October 21, 2012

आयामिक जीवनमा प्रेमको परिभाषा

प्रिय अमर,
अमर ! धेरै दिनदेखि धुम्मिएको आकाश आज उघ्रेको छ छ्याङ्ग भएर – मेरो मनजस्तै । अहिले म सम्झँदै छु – यस्तै उघ्रेको दिन तिमी र म तराई जाने तयारीमा थियौँ । अहिले पनि त्यो बेलाको जस्तै मेरा श्रीमान् मलाई जाउलो खान कर गरिरहेका छन् । तर मलाई खान मन छैन । म वेडरेस्टमा छु । मेरा श्रीमान् मेरो सेवामा तल्लिन छन् । कति माया गर्छन उनी मलाई । मैले उनको मायाको परिभाषा बुझ्न सकेको भए मैले यो हविगत भएर ओछ्यानमा सुतिरहेको हुनुपर्ने थिएन । यस्तै अवस्थामा विगतका यादहरू तरङ्गित बनेर स्मृतिपटल छाइरहँदो रहेछ । अरू बेला त दसदेखि चार बजेसम्म बन्धनमा बाँधिएको जीवन । मस्तिष्कले यो उन्मुक्ति कहाँ पाउनु र ? यति धेरै सोच्ने फुर्सद कहाँ पाउनु र ?
अमर ! तिमी यसलाई जे नाम दिन पनि सक्छौ । यसलाई मनोवाद, कथा वा पत्र जे भन्न पनि सक्छौ । अहिले मैले आफ्नो भावनालाई भाषामा परिणत नगरी नहुँने अवस्था सिर्जेको हुनाले पनि तिमीलाई सम्बोधन गरेर मैले यो मेरो आत्मकथा सार्वजनिक गर्न गइरहेको छु । रङ्ग र कुचीसँग खेल्ने मान्छेलाई शब्द र शैलीसँग खेल्न निकै गारो पर्दो रहेछ । त्यसैले मैले मुश्किलले यो मेरो सत्य कथालाई शब्द र शैलीमा सजाएर सार्वजनिक गर्दैछु ।


– अँ, साँच्चि अहिलेजस्तै त्यो समय पनि मेरा श्रीमानले जाउलो पकाएर मेरो अगाडि राखिदिएका थिए । तिम्रो फोन मोबाइलमा आयो । मेरा श्रीमान्ले मोबाइल अन गरेर मलाई बोल्नलाई हातमा दिए । म हिँड्ने हतारोमा थिएँ । पाँचदिनको तराई बसाईको लागि सब सामान ठीक पार्नु थियो । केही सामान त श्रीमान्ले नै मिलाइदिएका थिए । तिमीसँग जाने विषयमा केही बोलेर मैले मोबाइल अफ गरिदिए । मेरा श्रीमान्ले फेरि मोबाइल चार्जमा राखिदिए । बिहान चाँडै कतै हिँडनु प¥यो भने जाउलो खाएर हिँड्ने मेरो बानी थियो । मैले जाउलो पकाउन भ्याएको थिइनँ । श्रीमान्ले नै पकाइदिए र ल्याएर छेउमा राखिदिएका थिए । त्यसबेला पनि मलाई श्रीमान्को निक्कै माया लागेर आएको थियो ‘कति माया गर्छ ऊ मलाई तर म ? म आफैमाथि प्रश्न गर्छु । किनकिन यो माया देखेर पनि कहिलेकाहीँ दिक्क लागेर आउँछ । फेरि सोच्छु नेपालमा यस्तै श्रीमान्को माया नपाएर कति महिलाहरू तड्पीतड्पी बाँच्न बाध्य छन् भने म भने यस्तो कर्तव्यपरायण पति पाउँदा पनि यसरी वितृष्णा जगाइरहेको हुन्छु । मेरो यो मनको तुषारो त्यो समय फाट्न सकेको थिएन । किन सकेन ? मलाई अचम्म लाग्छ ।’

– अँ, साँच्चि मलाई जान हतार छ । भनौ तिमीलाई भेट्न हतार छ । तिमीलाई प्रायः हरियो रङ्ग मनपथ्र्यो । मैले हरियो रङ्गको बाक्लो कुर्ता सुरवाल लगाएँ । हरियो रङ्गलाई सिर्जनाको प्रतीक मान्थ्यौ तिमी, मेरो सिर्जनाजस्तै । मैले पुलुक्क श्रीमान्को अनुहार हेरेँ । उनी मलाई जाउलो खान कर गरिरहेको भाषा आँखाबाट बोलिरहेका थिए ‘पेटको विमारी भोको बस्न हुन्न, बाटोमा सारोगारो के होला ।’ श्रीमान्को यो गनगन थियो । मलाई झर्को लागेर आयो । मैले झर्कदै जाउलो खाइदिएँ । हिँड्ने बेलामा श्रीमान्को मुख हेरेँ । उनी मलाई अँगालोमा बाँधेर म्वाई खाने धुनमा थिए । मैले वेवास्ता गर्दै व्याग टिपेर हिँडेँ । बाहिर निस्केपछि मोबाइलको सम्झना भयो । फेरि फर्केर ‘साइत बिग्रियो’ भन्दै श्रीमान्लाई चार्जमा राखिदिएकोमा रिस पोखे । श्रीमान्ले पनि ‘हिँड्ने बेलामा किन रिसाउँदै हिँड्छे राम्रो हुन्न’ भन्दै थिए । मैले सुन्दै नसुनी आफ्नो हिँडाइलाई अघि बढाएँ ।

‘म ट्याक्सीसम्म पुयाइदिन्छु ।’ श्रीमान् भन्दै थिए ।
मैले ‘घरमा केटाकेटी सुतिरहेका छन्, कोठामा कोही हुन्न ।’ यति भनेर हतारिँदै पछाडि पनि फर्कदै नफर्की सरासर बाटो लागेँ । मस्तिष्कमा तिमी बाहेक अरू केही थिएन ।
– सुषुप्तअवस्थामा रहेको मेरा चित्रकारिता मौलाउँदै थियो । एनजीओको जागिरे म अनि तिमी समाजसेवी । अफिसले तराईमा शीतलहरको लागि कपडा र कम्बल बाँड्ने योजना अन्र्तगत हामी तराई जाँदै थियौँ । तर यो त हात्तीका देखाउने दाँत जस्तै थिए हाम्रा लागि । वास्तवमा हामी दुवै गहिरो प्रेमको तलाउमा चुर्लुम्म डुबेका थियौँ । तिमी सामाजिक सेवामा लागेका मानिस म एनजीओको जागिरे । कतिपय अवस्थामा एनजीओले तिमीहरूजस्तो समाजसेवीको सहयोग लिनुपर्ने अवस्था हुन्थ्यो । यस्तो भेटघाटको प्रक्रियामा हाम्रो परिचय भएको थियो । तिमी काठमाडौँको धनाढ्य–तिमीले दुईचार लाख समाजसेवामा लगाउँदा पनि कुनै फरक नपर्ने अवस्था थियो । तिमी मनका पनि धेरै धनी थियौ । हो वास्तवमा त्यो बेला तिमीमा मैले गुणैगुण मात्र देख्दथे । यति धनी भइकन पनि तिमीमा घमन्डको कतै कुनै गन्धसम्म पनि आभास हुँदैनथ्यो । तिम्रो व्यक्तित्वपनि त्यस्तै निखारिएको थियो । तिम्रा दुइचारवटा फ्याक्ट्री र आफ्नै फाइनान्स कम्पनी पनि थियो ।
– अँ, साँच्चि हामीले तराईमा चलेको शीतलहरका लागि कपडा र कम्बल भेला पार्ने योजना बनाएका थियौँ । यसमा तिमीलाई सहभागी नबनाउने कुरै हुँदैनथ्यो । यस अघि नै हाम्रा भावनाहरू फेसबुक र मोबाइल हुँदै मनभित्र पसिसकेका थिए । बिस्तारै हामी दुई बीचमा प्रेमको बीउ उम्रन थालेको थियो । फेसवुकमा मेरो चित्रकारितालाई धेरै मन पराउनेमा तिमी पनि थियौ । मेरो चित्रकारिता फेसवुकको नौलो संसारमा बिस्तारै तरङ्गित भएर प्रशंसा पाउँदै थियो । तिम्रो स्टाटस हेरेर म तिमीप्रति आकर्षित भएकी थिएँ । आफ्नो मौलाउँदै गरेको चित्रकारिता कसरी समाजमा सजाऊ भन्ने चिन्ताले मलाई खाइरहेको थियो । यसको लागि तिमी सहारा हुनसक्दथ्यौ । बिस्तारै तिम्रो मानसिक समर्थन पाउन फेसबुकमा तिमीप्रति म आर्कषित हुँदै थिएँ । तिमी पनि आकर्षणको नयाँनयाँ गोटी फ्याक्न कम थिएनौ । त्यसैपनि सामाजिक सेवामा लागेको मानिस, मेरो चित्र प्रदर्शनीमा केही सहयोग पक्कै गर्छौ हौला भन्ने सोचि मेरो मनको कोलाजलाई तिम्रो च्याटमा यसरी पेस्ट गरेको थिएँ – ‘म चित्र प्रदर्शनीको धुनमा छु केही सहयोग गर्नुहुन्छ ?’
