April 3, 2010

हाम्रो दायित्व

पात्रहरू :-
प्रिन्सिपल-एकजना
शिक्षक-पाँचजना
शिक्षिका-दुइजना
विद्यार्थीहरू-१०, १२ जना
अभिभावक-बुबा र आमा
राकेश-विद्यार्थी केटो

दृश्य-१

(कक्षा कोठामा शिक्षकले पढाउँदै गरेको)

पहिलो शिक्षक – (कालोपाटीमा हिसाब गराउँदै विद्यार्थीपट्टी हेर्छ ) राकेश, तिमी त्यहाँ के गरिरहेछौ - हँ .. तिमीलाई म अघिदेखि विचार गरिरहेछु ।
एकजना विद्यार्थी - सर हेर्नोस् न, मलाई राकेश अघिदेखि चिमोटेर के-के भनिरहन्छ ।
शिक्षक - राकेश, तिमी यहां आऊ ।(राकेश अगाडि आउँछ) ल तिमी यहाँ उभिइराख ।
(शिक्षक फेरि पढाउन थाल्छ । राकेश शिक्षकलाई पछाडिबाट जिस्क्याउन थाल्छ । कक्षामा विद्यार्थीहरू सबै हाँस्न थाल्छन् ।)तिमीहरू किन हाँसेका हँ- (अलिक रिसाउँछ ) तिमीहरू यस्तै व्यवहार गर्र्छौ भने म पढाउन सक्दिनँ ।
(शिक्षक कक्षाकोठाबाट निस्केर बाहिर जान्छ । )
(अर्को शिक्षकको प्रवेश हुन्छ ।)

विद्यार्थीहरू - गुड मर्निङ सर ।
दोस्रो शिक्षक - गुड मर्निङ , आज म तिमीहरूलाई अनुशासनको विषयमा पढाउँछु । तिमीहरूको कक्षा कोठामा अनुशासनको अति आवश्यक छ भन्ने कुरा हामी सबैले महसुस गरिरहेका छौँ । राकेश, तिमी किन ध्यान दिइरहेका छैनौ -
राकेश - अनुशासन भनेको मलाई राम्रै थाहा छ ।
दोस्रो शिक्षक - तिमीलाई नै सिकाउनु छ अनुशासन भनेको के हो भनेर, राकेश तिमीले कक्षामा धेरै डिर्स्र्टब गरिरहेका छौ भन्ने कुरा धेरै सरहरूले भनिरहनुभएको छ ।
राकेश - मैले मात्र डिर्स्र्टब गरेको छैन, यो सरासर गलत हो । र अरूले गरेको गल्ती पनि मैले नै गरेको देख्नुहुन्छ तपाईँहरू ।
दोस्रो शिक्षक - सबै दोषीहरू यसरी नै आफूलाई जोगाउँछन् तिमी पनि त्यसै गर्दै छौ ।
राकेश - सबैजना मलाई नै गल्ती देख्छन् । मलाई यो स्कुल पढ्न नै मन लाग्दैन ।
दोस्रो शिक्षक - स्कुल नै पढ्न मन छैन भने नपढ तर अहिले गएर बाहिर बस । मेरो कक्षामा पनि तिमीलाई पढ्न मन छैन होला, हैन -
(राकेश बाहिर जान्छ र ढोकाको छेउमा उभिन्छ )

