April 3, 2010

मलाई पाठ सिकाउन मन लाग्यो

चालीस वर्षो क्यालेण्डर थोत्रो पारुञ्जेल जीन्दगीले मलाई धेरै पाठ सिकाएको छ । उसो त मैलेपनि लालाबालालाई पाठ सिकाएर नै पन्ध्र वर्षो क्यालेण्डर थोत्रो पारेकी छु । यस कुरामाचाँहि म कम भइनँ । फेरि जीन्दगीले नयाँ पाठ सिकाउन समयले घचेट्दै, उफार्दै, पछार्दै मलाई काठमाडौँ ल्याइपुर्याएको छ । धेरै गाहृो छ नयाँ ठाउँमा जीन्दगीको नयाँ पाठ सिक्न । चारैतिर अभाव, समस्या, आवश्यकता उम्रेका छन् । जति उखेलेर फ्याँक्यो उति वनमारा झारझैँ फैलिएको छ । घरव्यवहारको उचालीनसक्नु दायित्व, विश्वविदालयको अध्ययनको मार, पुस्तक प्रकाशन र वितरण त्यसमा फेरि लेखनको अभिभारा । कहिलेकाहीँ लाग्छ, जिन्दगी घिस्रदाँ-घिस्रदै समाप्त हुन्छ । आकासिने इच्छा कसको हुँदैन र - कहिले काहीँ लाग्छ यही आकाशले थिचेर सास फेर्न गाहृो भइरहेछ । तातो घाम, धुलौटे बाटो, प्रदुषणयुक्त हावा चुनौँ कि डढेर अरानी डढेर खरानी हुन्छु कि म आफू-आफूभित्रै अतासिन्छु ।

उसो त धेरै पटक म काठमाडौँ आइसकेकी छु । शुरुमा भतिजी, भान्जी भएर आएँ । त्यसपछि दिदी बहिनी, जेठीसासु, साली हुँदै केही समय आमा भएर आएँ । त्यसपछि चाँहि शर्मिला खड्का भएर आएकी छु । मानिसलाई नयाँ ठाउँ कतिपय रितिथिति नौलो लाग्दो रहेछ । ऊ त्यस प्रचलनसँग अनभिज्ञ हुँदो रहेछ । शुरुशुरुमा काठमाडौँ आउँदा एउटा कुरा मलाई अचम्म लाग्दथ्यो । त्यो के थियो भने एक रुपैयाँको ढ्याक यहाँ लेनदेनमा एक रुपैयाँको ढ्याकलाई निकै महत्वपूर्ण मानिँदो रहेछ । हाम्रोतिर हो भने लिनेलेपनि एक रुपैयाँ त हो नि भनेर छाडिदिन्छ र दिनेलेपनि । वास्तवमा जिन्दगीको कति ठूला लेनदेन नमिलेको बेलामा म पनि यो नाथे एक रुपयाँ त हो नि भन्दथेँ । विशेषगरी गाडीमा चढ्दा र खुद्रे व्यापारमा यस्तो हुन्थ्यो । हाम्रोतिरको रिक्सावालाले त पाँच र दश रुपैयाँको नोट बाहेक अरु रुपैयाँ त चिनेकै छैनझैँ व्यवहार गर्छन् । उनीहरू अलिकति कम दुरीलाई पाँच र अलिक बढीलाई दश, पन्ध्र लिने गर्छन् । त्योभन्दा बीचको रुपैयाँ त उनीहरूले पाठशालामा पढेकै छैनन् कि जस्तो गर्छन् । कहिलेकाहीँ रिक्सामा चढेर व्यथित पीडा पोख्नुपर्दा म भन्दथेँ -'सरकारले एक र दुर्इ रुपैयाँको ढ्याक छापेको देखेको सुनेको छैन कि क्या हो -' । उनीहरूलाई काठमाडौँमा दुरीको हिसाबमा गाडिले लिने रकम र फर्काउने एक रुपैयाँको ढ्याकको पाठ सिकाउन मन लाग्दथ्यो ।

