October 21, 2012

सम्झनारूपी अक्षरहरूमा कहिल्यै नमेटिने नाम

आदरणीय..............रमेश विकलज्यू मिति २०६८– ४– १८

माफ गर्नुहोला मैले सम्बोधनको स्पेश खाली राखेको छु । खाली राख्नुको अर्थ धेरै हुनसक्छ । त्यो अर्थको व्याख्यामा म अटाउन नसक्ने भएको छु । हजुरको विराट व्यक्तित्व र प्रतिभाले युक्त सिर्जनशील कार्यले कुनै एउटा मात्र सम्बोधनले गर्दा अपूर्ण हुनसक्छ अथवा अझ बढी भन्दा अव्यवहारिक हुनसक्छ तसर्थ मैले यो स्पेशमा समयले भराउन सक्ने र र परिधिले भेट्न सक्ने सम्पूर्ण सम्बोधनलाई उल्लेख गर्न चाहन्छु । सर्वप्रथम म हजुरलाई मेरो कर्म दिने पिताजीको रूपमा सम्बोधन गर्न चाहन्छु । शास्त्रले भन्छ, जन्म दिनेभन्दा ठूलो कर्म दिने हुन्छ । हो साँच्चै हजुरले मेरो पहिलो बालपुस्तक सानीमा कत्रो ठूलो विश्वास गरेर भूमिका लेखिदिनु भयो मोफसलको एउटा गाउँमा एउटा पनि बालरचना नछापिएको म साहित्यमा भर्खर जन्मेर न्वरान पनि नभएको अनुजलाई यति ठूलो विश्वासका साथ भूमिका लेखिदिनुभयो । त्यसका लागि हार्दिकताका कुन शब्द प्रयोग गरु भनी म शब्दविहीन भएको छु ।


सानी छाप्नका लागि कवि अनिल पौडेलसँग म हजुरको घर जाँदा मेरो मन अत्यन्त रोमाञ्चित भएको थियो । मधुमालती, लाहुरीभैँसी तथा नयाँ सडकको गीत कथामार्फत म हजुरको लेखनको फ्यान भइसकेको थिएँ । पत्रिकामा फोटोमात्र दखेको सेलिब्रिटीसँग पहिलो पटक साक्षात्कार हुन पाउँदा मन त्यसै पुलंकित भइरहेको थियो । आरुबारीको हजुरको दुईतले होचो घर अनि हजुरको होचोहोचो आकृतिले मेरो हृदयको श्रद्धास्थलमा सगरमाथाको उचाइ लिएको थियो । छोटो वार्तालाप पछि अनिलजी र म पाण्डुलिपि छोडेर फर्केका थियौँ । त्यसपछि त्यही पुस्तकले साझा पुरस्कार पायो र पछि धेरै पाठकको हृदयमा स्थान पायो । ममा छाएको त्यो खुसीको लहरको व्याख्या मैले मेरो सस्मरणहरूमा गरिसकेको छु । तर मलाई लाग्छ मैले यस्को व्याख्या जति गरेपनि म कहिल्यै थाक्दिनँ । साँच्चै हो त्यसपछिको मेरो साहित्यिक यात्रामा म कहिल्यै थाकिनँ । पछि हजुरको हार्दिकता र आत्मीयताले भरिएको पत्र हात प¥यो । जुन यसप्रकारको थियो


प्रिय शर्मिला मिति–२०६२माघ४ गते
सुन्दर भविष्यको कामनासहितको शुभआर्शिवाद तिमीलाई । माफ गर मैले पहिलो चिठीमा नै अत्यन्त धृष्टताका साथ ‘तिमी’ को सम्बोधन गर्न पुगेकोमा । वास्तवमा मलाई आफूभन्दा वयमा साना र अलि नजिकमा आएकालाई तपाईँ, हजुरको सम्बोधन भन्दा ‘तिमी’, ‘तँ’ का सम्बोधन ज्यादा आत्मीय लाग्छ । त्यसैले आफूभन्दा साना उमेरका कसैलाई पनि अलि निकटमा सम्बोधन गर्नुपर्दा तिमी र त्यस्तैलाई तँ पनि सम्बोधन गर्नु स्वाभाविक र घनिष्ठ लाग्छ । यसरी सम्बोधन गर्दा कसले के सम्झन्छ र के अनुभव गर्छ, मलाई थाहा छैन । तर मलाई जसले ज्यादा औपचारिकताको सम्बोधन गर्दा आफू कृत्रिम भएको लाग्छ ।

