माघ १ गते शुक्रवार साँझ सात बजेतिर म मेरी सानी छोरीसँग कोठामा खेल्दै थिएँ । त्यसै बखत फोनको घन्टी बज्यो- "हेलो, हो....." उताबाट स्थानीय पत्रकार श्री कृष्णप्रसाद भट्टर्राईज्यू बोल्दै हुनुहुन्थ्यो- "मैडम, तपाईँले आफ्नो पुस्तक सानी, पुरस्कारको लागि कतै दिनु भएकोथ्यो -" मैले सम्झँदै भने- "हो, अं, दिएको थिए“ साझा प्रकाशनमा ।"
"त्यसो हो भने तपाईँले साझा पुरस्कार पाउनु भएको छ ।"
उहाँले भन्नुहुँदा सानी छोरी फोनमा बोल्छु भनेर रोईरहेकी थिई । मैले कुरा राम्ररी बुझिनँ । अनि "होइन होला" भने । केहीछिनको वार्तालापपछि फोन राखिदिएँ ।
"मैले साझा पुरस्कार पाएँ- मैले विश्वास नै गरिनँ । अरू कोही होला अर्कै सुनेको होला भन्ने ठानेँ । त्यसपछि सानी छोरी फोनमा बोल्छु भनेर रोईरहेकी थिई । उसलाई फकाउन माइत धरानमा फोन गरेँ । उताबाट बहिनीले आत्तिदै भनी- "दिदी तपार्इँले पुरस्कार पाउनु भयो रे सानी पुस्तकमा आमाले कान्तिपुर एफ.एम. सुन्नुभयो रे आमा खुसीले सबैलाई सुनाउँदै हुनुहुन्छ ।" बैनीले एकै सासमा भनी । मैले अहिले पनि विश्वास गरिन“ 'बूढाबूढी मान्छे के भनेको के सुन्नुभयो होला ।'
त्यसको एकछिनपछि फोनको घन्टी बज्ने क्रम बढ्यो । धेरै ठाउँबाट बधाइको फोन आयो । तर मलाई चाहिँ अझै विश्वास लागेको थिएन । बेलुका ९ बजेको कान्तिपुर एफ.एम. सुन्छु भन्दै थिएँ । कम्प्युटरमा बसेको हुनाले यादै भएन ।
भोलिपल्ट बिहान रेडियो नेपालको समाचार सुनेँ, आएन । त्यसपश्चात् पत्रपत्रिकामा आ“खा दौडाए, त्यसमा पनि कतै थिएन । मलाई विश्वास घट्दै गयो । बिहान ९ बजे पुनः एफ.एम. सुनेंपछि केही विश्वास बढ्यो । दिउँसो म बाहिर थिएँ । साझा प्रकाशनबाट फोन आएछ । मेरो एकजना धरानकी साथीलाई धरानका साझा प्रकाशनका इन्चार्जज्यूले 'जीएम साबले भन्नुभएको तपाईंको एस.ओ.एस.मासँगै काम गर्ने तपाईँको साथी फलानोले साझा पुरस्कार पाएको छ भनिदिनु भन्नुभएको छ ।' भन्नुहुँदा मात्र मलाई पूर्ण विश्वास भयो ।
त्यसपछि म मनोवादमा रुमलिन पुगेँ । यो साझा पुरस्कार मैले कसरी पाएँ म अचम्ममा परेँ । हुन त मेरो जिन्दगीमा मैले योजस्तो अप्रत्यासित खुसी कहिल्यै पाएको थिइनँ । मेरो खुसीको कुनै सीमा थिएन । तर एउटै पुस्तक मात्र निकालेको म मोफसलको साहित्यकार त्यो पनि महिलालाई कत्रो विश्वास गर्नु भएछ साझा प्रकाशनका अग्रजहरूले । म लगायत धेरैजना छक्क पर्नुभयो । तर मैले वास्तवमा हिराले नै हिरा चिन्छ भन्ने कुरा प्रमाणित भएको महसुस गरेँ ।
वास्तवमा सानीको लोकप्रियताले गर्दा मलाई यो पुस्तक नेपाली बालसाहित्यमा उच्च स्थान ओगट्छ भन्ने विश्वास थियो । यद्यपि यसले पुरस्कार नै नपाएको भए पनि यस्को स्थान उच्च नै छ र उच्च नै रहनेछ । त्यसपछि मैले आफूलाई विगतको ऐतिहासिक चहलपहलमा डुलाए“ । सानीको अदृश्य छवि चित्रित हुँदै गरेको पृष्ठभूमिमा आफूलाई उभ्याएर हेरेँ ।
