November 15, 2010

पूर्णविराम

उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ । तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ । शरीर अस्वस्थ्य छ । शरीरको मात्र विमार भए डाक्टरहरूले निको पार्न सक्थे होलान् । तर मनको विमार निको पार्ने खै कहाँ छ र ठाउँ अनि कुन छ औषिधि - यदि पाउने भए ऊ घिस्रदै जान्थी होला । तर उसलाई थाहा छैन । बरु उसलाई उसको विगतले घिसार्दै पुर्याउँछ आफ्नो गाउँ इलाममा । जनयुद्धले देश जर्जर भएको बेला थियो । बन्दव्यापार केही चल्न सकेको थिएन । युवाहरू माझ छापामार हुनुपर्ने त्रासले दिनरात सताइरहन्थ्यो । भर्खर बिहे भएको थियो उसको प्रदीपसँग । गाउँघरमा माओवादीको जनयुद्धले नयाँनयाँ सन्त्रास फैलाइरहेको हुन्थ्यो । कहिले आक्रमणको हल्ला, कहिले चन्दाको हल्ला, कहिले अपहरणको हल्ला । गाउँघरमा सबैभन्दा बढी युवाहरूलाई बस्न कठीन भएको थियो । उसको सासूससुरालाई आफ्नोभन्दा बढी लाउँलाउँ, खाउँखाउँ भएका भर्खर बिहे भएको छोराबुहारीको पिर थियो । सासूससुराको सल्लाहअनुसार दुवैजना काठमाडौँ आएर व्यवसाय गर्ने सल्लाह भयो । सासूससुराले केही रकम व्यवसाय गर्न दिएपछि दुवैजना काठमाडौ आए - प्रदीप र सिर्जना ।
एकछिनमा मोबाइलको घन्टी बज्छ ।
'हेलो, सिर्जना !'
'हेलो आरती दिदी !'
'तिमीलाई कस्तो छ -'
'ठीक भइसकेको छैन ।'
'हेर न ! आज फेरि एउटा डिमाण्ड छ , तिमी विमारी छौ । संगीता र रोजी पनि पोखरा गएका छन् । तिमी जान सक्छौ कि -'
'हुन्न हुन्न दिदी म जान सक्दिनँ । अरू कसैलाई पठाउनु ।'
यति भनिसकेर उसले मोबाइल अफ गरी ।
उसलाई आरती दिदीदेखि भित्रदखि नै रिस उठेर आयो । यो सब घटनाको प्रेरणास्रोत तिनै थिइन् । तिनीसँग भेट नभएको भए आज उनले यो दिन देख्नुपर्ने थिएन । तर आरतीदिदीप्रतिको आक्रोश ऊ कतै व्यक्त गर्न सक्दिनथी । ऊ कुण्ठित मन लिएर पश्चातापको आगोमा जलिरही । उसको जलन धुवाँधुवाँ भएर स्मृतिको आकाशमा यसरी फैलन थाल्यो ।

