दशैं तिहार त्यसैपनि विदाको दिन । फुर्सदै-फुर्सद अनि बेफुर्दी पनि । यस अवसरमा कुनै खास पोष्ट लेखौं भन्ने लागेको थियो । नजानिदो पाराको व्यस्तताले गर्दा लेख्न पाइनँ । इटहरीकी साहित्यिकार तथा ब्लगर शर्मिला खड्का(दाहाल) आफ्नो गृहथलो आउने इमेल खबरले भेट्ने इच्छा जगायो मलाई । आफ्नो घर इटहरी नै भएपनि उहाँसँग औपचारिक यसरी भेट भएको थिएन । विदाको दिन, कामको बोझ थिएन, ब्लगर र साहित्यकारको भेट ऐतिहासिक नै बन्न पुग्यो हाम्रो लागि ।
वि.सं. २०२३ साल भोटेपुल धरानमा जन्मनु भएकी शर्मिला खड्का(दाहाल) हाल एम.ए अध्ययनरत हुनुहुन्छ । कथा, कविता, लेख र बालसाहित्य विधामा कलम चलाउनुहुने खड्का उत्खनन नारी साहित्य प्रतिष्ठान इटहरी संरक्षक, साहित्य सञ्चार समुह संस्थापक सदस्य, नेपाल बाल साहित्य समाज काठमाण्डौं आजीवन सदस्य, वाणी प्रकाशन विराटनगर साधारण सदस्य, अच्छा राइ रसिक प्रतिष्ठान इटहरी आजीवन सदस्य लगायतका पदमा रहि जिम्मेबारी सम्हाल्दै आउनुभएको छ । साझा बालसाहित्य पुरस्कार २०६०, अनेसासको सवोत्कृष्ट नारी हस्ताक्षार, स्व डिल्लीराम तिम्सिना स्मृति पुरस्कार २००७ बाट पुरस्कृत भै सक्नुभएकी खड्का नेपाल बाल साहित्य समाजको राष्ट्रिय सम्मेलन, धरान बालसाहित्य समाज, मनोक्रान्ति बालविकास केन्द्र इटहरी, पाटन लेडी जेसिज, जेसी महिला सम्मान कार्यक्रम २०६३, एभरेष्ट फाउण्डेशन काठमाण्डौं, नेपाल सम्मान २०६४ लगायतबाट सम्मानित हुनुभएको छ । बालमनोवैज्ञानिक उपन्यास 'सानी', धारावाहिक बाल उपन्यास 'सानीको साहस', 'मित्रताको महत्व', लद्युकथा संग्रह 'संवत्-अफिस', बालउपन्यास 'सिन्केको सफलता' बाल एकाङ्की संग्रह 'उज्यालो बाटो शिक्षाको' कथासंग्रह 'समयको क्यानभासमा' लगायतका कृतिहरु प्रकाशित गरिसक्नुभएकी खड्का हाल काठमाण्डौं नयाँ बानेश्वरमा अस्थायी बसोबास गर्नुहुन्छ । यस टाँसोमा उहाँसँग गरिएको अनौपचारिक गफगाफ पस्कदैछु ।
● हाल के लेख्तै हुनुहुन्छ ?
-हाल कथोपन्यास क्यानभासमा कथाहरु लेख्तै छु । जुन श्रृखलाको रुपमा विभिन्न साहित्यिक पत्रिकाहरुमा आइरहेका छन् ।
● किन उपन्यास लेख्न थाल्नुभयो ?
-समयको क्यानभासमा धेरैजनाले रुचाउनुभयो । यो वेवपत्रिकामा पनि छापिएको थियो । धेरै टाढाबाट राम्राराम्रा प्रतिक्रिया आए । त्यसैसमय परशुप्रधानले सीताहरु लेखेर प्रकाशित गर्नुभएको थियो । मलाई पनि नयाँ प्रयोग गरेर केही लेखौँ लागेको थियो । त्यसैले त्यसको दोस्रो श्रृखला कल्पनाको क्यानभासमा लेखे त्यो अमुर्तकथा पनि धेरैजनाले मन पराइदिनु भयो । त्यसपछि व्रिद्रोहको क्यानभासमा र मायाको क्यानभासमा लेखे । त्यसको पनि राम्रो प्रतिक्रिया पाएँ । त्यसपछि यसलाई कथोपन्यास नै बनाउँछु भनी धारावाहिक रुपमा लेख्न थालेँ । यो नौलो प्रयोग हो । यो पुस्तकको रुपमा आएपछि अझ रोचक हुनेछ भन्ने मेरो विश्वास छ ।
● तपाईको समग्र लेखनको लक्ष्य वा उद्वेश्य के हो ?
