August 25, 2010

माइतीको पत्र

आदरणीय दिदी भेनाजु
नमस्कार
सात समुन्द्र पारि, म बहिनीको धेरै–धेरै सम्मझना । तपाईहरु त्यहाँ सपरिवार सकुशल हुनुहुन्छ होला भन्ने भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछु ।
खै दिदी भगवान श्री पशुपति नाथ स“ग के भनेर प्रार्थना गर्नु र ? उनलाई पुज्ने कस्ता कस्ता देवत्व भएका ब्यक्तिलाई त उनले रक्षा गर्न सकेनन् भने तपाई हामी साधारण ब्यक्तिलाई के रक्षा गर्लान र ?

दिदी, अब यताको हालखवरतिर लागौँ। यताको हालखवर त बारम्बार इन्टरनेटबाट थाहा पाई रान्नुहुन्छ होला । हत्या, हिंसा, आन्दोलन भिडन्त र अपहरण विनाको समाचार अब नुन विनाको तरकारी जस्तो भइसक्यो । गाउँ पहाडतिर गइनसक्नु छ । पहाडतिरका आफन्तहरु सबै बसाई सरिसके । गाउँ पहाडहरु ढुब्लाउदै गएका छन् । गाउँका शुद्ध खानेकुरा र फलफुलहरुको पौष्टिकता बन्दुक र बारुदले शोसिसकेको छ । शहरहरु मोटाउदैछन् । हामीले हाम्रो माइति घर धरानमा उफ्रेका चउरहरु अनि बगौचाहरु घरहरुले ढाकिसकेका छन् । घरहरु प्राय पुरुषविहिन भएका छन् । हाम्रा दाज्यू , भाइहरु ठेक्का व्यापारहरु ठम्प भएर कोही अरव कोही मलेसिया पसिसकेका छन् । विदेश नगएका दाज्यु भाइहरु आर्थिक बोझले थिचिएर, किचिएर चिनी नसक्नुका भइसकेका छन् ।

दिदी हामी पढ्ने स्कुलहरु रोगले दुब्लाउदै गएका छन् । हामी स्कुलमा पढ्दा “तरवार भन्दा कलम ठूलो” भनी बादविवाद गरेर जित्थ्यौ । तर अहिले कलम भन्दा तरवार ठूलो भएको छ । शान्तिका लागी कति कलम चलाउँदा चलाउँदा हामी थाकिसक्यौ । जताततै क्रन्दन छ, पीडा छ अनि विलाप छ । यसको समाधान कसरी होला ? उतबाट सहयोगकालागी धेरै रकम चन्दा आएको सुनिन्छ । तर त्यो आउँदा आउदै प्रसान्त महासागरको हावाले उडाएर उतै पु¥याउँछ क्यारे । नत्र भने त्यसको महकले मात्रै पनि कतिको घरवार सुवासित हनु सक्थ्यो होला।

दिदी , हामीलाई आमाले कथा सुनाउनु हुन्थ्यो सतीले मर्ने बेलामा हाम्रो देशलाई सरापेको छ अरे अनि यहाँ भलो गर्नेको भलो हुदैन रे भनेर । सायत यही उखान चरितार्थ हुनलाई होकि कसैको विवेकमा पनि चेतनाको बीज उम्रन नसकेको । हुन त म यति सानो मान्छे भएर यति ठुलो कुरा गर्न नहुने तर पनि चारैतिर रगतको खोला बगेको बेला कसको हृदयले नबोल्ला र यस्तो कुरामा ?

दिदी, तपाई यहाँ हुँदा हामी सवै मिलेर प्रजातन्त्र ल्याएका थियौ । हामी धेरै खुशी भएका थियौ । तर आज त्यही प्रजातन्त्र उकुस पल्टेको घाऊ जस्तै भएर हामीलाई दुखाई रहेछ । एण्टिवायटिक पेनाकिलर र टिन्यरबेन्जिनले हामी थिलथिलो भइसकेका छौ । निको हुने नामै छैन । दवाईको साइड इफेक्टले साइड टेन्सन शुरु भइसकेको छ । राम्रा डाक्टरहरु त्यतातिर भए पठाइदिनु होला ।

दिदी, हाम्रो र्दशमा कोही हात्तीमा रमाएर कुदनेहरु पनि छन् नभएका होइनन् । तर एउटै थालमा खाने र एउटै छत मुनि बस्ने कोही चाहि खच्चर चढ्न पाएका छैनन् । अनि हात्तीले खाने खुराकीको केही अंश पनि उनीहरुको पेटमा परेको हुँदैन । अनि यस्तो बेलामा मानविय संवेदना र उत्कण्ठा संम्प्रेषित हुँदै डाँडा काट्न खोज्छन् । अनि मानवताका नारा लाउँदै चुचुरोबाट कराउन उत्प्रेरित हुन्छ यो मन ।तर के गर्नु यो सब हुनुको कारक हामी नै हौ । हामीले हामीलाई जसरी पनि एडजस्ट गर्न सकौला रे । तर हाम्रा नानीहरु ? मेरी सानी छोरी अलिक ठुलो आवाज आयो भने बम पड्कयो भनेर मुख छोप्छे । सानो नानीको स्थिति यस्तो छ । भर्खर हुर्कदै गरेका छोराछोरीको मानसिकता कस्तो होला । हामी (बुवा, आमा) घर बाहिर गएका छौ भने घर नआउञ्जेल चिन्तित हुन्छन् । हत्या अपहरण, डर र त्रासले उनीहरुलाई हर समय गाँजिरहेको हुन्छ । भविष्यको कर्णघार हाम्रा छोराछोरीहरुले कसरी समाज र देश विकासका लागी काम गर्न सक्लान र ?

