तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने खबर तीन महिना अघि नै चारैतिर फैलिसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजू, ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको उपहार ल्याएकी थिए । आफूभन्दा सानालाई भागअनुसारको भागबण्डा लगाइदिएकी थिएँ । विदेशी साडी, घडी, खेलौना, कपडामा खुसीहरू साटिएका थिए । त्यो दिनभर घरका कुना कुनामा खुसी र उमङ्गका लहरहरू फैलिएको थियो । विदेशी गफ र फोटोहरूमा घडीको सुई चलिरहेको थियो ।
लोग्नेमान्छे खलक मेरो श्रीमानसँग र स्वास्नीमान्छे खलक मसँग गप्फिन व्यस्त थिए । मेरी काखकी छोरीले झन् सुनमा सुगन्ध छरिदिएकी थिई । मसिना केटाकेटीहरू मेरी छोरीसँग मस्त थिए । मेरो बुवाको नाक घोक्रेर घिरौला जत्रो भएको थियो । छोरीले राम्रो जुवाइँ पाएकी अनि विदेश गएर दुईचार लाख रूपैयाँ पनि ल्याएकी हुनाले आफैँ गर्वले फुलेर मख्ख हुनुहुन्थ्यो । मेरी आमा भने मैले ल्याएका सामानहरूको अनुमानित मोलतोल गर्दै असल कमसल मूल्याङ्कन गर्न व्यस्त हुनुहुन्थ्यो । घरका भाँडावालहरू सबैका मुहारमा उत्सुकता र उमङ्गका भावहरू छरिएका थिए ।
पहिलो दिन कति चाँडै बित्यो मलाई थाहा पत्तै भएन । दोस्रो दिनदेखि मेरो चासो र उत्सुकता घरको संघार काटेर छिमेकीको आँगनतिर पुग्न थाल्यो । मैले आमासँग छिमेकीको बारेमा पनि सोधीखोजी गर्न थालेँ । मैले आफ्ना पुराना नमा छिमेकीको एउटा झ्यालसंग नाता गाँसिएको अनायास सम्झना गर्न पुगेँ । मेरो जीवनको पानामा त्यो झ्यालसँग अतीतका केही घटना गासिएको थियो । त्यहाँ सुधिरको चित्र थियो । मैले आमासँग सुधिरको बारेमा सोधीखोजी गरेँ । हाल सुधिर कुनै प्राइवेट स्कुलमा टिचिङ्ग गर्दैछ भन्ने कुरा पत्ता लगाएँ । त्यसपछि म घरायसी काममा व्यस्त भएँ । विदेश बसेर आएको मेरो माइतमा मैले श्रीमानको टहलपहल गर्नुपर्ने अभिभारा थियो । साँझ पर्यो, हामी खाना खाएर केही छिन सपरिवार गप्फिएर सुत्नतिर लाग्यौँ ।
राति अचानक कतैबाट बाँसुरीको धुन बज्न थाल्यो । त्यो बाँसुरीको धुनसँग मेरो अतीत नाच्न थाल्यो । म छटपटाएँ । सुत्न सकिनँ । मेरो श्रीमान्ले सोधे- के भयो - मैले भने- "हेर्नोस् न कसैले कति नमीठो गरी बाँसुरी बजाइरहेछ ।" उसले सजिलै उत्तर दियो - "होला कोही आफ्नो प्रेयसीको विरहमा बजाउने ।" उसको मार्मिक उत्तरले मेरो मुटु ढुकढुक गर्न थाल्यो । कतै उसले थाहा पायो भने । हुन त हामी यस्ता कतिपय गफहरू खुल्लारूपमा गर्र्छौँ । ऊ पनि विवाहअघि आफूलाई मन पराउने केटीहरूको लिष्ट नै सुनाउँथ्यो । म पनि केही कम थिइन । अझ मरमसला थपेर स्वादिष्ट व्यञ्जन बनाएर पस्कन्थेँ । यस्ता व्यञ्जन पस्कने क्रममा हाम्रो होडबाजी नै चल्दथ्यो । अनि अन्त्यमा मैले नै हार खानु पर्दथ्यो ।
