July 2, 2009

सुरिया र भकुल्ले

भकुल्ले सानो कुकुर थियो । ऊ भुकलुक्क परेको थियो । ऊ कालो र सेतो, टाटेपाङ्ग्रे थियो । उसकी आमा ऊ सानै हुँदा मरेकी थिइन् । त्यसैले उसकी मालिक्नीले उसलाई सानैदेखि राम्रो हेरचाह गरेर हुर्काइन । उनकी मालिक्नी उसलाई खूब माया गर्दथिन् । ऊ घरभित्र र बाहिर गर्ने गर्दथ्यो । उसलाई जता जान पनि छुट थियो । ऊ कहिले सोफामा बस्दथ्यो । कहिले खाना खाने मेचमा बस्दथ्यो । मालिक्नी उसलाई असाध्यै माया गर्दथिन् । उसलाई दूध र भात खान दिन्थिन् । कहिलेकाहीँ आफूसँगै बजार पनि लिएर जाने गर्दथिन् । मालिक्नीको माया पाएर भकुल्ले पनि हलक्क बढेको थियो । ऊ खुसी भएर नाचिरहन्थ्यो । तर उसको खेल्ने साथी भने कोही थिएन ।
एकदिन भकुल्लेकी मालिक्नीले बिरालो किनेर ल्याइन् । घरमा मुसाको बिगबिगी बढेको देखेर उनले बिरालो किनेर ल्याएकी थिइन् । उनले बिरालोको नाम सुरिया राखिन् ।
सुरिया दयालु स्वभावकी थिइन् । उनी मुसा मार्दिनथिन् । बरु मुसाहरूलाई खराब काम नगर्नू भनेर सम्झाउँथिन् । मुसाहरू पनि सुरियाले भनेको मानेर खराब काम गर्दैनथे । तर उनीहरूको सङ्ख्या भने बढ्दै गएको थियो । सुरियाले मुसा नमारेको देखेर मालिक्नीलाई रिस उठ्ने गर्दथ्यो । त्यसैले उनले सुरियालाई खानेकुरा खान दिन छोडिन् । सुरिया भोकभोकै हुन थालिन् । सुरियाले खान नपाउँदा पनि मुसा मार्ने काम गरिनन् ।
उनी मालिक्नीले भकुल्लेलाई माया गरेको देखेर टुलुटुलु हेर्दिथिन । भकुल्ले पनि सुरियालाई मन पराउदैनथ्यो । ऊ सुरियालाई देख्नेबित्तिकै लखेटदथ्यो । सुरियालाई यो कुरा मन परेको थिएन । उनी कसरी भकुल्ले र मालिक्नीको माया पाउन सकिन्छ भन्ने कुरा सोच्न थालिन् ।
एकदिन भकुल्ले सोफामा बसेको थियो । ऊ मालिक्नीको स्वीटर बुन्ने धागो खेलाउन थाल्यो । ऊ बिस्तारै त्यो धागो भुइमा राखेर खुट्टाले खेेेेलाउन थाल्यो । खेलाउँदाखेलाउँदै त्यो धागो धेरै परसम्म पुग्यो । धेरै पर पुगेपछि धागोको डल्लो हरायो । डल्लाको धागो सकिएर डल्ला हराएको थियो । यो कुरा भकुल्लेले थाहा पाउन सकेन । ऊ त डल्ला हरायो भनी खोज्न थाल्यो । मालिक्नीले डल्ला हरायो भनेर गाली गर्छिन भनेर ऊ रुन थाल्यो ।
सुरिया पनि त्यही आइपुगिन् । उनले भकुल्ले रोएको सुनिन् । भकुल्ले रोएको देखेर उनलाई माया लाग्यो । उनले भकुल्लेलाई सोधिन् - "भकुल्ले के भयो - किन रोएको - "
भकुल्लेले नरम भएर भन्यो - "मैले मालिक्नीको धागोको डल्ला हराइदिए त्यसैले रोएको । "
सुरियाले कुरा बुझी हालिन् - "उनी चलाख थिइन् । "
उनले भकुल्लेलाई आफ्नो बशमा पार्ने राम्रो मौका पाएकी थिइन् । उनले भनिन्- " हेर भकुल्ले, मसँग एउटा जादु छ । म तेरो डल्ल्ाा भेटाइदिन्छु । तर तैले मलाई सहयोग गर्नुपर्छ । "
भकुल्लेले भन्यो - "के सहयोग गर्नुपर्छ - भन न । "
"हेर , तेरो धागो म भेटाइदिन्छु । त्यसको बदलामा तैले मलाई तेरो दूध र भात खानदिनु पर्छ ।"- सुरियाले भनिन् । भकुल्लेले अरू उपाय देखेन अनि 'हुन्छ' भन्यो । सुरियाले भनिन् - "त्यसो भए त सोफाको पछाडि गएर बस म तेरो धागो भेटाइदिन्छु । "
