June 23, 2009

'साहित्य समाजको प्रतिबिम्ब हो'

(जनमत साहित्यिक पत्रिका अङ्क - १३६ मा प्रकाशित अर्न्तवार्ता)
तपाईको साहित्यलेखनको थालनी कसरी भयो ?
- म साहित्यलेखन क्षेत्रमा आउन केही ढिला भएको हो । जब जीवनलाई नजिकबाट चिनेर धेरै कुरा बुझ्दै गए अनि साहित्यमा आकषिर्त हुन थालेँ । समाजमा भएका रुढीगत अन्धविश्वास, विसंगति र विकृतिले मलाई सत्यको खोजीमा डोर्‍यायो । यस्तै सहाराको खोजीमा साहित्यतिर आकृष्ट भएँ । जहाँ म आफू पोखिन पाउँछु र आत्मसन्तुष्टि मिल्छ मलाई ।
साहित्य-सिर्जना गर्ने भावना र प्रेरणा कसरी कोबाट पाउनुभयो ?
- साहित्य-सिर्जना गर्ने भावना विशेषरूपले यहीबाट पाए भन्ने छैन । म सानैदेखि अलिक बेग्लै स्वभावकी थिएँ । घरमा छोरा र छोरीप्रति गरिने भेदभाव र महिलाको अवस्था देखेर म विरक्त हुन्थे । म सम्पन्न परिवारमा जन्मे पनि हाम्रो घरमा शैक्षिक वातावरण थिएन । बुबाका गाडीहरू थिए र ठेक्कापट्टा गर्नुहुन्थ्यो । पैसा प्रशस्त कमाउनु भएको थियो । उहाँलाई शिक्षामा रुची थिएन । हाम्रो ठूलो परिवार थियो । हामी दुई आमाका दस जना सन्तान एउटै परिवारमा हुर्केका थियौँ । मेरी आमा कान्छी हुनुहुन्थ्यो । म सानो छदा काकाकाकी सबै एकै ठाउँमा थियौँ । त्यससमयमा बालबालिका र महिलाको अवस्था अत्यन्तै दयनीय थियो । बालअधिकार र बालमनोविज्ञान कुन चरोको नाम हो भन्ने थियो । म यी कुराले भित्रभित्रै आन्दोलित हुन्थेँ । मेरी आमा केही पढ्नुभएको हुनाले छोरीमान्छेले पढ्नपर्छ । आफ्नो खुट्टामा उभिनुपर्छ भनिरहनुहुन्थ्यो । त्यसैले म भेटेजति पुस्तक पढीरहन्थेँ । तर उचित मार्गदर्शन र प्रेरणा पाउन सकिनँ । मन कुण्ठित हुन्थ्यो । त्यसैपनि छोरीमान्छे पढ्ने वातावरण थिएन । म सामान बेरिएका पत्रिका पढ्ने गर्दथे । पढ्ने पुस्तकको अभाव खटकीरहन्थ्यो । बिहे भएर गएपछि पनि म निरन्तर पढिरहन्थेँ । बिहेपश्चात मैले आइए र बिए प्राइवेट पास गरेकी थिएँ । एसओएसमा जागिर खान थालेपछि पढ्ने वातावरण अझ बढ्यो र साहित्यिक वातावरण पनि । म केही लेख्दै फ्याक्दै गर्थे । पछि मेरो जीवनमा यस्तो मोड आयो म अस्तित्वबोधको पीडाले मर्माहत भएँ । अफिसमा, घरमा, समाजमा नारीको अवस्था र उसले भोग्नुपरेको नियतिले विक्षिप्त भएँ । त्यसपछि अस्तित्वको खोजी गर्दै साहित्यको सहारा लिन पुगेँ । सहारालिने क्रममा धेरै समयअघि लेखेको 'सानी' बालमनोवैज्ञानिक उपन्यास प्रकाशित गरेँ । जसले साझा बालसाहित्य पुरस्कार प्राप्त गर्‍यो । मेरो पहिलो पुस्तकले राष्ट्रिय पुरस्कार प्राप्त गरेपछि म लेखनमा तन्मयका साथ लागी परेँ । त्यसपछि सानीको भाग दुई 'सानीको साहस' लेखेँ त्यसले पनि अन्तरार्ष्टिय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट नारी हस्ताक्षर पुरस्कार प्राप्त गर्‍यो । ममा चुनौति र दायित्व थपिँदै गयो । राष्ट्रियस्तरका पत्रिकामा पनि मेरा कथा र लेखहरू छापिन थालेका थिएँ । त्यसपछि एसओएसको राम्रो जागिर छोडेर सम्पूर्ण रूपले साहित्यमा समर्पित भएँ ।

