October 23, 2009

म, मेरो कविता र माछापुच्छ्रे

"तपाईँको कविता मलाई असाध्यै मन पर्यो । बधाई छ । यस्तो सुन्दर कविताको लागि ।"
"तपाईँको परिचय "
"म स्पन्दना ।"
"ओहो † कति सुन्दर नाम घर कहाँ -"
"झापा, चारआली ।"
"मेरो मोबाइल नं. कहाँबाट पाउनुभयो -"
"कविता छापिएको पत्रिकामा मेरो दाजु काम गर्नुहुन्छ । उहाँबाट ।"
"ओहो † त्यसो हो भने तपाईँ कविताको फ्यान हो ।
"हो भन्नुपर्यो, तर आफूलाई लेख्न आउँदैन ।"
"प्रयास गर्दा भइहाल्छ नि ।"
"सिकाईदिने हो ।"
"कसरी - एसएमएसमा सम्भव छ -"
"भैगो त ।"
मेरो कविता 'अधुरो जीवन' राष्ट्रिय पत्रिकामा छापिएको दिन । वास्तवमा कलाका फ्यानहरू पनि आ-आफ्नैखाले हुन्छन् । अझ टिनएजरलाई लाग्ने कलाको नशा नै अर्के हुन्छ । उनीहरू यति भावुक भएर लाग्छन् कि घर परिवार, समाज, समय केही कुराको हेक्का राख्दैनन् । यस्ता कलाको नशामा डुब्नेहरूमा किन हो युवकभन्दा युवतीहरू नै बढी देखिन्छन् । गायकका फ्यान हुने, कलाकारका फ्यान हुने, कविका फ्यान हुने, चित्रकारका फ्यान हुने, खेलाडीका फ्यान हुने प्राय जसो युवतीहरू नै हुने गर्दछन् युवतीहरू यस्ता क्रेजमा धेरै अगाडि हुन्छन् । यस्तै मेरो कविताको प्रशंसकको लाइनमा निस्फिक्री र निर्धक्कका साथ आएर ऊ उभिएकी छे ।
ऊ-अर्थात स्पन्दना ।
फेरि उसको नम्बरबाट एसएमएस आउन थाल्दछ ।
"भेट दिने हो
"कहिले - कहाँ -"
"म काठमाडौँ आउँदैछु ।"
"मेरो घर पोखरा हो ।"
"के भो त काठमाडौँ आए भइहाल्छ नि ।"
"मलाई गाहृो छ ।"
"एउटा फ्यानको हृदय बुझनसक्नुहुन्न -"
"तपाईँको भावनाको सम्मान गर्न सक्छु । र्सार्थकता दिन सक्दिनँ ।
"भैगो कविहरू निठुरी हुँदा रहेछन् ।"
"तिमीले सोचेजस्तो होइन ।" म तपाईँबाट तिमी भन्न पुग्छु ।
"त्यसो हो भने भेट दिए भइहाल्यो त ।"
"म प्रयत्न गर्नेछु ।"
एसएमएसको जवाफ दिएपछि म झ्यालबाट बाहिर टोहलाउँछु । माछापुच्छ्र्रे हिमाल मलाई हेरेर मुसुक्क हाँसेजस्तो लाग्छ । ऊ प्रसन्न छ । सायद ऊ कविता हो र उसले प्रशंसकको लामो लिस्टमा एउटा नयाँ नाम थपिएको विजय उत्सवमा हर्षोल्लासित मुस्कान छरिरहेछ ।
केही दिनपछि उही नम्बरबाट एसएमएस आउँछ ।
"मलाई हेर्ने केटा आएको छ ।"
"खुसीको कुरा हो, बिहे गर्दैछौ -"
"अहँ गर्दिनँ, तर सबजना कर गरिरहेछन् ।"
"किन नगरेकी त ।"
"तपार्इँलाई भेटेपछि गर्छु "
"मलाई किन -"
"तपार्इँसँग सल्लाह लिन चाहन्छु ।"
"म को हो र -"
"सबैथोक हो ।"
"कसरी -"
"यति धेरै एसएमएस गरिसके ।"
"एसएमएस गर्दैमा आफ्नो हुन्छ ।"