यसभन्दा अगाडि पनि फोटो र एउटा तिम्रो चिठी पाएको हुँ, तर प्रत्युतर लेख्छु भन्दा भन्दा त्यत्तिकै सकिराखेको थिइन । आज सबैतिरबाट समेटेर दुवै चिठीको प्रत्युतर लेख्तैछु । अन्यथा नमान ।
पहिलोपल्ट मैले तिमीमा बीजरुपमा रहेको प्रतिभालाई ठम्याएको विश्वास लागेर मैले त्यसको भूमिका लेख्न स्वीकार गरेको हुँ । तिमीले पुरस्कार पनि पायौ । यसबाट मलाई आफ्नो मूल्याकन ठीक भएको पाएर खुसी लाग्नु स्वाभाविक हो ।
नानी । चाहे पुरुषहोस चाहे नारी उसले जीवनमा सङ्घर्षदेख भागेर सफलता पाउँदैन, सफलता पाउन आफनो भाग्य निर्माण गर्न आफैले प्रयत्न गर्नुपर्छ । अर्काले गरिदिदैन । नियति प्रकृतिले मान्छेले जस्तो पक्षपात गर्दैन । उसले समान रूपले सबैमा प्रतिभाको बीज प्रदान गरेको हुन्छ के नारी के पुरुष । अनि समानरूपले त्यसलाई उपयोग गर्नेृ क्षमता पनि प्रदान गरेको हुन्छ । कुरा कति फरक पर्छ भने कसैले आफ्नो क्षमताको सदुपयोग उत्साह जाँगर र सङ्कल्प (निचोडमा सङ्घर्ष) गरेर आफूमा अन्तरनिहीत प्रतिभालाई उकास्तै, सफलताको वीजलाई अङ्कुराउने र हुर्कने पढ्ने औसर दिन्छ, कसैले आलस्य, अकर्मण्यता, संसय, अनिश्चितता अधैर्यद्वारा आफ्नो क्षमतालाई दरुपयोग गरेर आफूमा अन्तरनिहित प्रतिभाको क्षमताको बीजलाई सडाइदिन्छ ।
तिमी एउटी श्रष्टा हौ दुवै रूपमा आमाकी रूपमा पनि र लेखिकाको रूपमा पनि । कुनै पनि सच्चा, साधक श्रष्टा सङ्घर्षकै कसीमा घोटिएर सङ्घर्षकै भुङ्ग्रोमा पोलिएर नम्बरी अकबरी सुनमा चम्कन्छ । त्यसैले आफ्नो काममा गीताको त्यो अमूल्यवाणीको सामलका साथ निरन्तर साधनारत हुँदै जाऊ “कर्मण्यृवाधिकारस्ते मा फलेक्षु कदाचन, या कर्मफहेतुभुुर्याते सङ्गोस्त्वकर्मणि ”
तिमी आफ्ना साधनामा निरपेक्ष भएर लागिरह्यौ भने तिमीले अपेक्षा नगरे पनि फल त लागिहाल्छ, एउटा कर्मठ किसानले खेतबारीको राम्रो उपचार गरेको छ र सुपुष्ट बिऊ रोपेको छ भने उसले ए मलाई फल द मलाई फइदा दिला भन्नै पर्दैन स्वभावअनुसार आफ्नो प्रसाद दिइहाल्छिन् ।
तिमीसँग तयारी पाण्डुलिपिहरू छन्, साधन (पैसा)पनि छ । तिमीले दौडधूप आफैले नगरे पनि प्रयुत्न गर सहयोगीहरू निस्कने छन् । आफूलाई नारीजाति अबला हुन्छे, निप्फर हुन्छे भन्ने पुरातनधारणा बोकेर बसे सधैँ अबला निप्फर नै रहिरहिन्छ । हो शारिरीक केही संरचनाले नारी पुरुषमा केही स्पष्ट अन्तर छ र हुन्छ त्यो प्रकृतिको संरचना का । त्यसलाई नकारेर नकारिन्न । तर त्यत्रो श्रृष्टीलाई गर्भमा धारण गरेर अभिव्यक्ति दिने (जन्माउने) नारी कसरी दुर्वल र निप्फर हुन्छे ? यो केवल धारणा मात्र हो । अस्तु तिमी आफ्नो साधनामा बढदै जाऊ, हतार नगर (हतारको काम लतार हुन्छ । ) सफलता त तिम्रो सँगसँगै हिँडीरहेको हुन्छ र त्यो एकदिन तिम्रो पोल्टामा आएर शरणागत हुन्छ ।