साहित्य सेवामा निरन्तर लागिपर्नु भएकी तपाई यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
- हुन त म साहित्यको अध्ययन धेरै अघिदेखि गर्थे तर वि. स. २०६० देखि पुस्तक प्रकाशन गर्ने रचनाहरू छापिने गरेको हुनाले मलाई भर्खर साहित्यमा लागेको ठान्नेहरू पनि हुनुहुन्छ । तर यसरी भर्खर लागेको भए पाठकको मनलाई छुने साहित्यसिर्जना गरेर पुरस्कार र सम्मानहरू प्राप्त गर्न सक्ने थिइनँ हुँला यसको लागि मैले नेपथ्यमा बसेर साहित्यको धेरै साधना गरेकी छु । तर झट्ट हेर्दा भर्खर लागेकी हो भन्ने भ्रमचाहिँ हुन्छ नै । म मैले गरेको साहित्यसेवाबाट पटक्कै सन्तुष्ट छैन । मलाई लाग्छ मैले अझै धेरै लेख्नुछ । समयले राष्ट्रले मसँग धेरै आशा गरेको छ । मेरो साहित्यलेखनको अभीष्ट भनेको नै बच्चादेखि वृद्धासम्मको ढुकढुकीमा बास बस्नु हो । त्यसैले त्यो अहिले पूरा भएको छैन । र्सवप्रथम बालसाहित्यमा राम्राभन्दा राम्रा पुस्तक लेखू भन्ने लागेको छ । जुन अभाव पनि छ । म थोरै लेखू राम्रो लेखू भन्ने मान्यता राख्छु । फेरि दुई प्रकाशित पुस्तकले लगातार राम्रो पुरस्कार पाएको हुनाले आफूभित्र केही छ भन्ने पनि ठानेकी छु । तर नेपाली बालसाहित्यले गर्व गर्ने पुस्तक 'सानी' र 'सानीको साहस' जति चर्चित हुनुपथ्र्यो त्यति हुन सकेन । त्यसमा चाहिँ दुख लागेको छ । यति धेरै साधना, लगानी गरेर निकालेको पुस्तकलाई भनेजस्तो गरी बालबालिकाको हातमा पुर्‍याउन सकिनँ । यो कुरा धेरै ठाउँमा उठाए तर सुनिएन । दुवै पुस्तकले गरिमामय पुरस्कार प्राप्त गरेर धेरैजनाले मन पराउँदा पनि सञ्चार माध्यमबाट सहयोग नहुँदा उपेक्षितजस्तो भयो । यसले दुखी बनाएको छ । अब सानीको धारावाहिकको भाग ३ लेख्ने ठूलो चुनौति छ । अघिका पुस्तकभन्दा नराम्रो लेख्नु भएन । सानीलाई अङ्गे्रजीमा अनुवाद गरी विश्व बालसाहित्यमा पुर्‍याउने प्रयास गर्दै छु । तर प्रकाशनका अप्ठ्यारापक्षले गारो बनाएको छ । प्रौढ साहित्यमा एउटा राम्रो कथासङ्ग्रह तयारी अवस्थामा छ । चाडै नै प्रकाशित गर्ने जमर्को गर्दै छु ।