"किन हुँदैन एसएमएसमा आत्मा राखेर पठाएकी छु ।"
"अचम्मकी रहेछौ ।"
"कविको सङ्गगतले ।"
"ठीकै छ भेटमा सल्लाह दिनेछु ।"
"म तपाईँलाई मन पराउन थालिसकेँ ।"
"तर मैले छैन ।"
"आफैंलाई ढाट्तै हुनुहुन्छ ।"
"कसरी सम्झाऊँ ।"
"बोलीबाट सम्झाउन सक्नुहुन्छ ।"
त्यसपछि मैले उसलाई फोन गरेँ । फोनमा निकैबेर उसँग मेरो गफ भयो । यसरी कसैलाई देख्दै नदेखी भेट्दै नभेटी मन पराइन्छ र - मैले उसलाई निकैबेर सम्झाए । ऊ केही आश्वस्त भई ।
त्यसपछि उसले मलाई बारम्बार फोन गर्न थाली । एउटा प्रशंसकको भावनाले म पग्लन थालेँ । मेरो सिर्जनालाई यति नजिकबाट र्स्पर्श गरिदिएर प्रशंसाको चुली भरिदिएको हुनाले म पनि उसका भावुक कुराबाट पग्लन थालिसकेको थिएँ । आफ्नो प्रशसकसँगफोनमा दुइचार कुरा मीठो बोल्दैमा के बित्छ र - भन्ने सोच्तै आफ्नो एकांकीपन मेटाउन उसँग भावना साट्न थालेँ। म पनि उसको बोलीको क्रेजी हुनथालेँ । कहिलेकाही लाग्थ्यो, बोल्दाबाल्दै त्यो भौतिक स्वरुपअगाडि प्रकट भइदिए हुन्थ्यो जस्तो लाग्दथ्यो । उसलाई देखेको छैन चिनेको छैन तर पनि हामी बीच सुमधुर आत्मीय सम्बन्ध गाँसिएको थियो । हामी भावना विचार र लक्ष्यहरू साट्न थाल्यौँ । बोल्दाबोल्दै कहिलेकाहीँ उसलाई गाह्रो हुन्थ्यो । किनभने उसका वरिपरि समाज छन् र समाजका थुप्रैँ आँखाहरूले उसलाई जिज्ञासा र प्रश्नका अस्त्रहरूले घाइते बनाएका हुनसक्थे । त्यसैले बोल्दा नचाहँदा नचाहँदै पनि फोन राख्नुपर्ने हुन्थ्यो ।
एसएमएस., फोन हुँदै हाम्रो आत्मीय सम्बन्ध उक्लदै पत्राचारमा पुगिसकेको थियो । एक दिन उसको पत्र आयो ।
'कुनै मान्छे किन राम्रो लाग्छ - मलाई थाहा छैन । जब उसको भावना र विचारमा पौडँदै जाँदा आफूलाई आनन्द आउँछ अनि मन पर्दै जाँदो रहेछ । सधै उसको समीपको चाहना बढ्न थाल्दछ । ढुकढुकी बढ्छ अनि मुटु दुख्न थाल्दो रहेछ । तिर्सना जाग्दो रहेछ । त्यो छटपटी कहाँ हुन्छ - थाहा छैन । सायद हाम्रो अप्रत्यक्ष भेट नभएको भए पनि हुने । यसरी मुटु दुख्ने त थिएन । तर त्यो दुखाइमा एउटा असीम आनन्द लुकेको हुन्छ । त्यो आनन्दमा मोहकता हुन्छ । त्यो मोहकताले र्स्पर्शको चाहना गर्न थाल्दछ । शारीरिक आकर्षाको चाहना त्यसबखत हुन थाल्दछ जब मायाका सम्पूर्ण भूमिका पूर्ण हुन पुग्दछन् । त्यो आकषर्ण आफैमा एउटा अद्भुत चमत्कार हो । सधैं साथ रहूँ अनि सधैं हराइरहुँ उसको मायामा जस्तो लाग्दछ । एउटा विश्वासको दरिलो आधार हुनपुग्दछ । त्यो आकर्षामा विश्वास हुन्छ , दृढ सङ्कल्प हुन्छ अनि मोहकता हुन्छ । संसार सायद यही आकर्षणले बनेको छ । नत्रभने यो ब्रह्माण्ड विलीन भई सक्थ्यो शून्यमा । अनि शून्यबाहेक कुनै अङ्ग सिर्जना हुन सक्दैनथ्यो ।