पहिलापहिला मोबाइलको घन्टी बज्ने गर्दथ्यो । ऊ उठाउँथी ।
'हेलो सिर्जना !'
'हेलो आरती दिदी !'
'अँ हेर न आज तिमीले होटल र्याडिसनमा जानुपर्ने भएको छ ।'
उसले कतिचोटि भनिसकेकी थिई आरती दिदीलार्इ, अब ऊ यो पेशा गर्दिन भनेर । तर आरती दिदीले पटक्कै मानेकी हैनन् - 'हेर् सिर्जना, मिस्टर यादव र उसका साथीहरूको माग तिमी नै छौ । अरूको नाम लिदा उनीहरू नाक खुम्चाउँछन् । तिम्रो नाम लिने बित्तिकै उनीहरू खुसी हुन्छन् । जाउ न आज एक पल्टलाई ।'
यसो गर्दागर्दै ऊ लाचार भएर यो पेशा छोड्न सकेकी थिइन । यो पेशामा लाग्नाले नै आज उसले यो हविगत भोग्नु परिरहेछ । उसले दुईदिन अगाडि ठूलो दुर्घटना बेर्होनु परेको थियो । त्यसैले उसको मन भारी छ, तन भारी छ । त्यो भारी बिसाउने यत्रो संसारमा उसले कतै ठाउँ भेटेकी छैन । वन डढेको सबै देख्छन् तर मन डढेको कोही देख्दैन भनेको यही रहेछ । हुन त उसको वन नै डढेको भएपनि देख्नेवाला कोही थिएनन् । आफनै लोग्नेले यत्रो नाटक गरेर उसको जीवनको पर्दा नै च्यातिदिएपछि अरु कुरा नै के बाँकी रह्यो र -यो नाटकको पात्र कोको थिए - नाटक कसरी रिहर्सल भयो कहाँ भयो -उसले केही थाहा पाउन सकिन । उसलाई मात्र यो थाहा छ यो नाटकको प्रमुख पात्र उसको लोग्ने हो र यो नाटक वियोगान्त हो ।
गाउँबाट काठमाडौ आएपछि उसको लोग्ने र ऊ भएर जुत्ता पसल खोलेका थिए । नयाँ ठाउँमा बजार भाउ बुझ्न नसक्दा, व्यवसायको अनुभव पनि नबटुलेको उनीहरूलाई पसल चलाउन हम्मेहम्मे भयो । दिन पर दिन पसल घाटामा जान थाल्यो । अब अन्य विकल्प केही थिएन । युवाहरू विदेशिने भाइरल रोगले उसको लोग्नेलाई पनि छोयो । जेनतेन रिन काढेर उसको लोग्ने अरब गयो । अब सिर्जना एक्ली भई । हावा खाँदा पनि पैसा तिर्नुपर्ने काठमाडौँमा सिर्जनालाई बाँच्न धौधौ भयो । त्यसपछि उसले आफूलाई जीवित राख्न डिपार्टमेन्ट स्टोरमा काम गर्न थाली । अब उसको दैनिकी डिपार्टमेन्ट स्टोरमा बित्न थाल्यो ।
एकदिन अचानक डिपार्टमेन्ट स्टोरमा एउटा घटना घट्यो । उसले सामान राम्रोसँग मिलाएर नराखेको भनी साहूले निकै झपार्यो । त्यहीबेला डिपार्टमेन्टमा सामान किन्न आएकी ग्राहक आरती दिदीसँग उसको भेट भएको थियो । आरती दिदीले यो सब देखिरहेकी थिइन् । उनले बोलाएर सोधिन् - 'तिमी अन्त काम गर्र्छौ -' उसले सजिलै भनिदिएकी थिई 'गर्छु भनेर । त्यसपछि आरती दिदीले फोन गर्न उसलाई भिजिटिङ्ग कार्ड