August 25, 2010

माइतीको पत्र

आदरणीय दिदी भेनाजु
नमस्कार
सात समुन्द्र पारि, म बहिनीको धेरै–धेरै सम्मझना । तपाईहरु त्यहाँ सपरिवार सकुशल हुनुहुन्छ होला भन्ने भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछु ।
खै दिदी भगवान श्री पशुपति नाथ स“ग के भनेर प्रार्थना गर्नु र ? उनलाई पुज्ने कस्ता कस्ता देवत्व भएका ब्यक्तिलाई त उनले रक्षा गर्न सकेनन् भने तपाई हामी साधारण ब्यक्तिलाई के रक्षा गर्लान र ?

दिदी, अब यताको हालखवरतिर लागौँ। यताको हालखवर त बारम्बार इन्टरनेटबाट थाहा पाई रान्नुहुन्छ होला । हत्या, हिंसा, आन्दोलन भिडन्त र अपहरण विनाको समाचार अब नुन विनाको तरकारी जस्तो भइसक्यो । गाउँ पहाडतिर गइनसक्नु छ । पहाडतिरका आफन्तहरु सबै बसाई सरिसके । गाउँ पहाडहरु ढुब्लाउदै गएका छन् । गाउँका शुद्ध खानेकुरा र फलफुलहरुको पौष्टिकता बन्दुक र बारुदले शोसिसकेको छ । शहरहरु मोटाउदैछन् । हामीले हाम्रो माइति घर धरानमा उफ्रेका चउरहरु अनि बगौचाहरु घरहरुले ढाकिसकेका छन् । घरहरु प्राय पुरुषविहिन भएका छन् । हाम्रा दाज्यू , भाइहरु ठेक्का व्यापारहरु ठम्प भएर कोही अरव कोही मलेसिया पसिसकेका छन् । विदेश नगएका दाज्यु भाइहरु आर्थिक बोझले थिचिएर, किचिएर चिनी नसक्नुका भइसकेका छन् ।

दिदी हामी पढ्ने स्कुलहरु रोगले दुब्लाउदै गएका छन् । हामी स्कुलमा पढ्दा “तरवार भन्दा कलम ठूलो” भनी बादविवाद गरेर जित्थ्यौ । तर अहिले कलम भन्दा तरवार ठूलो भएको छ । शान्तिका लागी कति कलम चलाउँदा चलाउँदा हामी थाकिसक्यौ । जताततै क्रन्दन छ, पीडा छ अनि विलाप छ । यसको समाधान कसरी होला ? उतबाट सहयोगकालागी धेरै रकम चन्दा आएको सुनिन्छ । तर त्यो आउँदा आउदै प्रसान्त महासागरको हावाले उडाएर उतै पु¥याउँछ क्यारे । नत्र भने त्यसको महकले मात्रै पनि कतिको घरवार सुवासित हनु सक्थ्यो होला।

दिदी , हामीलाई आमाले कथा सुनाउनु हुन्थ्यो सतीले मर्ने बेलामा हाम्रो देशलाई सरापेको छ अरे अनि यहाँ भलो गर्नेको भलो हुदैन रे भनेर । सायत यही उखान चरितार्थ हुनलाई होकि कसैको विवेकमा पनि चेतनाको बीज उम्रन नसकेको । हुन त म यति सानो मान्छे भएर यति ठुलो कुरा गर्न नहुने तर पनि चारैतिर रगतको खोला बगेको बेला कसको हृदयले नबोल्ला र यस्तो कुरामा ?

दिदी, तपाई यहाँ हुँदा हामी सवै मिलेर प्रजातन्त्र ल्याएका थियौ । हामी धेरै खुशी भएका थियौ । तर आज त्यही प्रजातन्त्र उकुस पल्टेको घाऊ जस्तै भएर हामीलाई दुखाई रहेछ । एण्टिवायटिक पेनाकिलर र टिन्यरबेन्जिनले हामी थिलथिलो भइसकेका छौ । निको हुने नामै छैन । दवाईको साइड इफेक्टले साइड टेन्सन शुरु भइसकेको छ । राम्रा डाक्टरहरु त्यतातिर भए पठाइदिनु होला ।

