डा. गोविन्दराज भट्टराई
शर्मिला खड्का – दाहालको नाम सुन्न थालेको थिएँ । उनलाई पहिलोपल्ट पार्क भिलेज रिसोर्टमा देखेँ । बूढानिलकण्ठ नजिकको सुरम्य परिवेशमा त्यहाँ साझा प्रकाशनको वार्षिकोत्सव थियो । पुरस्कार र सम्मानका कार्यक्रम थिए । त्यस अवसरमा शर्मिला बालसाहित्यको पुरस्कार ग्रहण गर्न काठमाडौ आएकी थिइन् । उनको बालउपन्यास सानी पुरस्कृत भएको थियो । त्यो अवसरमा हामी भेट भयौ, चिनारी ग¥यौं, त्यसबेला उनी मलाई अल्पभाषी लाग्यो । त्यसपछि यदाकदा औपचारिक सम्पर्कहरू हुन थालेका थिए ।
तीन वर्षपश्चात् शर्मिलाले मलाई एउटा पाण्डुलिपि बुझइन् समयको क्यानभासमा । यो २४ वटा कथाको सङ्ग्रह । विगत पाँचवर्षमा (२०६१–६४ भित्र) लेखिएका कथा, अधिकांश प्रकाशित पनि । गरिमा, समय, शारदा जस्ता पत्रिकामा छापिएका सिर्जना त पढ्ने अवसर पनि प्राप्त भएको थियो ।
नारीलेखनले विश्वसाहित्यमा ठूलो मान प्रतिष्ठा कमाइरहेको दशकमा डोरिस लेसिङको फिक्थ चाइल्ड पढेँ, टोनी मरिसनको बिलभेड, अल्फ्रेड जेलेनिकको द पियानो टिचर, झुम्पा लाहिरीको नेमसेक, गर्दागर्दै नेपालीमा पस्नू– पद्यावती सिंहको मौन स्वीकृति, भागीरथीको रातो गुलाफ, झमक घिमिरेको आत्मकथा । जुनभित्र पसे पनि एउटा भिन्न जगत्, अनुभूति, चेतना र शक्ति उठेर आएको देख्न सकिन्छ ।
नारीलेखनको धार बेग्लै पनि हुन्छ, किनभने त्यो शरीर फरक छ, सामाजिक भूमिका फरक छ, भोगाइ फरक यद्यपि एउटै परिवारमा उही समाजमा नरनारी सँगसँगै हुर्किरहेछन् । व्यक्तिगत जविनमा प्रवेश गर्नासाथ एउटा ठूलो खाडल देखापर्छ–फरकको, वञ्चनाको, निजी दुःखको ।
शर्मिलाको समयको क्यानभासमा लिएर निकै दिन डुलेँ तर यात्रामा त्यो एकाग्रता हुँदैन, पठन र ध्यान खण्डित पनि हुन्छ । त्यसैले दसै लाग्ने समयमा सबै पन्छाएर समयको क्यानभासमा भित्र पसेको छु । आज म यसको भूमिका पूरा गर्छु ।
समयको क्यानभासमा पसेर निस्कँदा मलाई एउटा भिन्न अनुभूतिले पक्रियो । मलाई कथाले तानिरहेकै छ, घटनाले, शैलीले र नारीपात्रको खुला अन्तर्मनले । यद्यपि यसरी बोल्ने नारीले –तिनीहरूका पात्रले) व्यक्त गरेको कुराहरूमा एउटा साम्य पाइन्छ ।