-सुरुमा म बालसाहित्य लेख्थे किनभने मैले नेपाली बालसाहित्य क्षेत्रमा बालसाहित्यको ठूलो अभाव देखेँ । बालसाहित्य लेख्दा पहिलो पुस्तक ‘सानी’ले साझा बालसाहित्य पुरस्कार २०६० प्राप्त गयो । यसबाट मैले निकै चर्चा र माया पाएँ । वास्तवमा म बाल्यकालमा अतृप्त प्रेमले पिडीत थिए । हाम्रो परिवार ठूलो भएको हुनाले बुवाआमाबाट मैले पाउनुपर्ने प्रेम पाउन सकेको थिइनँ । त्यो अतृप्तताले मलाई खाइरहन्थ्यो । जब साहित्यक्षेत्रमा एउटा पुस्तक लेख्ने बित्तिकै वरिष्ठ साहित्यकार रमेश विकल, माधव घिमिरे आदिबाट अत्यन्त हार्दिकता र प्रेम पाएँ त्यस्तै धेरै पाठकहरुको माया पाएँ तव मैले यो संकल्प गरेकी म साहित्य लेखेर मैले नपाएको अतृप्त प्रेम पुरा गर्नेछु । म बच्चा देखि वृद्धसम्मको हृदयबाट साहित्यको माध्यमले प्रेम प्राप्त गर्नेछु अर्थात सबैको स्पन्दनमा राज गर्ने प्रयास गर्नेछु । त्यसपछि निरन्तर म साहित्यमा समर्पित भएँ ।
● कथा किन लेख्नुहुन्छ नि ? कुनै खास उद्वेश्य भएर वा मन बहलाउन मात्र ?
-वास्तवमा म साहित्य नै किन लेख्छु भन्नेकुरा मैले माथि नै भनिसकेको छु । त्यही उद्देश्य पूरा गर्न त्यसमा कटिवद्ध भएर लागि परेको छु । यसरी लाग्दा किन हो मैले गद्य विधा नै रोजे मलाई यही विधा नै रुचीकर र सजिलो लाग्यो । जब मेरा प्रत्येक कथाले प्रशंसा पाउँदै गए, ममा हौसला थपिदै गयो । बिस्तारै चुनौति पनि । मलाई लाग्छ मलाई पाठकले एउटा स्थान दिइसक्नुभएको छ र त्यो स्थानलाई सुरक्षित राख्न मैले अझै साधाना र परिश्रम गर्नैपर्छ ।
● तपाईका कथाहरु प्रेम, वासना र यौन मनोविज्ञानले लत्पोतिएका छन् नी ?
-मेरा कथाहरु प्रेम, वासना र यौनमनोविज्ञानले लतपतिएका हुन्छन् । यो सही पनि हो । प्रेम शाश्वत हो । प्रेम सर्वव्यापी हो । वास्तवमा भन्ने हो भने यो संसार प्रेममा अडिएको छ । प्रेमका अनेकौ रुप हुन्छन् तर हामीले प्रेमलाई वासनाका रुपमा मात्र हेरेका छौ । त्यसैले मैले मेरा कथाहरुमा प्रेमका अन्य रुपलाई पनि देखाउने प्रयास गरेकी छु । मैले वासनारहित प्रेमलाई पनि देखाउने प्रयास गरेको छु भने यौनमिश्रति प्रेमलाई पनि । यौनमा मैले ठूलो रहस्य देखेकी छु । त्यसलाई खोतलेर बाहिर निकाल्ने सानो प्रयास मात्र गरेकी हुँ । फायडले यौनमनोविज्ञानको व्याख्यामा व्यक्तिको सम्पूर्ण कार्यलाई यौनले असर पारेको हुन्छ भनेका छन् । उनको सिद्धान्तबाट प्रभावित भएर धेरै यौनमनोविज्ञान सम्बन्धि साहित्यिक पुस्तकहरु लेखिएका छन् । मैले नेपाली साहित्यमा विपी कोइराला र परशु प्रधानको कथामा त्यस किसिमको यौनमनोज्ञिानको अध्ययन गरेकी छु र प्रभावित भएको छु । एकातिर खुला युरोपिय यौन सँस्कृतिले असर पारेको हाम्रो समाज छ भने अर्कोतिर प्रतिबन्धित हाम्रो समाज छ । यस अवस्थामा हाम्रो समजमा यौनसम्बन्धि धेरै विसँगति र विकृति हुनु स्वभाविक हो । यसबाट समाजमा धेरै घटनाहरु घटेका हुन्छन् जसलाई साहित्यकारहरुले कथा बनाएर जीवन्त बनाएका हुन्छन् । मैले पनि त्यही गर्ने प्रयास गरेकी हुँ ।
● आफ्नो कथा सिर्जना प्रक्रिया बताइदिनुस् न ?