त्यससमय मात्र सात-आठ वर्षभएको थियो, मैले शिक्षण पेशा अपनाएको भनौँ बालबालिकासँग हेलमेल भएको, जुन समयमा 'सानी' बालमनोवैज्ञानिक उपन्यासको काल्पनिक कथावस्तु भविष्यको गर्भमा लुकेको थियो । घर तथा विद्यालय दुवै ठाउँमा धेरै जसो समय बालबालिकासँग बिताउनु पर्दा उनीहरूप्रति मेरो संवेदना बढ्दै गएको थियो । म उनीहरूप्रति बढी संवेदनशील र भावुक हुन पुग्दथेँ । उनीहरू रोएको देख्न सक्दिनथेँ । यदि कुनै कारणले विद्यालयमा रोएँ भने मेरो मुटु कटक्क काटिन्थ्यो । म सधैँ मायालुभाव राख्दथेँ । अनि त्यसै अनुसार पढाउँथेँ । यसरी म उनीहरूलाई केही सिकाउँदै आफू पनि केही सिक्दै थिएँ । त्यससमयमा म कक्षाशिक्षिका थिएँ । त्यसपछि मैले माथिका कक्षामा नेपाली विषय पढाउनु पर्ने भयो । नेपाली विषय पढाउँदा उनीहरूलाई कथा, चुट्किला सुनाउनु पर्ने हुन्छ । यसरी सुनाउने क्रममा मेरो बालसाहित्यप्रति आकर्षा बढ्दै गयो । पुस्तकालयमा अङ्गे्रजी विषयका विभिन्नस्तरका विद्यार्थीहरूका लागि प्रशस्त पुस्तक हुन्थे । तर नेपाली विषयका त्यति थिएनन् । त्यसताका नेपाली बालसाहित्यमा अहिलेको जस्तो प्रशस्त पुस्तक कहाँ थिए र भएका पनि कमजोर खालका र अप्ठ्यारा शब्द भएका हुन्थे । फेरि उनीहरूको उमेरलाई ध्यान दिएर लेखिएको हुँदैनथ्यो । यस्तो देख्दा मलाई नरमाइलो लाग्दथ्यो । भविष्यका कर्णधार हाम्रा नानीहरूले यस्तो नियति भोग्नुपर्दा नरमाइलो लाग्दथ्यो । त्यसपछि बिस्तारै म बालसाहित्यका पुस्तकहरू पढ्न थाले“ । केही बालकथाका कथावस्तुहरू लेख्न थालेँ । जुन कथावस्तुले पछि सानी बालमनोवैज्ञानिक उपन्यासमा ठाउ“ पाए ।
त्यसपछि फेरि म नेपाली विषय पढाउन छोडेर नर्सरीको कक्षाशिक्षिका हुन पुगेँ । कक्षाशिक्षिकाको रूपमा कामगर्दा मैले नानीहरूको व्यक्तिगत ख्याल राख्नुपर्ने हुन्छ । यसैक्रममा मेरो कक्षामा एउटी विद्यार्थी थिइ जोस“ग म नजिक हुन पुगेँ । उसकी आमा ऊ जन्मेकी पाँच छ महिनामा बितेकी थिइन् । ऊ धेरै कम बोल्दथी । कक्षामा ज्ञानी र पढ्न जान्ने भए पनि घरमा सबैलाई दुःख दिन्थी । उसकी कान्छी आमा थिइन् । शुरुमा उसँग बस्दिनथिइन् । उसको बुवासँगै जागिरमा गएकी थिइन । पछि उसको भाइ जन्मेपछि साथ बस्दै आएका थिए । उसकी कान्छी आमाले उसलाई असाध्यै माया गर्थी । तर ऊ अर्कै अर्थात् फरक स्वभावकी थिई । कहिले भनेको नमान्ने जिद्धी गर्ने, झगडा गर्ने गर्थी । उसकी आमाले बरोबर कक्षामा आई मलाई यी सब कुरा सुनाउँथिन् । 'मेमलाई भनिदिन्छु' भन्दा ज्ञानी हुन्थी अरे । यसरी उसकी आमाले मलाई बेलाबेलामा घरमा फोन गरेर बोलाउँथिन्, म पनि जान्थे र सम्झाउँथे । मैले सम्झाएपछि मान्थि पनि । एउटा शिक्षिकाको भूमिका विद्यालयमा मात्र नभई बाहिर पनि हुन्छ भन्ने ठान्दथे“ म । यसरी ऊसँग नजिकिँदा म उसको मनोवैज्ञानिक पक्षको धेरै नजिक पुगेँ । उसको भावशून्य अनुहार, एकोहोरो हेराइले मैले आफूभित्र धेरै अनुभूति गराउँदथ्यो । सबै कुरा भएर पनि के नपुगे जस्तो उसको गम्भीर प्रवृत्ति देखेर म प्रभावित हुन पुग्दथेँ । यस्तै भावनात्मक संवेदनाबाट तरङगित भएर मैले एउटा आमा गुमाएकी टुहुरी बालिकाको काल्पनिक चित्रण गर्न पुगेँ ।
