मेरो भाग्य मसँग किन यति धेरै इष्र्या गर्छ ? मलाई थाहा छैन । जब मेरा पोल्टामा खुसीहरू बर्सन थाल्छन् तब ती आफ से आफ असिना बिलाएझैँ बिलाउन थाल्छन् । हो, साँच्चै सुप्रिया मेरो भाग्यमा खुसीको वर्षा भएर आएकी थिई । हेर्दाहेर्दै ती खुसी बिलाउँदै, पग्लदै जान थाले हिमालमा हिउँ पग्लेझै । मैले ती खुसीहरू कति समेट्न खोजे , अहँ पटक्क सकिनँ । कसरी भयो यो सब, किन भयो, म भन्न सक्दिनँ । मेरो भाग्यले मेरो मातृत्व सुखलाई शैशवकालमा नै अपहरण गरेर लग्यो अहिले सम्म मैले फिरौति बुझाउन सकिको छुइनँ । आमा विनाको टुहुरो केटो भएर यो अवस्थामा आइ पुगेको हुँ । हण्डर, सङ्घर्ष र अभाव मसँग खेल्ने मेरा दौतरी भए । यिनै साथीहरूको साथ र गाथमा हुर्कदै जाँदा मैले जीवनमा सफलता पाउँदै गएँ । त्यसपछि सुप्रिया जो मेरी प्रशंसक, प्रेमिका र अन्त्यमा श्रीमती भई, हजारौं खुसीका बसन्त बोकेर आएकी थिई । अनगिन्ती खुसीका फूलहरू मेरा जीवनमा फुलेका थिए । लाग्थ्यो यो कतै सपना हो कि ? जीवनमा यति धेरै खुसीहरू बोनसको रूपमा पाइन्छ भन्ने मैले कहिले कल्पना पनि गरेको थिइनँ । सायद मेरो संसार भनेको सुप्रिया नै थिई । उसको मायामा पौडदा असीम आनन्दको आभाष हुन्थ्यो मलाई । उसका नरम हातले कपाल सुमसुमाउँदै मिठामिठा गफमा तल्लिन हुन पाउँदा स्वर्गको सानो टुक्रा आँखाअगाडि खसेझैँ लाग्दथ्यो । आंत्मीय प्रेमको अभावमा तडपेको यो आत्मा सुप्रियाको निश्छल मायाको छहारी पाउँदा जीवनले संजिवनी प्राप्त गरेझैँ लाग्दथ्यो । विवाह गरेको केही समय हामी आफू आफूभित्र हराएका थियौं । लाग्थ्यो यो संसारमा हामी दुईको बाहेक अरू कसैको उपस्थिति छैन । दिनभरी अफिस टाइम अवधिभर छुटिनु पर्दा पनि एक वर्ष बिताएझैँ लाग्दथ्यो । प्रोग्राम रेकडिङ्गको रिहर्सल गर्दा म पांचौ पटक फोन गरिसकेको हुन्थे । रेकडिङ्ग गर्ने अरू साथीहरू झर्को मान्दै मुखामुख गरेर हाँस्न थालेपछि लाजले म फोन गर्न छाड्थे । के सम्मोहन शक्ति थियो सुप्रियामा ? के जादु थियो उनको समीप्यतामा ? म भन्न सक्दिनथेँ ।
एक दिन अचानक मेरो हातमा एउटा अपरिचित चिठी आएको थियो ।
सुमनजी नमस्कार
मलाई यसरी पत्र पठाउनु पर्दा अप्ठेरो महसुस भइरहेछ । तर मेरो मजबुरी बुझिदिनु होला । म तपाईँको लोकप्रिय कार्यक्रम मनको झङ्कारकी प्रिय स्रोता हुँ । मलाई तपाईँको कार्यक्रम अत्यन्त राम्रो लाग्छ । अझ त्यसमा तपाईको भ्वाइस सुट भएकोले सुनी रहूझैँ लाग्छ । मैले तपाईको स्रोतासंगको प्रतिक्रियामा बोलेकी छु । तपाईँको स्वर सुन्दा सुरुमा त म निकै नर्भस भएकी थिएँ । एक दुई पटक बोल्दै जाँदा बानी पर्न थाल्यो । तपाईँ अरूको मनको कुरा कति सजिलै बुझन सक्नुहुन्छ । तपाईँको यो खुबी मलाई निकै मनपर्छ । तपाईँको कार्यक्रम हप्तामा एक पटक आउँछ । त्यो एक हप्ता बिताउन मलाई कैयौ दिन कुर्न, परेझैँ लाग्छ । तपाईँका प्रेमका कविता, गजलले कार्यक्रमलाई यति रोचक बनाएको छ कि हामी टिनएजर्सहरू तपाईँका क्रेजी फ्यान भएका छौ । कलेजमा पनि तपाईको कार्यक्रमको निकै चर्चा हुन्छ । किन हो अरूले तपाईको प्रशंसा गरेको मलाई पटक्कै मन पर्दैन । म जति क्रेजी फ्यान अरू छैन होला जस्तो लाग्छ । हुन त हुन पनि सक्छन् । किनभने तपाईँको स्वरमा मोहनी छ जसले धेरै गल्र्सहरूलाई मोहित पार्न सक्छ । कृष्णको बाँसुरीको धुन जस्तै तपाईको बोलीको सम्मोहनले हामी तानिएका छौ । मलाई अन्यथा नसम्झनु होला । यो पत्र मैले बाध्यातावंश मेरो दिलको आवाजलाई शब्दमा पोखेकी हुँ । के तपाई मसँग फ्रेण्डसीप राख्न चाहनुहुन्छ ? आज फ्रेण्डसीप डे हो । म तपाईँको इमेलको प्रतिक्षामा हुनेछु । यदि तपाई मलाई रिप्लाइ दिन चाहनु हुन्छ भने तलको मेरो इमेलमा गर्न सक्नु हुन्छ । यदि चाहनु हुन्न भने कुनै रेस्पोन्स नगर्नु भए पनि हुन्छ ।
फ्रेण्डसीप डे को दिन अचानक आएको यो पत्रले म झस्केको थिएँ । हुन त एफएम अफिसमा यस्ता केही प्रशंसकहरूको पत्र आउने गर्दथे । तर उसको पत्रमा पत्रसँगै आएको उसको फोटोले मलाई निकै आकर्षित गरेको थियो । यो पत्र उही मैले अघि भनेको सुप्रिया भन्ने केटीको थियो । फोटो हेर्दा लाग्दथ्यो, उसको आँखाले केही बोलिरहेको छ । मलाई प्रेमको भिख मागिरहेकी छे । उसका अहिले बोलुलाझैँ गर्ने आँखामा हेर्दाहेर्दै मभित्र ठूलो विश्वास पलाएर आयो । उसका आखाले प्रेमको याचना गरेको पाए । स्टुडियोबाट घर फर्केर खाना बनाइवरी खाएर खाटमा सुत्ने बेलामा टेबलमा राखेको सुप्रियाको फोटोले बोलाएझैँ लाग्यो मलाई । उठेर फोटो हेरेँ ।
फोटोबाट सुप्रियाका अन्र्तमनका भावनाहरू मेरा आँखामा संम्प्रेषित हुँदै थिए –
सुमन तिमीले यति धेरै प्रतिभा कसरी पायौ ? यति धेरै प्रेमको बिउ मेरो हृदयमा छर्न कसरी सफल भयौ ? हुन त मेरो रूपलाई हेरेर लट्ठ पर्ने लाठेहरूको कुनै कमी छैन । बाटोमा हिंड्दा जिस्काउने , सिटी मार्ने, पछाडिबाट कोट्याउने लबस्तराहरूको कुनै कमी छैन । लुकी लुकी प्रेमपत्र पठाउनेको कुनै रेकर्ड छैन । तर मैले कहिले नदेखेको, नभेटेको व्यक्तिसंग मुटु साट्न गइरहेको छु । तिमी को हौ ? तिमी कस्ता छौ ? तिमी कसरी खान्छौ ? मेरो मनमा यिनै कुराले कौतुहलता जगाइरहन्छ । म हरदम यिनै मनका कुरामा डुबिरहन्छु । तिम्रो बारेमा मलाई केही थाहा छैन । तिमी अपाङ्ह पनि हुन सक्छौ । अथवा कुनै कमी कमजोरी पनि हुन सक्छ । तर किन हो मैले तिमीमा आफनो सम्पूर्ण विश्वासलाई विश्राम दिएको छु । तिम्रो कला, प्रतिभामा आफनो प्रेम रोपेकी छु । त्यो मेरो प्रेम भनौँ वा विश्वास भनौँ दिन पर दिन मेरो हृदयमा मौलाउँदै गएको छ । कुनै दिन ठूलो वृक्ष बनेर मलाई किचाउन सक्छ । त्यसैले मैले तिम्रो सहारा लिन खोजिरहेकी छु । जुन वृक्ष तिम्रो अगाडि उभ्याएकी छु ।