-म कथा यो समयमा यसरी लेख्छु भन्न सक्दिन । जुनसुकै बेला पनि कथा फुर्नसक्छ तर मलाई पर्याप्त अनुकुल समय भएको हुनुपर्दछ । त्यस्तो पर्याप्त समय नभएको अवस्थामा कतिपय मेरा कथाहरु हराएर गएका छन् । मेरा अघिका कथाहरु लेख्दा म जागिरे अवस्थामा थिए । त्यससमयमा बन्द हड्ताल नभएको भए मलाई कथा लेख्न धेरै मुश्किल हुन्थ्यो । कुनै घटना, विषयवस्तु, दृश्यले जब मेरो हृदयमा छुन्छ म त्यसमा डुब्छु र एउटा कथाको अस्थिपञ्जरमात्र तयार गर्छु, अस्थिपञ्जर तयार भएपछि त्यसलाई बुनोट र रुपरगमा ढाल्छु । भाषाशैलीले श्रृगार गरेपछि त्यो सुन्दर छ छैन भन्ने कुरामा मनन गर्छु, त्यसलाई म खेस्राको रुपमा नै निकै चोटि सारेर तयार गर्छु । आफू सन्तुष्ट नहोउञ्जेल परिमार्जन गरिरहन्छु । परिमार्जन गर्ने क्रममा कुनै मेरा कथा एकदुई वर्षसम्म अल्झेका पनि छन् । म विशेषगरी मौलिकतामा, प्रस्तुतिमा र शैलीमा विशेष ध्यान दिन्छु । मलाई कुनै पनि कार्य अरुले भन्दा पृथकपाराले गरौ भन्ने लाग्छ । जहाँ आफ्नो उपस्थिति देखियोस् । यही पृथक धाराणले नै मलाई साहित्यमा आफ्नो परिचय बनाउन सफल बनायो ।
● बाल साहित्य लगायतको विधामध्ये आफू कुन विधामा सफल छु भन्ने लाग्छ ? अथवा पाठकीय दृष्टिले कुन विधा बढी लोकप्रिय छ ?
- म आफू कुन विधामा सफल छु भनेर भन्न सक्दिनँ यो पाठकले मुल्याकंन गर्ने कुरा हो । म सबै बिधामा कलम चलाइरहेकी छु । मेरा सस्मरणात्मक निबन्धलाई पनि पाठकहरुले रुचाइदिनुभएको छ । जुन सिर्जना र सन्त्रास भन्ने पुस्तकको रुपमा आउँदैछ । हाल पाठकीय दृष्टिले गद्यबिधा नै लोकप्रिय छ । विगतको समयमा कविताको वर्चस्व थियो भने अहिले कथा, उपन्यास, सस्मरण, र आत्मवृतान्तले लोकप्रियता पाउँदै गएका छन् ।
● वर्तमान नेपाली कथा, उपन्यास कुन दिशातर्फ उन्मुख भएको पाउनुभएको छ ? कथ्य र शैलीमा भैरहेको प्रयोगलाई कुन रुपमा लिनुभएको छ ?
-अहिले नेपालीसाहित्यमा कथा, उपन्यासहरु निकै लेखिएका छन् । विशेष गरी देशले जनयुद्ध र जातीय हिंसा र आन्दोलन बेर्होनुपयो । यस हिसाबमा त्यससम्बन्धि साहित्य लेखिए । ती साहित्य ऐतिहासिक दस्तावेज हुन र घटनाका साक्षीहरु पनि । तर वास्तविक साहित्य लेखनचाहिँ ओझेलमा परेको जस्तो लाग्यो । जताततै हिंसा, आन्दोलन, त्रासमा जनता बाँच्नुपर्ने अवस्थामा स्वच्छन्दरुपले लेखकले लेख्न पाएनन् । जसले गर्दा साहित्यिक कलात्मकताले उचाइ लिन नसकेको जस्तो लाग्छ । साहित्यिक लेखनलाइ देशको राजनीति र सामाजिक अवस्थाले ठूलो असर पारेको हुन्छ ।
● लीलालेखन र उत्तरआधुनिकवाद बारेमा तपाईको धारणा छ ?