म सुत्न नसके पनि ओछ्यानमा पल्टेर बाँसुरीको धुन सुनिरहें । त्यो करुणरसले भरिएको धुनको तालसँगै मेरो अतीत तरङ्गति हुनथाल्यो । आजभन्दा करिब चारवर्षअघिको कुरो, म धकढ्य बाबुकी छोरी थिए । सुधिर उही बाँसुरी बजाउने युवक छिमेकमा कोठा लिएर बसेको थियो । ऊ निम्नवर्गीय थियो । हामी दुवै साइन्स क्याम्पस पढ्थ्यौँ। ऊ मभन्दा एक वर्षसिनियर थियो । प्रायः घरमा अनि क्याम्पसमा हाम्रो देखादेख हुन्थ्यो । सुरुमा म उसलाई त्यति चासो राख्दिनथे“ । क्याम्पसमा आफ्नै व्याजको केटाहरू, त्यो पनि सम्पन्न परिवारको केटाहरूसँग मात्र मेरो सर्म्पर्क हुन्थ्यो । उसको लवाइ साधारण थियो, तर बोलचालमा भने केही गम्भीरता र दार्शनिकता थियो । ऊ कहिलेकाहीँ आफ्नो झ्यालबाट हाम्रो महलको भव्यता, शान, शौकत एकोहोरो हेरिरहन्थ्यो । ठूलो घर, ठूलो परिवार अनि ठूलै रौनकतालाई ऊ गाउँको मान्छे भएर आकषिर्त गरेको होला म ठान्दथेँ । तर होइन रहेछ ऊ त विशाल आकाशमा चन्द्रमाको चाँदनीमा शीतलताको अनुभव गर्न चाहँदोरहेछ । मैले पछि थाहा पाएँ, ऊ मसँग नजिक हुन चाहँदोरहेछ । क्याम्पसमा पनि के के बहाना बनाएर मसंग बोल्न खोज्दथ्यो । कहिलेकाहीँ कविगोष्ठीमा कविता सुनाउँदा मलाई नै भनिरहेछ भन्ने भान हुन्थ्यो । बिस्तारै उसको चासोको पारो चढ्न थालेको थियो । हुन त मेरो अनुपस्थितिमा मेरी आमासँग मेरो पढाइको विषयमा सोधीखोजी गर्दथ्यो । मेरी आमालाई 'साइन्स गाह्रो हुन्छ मसँग पढ्न पठाइदिनोस् म पढाइदिन्छु' भन्दथ्यो । आमा उसको कुरालाई फोटोकपी गरेर मलाई सुनाउनु हुन्थ्यो, तर म वेवास्ता गर्दथेँ।
हाम्रो घरमा एकसेएक स्मार्ट र पढेलेखेको केटाहरूको आवतजावत हुन्थ्यो । कोही काकीको भाइ, कोही भाउजूका दाजु, अनि कोही भाँडावालका आफन्तहरू । सबै मसँग वैवाहिक सम्बन्ध गाँस्न केही न केही बहाना लिएर आउँदथे । विस्तारै घरमा मेरो विहेको कुरो चल्न थाल्यो । म भने तुरुन्त विवाह गर्ने पक्षमा थिइनँ । समय लम्बिदै गयो । बीचमा क्याम्पस केही दिन बन्द भयो । ऊ त्यो झ्यालमा देखा पर्न छोड्यो । मैले सोचेँ सायद ऊ घरमा चामल र खर्च लिन गयो होला । मलाई ऊप्रति किन हो विस्तारै दया र सहानुभूति जागेर आउँन थाल्यो । केही दिन पछि ऊ पुनः देखा पर्यो । किनभने उसले आफ्नो पढाइ खर्च पूरा गर्न केही ठाउँमा ट्युसन पनि पढाउने गरेको थियो । घरबाट आएको दिन उसले यति मीठो बाँसुरी बजायो- म सुनिरहेँ । उसले बजाउन पहिल्यै नै सिकेको हुनुपर्छ । नत्रभने यति छोटो समयमा कसरी सिक्यो होला । ममा कौतूहलता जाग्यो । कौतूहलतालाई मौनताको बाकसमा बन्द गर्दै दैनिक क्रियाकलापमा आफूलाई व्यस्त बनाएँ ।