दिदी, हाम्रो र्दशमा कोही हात्तीमा रमाएर कुदनेहरु पनि छन् नभएका होइनन् । तर एउटै थालमा खाने र एउटै छत मुनि बस्ने कोही चाहि खच्चर चढ्न पाएका छैनन् । अनि हात्तीले खाने खुराकीको केही अंश पनि उनीहरुको पेटमा परेको हुँदैन । अनि यस्तो बेलामा मानविय संवेदना र उत्कण्ठा संम्प्रेषित हुँदै डाँडा काट्न खोज्छन् । अनि मानवताका नारा लाउँदै चुचुरोबाट कराउन उत्प्रेरित हुन्छ यो मन ।तर के गर्नु यो सब हुनुको कारक हामी नै हौ । हामीले हामीलाई जसरी पनि एडजस्ट गर्न सकौला रे । तर हाम्रा नानीहरु ? मेरी सानी छोरी अलिक ठुलो आवाज आयो भने बम पड्कयो भनेर मुख छोप्छे । सानो नानीको स्थिति यस्तो छ । भर्खर हुर्कदै गरेका छोराछोरीको मानसिकता कस्तो होला । हामी (बुवा, आमा) घर बाहिर गएका छौ भने घर नआउञ्जेल चिन्तित हुन्छन् । हत्या अपहरण, डर र त्रासले उनीहरुलाई हर समय गाँजिरहेको हुन्छ । भविष्यको कर्णघार हाम्रा छोराछोरीहरुले कसरी समाज र देश विकासका लागी काम गर्न सक्लान र ?

हडताल अनि विरोधको शैक्षिक क्षेत्रलाई सुलुत्त निलेको छ । कहिले तीन दिन बन्द अनि कहिले पाँच दिन बन्दले होटेल चलाउने हाम्रा सानोवुवा, मामाहरु ऋणमा चुर्लुम्म डुवेका छन्। सम्पन्नताले भरिपूर्ण भएका हाम्रा माइतका कति काका, दाज्युहरु आजको छाक टुट्यो , भोलि के खाउ भन्ने स्थिति छन् ।

दिदी, तपाईले छोडेर जानु भएको माइत त्यो बेलाको जस्तो छैन । हामी हाम्रो वुवाको जन्मथलो तेह्रथुम र पहाड घुम्न गएका थियौ । हामी कति रमाई रमाई घुमेर आएका थियौँ । आफन्तका घर–घरमा पसेर दुध, दही ध्यू भात खाँदै हिँडेका थियौँ । तेह्रथुम, हात्तीपोखरीको मही, मकै अनि बदाम रमाई रमाई खादै कुदथ्यौँ । यासोकको रानीवनमा लालीगुराँस टिप्दै हामी कति रमाउथ्यौँ । रानीवनको सिद्धकाली मन्दिरमा पूजा लाउँदा गाउँले सवै भेला भएका थिए ।अनि हामीहरुले रातभरि आमाहरुलाई काम सघाएका थियौ । विहान उषाको किरण ब्युझाउन हामीलाई कोठा भित्र आइपुग्थ्यो । अनि हिमाल लाजले रातै भएर हामीसँग साउती गरिरहेको जस्तो लाग्दथ्यो । ढुकुर, मुनाल, डाँफे देख्दा हामी रमाइ – रमाई नाच्थ्यौँ । तर यो सब अब कथा जस्तो भएको छ । खोलाले गीत गाउन छोडिसकेको छ । सल्लाहरु सुसाउन छोडिसकेको छन् । हिमाल रोइरहेछ । रानीवनमा ढुकुर ,मुनाल हैन, बाज र चिल मानिस भन्दा हामी विवेकी छौ भन्दै नाच्न थालेका छन् । धेरै घर, गोठहरु खण्डहरु भइसकेका छन् हाम्रा आफन्तहरु सवै पलायन भइसकेका छन् । पहाडको त्यो रौनकता, त्यो सुन्दरता अब केही रहेन ।

