पत्रात्मक निबन्ध
प्रिय बहिनी झमक, तिमीले पहिलो औपचारिक भेटमा ‘तपाईँलाई दिदी भन्दा हुन्छ’ भनेर प्रस्ताव राख्यौ । म अत्यन्त खुसी भएँ । मैले भने ‘झमकजी तपार्इँको विशाल प्रतिभा र बौद्धिकताको अगाडि यो सुहाउँदैन तर पारिवारिक नाताको रूपमा भन्न सक्नुहुन्छ’ । तिम्रो पुस्तक ‘जीवन काँडा की फूल’ को विमोचनको भोलिपल्ट म तिमीलाई भेट्न तिम्रो डेरा कोटेश्वर गएकी थिएँ (यहाँ मैले सम्बोधनमा तिमी भन्न रुचाएँ मलाई माफ गर है) । वास्तवमा तिमीलाई म विगत सात आठ वर्षदेखि पढ्दै आएकी थिएँ । एउटी विलक्षण प्रतिभा भएकी अपाङ्ग केटी जो जीवनका हरेक पल सङ्घर्ष गर्दै आफ्नो परिचयको खोजीमा छे । तिम्रो विषयमा म यस्तै धारणा राख्थेँ । खासै भन्नुपर्दा ममा तिम्रो सिर्जनाको प्रभाव पर्न सकेको थिएनँ । मैले नढाँटी भन्नुपर्दा तिमीले आफ्नो प्रतिकुल शारीरिक अवस्थामा पनि कठोर परिश्रम गरी सिर्जना फुलाउन सक्नुको सहनुभूति मात्र थियो ममा । तर जब मैले तिम्रो ‘जीवन काँडाकी फूल’ मा तिम्रो जीवनको पाना पल्टाउँदै गए तब तिमीप्रति मेरो श्रद्धा, स्नेह र हार्दिकताको उचाइले सगरमाथा छोएको भान भयो मलाई । हो झमक, तिम्रो र मेरो लडाई एउटै छ — त्यो हो आत्मस्वामिमानको लडाई हो । यो कुरा मैले तिमीलाई भेटमा पनि भनेकी थिएँ । तिमीले धेरै सङ्घर्ष गर्नु प¥यो – आफूसँग प्रकृतिसँग, परिवेशसँग । तिमीले विद्रोह ग¥यौ कुसंस्कार, विकृति, विसंगति र दुराचारसँग । एउटा विवस केटी जो अरूको कतिपय कुरामा भर परेर हिँडनुपर्छ, तिनैको विरोधमा लेख्न सक्नु र आक्रोश व्यक्त गर्न सक्नु ठूलो सहास हो । म तिम्रो सहासको हृदयदेखि अभिवादन गर्दछु । नेपाली नारीले भोग्नु पर्ने जन्मदादेखिको घर भित्रका कुसस्कार र कुप्रचारलाई आफ्नै बुवाआमाको विरोधमा कति सजिलै तिमीले कलम चलाउन सकेकी छ्यौ । त्यसमाथि तिमी आपङ्ग भई आमाबुवाको बोझ बनेर बाँच्नुपरेको अवस्थामा तिमीप्रति गरिने व्यवहारलाई तिमीले एकएक शब्दमा जीवित तुल्याएकी छ्यौ । यो आपङ्ग यो सापे, यो बोल्न नसक्ने लाटीलाई जे भने पनि हुन्छ भनेर बुवाआमाले तिम्रो संवेदनशील हृदयमा कति पटक चोट पुग्ने गरी भने होलान् । त्यस्तै छरछिमेक, आफन्त हेर्न आउने जाने सबैले तिम्रा अपाङ्गताप्रति गरेका तिरस्कार र वितृष्णाले तिमीकति पटक जिउँदै मरे सरह भयौ होला । तिमी कैयौ पटक भर्दै, बाच्दै ग¥यौ होला ? त्यो कि समयलाई थाहा होला कि त तिमीलाई । एक ठाउमा तिमीले भनेकी छ्यौ – एक पटक बाबाले मलाई दसैमा टिका लाएर आर्शीवाद दिँदै के भने भने— ‘तँ हामीभन्दा बढी नबाँचेस । कसले तेरो स्याहार गर्छ ।’ एउटा सशक्त सोचाइ र संवेदनशील हृदय भएको मानिसलाई अपाङ्ग ठानेर भनिएको यो वाक्यले तिमीलाई कति मर्माहत बनायो होला । कसैले कल्पना गर्न सक्छ < यहाँ तिमीले पोखेका भावनाका शब्दहरूमा कति मार्मिकता छन् । त्यो कुन बुवा होला । जो आफ्नो सन्तान चाँडै मर भनेर आशीर्वादरूपी श्राप दिन्छन् ! तर तिम्रो अपाङ्गता अरूका लागि कति बोझ भएको रहेछ । आज तिमी जस्तै विश्वमा हजारौँ अपाङ्गहरू छन् । तिनीहरूको भावनात्मक संदेश बोकेर प्रतिनिधिको रूपमा तिमी यहाँ उभिएकी छौ । त्यस्तै विद्रोहको भावना तिमीलाई बुवाले पढ्न नदिदा र बुबाले तिमीप्रति गरेको व्यवहारलाई कति कारुणिक पाराले चलचित्रझै छर्लङ्ग पारेकी छ्यौ । यो पढ्दै जादा पाठक स्वयम् त्यो पीडाको भुमरी रुमालिएर कुन बेला भक्कानिन्छ पाठक स्वयम्लाई थाहा हुँदैन् । अब लाग्छ भो अब यो पुस्तक नपढौ तर त्यो तिम्रो जीवनप्रतिको जिज्ञासाले पाठकले पुस्तक छोड्नै सक्दैन । साच्चै भन्नुपर्दा तिमीलाई यही परिवेश र यही वातावरणले यति सशक्तताका साथ कलम चलाउन सक्षम बनायो । आज कतिपय बुवाआमा सक्त, असक्त दुवै थरिका छोराछोरीलाई पढ भनेर कलम समाउन दिन्छन्, के तिनीहरू तिमीले जस्तै परिचय पाउन सक्छन् < त्यसैले तिमीले जुन परिवेश भोग्यौ त्यसलाई सकरात्मक ठान्नुपर्छ र त्यसैले गर्दा नै तिमी आज यो ठाउँमा आइपुग्न सकेकी छ्यौ ।
झमक तिम्रो आत्मवृतान्त पढ्न अघि म भन्थे मैले जीवनमा धेरै सङ्घर्ष गरेकी छु । म पनि जङ्गलको एउटा सुनाखरी फूल हुँ । जो आफै विभिन्न हावा, हुन्डरी, आधीबेरी खेपेर फुल्न सक्यो । न कसैले गोडमेल गर्यो न कसैले प्रेम गर्यो । आफै सङ्धर्ष गरेर यहाँसम्म आइपुग्यो । तर जब तिम्रो आत्मकथा पढेँ । मेरो सोचाइ फिका लाग्यो । हामी दुईका सङ्धर्षका संरचना र सङ्घर्षका प्रकियाहरू फरकफरक छन् । तिमी जुन सङ्धर्षको मोडबाट गुज्रियौ, त्यो मैले गर्नु परेन । म जुन सङ्धर्षको मैदानमा उत्रिए तिमीले त्यो खेप्नु परेन । तर हामी दुवैको पीडा, वेदना, छटपटी, आक्रोश एउटै थियो । त्यो हो अस्तित्ववोधको पीडा अनि मान्छे हुनुको पीडा । मैले पनि धेरैपटक यमराजसँग मृत्युको भीख मागेको छु तिमीले जस्तै । यो सुनेर तिमीलाई अचम्म लाग्ला । यति सवलाङ्ग नारी, आर्थिक, सामाजिक र मानसिकरूपले सक्षम नारीले यसो किन भनेको होला भनी तिमीलाई अचम्म लाग्न सक्छ । यस विषयमा तिमी जस्तै अरू धेरैलाई जिज्ञासा हुन सक्छ । हो साँच्चै मैले धेरै पटक यमराजसँग मृत्युको भीख मागेकी छु । यसरी तिमीले तिम्रो पुस्तकमा धेरै ठाउँमा लेखेकी छ्यौ । मानिस सबैलाई आफ्नै पीडा ठूलो लाग्छ । सबैको आ–आफ्नै खाले पीडा हुन्छ । तर जसले ती पीडा भोगेर पनि एउटा प्रतिभामा परिणत गर्छ अथवा शक्तिमा परिणत गर्छ त्यो व्यक्ति महान हुन्छ । हो आज तिमी पनि महान व्यक्ति बनेकी छ्यौ — हजारौ नारीको, निमुखा जनताको, अपाङ्ग बालबालिकाको । हाम्रो समाजमा नारीलाई हेर्न दृष्टिकोण कस्तो छ भनेर तिमीले पुस्तकको धेरै ठाउमा भनिसकेकी छ्यौ । हजुरआमाले नाति