April 3, 2010

बन्द कहिल्यै नभइदिए हुने नि !

'आज स्कुल बन्द छ स्कुल लाग्दैन !' - पल्लो घरको विकासले साकारलाई सुनायो । साकार खुसीले बुरुक्क उफ्रियो । 'ओहो ! आज स्कुल बन्द छ रे !' - ऊ मनमनै रमायो । 'के खोज्छेस् कानो आँखो' भनेजस्तो भयो उसलाई । उसले साथीको भिडियो गेमको सिडी ल्याएको थियो तर खेल्न पाएको थिएन । उसले सोच्यो ऊ आज दिनभरि कम्प्युटरमा भिडियो गेम खेल्नेछ ।
यसरी अचानक स्कुल बन्द हुँदा उसलाई सारै खुसी लाग्छ । कहिले के को बिरोधमा चक्काजाम हुने अनि कहिले के को विरोधमा स्कुल बन्द हुने । यस्ता बन्दको बेला ऊ प्राय आफूलाई मनपर्ने भिडियो गेम ल्याएर दिनभरि कम्प्युटरमा खेल्ने गर्दथ्यो । चक्काजाम भएको बेला चाहि दिनभरि सडकमा साथीको साइकल खेल्ने गर्दथ्यो । यसरी खेल्न पाउँदा उसलाई असाध्यै रमाइलो लाग्दथ्यो ।
'दिनभरि स्कुलमा कोठामा थुनिएर पढ्नुभन्दा त खेल्दा क्या मजा । ओहो ! आज स्कुल बन्द छ ।' -उसले सोच्यो । आज मजा आउनेछ । वल्लोघर पल्लोघर आज स्कुल बन्द भएको चर्चा चलिरहेको थियो । स्कुलको गृहकार्य पनि हिजै सकिएको हुनाले उसले पढ्नु पर्ने थिएन । फेरि बाबामम्मी अफिस गएपछि ऊ दिनभरि कम्प्युटरमा आफूलाई मनपर्ने भिडियो गेम खेल्न पाउने हुनाले खुसीले रमायो ।