हाम्रो नेपाली समाजमा कान्छी आमा भनेपछि खराब हुन्छन् भनेर जुन लोकोक्ति छ अनि बालसाहित्यमा पनि त्यस्तै लोककथा पढ्न दिइन्छ यो ठीक होइन भन्ने सोचाइमा म पुगेँ । यस्तै नकरात्मक सोचाईले द्रविभूत भएपछि मैले पहिला लेखेर छोडेको कथाका विषयवस्तुहरूलाई सानी केटीको काल्पनिक चरित्रमा क्रमशः उतार्न थालेँ । नभन्दै एउटा सानो चिटिक्क परेको उपन्यास तयार भयो । उपन्यास त तयार भयो तर धेरै कुराको अनभिज्ञताले मैले त्यसलाई त्यसै मिल्काएं, मूल्य विनाको सोचेर । आज जस्तो त्यो मिल्काएको पुस्तकले राष्ट्रियस्तरको पुरस्कार पाउँछ भन्ने कल्पना पनि गरेको थिइन ।
जीवन बग्दै गयो । यसरी केही वर्षबिते । जीवन बग्ने क्रममा कहिले उकाली आउँदो रहेछ, कहिले ओराली, कहिले साउने भेल त कहिले शान्त बेग । यस्तै भोगाईको क्रममा मैले तीतो सत्यसँग कुस्ती खेल्नु पर्यो । म के हुँ र म हो हुँ भन्ने खोजी आफैँभित्र गर्न थालेँ । मैले आफूले आफैलाई अस्तित्वविहीन, उद्देश्यविहीन ठान्न पुगेँ । यही सत्यताको खाजी गर्ने क्रममा म साहित्यको सहारा लिन पुगेँ । अन्ततः मभित्र रहेको साहित्यले हौसिने मौका पायो । मैले साहित्यमा अस्तित्व देखेँ अनि जीवनको उद्देश्य पनि । यसमा डुब्दा मैले शान्ति पाएको महसुस गर्न थालेँ । सत्यको खोजीमा तड्पिएको, भड्किएको मेरो आत्माले घरभित्र नै सत्य भेट्टायो । जसले मलाई शीतलता प्रदान गर्दथ्यो । यसै समयमा हामीले इटहरीमा साहित्य सञ्चार समूह स्थापना गरिसकेका थियौँ । यतिञ्जेलमा मेरो एक दुइ वटा कथाहरूले निकै चर्चा पाइसकेका थिए । म ठूलो छहारीको खोजीमा भौतारिँदै विराटनगरको वाणी प्रकाशनमा पुगेँ । यसअघि म साहित्यको लागि घरदेखि एक पाइला पनि बाहिर हि“डेको थिइनँ । वाणी प्रकाशनमा अध्यक्ष श्री परशु प्रधानज्यूस“ग भेट भयो । उहांले बडो शिष्टाचार र आत्मीयता देखाउनु भयो । उहाँको प्रेरणादायी व्यक्तित्वले मलाई थप उर्जा प्राप्त भयो । उहाँ र भाउजू कल्पना प्रधान बालसाहित्यकार हुनु भएकोले मैले मेरो सानी र अन्य बालकथाहरू देखाएँ । उहाँले 'अन्य भन्दा सानी धेरै राम्रो छ' भन्नुभयो । उहाँले सानी पुस्तक छाप्न 'रत्नलाई भनिदिन्छु' भन्नुहुँदा म निकै खुसी भएको थिएँ तर पछि छापिन समय लाग्छ भन्ने कुरा थाहा पाउँदा म हिस्रिक्क परे“ । त्यसपछि मैले आफैँ छाप्नुपर्ला भनेर घर सल्लाह गरेँ । मेरो श्रीमान् -तेजबहादुर दाहाल) बाट यो कुरा मन्जुर भयो । त्यसपछि म छाप्ने प्रक्रियामा लागेँ । बालपुस्तक छाप्न र्सवप्रथम चित्रकारको आवश्यकता हुन्छ । म चित्रकारको खोजी गर्न थालेँ । तर मैले चित्रकार भेट्टाइन । यस समयमा 'सानी' पुस्तकको विषयमा सरसल्लाह दिई कोसेढुङ्गाका सम्पादक तथा मेरा मित्र दिनेश पौडेलज्यूले मलाई ठूलो सहयोग गर्नुभयो । चित्रकार नभेटिएपछि मेरो 'सानी'ले समाजमा पदार्पण