हडताल अनि विरोधको शैक्षिक क्षेत्रलाई सुलुत्त निलेको छ । कहिले तीन दिन बन्द अनि कहिले पाँच दिन बन्दले होटेल चलाउने हाम्रा सानोवुवा, मामाहरु ऋणमा चुर्लुम्म डुवेका छन्। सम्पन्नताले भरिपूर्ण भएका हाम्रा माइतका कति काका, दाज्युहरु आजको छाक टुट्यो , भोलि के खाउ भन्ने स्थिति छन् ।

दिदी, तपाईले छोडेर जानु भएको माइत त्यो बेलाको जस्तो छैन । हामी हाम्रो वुवाको जन्मथलो तेह्रथुम र पहाड घुम्न गएका थियौ । हामी कति रमाई रमाई घुमेर आएका थियौँ । आफन्तका घर–घरमा पसेर दुध, दही ध्यू भात खाँदै हिँडेका थियौँ । तेह्रथुम, हात्तीपोखरीको मही, मकै अनि बदाम रमाई रमाई खादै कुदथ्यौँ । यासोकको रानीवनमा लालीगुराँस टिप्दै हामी कति रमाउथ्यौँ । रानीवनको सिद्धकाली मन्दिरमा पूजा लाउँदा गाउँले सवै भेला भएका थिए ।अनि हामीहरुले रातभरि आमाहरुलाई काम सघाएका थियौ । विहान उषाको किरण ब्युझाउन हामीलाई कोठा भित्र आइपुग्थ्यो । अनि हिमाल लाजले रातै भएर हामीसँग साउती गरिरहेको जस्तो लाग्दथ्यो । ढुकुर, मुनाल, डाँफे देख्दा हामी रमाइ – रमाई नाच्थ्यौँ । तर यो सब अब कथा जस्तो भएको छ । खोलाले गीत गाउन छोडिसकेको छ । सल्लाहरु सुसाउन छोडिसकेको छन् । हिमाल रोइरहेछ । रानीवनमा ढुकुर ,मुनाल हैन, बाज र चिल मानिस भन्दा हामी विवेकी छौ भन्दै नाच्न थालेका छन् । धेरै घर, गोठहरु खण्डहरु भइसकेका छन् हाम्रा आफन्तहरु सवै पलायन भइसकेका छन् । पहाडको त्यो रौनकता, त्यो सुन्दरता अब केही रहेन ।

विपन्नताले पराकाष्ठा नाघिसकेको छ । हाम्रा घेरै मामाकी छोरीहरु अनि फुपूकी छोरीहरु विघवा भएका छन् । हाम्रा धेरै भदा भदैनीहरु टुहुरा, अनाथ अनि अपाङ्ग बनेका छन् । वुवा आमाको माया पाउन नसकेर उनीहरु सडकमा भौतारिरहेका छन् । पहिले हामी समाचारमा कुनै देशमा गृहयुद्ध भयो र यति मानिस म¥यो रे भनेको सुन्दा कति अचम्म मान्दथ्यौ हैन दिदी । तर आज आफनो देशमा यो सव भइरहेछ । शान्तिको देश नेपाल, बुद्धको देश नेपाल भनेर चिनिने हाम्रो देशलाई आज आफनै स्वयम्भूको आँखा लागेको छ । यसो त्यो देशमा झारफूक गर्ने राम्रा घामी झाक्री छन् भने यतातिर पढाइदिनु होला । देश दुखेन भने मुटु पोलेन भने कतै हाम्रँ बूढा बुढी हुन लागेका वुवा आमाको मुखमा खुशीका लहर देख्न सक्छौ कि । अनि हाम्रा छोरामछोरीहरु शान्तिका प्रतिक परेवा मकै आगँनमा रमाई रमाई नाच्दै बाच्न् सक्छन् कि ।

दिदी अब त देशले राजनीति निकास पाउछ भनी हामी लोकतन्त्र पनि भर्खरै ळ्याएको छौ तर खै अझ अशान्ति चुलिएर हिमाल छुन खोजेको छ । महँगीले लक्ष्मणरेखा नै नाघिसकेको छ ।

अरु धेरै के लेखु । पीडाको भारी जति विसाए पनि उही नै हो । पशुपतिनाथले हामी सवैको रक्षा गर्न नसके पनि हामी सवैलाई सद्बुद्धि दिऊन् । आजलाई यति ।

उही दुखी पिडीत बहिनी

“शरु”