जन्मेन भनेर तिम्री बहिनीलाई गरेको उपेक्षाको भावलाई तिमीले वडो कुशलतापुर्वक पूस्तकमा राखेकी छ्यौ । हो त्यही छोरी भएर जन्मनुपर्दा मलाई पनि माइतमा आमावुवा र दाजुभाइले गरेको व्यवहारले प्रत्येक पल टुक्रयाइरहन्छ । त्यो बेला छोरीलाई हेर्ने दृष्टिकोण अर्कै थियो । जति पढाए पनि अर्काको भित्ता टाल्ने जात भन्दै पढाइमा बारम्बार रोकावट आउथ्यो । यो हृदय त्यसै त्यसै मरेजस्तै हुन्थ्यो । घरमा छोरीले जति काम गरेपनि स्याबास र माया पाउदैनथे तर छोराहरू केही काम नगरी हुकुम चलाएर बस्दथे । यस्तो बेला यो छाती अस्तित्ववोधको पीडाले जल्दथ्यो । तिमीलाई म एउटा कुरा भन्दछु– मेरी आफ्नी आमाले मैले दोस्रो छोरी पाउँदा ‘भो अब म पाउँदिन‘ भन्दा के भनिन् थाहा छ – तैले नपाउने भए जुवाईलाई अर्को विहे गर्न लगाउँछु । त्यो बेला भर्खर प्रसव पीडाबाट निस्केको मेरो मानसिकता कस्तो भयो होला । त्योबेला यो कुराले मेरो हृदय कति चिरियो होला । त्यसको तिमी अनुमान लगाउन सक्छौ <
त्यसपछि लोग्नेको व्यवहार अनि सासूको व्यवहार कस्तो थियो होला < अनि घरपरिवार छरछिमेकको < के तिमी कल्पना गर्न सक्थ्यो । यो हृदय कतिपटक मर्दै बाच्दै ग¥यो होला । आज पनि दुई छोरी पाउने आमाको पीडा अलिकति पनि घटेको छैन बरु अझ बढ्दै गएको छ । यो पुरुषप्रधान समाजमा हाम्रो अस्तित्व खोइ < के हामी मानिस होइनौ < के हामीमा भावना छैन, संवेदना छैन <
यसैले त मैले तिमीलाई सुरुमा भनिसकेकी छु । हामी एउटै लडाइ लड्दैछौ त्यो हो —आत्मास्वाभिमानको लडाई । प्रिय बहिनी झमक, अझै पनि हाम्रो समाजमा चेतनाको लहर फैलन सकेको छैन । नारीहरू जतिसुकै उपेक्षित भएपनि विद्रोह गर्न सक्दैनन् । मैले धेरै मानसिक रूपले, आर्थिक रूपले र समाजिक रूपले सक्षम भएको नारीहरू देखेको छु । तर तिनीहरू आफू रमाउनमा नै जिन्दगी ठान्दछन् । उनीहरू आफू मात्र बाँच्न चाहन्छन् । किनभने उनीहरूले पीडा के हो भोगेका छैनन् । समाजमा नारीको अस्तित्व कसरी धमिल्याइन्छ भन्ने विषयमा सोच्न चाहदैनन् । तिम्रो साहासिक जीवन र लेखन उनीहरूका लागि उत्प्रेरणा हुन सक्छ । तिमी हजारौहजार अपाङ्ग, विवश, नारीको प्रतिनिधित्व भएर बाचेकी छ्यौ ।
साँच्चै तिमी क्याक्टसकी फूलझैँ भएर फुलेकी छ्यौ । भmमक क्याक्टस मरभूभिमा उम्रन्छ र एकदिन ऊ फूल्छ । त्यो फुल कति सुन्दर देखिन्छ । अन्य फूलझैँ त्यो फुल सितिमिति फुल्दैन । धुलोमा फोहोरमा लडिबुडि गर्दै तिमी हुर्कियौ । तिमीलाई कुनै रोगले पछ्याउन सकेन । त्यही भुँइका धुलो उडाउदै अक्षरसँग खेल्न सिक्यौ, शब्दसँग खेलन सिक्यौ । तिमी त्यही हुर्कियौ । त्यही फुल्यौ । जसरी मरुभूमिमा तातो वाफसँग पोठेजौरी खेल्दै क्याक्टस फुल्छ । हो त्यसरी नै तिमी फुल्यौ । जब फुल्यौ तिमीले सिउडीलेझैँ उत्सव बनायौ । आर्थिृक