विपन्नताले पराकाष्ठा नाघिसकेको छ । हाम्रा घेरै मामाकी छोरीहरु अनि फुपूकी छोरीहरु विघवा भएका छन् । हाम्रा धेरै भदा भदैनीहरु टुहुरा, अनाथ अनि अपाङ्ग बनेका छन् । वुवा आमाको माया पाउन नसकेर उनीहरु सडकमा भौतारिरहेका छन् । पहिले हामी समाचारमा कुनै देशमा गृहयुद्ध भयो र यति मानिस म¥यो रे भनेको सुन्दा कति अचम्म मान्दथ्यौ हैन दिदी । तर आज आफनो देशमा यो सव भइरहेछ । शान्तिको देश नेपाल, बुद्धको देश नेपाल भनेर चिनिने हाम्रो देशलाई आज आफनै स्वयम्भूको आँखा लागेको छ । यसो त्यो देशमा झारफूक गर्ने राम्रा घामी झाक्री छन् भने यतातिर पढाइदिनु होला । देश दुखेन भने मुटु पोलेन भने कतै हाम्रँ बूढा बुढी हुन लागेका वुवा आमाको मुखमा खुशीका लहर देख्न सक्छौ कि । अनि हाम्रा छोरामछोरीहरु शान्तिका प्रतिक परेवा मकै आगँनमा रमाई रमाई नाच्दै बाच्न् सक्छन् कि ।

दिदी अब त देशले राजनीति निकास पाउछ भनी हामी लोकतन्त्र पनि भर्खरै ळ्याएको छौ तर खै अझ अशान्ति चुलिएर हिमाल छुन खोजेको छ । महँगीले लक्ष्मणरेखा नै नाघिसकेको छ ।

अरु धेरै के लेखु । पीडाको भारी जति विसाए पनि उही नै हो । पशुपतिनाथले हामी सवैको रक्षा गर्न नसके पनि हामी सवैलाई सद्बुद्धि दिऊन् । आजलाई यति ।

उही दुखी पिडीत बहिनी

“शरु”


पत्र पढी सक्दा नसक्दा उषाका आँखाबाट बलिन्द आँसुका घारा झारे । सावने भेल झै भएर बगेको बाढी थाम्न धेरै गाह्रो भयो उषालाई । बैनीले यस्तो पत्र किन पठाएकी होली ? एक मनले भन्यो “नपठाएकी भए पनि हुने ” अनि अर्को मनले कल्प्यो , “ठीकै त भयो यो पत्र पढ्न नपाएको भए म कति कुरा थाहा पाउने नै थिइन् । यिनी दोघारे भावनाबाट उचालिदै पछारिदै गर्दा समय बितेको उनलाई थाहा नै भएन् ।

“मम्मी ढोका खोल्नुस न” जेठी छोरीले ढोका ढकढकाउँदा उनी झस्किन् । “ओहो छोरीहरु लिन जान पनि बिर्सेछु मनमा गल्ती भएको आभाष उमार्दै ढोका खोल्न पुग्छिन् ।

“मम्मी हामीलाई लिन किन नआउनु भाको” जेठी छोरीले नेपालीमा अप्ठ्यारो गर्दै बोली , “हेर न छोरी नेपालबाट चिठी आएको थियो तिम्रो आन्टीको म त बिर्सेछु । मलाई माफ गर है ।” अमेरिकामा छोराछोरी सँग पनि माफ माग्नु पर्ने औपचारिकता पूरा गरिन् उषाले ।

छोरीहरुलाई कपडा बढलेर खाजा खुवाई सक्दा उनको श्रीमान् पनि आइपुगे । उनको श्रीमान् ओकावोको विश्वविद्यालयमा पि.एच.डी. गर्दैछन् त्यसैले उनीहरु सपरिवार यता बस्दै आएको करीब चार वर्ष भइसक्यो । साँझ सम्म उनको मन खुल्न सकेन । मुहारमा दुखका प्रतिबिम्वहरु छरिरहे । मनभरि पत्रका शब्दहरु कालो बादल भएर घुमिरह्यो । उनी आफ्नो मनको भारी कहाँ बिसाउने भनेर चौताराको अभावमा भट्किरहिन् । छोरीहरु सानै छन् । श्रीमानलाई पढाइ र घरपरिवारको बोझ छ त्यसैले आफ्नो बोझ थपेर दुखी बनाउन चाहिनन् ।