पत्र पढी सक्दा नसक्दा उषाका आँखाबाट बलिन्द आँसुका घारा झारे । सावने भेल झै भएर बगेको बाढी थाम्न धेरै गाह्रो भयो उषालाई । बैनीले यस्तो पत्र किन पठाएकी होली ? एक मनले भन्यो “नपठाएकी भए पनि हुने ” अनि अर्को मनले कल्प्यो , “ठीकै त भयो यो पत्र पढ्न नपाएको भए म कति कुरा थाहा पाउने नै थिइन् । यिनी दोघारे भावनाबाट उचालिदै पछारिदै गर्दा समय बितेको उनलाई थाहा नै भएन् ।

“मम्मी ढोका खोल्नुस न” जेठी छोरीले ढोका ढकढकाउँदा उनी झस्किन् । “ओहो छोरीहरु लिन जान पनि बिर्सेछु मनमा गल्ती भएको आभाष उमार्दै ढोका खोल्न पुग्छिन् ।

“मम्मी हामीलाई लिन किन नआउनु भाको” जेठी छोरीले नेपालीमा अप्ठ्यारो गर्दै बोली , “हेर न छोरी नेपालबाट चिठी आएको थियो तिम्रो आन्टीको म त बिर्सेछु । मलाई माफ गर है ।” अमेरिकामा छोराछोरी सँग पनि माफ माग्नु पर्ने औपचारिकता पूरा गरिन् उषाले ।

छोरीहरुलाई कपडा बढलेर खाजा खुवाई सक्दा उनको श्रीमान् पनि आइपुगे । उनको श्रीमान् ओकावोको विश्वविद्यालयमा पि.एच.डी. गर्दैछन् त्यसैले उनीहरु सपरिवार यता बस्दै आएको करीब चार वर्ष भइसक्यो । साँझ सम्म उनको मन खुल्न सकेन । मुहारमा दुखका प्रतिबिम्वहरु छरिरहे । मनभरि पत्रका शब्दहरु कालो बादल भएर घुमिरह्यो । उनी आफ्नो मनको भारी कहाँ बिसाउने भनेर चौताराको अभावमा भट्किरहिन् । छोरीहरु सानै छन् । श्रीमानलाई पढाइ र घरपरिवारको बोझ छ त्यसैले आफ्नो बोझ थपेर दुखी बनाउन चाहिनन् ।

बेलुकाको डिनर पछि घरघन्दा सकेर सबैजना ओछ्यानमा पल्टे । उनको मस्तिष्कमा माइतीघर नेपाल नाचिरह्यो । चिठीका एक–एक हरफले उनलाई माइतघर पु¥याएको थियो । माइती सँग यतिका दिन सम्म भेट्न नपाएको विरानोपनले गाजिरहेको बेलामा यस्तो पत्र पढ्दा उनको मन थामि नसकनु भएको थियो । मेरो देश किन यस्तो भयो । उनी कल्पनामा डुब्न थालिन् - “बिदेश गएपछि थाहा हुँदो रहेछ आफ्नो देशको माया । प्रत्येक ढुकढुकीमा देशको स्पन्दन हुदो रहेछ । आफ्नो गाउठाउ, टोल, छरछिमेकसँग छुट्टिएर विरानो देसमा आउँदा यो मन त्यसै ओइलाएको पहेँलो साग जस्तो हुदो रहेछ । हिड्ने बेलामा साथीभाइ, आफन्तले दिएको शुभकामनासहितको उत्प्रेरणा कहाँ सधै हरियो हुदो रहेछ र ? अझ अमेरिकामा नेपाली भएर बाँच्नु परेको पीडाले देशको महत्वलाई उजिल्याउदो रहेछ । मेरो देश नेपाल पनि अमेरिका जस्तै विकसित र भौतिक सुविधा सम्पन्न भइदिए कस्तो हुनथ्यो होला ।” नेपाल गरीबी र अशानित सम्झेर उनलाई औडाहा भएर आयो । निन्द्रा पटक्कै लागेन । “के बहिनीले पत्रमा लेखे जस्तै भयो मेरो माइत गाँउ ? अब मैले मेरो माइत पहिलाको जस्तो देख्न पाउने छैन । उनको मनमा पीडा र बेदनाका ज्वारभाटा चलिरहे ।

“शायद यो सबको दोषी हामी नै हौ । किनभने हामी पढेलेखेका नेपालीहरु पनि विदेशमा नै पलायन भएर बसिदिन्छौ । अनि राष्ट्रियतालाई भौतिक सुविधा सँग बेचिदिन्छौ अनि कसरी देश विकास हुन्छ । हामीले पनि पढाई सकेर अमेरिकामा नै बस्ने सोच बनाएका छौ, यसरी हुदैन । मेरो श्रीमानले जसरी भए पनि आफ्नो देशको माटोमा नै बैद्धिक ज्ञान छर्नु पर्छ अनि सीप र सिर्जना प्रस्फुटन पार्नु पर्छ । मैले पनि मेरो देशमा शान्तिकोलागी कलम समाउनु पर्छ अनि समाजसेवा गर्नु पर्छ । विदेशमा राष्ट्रियता गुमाएर अस्तित्वविहीन भएर बाँच्नु भन्दा देशको माटोकोलागी कुस्ती खेल्दै मर्नु नै जीवनको सार्थकता हुन्छ ।”