तिमीले पनि सजिलै भन्यौ – ‘यहाँलाई केही सहयोग गर्न सके मेरो अहोभाग्य हुनेछ । धेरै त होइन थोरै यो हृदयको कुनाबाट सहयोग गर्न सक्छु ।’

अहो ! कति मीठा थिए ती शब्दहरू ! आफैमा तरङ्गित प्रेमको मधुर ध्वनिजस्तो । रसैरसले भरिएको महको चाकाजस्तो । तिम्रा शब्दहरूमा म त्यसैत्यसै लट्ठ परेकी थिएँ । मलाई लाग्यो मैले ठूलो बैशाखी पाएको छु । अब लङ्गडो बनेको मेरो चित्रकारिता तिम्रो बैशाखी पाएर दौडनेछ । ठूलो विश्वास पलायो तिमीमाथि मेरो । मेरो चित्रप्रदर्शनीमा तिमीले ठूलो भौतिक र मानसिक सहयोग ग¥यौ । मेरो प्रर्दशनी चर्चित बन्यो । मिडियाहरूले राम्रो कभर गरिदिए । यसमा तिम्रो ठूलो हात थियो । मिडियामा आउन अलिक दरै बैशाखी नभई कसैले सक्दिैन रहेछ भन्ने कुरा यो कार्यक्रम गरेपछि मलाई थाहा भयो । मिडियाको लिक कहाँ कसरी फैलिएको हँुदो रहेछ भन्ने कुरा तब मात्र मैले थाहा पाएकी थिएँ । तर तिम्रो दरो सहाराले गर्दा होला मैले कुनै दुःख गर्नु परेन । त्यसैपनि तिमी समाजमा प्रतिष्ठित र स्थापित छँदै थियौ । तिम्रो व्यक्तित्वको अगाडि मेरो श्रीमान्को व्यक्तित्व निकै मायालाग्दो देखिन्थ्यो । उनी अपरिचित मानिसहरूसँग खासै बोल्न सक्दैनथे । फेरि उनलाई यो क्षेत्रमा त्यति धेरै ज्ञान पनि थिएन । यसरी हामी बीचको सम्बन्धको दुरी छोटिदै थियो । यसरी फेसवुक, च्याट मोबाइल हुँदै हाम्रो दुरी शून्यमा आएर विलिन भयो । हामी बीचको गहिरो सम्बन्ध दिन प्रतिदिन उच्च तापमानमा बढ्दै गयो ।
‘अमर ! जीवन कति आनन्दमय रहेछ ।’ म तिम्रो प्रेमको समुद्रमा डुबुल्की लगाउँदै भन्थे । तिमीबाट म एउटा सुरक्षित प्रेम पाएको महसुस गर्दथे । घरपरिवारमा हुने अनेकौ तनावबाट टाढा तिम्रो प्रेमको मधुर ध्वनीमा हराइरहु जस्तो लाग्दथ्यो मलाई । जीवनमा सबै कुरा भएर पनि तिम्रो प्रेमबिना त म अधुरो नै रहेछु जस्तो लाग्दथ्यो । तिमी पनि आफूले अहिलेसम्म यस्तो साथी नभेट्टाएको भन्दै ममाथि प्रशंसाका नयानयाँ फर्मूला प्रयोग गर्दथ्यौै । म मख्ख पर्ने गर्दथे तिम्रा यी कुराहरूमा । एकातिर तिमीजस्तो समाजमा स्थापित र प्रतिष्ठित व्यक्तिलाई साथी बनाउन पाउनु अर्कोतिर मेरो चित्रकारिता पनि मौलाउँदै जानुले म निकै उमङ्गित बनेकी थिएँ । लाग्थ्यो मेरो जीवनमा उमङ्गको बाढी नयाँ भेल आएको छ । त्यो भेल कसरी थाम्नु ? आफैलाई मुश्किल लाग्दथ्यो । तिम्रो यो प्रेमको छहारीले मलाई कति शीतलता दिएको छ भन्ने कुरा म तिमीसँग भेटमा भनिरहन्थे । तिम्रो यो प्रेम नपाएको भए मेरो जीवन के हुन्थ्यो होला ? आफै कल्पना गर्न सक्दिनथे । ढुसी लागेको सुन्तलाझै कुहिएर आफै झथ्र्यो होला मेरो यो जीवन । म तिम्रो प्रेममा डुब्दा असीम आनन्दको महसुस गर्दथे । यसरी हामीबीचको एकआपसी समझदारीले पनि हाम्रो सम्बन्धले दिन प्रतिदिन फल्ने र फुल्ने अवसर पाएको थियो ।