अफिस जाने समय भएपछि बाबामम्मी घरबाट हिँड्नुभयो । ऊ दिनभरि कम्प्युटरमा खेल खेलेर बस्यो । घरमा पनि उसलाई खाजा बनाएर खुवाउने कुसुम दिदी हुनुहुन्थ्यो । कुसुमदिदीले उसलाई मीठो खाजा खुवाइन् । ऊ खुसी भयो । बेलुका हुँदै गएपछि भोलि फेरि स्कुल पढ्न जानुपर्ने कुराले उसलाई दिक्क लाग्यो । 'भोलि पनि स्कुल बन्द भए हुने नि !' उसले मनमनै कल्पना गयो । उसले आज रेस्लिङ्गको गेम खेल्न भ्याएकै थिएन । साथीसँग मागेर ल्याएको सिडी चाँडै साथीलाई फर्काउनुपर्ने थियो । तर उसले खेल्न पाएकै थिएन ।
बिहान ऊ चाँडै उठ्यो । यसो पत्रिका हेर्यो । कतै स्कुल बन्द भएको समाचार छ कि भनी खोज्यो । तर आज स्कुल बन्द भएको हल्ला कतै थिएन ।
ऊ साथी विकासको घर गएर सोध्यो - 'विकास आज स्कुल बन्द छ -'
बिकासले भन्यो - 'लाग्छ आज त कतै बन्दको हल्ला छैन ।' उसलाई आज पटक्कै स्कुल जान मन थिएन के गर्ने होला -
उसलाई मन नलागे पनि स्कुल त जानै पर्दथ्यो । उसले मन नलागी-नलागी लुगा लगायो । आफ्नो किताब कापी झोलामा मिलाएर राख्यो । स्कुल जान तयार भयो । आज ऊ विकाससँग गएन । बाटाभरि उसले आज स्कुल बन्द भइदिए पनि हुने नि भनेर मनमा कुरा खेलाइरह्यो । ऊ बाटामा अलमल गर्दै स्कुल गयो ।
स्कुल सुनसान थियो । सदा त गेटबाहिरबाट नै स्कुलमा हल्लाखल्ला भएको सुनिन्थ्यो । आज त स्कुलमा केही हल्लापनि छैन । ऊ गेटबाहिर निकै बेर बस्यो । उसलाई स्कुलभित्र छिर्न मन लागेन । उसले मनमा नयाँ जुक्ति निकाल्यो । आज स्कुल बन्द छ भनेर घर जानुपर्यो कसले थाहा पाउछ र - आखिर स्कुल बेलाबेलामा बन्द त भइरहन्छ नि । यति सोचेर ऊ घर फर्कियो । घरमा मम्मीबाबा अफिस गइसक्नु भएको हुनाले उसलाई गाली गर्ने कोही हुनेछैन भन्ने थाहा थियो । ऊ घर पुग्यो ।
घर पुग्नुबित्तिकै कुसुमदिदीले सोध्नुभयो - 'साकार तिमी किन फर्कियौ -'
आज स्कुल बन्द भयो दिदी ।' उसले घोसेमुन्टो
लगाएर भन्यो । उसले कुसुमदिदीलाई आँखा जुधाएर भन्न सकेन । कुसुमदिदीले पनि साँच्चै स्कुल बन्द भएको होला भन्ने ठानिन् । ऊ कम्प्युटरमा बसेर गेम खेल्न थाल्यो । गेम खेल्दाखेल्दै उसले मम्मीबाबा आउने समय भएको पनि थाहा पाएन । मम्मी आएर उसलाई भन्नुभयो -
'साकार कति भिडियो गेम खेलेको पढ्नुपर्दैन -'
मम्मीले यसो भन्नुहुँदा ऊ झसङ्ग भयो । ऊ हतारहतार गर्दै पढ्न बस्यो । मम्मीबाबाले आज स्कुल बन्द भयो भनेर फर्केको कुरा थाहा पाउनुहुन्छ कि भनी डरायो । तर मम्मीबाबाले स्कुलको कुरा नगर्नु भएकोले ढुक्क भयो । पढिसकेर ऊ मम्मीबाबासँगै खानाखाने मेचमा बस्यो । खाना खाँदै गरेको बेला साथी विकास आइपुग्यो ।
उसले भन्यो- 'साकार तँ आज स्कुल किन नआएको आज कस्तो राम्रो जादु हेर्यौ हामीले । साकार डरले खङरङ्ग भयो । उसलाई मम्मीबाबाले एकै चोटि हेर्नु भयो । डरले उसको मुटु ढुकढुक गर्न थाल्यो । बाबाले साकारलाई हेर्दै हकारेर भन्नुभयो -'आज साकार स्कुल गएन रे किन नगएको -'
साकारले डराउँदै भन्यो - 'बुबा स्कुलमा होहल्ला केही थिएन त्यसैले बन्द भएको रहेछ भनेर म फर्किए ।'
विकासले भन्यो- 'साकार बाटोमा खेल्दै गयो अङ्कल त्यसैले ऊ स्कुल पुग्दा स्कुल लागिसकेको थियो । त्यसैले स्कुलमा एसेम्ली भएको पनि थाहा पाएन ।'
साकार घोसेमुन्टो लगाएर खाना नखाइ बस्यो ।
मम्मीले बाबालाई सम्झाउँदै भन्नुभयो - 'भो खाना खाएको बेला केही नभन्नुहोस् । यो बन्दले गर्दा बच्चाहरु पनि पढ्न नपरे हुन्थ्यो भन्न थालिसके ।'
बाबाले केही नम्रस्वरमा भन्नुभयो- 'बच्चाहरुको स्कुल बन्द गरेर उनीहरुको भविष्य नै बिगार्ने भए -'

साकारलाई पनि अहिले स्कुल नगएकोमा खल्लो लाग्यो । त्यस्तो राम्रो जादुगरको जादुहेर्न नपाएकोमा पछुतो लाग्यो उसलाई ।
उसले भन्यो - 'मम्मी अब म यसरी स्कुल बन्द भयो भनेर ढाटेर फर्कन । आज स्कुल गएको भए मैले कस्तो राम्रो जादु हेर्न पाउँथे । साँच्चै यो बन्द नभइदिए हुने नि ।'

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।