अधिकांश कथामा नारीपात्रकै प्रबलता छ, तिनकै भूमिका छ । त्यहाँ केही पारिवारिक र सामाजिक परिवेशमा, नयाँ र पुरानो समयको दोसाँधमा हुर्केकी नारीको कथा छ । त्यहाँ सचेत बाल्यजीवन, संरक्षित तारुण्य, युवाकालदेखि विवाहोत्तर जीवन भोगिरहेका नारीको अनुभूति छ । प्रायः सबै कथाको विषयवस्तु प्रेम–यसको शाश्वतता, यसको सर्वव्यापिता, यसको खोजीमा भएका प्रार्थना र पुकार चाहना, उत्काण्ठा, कौतूहल र अप्राप्तिहरू, त्यसपछि ह्दयमा उत्पन्न हुने क्षोम, निराशा र ग्लानिका मुस्लाहरू छन् ।
खोजेको प्राप्य छैन कतै । यो जगात्को रीत हो– ह्दयले त्यही अप्राप्यको आराधना गर्छु, पुकारा गर्छ र ह्दय आगो सल्काएर खोजिरहन्छ । धेरै कथाको मूल मर्म यही छ ।
समयको क्यानभासमा एक शीर्षकथा हो कृतिको शीर्षक पनि । वास्तवमा प्रत्येकले भोग्ने जन्म र मृत्युबीचको समय एउटा क्यानभास हो । त्यसभरि मात्रै हाम्रा मायाप्रेमका, ईष्र्या र द्धेषका, घृणा र लोभका, इच्छा, आकाङ्क्षा र चाहनाका रङ्गहरू पोतिएका छन्, जन्मनुअघि ती थिएनन्, मृत्युपछि पनि त्यो क्यानभासले ढाकेको स्पेस रिक्त हुनेछ । यो अत्यन्तै शक्तिशाली र गहिरो प्रतीकार्थ बोकेको कथा हो । यहाँ सन्तानकी आमा बनिसकेपछिकी सर्जकलाई कति कठिन छ, छोराछोरी, लोग्ने, परिवार र समाज– यी साराले छोपेपछि सर्जकमनलाई कसरी बादलले ढाक्तछ– त्यो अनुभूति पाइन्छ । वास्तवमा द सेकेन्ड सेक्स पढौं या द पियानो टिचर अथवा मन भए तिमीसित – नारीले तीनै कष्टका पर्वत नाघ्न खोजेको दृश्य मात्र आउँछ ।
यस कथामा आफूलाई मन परेको कलाकारसित भेट हुनु, जोगवनी पुगेर त्यो छुटनु जीवनको यात्रामा भेटिने र निराश पारेर हटाउने मायालुको प्रतीक हो । भित्रभित्रै त्यो पुरुष (दिवाकर नेपाली) प्रति प्रेम छ, लेखनमा रत्यात्मकतातिर सङ्केत छ– किन हिँडेकी प्यान्टी र व्रा किन्न ?
यो पत्रात्मक मनोवाद जस्तो छ । यसैको प्रतयुत्तर लाग्ने कथा छ कल्पनाको क्यानभासमा । एउटा साम्य र दुवैमा गहिरो, आत्मिक प्रेमको अनुगुञ्जन छ– नारीको, प्रतयुत्तरमा पुरुषको ।
अघि भने– सबैजुसो प्रेमका कथा हुनु, कुनै वासनासँग जोडिएका, कुनै दैहिक, अधिकांश आत्मिक । शर्मिलाको हदयले बारम्बार उन्मुक्ति र स्वतन्त्रता खोज्दछ– परम्पराले निर्देशित गरेका पथबाट । नारी र पुरुषलाई जन्मैदेखि समाजले गरेको विभेदले, प्रकृतिले गरेको विभेदले नारीलाई सीमित गरेको छ । त्यसलाई उनी