बेलुकाको डिनर पछि घरघन्दा सकेर सबैजना ओछ्यानमा पल्टे । उनको मस्तिष्कमा माइतीघर नेपाल नाचिरह्यो । चिठीका एक–एक हरफले उनलाई माइतघर पु¥याएको थियो । माइती सँग यतिका दिन सम्म भेट्न नपाएको विरानोपनले गाजिरहेको बेलामा यस्तो पत्र पढ्दा उनको मन थामि नसकनु भएको थियो । मेरो देश किन यस्तो भयो । उनी कल्पनामा डुब्न थालिन् - “बिदेश गएपछि थाहा हुँदो रहेछ आफ्नो देशको माया । प्रत्येक ढुकढुकीमा देशको स्पन्दन हुदो रहेछ । आफ्नो गाउठाउ, टोल, छरछिमेकसँग छुट्टिएर विरानो देसमा आउँदा यो मन त्यसै ओइलाएको पहेँलो साग जस्तो हुदो रहेछ । हिड्ने बेलामा साथीभाइ, आफन्तले दिएको शुभकामनासहितको उत्प्रेरणा कहाँ सधै हरियो हुदो रहेछ र ? अझ अमेरिकामा नेपाली भएर बाँच्नु परेको पीडाले देशको महत्वलाई उजिल्याउदो रहेछ । मेरो देश नेपाल पनि अमेरिका जस्तै विकसित र भौतिक सुविधा सम्पन्न भइदिए कस्तो हुनथ्यो होला ।” नेपाल गरीबी र अशानित सम्झेर उनलाई औडाहा भएर आयो । निन्द्रा पटक्कै लागेन । “के बहिनीले पत्रमा लेखे जस्तै भयो मेरो माइत गाँउ ? अब मैले मेरो माइत पहिलाको जस्तो देख्न पाउने छैन । उनको मनमा पीडा र बेदनाका ज्वारभाटा चलिरहे ।

“शायद यो सबको दोषी हामी नै हौ । किनभने हामी पढेलेखेका नेपालीहरु पनि विदेशमा नै पलायन भएर बसिदिन्छौ । अनि राष्ट्रियतालाई भौतिक सुविधा सँग बेचिदिन्छौ अनि कसरी देश विकास हुन्छ । हामीले पनि पढाई सकेर अमेरिकामा नै बस्ने सोच बनाएका छौ, यसरी हुदैन । मेरो श्रीमानले जसरी भए पनि आफ्नो देशको माटोमा नै बैद्धिक ज्ञान छर्नु पर्छ अनि सीप र सिर्जना प्रस्फुटन पार्नु पर्छ । मैले पनि मेरो देशमा शान्तिकोलागी कलम समाउनु पर्छ अनि समाजसेवा गर्नु पर्छ । विदेशमा राष्ट्रियता गुमाएर अस्तित्वविहीन भएर बाँच्नु भन्दा देशको माटोकोलागी कुस्ती खेल्दै मर्नु नै जीवनको सार्थकता हुन्छ ।”

उनी पढाई सकेपछि अमेरिकामा जीवन विताउने उदेश्यलाई त्यागि दिन्छिन् । अनी आफ्नो देशको माटोकोलागी केही गर्ने कल्पना गर्दा गदै निन्द्रादेवीको शरणमा पुग्छिन् ।

2 comments:

Bhupa Raj Niraula said...

Story is anyhow good. But lack in presentation and english words have been used while writing. Writer needs more studies and she should keep on writing so that her presentation will be strong and in the long run she will be good story writer. Best of luck.

Bhupa Raj Niraula
Kathmandu
bhupa_638@yahoo.com
bhuparajniraula@hotmail.com

शखदा said...

भुपराजजी यो कथा मैले मेरो कथा लेखनको सुरुआतमा लेखेको हु । यो कथामा त्यति कलात्मकता छैन अरु प्रस्तुतिमा पनि कमजोर पक्षहरु छन त्यसैले यो कथा समयको क्यानभसमा सगहमा परेको छैन तर आफ्नो सिर्जना जसतो भए पनि लेखकलाइ प्रिय हुन्छ त्यसैले व्लगमा राखेको हु । तपाइले पापुलर पोस्टको कथा पढुनु भयो केही सन्दुष्टि पाउनु हुनेछ । कमेन्टको लागि धन्यवाद छ ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।