– अहिलेको तराईको भ्रमणमा तीनदिन मेरो काज थियो भने दुई दिन तिमीसँग बिरगन्जमा बिताउने सल्लाह भएको थियो । तिमीले आफै आइट्वान्टी चलाएर लगेका थियौ । अरू साथीहरू सामान राखिएको गाडीमा बसेका थिए । म र केही अन्य साथी तिम्रो गाडीमा चढेका थियौँ । तीन दिनसम्म तराईको केही जिल्लामा कपडा र कम्बलहरू बाँड्न हामी व्यस्त भयौँ । निकै झन्झटिलो काम थियो यो । यसभित्र पार्टी र जातीयताको नमिठो गन्ध छि¥यो । हामीलाई निकै गारो भयो समयमा वितरण गर्न । देशको राजनितिले दुरदर्शीता नअपनाउँदा हामी विना बाउका टुहुरा सन्तान जस्ता बन्न पुगेको चारित्रिक प्रमाणपत्र यहाँ भेट्टाएझँै लाग्यो मलाई । ग्याँस, पानी, विजुली, इन्धन बिना पनि बाँच्न हामी बाध्य नेपाली हरु कुनै दिन अफगानीस्तानको लडाइमा औपधि नपाई मर्ने बिमारीको हालत हुन्न भन्न के बेर र ? अझ साम्प्रादायिकताको उग्ररुप देखेर सर्वियाको गृहयुद्धमा कोसोभोको एउटी बूढीआमै आफ्नै चिहान खनेर मृत्यु कुरेर बस्नु पर्ने बाध्यता हामी नेपालीलाई आउँदैन भन्न के बेर छ र ? हो , यो सामाजिक सेवामा पनि आत्मसन्तुष्टिलाई बिथोल्ने विषाक्त तत्वबाट हामी नराम्ररी सक्रमित बनेका थियौँ । एकातिर तराईवासीको भाषा नबुझिने भएर पनि हामीलाई धेरै कठिनाइ परेको थियो । स्थानीय संघसस्थाले हामीलाई सहयोग गरे पनि उदारकर्ताले गरेको यत्रो सहयोगलाई पनि उनीहरू खासै अनुग्रहीत हुन नसकेको व्यवहार गर्दथे । यसले हाम्रो मानसिकतामा हल्का नकरात्मक असर परेको थियो । तर जान्ने बुझ्नेहरूले यस कार्यको सह्राना र प्रशंसा गरेर हामीलाई धन्यवाद दिएका थिए । वास्तवमा सबै क्षेत्रमा अँध्यारो र उज्यालो दुईवटा पाटो हुँदोरहेछ जो हामीले पनि यहाँ भेट्टाएका थियाँै ।

चौथौ दिनको काम सकेर दिउँसो साथीहरू काठमाडौँ फर्के । हामी दुईजना चाहिँ बिरगन्जको रक्सौलमा सामान किनेर फर्कने भनेर बहाना बनायौ । केही साथीलाई हाम्रो सम्बन्धको बारेमा थाहा थियो । अहिलेको समयमा धेरैजसोले यस्ता कुरालाई सामान्यरुपमा लिन थालेका छन् । अहिलेको खुला स्वतन्त्रता भएको समयमा यस्ता कुरालाई खोतलिरहने कसलाई फुर्सद होस् र ! हामीले विरगन्जको एउटा लजमा कोठा बुक गराएका थियौ । त्यही बसेर भोलिपल्ट सपिङ्ग गरेर घर फर्कने योजना ग¥यौ । यो योजना तिमीले नै बनाएका थियौ । मलाई यसरी रक्सौलमा सबै साथीभाइले थाहा पाउने गरी आउने विचार थिएन । तर तिमीले पटक्कै मानेनौ । तीनदिनसम्म तिमीले मसँग कुनै प्रेमलीला मनाउन नपाएकोले मेरो सान्निध्यताको लागि निकै व्यग्र देखिन्थ्यौ ।
