July 13, 2009

कल्पनाको क्यानभास

प्रिय बहिनी, अनामिका, तिम्रो 'समयको क्यानभास'मा पढेँ । थाहा पाएँ तिमी उही प्रिया?साहित्य)को अर्को रूप रहिछ्यौ । वास्तवमा तिमीले परिचयको ढोका नखोलेर अपरिचयतामा नै परिचयको हजारौँ ढोका खोल्न बाध्य बनायौ मलाई । तिमीले मलाई छोडेर गएपछि म निकैबेर तिमीलाई पर्खिरहेँ । तर तिमी आइनौ । मैले यसबीचमा तिमीभित्र अनुमानका धेरै बिस्कुन फिजाएँ । तिमी एउटी तल्लोस्तरकी नारी हौ, जो स्वार्थपूर्तिका कुनै आधार नहुँदा बिना धार जोसुकैलाई जहाँ पनि छोड्न सक्छौ अथवा तिमी सीमाछेउका सामानहरू ओसारपसार गर्ने क्यारियर हौ, जसलाई मेरो उपस्थितिले बाधा पुर्‍याइरहेको हुनसक्छ , अथवा तिमी कुनै सभ्यनारी हौ जसलाई परपुरुषसँग हिँडेको कसैले देख्छ कि भन्ने त्रास हुन्छ । तिमी धेरै बेर नआउँदा मैले यस्तै अड्कलको डोरीमा तिमीलाई अडकाइ राखेँ । त्यसपछि म त्यहाँबाट डोरिएँ । व्यक्तिले आफूलाई नकरात्मक सोचमा मात्र हिँडायो भने ऊ गलत बाटो हिँड्न सक्छ । त्यसैले मैले तिमीप्रति सकारात्मक सोच राख्न थालेँ । तिमीले मलाई त्यसबेलासम्म साथ दिएकी थियौ । तिम्रो सहयोग कम महत्वपूर्ण थिएन । तिमीभित्र मैले अलिकति प्रेम र अलिकति विश्वास रोपेको थिएँ । नत्रभने अहिले स्वार्थीपनले निलेको समयमा तिमीजस्तो सहयोगी भेट्टाउन मुस्किल पर्न सक्थ्यो । तिमीले मेरो शिरमा विश्वासको एउटा श्रीपेच पहिराएकी थियौ ,जसलाई मैले सजिलो फ्याक्न हुँदैनथ्यो । तिम्रा आँखाहरूमा मैले समस्या र बाध्यता पढेको थिएँ । त्यसैले राहतका केही आहट लिन तिमी जोगबनी गएकी हुन सक्थ्यौ । तिम्रा ओठहरू बोल्न नसकेका धेरै शब्दहरूले सुकेका देखिन्थे । मैले तिमीलाई आफूभित्र प्रवेश गराएको थिएँ । तिमी मेरो कथाकी एउटा पात्र हुनसक्थ्यौ । त्यैसैले तिमीसँग बिताएका प्रत्येक पललाई सजीव बनाउँदै लगेको थिएँ । तिमी मेरो कथाको प्रतिबिम्ब थियौ । तिम्रा आँखामा मेरा कथाका घटनाहरू सल्बलाइरहेको पाएँ । तिम्रा ओठमा मेरा कथाका शैली र प्रस्तुति मुस्कुराइरहेका थिए । तिम्रा शरीरका प्रत्येक अङ्गले बिम्ब र प्रतिक झल्काइरहेका थिए । तिम्रा हिँडाइ र चालमा, मैले मेरा कथाका शब्द र अलङकार सल्बलाइरहेका पाएँ । तिमीसँग बिताएका प्रत्येक समय मेरा कथाका विषयबस्तु थिए । कतै तिमीले मलाई चिनेकी हैनौ ? भन्ने आशङ्का ममा पलाएको थियो । तिमीले अव्यक्तरूपमा नै यी कुराहरू व्यक्त गरिरहेकी थियौ । म पनि तिमीले देखाएको अज्ञानतामा रमाइरहेको थिएँ । जसरी एउटा बालक अनभिज्ञतामा नै क्षणिक खुसीको लागि रमाइरहेको हुन्छ । त्यसैले तिमीभित्र मैले अलिकति माया रोपेको थिएँ । तर तिमीले अचानक मलाई छोड्दा म अन्योलमा परेको थिएँ । तर तिमीलाई पनि कुनै समस्या परेको हुनसक्थ्यो जुन मेरो उपस्थितिमा गर्न वा भन्न अप्ठ्यारो भएको हुनसक्थ्यो मैले यति चाँडै