नेपाली साहित्यमा महिला लेखिकाको भूमिका र अग्रसारिता सम्बन्धमा तपाइँ कस्तो धारणा राख्नुहुन्छ ?
- नेपालीसाहित्यमा महिलाको भूमिका अत्यन्तै न्युन अवास्थामा छ । हुन त पुरुषलाई पनि सहज नभएको ठाउँमा नारीलाई नहुनु स्वभाविकै हो । यो क्षेत्रमा नारीलाई धेरै गारो छ । समाजमा दोस्रो दर्जाको नागरिक भएर बाँच्नुपर्ने महिलाले साहित्यमा थोरै्र लेख्नुलाई पनि महत्वपूर्ण मान्नुपर्छ। तर यसो भनेर स्तरीयतामा नजानू भनेको चाहिँ होइन । पुरुषको प्रतिस्पर्धामा नगई आफ्रनो परिचय बन्न सक्दैन । त्यसको लागि महिलाले ठूलो लगानी, त्याग, साधना गर्नुपर्छ । जुनकुरा गर्न धेरै कम महिलालाई मात्र सौभाग्य प्राप्त हुन्छ । यी कुरा प्राप्त गरेर मात्र पनि हुँदैन स्वयम्मा प्रतिभा पनि हुनुपर्छ । यी सबैकुरा भाग्यबश कुनै नारीले पाइ भने मात्र ऊ पुरुषको प्रतिस्पर्धामा आउन सक्छे । नत्र उसमा प्रतिभा भए पनि त्यो त्यसै ओइलाएर जान्छ र कतिपय प्रतिभा गइरहेका छन् । यही पर्रि्रच्छेमा नारीलाई साहित्यमा अग्रसर गराउन हामीले इटहरीमा उत्खनन् नारी साहित्य प्रतिष्ठान स्थापना गरेका छौँ । अहिले बिस्तारै बामेसर्दै आएको नारी साहित्यलेखन केही फस्टाएको महसुस गर्न सकिन्छ । तर अझै पनि नारीलाई साहित्यलेखनका लागि उपर्युक्त वातावरण प्राप्त भइसकेको छैन । सरकारी र गैर सरकारी क्षेत्रबाट नारी साहित्यलेखनलाई प्रशस्त हौसला, प्रेरणा र सुबिधा प्राप्त हुनुपर्छ ।

साहित्यकारहरू आ-आफ्नो विचार वा दृष्टिकोणलाई कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रुपमा जनसमक्ष पुर्‍याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौर्न्दयसाथ प्रस्तुत गरिन्छ, यो भनाइप्रति तपाईको के धारणा छ ?
- साहित्य समाजको प्रतिबिम्ब हो । साहित्यमा सिद्धान्त, धार र विचार हुनु स्वभाविकै हो । तर सबै साहित्यकारले प्रस्तुत गरेका छैनन् । पाश्चात्य साहित्य विभिन्न धार र सिद्धान्तमा फैलिँदै यहाँसम्म आएको छ । यसको प्रभाव नेपाली साहित्यमा पनि परेको छ । मेरो विचारमा साहित्यको कुनै सिद्धान्त र विचारमा खुम्चेर लेखिनु हुँदैन । स्वतन्त्ररूपले समाजका हरेक पाटोलाई कलात्मकरुपले प्रस्तुत गरिनुपर्छ । साहित्यमा समाजको ढुकढुकी बोलेको हुनुपर्छ अनि मात्र त्यो साहित्य उत्कृष्ट हुनपुग्दछ । साहित्यमा राष्ट्रियता र मानवतालाई पहिलो प्राथमिकता दिएर समाजको यथार्थ चित्रणलाई कलात्मकताले सजाएर प्रस्तुत गरिनुपर्छ ।