काठमाडौँ आएपछि मलाई अचम्म लागेको अर्को अनौठो कुरा थियो, गाडिमा मानिसहरू भेडा, बाख्राझैँ कोचेको दृष्य । काठमाडौँमा गाडि चढ्दा बस्ने सिट पाउनु धेरै ठूलो सौभाग्यको कुरा ठानिँदो रहेछ । हाम्रोतिर म उभिएर धेरै कम यात्रा गर्ने गर्छु यदि सिट भएन भने पर्खेर अर्को गाडिमा चढ्दथेँ । यहाँ त त्योपनि साध्य हुँदैन रहेछ विशेषगरी अफिसको समयमा नकोचिइकन त कुनै उपाय नै हुँदैन । एकदिन एउटा लेख पढेँ । काठमाडौँमा सवारी चाप बढेर र्सार्वजनिक बस राख्न नदिइएको । त्यो लेख पढेर मलाई अचम्म लाग्यो । व्यक्तिगत सवारीचाँहि जति थपेपनि सवारी चाप नबढ्ने तर सर्वसाधारणलाई सुविधा हुनेगरी सवारी साधन थप्दा सवारी चाप बढ्ने कहाँको नियम हो - एकपल्ट मद्रासमा हामी रेलमा चढ्दा हामीलाई थाह नभएर अर्कै डिब्बामा चढेछौँ । त्यहाँका एक यात्रुीले हामीलाई बेस्सरी गाली गरे । यसरी सीटभन्दा बाहिरको यात्री चढ्दा रिसाउँदा रहेछन् । तर हाम्रो देशमा भेडा बाख्राझैँ कोच्दापनि कोही केही नबोल्ने । फेरि उता यात्री बोक्ने यहाँको जस्तो सानो टेम्पो नभइ ठूला-ठूला बस हुन्थे । यसरी विदेशमा हुने यात्राको विवरणको पाठ मलाई यहाँको यात्रीलाई सुनाउन मन लाग्दथ्यो ।

काठमाडौँमा मलाई अर्को अचम्म लागेको कुरो के लाग्दथ्यो भने गल्ली-गल्लीमा हिँड्ने भुस्याहा कुकुरको जमात । हाम्रोतिर प्रायः भुस्याहा कुकुर कम हुन्छन् । रेविजको आतंक फैलने बित्तिकै नगरपालिकले दुईचार वर्षभत्र नै भुस्याहा कुकुर मारिहाल्छन् । तर काठमाडौँमा त्यसरी मारिने चलन रहेनछ क्यारे । फेरि यहाँ चिसोले रेविजको रोग लाग्दैन रहेछ कि भन्ने भ्रमित अनुमान मैले पालेकी थिएँ । एक साँझको कुरो हो - म काम विशेष सकेर घर र्फकदैँ थिएँ । घर छेउमा एउटा कुकुर लुसुक्क आयो र टोक्न खोज्यो । म चिच्याएँ । त्यो कुकुरपनि डराएछ र भाग्यो । त्यसपछि मैले सम्झेँ 'अहो, यसले दिउँसो एउटी बुढी मान्छेलाई टोकेको कुरा गरेकी थिइन् मेरी सहयोगीले घरमा' । त्यसपछि मेरो मुटु ढुकढुक गर्न थाल्यो । 'यसले मलाई टोकेको भए मेरो के हविगत हुन्थ्योहोला । त्यसपछि मैले हल्लाखल्ला गरेँ । पल्लो घरको छिमेकी दिदीले भन्नुभयो -'यो कुकुर हिजो आज टोक्न थालेको छ ।' ।
'कसको हो यो कुकुर -' मेरो जिज्ञासा थियो ।
'त्यो पल्लो घरको, घरमालिकले घर बेचेर गयो तर यो कुकुरचाँहि यहीँ आउँछ । जान मान्दैन ।' ।
'अहो, पशु भएरपनि आफ्नो ठाउँप्रति कत्रो स्नेह, लगाव' आफ्नो जन्मघर बिसेर्र विदेशीएका नेपलीहरूलाई यो कुकुरको पाठ सिकाउन सके कस्तो हुँदो हो -' कुकुरको यो आश्थाप्रति मलाई प्रशंसा गर्न मन लाग्यो । तर त्यसको टोक्ने बानीलेचाँहि मलाई आतंकित बनाएको थियो । वरिपरि त्यो कुकुर सम्बन्धि चर्चा गरेर म आफ्नो कोठामा पस्न लाग्दा अर्को कोठाकी बहिनीले भनिन् -'दिदी, आज बानेश्वर हाइटमा एउटा बहुलाएको कुकुरले आठ-दशजना केटाकेटीहरूलाई टोकेछ । त्यो कुकुरलाई नगरपालिकाले खोजेको खोजै छ ।' । अहिले भने म झन् आतंकित बनेँ । पक्कै त्यो कुकुर बहुलाएको रहेछ । यदि मलाई त्यो कुकुरले टोकेको भए । हाम्रो परिवारमा करिब दशवर्षघि रेविजको आतंकले आतंकित भएका थियौँ । कुरो के थियो भने- मेरो देवरले एउटा कुकुर पाल्नुभएको थियो । त्यो कुकुरले मेरो देवरलाई टोकेर मर्यो । त्यसले उहाँको हातमा टोकेको थियो । केहीदिनपछि देवरमा रेविजको लक्षण देखा पर्यो । धरान अस्पतालमा राखेर रोग पत्ता नलागेपछि सिलगढी लिएर गइयो । सिलगढीमा पनि रोग पत्ता नलागेपछि रेविज होला भन्ने निक्यौल डाक्टरहरूले गरे । रेविज भन्ने आशंका भएपछि सिलगढीको नर्सिङ्होममा डाक्टरहरूले साह्रै नराम्रो व्यवहार गरे अरे । त्यसपश्चात मुश्किलले अर्को नर्सिङहोममा सारेर रेविजको महङ्गो सुई लगाएर विमारीलाई निको पारिएछ । यो घट्नाले मेरो श्रीमान् धेरै समयसम्म विमारी पर्नुभयो । यो घट्ना हाम्रो परिवारमा त्रासको रुपमा रहेको हुनाले हामी कुकुर भनेपछि परैबाट डराउँथ्यौँ । धेरैपल्ट कुकुर पाल्ने रहर हुँदापनि मैले पाल्ने आँट गरेकी थिइन ।