-उत्तरआधुनिकतावाद पश्चिमेली समालोचनाक्षेत्रमा सन् १९६० सालमा चलेको वाद हो । दोस्रो विश्वयुद्धपछि विश्वमा भएको मानव मूल्यमान्यताको विखण्डनपछि विश्वमा एउटा नयाँ धारणाको जन्म भयो । आधुनिकताले जन्माएको सम्पूर्ण विज्ञानको उपलब्धि र मानव सभ्यतामाथि प्रश्न चिन्ह खडा भयो । यसको विरोधमा नयाँ धारणाको जन्म भयो । जसलाई उत्तरआधुनिक धारणा भनियो । यसले समाजको कला, सँस्कृति, नृत्य, संगीत आदि क्षेत्रमा प्रभाव पार्दै लग्यो । उत्तरआधुनिकतावादले अत्यन्त ठूलो क्षेत्र ओगेटेको छ । यसले अन्तिम सत्य केही हुँदैन भनेको छ । यो नयाँ चेतना, मूल्य र मान्यता बोकेर आएको वाद हो । यसका प्रमुख मान्यताहरु वहुलतावाद, बहुकेन्द्रितयतावाद, नवअग्रसरतावाद, प्राविधिक सँस्कृति, नारीवाद, समलैगिकवाद, आदि हुन । यसको परिभाषा विशाल छ । नेपाली भाषसाहित्य र समालोचना क्षेत्रमा डा. गोविन्दराज भट्टराई यसको प्रमुख व्याख्याता मान्न सकिन्छ । उत्तरआधुनिकवादका चिन्तक ज्याक डेरिडाले सन् १९६६ मा विनिनिर्माणवादको एउटा तरग ल्याए । जसले भाषासाहित्यमा ठूलो हलचल ल्यायो । यता दार्जिलिंगका इन्द्रबहादुर राईले तेस्रो आयाम पनि लीलालेखनको आन्दोलन धोषणा गरे । उनले लीलालेखनलाई विनिनिर्माणवाद भनी व्याख्या गरेका छन् । लीलालेखनलाई विनिनिर्माणवाद भनी व्याख्या गरेपनि यो भ्रान्ति मात्र भएको कुरा समालोचक डा. गोविन्दराज भट्टराई बताउँछन् । मेरो विचारमा लीलालेखन पूर्वीय साहित्यमा हाम्रा पाखापखेरामा फुलेका वा फलेका जडीबुटी हुन् जसको पहिचान, प्रशोधन र परिमार्जन हुन सकेको छैन भने उत्तरआधुनिकवाद पाश्चात्य साहित्यमा फस्टाएको आधुनिक प्रशोधनयुक्र र सम्पूर्ण व्याख्या र सूत्रबाट निर्मित एलोपेथिक औषधि हो ।
● आफ्नो सिर्जनाको आत्ममूल्याकंन कसरी गर्नुभएको छ ?
-आफ्नो सिर्जनाको पहिलो समिक्षक लेखक आफै हुन्छ अरे । त्यसैले लेखिसकेपछि मैले आफूले मेरो सिर्जनालाई कतिको न्याय गरे भन्ने कुराको मूल्याकंन चाहिँ म गर्ने गर्छु तर कुनै सिर्जना आफूलाई स्तरीय लागेको हुन्छ तर पाठकले सामान्य ठानीदिनुहुन्छ । कुनै सामान्य लागेको लाई स्तरीय ठानीदिनुहुन्छ । पाठकहरुमा पनि धेरै किसिमको फरकफरक विचारहरु पाएको छु ।
● समय र उमेरअनुसार साहित्यिक सिर्जनालाई के कसरी असर पारेको हुन्छ ?