छोडिदिएकी थिइन् । यसरी आरती दिदीसँग उसको भेट भएको थियो । आरती दिदीले नै उसलाई खानबस्नका लागि कोठा मिलाइदिएकी थिइन् । ऊ आरती दिदीसँग होटलतिर घुम्न र रमाउन थाली । राम्राराम्रा लुगा, मीठोमीठो खानेकुरामा नशा बस्दै गयो । वास्तवमा जीवन पनि त एउटा नशा नै त हो नि । नशामा लागेको बेला मानिसले केके गर्छ उसैलाई होश हुदैन रहेछ । अहिले ऊ सोच्दैछै, नशामा लागेको बेला कुन बेला उसले यो पेशा अपनाइ उसलाई पत्तै भएन ।
पहिलो दिन आरती दिदीले उसलाई तीन हजार हातमा राखिदिँदै भनेकी थिइन् -
'लौ हेर सिर्जना ! तिमीले डिपार्टमेन्टमा काम गर्दा महिना दिनको तलब एकै पल्टमा । फेरि फाल्टो टिप्स अनि फाइभ स्टार होटलको खाना, खाउ मोज गर ।'
उसले ती नोटहरू हातमा लिएर निकैबेर हेरिरही । हजारका नोट यसरी हातमा नपरेको धेरै भइसकेको थियो उसको । अहिले आरती दिदीको पैसामा नै खाने,बस्ने र घुम्ने गरिरहेकी थिई । उसको लोग्नेले कमाएको पैसा सिधै साहुलाई पठाउथ्यो जहाँबाट उसले ऋण लिएको थियो । उसले कसरी गुजारा गरिरहेकी छे भनेर घरकाले कहिले सोधेनन भने लोग्नेले पनि कुनै चासो नै राखेन । ऊ सोच्दथी माइतकाले त पाले पुण्य मारे पाप भनेर जिम्मा लगाएका उसलाई घरकाले त पक्कै सोध्नुपर्ने हो नि 'सिर्जना काठमाडौँको ठाउँमा के गरी बाँचेकी छौ ?' भनेर । तर प्रश्नको ठेलीबाट उठेको उत्तरको पहाडले आफैलाई किच्ला भन्ने डरले कसैले साधेनन् । त्यो अभाव र गरिबीको पहाड आफैले बोक्ने निर्णय गरी सिर्जनाले । त्यसैले उसले आफूलाई निरीह बनाइ कसैको अगाडि हात फैलाउन पनि चाहिन ।
अहिले उसलाई निकै गारो भइरहेको थियो ती कागतका नोटहरू समाउन । लाग्थ्यो ती कागतका नोट होइन् उसको जीवन तवाह गर्ने बम हुनु पर्छ । त्यसैले ऊ उचाल्न सकिरहेकी छैन । त्यहीबेला उसको कानमा आरती दिदीको उच्चस्वर बम पड्केकोझै गरी पड्किन पुग्यो -'आनाकानी होइन अब यो कोठाको भाडा, खानेव्यवस्था तिमी आफैले मिलाउनुपर्छ । हेर् काठमाडौको ठाउँमा बाँच्न सजिलो छैन ।' ऊ झसङ्ग भएर झस्की । आरती दिदीप्रतिको कृतज्ञताले उसले केही बोल्न सकिनँ । उसले केही बोल्न खोजी तर बोल्नलाई वाक्यहरू घाँटीमा नै अनशन बसेझै लाग्यो उसलाई । ऊ आरती दिदीप्रति यति अनुग्रहित थिई कि उसले आरतीलाई नकरात्मक शब्द बोल्न अघि आफनो धडकन छाम्नु पर्दथ्यो । त्यो वाक्यले कतै चलिरहेको धडकन बन्द हुने हो कि भनेर सयौँ पटक सोच्नु पर्दथ्यो ।