तिम्रो आस्थाको दियो निभाउन हुँदैनथ्यो । त्यसैले तिमीप्रति सकरात्मक सोच राख्दै तिमीभित्र रोपेको मायालाई हुर्काउँदै लगेँ । तिम्रो बिदाइलाई मैले हाँसीहाँसी स्वीकारे । म तिम्रै विषयमा नानाथरीका कल्पना, परिकल्पना डुब्दै, उत्रदै हिडेँ । कल्पनाको क्यानभासमा अनेकौँ चित्र कोरिदै गए, मेटिदै गए । तर म थाकिनँ, कोर्दै गएँ, कोर्दै गएँ । अन्तिममा गएर तिम्रो छायालाई कल्पनाको यस्तो बिन्दुमा पुर्याए । जुन बिन्दुलाई व्यक्तिले जुनरूपमा हेर्छ त्यही रूपमा पाउँछ । त्यहाँ उसले प्रेमको जुन आकार कोर्न खोज्छ त्यही आकार पाउँछ । त्यो कलाकारिताको एउटा उत्कृष्ट नमूना थियो । प्रेमको उत्कृष्ट कलाकारिता जसले जुन प्रतिमूर्ती स्थापना गर्न चाहन्छ त्यही राख्न सक्छ । मैले आफ्नो साहित्यसाधनामा तिम्रो सन्निध्यमा यो अर्मूत कला रच्न सकेँ । यसको लागि तिमीलाईँ धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो कथा तिमीजस्तै हजारौँ मेरा प्रिय आत्मालाई समर्पित गर्न चाहन्छु । सायद यसको शिर्षक मैले 'तिम्रो सम्झना'मा राख्न रुचाएँ ।
तिम्रो सम्झनामा
तिमीसँग जब बिहान ब्युँझन्छ, एउटा अन्धकार निलेर तब उषाको लालीले धर्तीमा सजीवता छरेझंैँ छरिन्छन्, तिम्रा सजीव पाइलाहरू । तिमीसँग बग्छन् वर्तमानहरू अनि समयको लहरसँगै खुसीहरू तरङ्गित हुन्छन् । जब तिम्रो हाँसो फुल्छ लालीगुराँसझेँ अनि असीमित आनन्दहरू आफै फैलन्छ , हावामा सुगन्ध फैलिएझैंँ । तिमी जहाँ जहाँ फैलन्छौ , सम्पूर्ण आयतन ओगटन सफल हुन्छ्यौ, तिमी जीवन्त भएर । तिम्रो अज्ञानताले भरिएको क्रीडाले समयलाई रोकिदिन्छ । जसरी शहरको घन्टीसँगै नागरिकहरू समयको पछि दौडिरहेका हुन्छन, हो त्यसरी नै तिम्रा प्रत्येक क्रीडाका पछि समय दौडिरहेको हुन्छ । तिम्रा मधुर पदचाप मन्दिरको कठ्य घन्टीझँ झङ्कृत भइरहन्छ ।
तिमीले अज्ञानतावश गरेका गल्तीहरू पनि सहज भइदिन्छ । तिमीसँग एउटा कालजयी समय छ जोसँग तिमी बाँचिरहेकी छ्यौ । तर कुनैबेला तिमीलाई गाह्रो भइदिन्छ, आफ्नो समयसँग बाँच्न । तिमीलाई हिँड्न कठिन भइदिन्छ, तिमीलाई भोग्न कठिन भइदिन्छ, अनि प्रत्येक पाइलामा झारिदिन्छ्यौ मोतीरूपी आँसुहरू, म पनि बग्छु ( तिम्रो बैँसालु खहरेसँगै । केहीसमयपछि बैँस सकिएको खहरे जब सुक्छ, तिमी पनि सुकिदिन्छौ केही नभएजस्तो गरी । तिम्रा प्रत्येक क्रियाकलापहरू सहज भइदिन्छ । सायद तिमीले सहजताका दुबेमाला पहिरेकीछ्यौ । जुन जुनसुकै परिस्थितिमा पनि हरियो नै भइरहन्छ ।