-साहित्यलाई समय र उमेरले पुरै असर पारेको हुन्छ । म साहित्यमा आउनु पनि समयको परिवन्द थियो । समयले मेरो जीवनमा यस्तो उतारचढाव ल्यायो जो सबैले आफ्नो जीवनमा भोग्न पाएका हुँदैनन । तर त्यो भोगाइ अति कठिन र पीडादायी थियो । जीवन र मृत्युको एउटा ठूलो संधर्ष । तर समयले मेरो पक्षमा फैसला गरिदियो जसले म बाँचे त्यो पनि एउटा साहित्यकार भएर । यसमा मलाई गर्व लागेको छ । म मेरो विगतको जीवनको बारेमा आत्मवृतान्तमा लेख्नेछु । त्यो कहिले लेख्छु भन्ने अहिले निक्यौल गरेकी छैन शायद समयले लेखाउला त्यसैले पाठकहरुले प्रतिक्षा गरिदिनु हुन अनुरोध गर्दछु । त्यस्तै उमेर बढ्दै जाँदा साहित्यमा परिपक्वता, अनुभव बढ्दै जान्छ जसले साहित्य लेख्नमा अझ मद्धत गर्दछ ।
● सबैका आ-आफ्ना विधागत अनुशासन, मर्यादा र सीमा हुन्छन्, तपाई आफ्ना अनुभूतिलाई कुनचाहिँ विधामार्फत सजिलै व्यक्त गर्न सक्नुहुन्छ ?
-मैले अघि भनिसकेँ म आफ्नो अनुभुतिलाई गद्यविधामा पोख्न नै सजिलो मान्छु तर गीत कविताहरुमा पोख्नेचाहि गरेको छु । तर त्यो सामान्य क्षणिक आवेग आउँदा मात्र पोख्ने गर्दछु मेरो कथोपन्यास क्यानभासका कथाहरुमा मैले गीत, कविता, निबन्ध, समालोचना आदिको संयोजन गरेर कृति तयार गर्दैछु यो नेपालीसाहित्यमा नौलो प्रयोगद्वारा तयार गरिएको पहिलो कृति हुनेछ ।
● साहित्यमा प्रगतिवादी चेतना जरुरी हुन्छ भनिन्छ किन होला ?
-साहित्य एउटा रस हो । सामान्य अर्थमा हामी कुनै कुराको स्वाद लिदा तीतो, पिरो, टर्र्रो नुनिलो, गुलियो सबैको स्वाद लिन्छौ । साहित्यमा पनि त्यस्तै हो प्रगतिवादी चेतना मात्र जरुरी छ भन्न सकिन्न । चेतना र धारणा सबै प्रकारको लिन जरुरी छ । एउटा धारणाले मान्छेलाई एकोहोरो आँखामा पट्टी बाँधेको घोडाजस्तो बनाउँछ । यो संसार विशाल छ । यो विशालतामा धेरैकुरा अटाउँछ । एउटै कुरामा सीमित रहँदा अरु धेरै कुरा हातबाट फुस्कन सक्छ । समाजलाई प्रगतितर्फ लान यो वाद आवश्यक होला तर समाजले प्रगतिमात्र खोज्दैन । यहाँ मान्छेका मूल्य, मान्यता, विसंगति, असंगति धेरै छरिएर रहेका हुन्छन् जसलाई साहित्यले समेटदै लैजानुपर्छ । साहित्य सीमित घेराभित्र बाधिनुहुँदैन ।
● हालका साहित्यिक सिर्जनाको स्तर, माहोल कसरी हेर्नुभएको छ ?
-हाल साहित्यिक सिर्जनाको स्तर र माहौललाई नजिकबाट हेर्ने गरेको छु । किनभने जागिरबाट अवकाश लिएपछि सम्पूर्ण समय यसैमा समर्पित गरेको छु । साहित्यिक सिर्जना पहिलेको अनुपातमा धेरै हुन्छन् तर कमले मात्र उत्कृष्टता पाएका छन् । यसमध्ये नारी हस्ताक्षर अत्यन्त कम भएको महसुस गरेकी छु ।
● लेखक समाजमा आदर्श व्यक्तित्व हो कि स्वच्छन्द ? तपाई आफूलाई कुन विन्दुमा पाउनुहुन्छ ?