त्यो व्यग्रता एकान्त कोठामा यसरी पोखियो, तिमी भन्दै थियौ – ‘लुकेर गरेको यस्तो माया कति प्रिय हुन्छ हगि डालिङ्ग हेर न घरमा श्रीमती भएपनि तिम्रो यो चुम्बन कति मीठो छ ।’
मैले तिम्रो भनाइमा पौष्टिकता थपेर रसिलो बनाएर तिमीलाई यसरी पिलाइदिए– ‘हो नि घरको खानाभन्दा बाहिरको चट्ट पकाएर दिएको कति मीठो हुन्छ । घरमा त पकाउँदा पकाउँदै अमन भइसकेको हुन्छ ।’
मेरो भनाइले तिमीलाई निकै उर्जा दिएछ क्यार मलाई अझ जोडले च्याप्तै म्वाइ खाइदियौ । म पनि लुटपुटिएर तिम्रो चौरासी व्यन्जनको भोजनमा मिठास थप्न उद्विग्न बनेँ । तिमीले ममाथि खर्च गरेको पैसा र समयको एकएक पाइ उकास्न मबाट आत्मसन्तुष्टि लिइरह्यौ । हुन पनि हो यति धेरै पैसा र लगानी गरेपछि जो कोही पनि लगानी उठाउन तत्पर रहन्छ भन्ने तिम्रो वकालती तर्कलाई मैले पूर्णरुपले व्यवहारिक समर्थन गरेकी थिएँ । तिम्रा कुनै पनि कुरालाई म नकार्न सक्दिनथेँ । वास्तवमा यो एकपक्षिय लेनदेन थिएन, दुई पक्षिय थियो । तिमीमा भएको चीज तिमीले मलाई दिएका थियौ । ममा भएको चीज मैले तिमीलाई दिएकी थिएँ । यसमा कसैलाई हानी भयो कसैलाई नाफा भयो भन्ने थिएन । लजमा पुगेको दिन र रात तिमी मेरो यौनको मधुर रस पिउन निमग्न रह्यौ । हामी यौनको नौलोनौलो चरणपार गर्दै आकासिइरहेका थियौ, बेखवर यो दुनियाँबाट धेरै टाढा हराइरहेका थियौँ । निकै लामो दैहिक र अलौकिक आनन्दपछि हामी यथार्थ जीवनको धरातलमा ओर्लन आइपुग्यौँ । प्रेमको रुग्ण प्राणीझैँ तिम्रो प्रेमको शीतल जलले मेरो जीवनले संजीवनी पाएसरह महसुस ग¥यो ।
अमर ! तर आज ती सब बिलाएका छन् । मात्र म खालीखाली शुन्य छु । मभित्र महाशुन्य मात्र छ । अरू सब अतीतका गर्तमा बिलाइसकेका छन् । अहिले छ भने मात्र सहरभरि तिमीसँग मैले नाजायज सम्बन्ध गाँसेर तिमीबाट फाइदा लिएको प्रदुषित हावाका झोकाहरू छन् । जुन झोकाहरू काँडा बनेर मेरो मन र मस्तिष्कलाई बिझाउने गर्छन् । हेर, अमर ! नारीहरू कति विवश र निरीह रहेछन् । हुन पनि हो प्राचीनकालदेखि नै शक्ति हुनेले निर्धो र निरीहलाई थिचोमिचो गर्दै आएको छ । यसमा हामी नारीहरू पुरुष र समाजबाट थिचिएको कुरा अपवाद हुनसक्दैन । वास्तवमा तिम्रो र मेरो सम्बन्ध लोकलाई सुहाउँदो थिएन । यसलाई मानिसहरूले मान्यता दिने कुरा हुँदैनथ्यौ किनकि हामी दुवैको आआफ्नो संसार थियो । तर जब मान्यताको कुरा आउँछ समाज द्विविधामा पर्न जान्छ । यसलाई अनैतिक र चरित्रहिनताको उपाधि दिन पुग्छ । यसमा पनि तिमी पुरुषलाई समाजले यथेष्ट बचावट गरिदिन्छ अनि सबै आरोप र लाञ्छानाहरू कन्टेनर बनेको हाम्रो भाग्यमा थोपरिदिन्छन् । यो अचम्मको कुरा पनि होइन । एउटा महिला कसैसँग प्रेम सम्बन्ध राखेर गर्भधारण गर्छे तर समाजले पुरुषलाई केही भन्दैन ऊ चोखो रहन्छ तर महिलालाई नै व्यभिचार र पातकी भन्ने विभुषणले विभुषित गरिदिन्छ ।
– हो, अहिले सहरभरि यही हल्ला छ । तर तिमीले यसको प्रतिकारको लागि केही भनेका छैनौ । त्यसैले मेरो मन बोझिलो भएको थियो । धेरै दिनसम्म हुस्सु लागेको आकाशजस्तो भइरह्यो । मैले मेलमा यसबारे तिमीलाई प्रश्न र जिज्ञासा राखेको थिएँ तर धेरै दिनसम्म तिमीले कुनै प्रतिउत्तर दिएनौ । त्यसैले धेरै दिनसम्म मेरो मन हुस्सुलागेको आकाशजस्तो भइरह्यो । मैले तिम्रो मेलको धेरै प्रतीक्षा गरे भने मोबाइल त तिमीले उठाउँदै उठाएनौ ।

– अँ साँच्चि, हामी बिरगन्जको रक्सौलबाट सामान किनेर फर्कदै थियौ । गाडी तिमीले नै ड्राइभ गरेका थियौ । जे हुनु थियो यही समयमा भयो । समयले ठूलो बिडम्बना बोकायो मेरो भाग्यमाथि । आउँदाआउँदै मुग्लिङमा हाम्रो कार एक्सिडेन्ट भयो । मैले केही थाहा पाउन सकिनँ । पछि हस्पिटलमा होश आउँदा मलाई टाउकोमा ठूलो चोट लागेको थियो । एउटा खुट्टा दुई ठाउँमा फ्याक्चर भएको थियो । अर्को खुट्टा र हातहरूचाहिँ राम्रै थिए । यो घटनापछि हाम्रो सम्बन्धको विषयमा दुषित हावा सहरभरि अश्रुग्यासझै फैलियो । तिमीले त आफ्नो बचावको लागि आफूलाई मानसिक र शारिरीकरूपले नै तयार राखेका रहेछौ । एक्सिडेन्ट भएको देख्ने मान्छे भन्थे ‘ड्राइभरले आफूलाई जोगाएछ ।’ हो, तिमीले आफूलाई जोगायौ । त्यसैले तिमीलाई केही भएन । तिमीले आफ्नो शरीर मात्र जोगाएनौ आफ्नो चरित्रलाई र व्यक्तित्वलाई पनि जोगाउन हस्पिटलमा ‘मलाई को ?’ भनेर मानिसहरूले सोध्दा ‘बाटोमा लिपट दिएकी मान्छे हो’ भनेर भनेछौ । तिमीले किन यसौ ग¥यौ ? ‘तिमीले मेरी प्रेमिका भनेर भन्न पनि त सक्थ्यौ नि !’ तिमी यति लाचार र पानीमरुवा हौला भन्ने मैले कहिले सोचेकी थिइनँ । म स्त्रीजाती भएर अर्काकी श्रीमती भएर पनि आज म तिमीलाई मैले प्रेम गर्थे भनेर यी सब कुरा सार्वजनिक गर्ने साहस गर्दैछु भने तिमीले मलाई त्यो मरणशील अवस्थामा किन यस्तो निर्दयी व्यवहार ग¥यौ ? तिमीले मलाई मेरी पे्रमिका, साथी वा अरू कोही आफन्त भन्न पनि सक्थ्यौ । किन सकेनौ ? तिमीलाई त केही भएको रहेनछ । मलाई हेर्न एकपल्ट पनि किन अस्पताल आएनौ ? तिमीलाई तिम्रो आफ्नो स्टाटसको यत्रो चिन्ता रहेछ ! तिमीले मलाई तिम्री पे्रमिका नै भनेको भए पनि मलाई विवाह गर् भनेर म भन्ने थिइनँ । तिमीसँग म अंश माग्न पनि आउने थिइनँ । किन की हामीले जे ग¥यौ त्यो सब दुवैको सहमती र आत्मसन्तुष्टिका लािग गरेका थियौ तर तिमीले आफ्नो घृणित हृदयको परिचय यसरी दिन्छौ भन्ने मैले सोचेकी सम्म थिइनँ । तिम्रो त्यो नालायकी पुरुषार्थप्रति मेरो धिक्कार छ । आज तिमीले मेलमा आफ्नो मनको कालो सबै पोखेका रहेछौ । त्यसैले पनि मेरो मन आज घाम लागेको दिन भएर उज्यालिएको छ ।
अमर ! आज म धेरै खुसी छु । मेरो श्रीमान् मेरो स्वास्थ्यको लागि हरदम लागिपरेका छन् । सहरभरि आफ्नो श्रीमतीको बारेमा चारित्रिक हत्या हुने हल्ला फैलदा पनि उनी पटक्कै निरश र विचलित बनेका छैनन् । अझ मेरो स्वास्थ्यप्रति उनी निकै चिन्तित छन् र मेरो सेवासुसारमा उत्तिकै लागिपरेका छन् । वास्तवमा प्रेम को परिभाषा के हो ? मैले प्रेमको परिभाषालाई यसरी बुझेको छु – पवित्र प्रेम त्यो रहेछ जुन आफ्नो खुसी सँगै खुसी हुन्छ र दुःखसँग दुखी हुन्छ । अहिले मैले त्यो पवित्र प्रेम मेरो श्रीमान्को आँखा पढिरहेको छु किनकी म तिमीसँग रासलीलामा बिताएको समय खुसी हुँदा उनी पनि खुसी देखिन्थे र अहिले म तिम्रो घृणित व्यवहारबाट दुःखी बन्दा उनी पनि दुःखी बनेका छन् ।

2 comments:

Anonymous said...

यो कथाको बारेमा गणेश खडका भाईले पठाउनु भएको कमेन्ट

अङ्रेजी साहित्यका मर्मज्ञ हडसन ले भनेका छन्,- " कुनै पनि नाटकिय घटना वा स्थिती, मार्मिक दृश्य,अन्यतम सम्बद्द घटनाको श्रीङ्खला, चरित्रको कुनै एक रुप, कुनै एउटा अनुभूति, जीवनको कुनै एक पक्ष, कुनै नैतीक समस्या जस्ता असंख्य बिषय कुनै पनि सन्तोषप्रद कथाको लागि वीजको रुपमा प्रयुक्त हुन सक्छन् । "
जब जब अन्धो प्रेम ले कर्तव्य र नैतीकतामाथि धावा बोल्दछ अनि यस्ता सिर्जनाहरु जन्माउन वाध्य हुन्छन् सर्जकहरु । प्रस्तुत कथाको भावभूमिले उजागर गर्न खोजेको तात्विक सत्य यही हो । त्यसो त प्रेम आँफैमा निश्कलंक,पवित्र र सुन्दर वस्तु हो । यद्द्यपी, कहिलेकहीं मान्छे प्रेम समरमा पागल हुन्छ र असत्यको पक्षपाती बन्न पुग्दछ,अन्धो हुन्छ र जानीजानी काँढालाई प्रेम गर्न थाल्दछ । एउटा होनहार कथामा आवश्यक कथा तत्वहरुको प्रचुरता र सुललित भाषा शैलीको सघनताले यसको बान्की चिटिक्क बनाइदिएको छ । प्रेम खासमा के हो ? लाई सुगम पाराले अर्थ्याउन कथाकारको