गाउँमा हत्या, हिंसा र अपहरण बढेपछि ऊ नौ(दसजनाको सन्तानको भार बोकेर सहर पस्यो । तीन पुस्ताअघि चिनेको आफन्तकहाँ वासका लागि सहारा लिन पुग्यो । सहरको खुम्चिएको आत्मीयता र अपनत्वमा उसले वास पाउन सकेन । भाडामा दुर्इ कोठामा जीविका चलाएका उसका आफ्नाकी श्रीमतीले चार(पाँच दिनदेखि ननुहाएको गन्हाउने जीउ बोकेर आएका उसका सन्तानलाई वास दिन अस्वीकार गरी ।
नजिकैकको लजमा वास बस्ने सल्लाह दिई । तर लजमा बस्दा पैसा खर्च गर्नुपर्ने पीडाले ऊ मर्माहत भयो । केही नभए आफ्नो चिनारु अफिसबाट आएपछि वाससम्म देला भनेर ढोका कुरेर बस्यो । उसका आफ्नाले पनि परैदेखि गन्हाउने पोकापन्तरा बोकेका उसका सन्तान र उसलाई अपरिचित व्यवहार गर्यो । वासको अन्य विकल्प खोज्दै ऊ आफ्नाको भाइको घरमा पुग्यो । भाइचाहिँको आफ्नै घर थियो । भाइले राम्रो व्यवहार गर्यो , स्वागत , सत्कार गर्यो । हो यस्तो हुनुपर्दछ आफन्त भनेको अनि मानवीयता भनेको । साँझमा पाहुनालाई देवतासमान गर्नुपर्दछ । ऊ आफ्नाको भाइको आतिथ्यसत्कारबाट द्रवीभूत हुँदै कृतकृत्य भयो ।
उसले दाजुले गरेको निठुरी व्यवहार भाइलाई सुनायो । भाइले पनि आगोमा घिउ थप्दै दाजु र भाउज्यू आफन्तको वास्ता नगर्ने निठुरी भएका बखान गर्यो । उसले भाइको मुखेन्जी प्रशस्त प्रशंसा गर्यो । भोलिपल्ट बिहान आतिथ्यसत्कारबाट कृतज्ञ भएको उसको हृदयले भाइको सामु सुखदुखको पोको खाल्यो । उसले पहाडको घरजग्गा बेचबिखन गरेर पैसा ल्याएको र सहरमा सानो घरघडेरी किन्ने मनसाय आकल्यो । उसको कुराले भाइको आतिथ्यसत्कारमा अझ बढी ऊर्जा थपियो ।
ऊ उत्साही हुँदै बोलीमा मिठास र व्यवहारमा आत्मीयता देखाउँदै आफूले धेरैलाई घरजग्गा किनिदिएर समाजसेवा गरेको वृतान्त व्याख्या गर्यो । ऊ धन्यधन्य भयो । वास पनि पाइयो अब चाँडै घरघडेरी किनेर घरजम गर्न पाउने आशामा आनन्दित भयो । उसलाई पाँच लाखमा घरघडेरी किनाइदियो भाइले । ऊ पनि खुसी हुँदै घरजम गरेर बस्यो । केही दिनपछि छिमेकीको कर्कश गाली उसका कानमा पर्न थाल्यो । उसले घरबाट बजार आउँदाजाँदा छिमेकीको आँगन भएर जानुपर्ने कुरा उसले पछि बुझ्यो ।
आफ्नाको भाइको मीठो बोली छिमेकीको कर्कश गालीमा रूपान्तरित हुँदै गयो । केही दिनपछि पानी पर्न थाल्यो । उसको घर चुहेर उसको अज्ञानता र विवशतालाई चुट्न थाल्यो । उसको आत्मा रोएर वर्षाको पानीसगै बग्न थाल्यो आँसु बनेर । ऊ शहरको परिवेश र बाँच्ने शैलीसग बिस्तारै परिचित हुदै जान थाल्यो । ऊ गाउँ र्फकन सक्दैनथ्यो । शहरमा बाँच्नका लागि उसले कि आफ्नाको बाँच्ने शैली अपनाउनु पर्दथ्यो कि त आफ्नाको भाइको । शहरमा बाँच्नको लागि उसले पनि आफ्नाको भाइको नै जीवन शैली अपनायो । अनि ऊ निर्भिक सुरक्षित र सम्पन्न बन्दै गयो ।
0 comments:
Post a Comment