आज त्यो कुकुरले मलाई टोकेर चोक्टा नै लगेको भए । म कोठामा आएरपनि आतंकित त्रासिद नै थिएँ । कुकुरले टोकेको भए रेविजको सुई लगाउनु पर्दथ्यो । म झन् आतंकित बने । मेरा छोरीहरू त्यही बाटो हिँड्छन् । उनीहरूलाई पनि टोक्यो भने म अझ चिन्तित बन्न पुगेँ । भोलि त्यो बाटो कसरी हिँड्ने - रेविज रोग प्रायः कुकुरहरूमा छिट्टै सरिसक्छ । टोलमा यस्ता भुस्याहा कुकुर कति छन् कति छन् । कतिबाट बँचेर हिँड्ने होला । म फेरि आतंकित बनेँ । मैले सोचेँ एउटा लौरोचाँहि बोकेर हिँड्नुपर्ला । फेरि काठमाडौँको शहरमा लौरो बोकेर हिँड्दा के भन्ने हुन् । आफ्नो लौरो बोकेर हिँड्ने उमेरपनि होइन नि - त्यसो भए भोलि कसरी त्यो बाटो हिँड्ने होला । म रातभरि यही कुरा सोचिरहेँ । मुनै उपाय सुल्झेन । बिहान छोरीले 'मम्मी छाता खोइ -' भनी कलेज लान । 'अहो, हातमा छाता बोक्दा झन् राम्रो घाममा ओढेर हिँड्ने कुकुरहरू देखेमा हातमा लौरो बनाइ बोक्ने । राम्रो उपाय सुझेकोमा म खुसी भएँ ।

काठमाडौँमा भर्खर शुरु भएको सङर्घमया जीवन । खाना खाएर काम विशेषले फेरि बाहिर जानुपर्ने भयोव । म निर्धक्क हातमा छाता बोकेर हिँडेँ । कुकुरले झम्टि हालेमा यही छातले मर्नेगरी दिन्छु भनेर । घरको गेटबाट फुक्त बाहिर निस्क्यो त्यो कालो कुकुर उसकै पुरानो घरमा ढुकेर बसेको रहेछ । उसले घुरेर मलाई हेर्यो । मैलेपनि हेरेर भनेँ- 'तँ आइज त हिजो त मलाई खुब टोक्छुव भनेर आउँथिस् त ।' । उसलेपनि घुरेर मलाई हेर्यो अनि भन्यो- 'होइन मैले त मान्छे चिन्न खोजेको हो नत्र त टौकिहाल्थेँ नि । कि छाड्थेँ र ।' । मैले भने- 'अहिले ठीक पार्छस् मलाई टोकेको भएचाँहि तँलाई सिधै यमलोक पुर्याइदिइसक्थेँ । त्यो कुकुरले फनक्क मुन्टो फर्काएर घरभित्र पस्यो । मलाई राहत मिल्यो । म आफ्नो बाटो लागेँ । अब बाटोमा हिँड्दा सम्पूर्ण ध्यान गल्लीका भुस्याहा कुकुरहरूमा पर्न थाले । बरु मलाई अस्सी नब्बेको स्पीडका दरले हिँडेको गाडि, मोटरसाइकल वास्ता हुन छोड्यो । नभन्दै हिँड्दा-हिँड्दै एउटा कुकुरहरूको जमात खै के गफ गर्दै थिए कोन्नी । सायद त्यसबेला तिनीहरू संविधानसभाको चुनावबारे गफ गर्दै थिए क्यारे । म नजिकबाट गफ सुन्न गएँ । तिनीहरू भन्दै थिए- 'मानिसहरू संविधानसभा चुनाव धाँधलीरहित र शान्तिपूर्ण गर्ने भन्छन् होइन । यस्तो बेलामा चक्काजाम ।' ।