दुर्बलतामा बाँचेको बाबुआमाको काखमा पहाडको एउटा कुनामा चेतनाको ज्योति तिमीले आफैले आफूभित्र फुलाएकी थियौ । के सही के बेठीक भन्ने कुरा तिमीले आफ्नै हृदयमा उमा¥यौ । त्यसमा कसैले गोडमेल गरेनन् न त गर्न नै सक्थे । कति ठूलाठूला निर्णय तिमीले एक्लै लियौ । परिवारको विचारको विरोधमा मै छु भन्ने सक्षम व्यक्ति पनि परिवारको विरोधमा यसरी एक्लै लड्न सक्दैनन् । तिमी त अझ परिवार प्रति आश्रित थियौ । तर तिम्रो ज्ञानले के ठीक के बेठीक छुट्टयाइसकेको थियो । त्यो विरोधको घटना थियो शाही शासनकालमा ज्ञानेन्द्रको सरकारले तिमीमाथि थोपरेको कालो घटना जसलाई तिमीले यसरी लेखेकी छ्यौ –
‘त्यस्तो अप्ठेरो समयमा मैले अझै पाउन नसकेको पदक खोजेर ल्याएर संविधान दिवसको दिन त्यो समयका विरुद्ध उभिएकाहरूको दलबलले साथ मलाई भिराएर कलङ्खित पार्ने योजना रहेछ । कालो दिवस कालो समय त्यो पनि कालो सभामा गएर त्यो प्रबल गोर्खा दक्षिण बाहु नामको पदक भिरेर औसाहरूलाई खुसी बनाएर आफ्नै टाउकोमा कलकको छिर्का छर्ने काम गर्ने कुरै थिएन । यसो गर्न आत्माले मानेन, म स्वतन्त्रताको पक्षमा उभिएको व्यक्ति त्यो दिन तिनीहरूलाई समर्थन गर्दै आफ्नो आत्मविश्वास र स्वाभिमान कुल्चिदै गला थाप्न जान अह सकिनँ र गइन । यता बाबा आमाको दिमागमा भुइचालो गएको थियो, डरले सातोपुत्लो उडेको थियो यो असक्तिले हाम्रो उठिबास लाउने भई भनेर पुर्पुरोमा हात राखेका थिए त्यस दिन भक्कु गाली खाएको थिए मैले बूढाबूढीले सबै तीतो ओकले । त्यसदिन म भात खानु
नपर्ने गरी टन्न अघाएँ । मेरो मन मुटु चसक्क घोच्दाघोच्दै त्यो छिया छिया भएर भक्कानिएर आँखाबाट अविरल बगिरह्यो आँसुको भल अविरल अविरल .....।
त्यसदिन मलाई बाबाआमादेखि साहे रिस उठ्यो, उनीहरूसँग चरचरी बाझ्न मन लाग्यो किनभने मैले धेरै सहिसकेकी थिएँ, अब सीमा नाघेको थियो, मामा अब सहने शक्ति थिएन । के गर्नु आवाज थिएनन् । उफ्् कति अभिशप्त जिन्दगी ? जिन्दगी त्यतिबेला चाहिँ सार्रै दुख्यो । अति चारै गरे पनि बूढाबूढीले गाली । त्यो दिन रुदै काम थुनेर बसेकी थिएँ । आस्था र विचार बचाउनको लागि पनि मैले आँसु नै बगाउनु परेको थियो । उमेर पुगेका छोराछोरीलाई कस्तो संवेदनविहीन भएर वचन गरे भने त्यसको चोट यहाँ शब्दले उर्तान सक्दिनँ म । यो असत्तीलाई जन्माएको यही दिन देख्न रहेछ । के गर्नु यो यहाँ बस्छे भने एक डल्लो एक डल्लो भात दिने, यसलाई वास्तै नगर्ने, यसलाई जहाँ जाओस् जे गरोस् केही वास्तै नगर्ने भने आफ्नै जन्मदिने साख्यै आमाबाबाले । उनीहरूलाई म बसेको पनि धेरै भएको रहेछ । नाथे एक डल्लोभात दिन कत्रो कष्ट भएको रहेछ त, जस्तो लाग्यो , झनै परेलाका डिलबाट आँसुको भल बग्न रोकिएन, किन यिनीहरूको एक डल्लोभात दिँदा यस्तो चित्त दुख्यो ? त्यस दिन मलाई जिन्दगी साहै बोझ लाग्यो ।’