भत्काउन चाहन्छिन् । धेरै पात्रपात्राबीचको पवित्र सम्बन्धमा वैवाहिक सम्बन्धबारिको प्रेम शुर्किन्छ । विवाह एक नेसेसरि इभिल जस्तो । त्यो संस्था भत्काउँदा पनि सन्च छैन । वर्तमान पाश्चात्य जगत् छाना भत्केको घर जस्तो भएको छ, त्यो संस्था बलियो पार्दा पनि सन्च छैन, पूर्वीय जगत् चारखाल अड्डाभित्र जकडिएको छ । स्वतन्त्रता अहितकार छ, बन्धन पनि अहितकार । मानिस दुवै अव्याख्यामा पीडित छ । अपरिभाषित, अघोषित, अतृप्त, भित्रैभित्रै उम्लिरहेको अप्रकट ।
असम्बद्र्धित शान्ति पनि नारीकै सङ्घर्षको कथा हो । पढदै बढ्दै उठेर एक पात्र शान्तिमायाबाट सृष्टिमा परिणत भई र तर नारी असुरक्षित छन्– रिपोर्टिङ्ग गर्ने स्थालमा पुग्दा एक अबोध महिलाको बलात्कार भएको छ । सृष्टिलाई लाग्छ–यदि उसको ठाउँमा म भएको भए । प्रकृतिले पनि महिलालाई मात्रै किन यसरी ठग्छन् ? के उसले भोग्नुपरेको मानसिक र शारीरिक पीडा त्यति सजिलै हराउन सक्छ ? उसले पाएको दष्कालङ्क त्यति सजिलै मेटिन सक्छ ? मानवीय मूल्य खोइ? बाच्ने अधिकार खोइ ? अहिलेको सुविधासम्पन्न आधुनिक युगभन्दा त पाषायुग नैठीक थियो, किनभने त्यसबेला यस्तो घृणित कार्य हुँदैनथ्यो ।
निश्चय अनिश्चयमा पनि जया राईको डम्बरीमा जस्तै अनेक छोरी पाइरहने आमा छे, जन्माइरहने बाबु । उसलाई न्याय छैन । एकदिन हुर्केका छोरीले थाहा पाउँछन्– बुबा त पण्डित बाजेसँग पात्रो हेराइरहनु भएको छ । यो पुनर्विवाहको तयारी थियो ।
त्यो रात अनि त्यसपछि सावित्रीले अनुभव गरेको पीडा, आत्महत्या गर्ने मन र भयावहता– कति सफलतापूर्वक चित्रित छ । छोरी पाउने नारीको दैहिक र सामाजिक परिभाषाभित्र लुकेको नियतिलाई कुनै शिक्षाले पनि उज्यालो पार्न सकेन । पुरुषले नै त्यो अन्धकारलाई गोडमेल गरिरहेको छ ।
ओ अपराजिता ! मा पुरुषमा रहेको दम्भ, अभिमान र श्रेष्ठता मनोग्रन्थि प्रकट हुन्छ । यो नर–नारीबीचको मनोवैज्ञानिक द्धन्द्धको कथा हो । यसमा दृढ मनोबल, ज्ञान, सीप र शक्ति भएकी नारीलाई आफ्ना सारा शक्ति खर्चेर हराउन चाहन्छ, आरोपित गर्न चाहन्छ । यो मनोवैज्ञानिक युद्ध हो । डायरीको रुपमा लेखिएको यो मनोवादले के देखाउँछ भने पुरुष निकृष्ट र अपाङ्ग भए पनि नारीभन्दा माथि हुन दृष्प्रयत्न गरिरहन्छ । कसरी उठ्ने ती नारीले ?