'हो त नि । हामीले बाटोमा निर्धक्क खेल्न पाएनौँ । चोकमा चक्काजाम भएर सब गाडी यताबाट आउन थाले । मानिसहरू हामीमजतिको मिलेर पनि नबस्ने भए ।' । यति सुनेको मात्र के थिएँ, एउटाले पुलुक्क मलाई हेर्यो । 'के खोजेको -' । टोकुँझैँ गर्यो । म पनि हातमा रहेको छाता देखाउँदै-'देखिस् यो ब्रहृमस्त्र मसँग छ ।' । मैले भनेँ । कुनबेला हौ एउटा स्पीडमा आएको मोटरसाइकल मेरो छेउबाट बन्दुकबाट निस्केको गोलीझैँ भएर निस्क्यो । म झसङ्ग भएँ । मेरो मुटु ढुकढुक गर्न थाल्यो । डाइड्रोफिबियाको बाबु कुकुरफोयिबा रोग लागेको म जन्तुलाई इन्तु न चिन्तु पार्यो । झण्डै इहलीला समाप्त पारेको । मैले सोचेँ । डाइड्रोफिबिया भएर मर्नु भन्दा त एक्सिडेन्टमा मर्नु नै ठीक । किनभने जीन्दगालाई थोत्रो मोटरसाइकल सरह रिपियर गराउँदा-गराउँदा थाकेको यो ज्यानले निवृत्तिमरण नै पाउँदथ्यो । रेविज लागेर तड्पेर बाँच्नुपर्ने थिएन । फेरि दुर्घटना मात्र भए सबै खर्च मोटरसाइकलवालाले तिरिहाल्दथ्यो । यसमा पनि कुनै आपत्ति थिएन । धन्न ति कुकुरका जमातले टोकेनन् । म गन्तव्यतिर लागेँ । बाटामा कतै कुकुर छ कि भनेर मेरा आँखले दुइसय मिटर पर नै खानतलाश गरिसक्थ्यो । छैनभनेचाँहि मन ढुक्क हुन्थ्यो ।

यसरी सम्पूर्ण शक्तिको स्रोत कुकुरमाथि थुपारेर म गन्तव्यतिर लागेँ । मैले पुग्नुपर्ने गल्लीका धेरैजसो घरमा कुकुरबाट सावधान लेखिएको थियो । फेरि कुकुरको त्रास मनमा लिपासिएर टाँसियो । म पुग्नुपर्ने घरमापनि कुकुरबाट सावधान लेखिएको रहेछ । मैले बाहिरबाट बेल बजाएँ । कोही बाहिर आयो । 'कुकुर छ -' मैले सोधेँ । 'छैन' उसले भन्यो । मैले दिनुपर्ने सामान दिएर फर्केँ । मान्छे झुटको खेती नगरी बाँच्न नसक्ने भएछ । मनमनैँ कल्पना गरेँ । मानिसको अस्तित्व कुकुरभन्दा तल पुगीसकेको रहेछ । त्यसपछि फेरि कुकुरबाट आतंकित हुदैँ घर फर्केँ । केहीदिनपछि एउटा पत्रिका पढेँ । हरिवेश आचार्यले पशुपन्छीको हकअधिकार रक्षा गर्न कुनै गैह्रसरकारी सस्थासंग मिलेर भुस्याहा कुकुरहरू बन्ध्याकरण गरेको र रेविज विरुद्धको भ्याक्सिन लगाएको । मलाई पशुपन्छीप्रतिको यो व्यवहार एकदमै ठीक लाग्यो । मलाई यो पाठ हाम्रो गाउँमा लगेर सुनाउन मन लाग्यो

1 comments:

Kedarsangket said...

आँखाहरु रसिय किनकी मैले पनि मेरो गाउँ छोड्दा "काले"लाई छोडेको थिए ।
..... हरिवेश आचार्यले पशुपन्छीको हकअधिकार रक्षा गर्न कुनै गैह्रसरकारी सस्थासंग मिलेर भुस्याहा कुकुरहरू बन्ध्याकरण गरेको र रेविज विरुद्धको भ्याक्सिन लगाएको । मलाई पशुपन्छीप्रतिको यो व्यवहार एकदमै ठीक लाग्यो । मलाई यो पाठ हाम्रो गाउँमा लगेर सुनाउन मन लाग्यो"
उपदेसात्मक शस्मरणले औधी मन कट्मरियो ।
शर्मिला दिदी धेरै धन्यवाद

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।