अन्त्यमा, तिमीले जे जति गरेकी छौ त्यो कम छैन । तर त्यसो भनेर तिमीले गरेको काम दिएको देन नै ठूलो हो भन्ने दम्भचाहिँ मनमा कहिल्यै नपाल, त्यसलाई हुर्कन नदेऊ, किनभने संसारको यो व्यापकतामा तिमी हामी त केही पनि होइनौ, तिम्रो हाम्रो देन त सागरमा खन्याएको एक बाटा पानीको मूल्य पनि राख्तैन कि नभने यो संसारमा हामीभन्दा अगाडिका मनीषिहरूले कति कति अमूल्य कुरा बहुमूल्य उपहार मानव जातिलाई दिएर गइसकेका छन् ।
तर त्यति भएर तिमी हामी त्यसै श्रृङ्खलामा केही थोपा दिने मात्र हौँ । र दिँदै जाँदा कुनै दिन उल्लेखनीय उपहार दिन सक्दैनौ । तर आज हामीले ‘म’ भनेर अहंकार पाल्यौँ भने त्यसले नै हाम्रो सफलताको बाटो अवरुद्ध गर्नेछ । अस्तु
तिम्रो स्नेही
रमेश विकल


आज हजुरले लेख्नुभएको पत्र मैले आफ्नै हातले लेख्नुपर्दा म विगतको छालमा नराम्ररी तरङ्गित हुन पुगेको छु । कति सङ्घर्षमय थिएँ ती दिनहरू । एकातिर शिक्षिकाको दायित्व अर्कोतिर चार छोराछोरीको लालनपालन, घरमा नब्बेवर्ष पुग्नुभएको सासू र आउनेजाने परपाहुनाको चटारो । कैयौँपटक जीवनदखि हरेशखाएर मृत्युलाई पुकार्न पुगेको थिएँ । भित्रिहृदय खै केले केले अतृप्तझै लाग्दथ्यो । के गरु कसो गरुँ भइरहन्थ्यो । त्यो अतृप्तताले मलाई त्यो बेलाको त्यो दिनभरि स्कुलको थकाइ, घरधन्दा व्यवस्थापन गर्दाको थकानको महसुस कहिल्यै भएन । हजुरको प्रेरणारूपी शब्दहरूमा छरिएको आत्मविश्वासको डुङ्गा लिएर सङ्घर्षको महासागरमा अविरल खियाइरहे । गतिलो गोरेटो पाउन सागरमा कैयौँ समय भौतारिरहे । त्यही प्रयास सफल भएर अहिले मेरो जीवनरूपी डुङ्गा एउटा निर्देशित यात्रामा बगिरहेछ । हजुरले इन्द्रावतीमा जीवनहरू अविरल बगिरहेको देख्नुभयो अनि देखाउनुभयो । वास्तवमा सबैको जीवनको डुङ्गा जीवनपथमा यसरी नै अविरल बगिरहेको हुदोरहेछ । मात्रै कसैको सही गन्तव्य पाउन नसकेर भौतारिरहन्छ भने कसैले सही गन्तव्यको निशानामा बगाइरहेको हुन्छ ।
एकपल्ट धरानमा बालसाहित्य सम्मेलन भएको थियो । त्यहाँ मलाई सम्मान गरिएको थियो । त्यहाँ हजुरसँगै अन्य काठमाडौँका धेरै साहित्यकारहरू जानुभएको थियो । जहाँ मैले माध्यमिकस्तरको पढाइ पुरा गरेको थिएँ । सोही स्कुलमा कार्यक्रम गरिएको थियो । त्यससमय नौ वा दस कक्षामा हजुरको एउटा बालकथा रेलको साथीबारेमा थियो, त्यो कथा मेरो आँखामा उत्रियो । त्यससमयदेखि नै म हजुरको लेखनको फ्यान भएको थिएँ । आज उही महान लेखकको हातबाट सम्मानित हुन पाएँ, मेरो जीवन धन्य हुन पुग्यो । मेरो मनमा हर्षको बाढीभेल बगिरहेको थियो । हजुरले वी.पी. शिक्षण अस्पताल घुम्न जाने मनसाय व्यक्त गर्नुभयो । ममा खुसीको अर्को दर्के झरी पर्यो । म खुसीमा रुझ्दै सानो गाडी लिन गएँ ।
