कथाकार दिवाकर नेपालीज्यू, एकदिन मेरो पोष्टबक्समा अपरिचित पत्र आएको रहेछ । सायद यो कर्मचारीको लापरवाहीले हुनसक्छ । नेपालमा यस्ता प्रशासनिक गल्ती हुनु स्वभाविक हो । यदि भएन भनेचाहिँ अचम्म मान्नुपर्ने हुन्छ । यो पत्र कुनै आमाले आफ्नो विदेशमा बस्ने छोरालाई लेखेकी रहिछिन् । त्यो पत्र यसप्रकारको थियो -
प्रिय छोरा
शुभाषिर्वाद
पत्र कहाबाँट सुरु गरूँ, अल्मलिएकी छु । शब्दहरू दुब्लाएका छन् । भावहरू साँगुरिएका छन् । भौतिकरूपले तिमीलाई नदेखेको पूरा तीनवर्षचार महिना भयो । तर तिम्रो अभौतिक आत्मा सधैँ मेरो साथमा हुन्छ । तिम्रो उमेरका पुरुषहरू देखेँ भने तिनमा म तिम्रै रूप र लक्षण खोजिरहेकी हुन्छु । अनि विगतमा पुग्छु । कतै तिम्रो रूपसँग मिल्ने बालक देखेँ भने म नचाहँदानचाहँदै पनि अतीतमा तानिन्छु । तिमी कति पिलन्धरे थियौ - ठ्याक्कै मैले देखेको बालकजस्तै । तिमी सानामा धेरै वर्षपेटको विमारले सताइयौ । पेटमा खानेकुरा नपच्ने अनौठो रोग थियो तिम्रो । कति डाक्टर, धामी, झाक्री गरेता पनि रोग निको भएन । अन्त्यमा गाउँकै अहेव जसलाई सबै डाक्टर भन्थे उसैले निको पार्यो । कैयौँ पटक तिमी कट्टुमा नै आपत बिसाएर आउथ्यौ । बूढो दिसाको कपडा धुदाँधुदाँ मेरो पेट नै फर्केलाझैँ हुन्थ्यो । तर पनि मातृत्व वात्सल्यताले त्यो गन्ध पनि पाचन गर्दथ्यो । लाग्थ्यो त्यो गन्धमा प्रेमको मीठो वासना मगमगाइरहेछ । म आफ्नो आत्मीय भावना तिम्रो यस्तै क्रियाकलापमा पोखिरहेकी हुन्थेँ । अनि त्यसबाट आत्मसन्तुष्टिको परम आनन्द प्राप्त गर्दथे । तिमी सेलरोटीको सारै सौखिन थियौ । गाउँमा कतै पूजा हुँदा तिम्रा लागि सेलरोटी म लुकाएर ल्याउने गर्दथे र तिमीले खाएको त्यो सेलरोटी म आफूले खाएकोभन्दा बढी आनन्द मानेर हेरिरहन्थे । लाग्थ्यो तिमीलाई मनपर्ने सारा खानेकुरा ल्याएर दिऊ । तर आर्थिक अभावले मे्रा सारा चाहनाहरू मुसलीले चामललाई पीठो पारेझैँ चुठदथे । तिमी हुर्कदै गयौ । तिमी हुर्कदै गएको मलाई थाहा थियो । तर मलाई मेरो वैश रित्तिदै गएको पटक्कै होश भएन । जुनबेला तिमी बिहे गर्ने बेलाको भइसकेका थियौ, त्यसबेला मेरो वैश रित्तिसकेको थियो ।
गोरखा रेजिमेन्टको आर्मीको जागिर तिम्रो बुबाले माग्नेबित्तिकै मेरा बुबाआमाले दिएका थिए । तिम्रो बुबासँग जागिरमा म काश्मिर गएकी थिएँ । मेरो भाग्यमा ठूलो दुर्घटना हुनु लेखिएको रहेछ । तिमी मात्र दुइवर्षा थियौ । राति अचानक तिम्रो बुबाको प्राणपखेरु सुतेको ठाउँमा नै गयो । तिम्रो बुबालाई उच्चरक्तचाप थियो । त्यो दिन निकै पिएर आउनुभएछ । मलाई त थाहा पनि भएन । बिहान अचानक सोफामा सुतेको अवस्थामा मृत शरीर लडेको पाएँ । विभिन्न कानूनी प्रावधान पूरा गरी दईवर्ष बालक