साँच्चै हो काठमाडौँको ठाउँमा बाँच्न सजिलो छैन । पाइलाभन्दा अघि पैसा दौडिसक्छ । पैसा छैन भने शरीर मूर्तिवत् हुन्छ अनि जड भैदिन्छ जीवन । अनि कसरी चलायमान हुन्छ जीवन । साच्चै ती हजारका नोटहरूले उसको जीवन चलायमान बनाउन थाल्यो । चलायमान मात्र होइन नयाँनयाँ स्वाद र रङ्गिन दिनहरूमा दिन उड्न थाले । सुरुसुरुमा उसलाई निकै गारो भयो । मध्यमवर्गीय परिवारमा हुर्केकी ऊ, समाजमा एकप्रकारको सम्मानित जीवन थियो उसको । ऊ आफ्नो इज्जत, सम्मानमा बाचेकी थिई ।
पहिलो दिन एक्कासि परपुरुषको अगाडि नाङ्गिनुपर्दा निकै नर्भस भएकी थिई । तर उसको यो सौभाग्य थियो कि पहिलो ग्राहक बौद्धिकस्तरको निकै परिपक्व व्यक्ति परेको थियो । उसले सिर्जनासँग उसको मनोविज्ञान बुझेर भावानात्मक सम्बन्ध राख्यो । उसले सिर्जनाकोअगाडि आफूलाई अलिकति खोलिदियो जसले गर्दा सिर्जनाबाट विश्वास र सहनुभूति पाउन उसलाई गारो भएन । सिर्जनालाई उसले आफूप्रति आर्कषित गरको थियो । ऊ स्वास्नी विदेश गएकी गैर सरकारी सस्थामा काम गर्ने अर्धवैशे पुरुष थियो । उसले सिर्जनामा आफ्नो छाप यसरी छोडेको थियो घर फर्केपछि पनि सिर्जना उसैको कुरा सम्झिरहेकी थिई । पहिलो भेटमा उसले सिर्जनालाई कुनै फिजिकल टच गरेको थिएन, मात्र आफ्ना बारेमा केही कुरा सुनाएको थियो र प्रशस्त जोक्सहरू सुनाएको थियो । पहिलो दिन डर उसको तिनै जोक्सहरूमा हाँसो सँगसँगै उडेको थियो । त्यसपछि सिर्जना आफै ऊप्रति तानिदै गई । उसलाई भेटेर आएको पहिलो दिन उसलाई सहीनसक्नु भएको थियो । भित्र कतै आगो बलेजस्तो ऊ रातभर सुत्न सकेकी थिइन । उसले आगो कम गर्न उत्तेजित भिडियोका रिमिक्स गीतहरू हेरेर रात बिताएकी थिई । लोग्नेले छोडेर गएको डेढ वर्षमा कतिपय रातहरू उसले यसरी नै बिताएकी थिई ।
भोलिपल्ट उही पुरुषले बोलाओस् भन्ने उसले चाहेकी थिई । नभन्दै उसले नै सिर्जनालाई नै फोन गर्यो । सिर्जनाको शरीरभरि अतृप्त यौनले विष फैलाइसकेको थियो । अब उसले आफूलाई तृप्तिको अग्नीमा आफूलाई हामिदिने विचार गरी । यही सोच बनाएर ऊ अधवैशेलाई भेट्न होटलमा गई । ऊ आफू पनि केही पढे लेखेको भएर होला ग्राहकसँग डिल गर्ने तरिका सिक्दै थिई । उक्त अधवैशेलाई स्त्रीहरूलाई रिझाउने कला निकै आउँदथ्यो । शायद ऊ यो कुरामा पोख्त थियो । त्यसैले पनि पहिलो भेटमा नै उसले सिर्जनाको खुट्टादेखि लिएर शिरसम्म प्रशसाको बाढीले पुरेको थियो । आज पनि उसले पहिलो भेटमा नै सिर्जनाको सकुन्जेल र भ्याएसम्म प्रशंसा गयो । सिर्जना रोमाञ्चकताको बायुयानमा उडान भरिरहेकी थिई । उसका अङ्गहरू सिरिङ्गसिरिङ्ग गर्दै थिए । यस्तो अनुभूति उसले आफ्नो लोग्नेबाट पनि पाएकी थिइन् । उ आफ्नो अतृप्त यौनआकाक्षा उही अधवैशबाट तृप्त पार्न चाहन्थी । ऊ आफ्नो शरीर सुम्पन आतुर थिई । कुनबेला उक्त पुरुषले आफूलाई यौनका लागि आमन्त्रण गर्ला भनेर प्रतिक्षामा अधीर थिई । कुन बेला आफ्ना शक्तिकुण्डलाई उसका अग्निजस्ता ब्रम्हस्त्र प्रहारगरी शान्त पर्ला भन्ने आकाङ्क्षामा थिई । केही छिनको वार्तालापपछि उक्त पुरषले उसका मुलायम हातहरू समाएर मुर्सान थाल्यो । यसो गर्दा उसको शरीरमा हजारौ भोल्टको विधुत उर्जा उत्पन्न भएझैँ लाग्यो । त्यसपछि उसले आफूलाई थाम्न सकिन । स्वयम नै अधवैशको गलामा कस्सिएर