त्यस सानो गाडीमा चढेर म, हजुर, रामबाबु सुवेदी, मधुसुदन धिमिरे गरी पाँच छ जना विपी शिक्षण अस्पताल घुम्न गयौँ । विपी अस्पताल पुगेपछि मेरो जन्मथलो धरानको भोटेपुल घरमा हजुरको पाइला टेकाइ मेरो जन्मथलो पवित्र बनाउने मेरो स्वार्थी अभिलाषा पुरा गरेको थिएँ । मैले हजुरलाई घरमा ल्याएँ । आमासँग परिचय गराएँ । मैले बुबालाई कार्यक्रममा जाऔँ भनेको थिएँ तर मान्नु भएन । घरमा पनि बसिदिनु काठमाडौबाट ठूला साहित्यकारहरू आउनसक्छन् भनेको थिएँ । बसिदिनु भएनछ । मनमा दुःख लाग्यो । तर पनि कर्मदिने पिता सँगै भएको हुनाले मलाई खासै फरक परेन । माइतघरमा रामबाबु सुवेदीले कविता सुनाउनुभयो । आमाले हामीलाई चिया खुवाउनुभयो । एकछिन बसेर हामी फेरि कार्यक्रम स्थलतिर लाग्यौँ । धरानको कार्यक्रम ऐतिहासिक हुनेछ र एकदिन अवस्य म लेख्नेछु भन्ने मेरो मनभित्र एउटा ठूलो आत्मविश्वासले जन्मलिएको थियो । त्यो आत्मविश्वासले आज साकाररुप लिएको छ । हजुरजस्तो महान व्यक्तिको सान्निध्यतालाई म मेरो साहित्यिक कलमबाट अमर बनाउनेछु भन्ने मेरो सङ्कल्प आज पुरा भएको छ ।
म यी सब कुरा हजुरलाई सम्बोधन गरेर लेख्दैछु । मानिसहरूले भन्लान् शर्मिला बौलाइछे चोला उठेको मानिसलेपनि कही पत्र पढन सक्छ र ? तर होइन हजुरको भौतिक शरीर नरहे पनि आत्मा हामीसँगै छ । महान व्यक्तिहरू कहिल्यै मदैनन् । उनीहरू सधै अमर हुन्छन् ।

तर मानवीय विडम्बनाको एउटा ठूलो पर्दा म यहाँ उघार्न चाहन्छु । त्यो के भने किन मानिसहरू मरेपछि मात्र उसको गुनगान गाइन्छ । उसको कार्यको प्रशसा गरिन्छ । जिउँदो हुँदा किन गरिन्न ? जब तपार्इँको चोला त्यो धर्तीबाट उठ्यो तब मात्र तपार्इँका विषयमा धेरैले प्रशंसाका मेट्रो टेन कुदाए । कतिले व्याख्याका जम्बोजेट नै उडाएँ । वास्तवमा यस्तो किन हुन्छ ? हजुर जीवित हुँदा नै हजुरको विषयमा यति धेरै विशेषाङ्कहरू प्रकाशित भएको भए के हुन्थ्यो ? यी कुराले हजुरलाई कति हर्षित बनाउँथ्यो होला । तर जब यी सब कुरा भए त्यो बेला हजुरको चोला यस धरतीबाट उठिसकेको थियो । तर एउटा जीवित आत्मा शब्दशब्दमा जीवित भइरहेको हुन्छ । प्रत्येक आत्मा जीवित हुनछ । हजुरको विशेषाङ्क पढेपछि मलाई हजुरले साहित्य, समाजसेवा र शिक्षाक्षेत्रमा दिनुभएको योगदानको बारेमा अझ बढी थाहा भयो ।