दोस्रो शिक्षक - ल, सुन, अनुशासन भनेको आफूले आफैँलाई बाध्नु वा शासनमा राख्नु हो ।(राकेश बाहिरबाट कागजको टुक्राले साथीहरूलाई हिर्काउँछ । शिक्षकले देख्छ अनि ढोका लगाएर पढाउन थाल्छ ।)
म के भन्दै थिएँ भने अनुशासन भनेको शासनमा बस्नु हो । हामी घर, विद्यालय बाटो आदि सबै ठाउँमा अनुशासनले बाधिएका हुन्छौँ । विद्यालयमा पढ्न आउँदा विद्यालयको नियमले बाधिएका हुन्छौं । यसरी शिक्षकले पढाइरहेको बेला कहिले पनि डिर्स्र्टब गर्न हुँदैन । आफूभन्दा माथिकालाई जहिले पनि आदर, सम्मान गर्नुपर्छ । आफूभन्दा सानालाई माया गर्नुपर्छ । बाटामा हिंड्दा पनि हामीहरू ट्राफिक नियमले बाँधिएका हुन्छौँ । यदि हामी जता पायो त्यतै हिँड्यौं भने हामी दुर्घटनामा पर्न सक्छौँ । त्यसैले हामीले आफूले आफैंलाई नियमअनुसार हिँडाउन सक्छौँ भने धेरै कुराले फाइदा पाउन सक्छौँ । हामीले जीवनमा कहिले पनि विचलित हुनुपर्दैन हामी ठूला मान्छे हुन सक्छौँ । (घण्टी बज्छ)
ल, आजलाई यति नै ।
(शिक्षक बाहिर निस्कन्छ । राकेश भित्र पस्छ । शिक्षकलाई पछाडिबाट जिस्काउँछ । सबै विद्यार्थीहरू हाँस्छन् ।)

दृश्य नः-२

(विद्यालयको कार्यालयको कोठा, प्रधानाध्यापक, चार-पाँचजना शिक्षक, दुर्इजना शिक्षिका बसेका छन् )
पहिलो शिक्षक - सर, राकेशले हामीलाई धेरै दुःख दिन थाल्यो । पढाउन पनि राम्ररी पाइँदैन । उसले गर्दा अरू विद्यार्थीहरूले पनि केही सिक्न पाउ“दैनन् । आज मैले आधा कक्षा पढाउ“दा पढाउ“दै छोड्नुपर्यो ।
दोस्रो शिक्षक - हो सर, राकेशको व्यवहार एकदमै बिग्रदै गएको छ । के गर्ने, आज त उसले यो स्कुल नै पढ्दिनँ भन्दै थियो । उसलाई के भइरहेछ हामीले थाहा पाउन नै सकेका छैनौँ सर ।
शिक्षक - हो सर राकेशको व्यवहार ठीक छैन । उसले होमर्वक पनि कहिले गरेर ल्याउँदैन । उसको अभिभावकलाई बोलाएर सर्म्पर्क गर्नुपर्ला सर ।
प्रधानाध्यापक - हो, तपाईँहरूले भन्नुभएको कुरा ठीक हो, यो कुरा म धरै दिनदेखि विचार गरिरहेको छु । उसको व्यवहार म नियालिरहेको छु । अब हामीले एकपल्ट उसको अभिभावकलाई बोलाएर कुरा गनुपर्छ ।
(त्यसै समयमा राकेशलाई समाएर एक जना शिक्षक अफिस कोठामा आउँछन् ।)