-वास्तवमा लेखक समाजको स्वच्छन्द व्यक्तित्व भएर बाँच्न पाउनुपर्दछ । किनभने लेखनप्रक्रियाको क्षणमा ऊ धेरै असामान्य मानसिकताबाट गज्रनुपर्दछ । त्यसैले ऊ स्वच्छन्दरुपमा बाँच्न सकेमात्र जीवन उसको लागि सहज बन्छ नत्र असहज र असामान्य बन्दछ । तर स्वच्छन्दताको पनि एउटा सीमा हुन्छ । समाजले कुन हदसम्म स्वीकार गर्दछ । किनभने हाम्रो लेखन हाम्रो समाज भन्दा बाहिर जान सकेको छैन । पश्चिमी साहित्यको इतिहासमा धेरै पुरानो छ र धेरै साहित्यकार जन्माइसकेको छ । तर हाम्रो साहित्य भर्खर बामे सरेर पाइला टेक्ने अवस्थामा छ । त्यसैले हाम्रो समाजले त्यस्तो धेरै साहित्यकार जन्माइसकेको छ्र्रैन । विभिन्न प्रकृतिको साहित्यकारहरु भोगिसकेको छैन । त्यसैले यो समाजले साहित्यकारको आचरण र व्यवहार कुन हदसम्म पचाउँछ भन्नेकुरा भोगेका नै छैनौ । तर मलाई लाग्छ व्यक्तिको आचरण र व्यवहारभन्दा उसले समाजलाई केकति योगदान दिएको छ त्यसको चाहिँ मूल्याकन हुनुपर्दछ । मेरो विषयमा कुरा गर्ने हो भने म एउटा सामान्य लेखक मात्र हुँ समाजको सामान्य नागरिक सरह तसर्थ मैले समाजमा रहने आम नागरिक सरह आचरण र व्यवहार गरेको छु । म आफू स्वच्छन्दताको पक्षमा रहेता पनि आफू सामान्य सामाजिक नागरिक सरह जीवन बिताउन चाहन्छु ।
● सिर्जना वा अनुभूतिको कलात्मक अभिव्यक्तिबाट सर्जकलाई कस्तो प्रकारको आनन्दको अनुभव हुन्छ ? त्यसको मूल्य के हो ?
-सिर्जना वा अनुभूतिको कलात्मक अभिव्यक्तिबाट सर्जकलाई ठूलो आनन्दको अनुभुति हुन्छ । जसरी एउटी गर्भिणी आमाले एउटा सन्तान जन्माउँछे । त्यसरी नै सर्जकले पनि एउटा सिर्जना जन्माउँदा धेरै कष्ट भोगको हुन्छ । जब सिर्जना जन्मिसक्छ उ अत्यन्त खुसी हुन्छ । साँच्चै भनौ भने उसको मनोभावना सुत्केरी महिलाको जस्तो कोमल र नाजुक हुन्छ । त्यसअवस्थामा उसलाई प्रेरणा, हौसला, मनोबलको आवश्यकता पर्दछ । मेरो स्थितिमा भन्नुपर्दा मैले सानीको साहस लेखिसकेपछि त्यस्तै अवस्था भयो । मैले ६ महिनासम्म केही लेख्न सकिन, एक प्रकारको थकानजस्तो भइरह्यो । त्यो थकानमा मैले अलौकिक आनन्दको अनुभुति गरेँ ।
● लेखनबाट बाँच्न नसकिने हाम्रोजस्तो देशमा साहित्यकार भएर प्राप्त गरेको सबैभन्दा ठूलो कूरा र गुमाउनु परेको कुरा केही जस्तो लाग्छ ?
-लेखनबाट हाम्रो देशमा बाँच्न सक्ने अवस्था पटक्कै छैन तर म रहरले साहित्यकार भएको होइन । मलाई समयले साहित्यकार बनायो । मलाई वर्षौसम्म थाहा थिएन मभित्र के छ भनेर तर अब समय केही ढीला भएपनि आफूलाई चिनेकी छु । मभित्र केही रहेछ जो सबैसँग हुदैन त्यसैले मभित्र भएको कुरा मैले समाजलाई दिनुपर्छ भन्ने कुरा मैले सोचेँ । चाहे जुनसुकै आर्थिक अवस्थाबाट गुज्रनुपरे पनि मैले साहित्यको सेवा गर्नैपर्छ भन्ने मैले सोचेँ । तसर्थ १६ वर्षदेखि खाँदै आएको जागिर छोडेर यसैमा समर्पित भए । यो मेरो जीवनको चुनौतिपूर्ण कार्य थियो । यसमा लागेर मैले गुमाएको मेरो आर्थिक आम्दानी हो भने पाएको धेरैभन्दा धेरै पाठकको माया, हौसला, प्रेरणा र शुभकामना त्यस्तै वरिष्ठ साहित्यकारहरुको आत्मीयता, हार्दिकता पनि हो ।
● विश्वसाहित्यको सन्दर्भमा नेपाली साहित्यको स्थिति के छ तपाईका विचारमा ?