बेरिइसकेकी थिई । अधवैशेलाई के चाहियो र ऊ त यही समयको प्रतिक्षामा थियो । उसका औलाहरू सिर्जनाका प्रत्येक अङ्गअङ्गमा सल्बलाउन थाल्यो । ठूलो बाढी थामेर बसेको बाँध अहिले भत्केको थियो । केही समयको अस्तव्यस्ततापछि सिर्जनाले ठूलो तृप्ति पाएको महसुस गरी । यसरी उसलाई पहिलो चाटिको अनुभूतिले आनन्दको शिखर चढाएको थियो । त्यसपछिका कतिपय घटनामा उसले यस्तो अनुभूति पाउन सकेकी थिइन । त्यसबेला आफू बेचिनु परेको भान हुन्थ्यो उसलाई र सारै नरमाइलो लाग्दथ्यो । तर पनि ऊ पेशेवर नभएकी हुनाले ग्राहकसँग एउटा समझदारी हुन्थ्यो जसले गर्दा उसलाई बेचिएको होइन बरु आफूले आत्मसन्तुष्टि लिईरहेको महसुस गर्ने गर्दथी । त्यसकारणले पनि उसँग आउने ग्राहकले पनि ऊबाट भरपुर आनन्द लिन्थे । त्यसैले पनि उसको डिमान्ड हुने गर्दथ्यो । ऊ बिभिन्न किसिमको ग्राहकसँग यौनको नयाँनयाँ स्वाद लिँदै गई ।
उसले सोचेकी थिई केही दिनको कुरा हो सब ठीक भइहाल्छ । प्रदीप आउन्जेल सब ठीक हुनेछ । यसरी ऊ दलदलमा फस्दै गई । न त उसलाई समय उडेको पत्तो भयो न त उसको जीवनले कुनै नौलो नियतिको खेल खेल्दै छ भन्ने महसुस भयो । बस ऊ जीवनको रङ्गमा प्रत्येक दिन होली खेल्दै गई त्यसमा पनि नयाँ नयाँ चोली फेर्दै ।
विभिन्न प्रकारको ग्राहकसँग डिल गर्ने क्रममा एकपल्ट उसले अनौठौ ग्राहक भेट्टाएकी थिई । उक्त ग्राहक मात्र छब्बीस सत्ताइस वर्षको लाग्दथ्यो । उसले उसलाई नगरकोटको एउटा रिसोर्टमा लगेको थियो । सिर्जनाले भनेजति पैसा उसले चुक्ता गरिसकेको थियो । ऊ सिर्जनासँग धेरै बोल्न चाहेको थिएन । किन हो सिर्जनालाई यो कुराले अचम्म लागेको थियो । धेरै समय खाने र केही समय औपचारिक गफ गर्नेमा बितेको थियो । अन्त्यमा उसले एउटा प्रस्ताव राख्यो । त्यो थियो सिर्जनाको नग्न शरीर हेर्ने । यो कुरा सिर्जनालाई कुनै प्रधानमन्त्रीको चुनाव थिएन यो अति सजिलो थियो त्यसै पनि परपुरुषको अगाडि नाङ्गिनुमात्र नभई यौनप्यास बुझाउनुपर्ने पेशामा यो कुनै गारो थिएन । तर सिर्जनालाई यो कुरा निकै रहस्यमय लागि रहेको थियो । अहिलेसम्म उसले यस्तो ग्राहक भेटेकी थिइन । प्राय सबै यौनको लागि कामातुर मात्र भेटेकी थिई । तर यो सजिलो काम पनि उसलाई निकै गारो लागि रहेको थियो त्यो के थियो भने उसको दाहिने छातीमा रहेको कालो कोठी कसरी लुकाउने भनेर । उसलाई ठूलो समस्या परेको थियो । प्राय ऊ त्यो कोठी लुकाउने गर्दथी । यौन उन्मादमा आतुर रहेका ग्राहकहरू त्यो कोठीको खासै चासो पनि राख्दैनथे । तर उत्त पुरुषले किन आफ्नो नग्न शरीर हेर्न खोज्यो यो उसलाई निकै रहस्यमय लागेको थियो । एकातिर उत्त पुरुषले आफूले चुक्ता गर्नुपर्ने पैसा चुक्ता गरिसकेको हुनाले नदेखाउने कुरा नै हुदैनथ्यो ।
उसले शरीरको सम्पूर्ण भाग देखाई तर दाहिने छातीको भने कपडाले छोपिरही । उक्त पुरुषले आफै आएर कपडा हटाएर हेर्यो । यस कुरालाई उसले नकार्न सकिन । पछि उसले खासै केही गरेन र केही भनेन पनि मात्र यति भन्यो 'म स्त्रीको नग्न शरीरको चित्र बनाउँदैछु त्यसैले तपाईँको शरीर हेर्न चाहेको हुँ । माफ गर्नु होला मेरो अरु कुनै उद्देश्य छैन ।' यति भनेर ऊसले घर र्फकने इच्छा व्यक्त गर्यो ।
