नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन
वर्षौ धर्मका ठेकेदारहरूको आगोमा जिउँदै जलाइयौ
तिम्रो आयू उनीहरूले कोरिदिए
तिम्रो भाग्य उनीहरूले फोरिदिए
तर पनि तिमीले एक शब्द बोलिनौ
त्यसपछि पनि तिम्रो अस्तित्व समाजले स्वीकारेन
तिमीलाई समाजले मानिसको दर्जा दिएन
वर्षौ पशुको जीवन बाँच्दै आयौ
सामन्तहरूको दास र भोग्या बन्दै आयौ ।
नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन ।
अझै पनि भोग्यको जीवन बाँचिरहेछौ
लोमानीका गन्धमा गुम्सिएर
ल्याक्मेको प्रशोधनमा भुलेर
कति बाँच्छौ अरूका नै लागि
सामन्तीहरूको सुनको चुरा र पोतेमा
कति अल्झाउँछौ आफ्नो अमूल्य जीवन
घरको चार पर्खाल नाघेर हेर
नारीको अस्तित्व कसरी टाँगिएको छ
धुजाधुजा भएर समाजमा
नारी तिमी जाग उठ हेर
अनि आफूलाई चिन
तिमी पनि मानिस नै हो
तिम्रो पनि सोच्ने मस्तिष्क छ
काम गर्ने हातहरू छन्
सधै्र अरूले बनाएको नियममा
कति डो¥याउँछौ आफूलाई
आफै नियम बनाएर त हेर
कति असमनताका डोरीले बाँधिएका छन
तिम्रा हात र खुट्टा नफुकिने गरी
एकपल्ट फुकाइ त हेर
तिम्रा बोलीहरू कसरी निमोठिने छन्
तिम्रा भावनाहरू कसरी चिमोटिने छन्
तिम्रा विचारहरू कसरी सिरिने छन्
त्यसैले एकपल्ट नियम बनाइ त हेर ।
नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन
तिमी नै सरस्वती , लक्ष्मी, दुर्गा हौ
तिमी नै आदि अनादि हौ
तिमीभित्र संसार छ ।
तर तिमीले नै आफूलाई नचिनेपछि
कसले तिमीलाई चिनाइदिन्छ ?
आफ्नो लागि तिमीले आफै बाँच्नुपर्छ
सामन्ती शोषित समाजले दिएको बन्धन
तिमीले आफै तोड्नुपर्छ ।
नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन ।
0 comments:
Post a Comment