तिमीलाई च्यापेर कसरी नेपाल आइपुगे, मलाई थाहा भएन । तिम्रो बुबा लर्डाईमा मारिएका भए वीरगति प्राप्त गरेको भनी सरकारबाट नै धेरै सुबिधाहरू पाउन सक्थे । तर त्यसो नभएको स्थितिमा तिम्रो लालनपालन गर्नचाहिँ भारतीय सरकारबाट किस्ताबन्दीको रूपमा पैसा पाउन थालेँ । जसले गर्दा तिमीलाई सामान्य तवरले पालनपोषण गर्न सकेँ । नत्रभने मैले कुनै पनि पेशा अपनाएर तिम्रो पालनपोषण गर्नुपथ्र्यो । त्यसको लागि मैले आफ्नो सतीत्व गुमाउन पनि तयार हुनु पर्दथ्यो ।
प्रिय छोरा, म विगतमा मात्र अल्झिरहेँ मैले तिमीलाई वर्तमानको तीतो यथार्थ पोख्नुअगाडि विगतको पृष्ठभूमि पहिल्याउन उचित ठानेर यो सब भन्दै छु । तिम्रो बिहेपश्चात घरमा खर्चको महामारी चल्न थाल्यो । जसलाई निमूल पार्न तिमीले विदेश गई कमाएर पत्नी र आमालाई सुखसाथ पाल्ने विचार पोख्न थाल्यौ । तिमी विदेश जाने कुराले मेरो मन भक्कानिएर आउँदथ्यो । म आफूलाई शून्य र एकान्तिक महसुस गर्न थालेँ । तिम्रो र बुहारीको जोडी कति सारो सुहाएको थियो । देख्नेहरू भन्थे 'तपाईँको छोराबुहारीको जोडी त दैवले नै जुराएको होला । कस्तो ढुकुरको जस्तो जोडी † तिमीहरूको जोडी देख्दा आफूले एकल जीवन काट्नुपरेको सबै पीडा बिर्सन्थेँ । कैयौँ रात जागै बसेको पीडा तिमीहरूको खुसीसँग साट्ने गर्दथे । जब तिमी विदेश जाने कुरा गर्दथ्यौ मेरो मुटुगाँठो परेर आउँदथ्यो । सानोमा मुनामदनको कथा पढेर बुबाले सुनाउनुभएको दृश्य आँखामा झल्झली आउँदथ्यो । तिम्रो बिछोड के गरी बुहारी र मैले सहने होला - कल्पना गर्दा पनि म त्यसै वेहोश होला जस्तो हुन्थेँ । समय उड्दै गयो । सुखका समय पङ्ख लगाएर उड्दा रहेछन् तर दुखका समय पलपल घिस्रिदै हिँडदो रहेछ । तिमी जानेकुरा गर्दा बुहारी दोजियाकी थिई । तिम्रो भिसा र जागिर मिलिसक्दा बुहारीले रहरलाग्दो छोरा पनि पाइसकेकी थिई । तिमी जानेबेलामा बुहारी सुत्केरी नै थिई । बिदाइको क्षण तिम्रो पनि मुहारमा उदासीका हजारौ लहरहरू झल्किरहेका थिए । देशले भोगको जनयुद्ध अनि सङ्क्रमणकालले खाएको देशको दुरावस्थाको प्रत्यक्ष प्रमाण तिमी विदेसिनुले दिईरहको थियो । धेरै युवाहरू विदेशिनु पर्ने बाध्यताको प्रतिनिधित्व गर्दै तिमी विदेशिएका थियौ- खाडीदेशको तातो हावा खान । त्यसपछि प्रत्येक दिन, साँझ, बिहान तिम्रो समाचार , फोनको प्रतिक्षामा हामी हुन्थ्यौँ । बुहारी त त्यसै मणि हराएको नागझैँ भएकी थिई । मैले पढेकी मुनामदनको कथा अहिले झल्झली चलचित्र भएर मेरो आँखामा सचित्र उत्रिएको थियो । बुहारीको मस्त यौवनमॉ तिम्रो अभावले मलाई सारै पीडा दिन्थ्यो किनभने त्यो पीडालाई मैले भोगकी थिए । लक्ष्मीप्रसाद देवकोटा कति दुरदर्शी रहेछन् । झण्डै साठी वर्षअगाडिको नेपालको सामाजिक चित्रण गरिसकेका रहेछन् ।