बि.स. १९८५ सालमा कात्तिक २९ गते भाइटीकाको दिन पिता चन्द्रशेखर चाहिले र माता छायादेवीको कोखबाट एक्लो सन्तानको रूपमा हजुरको जन्म भएको थियो । रामेश्वर चालिसेबाट लखकीय नाम रमेश विकलमा चर्चित हुनपुग्नु भयो । शारदा पत्रिकामा वि. स. २००६ सालमा पहिलोपटक हजुरले प्रगतिशील विचारधाराले भरिएको कथा लिएर साहित्यिक क्षेत्रमा उदाउनुभएको थियो । वि.स. २०१८ सालमा कथासग्रह नयाँ सडकको गीतका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । हजुरका कथाहरू नयाँ सडकको गीत, एउटा बूढो भ्वाइलिन आशावरीधूनमा, आज फेरि अर्को तन्ना फेरिन्छ, जस्ता जिवन्त कथा लेखेर धेरै पाठकको हृदयमा स्थान पाइसक्नुभएको थियो । अविरल बग्दछ इन्द्रावतीमा एउटा गरिव माझी परिवारको चित्र चित्रित गर्नुभएको थियो । जुन पछि टेलिश्रृङ्खला मार्फत धेरैको सम्झनाको ढुकढुकीमा बस्न सफल भएको थियो । सात सूर्य एक फन्को, निलगिरिको छायाँमा, यात्रा साहित्य कृति र मिल्किएको मणि र अगेनीको डिलमा नाट्यकृति र बालसाहित्यका एक दर्जनभन्दा बढी कृति नेपाली साहित्यको मन्दिरमा चढाइसक्नुभएको छ । यसबाहेक पनि शिक्षाक्षेत्र र समाजक्षेत्रमा हजुरले दिनुभएको योगदान अतुलनीय छ । आफ्ना सबै श्रीसम्पत्ति रमेश विकल साहित्य प्रतिष्ठानलाई समर्पित गरेर हजुरले समाजसेवाको एउटा ठूलो उदाहरणीय कार्य गर्नुभएको छ । चित्रकारितामा हजुरले देखिउनु भएको कलाकौशलको एउटा बहुआयमिक व्यक्तित्वको आयाम चारैतिर झल्केको पाउन सकिन्छ । यस्ता उच्च व्यक्तित्वका धनी हजुरको प्रतिभा, कौशल, लगनशीलता सङ्घर्ष र परिश्रमको चर्चा जति गरेपनि काम हुन्छ ।

मान्छेको जीवनमा सोच्दै नसोचेको कुरा पनि हुनसक्दोरहेछ । भनौँ सीमित ज्ञान र अल्पचेतनाको कारणले गरेको गल्तीलाई महसुस गरेको हुदैनरहेछ । मैले आर्दश मानेको व्यक्तिको हृदय यसरी दुखाउला भन्ने मैले सोचेको पनि थिइँन । मैले भनिहाले यो मेरो अल्पज्ञान तथा लापरवाहीबाट भएको गल्ती थियो । मैले सानीको दोस्रो सस्मरण छाप्ता त्यहाँ हजुरका केही भनाइहरू काटिन गएको रहेछ । म त्यो बेला इटहरीमा थिएँ । श्रीमान काठमाडौँमा सानीको दोस्रो भाग छाप्न आउनुभएको थियो । त्यहीबेला बालससारले मेरो सानी अर्डर गरेछ र छाप्न दिनुभएछ । प्रेसले के कसरी काट्यो मैले थाहा पाउन सकिनँ । म इटहरीमा अति व्यस्ततामा आफ्नो जीवनको पाइला पछारिदै, लड्दै, उठ्दै, कुद्दै गर्दै थिएँ । पछि पुस्तक छापिएर आयो मैले त्यो पुस्तकको भूमिका राम्ररी हेरेको पनि थिइन । थाहा पाएको भएँ म क्षमा मागेर पत्र पठाउँथे हुँला ।
एकदिन अचानक हजुरको पत्र आयो । पत्र यसप्रकारको थियो ।

प्रिय शर्मिलाजी मिति– २०६३ असार२७