शिक्षक - सर, राकेशले सुमनको खाजा खाने पैसा चोरिदिएछ ।
प्रधानाध्यापक - राकेश, हो - तिमीले सुमनको खाजा खाने पैसा तिमीले चोरेको हो -
राकेश - हो सर ।
प्रधानाध्यापक - किन चोरेको तिमीले अरूको खाजा खाने पैसा - तिमीले ल्याएका थिएनौँ -
राकेश - थिइनँ सर ।
प्रधानाध्यापक - त्यसरी साथीको पैसा चोर्न हुन्छ त - तिमीजस्तो ऊ पनि भोको हुन सक्छ । यस्तो समस्या पर्यो भने हामीसँग आएर भन्न सक्छौ नि । तिमी आजकाल निकै बदमास हुँदै पनि गएका छौ रे । खास कारण के हो - तिमीलाई यो विद्यालयमा पढ्न मन छैन भन्छौ अरे किन - हामीलाई सङ्कोच नमानी भन ।
राकेश - केही पनि छैन
प्रधानाध्यापक - केही पनि छैन भनेर नभन तिम्रो घरमा पनि केही समस्या हुन सक्छ ।
राकेश - सर, मलाई होमवर्क दिएको गर्न आउँदैन । घरमा पनि कसैले सिकाइदिँदैन । अनि होमवर्क गरेको छैन भनेर सधैँ गाली खान्छु । मलाई कसैले राम्रो भन्दैन । घरमा पनि खाजा खाने पैसा कसैले दिँदैन ।
प्रधानाध्यापक - हेर हामीले तिम्रो धेरैजसो कुरा बुझ्यौँ। हामी तिम्रो बा-आमासँग कुरा गर्नेछौँ । तिमीले आइन्दा राम्रो व्यवहार गर्नेछौँ तिमी ज्ञानी र असल भयौ भने हामी तिमीलाई पुरस्कार पनि दिनेछौँ । हामी तिमीहरूको साथी पनि छौँ । तिमीले सरहरूसँग डराउने धकाउने कहिल्यै नगर्नू । तिमी ज्ञानी भयौ भने ठूली मान्छे हुन सक्छौ । कुरा बुझयौ हैन - ल अहिले जान सक्छौ ।
(राकेश जान्छ )
हामीले राकेशको समस्या बुझिहाल्यौँ । अब हामीले उसको बुबाआमालाई बोलाएर नै कुरा गर्दा बेस हुन्छ ।
अरू शिक्षकहरू - हो त्यसै गर्नुपर्छ सर ∕