म सोच्छु तिमी नै संसार हौ , तिमी नै सृष्टि हौ , तिमी नै सागर हौ । तिमीभित्र म आफ्ना धेरै पीडाहरू लुकाउन चाहन्छु । एउटा समुन्द्र अथाह पीडा बोकेर पनि शान्त र सुरम्य हुनु पर्ने बाध्यताले थिचिएझैँ , म आफ्ना पीडाहरू तिमीभित्र गर्भित गर्न चाहन्छु । तिमी समुद्र हौ, तिमीभित्र अथाह सुन्दर वस्तुहरू छन् । जसलाई प्राप्त गर्न म लालयित भइरहेको हुन्छु , म आफ्ना फुलाउन नसकेका आलाकाचाँ चाहनाहरू तिमीसँग साट्न चाहन्छु । तिमी चौतारी हौ । जहाँ म सुस्ताउन चाहन्छु अनि आफ्नो थकान मेटाउन चाहन्छु । तिमी मेरो सृष्टि हौ । तिमीलाई मैले सिर्जना गरे । तिमीले एउटा सिंगो संसार बोकेकी छ्यौ । तिमीमा म संसार देख्छु । गीतामा अर्जुनले कृष्णमा अलौकिक शक्ति समाहित भएको देखेझैँ म पनि तिमीमा त्यो र्सार्वभौम संसार देख्छु । तिमीमा भूत, वर्तमान र भविष्य देख्छु । म प्रत्येक पल यसैमा बाँचेको हुन्छु । तिमीलाई कुनै कालले , दोष, आक्षेप, कष्ट नदिऊन् म यसैमा हराइरहेको हुन्छु । तिमीले बाँच्नुपर्छ काललाई हराएर मृत्युलाई जितेर । तिमीले हराइ दिनुपर्छ ती सम्भावनाहरूलाई जसले मृत्युलाई विजयी बनाउँदछ । जसरी कालो रातलाई निलेर दिनले निर्जिव बनाउँदछ , हो त्यसरी नै तिमीले निलिदिनु पर्छ मृत्युलाई । तिमी समय हौ त्यसैले समय आफैदेखि भागेर टाढा जान सक्दैन पलपल बाँचिरहेकी छ्यौ । तिमी मेरो मुटुमा , मेरो मानसपटलमा कहीँ कतै । कुनै बेला तिम्रा अबोध चाहनाहरूसँग म रोकिन्छु , ठोकिन्छु , अनि टुक्रिन्छु । तर म असीमित आनन्दसँग तिम्रा चाहनाहरू साटिरहेको हुन्छु । कहिलेकाहीँ म तिमीभित्र सुन्दर कलाकृति देख्छु । एउटा उत्कृष्ट कालिगढको कला हौ तिमी जसमा धेरै कुराहरू झल्किरहेको हुन्छ । तिमी शुक्लपक्षको चन्द्र हौ जो दिन पर दिन आफ्नो उज्ज्वलता बढाइरहेको हुन्छ । जसको मधुर प्रकाशले अदभूत आनन्द दिइरहेको हुन्छ ।
तिम्रा अवोध आँखाले धेरै कुरा बोध गराइरहेको हुन्छ । जहाँ इच्छा छ , चाहना छ , जिज्ञासा छ, उत्सुकता छ । तिमी कहिलेकाहीँ असीमित चाहनाहरू ब्यक्त गर्दछौ । जुन चाहना मेरा लागि महाभारत बनेर अगाडि तर्ेर्सिदिन्छ । तिमी कहिले जिज्ञासाको ब्रद्मस्त्र प्रहार गछ्यौ । म मर्माहत हुन पुग्दछु , तिम्रो अस्त्रदेखि कहिलेकाहीँ तिमी उत्सुकताको बिस्कुन छरिदिन्छ्यौ , आकाशमा हजारौ तारा छरिएझैँ । म आफू अर्समर्थ हुन्छु ती उत्सुकता बटुल्न । तिम्रा हरेक क्रियाप्रतिक्रियाबाट म एउटा समीकरण तयार गर्छु जसलाई समाधान गर्न मलाई केही समय लाग्न पनि सक्छ, अथवा वषौँ लाग्न पनि सक्छ । तिमीले देखाएका साधारण क्रियाकलाप पनि कहिलेकाहीँ मेरालागि अदभूत हुन पुग्दछ । तिम्रा अलौकिक क्रियाकलापहरू आफूमा एउटा सुन्दर उदाहरण हुन , तिमी उत्कृष्ट हुनुको । तिम्रा पछाडि हजारौ इष्यार्लु र्सपहरू पछ्याई रहेका पनि हुन सक्छन् । तर तिमी निदोर्षछौ । तिम्रो निदोर्षना नै मेरो कमजोरी भइदिन्छ । मेरो कमजोरीले तिमीलाई बिगार्न पनि सक्छ , त्यसैले म र्सतर्क भइदिन्छु बेलाबखत । आफूलाई नियन्त्रित पार्न जतिसुकै कठिन भएपनि म प्रयासरत रहन्छु । नत्रभने मेरो कमजोरीपनाले तिमीमा विकृति देखापर्न पनि सक्छ । जसले तिमीलाइ जीवनपर्यन्त असफल बनाइदिन सक्छ । किनभने तिमी मेरो सुन्दर भविष्य हौ । तिमीभित्र मेरा धेरै सपनाहरू छन् । ती सपनाहरू तिम्रो भविष्यको प्रतीक्षामा छन् । तिमीले आप