उनी पढाई सकेपछि अमेरिकामा जीवन विताउने उदेश्यलाई त्यागि दिन्छिन् । अनी आफ्नो देशको माटोकोलागी केही गर्ने कल्पना गर्दा गदै निन्द्रादेवीको शरणमा पुग्छिन् ।

अकल्पित भोगाइ

“साहुनी ........। दुई कप चिया” प्रत्येक दिनको सुर्यादयको पहिलो भुल्काका साथसाथै उसका कानमा प्रतिध्वनित भइरहन्छन्, यी शब्दहरू । यी शब्दहरूसँग उनी निकै अभ्यस्त भइसकेकी छिन् । “साहुनी” भन्नेबित्तिकै कहिले उनी आफै “कति कप चिया ? भन्न पुग्छिन् भने कहिलेकाही साहुनीले बनाएको चिया कति मीठो भनिदिँदा फुरुक्क पर्छिन । तर जति मीठो चिया, दूध र चिनीको मिश्रणबाट बनाइएको छ त्यति नै टर्रो छ उनको जीवन । तीस बर्षको फर्केको यौवनमा भारततिर गएर रिकुटे भएको उनको लोग्नेले विधवाको पद उपहार दिइसेकेको छ उसलाई । जेनतेन पहाडबाट आफ्नो भागको सम्पत्ति बेचेर माइतीको आडमा चियापसल राख्न पुगेकी छिन् – निरमाया । छेउछाउमा कार्यलयहरू भएकाले उनको चिया र नास्ता राम्ररी नै बिक्री हुन्छ । यसै पसलको आम्दानीले दुई छोरीलाई सरकारी स्कुल र काखको छोरालाई बोर्डिङ स्कुल लगाइदिएकी छिन् । उनलाई असाध्यै रहर छ , छोरालाई बोडिङ्ग स्कुलमा पढाउने । त्यसैले उनले आफ्नो बैंसलाई बन्धक राखेर लाउने खाने रहरलाई छोराको भविष्यसँग साटेकी छिन् । उनको जीवनको एउटै लक्ष्य छोरालाई पढाएर ठूलो मान्छे बनाउने छ, तर उनलाई थाहा छैन ठूलो मान्छे कसरी बन्दछ । उनी कार्यालयका हाकिमहरू आएरर चिया खाँदा आफ्नो छोराको प्रतिविम्ब देख्छिन् । यसै चाहनामा उनको बिहान बेलुकामा परिणत हुन्छ र बेलुका बिहानमा ।

छोरीहरू त अर्काका घर गइहाल्छन् । उनीहरूसँग उनलाई केही आशा छैन । भविष्यका लागि कुनै आशा नभए तापनि वर्तमान ती छोरीहरू आम्दानीका प्रमुख स्रोत भएका छन् । ती दुई छोरी नभए उनी एक्लै चियापसल चलाउन सक्दिनन् । दुइटी छोरीलाई गरिने लालनपालनको खर्च उनले एउटै छोरालाई गरिरहेकी छिन । छोरो भनेको छोरो नै हो । छोरालाई जति खर्च गरे पनि भोलि त्यो साँवामा ब्याज थपिएर आउँछ भन्ने उनको धारणा छ ।


उषाको किरणसँगै परेड खेल्दै वयस्क भएको उनको छोराले स्कुले पढाई सकायो । छोराले एसएलसी पास गरेर क्याम्पस पढ्न थालेपछि खुशीका किरणहरू अगेनामा मात्र सीमित नरही मन मन्दिर नै उजिल्याउन पुग्यो । उनले प्राइभेट क्याम्पस पढाउन सकिनन् किनभने छोरीहरू पनि बढेकाले खर्चको भार चोटिलो थिो । ठूलो आशा र विश्वासमा छोरो हुर्काउँदै थिइन् । कहिले छोराको पढाइ सकिन्छ र कार्यालयको हाकिम भएर आउँछ भनेर कल्पनाका ताना बुन्थिन् । कहिलेकाँही दिउँसै सपना देख्थिन् । सपनामा उनको छोरो हाकिम भएर आएको देख्थिन् अनि सबैले उनलाई ‘हाकिमकी आमा’ भनेर नमस्ते गरेको देख्थिन् ।

समय बग्दै गयो । क्याम्पस जाने छोरो एकदिन दुई दिन गरी हराउन थाल्यो । उनले सोधीखोजी गर्दथिन । बढेका छोराले आमाको कुरालाई बेवास्ता गर्नु साधारण कुरो जस्तै थियो । उनी आफ्नो छोरो भलाद्मी छ कुरा बुझ्छ, बाटो बिराउँदैन भन्ने कुरामा आश्वस्त थिइन् ।