कौशलता लोभ लाग्दो देखिन्छ । कथामा थोरै गौण तर यथेष्ठ महत्व बोकेर आएको सशक्त पक्ष भनेको देश,जनता र बिद्दमान राजनैतीक समस्या हो । यसका अलवा नारी उत्पिडन, पुरुष दमन र प्रचलित लैङ्गिक बिडम्बनालाई समस्याका रुपमा पेश गरेर कथाकार ले समाज लाई सचेतनको आव्हानद्वारा ध्यानाकर्षण गराउनु भएको छ । सरल भाषा शैली, बोधगम्य वाक्य गठन,सालीन शब्द संस्कार र सन्देशमूलक कार्य व्यवहार ले कथाको सार्थकता मननिय तुल्याइदिएको छ । मूलत: कर्तव्यपथ छोडेर आवरणिय प्रेम क्रिडामा अचेत होमिनुको स्वभाविक परिणति र यसले निम्त्याएका / सुझाएका चेतहरुलाई कथाले आफ्नो धर्मको कित्तामा सुरक्षित अवतरित गरेकोछ , जो अत्यन्तै अनुकरणिय पनि छ ।

Ganesh Khadka said...

अङ्रेजी साहित्यका मर्मज्ञ हडसन ले भनेका छन्,- " कुनै पनि नाटकिय घटना वा स्थिती, मार्मिक दृश्य,अन्यतम सम्बद्द घटनाको श्रीङ्खला, चरित्रको कुनै एक रुप, कुनै एउटा अनुभूति, जीवनको कुनै एक पक्ष, कुनै नैतीक समस्या जस्ता असंख्य बिषय कुनै पनि सन्तोषप्रद कथाको लागि वीजको रुपमा प्रयुक्त हुन सक्छन् । "
जब जब अन्धो प्रेम ले कर्तव्य र नैतीकतामाथि धावा बोल्दछ अनि यस्ता सिर्जनाहरु जन्माउन वाध्य हुन्छन् सर्जकहरु । प्रस्तुत कथाको भावभूमिले उजागर गर्न खोजेको तात्विक सत्य यही हो । त्यसो त प्रेम आँफैमा निश्कलंक,पवित्र र सुन्दर वस्तु हो । यद्द्यपी, कहिलेकहीं मान्छे प्रेम समरमा पागल हुन्छ र असत्यको पक्षपाती बन्न पुग्दछ,अन्धो हुन्छ र जानीजानी काँढालाई प्रेम गर्न थाल्दछ । एउटा होनहार कथामा आवश्यक कथा तत्वहरुको प्रचुरता र सुललित भाषा शैलीको सघनताले यसको बान्की चिटिक्क बनाइदिएको छ । प्रेम खासमा के हो ? लाई सुगम पाराले अर्थ्याउन कथाकारको कौशलता लोभ लाग्दो देखिन्छ । कथामा थोरै गौण तर यथेष्ठ महत्व बोकेर आएको सशक्त पक्ष भनेको देश,जनता र बिद्दमान राजनैतीक समस्या हो । यसका अलवा नारी उत्पिडन, पुरुष दमन र प्रचलित लैङ्गिक बिडम्बनालाई समस्याका रुपमा पेश गरेर कथाकार ले समाज लाई सचेतनको आव्हानद्वारा ध्यानाकर्षण गराउनु भएको छ । सरल भाषा शैली, बोधगम्य वाक्य गठन,सालीन शब्द संस्कार र सन्देशमूलक कार्य व्यवहार ले कथाको सार्थकता मननिय तुल्याइदिएको छ । मूलत: कर्तव्यपथ छोडेर आवरणिय प्रेम क्रिडामा अचेत होमिनुको स्वभाविक परिणति र यसले निम्त्याएका / सुझाएका चेतहरुलाई कथाले आफ्नो धर्मको कित्तामा सुरक्षित अवतरित गरेकोछ , जो अत्यन्तै अनुकरणिय पनि छ ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।