जीवन्त हुनुपर्छ अनि मेरा सपनाहरू जीवन्त पार्न सक्नुपर्छ । तिमी भोलिको सुन्दर आशा हौ जसले धेरै निराशाहरूलाई आकृतिविहीन बनाउन सक्नुपर्छ । लाग्छ यो समय रोकियोस् । सधै स्थीर भइरहोस् , कहिल्यै नबगोस्, तर प्रकृति आफ्नो नियममा चलिरहन्छ । जसलाई कसैले नियन्त्रणमा लिन सक्दैन । त्यसैले म बगिदिन्छु तिमीसँग , प्रकृतिसँग , थाहा छैन मलाई समयले कहाँ पुर्‍याउँछ , कहाँ डोर्‍याउँछ । हृदयमा एउटा मीठो अतीत भएर तिमी बाँचिरहन्छौ । हाम्रो मिलन, त्यो एउटा समय थियो ,त्यो एउटा संयोग थियो, त्यो एउटा आवश्यक थियो । मैले तिमीभित्र आत्माविश्वासको एउटा दरिलो मन्दिर तयार गर्राई दिए । जहाँ प्रेम, आस्था,र विश्वासका त्रिमुर्तिहरू सजिए । तिमी पूजा गर्न थाल्यौ । त्यसबेला त तिमी प्रत्येक पाइलामा सफलताको खुडकिलो चढ्दै गयौ । तिमीभित्र सत्य थियो जुन सत्य यथार्थमा परिणत भएको थियो । प्रेमको परिभाषा आआफ्नै हुन्छ । प्रेम नै इश्वर हो । प्रेम नै पूजा हो । प्रेम नै संसार हो । तिमीप्रतिको मेरो प्रेमको परिभाषा धेरै छन् । जसरी आकाशमा सप्तरङ्गी इन्द्रणीले रङ्गको हजारौँ किरण फैलाउँछ । हो त्यसरी नै तिमी प्रतिका मेरो प्रेमको परिभाषा खुल्न आउँछ । जीवन अमूल्य छ । यहीँ अमूल्यतले जन्माउँछ प्रेमको परिभाषालाई, तर तिमी कसरी स्वीकार गर्र्छौ ? खै मेरो प्रेमलाई ।
मैले तिम्रो सम्झनामा यी शब्दहरू कोरिदिएको थिएँ । समयले यति चाँडै हामीसँग इष्र्या गर्छ होला भनेर मैले सोचेको थिइनँ । त्यो वर्तमान त्यति चाँडै अतीत बन्ला भन्ने पनि सोचेको थिइनँ । तर भयो , व्यक्तिले आफूले सोचेकै कुरा मात्र हुन सक्छ भन्न सकिन्न रहेछ । तिम्रो कथा पढेपछि थाहा पाएँ, वास्तवमा तिमी त्यससमय पेन्टी र ब्रा किन्न गएकी रहिछ्यौ । त्यसपछि तिमीप्रतिको मेरो भ्रमलाई तिम्रो सम्झनाले धोईपखाली गरिदिए । वास्तवमा नै तिमीसँगको मेरो भेट एउटा संयोग, एउटा आवश्यक र एउटा समय थियो । जसको क्यानभासमा मैले आफ्नै अर्मूत रचना कोर्न सकेँ । तिम्रो र मेरा बिछोड पनि एउटा समय, थियो । दिन पछि रात अपरिहार्य भएझैं यो पनि काट्य थियो । जसको क्यानभासमा तिमीले आफ्नो प्रेमको परिभाषा देखाउन सक्यौ । त्यससमयलाई यति जीवन्त र मार्मिक बनाउन सफल भयौ । वास्तवमा शाश्वत प्रेम भनेको यहीँ हो । तिमीले बुझेको प्रेमको परिभाषा र मैले ब्याख्या गरेको प्रेमको परिभाषा एउटै रहेछ । तिमी स्वयं एउटा सफल कथाकार रहिछ्यौ । तिमी पनि यो कथा पढेर आफ्नो कथाकारितालाई वा मलाई नै प्रतिमूर्ती बनाएर 'तिमो सम्झनामा' स्थापित गर्न सक्छौ । जसरी मैले तिमीलाई स्थापित गरेँ ।
उही तिम्रो प्रिय कथाकार
दिवाकर नेपाली ।