उसले फेरि मेरी आमालाई मेरो परीक्षाको चिन्ता गर्दै नोटकापी लिन आउन समाचार छोडेछ । मैले पनि आफूलाई फाइदा हुने काममा किन पछि पर्ने भनेर एकदिन उसको कोठामा गएँ । उसको कोठामा स्टोभ बलिरहेको थियो । कराहीमा भात र तरकारी एकै ठाउँमा पाकिरहेको थियो । मैले झट्ट देखेँ । उसले हतारहतार छोप्यो । अनि स्टोभ बन्द गर्यो । सायद गफ गर्दा डिर्स्र्टब हुन्छ भनेर होला । मैले 'किन बन्द गर्नु भएको पाकोस न्' भन्दा 'हैन पाकिसक्यो' भनेर मलाई विशुद्ध झुटो बोल्यो । मैले त्यो काँचै छ भन्ने अनुमान लगाइसकेकी थिएँ । कुराको सर्न्दर्भ मोड्दै मैले आफ्नो परीक्षाको विषयमा सोधीखोजी गरें । उसले केही कुरा सिकाइदियो अनि नोटकापीहरू पनि दियो । त्यस समयमा म अलिक उट्पट्याङ्गे स्वभावकी थिएं । त्यही माथि यौवनका उन्मुक्त छालहरू हसीमजाकमा तरङ्गति हुने समय थियो । मैले उसलाई 'खाना खुवाउनु हुन्न' भनी ठट्टा गरे । उसले मेरो कुरा नकार्न सकेन- मलाई प्लेटमा अलिकति हालेर दियो । मैले उसको खाना काँचो छ भनेर आफूले बोलेको कुरालई सत्य साबित गराउन 'खाना खुवाउनु हुन्न' भनेको थिएँ । साँच्चिकै खाना काँचो थियो । मैले 'यो पूरै काँचै छ' भनेर एक चम्चा मात्र मुखमा हालेर मिल्काइ दिएँ । उसलाई सायद नराम्रो लाग्यो होला । उसले अनुहार नमीठो बनायो अनि 'फेरि पकाउँछु' भनेर गम्भीर भयो । म भने उसको यथार्थको खिल्ली उडाउँदा र आफूले बोलेको कुरा सत्य साबित गर्न पाउँदा खुसी भएकी थिएँ । मेरो व्यवहारले सायद उसलाई चोट पर्यो होला, किनभने पीडा भोग्नेलाई मात्र थाहा हुन्छ पीडाको भोगाई । त्यो रात उसले रातभर बाँसुरी बजाइरह्यो । मध्यरातमा म ब्यूझिँदा पनि बजाइरहेको थियो । सायद मैले उसको विपन्नताको नचाहिँदो प्रदर्शन गरेर होला उसको आत्माबाट वेदनाहरू छरिएर बांसुरीको सुरसँग निस्किरहेको थियो । मलाई आत्मग्लानी भएर आयो । मैले आफ्नो सम्पन्नता र वैभवकताको मादकतामा कुनै निर्धनको उपहास गर्नु ठीक थिएन । उसले मलाई धेरै पटक सहयोग गरेको थियो । मैले उसलाई कृतज्ञताको बदला कृतघ्नता दिइरहेकी थिएँ । मलाई उप्रति दयाको साथसाथै माया र सहानुभूति जागेर आयो । त्यसपछि ऊ प्रत्येक रात बाँसुरी बजाउँथ्यो । कुनै रात बजाएन भने म छट्पटिन्थेँ, किन बजाएन भनेर, म उसलाई निकै चासो दिन थालेकी थिएँ ।