हाल विभिन्न साहित्यिक प्रतिष्ठानका गतिविधि र साहित्यिक धारा को सम्बन्धमा तपाई कस्तो धारणा राख्नुहुन्छ ?
- हाल धेरै साहित्यिक सङ्घसस्था र प्रतिष्ठान स्थापना भएका छन् । वास्तवमा यो खुसीको कुरो हो किनभने यस्ता सङघसस्थाले साहित्यमा ठूलो टेवा दिन सक्छन् र कतिपय नाम चलेका सङ्घसस्थाले दिइ पनि राखेका छन् । विशाल देशको साहित्यिक क्षेत्रको मूल्याङ्कन साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानले मात्र थाम्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा नीजिक्षेत्रबाट खोलिएको साहित्यिक सङ्घसस्था र प्रतिष्ठानबाट मदत मिले साहित्यलाई ठूलो टेवा प्राप्त हुन्छ । तर कतिपय सङ्घसस्था राजनैतिक आस्था र गुटबन्दीले ग्रस्त छन् । नातावाद , कृपावाद र आर्शीवादको आधारमा पुरस्कार दिने र पुस्तक छपाउने जस्ता क्रियाकलापले विकृति पैदा भइरहेको छ । यस्ता सङ्घसस्था आलोचनाबाट मुक्त छैनन् ।
तपाईलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरूको को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
- मलाई यही लेखक मनपर्छ र यही कृति मन पर्छ भन्ने छैन । राम्रा लेखकका प्राय राम्रा कृति सबै मनपर्छ । विदेशी लेखकको पुस्तकहरू पढ्ने चाहना हुँदाहुँदै पनि मौका भनौ वा समय नपाउँदा दुख लाग्छ । तर पनि गोर्कीको 'आमा' गोल्डिङ्गको 'द लर्ड अफ द फ्याइज' त्यस्तै टैगोरको काबुलीवाला अन्य नाम चलेका लेखक मोपासा समरसेट मम आदिका पुस्तक राम्रो लाग्छ । नेपाली नाम चलेका लेखकका नाम चलेका पुस्तकहरू प्राय पढेकी छु । नेपाली भाषा साहित्यलाई फलाउने फुलाउन योगदान दिनुहुने विशिष्ट साहित्यकारहरूको आ-आफ्नो ठाउँमा महत्वपूर्ण योगदान रहेको छ । जुन पृष्टभूभिमा आज नेपाली साहित्य मौलाउँदै गएको छ । नाम नचलेका लेखकका पनि कतिपय रचनाहरू राम्रा लाग्छन् । प्रायजसो म समकालीन साहित्य पढ्न रुचाउँछु । र लेखनमा पनि नयाँ शैलीको प्रयोग गर्न रुचाउँछु ।
तपाईलाई सधैँ सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानीकन उल्लेख गरिदिनु होला?
- मेरो जीवनको ठूलो साहित्यिक रोचक घटना भनेको मेरो पुस्तक 'सानी' छापेर विमोचन गरेको एक हप्तापछि कथाकार परशु प्रधानले एउटा साहित्यिक माहौलमा यसो भन्नुभएको थियो - 'तपाईको यो पुस्तक उत्कृष्ट छ । यसले राष्ट्रिय पुरस्कार पाउनुपर्छ । तपाईको यो छोरा हो यसले तपाईलाई पाल्छ ।' उहाँले यसो भन्नुहुँदा मैले पत्याएकी थिइनँ । तर त्यसो भन्नुभएको ठीक एकवर्षपछि त्यो पुस्तकले साझा बालसाहित्य पुरस्कार -२०६० प्राप्त गर्‍यो । मलाई अचम्म लाग्यो कस्तो भविष्यवाणि मिलेको भनेर । पुरस्कार पाउँदा म धेरै खुसी भएँ । पहिलो पुस्तकले राष्ट्रिय पुरस्कार पाउँदा मेरो खुसीको सीमा थिएन । यो पुरस्कार सत्यको जीत पनि थियो । पुरस्कारको घोषणापछि म रोएकी थिएँ । हुन त यो पुस्तकलाई धे्रै जनाले राम्रो भनेर प्रशंसा गरिसक्नुभएको थियो ।