सरिता मलाई माफ गर ! मा पुरुषपात्रको सिर्जना भएको छ । प्रतिष्ठा कमाइरहेकी सरिता अघि बढ्छे, विनोद उसँग निकट सम्बन्धमा छ, उसकी पत्नी उसमाथि शङ्का गर्छे, यो पनि वैवाहिक जीवनको असन्तुष्टि र नारी प्रतिको कर्तव्यबाट भाग्न सक्ने पुरुष छ, भित्रभित्रै अर्की नयाँलाई प्रेम गर्न पो थालेको हो कि ? यो पनि एक मनोवैज्ञानिक कथा हो । दुवै नारीको जीवन असुरक्षित छ ।
अर्को कथा छ यो उसको कथा हो । यहाँ शर्मिलाले लेखनको टेक्निकमा केही प्रयोग गरेकी छन् । पूर्ववर्तीका कथाबाट केही पात्र लिएर आफ्नासँग मिसाएकी छन्, यसले जनयुद्धताका भोगिएका कष्टहरूको झल्का प्रस्तुत गर्दछ ।
पुननिर्णयमा एक थारु कन्या मनसरा केन्द्रीय पात्र रहेकी छ । यो गरिबी, अभाव, अशिक्षाबीच हुर्केका पात्रको यौवन शरीरको कथा हो । अबोध मनसराको बुधरामले शोषण गर्दछ र ऊ रेस्टुरेन्टमा पुग्दछे । उसको विवाह हुन सक्तैन, अभाव र अशिक्षाले एक अन्धकारमा जकड्छ । यो पढ्दा सनत रेग्मीको लछमनियाको गौनाको झल्को आउँछ ।
अर्को प्रेमको असफलता र असफल विवाहको परिणामले दुखहरू निम्त्याएको कथा हो एउटा आयाम जीवनको । यसमा द्धेष, ईष्र्या, बदला भावना छ ।
अनिर्णयको बन्दी जस्ता कथामा नारीले आफैं पनि भ्रान्तिले, रुप र यौवनको अभिामानले कसरी भूल गर्न सक्तछन्, कसरी असल व्यक्ति रोज्न नसक्ता, परिवारको निर्णय पविर्तन गर्न नसक्ता कत्रो धोका र पश्चाताप हुन्छ भन्ने देखाइएको छ । म पात्रले धेरै समय गुज्रेपछि अनेक सम्बन्ध बिग्रेपछि बाबुआमाको च्वाइस स्वीकार्छे । तर मनमा धेरै ग्लानी छ ।
वेबक्यामको आकृतिविहीन पुरुष– नरनारीको, यौन र वासनाको, तृप्ति र आनन्दको प्रतीकात्मक बिम्ब बोकेको कथा हो । यहाँ प्रकृतिले पात्रको स्वरुप लिन्छ । एक नारी सधै प्यासी र तिर्खालु छ प्रकृति झैं ।
अर्को मनोवादात्मक कथा छ, निबन्ध र संस्मरणको दोसाँधमा रहेको । एक नारीपात्रले ‘सर’ लाई सम्बोधन गर्दै, आह्वान गर्दै सम्झना गर्छे र आफ्नो जीवनमा साहित्यपथतिर डो¥याएमा समर्पण र पं्रेमका अर्चनाहरू लेख्तछे, दुईबीच आत्मिक सम्बन्धको निरन्तरताको कामना गर्दछे ।
फ्रेमभित्रको फोटो आदित्य, सुरेखा र धनसरीको हो । सुरेखा फिल्डमा गएका बेला धनसरीको नजिक पुग्छ आदित्य । सम्पर्क बढाउँछ – सायद शारीरिक । यसरी बाध्यतावश, युवती विवश छन् । यौनशोषण हुन्छ । वासनाको सामुन्ने अरु बन्धनहरू भत्काउनेमा पुरुषै छ । यो पनि एक मनोवैज्ञानिक कथा हो ।
नरनारी सम्बन्धका र प्रेमका कथा धेरै छन्– असफल प्रेमका, सम्झनाका, अतृप्तिका । बाँसुरीको धुन त्यस्तै एक मनोवैज्ञानिक कथा हो । पुरानो प्रेमको सम्झना बल्झेर आउँछ एक युवकमा तर युवती अर्काकी भएकी छ । यो वियोगान्तको राग उत्पन्न गर्ने गहिरो कथा हो ।