भकुल्ले सोफा पछाडि गएर बस्यो । सुरियाले सबै धागो भेला पारेर डल्ला बनाइ दिइन् । एकछिन पछि भकुल्लेलाई सुरियाले बोलाएर त्यो धागोको डल्ला दिइन् । भकुल्ले छक्क पर्‍यो । उसलाई सुरियासँग साँच्चै जादु हुनर्ुपर्छ भन्ने लाग्यो । त्यसपछि भकुल्लेले सुरियालाई माया गर्न थाल्यो ।
भकुल्ले र सुरिया साथीसाथी भएका थिए । उनीहरूसँगै खाने , सँगै खेल्ने गर्दथे । भकुल्ले मालिक्नीको आँखा छलेर सुरियालाई आफ्नो दूध, भात खान छोडिदिन्थ्यो । किनभने उनीहरूकी मालिक्नी सुरियालाई दूध भात खान दिएको मन पराउँदिन थिइन् । उनी सुरिया बिरालो भएर पनि मुसा नमारेको देखेर रिसाउने गर्दथिन् । सुरिया मुसाहरूलाई सम्झाउने गर्दथिन् । यदि नमानेको खण्डमा झपार्ने गर्दथिन् । मुसाहरू पनि सुरियासँग डराउने गर्दथे । त्यसैले उनीहरू खराब काम गर्दैनथे ।
एकदिन राति भकुल्ले घरको रखवाली गर्दै थियो । त्यसैसमयमा आकाशबाट तारा खस्यो । भकुल्लेलार्इं आकाशबाट खसेको तारा टिप्न मन लाग्यो । ऊ दौडदै चौरमा गयो । ऊ खसेको तारा टिप्न चाहन्थ्यो ।
उसले चौरमा तारा खोज्यो । तर तारा भेटिएन । त्यसै समयमा सुरिया त्यहाँ आइपुगिन् । उनले भकुल्लेलाई सोधिन् - "के खोजेको हँ -"
भकुल्लेले भन्यो - "आकाशबाट तारा खसेको छ त्यही खोजेको ।"
सुरियाले भनिन् - "त्यसरी खसेको तारा कहाँ भेटिन्छ । हिँड , पोखरीमा म धेरै तारा खसेको देखाइदिन्छु ।"
भकुल्ले सुरियाको पछिपछि पोखरीतिर गयो । साँच्चै त्यहाँ त धेरै ताराहरू थिए । उसले कहिले यत्तिका तारा देखेको थिएन । ऊ छक्क पर्‍यो ।
उसले सुरियालाई भन्यो - "सुरिया म यो सबै तारा टिप्न चाहन्छु । "
सुरियाले भनिन् - "यो जादुबाट देखिने तारा हो यो टिप्न सक्दैनौ । त्यो तारा अहिले मात्र देखिन्छ । भोलि बिहान आफ्नै घर जान्छन् । भकुल्लेले सुरियाको कुरा पत्यायो ।"
भोलिपल्ट ऊ फेरि पोखरीमा गयो । ताराहरू बटुलेर ऊ राम्रो लुगा सिउन चाहन्थ्यो । त्यो लुगा लगाएर ऊ राम्रो देखिन चाहन्थ्यो । तर त्यहाँ ताराहरू एउटा पनि थिएनन् । ऊ सुरियालाई माया मात्र हैन आदर पनि गर्नर् थाल्थ्यो । भकुल्लेले आफूलाई माया गरेको देखेर सुरिया पनि औधी रमाएकी थिइन् । तर उनले मालिक्नीको माया पाउन सकेकी थिइनन् । त्यसैले अब कसरी मालिक्नीको माया पाउन सकिन्छ भनेर सोच्न थालिन् ।
सुरिया मालिक्नीको मन जित्ने उपाय सोचिरहेकी थिइन् । उनी प्राय यसैकुरामा लागिरहन्थिन । मालिक्नीलाई कुनै राम्रो काम गरेर मन जित्न पाए हुन्थ्यो भन्ने सोच्दथिन् ।
एकपल्ट राति ठूलो पानी पर्‍यो । मालिक्नी र भकुल्ले ओछ्यानमा निदाइरहेका थिए । मालिक्नीले झ्याल नलगाएकी हुनाले झ्यालबाट पानी सबै भित्र छिर्‍यो । त्यसैबेला सुरियाले थाहा पाइन् । उनी जोडजोडले कराउन थालिन् । उनी कराएको सुनेर मालिक्नी उठिन् । उनी हतारहतार गरेर झ्याल लगाउन थालिन् ।
सुरिया नकराएको भए उनको महङ्गो गलैचा सबै भिज्न सक्दथ्यो । उनी सुरियाले राम्रो काम गरेको देखेर खुसी भइन् । त्यसपछि उनी सुरियालाई पनि माया गर्न थालिन् । मुसाहरूले पनि खराब काम नगरेको हुनाले मालिक्नी सुरियासँग खुसी हुन थालिन् । अब घरमा पाहुनाहरू आएको बेला भन्ने गर्न थाले कसरी कुकुर र बिरालो मिलेर बसेका होलान् । साँच्चै भकुल्ले र सुरिया मिलेर बस्न थाले । मालिक्नी पनि उनीहरू दुवैलाई उत्तिकै माया गर्न थालिन् ।

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।