रदेखि नारीपुरुषबीच असमानता खाडल सुरु हुन्छ । आधा आकाश ओगटेको नारी शिक्षित भए मात्र समाज र राष्ट्र विकसित हुन्छ भन्ने कुरा कागतमामात्र सीमित देखिन्छ । नारीले आफ्नो विद्रोहको आवाज उर्ठाई भनी सामान्तीसोच भएका पुरुषहरू कसरी पूर्वाग्रही भएर नारी खेदो गर्छन भन्ने कुराको राम्रो चित्रण गरिएको छ यस उपन्यास । पूर्णरूपले नारीवादी धारणा व्यक्त गरिएको यस उपन्यासमा नारीपुरुष सनातनदेखि नै एकअर्काका लागि अपरिहार्य हुन भन्ने कुरा पनि देखाइएको छ । सुस्मिता र प्रभातबीचको सम्बन्धले यस कुरालाई साकार पारेको छ । वास्तवमा नारी एक्लै केही गर्न सक्दिन , उसलाई पुरुषको प्रेम, भावना र्समर्पणको आवश्यकता पर्दछ भन्ने कुरा पनि देखाइएको छ । अहिले युवापुस्ताहरूको विचार, चालचलन, चाहना आदिको राम्रो चित्रण गरिएको पाइन्छ यस उपन्यासमा ।
अन्तिममा भन्नुपर्दा एक्काइसौ शताब्दीमा गुज्रिरहेको समयमा हाम्रो समाजमा पनि नयाँ चेतना र धारहरूको लहर बग्न थालेका छन् । यस्तै एउटा बलियो लहर ल्याएर नारीलाई समाजमा आफ्नो मुल्य र मान्यताको प्रतिबिम्व देखाउन सफल भएको छ यो उपन्यास । उपन्यासकार पद्मावती दिदीलाई म मजस्तै धेरै कनिष्ट नारी साहित्यकारहरू हार्दिक बधाई दिन चाहन्छौँ। 

1 comments:

बिमल गिरी said...

जीबनको बिभिन्न प्रकारका चित्रहरु उपन्यासमा कोर्नुहुने "समानान्तर आकाश"की लेखिकाको अमुल्य कृतिहरु को बारेमा भन्नुपर्दा नारीमा हुनुपर्ने कोमलता, प्रेमले चुली भएको हृदय,त्यागका कुराहरु र समानताका कुराहरुका बर्णन गरिएकाछन। महिला ससक्तिकरण र तिनिहरुको जीबनको समस्यालाई उपन्यासले जुरुक्कै बोकेकोछ र कथा बस्तुको प्रस्तुती बेजोदका छन। "समानन्तर आकाश"लाई कथाकार शर्मिला खड्काले ज्यादै राम्रो तरिकाले निफन्नु भएकोछ। उहाको यो सुन्दर चित्रण बडो जीबित र सरलछ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।