घर आएपछि सिर्जनालाई कताकता यो घटनाले बिथालिरह्यो । कतै यसमा कुनै षडयन्त्र छ कि भनेर ऊ निकै गम्भीर बनेकी थिई । कतै उसैको श्रीमानले जासुसीको रूपमा उक्त व्यक्तिलाई पठाएको हो कि - उसलाई निकै शका लागेको थियो । यो कुराले उसको दिमागमा धेरैदिनसम्म विलेनको रोल खेलिरह्यो । तर उसले आफ्नो सम्पूर्ण जीवन नै दाउमा लगाएर अपनाएकी पेशामा विलेनलाई हराइदिई र त्यो दनावलाई पूर्णरूपले दिमागबाट डिलिट गरिदिई । उक्त घटनालाई उसले विस्मृतिको सागरमा लगेर अर्घ दिईसकेकी थिई र त्यो किनारा लागिसकेको थियो । तर यस घटनाले भित्रभित्रै आफ्नो जाल फिजाइसकेको उसले थाहा पाउन नै सकिन । अब त्यो रहस्यमय घटनाका रहस्यहरू बिस्तारै पर्दामा देखिन तम्तयार थिए । उसका रहस्यका पर्दाहरू यसरी उघ्रेका थिए ।
अस्ति भर्खरको कुरा थियो ।
आरती दिदीले फोन गरिन् - 'सिर्जना तिमी ब्यु एण्ड हाइटमा जानुपर्छ । कोठा नम्बर १०२ हो ।' सिर्जनालाई लागेको थियो, भनिदिऊ - 'दिदी, अब म यो पेशा छोडिदिन्छु । प्रदीप पनि आउँदैछ । अरू कसैलाई पठाइदिनुहोस् । आफ्नोमान्छेहरूले पनि चियोचर्चा गर्न थालेका छन् ।' तर उसका मुखबाट यी कुरा निस्कन नपाउँदै आरती दिदी कड्केर बोलिन् - 'ल तिमी छिटै जाऊ । बेर नगरीकन । मिस्टर यादवको मिल्ने साथी हो । उसले तिमीलाई नै उताबाट फोन गरेर विशेष अफर गरेको छ । बरू ढिला नगरी जाउ अनि अलि शृगारिनु । उसलाई केटीहरूले कालोसाडी लगाएको मन पर्छ, सेक्सी लाग्छ रे ।'
सिर्जनाले मोबाइलमा एकोहोरो सुनिरही । उसले आरती दिदीको कुरा काट्न सकेकी थिइन । उसले सोची आजको दिन उसको यो पेशाको लागि अन्तिम दिन हुनेछ । त्यस पछि ऊ भूमिगत हुनेछे । कसैले थाहा नपाउने गरी । उसले अर्कै ठाउँमा डेरा खोजिसकेकी थिई । अब आउने महिनाको सुरुमा ऊ नयाँ डेरामा, नयाँ मोबाइल लिएर, नयाँ विचार, नयाँ पाइलाका साथ प्रदीपसँग नयाँ जीवन बाच्ने छे । तर किन होला प्रदीपले धेरै दिनदेखि फोन गरेको पनि थिएन । ऊ आउने खवर पनि उसले उसका साथीहरू मार्फत थाहा पाएकी थिई । कतै प्रदीपले यो सब थाहा पाइसकेको छ कि - ऊ कहिलेकाही झस्कन्थी । तर उनीहरूका सबै कामहरू गोप्य हुने हुनाले थाहा पाउने कुरा नै हुन सक्दैनथ्यो । त्यसैले ऊ निर्धक्क आफ्नो दैनिकी चलाइरहेकी थिई । अहिले पनि ऊ आफूलाई पूर्णत विश्वस्त भएर तयार हुन थाली ।
उसले कालो जापनिज सिफनको साडीमा हल्का बुट्टा भएको रोजी । साडीमा मिल्ने ब्लाउज लगाई । वास्तवमा नै ऊ साडीमा निकै सेक्सी देखिन्थी । मेकअप आफ्नै किसिमले गरेकी थिई । आँखामा आइलाइनर, सानो टीका, ओठमा लीपइलाइनर, अनि लिपिस्टिक, घाँटीमा सानो मोतीको माला अनि साडीसँग मिल्ने सेण्डिल र ब्याग । उसको छनौट प्रक्रियाले पूर्णविराम पाएपछि ऊ कोठाबाट बाहिर निस्की । ट्याक्सीमा होटल ब्यु एण्ड हाइट पुग्न उसलाई कतिसमय पनि लागेन । रुम नम्बर १०२ उसलाई कण्ठ थियो । ऊ सिधै रूम नम्बर १०२ मा पुगी । स्वीच थिची । ढोका खोलिएपछि ऊ हेरेको हेर्यै भई । अगाडि उसको आफ्नै लोग्ने थियो । ऊ बेहोश भएर भुईमा लडी । त्यसपछि उसले आफूलाई अस्पतालको बेडमा पाएकी थिई ।
अहिले उसको टाउको दुख्नको कारण त्यही थियो । ऊ दलदलमा भासिएकी थिई । उसलाई लागिरहेको थियो । अब यो दलदलबाट बाहिर निस्कन उसले अर्को जन्म लिनु पर्नेछ । अहिले उसको जीवनमा विराम मात्र होइन पूर्णविराम नै लागिसकेको थियो ।