प्रिय छोरा, मानिसका सबै पीडा मुखले व्यक्त गर्ने हुँदा रहेनछन् । कतिपय पीडा अव्यक्त हुन्छ र त्यसले भित्रभित्रै खाइरहदो रहेछ । हो तिम्री श्रीमतीलाई पनि भित्रभित्रै अव्यक्त रोगले खाइरह्यो । त्यो कुरा पहिले त मलाई थाहा भएन तर पछि जब एकदिन अचानक बिमारी भएर वेहोश भई तब मलाई करेन्टको झट्का लागेझैँ भयो । तुरुन्त नजिकको हेल्थपोष्टबाट अहेब बोलाएर चेकअप गराएँ । उसले केही औषधि दिएर गयो । बुहारी होशमा आएर फेरि सदाझैँ काम गर्न थाली । तर उसलार्इृ अहेबले बेलाबेलामा हेल्थपोष्टमा औषधि लिन आउनुपर्छ भन्यो । बुहारी प्राय हप्ताहप्ता दिनमा हेल्थपोष्ट जाने गर्दथी । त्यसपछि बुहारीलाई बिमारले भेटेन । हेल्थपोष्ट जाने दिन ऊ असाध्यै खुसी हुन्थी । सानो छोरा मेरो जिम्मा लगाएर जान्थी । सुरुसुरुमा साथी लिएर जान्थी तर पछि एक्लै जान थाली आज यो उमेरमा आफ्नो बुहारीको चरित्रहिनताको कथा आफ्नै छोरालाई सुनाउनुपर्दा मलाई मृत्य किन नआएको होला भनी भगवानसँग प्ररार्थना गरिरहेछु । अब तिम्री मुनाजस्ती श्रीमती मुना रहिन । समयको वेगले उडाएर उसलाइृ धेरै टाढा पुर्याइसकेको छ । यसमा उसको पनि म केही दोष देख्दिनँ । त्यैपनि केही सम्झाउन खोज्यो भने झर्कोफर्को गर्छे तिम्रो पनि खास कमाइ हुनसकेन । एकदिन काकाको छोराले ल्याइदिएको भनी मलाई मोबाइल देखाई । हुन पनि हो अहिलको समयमा खुट्टामा जुत्ता नहुनेसँग मोबाइल हुन्छ भने उसँग हुनु कुन अचम्म हो र - तर अब ऊ हरदम मोबाइलमा हराउन थाली यो चाहिँ असामान्य भएको छ । त्यसरी मोहनी लगाउने चीज त्यो मोबाइलमा के हुँदोरहेछ । हुन त एसएमएस हो कि के हो मा केके लेखेर पठाउने गर्छन् रे । तर मलाई त चलाउन पनि आउँदैन बाबु । लुगा कपडा पनि फेरिफेरि लगाउन थालकी छे । यति हुँदाहुँदै एकदिन उसका कोठामा पानामा एउटा कविता देखेँ । त्यो कविता पढेपछि मलाई कस्तो-कस्तो लाग्यो । त्यसपछि मैले सोचेँ तिमीलाई यताको सत्यताको जानकारी दिनै पछै । नत्र समय धेरै ढिला हुन्छ । त्यो पानामा कविता लेखिएको थियो र त्यो यस प्रकारको थियो-
प्रिये आज एसएमएस गरिन्
प्रिये आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झनाको उपवासमा बसेकी छु ।
उपवासको भोक मेटाउन कविताको फलाहार लिइरहेकी छु ।
हामी धेरै हरायौ
एसएमएसमा, फोनमा, च्याटमा र पत्रहरूमा
हामी कहिले आकृतिविहीन भएर हरायौ
हामी कहिले रङ्गविहीन भएर हरायौ
हामी कहिले संवादविहीन भएर हरायौ
हामीले आफूले आफूलाई चिन्न नसकिने
गरेर हरायौ
त्यसैले प्रिये आज एसएमएस गरिन्
प्रिये आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झना उत्तरआधुनिककालको
गुफामा गुप्तवास बसेको छ ।