एक दिन उनको सपनाको आकाशमा अचानक कालो बादल मडारियो बिजुलीको गर्जन सहित उनको जीवनमा कठोर चट्टान कठोर बज्रन गयो । जीवन स्तब्ध भयो अनि शुन्य भयो । आवाजविहिन भएर क्याम्पस पढ्न गएको छोरो अचानक हरायो । उनले चारैतिर आवाज उठाइन् तर प्रहरी चौकी, मानवअधिकार संघ अन्य संस्था सबै बहिरा भए । इष्टमित्रहरू औपचारिकताको आँगनमा सहनुभूतिका बिस्कुन फिजाएर जान्थे तर उनलाई कुनै सरोकार थिएन । उनी आफैं विस्कुन रापिएझैं रापिएकी थिइन । पिडाको रापले सुकेर काठझैं भएकी थिइन ।

एक दिन दुई दिन गर्देै पर्खाइको धैर्यले सीमा नाघ्यो । पीडा गुम्सेर शून्य कोठामा छरिन थाले । उनको हातको मिठो चिया मात्र अतितमा सिमित रह्यो । उनी जिउँदो लासझैं भइन् । उनको सोचाई विपरीत उनका छोरीहरूले चियापसललाई यथावत राखे । उनी अर्के संसारमा पुगिसेकेकी थिइन । उनको आँखा एकपटक लगाएर दैलोमा बिहान देखि बिछ्याएका हुन्थे । कहिलेकाँही साँच्चै उनको छोरा हाकिम भएर आएको रहेछ भन्ने भान पर्दथ्यो उनको व्यवहारले चिया खान आउनेलाई अनि सबै कोठा गएर हेर्थे तर यो सब उनको कल्पनाको दृश्य यथार्थमा प्रतिबिम्ब भएका नाटक मात्र थिए । धेरैले यथार्थ अवगत गराउन खोजेता पनि उनी सहमत हुन सक्दिन थिइन् । उनको आफ्नै सोचाई थियो आफ्नै समय थियो । त्यसमा कसैले हस्तछेप गर्न सक्दैनथ्यो । उनको जीवन मात्र कल्पनामा दिन रातमा परिणत हुनु र रात दिनमा परिणत हुनुसम्म सीमित रह्यो ।

फेसबुक वास्तविकता

“हेलो ग्रायण्ड मदर”

“के रे ग्रायण्ड मदर रे ? हिजो हाई स्वीटी भनेको होइन ?”

“कहिलेकाहीँ टेस्ट फेर्न मन लाग्छ नि ।”

“ए तरकारीको स्वाद फेरेजस्तो ।”

“हो यु आर फ्लावर”

“थैक यु ।”

“नो नो काउलीफ्लावर ।”

“ए ..म काउलीफ्लावर भए तिमी सनफ्लावर ।”

“कसरी ?”

“सनफ्लावरजस्तै जता केटी देख्छौ उतै फर्कन्छौ ।”

“भैगो भैगो यु आर सो व्युटिफुल ।”

“केटाहरु फेसवुकमा राम्रा केटीको फोटो देख्नेबितिकै के विधि कमेन्ट लेख्न भ्याउँछन् अनि च्याट गर्न पनि ।”

“केटाहरुले कमेन्ट लेखुन म यति राम्री छु भनेर नै फो्टो राख्छन् नि”

“बदमाश, फटाहा, हरामखोर ।”

“कसलाइ गाली गरेको ? मलाई हो ?”

“होइन लोडसेडिगलाई, हेर न च्याट गर्न बस्यो कि लाइन अफ हुन्छ ।”

“अनि अहिले नि ?”

“ल्यावटपले केहीबेर काम गर्छ नि ।”

“ए हो फेरि ल्यावटपले फेरि धोका दियो नभन नि । तिम्रो फोटो सारै राम्रो छ फेसवुकमा यु आर भेरी स्वीट ।”

“तिमीले चाहिँ किन आफ्नो फोटो नराखेर लुकेको ?”

“मलाई मेरो फोटो देखि रिस उठ्छ”

“किन नि ?”

“जहिले ऐना हेरेर इन्टरभ्युमा जान्छु नाम नै निस्कदैन ।”

“ओ... सो व्याड ।”

“यो थोपडानै अवासी छ कति ठाउँमा इन्टरभ्यु दिई सके ।”

“ए त्यही भएर हो कि ढाँटेको हो ?”

“होइन होइन म कहिले ढाँटतिन । तिमीलाई छोएर कसम खान्छु ।”

“मलाई कसरी छुन्छौ ? स्क्रिनमा छुन्छौ ?”

“हो नि ।”

“अनि तिम्रो घर कहाँ हो ?”

“घर जहाँ भए पनि किन चाहियो ?”

“चाहियो नि भेट्नु परेन ?”

“ए हो त भैगो नभेटौ होला”

“किन म पनि लोकसेवाको तयारीमा छु । तिमीलाई भेटेर फेल भए भने ?”

“लोकसेवा फेल भए पनि लवसेवा पास हुन्छौ नि”

“भो तिमीजस्तो जवलेससँग के लव गर्नु ?”

“साँच्चै तिमी साहै राम्री छौ म कवि भएको भए पक्कै कविता लेख्थे ।”

“भैगो भैगो प्रशंसा नगर ।”

“किन नि ?”

“यो ल्याव टप पनि मसँग इष्र्या गर्छ भन्या ।”

“कसरी ?”