भौतारिरहन्छ यो मन काकाकुलजस्तो केही शान्ति मिल्दैन । जताततै उही सम्झना र तिर्सनाका झलकहरू छन् । एक नजरको तिर्सनामा छट्पटिन्छ यो मन । जताततै अशान्ति र असन्तुष्टि छरिएका छन् । आफैँभित्र कुण्ठित हुन्छ यो मन । जब व्याकुलता बढ्दै जान्छ अनि शीतलताको खोजिमा यो मन भौँतारिदै शब्दमा छरिन पुग्दछ ।
देख्दै नदेखी, भेट्दै नभेटी पनि कोही मानिस यति मन पर्न सक्छ - मलाई अचम्म लाग्छ । कहिलेकाहीँ सपना हो कि जस्तो लाग्दछ । तपार्इ“का सुन्दर कवितासँगै तपाईँको जीवनकी कविता हुन मन लाग्छ । मलाई सधैँ जीवनभर कोरिरहनोस । शब्दशब्दमा छरिरहन दिनोस् , भावहरूमा बाँचिरहन दिनोस्- भन्न मन लाग्दछ ।
उनका भावकुतापूर्ण पत्र पढेर म संवेदीत हुन्छु । वास्तवमा हाम्रो सम्बन्ध आत्मीयरूपले एकात्मक भइसकेको थियो । तर मेरो जीवनले अन्धकारसँग युद्ध लडिरहेको थियो । मेरो जीवन शरदको चिसोझैं चिसो थियो । कहिले नतातिने गरि । मेरो जीवनले उसलाई कहिले उज्यालो दिन सक्दैनथ्यो । मेरा विवशता र बाध्यताले मेरा भावनाहरूलाई कैद बनाएका थिए । म उनलाई अन्धकारमा राख्न चाहन्नथेँ। म उनलाई भेटेर मेरो जीवनको सम्पुर्ण विगत र आगतको सचित्र व्याख्या गर्न चाहन्थेँ । त्यसैले मैले उनलाई भेट्ने निर्णय गरेँ ।
मनमा कौतूहल, शरीरमा रोमाञ्चकता र हृदयमा उमङ्ग लिएर निश्चित ठाँउमा उ मलाई भेट्न आई ।
वास्तवमा नाम जस्तै सुन्दर थिई -स्पन्दना । धेरैसमय अघिदेखिको कल्पनामात्र सीमित रहेको उसको भौतिकस्वरुप मेरो अगाडि थियो । उमेरले मेरोभन्दा झन्डै आधा सानो पाएँ।
उसले लजाउँदै भनी - "म तपाईँकी जीवनको कविता बन्न चाहन्छु ।"
म उसको भावानाको सम्मान गर्दै भन्न थाल्दछु - "तिमीले सोचेजस्तो र कवितामा पढेजस्तो मेरो जीवन सुन्दर छैन स्पन्दना † पहिला तिमी मेरो जीवन पढ र बुझ अनि जीवनसम्बन्धी महत्वपुर्ण निर्णय लेऊ । हुन त तिमीलाई म फोनमा भन्न सक्थेँ तर तिमीले पत्याउने छैनौ भनेर मलाई थाहा छ । त्यसैले तिमीलाई प्रत्यक्षरूपमा भेटेर यो कुरा भन्न चाहेको हुँ। ल सुन -