हुन नपाउने भयो भनेर मलाई ठूलो चिन्ता पर्यो । म रातभर निदाउन सकिन । छटपटी बढीरह्यो । मैले यो छट्पटी कवि अनिल पौडेलज्यूलाई व्यक्त गरेँ । उहाँले 'काठमाडौँ आउनुहोस् म सबै सहयोग गर्छुभन्नु भएर मलाई ठूलो वैतरणीको काम गर्नु भयो । त्यसपछि घरसल्लाह गरेर सत्र महिनाकी सानी छोरी छोडेर म एक्लै काठमाडौँ गएँ अर्की सानीका लागि । यसरी म एक्लै काठमाडौँ जानु भनेको मेरो लागि ठूलो साहसी काम थियो । म काठमाडौँ आएपछि अनिलजीले भरमग्दुर सहयोग गर्नु भयो । दुइ दिन पुरै हामी सानी प्रकाशनको तयारीमा लाग्यौँ । अनिलजीको यो अमूल्य सहयोग म आजन्म भुल्न सक्दिनँ । प्रकाशनको समपूर्ण जिम्मा अनिलजीलाई छोडेर म घर फर्किएँ । त्यसको एक महिनापछि मेरो पुस्तक प्रकाशित भयो र विमोचित पनि । यसक्रममा मबाट अज्ञानतावश सानातिना गल्तीहरू भएका छन् । आगामी दिनहरूमा ती भुल नदोहोर्याउने प्रण गरेकी छु ।
पुस्तक प्रकाशित भएपछि धेरैले मन पराउनु भयो । विराटनगर कोशी अञ्चल अस्पतालका बाल विभाग प्रमुख डा.आर.पि.बिच्छा यो पुस्तक पढेर अत्यन्त प्रभावित हुनुभयो । त्यस्तै पुनरावेदन अदालत विराटनगरका न्यायधीश कृष्णप्रसाद बस्यालज्यूले फोन गरेर -हाम्रो परिचय नै भएको थिएन) बधाइ तथा धन्यवाद दिनुभयो । त्यस्तै धेरै साथीभाइ, इष्टमित्रहरूले बधाइ तथा धन्यवाद दिनुभयो । कसैले यसलाई टेलिचलचित्र बनाउनुपर्ने, कसैले अरू भाग पनि लेख्नु पर्ने सुझाव दिनुभयो । म आफू पनि यसको अर्को भागहरू लेखेर 'हेरीपोर्टर'झै“ धारावाहिक बनाउने सोचमा छु । साथै यसको अर्को भागको लागि कथावस्तुहरू तयार पनि हुँदैछन् ।
यसरी सानीबाट पाएको अपार हौसला, प्रेरणाले मलाई यति उत्साहित र क्रियाशील बनायो कि मैले सानी प्रकाशित भएको एकवर्षभित्र अन्य दुइ अत्यन्त रोचक उपन्यास 'सिन्केको सफलता' र मित्रताको महत्त्व लेखिसकेको छु । जुन छापिने प्रक्रियामा छन् । साथै अर्को बालकथा सङ्ग्रह 'चतुर स्यालको बुद्धि' र एकाङ्की सङ्ग्रह 'उज्यालो बाटो शिक्षाको' पनि छापिने प्रक्रियामा छन् ।
हो, यसरी मेरो 'सानी' बालमनोवैज्ञानिक उपन्यासको जन्म भयो । यसको जन्मको कथा लेखेर र्सार्वजनिक गर्न पाएकोमा अत्यन्त आत्मसन्तुष्टि मिलेको छ मलाई । अझ यसलाई साझा पुरस्कार प्रदान गर्नु भएर मलाई मात्र हैन सानीलाई पनि ठूलो गुण लगाउनु भएको छ साझा प्रकाशनका अग्रजहरूले । किनभने सानीबाट नेपाली बालसाहित्यमा नौलो धारणाको धार बगेको छ । जुन धारलाई समय सापेक्ष हामीले विकास गर्दै लानुपर्छ भन्ने मलाई लागेको छ । अन्त्यमा पहिलो कृतिमा नै राष्ट्रियस्तरको साझा प्रकाशनको पुरस्कार प्राप्त गरेको हुनाले मैले अबका दिनमा धेरै चुनौतिहरू र अप्ठ्याराहरूको सामना गर्नु पर्नेछ भन्ने महसुस गरेकी छु । पुनः एकपल्ट साझा प्रकाशनप्रति अत्यन्त आभार प्रकट गर्दछु । गरिमा २०६२ वैशाख
3 comments:
so nice hai and marmik pani
Thank you. umesh jee.
Thank you. umesh jee.
Post a Comment