January 28, 2010

बाँसुरीको धुन

तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने खबर तीन महिना अघि नै चारैतिर फैलिसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजू, ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको उपहार ल्याएकी थिए । आफूभन्दा सानालाई भागअनुसारको भागबण्डा लगाइदिएकी थिएँ । विदेशी साडी, घडी, खेलौना, कपडामा खुसीहरू साटिएका थिए । त्यो दिनभर घरका कुना कुनामा खुसी र उमङ्गका लहरहरू फैलिएको थियो । विदेशी गफ र फोटोहरूमा घडीको सुई चलिरहेको थियो ।


लोग्नेमान्छे खलक मेरो श्रीमानसँग र स्वास्नीमान्छे खलक मसँग गप्फिन व्यस्त थिए । मेरी काखकी छोरीले झन् सुनमा सुगन्ध छरिदिएकी थिई । मसिना केटाकेटीहरू मेरी छोरीसँग मस्त थिए । मेरो बुवाको नाक घोक्रेर घिरौला जत्रो भएको थियो । छोरीले राम्रो जुवाइँ पाएकी अनि विदेश गएर दुईचार लाख रूपैयाँ पनि ल्याएकी हुनाले आफैँ गर्वले फुलेर मख्ख हुनुहुन्थ्यो । मेरी आमा भने मैले ल्याएका सामानहरूको अनुमानित मोलतोल गर्दै असल कमसल मूल्याङ्कन गर्न व्यस्त हुनुहुन्थ्यो । घरका भाँडावालहरू सबैका मुहारमा उत्सुकता र उमङ्गका भावहरू छरिएका थिए ।

पहिलो दिन कति चाँडै बित्यो मलाई थाहा पत्तै भएन । दोस्रो दिनदेखि मेरो चासो र उत्सुकता घरको संघार काटेर छिमेकीको आँगनतिर पुग्न थाल्यो । मैले आमासँग छिमेकीको बारेमा पनि सोधीखोजी गर्न थालेँ । मैले आफ्ना पुराना नमा छिमेकीको एउटा झ्यालसंग नाता गाँसिएको अनायास सम्झना गर्न पुगेँ । मेरो जीवनको पानामा त्यो झ्यालसँग अतीतका केही घटना गासिएको थियो । त्यहाँ सुधिरको चित्र थियो । मैले आमासँग सुधिरको बारेमा सोधीखोजी गरेँ । हाल सुधिर कुनै प्राइवेट स्कुलमा टिचिङ्ग गर्दैछ भन्ने कुरा पत्ता लगाएँ । त्यसपछि म घरायसी काममा व्यस्त भएँ । विदेश बसेर आएको मेरो माइतमा मैले श्रीमानको टहलपहल गर्नुपर्ने अभिभारा थियो । साँझ पर्‍यो, हामी खाना खाएर केही छिन सपरिवार गप्फिएर सुत्नतिर लाग्यौँ ।

राति अचानक कतैबाट बाँसुरीको धुन बज्न थाल्यो । त्यो बाँसुरीको धुनसँग मेरो अतीत नाच्न थाल्यो । म छटपटाएँ । सुत्न सकिनँ । मेरो श्रीमान्ले सोधे- के भयो - मैले भने- "हेर्नोस् न कसैले कति नमीठो गरी बाँसुरी बजाइरहेछ ।" उसले सजिलै उत्तर दियो - "होला कोही आफ्नो प्रेयसीको विरहमा बजाउने ।" उसको मार्मिक उत्तरले मेरो मुटु ढुकढुक गर्न थाल्यो । कतै उसले थाहा पायो भने । हुन त हामी यस्ता कतिपय गफहरू खुल्लारूपमा गर्र्छौँ । ऊ पनि विवाहअघि आफूलाई मन पराउने केटीहरूको लिष्ट नै सुनाउँथ्यो । म पनि केही कम थिइन । अझ मरमसला थपेर स्वादिष्ट व्यञ्जन बनाएर पस्कन्थेँ । यस्ता व्यञ्जन पस्कने क्रममा हाम्रो होडबाजी नै चल्दथ्यो । अनि अन्त्यमा मैले नै हार खानु पर्दथ्यो ।