सुप्रियाको फोटो धेरै बेर हेरिरहेँ । मैले पनि उसका आँखाहरूमा संवाद गरेँ । “हो, सुप्रिया, मलाई पनि एउटा गहिरो प्रेमको आवश्यकता छ । जहाँ म डुबिरहुँ, कहिले यथार्थको धरातलमा उत्रन नपरोस् । सके त्यो काल्पनिक किन नहोस् । किनभने यथार्थ तीतो पनि हुन सक्छ । तर कल्पना कहिल्यै नमिठो हुँदैन । यो त सुन्दर फूलझैँ शिशिरमा पनि हाँसिरहेको हुन्छ । सौन्दर्यको उपभोक्ता को छैन र ? हो म तिमीलाई त्यही फूलझैँ मेरो जीवनमा फुलिरहेको हेर्न चाहन्छु । यो एक्लो जीवन, यो डेराको एक्लो बसाई अनि दिनभर साथीहरूसँग कार्यक्रमको लागि छलफल । यो मनले के मागेझैँ, कतै केही खोजेझैँ कतै बाटो हराएको यात्रीझैँ भौतारिरहन्छ । यसले कतै स्थीरता खोजेको छ । लाग्छ त्यो स्थीरता यी मृगनयनी आँखाहरूमा छन् । यी आँखाहरू मेरा जीवनका गहिरा ताल हुन् । जसले मेरा उन्मुक्त खुसीहरू आफूभित्र डुबाएर मलाई स्थीर बनाउनेछ ।
मौन संवाद सकिएपछि उसको मुहारको सम्पूर्ण बनावट विश्लेषण गर्न पुगेँ । उसका आँखापछि नाकमा मेरो ध्यान गयो । लामो सलक्क परेको नाकमा सानो फुली थियो । खानेमुख त्यस्तै मिलेको थियो । मोटो ठिक्कको ओठ हेर्दै चुमुचुमुझैँ लाग्दथ्यो । अनि कुमबाट तल लत्रेको कपालले साँच्चै झरी पर्न लागेको बादललाई चुनौति दिए जस्तो लाग्दथ्यो । सम्पूर्ण अनुहारमा अनाकर्षण र भद्दापनको कुनै लेशसम्म थिएन । सायद ईश्वरले बन्दको बेला फुर्सद लिएर बनाएझैँ लाग्दथ्यो । हृदयमा एउटा प्रेमको संगीतमय धुन बज्न थाल्यो । धेरै बेर त्यो फोटो हेरे र त्यो साँझ निन्द्रादेवीको शरण परेको थिएँ ।
मेलबाट फोन हुँदै हाम्रो प्रेम प्रसङ्ग स्वचालित मेसिनझैँ चल्न थाल्यो । भेटघाट र घुमघामले हाम्रो हृदयमा प्रेमको झण्डा गाडिसकेको थियो । सुप्रिया आफूले सोचेजस्तो पुरुष पाएको भनी मेरो प्रशंसा गर्दथी । म भने उसको रूपको पहिले नै प्रशंसक बनिसकेको थिएँ। उसका अरू कुरा सामान्य थिए । हाम्रा प्रणय उत्सवहरू दिनपर दिन मौलाउँदै जान थाल्यो । एकदिन विवाह बन्धनमा गाँसिएर हाम्रो प्रेमिल दिनहरूले औपचारिकता प्राप्त ग¥यो । प्रणय उत्सवलाई सामाजिक मान्यता दिन विवाह बन्धनले लालमोहर लगाइदिएको थियो ।
सुप्रियाले घुम्टो ओढेर मेरो खुट्टामा पत्नीधर्म निर्वाह गर्दै ढोगिदिदा , मैले उनलाई तिम्रो स्थान यहाँ होइन हृदयमा हो भनी छातीमा टाँसेको थिएँ । सुप्रिया पनि जीवनको दह्रो हाँगा भेटिएझै मलाई अँगालेर बेरिएकी थिई । दुई मुटृ एक धडकन बनेका थिए । हामीले साथसाथै बाँच्ने र साथसाथै मर्ने बचन खाएका थियौँ । म शरीर थिए ऊ आत्मा थिई । ऊ हावा थिई म सुगन्ध थिएँ । ऊ घाम थिई म छाया थिएँ । हरेक पल हामी साथसाथै हुन्थ्यौँ । दिन कहिले रात नभई दिए हुन्थ्यो जस्तो लाग्थ्यो फेरि रात कहिले दिन नभई दिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर समय चिप्लदै गएको थियो, रेलको लिगमा रेलगाडी कुदेझैँ ।