पोखराको माछापुच्छे्रमा सूर्यको पहिर्लो झुल्को मेरो जीवनको पहिलो झुल्को भएर झुल्केको थियो । पञ्चायती व्यवस्थामा अञ्चलाधीश भएको बाबुको एकलौटो छोरो म -राकेश । प्रत्येक राम्रा वस्तुहरू मेरो साथमा हुनुपर्दथ्यो । बजारमा आउने पहिलो र महङ्गो कपडा मेरो शरीरमा हुनुपर्दथ्यो । महङ्गो रेमन्डको चस्मा मेरो आखाँमा हुनु पर्दथ्यो । महङ्गो बुसनीको जुत्ता पहिले मेरो खुट्टामा हुनुपर्दथ्यो । नायक देखि गायकसम्मले लागाउने महङ्गो कपडा सबैभन्दा पहिला मैले लगाएको हुनु पर्दथ्यो । बोडिङ्ग स्कुलको पढाइ एसएलसी पास गर्न कुनै कठिनाइ थिएन । त्यसपछि क्याम्पस भने मेरो रवाफ, हैकम र फैसन प्रदर्शन गर्ने थिएटर भएको थियो । त्यस थिएटरमा म जुनसुकै नाटक मञ्चन गर्न सक्थेँ । सबैले प्रशंसाले ताली बजाउनै पर्दथ्यो । प्रत्येक शनिबार देवीको मन्दिर देवीहरूको दर्शन गर्न म पुग्दथेँ। मलाई नराम्री केटीहरू देखे भने रिस उठिहाल्दथ्यो । त्यसैले सधैँ सुन्दरी केटीहरूको अघिपछि हुने गर्दथे । पोखराको पर्यटकीय स्थलमा घुम्न आउने फूलहरूको वासना सुध्दै हिँड्नु मेरो दिनचर्या हुन्थ्यो । जब राम्रा फुल भेटिन्थे, तिनलाई दुःख दिनु, पीडा दिनु र प्रेमजालमा फसाएर रस चुस्नु मेरो नाटकको उत्कर्षहुन पुग्दथ्यो । कुनैकुनै फुललाई भने सौर्न्दर्यको रसास्वदान गरेर मात्र पनि छोडिदिन्थे । त्यसैपनि पोखरा नमिता, सुनीताको हत्याकाण्ड भएको ठाँउ, मेरो आचरणमा थप पौष्टिकताको काम गर्दथ्यो त्यस हत्याकाण्डले । क्याम्पसका प्रायजसो सुन्दर फुलहरूलाई म मेरो पैसा, रूप र रवाफले आफ्नो वशमा पारिसकेको हुन्थे । तर एक दिन मैले नसोचको घटना घट्यो । एउटी सुन्दर फुल कसैगरी पनि मप्रति आकषिर्त भएकी थिइन । उसलाई प्रेमपत्र पठाएँ। तर उसले त्यो प्रेमपत्र क्याम्पस प्रमुखलाई लागेर दिइछ । त्यो केटी निडर र स्वाभिमानी पनि भएकीले क्याम्पस प्रमुखले मलाई बोलाउन पठाए । उसलाई देखाउन मात्र भएपनि क्याम्पस प्रमुखले मलाई गाली गरेजस्तो गरे । यसरी केटीका अगाडि गाली खानु मेरोलागि ठूलो अपमानबोध थियो । त्यो अपमानबोध सहन नसकी त्यो केटीलाई कसरी बद्ला लिने भनेर लेकसाइडको एउटा होटलमा योजना बनाउन साथीहरू लिई भेला भएँ । योजना बनाएर र्फकदा मैले निकै पिएछु, मोटरसाइकलको स्पीड नियन्त्रण गर्न नसकी ठूलो दुर्घटना भयो । त्यस दुर्घटनामा मेरो एउटा खुट्टा कामनलाग्ने भयो । एउटा स्प्रीङ लगाएर मुस्किलले टेक्न सम्म भयो । दाँत पनि सबै हल्लिएर फुस्किए । एउटा हात पनि काम नलाग्ने भयो । एउटा हातचाहिँ भगवानले लेख्नका लागि जोगाई दिएछन् । म महिनौं दिनसम्म अस्पताल बस्नुपर्यो । म आफूले चुँडेर फ्याकेका फुलहरूको पीडालाई आफ्नो पीडासँग तुलना गर्न थालेँ । वास्तवमा प्रकृतिले फुलाएका ती सुन्दर फुलहरूको आत्माले सरापेका