म सुत्न नसके पनि ओछ्यानमा पल्टेर बाँसुरीको धुन सुनिरहें । त्यो करुणरसले भरिएको धुनको तालसँगै मेरो अतीत तरङ्गति हुनथाल्यो । आजभन्दा करिब चारवर्षअघिको कुरो, म धकढ्य बाबुकी छोरी थिए । सुधिर उही बाँसुरी बजाउने युवक छिमेकमा कोठा लिएर बसेको थियो । ऊ निम्नवर्गीय थियो । हामी दुवै साइन्स क्याम्पस पढ्थ्यौँ। ऊ मभन्दा एक वर्षसिनियर थियो । प्रायः घरमा अनि क्याम्पसमा हाम्रो देखादेख हुन्थ्यो । सुरुमा म उसलाई त्यति चासो राख्दिनथे“ । क्याम्पसमा आफ्नै व्याजको केटाहरू, त्यो पनि सम्पन्न परिवारको केटाहरूसँग मात्र मेरो सर्म्पर्क हुन्थ्यो । उसको लवाइ साधारण थियो, तर बोलचालमा भने केही गम्भीरता र दार्शनिकता थियो । ऊ कहिलेकाहीँ आफ्नो झ्यालबाट हाम्रो महलको भव्यता, शान, शौकत एकोहोरो हेरिरहन्थ्यो । ठूलो घर, ठूलो परिवार अनि ठूलै रौनकतालाई ऊ गाउँको मान्छे भएर आकषिर्त गरेको होला म ठान्दथेँ । तर होइन रहेछ ऊ त विशाल आकाशमा चन्द्रमाको चाँदनीमा शीतलताको अनुभव गर्न चाहँदोरहेछ । मैले पछि थाहा पाएँ, ऊ मसँग नजिक हुन चाहँदोरहेछ । क्याम्पसमा पनि के के बहाना बनाएर मसंग बोल्न खोज्दथ्यो । कहिलेकाहीँ कविगोष्ठीमा कविता सुनाउँदा मलाई नै भनिरहेछ भन्ने भान हुन्थ्यो । बिस्तारै उसको चासोको पारो चढ्न थालेको थियो । हुन त मेरो अनुपस्थितिमा मेरी आमासँग मेरो पढाइको विषयमा सोधीखोजी गर्दथ्यो । मेरी आमालाई 'साइन्स गाह्रो हुन्छ मसँग पढ्न पठाइदिनोस् म पढाइदिन्छु' भन्दथ्यो । आमा उसको कुरालाई फोटोकपी गरेर मलाई सुनाउनु हुन्थ्यो, तर म वेवास्ता गर्दथेँ।

हाम्रो घरमा एकसेएक स्मार्ट र पढेलेखेको केटाहरूको आवतजावत हुन्थ्यो । कोही काकीको भाइ, कोही भाउजूका दाजु, अनि कोही भाँडावालका आफन्तहरू । सबै मसँग वैवाहिक सम्बन्ध गाँस्न केही न केही बहाना लिएर आउँदथे । विस्तारै घरमा मेरो विहेको कुरो चल्न थाल्यो । म भने तुरुन्त विवाह गर्ने पक्षमा थिइनँ । समय लम्बिदै गयो । बीचमा क्याम्पस केही दिन बन्द भयो । ऊ त्यो झ्यालमा देखा पर्न छोड्यो । मैले सोचेँ सायद ऊ घरमा चामल र खर्च लिन गयो होला । मलाई ऊप्रति किन हो विस्तारै दया र सहानुभूति जागेर आउँन थाल्यो । केही दिन पछि ऊ पुनः देखा पर्‍यो । किनभने उसले आफ्नो पढाइ खर्च पूरा गर्न केही ठाउँमा ट्युसन पनि पढाउने गरेको थियो । घरबाट आएको दिन उसले यति मीठो बाँसुरी बजायो- म सुनिरहेँ । उसले बजाउन पहिल्यै नै सिकेको हुनुपर्छ । नत्रभने यति छोटो समयमा कसरी सिक्यो होला । ममा कौतूहलता जाग्यो । कौतूहलतालाई मौनताको बाकसमा बन्द गर्दै दैनिक क्रियाकलापमा आफूलाई व्यस्त बनाएँ ।

उसले फेरि मेरी आमालाई मेरो परीक्षाको चिन्ता गर्दै नोटकापी लिन आउन समाचार छोडेछ । मैले पनि आफूलाई फाइदा हुने काममा किन पछि पर्ने भनेर एकदिन उसको कोठामा गएँ । उसको कोठामा स्टोभ बलिरहेको थियो । कराहीमा भात र तरकारी एकै ठाउँमा पाकिरहेको थियो । मैले झट्ट देखेँ । उसले हतारहतार छोप्यो । अनि स्टोभ बन्द गर्‍यो । सायद गफ गर्दा डिर्स्र्टब हुन्छ भनेर होला । मैले 'किन बन्द गर्नु भएको पाकोस न्' भन्दा 'हैन पाकिसक्यो' भनेर मलाई विशुद्ध झुटो बोल्यो । मैले त्यो काँचै छ भन्ने अनुमान लगाइसकेकी थिएँ । कुराको सर्न्दर्भ मोड्दै मैले आफ्नो परीक्षाको विषयमा सोधीखोजी गरें । उसले केही कुरा सिकाइदियो अनि नोटकापीहरू पनि दियो । त्यस समयमा म अलिक उट्पट्याङ्गे स्वभावकी थिएं । त्यही माथि यौवनका उन्मुक्त छालहरू हसीमजाकमा तरङ्गति हुने समय थियो । मैले उसलाई 'खाना खुवाउनु हुन्न' भनी ठट्टा गरे । उसले मेरो कुरा नकार्न सकेन- मलाई प्लेटमा अलिकति हालेर दियो । मैले उसको खाना काँचो छ भनेर आफूले बोलेको कुरालई सत्य साबित गराउन 'खाना खुवाउनु हुन्न' भनेको थिएँ । साँच्चिकै खाना काँचो थियो । मैले 'यो पूरै काँचै छ' भनेर एक चम्चा मात्र मुखमा हालेर मिल्काइ दिएँ । उसलाई सायद नराम्रो लाग्यो होला । उसले अनुहार नमीठो बनायो अनि 'फेरि पकाउँछु' भनेर गम्भीर भयो । म भने उसको यथार्थको खिल्ली उडाउँदा र आफूले बोलेको कुरा सत्य साबित गर्न पाउँदा खुसी भएकी थिएँ । मेरो व्यवहारले सायद उसलाई चोट पर्‍यो होला, किनभने पीडा भोग्नेलाई मात्र थाहा हुन्छ पीडाको भोगाई । त्यो रात उसले रातभर बाँसुरी बजाइरह्यो । मध्यरातमा म ब्यूझिँदा पनि बजाइरहेको थियो । सायद मैले उसको विपन्नताको नचाहिँदो प्रदर्शन गरेर होला उसको आत्माबाट वेदनाहरू छरिएर बांसुरीको सुरसँग निस्किरहेको थियो । मलाई आत्मग्लानी भएर आयो । मैले आफ्नो सम्पन्नता र वैभवकताको मादकतामा कुनै निर्धनको उपहास गर्नु ठीक थिएन । उसले मलाई धेरै पटक सहयोग गरेको थियो । मैले उसलाई कृतज्ञताको बदला कृतघ्नता दिइरहेकी थिएँ । मलाई उप्रति दयाको साथसाथै माया र सहानुभूति जागेर आयो । त्यसपछि ऊ प्रत्येक रात बाँसुरी बजाउँथ्यो । कुनै रात बजाएन भने म छट्पटिन्थेँ, किन बजाएन भनेर, म उसलाई निकै चासो दिन थालेकी थिएँ ।

केही समयपछि ऊ क्याम्पस आउन छाड्यो । उसलाई मैले नोटकापी बुझाउनु पर्दथ्र्यो तर्सथ मैले उसको डेरा जाने निश्चय गरेँ । योजना मुताबिक म उसको डेरामा पुगेँ । डेरामा उसकी आमा आउनुभएको रहेछ । ऊ निकै विमारी भएको रहेछ । मैले नोटकापीहरू दिएँ र धन्यवाद पनि । ऊ निकै सिकिस्त भएको रहेछ । म पनि गम्भीर भएँ ।
"नानीको घर कहाँ हो -" उसको आमाले परिचयको पर्दा खोल्नुभयो । मैले पनि सम्पूर्ण औपचारिकता पूरा गरेँ । अनि उहाँले भन्न थाल्नुभयो- "हेर न्, नानी बाँसुरी नबजाउनू छातीको विमार छ भनेर डाक्टरले भनेको थियो, मानेन । अस्ति जवरजस्ती घर जाँदा लिएर आयो । सायद रातभरि बजायो होला । बिमारी भएछ । पढ्नेमान्छे यसरी विमार भएर कहाँ हुन्छ र म यही समाचार सुनेर आएको नि नानी ।" उसको आमाको कुरा सुनेर म स्तब्ध भए“, आत्मा पोल्न थाल्यो । त्यो बाँसुरी बनाउन बाध्य गर्ने त म नै थिएँ । उसको पहेँलो अनुहार, दार्शनिक हेर्राई अनि असक्तताले मलाई पिरोल्न थाल्यो । उसको आमालाई सब कुरा भन्न पनि सकिनँ अनि असमञ्जस्यताको खाडलबाट उक्लदै 'राम्रो उपचार गर्नुपर्छ' भन्ने सल्लाह दिँदै म बाहिरिएँ । कोठाबाट बाहिरिए पनि त्यो घटना र परिवेशबाट बाहिरिन सकिनँ ।

मैले घरमा आमासँग आएर यो सब कुरा सुनाएँ । किनभने मेरी आमा मेरो प्रत्येक क्रियाकलापको निगरानी राख्नु हुन्थ्यो र म पनि उहाँलाई अनभिज्ञताबाट टाढा राख्न सक्दिनथेँ । उहाँले मेरो र सुधिरको विषयमा भित्रभित्रै धेरै कु
रा मनन गरिरहनुभएको थियो । उहा“को पनि ऊप्रति सहानुभूति थियो । हाम्रो घरमा गाई पालिएको थियो । मैले उसलाई दूध पठाउन आमालाई भनेँ । आमाले पनि मैले भने मुताबिक नै गर्नुभयो । उसको कोठामा मेरो आवतजावत केही बढ्न थाल्यो । उसले बाँसुरी बजाउन छोडिसकेको थियो । कहिलेकाहीँ म उसको कोठामा जाँदा बाँसुरी हेरिरहन्थ्यो । मेरो सुधीरसँग सर्म्पर्क केही बढेकोले घरमा गाइगुइँ कुरा चल्न थाल्यो । म घरको जेठी छोरी थिएँ । मैले केही काम गर्दा पनि सबैको आँखा र्सतक हुन्थे । अनि घरभरि मसम्बन्धी कुराहरू असरल्ल छरिएका हुन्थे । त्यो समयमा छोरीलाई परपुरुषस“ग हेलमेल बढाएको राम्रो मानिदैनथ्यो । अझ प्रेम सम्बन्धलाई अपराध जत्तिकै मानिथ्यो । मेरो विवाहको कुरामा घर, खान्दान, सम्पत्तिको कुरा अगाडि आउदथ्यो । यी सब कुराको अगाडि हाम्रो प्रेम लाचार र विवश थियो । मेरी आमाले यी सब कुराबाट विज्ञ भए पनि केही गर्न सक्ने हिम्मत उहाँमा थिएन । म आफैँ पनि घर, खान्दान र सामाजिक प्रतिष्ठाको बली दिएर सुधिरसँग सम्बन्ध गाँस्न सक्दिनथेँ । तर म ऊप्रति कसरी हो धेरै नजिक हुँदै गएकी थिएँ ।