विज्ञानको युग, साइवरको युग
एक्काइसौँ शताब्दीको युग
तर पनि भावनाहरू
किन यसरी मुक्तवास खोज्छन्
फोनले तिर्सना किन मेट्दैन ।
कम्प्युटरले सपना किन देख्दैन ।
उत्तरआधुनिकताले भविष्यवाणि किन गर्दैन ।
विज्ञानले अविश्वासलाई किन मार्दैन ।
तिम्रो विश्वासको सफल आरोहरण गर्न पनि
मैले आज एसएमएस गरिन् ।
प्रिये,मैले आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झनाको धरातलीय
क्षेत्रफल नाप्न बसेकी छु ।
कलम र कापीले सम्झनाका
लम्बाइ र चौडाइ नापीरहेकी छु ।
हामी असीमित लम्बाई चौडाइमा फैलियौ ।
फैलनुको कुनै सीमा रहेन ।
कुनै रेखा रहेन ।
कुनै कोण रहेन ।
तर पनि हामी स्वयम् शून्यमा हराइरहेका छौ ।
सायद शून्यको अगाडि एक अङ्क थप्न सके
हामी पूर्ण हुन्थ्यौ होला ।
तर त्यो हाम्रो जीवनको
गणितीय सिद्धान्तको विपरीत छ ।
हाम्रो जीवन शून्यमा हराइरहेको हुनाले पनि
प्रिये आज एसएमएस गरिन्
मलाई माफ गर प्रिये
आज मैले एसएमएस गरिन्
यो कविता पढेपछि मैले थाहा पाएँ बुहारीको चरित्रमा दाग लाग्दैछ र यो कुरा तिमीलाई खबर गर्नैपर्छ भनेर । सायद तिम्रो पनि हालत खाडीको तातो हावामा सम्हाली नसक्नुभएको होला । हाम्रो सुखी परिवारलाई अभावको अगुल्टोले जलाएर खरानी पार्दै छ । यो हाम्रो मात्र होइन धेरै नेपालीको यथार्थ हो । विदेश गई नकमाई नेपालीको जीविका नचल्ने नेपालीको कस्तो विडम्बना - अब यो विडम्बना तिमीहरू जस्ता धेरै युवाले तोड्नैपर्छ । तिमी चाँडोभन्दा चाँडो घर फर्केर आफ्नो सुखी परिवारमा लागेको आगो समयमा नै निभाउने छौ भन्ने आशा राखेकी छु ।
उही तिमीलाई धेरैभन्दाधेरै माया गर्ने आमा
कथाकार दिवाकर नेपालीज्यू, यो एउटी आमाको विरह र वेदनाले भरिएको पत्र पढेपछि म निकै भावुक भएँ। वास्तवमा आज हजारौँ आमाहरू यसरी नै छोराको अभावको पीडा र बुहारीको अव्यक्त पीडाबाट पीडित छन् । यस्ता आमाका पीडालाई तपाईँको कलमले कसरी व्यक्त गर्छ म भन्न सक्दिनं । तर मसँग यस्ता आमाहरूप्रति सहनुभूतिका हजारौं शब्दहरू समर्पित छन् ।
5 comments:
अति यथार्थवादी । मुटु नै कटक्क खायो । सायद दिदीको कलम धारिलो भएर होला ।
यौनको पर्दालाई साहित्यिकरुपले उघार्न खप्पिस शर्मिलाजीको "बिरहको क्यानभास"कथा पढे। साह्रै मार्मिक लाग्यो। आमाले छोरा छोरीप्रती देखाउने माया,प्रेमको बारेमा बर्णन गरिएका कथाले जनमानसको भित्री मनलाई नछोला भन्न सकिन्न। जीबनको यो अबिस्रान्त यात्रामा स्मृतिका रेखाहरु मनभरी उन्दै बिदेसिनुपर्ने बाध्यता र त्यसको नमिठो प्रतिफल भोग्नुपर्ने नियती हाम्रो सामु एकटकले उभिएकोछ धरहराझै। धन्यवाद,यहाँको यो नौलो र नयाँ प्रस्तुतिलाइ।।
कथा चाहिँ बबाल छ है । शब्दमा व्यक्त गर्न सक्दिन ।