होलान् भन्ने भान भयो मलाई आफूले गरेको कुकृत्यप्रति पश्चात्ताप लागेर आयो । आत्माग्लानिले मन कुँडियो । त्यसपछि झ्यालबाट टाढाको माछापुच्छ्रे् हिमालको मनमोहक दृश्यलाई अघाउन्जेल हेर्नु र प्रकृतिको सुन्दरतामा आफूलाई हराउनु नै मेरो जिन्दगीको नियति भयो । हजारौँ सपना बोकेको जिन्दगीलाई हिलचियरलाई बोकाएर बाँच्नुको र्सार्थकता खोज्न थालेँ । वर्णमालाको पहिलो अक्षर 'क'संग म सम्झौता गर्न पुगेँ । मेरो जीवनका सपनाहरू कलम, कापी, कुची र क्यानभासमा छरिन थालेँ । मेरी आमा कवयत्री र चित्रकार भएकी हुनाले उनको गुण ममा पनि सरेको थियो । त्यसपछि मेरो जिन्दगीले कविको उपाधि पायो र तिमीजस्ता धेरै प्रशंसकहरूको मायामा बाँच्ने बानी पर्न थाल्यो । अब तिमी आफ्नो भविष्यको निर्णयलिन सक्दछौ । जीवन सोचेजस्तो सुन्दर हुँदैन स्पन्दना । त्रि्रो यो अपरिपक्व सोचाई हो र यो एउटा क्रेज हो भोलि तिमीले धेरै कठिन सङ्रघर्षमय दिन देख्न थाल्नेछौ र कहालिएर जीवनदेखि भाग्न सक्दछौ । त्यसैले अहिले समय छ । तिमी र्फक । तिमीजस्ती सुन्दरीले मेरा सुन्दर कविता भन्दा सुन्दर युवक पाउन सक्छौं । हो, तिमी मेरो कवितालाई सधैभरि हृदयमा राखेर बाँच्न सक्छ्यौं ।
मेरो कथा सुनेर ऊ स्तब्ध भई । उसलाई अप्रत्यासित करेन्टको झट्का लागेझैं भयो । ऊ निशब्द भई त्यसपछि ऊ केही नबोली त्यहाँबाट हिँडी ।
म फेरि माछापुच्छे्को सौर्न्दर्यमा हराउन पुग्छु । म कवितामा हराउन थाल्छु । मेरो कविता र माछापुच्छे्रको सौर्न्दर्य पर्याय भएका छन् । जसरी म र माछापुच्छे् पर्याय भएका छौँ। माछापुच्छे्रको सौर्न्दर्यमा हजारौ पर्यटक मन्त्रमुग्ध हुन्छन् तर वर्षौदेखि सम्पूर्ण प्राकृतिक पीडा खपेर ऊ बाच्न बाध्य छ मेरो जीवनजस्तै ।

2 comments:

skduwal.blogspot.com said...

सुरुवाटका केहि हरफले आज भोलि घतिरहेका बास्तबिक्तालाई नजिकबाट छोए जस्तो लाग्यो, यस्तै sms र mobile बाट आजभोलि नेपालका हरेक गाऊँ शहरहरुमा बिभिन बाहानामा संम्बन्ध कायम भैरहेको हाम्रै अगाडी छलंङ्ग देख्न पाईन्छ।
अनुहार न देखे पनि sms अनी mobile मार्फत माया प्रितीका कुरा हुने भनेको सामान्य जस्तो भै सक्यो।
कथा छोटो छ तर राम्रो र बास्तबिक्ता सित मेल खाए जस्तो लाग्छ, कति गाऊँ घर तिर आफ्नै अगाडि घटेका घटना जस्तो लाग्यो। कथाको अंन्त अलि अपुरो जस्तो लाग्यो.....!!

shakhada said...

धन्यवाद एस के जी तपाइको सुझावमा म सहमत छु .

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।