तिमीले यी शब्द कति मार्मिक पारामा भनेकी छ्यौ । वास्तवमा यो समयमा जस्तै सुकै सक्षम व्यक्तिलाई पनि अत्यन्त गारो हुने विषय हो । एकातिर शाही सरकारले भनेको नमान्दा गोली हान्ने डर हुन्थ्यो भने अर्कोतिर माओबादीको आन्दोलन चरमसिमामा थियो । यो अवस्थामा घरपरिवारमा तिम्रा आमावुवामा त्रास हुनु स्वभाविक हो किनभने त्यो त्रासको घानमा जोकोही पिसिन सक्थ्यो । यस्तो अवस्थामा तिमीले आफ्नो विचार अडिग रही राष्ट्र र जनताका लागि आफ्नो बुवाआमाको इच्छाको विपरित एक्लै विद्रोध गर्नु कति साहसिक सोचाइ थियो । यहाँ आएर म तिम्रो साहसको वर्णन गर्न कुनै शब्द भेटिरहेको छैन । तिम्रो स्वाभिमान, निडरता, सार्वभौभिक विचार, स्वतन्त्रताको म हृदयदेखि नै सम्मान गर्न चाहन्छु ।
वास्तवमा यी कुराहरु राष्ट्रको एउटा सचेत नागरिकले बोलेका कुरा हुन् । एउटा स्वाभिमानी निडर, प्रजातन्त्रप्रेमी लेखकले बोलेको हो । पुस्तकभरी तिम्रो साहित्यिक कलात्मकता, बौद्धिकता, भाव र विचारहरुस‘ग पाठकले साक्षात्कार गर्ने सुअवसर पाइरहन्छ । प्रत्येक वाक्यमा तिमीले आफ्नो जीवन खोलिदिएका छौ । त्यसैले तिमीले भनेकी रहेछौ मैले आफ्नो जीवन खोलिदिएकी छु भनेर र यो इच्छा नहुदा नहुदै पनि तिमीप्रतिको आम पाठकको जिज्ञासाले खोल्नुपरेको कुरा अध्यक्ष गोपाल गुरागाइ बताउनुहुन्छ ।
तिम्रो जीवन पढिने यस पुस्तकलाई वरिष्ठ समालोचक गोविन्दराज भट्टराईले निकै समय खर्चनु भएको कुरा भूमिका लेखनबाट थाहा हुन्छ । भूमिकामा उहाँ गोविन्दराज भट्टराई भन्नुहुन्छ — यो भविष्यवाणी गर्दछु एकदिन झमक भेट्न विश्वसाहित्य नेपाल आउनेछ । यस भनाइभित्र कति गहनता छ । अन्तराष्ट्रिय भाषा , साहित्यका ज्ञाता डा. गोविन्दराज भट्टराईको शब्दहरूलाई यी वाक्यहरूले अझ सार्थकता प्रदान गर्दछन् — झमक एक अद्भुत व्यक्तित्व अर्थात् अघि नभएको । अधि यसप्रकारका त्रुटिपूर्ण वायोलेजीसँग कति जन्मे हुनन् । तिनमा पनि केही गर्ने क्षमता थियो होला, तर तिनलाई कसैले चिनेन । आज पनि विभिन्न प्रकारका त्रुटिको अभिशाप भोग्ने कति होलान् तिनीहरू पनि अवसर पाएँ अवश्य पनि झमक या यस्तै केही हुन्थे होलान् । प्रस्तुत कृति पढेर समाजको ध्यान त्यतातिर जाला भन्ने लाग्दछ । जन्मिएको प्रत्येक मानवलाई माया, प्रेम र स्नेह, समान व्यवहारले मात्र तिनीहरूप्रति न्याय हुनेछ, आत्मसम्मान हुने रहेछ भन्नेपाठ सिकाउँछ । यो कुनै अनुसन्धानको आधारमा प्रयोगशालामा बसेर लेखिएको कृति होइन परन्तु एक अदभुत चेतना, तीक्ष्णता र प्रकाशले निर्देशित बालिकाले उसको कठोर तपस्याले आर्जन गरेको ज्ञान हो, अनुभूति हो । यो अनमोल छ । प्रत्येक शब्दले पाठक छुन्छ, ऊ कति बेला जिरिग हुन्छ, कति बेला भक्कानिएर आँसुमा डुब्छ, आश्चर्यमा पर्छ र आफ्नो जीवन व्यर्थ गएकोमा आफैलाई धिक्कारेर मुड्क्याउन थाल्छ ।