तपाईँले पठाउनुभएको पुस्तक र चिठी पाएँ । तपाईँका प्रगति देखेर मलाई खुसी लाग्यो । मैले सक्दो सहयोग मैले पहिले पनि गर्दै आएको हुँ र गर्दै पनि रहनेछु ।
चिठी पनि पढेँ । आउँदै हुनुहुँदो रहेछ । खुसी लाग्यो, आएको बेलामा अवस्य बाटो काट्नु हुनेछैन । तर चिठी पढेर एउटा दुःख पनि लाग्यो । सानी भाग एक पुर्नमुद्रण गर्न लाग्नुभएछ । यो पनि खुसीको कुरा हो । तर मेरो भनाइ केही बदलिनुभएछ । हेर्नोस् तपार्इँलाई मैले सक्तो प्रोत्सहन पो दिएको हुँ, मेरो भनाइलाई बदल्न अधिकार त दिएको थिइन । त्यो पनि मसँग सल्लाह नै नगरी । यो कुरा कतिसम्म ठीक हा , तपाईँ आफैसोच्नोस् र समयमै त्यस त्रुटीलाई सच्चाउने कृपा गर्नु होला हाम्रो सम्बन्धमा सानो कुराले धाँजा पर्न नपावस् । योभन्दा बढी म के भनौँ ? तपाईँ आफैँ समझदार हुनुहुन्छ । आउनुभो भने भेट हुने नै ।
तपार्इँको
रमेश विकल
पत्र पढेपछि म आकाशबाट झरेजस्तो भएँ । ओहो मबाट यो ठूलो भूल हुन गएको रहेछ । अब मैले के गर्ने ? म मनमनै संतापले पिरोलिन थालेँ ।
मनको संताप हटाउन तुरुन्त पत्र लेख्न बसेँ ।


आदरणीय सर मिति–२०६३सावन ३गते
नमस्कार
रचनामा हजुरको कथा पढदै गरेको समयमा हजुरको पत्र पाएँ । सानी भाग एकको दोस्रो सस्मरणमा हजुरको भनाइ काटिएको विषयमा हजुरको दुखमनाउ रहेछ । त्यसैले तुरुन्त पत्र लेख्न बसे । दोस्रो सस्मरण छापिदा म इटहरीमा नै थिएँ । श्रीमान् काठमाडौ भाग दुई छाप्न जानुभएको थियो । बालसंसारमा भाग एकको अर्डर आएको रहेछ । मलाई तुरुन्त मेटेरियल पठाउ भन्नुभयो । हतारकासाथ मैले मेटेरियल पठाइदिए । धेरै थोरै समयमा त्यो छापिइ हाल्नुपर्ने स्थिति भयो । यो कुरा अनिल पौडेलज्यूलाई पनि थाहा छ । यस्तोस्थितिमा सरको भनाइ काटिन गयो । यसको लागि क्षमा चाहन्छु । फेरि यस्तो गल्ती हुने छैन । हाल पन्ध्रसय कापी मात्र छापिएका छन् । फेरि छापिदा सरको भनाई सम्पूर्ण राख्नेछौ । अलिकति मेरो अनभिज्ञताले, अलिकति परिस्थितिले र ठाउँ विशेषले यस्तो पर्नगयो वास्तवमा यो क्षेत्रमा म अपरिपक्व नै छु । फेरि मलाई गाइड गर्ने बाटो देखाउने कोही छैनन । म जङ्गलको सुनाखरी फूल सरह ठान्छु । आफै फुले, आफै सङ्घर्ष गरे आफै अघि बढे । बाटो देखाइदिने कोही भएनन् ।
यसमा सरले दुःखमनाउ नगरिदिनु होला । मलाई सहयोग गर्ने व्यक्तिलाई म कुनै हालतले दुखी भएको हेर्न सक्दिनँ । सरको आर्शीवादले नै मैले यहाँसम्मको सफलता प्राप्त गर्न सकेँ । सरको व्यक्तित्व र कृतित्वको जति नै प्रशसा गर्दापनि कम नै हुन्छ । स्कुले जीवनमा सरको कथा मेरो सानोसाथी पढेर म अत्यनत प्रभावित भएको थिएँ । अहिले मेरो साहित्यकारिता त्यसैको देन हो । सरलाई दुखी बनाउनु भनेको म स्वयम दुखी हुनु हो । अरु म धेरै के भनौ । हाल गर्मीको विदा