3 comments:

Shiva Prakash said...

शर्मिलाजी, यो पातोको अावरण पुरै परिवर्न गर्नु भएछ, अझ राम्रो देखिएको छ । अब सृजना खोतल्दै छु ।

Shiva Prakash said...

"हाम्रो मिलन, त्यो एउटा समय थियो ,त्यो एउटा संयोग थियो, त्यो एउटा आवश्यक थियो । मैले तिमीभित्र आत्माविश्वासको एउटा दरिलो मन्दिर तयार गर्राई दिए । जहाँ प्रेम, आस्था,र विश्वासका त्रिमुर्तिहरू सजिए । तिमी पूजा गर्न थाल्यौ । त्यसबेला त तिमी प्रत्येक पाइलामा सफलताको खुडकिलो चढ्दै गयौ ।"
यो कथा वास्तवमै अमूर्त छ,चिन्तनप्रधान छ। मेरो अनुमानमा कथा स्वयं नै अनामिका र अनामिका स्वयं नै कथा भए जस्तो लाग्यो ।
धन्यवाद दिवाकरजी यो चिन्तनपरक कथाका लागि ।

शखदा said...

धेरै धेरै धन्याद शिवडी, तपाइको बहुमूल्य सुझावको हार्दिक स्वागत गर्छु ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।