मैले वास्तविकतालाई क्षणिक प्रेमले अन्धो बनाउन हुँदैन भन्ने कुरालाई मनन गरेँ । उसले जस्तै म पनि उसलाई प्रेम गर्थे । तर प्रेम भनेको प्राप्ति मात्र हैन बलिदान पनि हो । प्राप्तिले भन्दा प्रेम बलिदान र त्यागले अमर हुन्छ र सधैँ स्मरणीय पनि । मैले यो सब कुरा उसलाई अवगत गराएँ । ऊ मेरो सबै जसो कुरामा सहमत भयो । मैले अब उप्रान्त बाँसुरी नबजाउनू भन्ने वाचा समेत गराएँ। घरमा मेरो विवाहको कुरा चलिरहेकोथ्यो । भनेजस्तो कुलटुम्ब अनि विदेश पढ्न जाने योग्य वर सबैबाट स्वीकृत भएपछि मेरो विवाह भयो । विवाह पश्चात म दुइपल्ट माइत आएकी थिएँ । मैले उसप्रति खासै चासो राखिनँ । त्यसपछि म तीन वर्षा लागि विदेशिएको थिएँ । अचानक छोरीको रुवाइले मेरो तन्द्रा टुट्छ । उसले बाँसुरी बजाउन छोडिसकेको हुन्छ । म बिहान उठेर ऊसँग भेटेर गफ गर्ने निश्चय गरेर निदाउन प्रयत्न गर्न थालेँ ।

विहान म उसको कोठामा पुगेँ। कोठामा ताला लगाइएको थियो । म छक्क परेँ । यति विहान ऊ कहाँ गयो भनेर । मैले उसको घरवेटीलाई सोधेँ। उसको घरवेटीले मेरो हातमा सानो पत्र राखिदियो । 'सानु म तिम्रोजीवनदेखि धेरै टाढा जान चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदै छु ।तिम्रो सफल जीवनको लागि शुभकामना - उही सुधिर ।' पत्र पढेर म केहीछिन स्तब्ध भएँ । अनि परिचित छिमेकीसँग केही औपचारिक गफ गरेर त्यहाँबाट सधैँलागि विदा भएँ। मन एक तमासको भइरह्यो । सुधिरको अनुहारले पछ्याइरह्यो......। उसले भनेझैँ लाग्यो - 'अब मेरो लागि कुनै सोधखोज नगर्नू ।'

3 comments:

gckarki said...

तपार्इका कथाहरू साह्रै राम्रा छन्र। म भर्खर व्लग क्षेत्रमा प्रवेश गरेकेाले अन्य कथाहरू पनि पढ्रदै छु । कथाहरू यथार्थपरक लाग्छन् ।

शखदा said...

धन्यवाद कार्कीजी , खुसी लागेको छ, राम्रा मात्र होइन नराम्रा कुरा पनि बताइदिनु होला ।

बिमल गिरी said...

शर्मिलाजीका प्रतेक श्रीजनाहरुमा प्रेम र प्रेमजनित,मानबबादी जीबन दर्शन बोकेकाछन। उहाको कथाहरुले आजको स्थितीमा नयाँ मुल्य स्थापनाका लागि जुन तरखर देखाएकोछ,त्यो मननिय छ। तिगेलाजी को "देश बोक्नुको पिडा"को बिभिन्न कोणबाट हेर्दा लेखिका को बिभिन्न स्वतन्त्र चिन्तन र अभिब्यन्जन स्पष्टिएकोछ। जीबनलाई नयाँ दृष्‍टिकोणले हेर्ने यथार्थको नयाँ व्याख्या प्रस्तुत गर्न असाध्य सिपालु शर्मिलाजी उतरोत्तर प्रगतिको कामना गर्दछु।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।