विरहको क्यानभासमा तपाईंले उतार्नुभएको शव्द्धचित्रले नराम्रो संग मलाई चिथोरिदिनुभयो । तपाईं संग कुन त्यो अजस्र शव्द्धशक्ति निहित छ, जसले अरुको मनलाई ठहरै ढुटो पिठो पारिदिनुहुन्छ ? हुन त यस्तो अवस्था म आफुले बेहोर्नु नपरे पनि तपाईंले हर विदेशिएका यूवाहरुको घर घरको यथार्थ पिडालाई व्हालव्हाली वमन गरेर अरुको घरको ओदानो उखेलिएको लेखकस्वले मलाई धेरै द्रविभुत र भावुक बनाएको छ । किनकि म अहिले खाडी मुलूकमा कार्यरत छु । तपाईंले लेख्नुभएको कथा अन्तर्गतका त्यस्ता घटना परिघटनाहरु मैले दर्जन भन्दा बढिको यथार्थतालाई समाचार बनाएर लेखेको छु । त्यहि भएर पनि मलाई तपाईंको यस लेखले अलि बढि नै कथाको पृष्ठभूमिमा झ्याम्मिन मदद्गार सावित भएको छ । यस्ता घटनाले सुन्ने र पढ्नेलाई त नमज्जा भोग गराउँछ भने भोग्नेको मुटु कति आक्रान्त हुन्छ होला, भो म त्यो कल्पना पनि गर्न सक्दिन । यस्तै घटना बेहोर्नु परेको एक अभाग्यवान नेपालीले आज भन्दा करिब १४ महिना अगाडि आफ्नै कोठामा तुन्द्रंग झुण्डिएको यहि आँखाले अघाउञ्जेल हेरेको छु । मर्नु भन्दा अगाडि उसैको पिडाको बारेमा राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकमा समाचार बनाएर हालेको त्यो दिन र पत्रिकामा छापिएको उसको निन्याउरो मुख लाएको फोटो मेरो मानसपटलमा झलझली झल्कना आईरहन्छ अनि सिलिङमा झुण्डिएको उसको मृत देहको लत्रिएको खुट्टा मेरै टाउकोमा नै ठोक्किन आएको हो कि भन्ने भल्कना आवृत्त हुन्छन् ।
विचरी आमा, आफ्नो तन्नेरी छोराको खँदिलो भर्भराउँदो रुप र शरीर हेरेर नै उसले त्यहि छोरा पाउँदाको प्रसव पिडालाई पनि भुसुक्क भुलिदिएकी हुन्छे । त्यो पिडालाई रोमाञ्चक स्मृतिको रुपमा ग्रहण गर्दै छोराको मुख केलाएर उसको पति विहीन निस्सारतामा एक रत्ति पनि चेहरामा एकान्तिकताको आवाद हुन नदिई मुसुक्क मुस्कारएर टन्न भएर अघाएको महसुस गर्छे । यस्ता उदाहरणीय यथार्थताहरु र त्यस्तैगरी उधारिएका घरका पिडाहरु बग्रेल्ती भेटिन्छन् आजकल । शर्मिला दि विधवी आमाको फाँदमा स्वास्नी विसाएर विदेशीने त्यो छोराको मनले यसो भनेर पनि त कविता कोरल्ने गथ्र्यो होलानि हैन र ? कृपया यसलाई अन्यथा नलिईदिनुहोला ।
अव्यक्त पिडा मुटु भरि लपेटेर
झुसे झुसे माया अञ्जुली बाट समर्पण गर्दै
हिक्का छोड्दै बिदा दिएकी तिमी
भरिभन्न बनाएका होलान् स्मृतिका हुलले
एकोहोरिएका तिम्रा विचलित मन
बिछोडानुभूतिको संतापले चरक्क चर्किएको मन
छिमेकीको मेलामा रोपो गोड्दा गोड्दैको हात
मेरै सम्झनामा तिमी हराउँदा
टक्क अडिँदा होलान्
पेट भरि अडेसिन नपाएका तिम्रा रहरहरु
स्मूतिका हुलले ग्वारग्वार्ती लखेट्दा
यता आँसु झर्दा उता गाजल पुछिएका होलान्
आहा ! कति गाह्रो भएको होला हकि ?