तपाइँको पहिलो प्रकाशित रचना कुन हो र तपाईका प्रकाशित लेख रचनाहरू मध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
- मेरो पहिलो लेख विस २०५५ सालमा समष्टिमा छापिएको कथा 'असफल सङ्धर्ष हो । योभन्दा अघि पनि कविता र लेख छापिएका थिए तर ती आधिकारीक छैनन् । त्यसैले यसैलाई प्रथम मानेकी छु । स्रष्टालाई आफ्ना सबै रचनाको उत्तिकै माया लाग्दो रहेछ तर कसैलाई अलिक बढी मिहिनेत र कसैलाई अलि कम पर्ेको हुन्छ । हालसम्म मेरा चारवटा बालकृति आफ्नै प्रकाशनबाट भइसकेका छन् भने साझाबाट एउटा भएको छ । यी मध्ये मलाई सानीको धारावाहिक र 'स्वणिर्मा' बालउपन्यास धेरै प्यारो लाग्छ । त्यस्तै प्रौढ कथाहरूमा 'सुकन्या उर्फनिलिमा' द्वन्द्वकथालाई सबैले मेरो साहित्यिक यात्राको कोसेढुङ्गा मान्नुभएको छ । म कथालाई धेरैचोटि परिमार्जन गरेर मात्र पाठक सामु ल्याउँछु । कुनै कथा परिमार्जन गर्न मलाई तीन वर्षम्म पनि लागेको छ । एउटा कथासङ्ग्रह 'समयको क्यानभासमा' छापिने प्रक्रियामा छ । त्यो कथासङ्ग्रहलाई धेरैले मन पराइदिनुभएको छ । त्यस्तै एउटा कथोपन्यास पनि तयार हुँदैछ । अहिले कथाकार दिवाकर नेपालीज्यू सम्बोधनमा त्यो कथोपन्यासका केही भागहरू प्रकाशित भइसकेका छन् । उत्कृष्ट विषयवस्तु नवीन लेखन शैली र कलात्मक प्रस्तुतिमा सन्तुष्ट नभई म कथा लेख्दिनँ त्यसैले मेरो कथालेखनलाई पातलो मान्नुपर्दछ। कविता र गजल विधालाई चाहँदाचाहँदै पनि स्तरीयतामा लान सकेकी छैन । एउटा निबन्धसङग्ह 'सिर्जना र सन्त्रास' छापिने तयारीमा छ ।

यसबाहेक तपाईको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ?
- हाम्रो देशको साहित्यिक क्षेत्र अत्यन्त उपेक्षित अवस्थामा छ । बालबालिकादेखि नै साहित्यको लगाव बढाउनुपर्छ । यहाँ अभिभावकहरू शौखका लागि फैशनका लागि हजारौँ रुपैया खर्च गर्न तयार हुनुहुन्छ तर बच्चालाई एउटा पुस्तक किन्न गारो मान्नुहुन्छ । मेरो लामो शिक्षण पेशाले यस्ता धेरैकुराको अनुभव बटुल्ने मौका पाएकी छु । सबै अभिभावकले पाठ्यपुस्तक बाहेक बच्चाहरुलाई बाहिरी पुस्तक पढाउने बानी पनि बसाल्नुपर्छ । सरकारी तथा नीजि क्षेत्र दुवैतर्फाट साहित्यलाई उचित स्थान दिइनुपर्छ । यहा धेरै लेखकहरु प्रकाशकबाट ठगिएका छन् । प्रकाशनको उचित व्यवस्था हुनर्ुपर्छ र अन्य साहित्यिक गतिविधिलाई महत्व दिइरहनुपर्छ । साहित्यिक क्षेत्रमा भएको अस्वस्थ्य प्रतिस्पर्धा , खुट्टा तान्ने प्रविधि, आफू मात्र सबैपदमा बसू, आफू मात्र सुविधा भोग गरुँ, आफ्नो मात्र हालीमुहाली होस भन्ने प्रवृृत्तिले साहित्यिकार स्वयम्ले पनि त्याग्नु पर्दछ । एउटा विदेशी हिरोले राम्रो कार किनेर आफ्नो भाइलाई उपहार दिएको समाचार बन्छ तर एउटा साहित्यकारले राम्रो पुस्तक लेखेर विदेशी पुरस्कार पाएको समाचार बन्दैन । प्रत्येक कुरालाई नाफनोक्सानमा तौलेर हेरिने हाम्रो समाजमा अनुत्पादक क्षेत्र साहित्य सधै उपेक्षित रहिरहेको छ । साहित्यक्षेत्र मौलाउन र्सवप्रथम देशको राजनैतिक अवस्था र सामाजिक अवस्था सुदृढ हुनुपर्छ । त्यसैले देशले राजनैतिक निकाशा पाउन हामी सबैले नीजि स्वार्थ त्यागेर राष्ट्रको र जनताको हितमा अघि बढौँ ।

1 comments:

Adams Kevin said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।