म सम्पूर्ण नेपाली समुदाय समक्ष विनम्र अनुरोध गर्दछु नेपालका प्रत्येक विद्यालयमा, प्राथमिकदेखि उच्च माध्यमिक सम्ममा, विश्वविद्यालयका प्रत्येक तहमा सबै शिक्षकले यो पुस्तक अनिवार्य रूपले पढौँ पढाऔँ । नेपाली साहित्यको इतिहासमा नेपाली नागरिकको इतिहासमा यस्तो उपहार कहिल्यै जन्मेन । अबका बालबालिकाप्रति कस्तो धारणा धारणा राख्नुपर्दछ, यसले सिकाउँछ । असमर्थ प्रत्येक बालबालिकाको हृदयमा एउटा झमक बसेको हुने रहेछ भन्ने चेतना नभएसम्म हाम्रा शिक्षकमा मानवता र समानताका गुणहरू पलाउने छैनन् ।
यस्तै भाषाविज्ञ डा. बालकृष्ण पोखरेल आफ्ना काव्यिक भावमा तिमीलाई यसरी पोख्नुहुन्छ –
झमक छैन तयार अपागको ।
लिन यहाँपदको उपहारता ।।
गरिवाद विरुद्ध विचार यो ।
कति अहो उनको छ महानता ।।
झमक सान मनुष्य समाजकी ।
झमक गायन रे मुटुभाझकी ।।
झमक वीर अदम्य विचारकी ।
झमकको गर आदरआरती ।।
तिम्रो अदम्य साहस र प्रतिभालाई प्रज्जवलित बनाउन तिमीलाई झमक साहित्य प्रतिष्ठान मार्फत गोपाल गुरागाईको उत्तिकै सहयोग मिलेको पुस्तकको भूमिकामा उल्लेख गरिएको छ भने सात समुन्द्र पारि बस्ने भाषा साहित्यको सेवामा कटिवद्धभई लाग्ने अथक साहित्य सेवक साहित्यकार, नियात्राकार विश्वासदिप दिगेलाबाट उत्तिकै श्रद्धा, स्नेह, प्राप्त भएको पुस्तकबाट थाहा हुन्छ । उनले आफ्नै निजी खर्चमा तिम्रो सुन्दर पुस्तकलाई आकार दिएका छन् । अब तिमी यहाँ एक्लो छैनौँ । हामी छौ, पाठक छन्, राष्ट्र छ र छन् सबै मानवतावादीहरू ।
अब तिमी आफ्ना जीवनका सम्पूर्ण काँडाहरू उखेलेर प्mयाक्नु पर्छ र त्यहाँ फूलैफूल उम्रनुपर्छ । जो सध्रैँ हाँसिरहन्छ ।
अन्त्यमा तिमीलाई म के भन्न चाहन्छु भने, यो हामी नेपाली लेखकहरूको पुस्तौनी बाध्यता हो यहाँ लेखक आफै जन्मनुपर्छ, आफै हुर्कनुपर्छ आफै फुल्नुपर्छ, । कैयौ पटक मूर्छा पर्दै बौरदै गनुपर्छ । अनि फेरि मर्दै बाच्दै गर्नुपर्छ । यहाँ सहयोग गर्ने हातहरू धेरै कम प्राप्त हुन्छन् । ती प्राप्त हुनु पनि एउटा इश्वरीय वरदान हुन जान्छन् । त्यसैले आम नेपाली लेखकले भोग्नुपर्ने विडम्वनामा हामी दुई पृथक हुन सक्दैनौ । अझ हामी त्यसमा पनि नारी दोस्रो दर्जाको नागरिक सिमोन द बुभा ‘द सेकेण्ड सेक्स’ हामी उठुञ्जेल धेरै पटक मुर्छा पर्दै बौरदै गरेका हुन्छौ । यो समाज अनि यो समाजका सारा काला कुसंस्कार, विकृति विसंगति दुर्गामाताझैँ खड्ग बोकेर असत्यरुपी महिषासुर मार्न जीवनलाई नै दाउमा लाउनुपर्छ । त्यसैले त म भन्छु, अनि फेरि म भन्छु, झमक, तिम्रो र मेरो लडाईँ एउटै त्यो हो – अस्तित्वबोधको, आत्मस्वाभिमानको अनि म हुनुको पीडाबोध ।
1 comments:
excellent ! excellent ! excellent !
Post a Comment