-विश्व साहित्यको सन्दर्भमा नेपाली साहित्यको स्थिति धेरै कमजोर छ । विश्व साहित्यमा पचास वर्षअघि लेखिएका उत्कृष्ट साहित्यिक कृति अझै नेपाली भाषामा लेखिएका छैनन । छिमेकी राष्ट भारतकै तुलनामा पनि धेरै पछाडि छ । किनभने वीसवर्षघि म भारतीय कथाहरु धेरै पढथे । त्यसमध्ये भारतीय भाषामा उल्था भएको लोलिता रसियन राइटरको पुस्तक पढेर म अति प्रभावित भएकी थिएँ । अझै पनि त्यसका वाक्यहरुले मलाई उदेलित बनाउँछ । यस अवस्थामा भर्खर हाम्रो भाषामा केही राम्रा कृति जन्मन थालेका छन् ।
● व्यक्तिगत प्रश्न सोधेँ, तुलनात्मक रुपमा कम महिला साहित्यकारहरुको चिनारी भएको अवस्थामा तपाईलाई परिवारको समर्थन कस्तो छ ?
-नेपालको परिवेशमा नारीलाई अति कठिनक्षेत्र भनेको राजनीमिा र साहित्य हो । तै पनि राजनीति अनिवार्य कोटा राखिएको छ तर साहित्यिकक्षेत्रमा छैन । योअवस्थामा भएका नारी साहित्यकारहरु पनि पलायन हुने अवस्थामा छ । नारीलाई अत्यन्त गारो हुन्छ । यदि कुनै नारीले मैले जति सिजैना गर]की छ भने बुझ्नुपर्छ उसले धेरै संधर्षगरेकी हुन्छे । मेरो अनुभवमा नारीले पहिला घरको सदस्यहरुसँग संघर्ष गर्नुपर्छ, त्यसपछि नारी साहित्यकारहरुसँग संघर्ष गर्नुपर्छ, त्यसपछि पुरुष साहित्यकारहरुसँग संघर्ष गर्नुपर्छ, त्यसपछि समाजसँग संघर्ष गर्नुपर्छ । यति धेरै संघर्ष गर्दागर्दै ऊ थाकेर बीचबाटोमा नै हराइसक्छे । त्यसैले नेपाली साहित्यक्षेत्रमा नारीको उपस्थिति एकदमै कम छ । मेरो विषयमा भन्नुपर्दा मैले यी माथिका सबै संघर्ष गरिसकेकी छु । अब बाटो केही सहज भएको छ । पहिलो पुस्तक सानीले साझा बालसाहित्य पुरस्कार पाउनु ठूलो सौभाग्य थियो जसले मलाई मेरो साहित्यलेखनलाई साजिलो बनायो ।
● साइबर सँस्कृति, प्रविधिको बढ्दो संजाल, भौतिकतापट्टी अत्याधिक झुकाव आदिले गर्दा नेपाली भाषा र साहित्यका पाठकको संख्या दिनानुदिन घट्तो छ भन्छन् नी ?
-साइबर सँस्कृति र प्रविधिको बढ्दो संजालले साहित्यका पाठकलाई घटाएको छैन किनभने यस प्रविधिले टाढा रहेकालाई र पुस्तक पढ्न नपाउनेलाई पढ्न सजिलो बनाएको छ । तर भौतिकतापट्टी झुकावले चाहिँ पाठकको संख्या घटाएको जस्तो लाग्छ । किनभने आजको व्यस्त समयमा मानिसहरुले मनोरञ्जनको अनेकौँ साधनको सदुपयोग गरिरहेका हुन्छन् । त्यसैले साहित्यलाई कम समय दिइरहेका हुन्छन् ।
● आफ्नै ब्लग संचालन गर्दै हुनुहुदोँ रहेछ, प्रसिद्धि पाउनकै लागि हो ?