दृश्य नं ः ३

(प्रधानाध्यापकको कोठा, प्रधानाध्यापक, राकेशका आमा-बा अनि उसको कक्षाको शिक्षक)
प्रधानाध्यापक ः हेर्नोस्, हामी तपाईँको छोराको विषयमा असाध्यै चिन्तित छौँ । स्कुलमा उसको आनीबानी र व्यवहार ठीक छैन । विद्यार्थीको पहिलो पाठशाला भनेको घर हो । उसको धेरै समय तपाईँहरूसँग बित्छ । तपाईँहरूले उसलाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ । तपाईँहरूलाई पनि थाहा होला बच्चाको विषयमा अभिभावकहरूले बारम्बार सर्म्पर्क गरिराखे राम्रो हुन्छ । विद्यालय एक्लैले मात्र बच्चाको भविष्य बनाउँछु भनेर हुँदैन ।
आमा - के गर्नु सर मैले मात्र कति हेर्नु - उसको बुबा बिहान ८ बजेदेखि बिजी हुनुहुन्छ । अनि मेरो पसल छ, फेरि काखमा सानो नानी छ ।
प्रधानाध्यापक - कसरी हेर्नु भनेर हुँदैन, उसलाई खाजाको व्यवस्था गरिदिने काम तपाईँहरूको हो । फेरि उसलाई घरमा होमवर्क गर्न नसक्ने समस्या रहेछ । हामीले बुझ्यौँ । त्यसका लागि तपाईँले घरमा उसलाई पढाइमा सहयोग गर्ने व्यक्ति राखिदिनोस् अनि उसले सजिलै होमवर्क गर्न सक्छ । फेरि खाजाका लागि पनि व्यवस्था गरिदिनुपर्यो ।
आमा - के गर्नु सर खाजा खाने पैसा दियो भने नचाहिने चीज किनेर पैसा खर्च गर्छ । अनि खाजा बनाइदियो भने लिएर जाँदैन । फेरि आफू त सौतेनी आमा परियो सर, जति गरे पनि हुँदैन । यसो गाली गर्यो, अरूले कुरा काट्न थाल्छन् ।
प्रधानाध्यापक - सौतनी आमा भनेर हुँदैन । हाम्रो समाजमा यो सौतेनी भन्ने शब्दलाई साह्रै नराम्रो गरि लिइराखेका छौँ । एउटा सौतेनी आमाले बच्चालाई माया गरेर आमाको माया दिन सक्छ । अनि बच्चा पनि ज्ञानी हुन सक्छ । त्यसका लागि बालमानोवैज्ञानिक पुस्तक सानी’ पढ्नुहोस् र बच्चालाई पनि पढ्न दिनुहोस् । एउटा स्वास्नीमानिसले आफ्नो घर र सन्तानलाई कसरी अगाडि बढाउने भन्ने बारेमा सोच्नुपर्छ ।
आमा - त्यो त ठीकै छ सर, तर उसलाई त सानैदेखि आमा मरेकी भनेर पुल्पुल्याएछन् अनि जे कुरा पनि माग्यो कि दिइहाल्ने गरेछन् घरकाहरूले, अनि अहिले पनि त्यसै गर्छ । उसले माग्नेबित्तिकै चाहिन्छ । नत्रभने घरमा उद्दण्ड मचाउँछ । मैले केही भन्नुहुँदैन, म त हरेस खाइसके, बाबाले भनेको केही मात्रामा मान्छ ।(राकेशको बाबालाई हेर्दै भन्छिन् )
प्रधानाध्यापक ः त्यसो हो भने तपाईँले उसलाई नराम्रो कुरा केही नभन्नोस् । तपाईँले जति सक्दो माया गर्नोस् र त्यस्तै व्यवहार गर्नोस् र फेरि हामी विद्यालयमा उसलाई ज्ञानी र असल साथीको सङ्गत गराउँदछौँ । यो उमेरमा सङ्गतले ठूलो असर पार्दछ । फेरि उसलाई स्कुलमा खाजा खान समस्या भयो भने क्यान्टिनमा महिनावारी पैसा चुक्ता गरेर खाजा खान दिन सकिन्छ । अनि उसलाई होमवर्क गराउने मान्छे राखिदिनुभयो भने तपाईंको छोरो राम्रो हुनसक्छ ।
बुबा - सर हामीले हाम्रो छोराको विषयमा चिन्ता लिएर सरसँग आएर सर्म्पर्क गर्नु पर्नेमा सरले आफैँले हामीलाई बोलाएर हाम्रो छोराको भविष्यका लागि हाम्रो आँखा खोलिदिनुभयो । म त यसको आमाले नै राम्रो व्यवहार गर्दिन रहिछ भनेर सोच्दथे । अनि हामी दुर्इको झगडा पनि पथ्र्यो । तर होइन रहेछ । मैले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने रहेछ । सरलाई धेरै धन्यवाद सर ।(हात जोडेर नमस्कार गर्छ ।)
प्रधानाध्यापक - तपाईँहरूले यत्तिका धेरै पैसा खर्च गरेर छोरो पढाइराख्नुभएको छ । त्यसको बदला हामीले पनि त विद्यार्थीको भविष्यका लागि केही गर्नुपर्यो नि ∕ तर यो कुरा हामीबाट मात्र सम्भव छैन र तपाईँहरूबाट मात्र पनि सम्भव छैन । त्यसैले हामी सबैले आ-आफ्नो ठाउँमा इमान्दारीका साथ दायित्व पूरा गर्नुपर्छ । त्यसका लागि तपाईँहरूले बारम्बार विद्यालयमा आई सर्म्पर्क राख्नुपर्ने हुन्छ । आफ्नो बच्चाको विषयमा बुझेनुपर्ने हुन्छ ।
बुबा ः हवस् त सर हामीहरूले तपाईँले भन्नुभएको कुरा राम्ररी बुझयौँ । अब तपाईँले भन्नुभएजस्तै गर्नेछौँ ।
(दुवैजना नमस्कार गरेर बाहिर निस्कन्छन् ।)

-(केही दिनपछि ब्यानर लेखेको केटो स्टेजमा घुमेर जान्छ )