11 comments:

Shiva Prakash said...

"पहिलो दिन एक्कासि परपुरुषको अगाडि नाङ्गिनुपर्दा निकै नर्भस भएकी थिई " यहाँदेखि कथामा रोचकता र कौतुहलता अझ बढेको छ । अनि कोठा नं १०२ले नसोचेको परिणाम दिन्छ ।
शिप्र
http://www.nepalimanharu.com/

Kedarsangket said...

धेरै दिन पस्चात एउटा आत्मपरक कथा पढने साहित जुर्यो आज । सिर्जना को पूर्ण विराम सिर्जना ले लगाएकी हैन । बेरोजगार, समाजका समय पिपासु, र एउटा लोग्ने ले आफ्नु कर्तब्यलाई बुझ्नु नसक्नु हो । स्रिजना मात्र हैन प्रदीप स्वएम पनि आफु नाङगिनाले कथा अमुर्त भएको छ .आरती दिदी जस्ताहरुको खेलबाड ले हाम्रो समाज बिथोलिएको छ ।

शखदा said...

धेरै धेरै धन्यवाद , केदार भाइ अनि शिवप्रकासजी ।

Anonymous said...

कथा एकदमै मार्मिक छ । यथार्थवादी ।

waka said...

निकै मिठो कथा पढन पाइयो, हाम्री समाजको एउटा पाटोको राम्रो चित्रण
गरिएको छ। आरती दिदी र स्वयम प्रदिप जस्ता पात्रले श्रीजना पात्र
जन्माउने हुँदा उनी पारीबेश कि शिकार भएकी देखिन्छ ।

Anonymous said...

हजुर को यो लेख अतिनै सन्ध्बिक लागो।

prashant pande said...

कथा एकदम रहस्योमय एबम् सन्दर्विक् लग्यो।बास्तबमा
नेपालि समजको चित्रन गरिएको छ।यो कथाको सकारात्मक पक्छ्य लाइ आत्मसाथ गरेर अघी बधौ।

Unknown said...

शर्मीला जीको कलात्मक कथाका पात्रहरुसंग म पनि अभिनय गरिरहेको अनुभूति गर्ने गर्छु वहाँको कथामा । उच्चकोटीको कथा बुन्नुमा माहिर हुँनु हुन्छ शर्मीला जि । निरन्तर लेखिरहुहोस पाठकको मन तानिरहनु भएको छ । म तपाईको एक पाठक हुँ । मीठो कथाकोलागि धन्यबाद ।

शखदा said...

धन्यवाद विष्णुजी , तपाइ स्वयम एक स्रस्टा हुनुहुन्छ । पद्घविधामा तपाइको कलात्मकता मलाइ निकै मन पर्छ ।
कमेन्टको लागि धेरै धेरै धन्यवाद । म गरिरहनेछु ।

Bhagawati basnet said...

कथा ज्यादै मार्मिक अनि यथार्थबादी छ एउटा लोग्ने जस्ले श्रीमतिका चाहना अनि भावना बुझन नसक्नु अनि घरपरिवारको सम्रक्षण नहुँदा एक अवला नारी बिभिन्न बाध्यता भित्र परेर पारिवशको शिकार बन्नु परेको बिबशताको चित्रण अत्यन्तै राम्रोसँग गर्नु भएको छ कथा जति पददै गयो उति कौतुहलतले अझ कथा अत्यन्तै रोचक बनेको छ हार्दिक बधाई शर्मिला जि ।

uraj120 said...

वास्तव मा यो यथार्थबादी कथा हो | हाम्रो समाजमा भैरहेका अझ भनौ द्वन्दकालको समयमा भएका बाध्यताको प्रतिक हो यो कथा | सिर्जना धेरै राम्रो छ | खुबै मन पर्यो |

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।