फूल अर्थात सुन्तली एक असफल जोडीको कथा हो सोझो जङगबहादुरले सुन्तलीलाई प्रेम, स्नेह, सुख र वासनाको तृप्ति दिन सकेन । सहरी तडकभडकले उम्लिएकी सुन्तली जीवनको अन्धकारमा समाप्त भई ।
सानो प्रेमपत्र प्रेमीलाई पनि प्रेमले भिजेको कथा हो । यहाँ नारी पात्रले आफूभित्रका कुण्ठा र पीडा प्रकट गर्दछे । एक युवती अतीततिर फर्केर बोल्छे – म नारी हुनुका पीडाले थिचिएँ । म राष्ट्रियताको पीडाले निचोरिएँ र रुढिग्रस्त समाजदेखि विरक्तिएँ ।
विवाहले बन्धनमा पा¥यो, आत्मनिर्णयविरुद्ध, यौवनकालमै, गुडिया भएर ऊ बेचिई । कसैलाई प्रेम गर्थी, तर रोज्न सकिन । हजार बन्धनबीच, बाध्यताबीच, एक निर्णयले जीवनभरि चल्नु पर्ने–के हुन्छ के हुदैन अन्धकारमा हाम्फाल्नु पर्ने । तर विकल्प छ त ? विवाहरूपी संस्था भत्काउँदा पनि व्यक्ति अराजक छ, राख्ता पनि समाज अराजक । कहाँ छ कम्प्रोमाइज? पूर्व हेरौँ, पश्चिम हेरौ । यो नातीको, निहारिकाको कथा ।
शर्मिलाका दुईवटा कथाले युद्ध र द्धन्द्धको भयावहतालाई सम्झाउँछन् । ती हु सुकन्या उर्फ नीलिमा र कुहिरो भित्रको काग ।
पहिलो कथामा जनयुद्धमा समर्पित एक युवती र एक भीषण सङ्घर्षको कथा र आफू समाप्त भएर पनि अरुको प्राण बचाउन गरेको प्रयत्न छ भने दोस्रामा सडक आन्दोलन मुठभेडको अन्तिम क्षणको चित्र छ जसमा पत्रकारले अनेक भूमिका खेलेको हुन्छ ।
शर्मिलाका कथामा प्रस्तुतिको नवीनता छ । यहाँ एउटा भिन्नै आर्ट र क्राफ्ट भेटिन्छ । यी कथाको केन्द्रीय थिममा नारी चेतना छ, उनले भोगे हेरेको नेपाली समाज, त्यहाँबाट उठ्न खोज्दाका सङ्घर्ष र उपलब्धि छन् । शर्मिलाका कथाको मनोवैज्ञानिक धरातलले अनेक व्याख्या र विश्लेषणलाई आह्वान गर्दछन् ।
यी कथाले व्यक्त गरेको विद्रोह र नयाँ मूल्यचेतनाले समकालीन समाजलाई सामयिक सन्देश दिएको छ, किनारिएकालाई, छेलिएकालाई झक्झक्याएको छ, नारीलाई पृथक् परिचय प्रति सचेत हुन आग्रह गरेको छ ।
शर्मिलाका कथा मन र मष्तिस्कका, भावना र चेतनाका, नयाँ समय र प्रवृत्तिका कलापूर्ण निष्पादन हुन् । कथाको यथार्थता र जीवन्तताले प्रत्येक पाठकलाई गहिरो गरी छोएर जान्छ । अधिकांश कथाले अन्तर्तहमा प्रेम र वसना छचल्किन्छ । मलाई लाग्छ जविनका सबै कथा अतृप्त प्रेम र वासनाले बुनेका छन्– तिनीहरूकै प्राप्ति र विलयनले । यति सुन्दर गद्य सिर्जनामा आएकी यी शक्तिशाली नारी सर्जनको म हार्दिक स्वागत गर्दछु, उनीबाट अरु यस्तै सिर्जनाको अपेक्षा गर्दछु ।
1 comments:
sharmila didi ko pratek katha ma naya kura hunchha ra pratek kathale samajo chitran gareko hunchha.
Post a Comment