दृश्य न. तीन

(कक्षाकोठामा शिक्षक पढाइरहेको )
शिक्षक - ल भन, सीताका बुबाको नाम के हो - प्रज्ववल
प्रज्ववल- सर सीतालाई नै सोधे भइहाल्यो नि
(सबैजना गल्लल हास्छन् )
शिक्षक - मैले त सती नारी सीताको कुरा गरेको तिमीहरूको साथी सीताको कुरा गरेको होइन ।
राकेश - म भन्छु सर, जनक हो ।
शिक्षक - स्याबास् राकेश तिमी आजकल पढाइमा राम्रो हुँदै गएका छौ । अनि धेरै ज्ञानी पनि भएका छौ ।
राकेश - हो सर, घरमा पनि मलाई मम्मीबाबाले माया गर्नुहुन्छ अनि बाबाले नजानेका कुरा सिकाइदिनुहुन्छ ।
शिक्षक - हो, यसरी तिमी ज्ञानी र राम्रो हुँदै गयौ भने तिमीलाई सबैले माया गर्नुहुन्छ । तिमीलाई मनपर्ने कुरा के हो भन त ।
राकेश - मलाई मन पर्ने चित्रकला हो सर मैले चित्रकलामा पुरस्कारहरू पनि पाएको छु । अनि मम्मीले पनि चित्र बनाउने सबै सामान झर्को नमानी किनिदिनुहुन्छ ।
सर - ल ठीक छ, चित्रसँगसँगै पढाइ पनि राम्रो बनाउँदै लग्यौ भने तिमीले अझ धेरै पुरस्कार पाउन सक्छौ ।
(घण्टी बज्छ, सर बाहिर जान्छन्)

दृश्य नं ः ४

(अफिसकोठा, प्रधानाध्यापक, अरू शिक्षक र शिक्षिकाहरू )
पहिलो शिक्षक - सर, आजकाल राकेश राम्रो भएर सुध्रदै गएको छ । हामीले फेरि उसलाई राम्रो विद्यार्थीको सङ्गतमा छोडेका छौँ।
दोस्रो शिक्षक - हो सर, उसको व्यवहारमा पनि राम्रो परिवर्तन भएको छ । उसको पढाइ पनि राम्रो भएको छ । यस्तै हो भने ऊ स्कुलको हेडब्वाइ पनि हुन सक्छ ।
प्रधानाध्यापक - हो , यो सब तपाईँहरूको सफलता पनि हो । एउटा ब्रि्रेको विद्यार्थीलाई सही बाटोमा ल्याउनु हाम्रो दायित्व पनि हो । यी बालबालिका भनेका भोलिका देशका कर्णधार हुन् । यिनै बच्चाहरू भोलि नेता, डाक्टर, प्रधानाध्यापक, प्रोफेसर जे पनि हुन सक्छन् । त्यसैले हामीले यिनीहरूलाई सही बाटो देखाउनुपर्छ । अनि समाज र देशको विकासका लागि एउटा असल नागरिक तयार पार्नुपर्छ ।

दृश्य नं ः ५

-कक्षाकोठामा दुइ शिक्षक, प्रधानाध्यापक र शिक्षिकाको प्रवेश हुन्छ ।)
विद्यार्थीहरू - गुड मर्निङ सर
प्रधानाध्यापक ः गुड मर्निङ ∕ नानी हो ∕ आज तिमीहरूलाई म एउटा खुसीको कुरा सुनाउँछु । त्यो के हो भने तिमीहरूमध्येको साथी राकेश असल र ज्ञानी भएको हुनाले पुरस्कार पाउँदै छ । उसले अनुशासित विद्यार्थी बनेर पुरस्कार पाउँदै छ ।
(शिक्षक र शिक्षिका थपडी मार्छन्, अनि सबैले थपडी मार्छन् )
राकेश तिमी यहाँ आऊ
(राकेश अगाडि आउँछ )
(प्रधानाध्यापक राकेशलाई एउटा पुरस्कार दिन्छ । राकेश खुसी हुन्छ ।) हो यसरी प्रगति गर्दै गयो भने, पछि अझ ठूलो पुरस्कार पाउनेछौँ ।
(सबैजना थपडी मार्छन् )
पर्दा बन्द हुन्छ ।

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।