छ । काठमाडौँ आउँछु भन्थे । आउन सकिनँ । तीनदिन अघि सासूको वार्षिकी, पुराण आदि कार्यक्रम सकियो । व्यवहारिक कारणले आउन सकिनँ, अन्त्यमा पुनः क्षमा माग्दै पत्र बन्द गर्र्न चाहन्छु । सर, मेरो प्रेरणाको स्रोत, आर्दशव्यक्ति र पुजनीय हुनुहुन्छ । सरको सदासयता बिनाको समय म कल्पना नै गर्न सक्दिनँ । काम गर्दा कतिपय भूल हुदोरहेछ । मैले अझै जीवन भोग्न धेरै बाँकी छ । फेरि आफ्नो अनुपस्थितिमा अझ बढी भूल हुँदोरहेछ । यस्तो भूल पुन नगर्ने वाचा गर्दै पत्र टुङ्ग्याउँछु ।
उही दुखी
शर्मिला खडका
पत्र पठाएपछि मनको बोझ अलिकति हल्का भयो । सदा पत्र साझा प्रकाशनमा कुरियर गरेर पठाउँदा हजुरले पाउनु हुन्थ्यो । यसपाला पत्र फर्केर आयो । म अत्यन्त दुःखी भएँ । त्यसपछि काठमाडौँ आएको बेला आउँदैपिच्छे फोन गरेर भेट्ने खोजे तर कहिले उहाँ बिमारी हुनुहुन्छ कहिले अस्पताल हुनुहुन्छ भन्ने जवाफ पाएँ । एकपल्ट फोनमा हजुरको कान्छा छोरासँग भेट भयो । मैले साचेँ मेरो मनको संताप हजुरलाई सुनाउन नपाउने रहेछु बरु हजुरको छोरालाई भन्ने विचार गरेँ । यहाँ कत्राकत्रा गल्ती गरेर गल्तीको आभाससम्म महसुस नगर्नेको भीडमा पक्कै पनि हजुरको छोराले सकारात्मक लिनुहुन्छ होला भन्ने सोचेको थिएँ तर कुरो उल्टो पर्यो । मैले उहाँलाई राम्ररी सम्झाउन खोजे तर उहाँसँग मेरो संवादको भाषा, शैली मिलिरहेको थिएन । त्यसपछि म हार खाएर फोन राखिदिएँ । हो मानिसले गल्ती गर्छ तर त्यो गल्ती स्वीकार्नु र त्यसलाई सुधार्नु नै महानता हुन्छ भन्ने मैले बुझेको सिद्धान्तले मलाई लोप्पा खुवायो । मलाई लाग्यो बरु मैले यो सब नगरेको भए पनि हुने । तर मलाई के लागेकोथ्यो भने हजुर जीवित अवस्थामा नै म हजुरको मनको त्यो धमिलो मेटाउनेछु । म धेरै समय दुःखी भइरहे । मैले आफ्नो कुरा हजुरको अगाडि राख्न पाइँन । पछि हजुर आइसियुमा हुनुहुन्छ भन्ने सुनेँ । त्यससमय म इटहरीको जागीर छोडेर साहित्यमा नै समर्पित भएर लाग्न काठमाडौँ आइसकेको थिएँ । हजुरको आर्शीवादले बालसाहित्य समाजको चुनावमा जितेर कार्यसमितिको सदस्य भइसकेको थिएँ । जुन समाजमा हजुरले नै सदस्य बन्न साझा पुरस्कार प्राप्त गरेको दिन पार्क भिलेज रिर्सोटमा चियानास्ता खादा भन्नुभएको थियो । आज यी सब कुरा अतीत भइसकेका छन् । तर यी सम्झनारूपी दृश्यहरू मेरा आँखाबाट म बाचुञ्जेल कहिल्यै अलप हुने छैनन् । समयको सम्झनारूपी अक्षरहरूमा हजुर मेरो कहिल्यै नबिर्सने नाम भएर रहनुहुनेछ । यति भन्दै यहाँ प्रति श्रद्धासुमनका दुई थोपा आँसुका साथ यही बिसर्जन गर्न चाहन्छु ।
उही दुःखी
शर्मिला खडका दाहाल

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।