कट्मेरो बैंस पाक्ने ऋतु नआउँदै
अंगालो खोसिएको आर्तनादमा ।
मन अधबेस्रो बनिदिँदा
तन भौँतारिदै गाग्री बोकेर
पँधेरो कटे जस्तो ,
मकै पिस्न पानी घट्ट जाँदा
घट्ट कटेर खोला पारी पुगे जस्तो
सुद्धि हराउँदा होलान्
एक छिमल बैस पनि पेटभरि भोग्न नपाउँदा
भोकाएको बाघ हैन जिस्क्याएको नाग जस्तो
अनुभूति थेग्रिएका होलान्
बिपन्नतालाई भुतेलिदिउँ जस्तो
रीस उठ्दो होला
आखिर दोष त बिपन्नताको नै हो नि
रहरले बैँसलाई कुरि कुरि गरेर जिस्क्याउँदा
रहरको ढाडमा बैँसको मुठीले कस्सेर
पिटँु पिटँु त लाग्दो होला
आखिर बैँस थकाउन रहरलाई किन पो पिट्नु र
निर्णय बदलिँदो होला
हा ! उपहास नै सहनु बेस
किन गाँस्नु दुश्मनी रहर संग ?
रहरले जाँगर मारिदिए
बैँसले के नै लछारोपाटो लाउन सक्छ र ?
बैँसको के नै औचित्य हुन्छ र चाहना मृत भोग ?
पुसमा खेत रोप्नु र असारमा गहुँ छर्नु जस्तै
निरर्थक , हास्यास्पद बेमौसमी दुस्साहसता जस्तो
तिमीले मनलाई खैँचनु पर्छ कान्छी ,
बैँसलाई कैँचनु पर्छ
किनकी तिम्रो लोग्ने २ बर्षको लागि मात्र
खाडी मुलूक आएको छ ।
प्रिय भाइ रवि
तपाइको कमेन्ट पढेर म अत्यन्त भावुक भए त्यति भावुक म कथा लेख्दा पनि भइन होला । मेरा कथालाइ अन्यथा नलिइदिनु होला । समाजले नारीको यौनलाइ कुनै महत्व दिएको छैन ।पुरुषले पत्नी मरेको भोलीपल्ट अको पत्नी विवाह गर्छ नारी विधवा भए भने वर्षौ एक्लै वस्नु पर्दछ । त्यस्तै पुरषहरु विदेस जादा हुन्छ, विदेसमा जे गर्दा पनि हुन्छ तर नारी सति सावित्रि भएर बस्नु पर्छ । यो समाजमा चलेको रित हो । नारीका भावनाका, विचारका , चाहानाको यहा कुनै मुल्यकान छैन । यसो भनेर म पुरुष प्रति पूर्वाग्रही छैन । मैले समाजको यथार्थ चित्रण दिन खोजेको हु भाइ । अलिकति म नारी सवेदना पट्टि ढल्केको छु होला किनभने यो वर्ग धेरै कमजोर शोषित पिडित अवस्थामा छ । त्यसैले पनि म उनीहरुको पक्षमा कलम चलाइरहेको छु । हुन त म सवै शोशित र पिडीत वर्गको पक्षमा नै कलम चलाउदै छु । नेपाली हजारौ युवा विदेसिनु परेको बाध्यतालाइ पनि मैले अत्यन्त सँवेदनसील भएर लेखेको छु । यो हामी नेपालीहरुको विडम्वना भएको छ । रवि भाइ धेरै खुसी लागेको छ ।
धन्यवाद रवि भाइ , अनि राजेसभाइ र केदारभाइ लाइ पनि अनि आफ्नो अमूल्य समय दिइ कमेन्ट पठाउनु हुने विमलजी लगायत सवैलाई ।
Post a Comment