“तिमीले मेरो प्रशंसा गर्न बित्तिकै चार्ज सकियो भन्छ ।”

“साले बजिया हरामखोर”

“कसलाई गाली गरेको ?”

“ल्यापटपलाइ”

“ए त्यसो नभन न मेरो ल्याव टपलाई उसले कुरा बुझ्छ ।”

“ल्यावटपलाई पनि पढाउँछौ ।”

“हो नि उ मलाई पढाउँछ म उसलाई पढाउँछु ।”

“ए हो कति को कुरा बुझ्छ ?”

“केटाहरुले प्रशंसा गर्न बित्तिकै त्यहाँ कुनै स्वार्थ हुन्छ भनेर उसले थाहा पाउँछ ।”

“ए हो त्यसो हो भने पहिला तिम्रो ल्याव टपलाई भेटेर कुरा गर्नु पयो ।”

“किन नि ?”

“उसलाई अलि कति घुस नभए जुस खुवाउनुपर्ला ।”

“यो सम्भव छ र ?”

“छ नि ।”

“कसरी ?”

“तिमी मेडीयेटर भएर काम गरन ।”

“अहँ म केही गर्न सक्दिनँ । अहिले म जान्छु है ?”

“एकछिन बस न ।”

“किन नि ?”

“तिम्रो कन्ट्याक्ट नम्बर देउन ।”

“मेरो कन्ट्याक्ट नम्बर छैन ।”

“भैगो त भोलि यही समयमा च्याटमा बसौँ है ।”

“किन नि ?”

“तिम्रो रुपको प्रशंसाको भर्खर सुरु भएको छ इन्डिग गर्नु परेन ?”

“आज नै गरन किन बाँकी राख्नु ?”

“तिम्रो लोडसेडिगको टाइम देउ न ।”

“मलाई थाहा छैन ।”

“राम्रा केटीहरु किन यसरी भाउ खोज्छन् ? मलाई भन्न सक्छौ ?”

“भाउ बढाउने तिमीहरु नै हौ सबैलाई ऐश्वर्य, विपासा, रेखा जस्तै चाहिन्छ ।”

“होइन होइन तिम्रा अरु कुरा पनि राम्रा छन् ।”

“के राम्रो देख्यौ ?”

“अँ....के भनौ तिम्रो ल्यापटप पनि राम्रो छ तिमी भन्दा पनि राम्रो छ ।”

“ए हो ल्याप टपलाई घुस खुवाउन लाग्यौ कि क्या हो ?”

“होइन होइन तिम्रो त्यो फेसवुकमा अपलोड गरेको न्युज पनि राम्रो छ ।”

“भैगो भैगो धेरै प्रशंसा नगर ।”

“किन नि ?”

“मैले रियल कुरा गरे भने तिमी तर्सन्छौ ।”

“कसरी ?”

“भनू ....।”

“साँच्चै भन न ।”

“त्यो फेसवुकको फोटो त हिन्दी फिल्मको हिरोइनको हो । मेरो होइन ।”

“ए हो र ?”

“हो त रियलमा राम्री छैन , मेरो रियल फोटो राख्दा कोही च्याटमा नआएको हुनाले मैले फोटो चेन्ज गरेको हुँ ।”

“होइन होला ?”

“पक्कै हो ..”

“तिमीलाई पनि म रियल कुरा भनू मैले फोटो किन नराखेको भनेर ।”

“भन न ।”

“म हिरोजस्तै ह्याण्डसम भएर ...धेरै केटीहरुले फलो गरेर हो ।”

“ए अघि किन ढाटेको त ?”

“मैले एक्चुअल कुरा गर्दा तिमी नपत्याउन सक्थ्यौ नि ।”

“ए हो त्यसो भए तिमी जवलेस पनि होइनौ ?”

“होइन मैले ढाटेको हुँ ।”

“सो व्याड.. बदमाश हरामखोर...,।”

“कसलाई गाली गरेको ?”

“यो ल्यावटपलाई यसले कुरा बुझेन भनेर ।”

“तिमीले ल्यावटपलाई राम्रो टेनिग दिएका नै रहेनछौ ।”

“अहिले फेरि ढाटतै छौ कि ?”

“होइन होइन , ढाटेको छैन ।”

“भोलि च्याटमा आउँछौ ?”

“कुन समय ?”

“यही समय ।”

“यो समय मेरोमा लोडसेडिग छ ।”

भोलिपल्ट -

“हाई हैन्डसम ।”

“हाई स्वीटी ।”

“हिजो त च्याटमा बस्दिन भन्थ्यौ नि ?”

“तिमी आउँदैछौ भन्ने थाहा नै भएन ।”

“ किन भाग्ने विचार थियो, भैगो तिमीसँग के च्याट गर्नु ?”

“गर न गर पैसा लाग्दैन क्यार”

“भो मलाई डेटिगमा जानुछ फेरि सिगारपेटार गर्नु छ ।”

“ए हो तिमी सिँगारिएको फोटो फेस बुकमा राख है । हेरु तिम्रो कला ।”

“भैगो .. चाहन्छौ भने लाइभ नै हेर न ।”

“त्यसो भए तिहारमा टीका लगाउन आउनु पर्ला ।”

“स्योर मलाई कुने आपत्ति छैन , पछि फेरि नपछुताउनु नि ।”

“किन दक्षिणा बढी लिन्छौ ?”