केही समयपछि ऊ क्याम्पस आउन छाड्यो । उसलाई मैले नोटकापी बुझाउनु पर्दथ्र्यो तर्सथ मैले उसको डेरा जाने निश्चय गरेँ । योजना मुताबिक म उसको डेरामा पुगेँ । डेरामा उसकी आमा आउनुभएको रहेछ । ऊ निकै विमारी भएको रहेछ । मैले नोटकापीहरू दिएँ र धन्यवाद पनि । ऊ निकै सिकिस्त भएको रहेछ । म पनि गम्भीर भएँ ।
"नानीको घर कहाँ हो -" उसको आमाले परिचयको पर्दा खोल्नुभयो । मैले पनि सम्पूर्ण औपचारिकता पूरा गरेँ । अनि उहाँले भन्न थाल्नुभयो- "हेर न्, नानी बाँसुरी नबजाउनू छातीको विमार छ भनेर डाक्टरले भनेको थियो, मानेन । अस्ति जवरजस्ती घर जाँदा लिएर आयो । सायद रातभरि बजायो होला । बिमारी भएछ । पढ्नेमान्छे यसरी विमार भएर कहाँ हुन्छ र म यही समाचार सुनेर आएको नि नानी ।" उसको आमाको कुरा सुनेर म स्तब्ध भए“, आत्मा पोल्न थाल्यो । त्यो बाँसुरी बनाउन बाध्य गर्ने त म नै थिएँ । उसको पहेँलो अनुहार, दार्शनिक हेर्राई अनि असक्तताले मलाई पिरोल्न थाल्यो । उसको आमालाई सब कुरा भन्न पनि सकिनँ अनि असमञ्जस्यताको खाडलबाट उक्लदै 'राम्रो उपचार गर्नुपर्छ' भन्ने सल्लाह दिँदै म बाहिरिएँ । कोठाबाट बाहिरिए पनि त्यो घटना र परिवेशबाट बाहिरिन सकिनँ ।
मैले घरमा आमासँग आएर यो सब कुरा सुनाएँ । किनभने मेरी आमा मेरो प्रत्येक क्रियाकलापको निगरानी राख्नु हुन्थ्यो र म पनि उहाँलाई अनभिज्ञताबाट टाढा राख्न सक्दिनथेँ । उहाँले मेरो र सुधिरको विषयमा भित्रभित्रै धेरै कु
रा मनन गरिरहनुभएको थियो । उहा“को पनि ऊप्रति सहानुभूति थियो । हाम्रो घरमा गाई पालिएको थियो । मैले उसलाई दूध पठाउन आमालाई भनेँ । आमाले पनि मैले भने मुताबिक नै गर्नुभयो । उसको कोठामा मेरो आवतजावत केही बढ्न थाल्यो । उसले बाँसुरी बजाउन छोडिसकेको थियो । कहिलेकाहीँ म उसको कोठामा जाँदा बाँसुरी हेरिरहन्थ्यो । मेरो सुधीरसँग सर्म्पर्क केही बढेकोले घरमा गाइगुइँ कुरा चल्न थाल्यो । म घरको जेठी छोरी थिएँ । मैले केही काम गर्दा पनि सबैको आँखा र्सतक हुन्थे । अनि घरभरि मसम्बन्धी कुराहरू असरल्ल छरिएका हुन्थे । त्यो समयमा छोरीलाई परपुरुषस“ग हेलमेल बढाएको राम्रो मानिदैनथ्यो । अझ प्रेम सम्बन्धलाई अपराध जत्तिकै मानिथ्यो । मेरो विवाहको कुरामा घर, खान्दान, सम्पत्तिको कुरा अगाडि आउदथ्यो । यी सब कुराको अगाडि हाम्रो प्रेम लाचार र विवश थियो । मेरी आमाले यी सब कुराबाट विज्ञ भए पनि केही गर्न सक्ने हिम्मत उहाँमा थिएन । म आफैँ पनि घर, खान्दान र सामाजिक प्रतिष्ठाको बली दिएर सुधिरसँग सम्बन्ध गाँस्न सक्दिनथेँ । तर म ऊप्रति कसरी हो धेरै नजिक हुँदै गएकी थिएँ ।