सुप्रियाले मसँग विवाह गर्नका लागि परिवारमा सानोतिनो विद्रोह नै गर्नु परेको थियो । सम्पन्न परिवारकी छोरीलाई कुनै पनि बुवाआमाले रित्तो र एक्लो केटोलाई छोरी दिन चाहँदैनन् । भोलि आफ्नी छोरीलाई अभावको सर्पले डस्ला अनि समाजमा दुइचार जनाको अगाडि छोरी जुवाई भन्न लाज होला भन्ने डरको सिर्कनाले सबै बुबाआमालाई लखेटिरहेको हुन्छ । तर सुप्रियाले ठूलो साहस गरी बुवाआमाको यी भावनामा परेड खेल्दै विजयी भएर मसम्म आइपुगेकी थिई । मप्रतिको यो समर्पणले सुप्रियाप्रति मेरो हृदय अझ विशाल बनेको थियो । त्यस विशाल महासागरले सुप्रियाप्रति जति नै माया पोखे पनि नसकिएलाझैँ लाग्दथ्यो तर आज सुप्रिया मसँग छैन । ऊ साँच्चै मेरो जीवनबाट असिना बिलाएझैँ बिलाएकी छे । तर म पुन सुप्रियालाई समेट्न चाहन्छु । खै कसरी हो हाम्रो दुइ बीच अविश्वासले जरो गाडेको म भन्न सक्दिनँ । सायद हामी बीचको सुखमय जीवनमा खलनायकको भूमिका खेल्ने अभाव नै थियो क्यार । सुप्रियालाई विवाह गरे पश्चात मेरो खर्च बढेको थियो तर आम्दानी बढ्न सकेन । अभावहरू जुरमुराएर हामी विरुद्ध नारा जुलुस गर्दथे । त्यसलाई हामीले थुमथुमाएर राख्दथ्यौँ । तर सुप्रियालाई अभावभन्दा ठूलो शत्रु मेरो ग्लेमर्स जीवन लाग्न थाल्यो । मेरा प्रशंसकहरू पहिलाको भन्दा धेरै बढेका थिए थिए । बारम्बार आउने फोन, एसएमएस र मेलहरूले हाम्रो सुखीजीवनमा अविश्वासको घन ठोक्न थाल्यो । हुदाँहुदाँ त्यो यति खतरानाक भयो कि यस कुरालाई सुप्रियाले सामान्य मान्न सकिनँ । ऊ निकै विचलित भई । मैले कैयौँ प्रयास गरे यी सब ग्लैमर्स जीवनमा सबैलाई हुने कुरा हो भनी तर उनी यस्लाई कुनै हालतमा मान्न तयार थिइनन् । उनको अन्तिम इच्छा मैले ग्लैमर्स जीवन त्याग्नु थियो । जो म चाहन्न थिएँ । चाहेर पनि ममा अन्य विकल्प थिएन ।
हामी दुईमा अब अलग रहनुको विकल्प थिएन । उनी माइत गएर बस्न थालिन्, म आफ्नै डेरामा उनको सम्झनामा डोरिएर । तर म धेरै दिन सुप्रियाबाट टाढा रहन सक्दिनँ । मैले विचार गरेको हु । म उनलाई भन्ने छु ‘सुप्रिया तिम्रो लोकप्रिय कार्यक्रम छोडेर म तिमीलाई भेट्न आउँदैछु । म जागिरको अर्को विकल्प खोज्दैछु । तिमीविना यो संसारको कुनै पनि कुरा मलाई प्रिय हुने छैन अनि सायद त्यो बेला तिमीले भन्ने छौ । सुमन तिमी तिम्रो कला, प्रतिभामा सँगै बाँच । म तिम्रो कलाको मिठो धुन बनेर आउँदैछु उही तिम्रो क्रेजी फ्यान ....। ’
1 comments:
दिदी, मज्जाको कथा लाग्यो मलाई यो । मैले तपाईसँग थोरै बहुत संगत गरेको छु तर तपाईले कहिल्यै एफएम सुनेको देखेको थिइन । साहै्र मजाले कथालाई सिँगार्नु भएछ तपाईले । कथा एकदमै यथार्थपर लाग्यो मलाई । झन् तलको वाक्यले घाँटी निमोठ्यो मेरो ।
Post a Comment