-राजेश भाइ,व्लग संचालन गर्दैमा प्रसिद्धि पाइन्छ जस्तो लाग्दैन । फेरि साहित्य लेखेर खासै प्रसिद्धि पाइन्छ जस्तो पनि लाग्दैन । फेरि मेरो व्लग कति पाठकलाई पो थाहा होला र ? मैले व्लग लेख्नुको अर्थ मेरा प्रिय पाठकहरुसँग नजिक हुनु हो । पहिला मेरा कथाहरु पत्रिकामा छापिन्थे । ती छापिएका कथाको प्रतिक्रिया पाठकबाट भेट हुँदा मात्र पाउँथे । पछि कथाहरु वेवपत्रिकामा छापिन थाले । त्यसपछि चाहिँ प्रतिक्रियाहरु वेवमा कि त मेल मार्फत पाउन थाले । पाठकहरुले निकै रुचाएको प्रतिक्रिया पाएपछि मैले पाठकसँग नजिक हुन ब्लग चलाउने निर्णय गरे । यसरी ब्लगबाट पाठकसँग नजिक हुन सजिलो हुन्छ फेरि देशविदेशका सबै पाठकले पढ्न/हेर्न पनि पाउँछन् । अहिले यो ब्लगबाट म औधी खुसी छु किनभने म मेरो लक्ष्यको नजिक पुग्दैछु भन्नुको अर्थ धेरैभन्दा धेरै पाठकको हृदयमा पुग्न सकेको छु र राम्राराम्रा प्रतिक्रियाहरु पाएको छु ।
साभार : अनलाइन खसखस दैनिकी डटकम
10 comments:
दिदी तापाईको अन्र्तवार्ता पढेर धेरै कुरा जान्ने मौका पाँए । तपाईको आत्मवृतान्तको एकदमै बेग्र प्रतिक्षा छ । यो प्रतिक्षा चाडै सकियोस भन्ने प्राथना साथमा तपाईलाई यसको लागि समय चाँडै मिलोस भन्ने कामना छ ।
“समयको अघि चल्न सके पो जिन्दगी
समस्यालाई छल्न सके पो जिन्दगी
एक कुनामा आफ्नै लागि जल्नु को के अर्थ
पूरा धर्ती जग्मगाई बल्न सके पो जिन्दगी”
सुजन भाइ अन्तवार्त पढेर कमेन्ट पढाउनु भएकोमा धेरै धेरै धन्यवाद.यो अन्तवार्ता अरु तिन वटा अनलाइन पत्रिकाले पनि प्रसारण गरेको थियो तपाइको मुक्तक र गीतमा ठुलो शक्ति छ । लेखिरहनु होला ।
दिदि तपाईँको अन्तर्वार्ता नछुटाई पढेँ । एउटा प्रत्यक्ष रुपमा भेट गर्न पाएको व्यक्तित्वको नालीबेली पढ्न पाउँदा दोहोरो कुरा गरेको भन्दा भिन्न अनुभव हुँदो रहेछ । हजुरको जीवनमा आइपरेका विभिन्न उतारचढाव पछिको हजुरको यो साहित्यिक यात्रालाई लाखौ लाखौं लाख शुभकामना दिन चाहान्छु । अरू नयाँ कुराहरू पढ्न पाउँ ।
राजकुमार पुरी
धन्यवाद राजकुमार भाइ . खुसी लागेको छ, तपाइहर धेरै जनासग म यो मनको कुरा साटन पाउदा ज्यादै हर्षित छु,.. म गर्दै छु अवस्य अझ गर्नेछु ।
Your interview is very nice. I got chance to learn many things from your interview. Your interview is wonderful and perfect.
Bhupa Raj Niraula
THANK U BHUPRAJ JEE.
didi sachchikai hajurle bhane jastai garbhako pida bata santan janmaye jattikai hunchha aafno kritiharu , ma yek jana purush bhayera pani yo maile feel garna payeko chhu.Sachchikai didi pathak haruko hausala matrai rahechha santustika aadharharu.kina pariwar, sathibhaiharu reaction nai byakta gardainan , malai ta lekhna nai chhodu ki jasto lageko thiyo tara samajko lagi kehi ta garnaiparchha bhanera lagdai chhu.hajurle ta jhan nari bhayera maile bhanda pani dherai sangharsha garnuparyo hola.yaha ko lekhan ma uttarottar pragatiko kamana gardachhu.
i got alot from ur interview thanks for such creative words
malai man paryo hajuko blag ramro 6 ..
ramro 6 hajur ko blage
Post a Comment