मैले वास्तविकतालाई क्षणिक प्रेमले अन्धो बनाउन हुँदैन भन्ने कुरालाई मनन गरेँ । उसले जस्तै म पनि उसलाई प्रेम गर्थे । तर प्रेम भनेको प्राप्ति मात्र हैन बलिदान पनि हो । प्राप्तिले भन्दा प्रेम बलिदान र त्यागले अमर हुन्छ र सधैँ स्मरणीय पनि । मैले यो सब कुरा उसलाई अवगत गराएँ । ऊ मेरो सबै जसो कुरामा सहमत भयो । मैले अब उप्रान्त बाँसुरी नबजाउनू भन्ने वाचा समेत गराएँ। घरमा मेरो विवाहको कुरा चलिरहेकोथ्यो । भनेजस्तो कुलटुम्ब अनि विदेश पढ्न जाने योग्य वर सबैबाट स्वीकृत भएपछि मेरो विवाह भयो । विवाह पश्चात म दुइपल्ट माइत आएकी थिएँ । मैले उसप्रति खासै चासो राखिनँ । त्यसपछि म तीन वर्षा लागि विदेशिएको थिएँ । अचानक छोरीको रुवाइले मेरो तन्द्रा टुट्छ । उसले बाँसुरी बजाउन छोडिसकेको हुन्छ । म बिहान उठेर ऊसँग भेटेर गफ गर्ने निश्चय गरेर निदाउन प्रयत्न गर्न थालेँ ।
विहान म उसको कोठामा पुगेँ। कोठामा ताला लगाइएको थियो । म छक्क परेँ । यति विहान ऊ कहाँ गयो भनेर । मैले उसको घरवेटीलाई सोधेँ। उसको घरवेटीले मेरो हातमा सानो पत्र राखिदियो । 'सानु म तिम्रोजीवनदेखि धेरै टाढा जान चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदै छु ।तिम्रो सफल जीवनको लागि शुभकामना - उही सुधिर ।' पत्र पढेर म केहीछिन स्तब्ध भएँ । अनि परिचित छिमेकीसँग केही औपचारिक गफ गरेर त्यहाँबाट सधैँलागि विदा भएँ। मन एक तमासको भइरह्यो । सुधिरको अनुहारले पछ्याइरह्यो......। उसले भनेझैँ लाग्यो - 'अब मेरो लागि कुनै सोधखोज नगर्नू ।'
3 comments:
तपार्इका कथाहरू साह्रै राम्रा छन्र। म भर्खर व्लग क्षेत्रमा प्रवेश गरेकेाले अन्य कथाहरू पनि पढ्रदै छु । कथाहरू यथार्थपरक लाग्छन् ।
धन्यवाद कार्कीजी , खुसी लागेको छ, राम्रा मात्र होइन नराम्रा कुरा पनि बताइदिनु होला ।
शर्मिलाजीका प्रतेक श्रीजनाहरुमा प्रेम र प्रेमजनित,मानबबादी जीबन दर्शन बोकेकाछन। उहाको कथाहरुले आजको स्थितीमा नयाँ मुल्य स्थापनाका लागि जुन तरखर देखाएकोछ,त्यो मननिय छ। तिगेलाजी को "देश बोक्नुको पिडा"को बिभिन्न कोणबाट हेर्दा लेखिका को बिभिन्न स्वतन्त्र चिन्तन र अभिब्यन्जन स्पष्टिएकोछ। जीबनलाई नयाँ दृष्टिकोणले हेर्ने यथार्थको नयाँ व्याख्या प्रस्तुत गर्न असाध्य सिपालु शर्मिलाजी उतरोत्तर प्रगतिको कामना गर्दछु।
Post a Comment