“अँ ....त्यसै भन्नु परो नि ।”

“मेरा दिदी बहिनी त डिस्काउन्ट गर्छन् । तिम्रो डिस्काउन्ट रेट छैन ?”

“म ब्रान्डेड परे नि । भैगो भैगो तिम्रा गफमा लागेर आँखाको गाजल ओठमा लगाए भने नि ।”

“अति उत्तम त्यो फोटो चाहिँ फेस बुकमा राख्न नबिर्सनु नि ?”

“किन रेकर्डेड खोज्छौ ? लाइभ नै हेर न ।”

“भैगो तिम्रो भाउ नै बढी छ फेरि महँगो गाजल लिपिस्टिक लगाएको चार्ज लियौ भने ?”

“भैगो तिमीलाई चाहिँ फ्री नि ।”

“फ्रि चीजको मजा नै हुँदैन ।”

“ल भैगो तिमी चार्ज तिर्न पनि कन्जुस गर्छौ , फेरि फ्रिमा पनि मन नगर्ने तिमीसँग च्याट नगर्नु नै बेश ।”

“साँच्चै भन त त्यो तिम्रो आफ्नो फोटो होइन रे ?”

“हो भन्या कति भन्नु ,, हो भने मेरो भनी हाल्थे नि ।”

“अनि किन त्यो फोटो राखेको ?”

“तिमी जस्तै उल्लुलाई छकाउन ।”

“म उल्लु भए तिमी कोइली ।”

“कसरी ?”

“हुँदै नभएको फोटो राखेरे फतरफतर गर्छौ ?”

“भैगो भैगो मेरो फोटो सम्झेर च्याट गर न ।”

“किन उल्लु र काइलीको लव परेको हेर्न मन छ ?”

“अँ छ हेरौ त कसरी लव हुँदो रहेछ ?”

“अँ साँच्चि तिमी कोसँग डेटिग जानेवाला थियौ ?”

“छ अर्को एउटा उल्लु ।”

“अँ म पनि डेटिगमा जानेवाला छु नि ।”

“को सँग जादैछौ ?”

“छ एउटी कोइली ।”

“ए त्यसो भए उळलु र कोइलीको लव भयो हैन त ?”

“अँ भयो भन्नु परो ।”

“अनि कसले न्यूज अपलोड गर्छ त ?”

“गर्छ होला नि काग ले ।”

“भैगो तिमी सधै रेला गर्छौ म जान्छु ।”

“पर्ख न तिमी डेटिगमा कहाँ जाँदैछौ ?”

“अन्नपूर्णा रेस्टुरेन्ट ।”

“ए हो म पनि त्यही जाँदैछु ।”

“तिमीले गर्ल फ्रेन्डलाई देखेका छौ ?”

“छैन । तिमीले ब्याइफ्रेन्ड देखेका छौ ?”

“छैन ।”

“तिम्रो भेट कहाँ भएको ?”

“अनलाइनमा ।”

“तिम्रो भेट कहाँ भएको ?”

“अनलाइनमा ।”

“तिमी दीपा हौ ?”

“तिमी आशिष हौ ?”

“हा....हा..”.

“हा....हा....”

फेसबुकमा न्युज काग – ‘उल्लु र कोइलीको डेटिग अन्नपुर्णामा’

नारी तिमी उठ जाग हेर

नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन
वर्षौ धर्मका ठेकेदारहरूको आगोमा जिउँदै जलाइयौ
तिम्रो आयू उनीहरूले कोरिदिए
तिम्रो भाग्य उनीहरूले फोरिदिए
तर पनि तिमीले एक शब्द बोलिनौ
त्यसपछि पनि तिम्रो अस्तित्व समाजले स्वीकारेन
तिमीलाई समाजले मानिसको दर्जा दिएन
वर्षौ पशुको जीवन बाँच्दै आयौ
सामन्तहरूको दास र भोग्या बन्दै आयौ ।

नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन ।
अझै पनि भोग्यको जीवन बाँचिरहेछौ
लोमानीका गन्धमा गुम्सिएर
ल्याक्मेको प्रशोधनमा भुलेर
कति बाँच्छौ अरूका नै लागि
सामन्तीहरूको सुनको चुरा र पोतेमा
कति अल्झाउँछौ आफ्नो अमूल्य जीवन
घरको चार पर्खाल नाघेर हेर
नारीको अस्तित्व कसरी टाँगिएको छ
धुजाधुजा भएर समाजमा

नारी तिमी जाग उठ हेर
अनि आफूलाई चिन
तिमी पनि मानिस नै हो
तिम्रो पनि सोच्ने मस्तिष्क छ
काम गर्ने हातहरू छन्
सधै्र अरूले बनाएको नियममा
कति डो¥याउँछौ आफूलाई
आफै नियम बनाएर त हेर
कति असमनताका डोरीले बाँधिएका छन
तिम्रा हात र खुट्टा नफुकिने गरी
एकपल्ट फुकाइ त हेर
तिम्रा बोलीहरू कसरी निमोठिने छन्
तिम्रा भावनाहरू कसरी चिमोटिने छन्
तिम्रा विचारहरू कसरी सिरिने छन्
त्यसैले एकपल्ट नियम बनाइ त हेर ।

नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन
तिमी नै सरस्वती , लक्ष्मी, दुर्गा हौ
तिमी नै आदि अनादि हौ
तिमीभित्र संसार छ ।
तर तिमीले नै आफूलाई नचिनेपछि
कसले तिमीलाई चिनाइदिन्छ ?
आफ्नो लागि तिमीले आफै बाँच्नुपर्छ
सामन्ती शोषित समाजले दिएको बन्धन
तिमीले आफै तोड्नुपर्छ ।
नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन ।

लेखक योगेन्द्र उपाध्यायज्युको नारी लेखको लागि नारीको जवाफ

लेखक योगेन्द्र उपाध्यायज्यू,
तपाईँको नारी शीर्षकको लेख पढ्ने सौभाग्य समकालीन डट कममा प्राप्त भयो । अत्यन्त दुख लग्यो । तपार्इँले आफूमा भएको सम्पूर्ण बौद्धिक कला खर्च गरेर तयार गर्नु भएको तपाईको लेखको सकेसम्म वाक्य अथवा अनुच्छेद नै विश्लेषण गरेर जवाफ दिँदै छु । पहिलो अनुच्छेदमा तपाईँले आफूलाई महिलासंग तुलना नगरी आफूलाई सभ्यताको परिसूचकका रुपमा व्यक्त गर्नू भएकोमा तपाईको विवेकलाई सलाम गर्छु । किनभने महिलासँग तुलना नगर्नु तपाईँको महानता हो । नारीहरु कहिले पनि पुरुष समान थिएनन् र अहिले पनि छैनन् । जिउँदै जलिनु पर्ने नारीहरु समाजमा केही चेतना आएर बाँच्न पाएका छन् । अनि कसरी पुरुष समान हुन्छन् र ? साँच्चै तपार्इँले भन्नुभए जस्तै नारी आफूलाई जति पुर्ण भने पनि ऊ कदापि हुन सक्दिनँ । भाषा, व्याकरण, सामाजिक, रहन सहन सबैमा पुरुषको स्थान आउँछ अनि मात्र नारीको उच्चाहरण हुन्छ । यी कुरा तपाईँले नामबाटै बनेका शब्दहरुबाट व्यक्त गर्नु भएको छ । हो, आज नारीहरु पुरुषबाट परिचित हुनु परेको छ । त्यसैले त उसले आवाज उठाएकी छे । यदि नारीबाट पुरुष चिनिनु परेको भए पुरुषहरु यसरी नै आवाज उठाउने थिए होलान् । यही अस्तित्वबोधको पीडाले नै मान्छेहरु अरु प्राणीहरु भन्दा प्रकृतिले पृथक बनेको हो । नत्र त पशु र मानिसमा कुनै भिन्नता रहने थिएन । हुन त तपाईँले आफ्नो लेखमा नारीलाई पशुको स्तरमा लगेर तुलना गर्नु भएको छ । त्यो परिच्छेदको विषय पनि यहाँ तल उल्लेख गरिएको छ ।
तपाईले नारीको सौन्दर्यलाई कति धेरै ईष्र्या गर्नु भएको ? यसरी इष्र्या नगर्नूहोस तपाई भन्दा धेरै ठूला महत्मा त्यागी तपस्वीहरुले नारीको सौन्दर्यको बर्णनमा आफ्नो अमुल्य जीवन समर्पित गरेका छन् । ठूला ठूला विश्वमा नाम चलेका कृति, शकुन्तला, महाभारतको द्रौपति, रामायणको सीता, र गोर्कीको आमा, राधा, सर्वजा सबै हेर्नुहोस तिनमा नारीको रुप र गुणको बखान गरिएको छ । जुन कुरा ध्रुव सत्य हो त्यो कुरामा तपाईले कलमको मसी नसक्दा राम्रो होला कि ? जसरी पुरुषको पुरुषार्थको नारीले इष्र्या गर्न हुँदैन त्यसरी नै पुरुषले नारीको सौन्दर्यको इष्र्या नगरे हुन्छ । तपाईले नारीको सृष्टि जस्तो पवन कार्य जसले मानवताको वंशलाई निरन्तरता दिइरहेको छ । त्यस कार्य र स्वयम नारीलाई किरासंग दाज्नु कतिको न्यायोचित होला ? अरुलाई भन्नु अघि त्यो आफ्नो आमालाई र आफूलाई हुन सक्छ भन्ने किन नसोच्नु भएको ? यस अर्थमा तपाईलाई आमाले कस्तो सन्तान भनी मुल्याङ्कन गर्नु होला ? तपाईलाई जन्म दिदा तपाईको आमाले कम गर्व गर्नु त पक्कै भएन होला के त्यो गर्व गँगटोल़े गर्न सक्छ ? यदि सक्छ भने तपाईँको तुलना कोसँग भयो ? एकपल्ट ठण्डा दिमागले सोच्नुहोस् । विकसित मुलुकमा नारीहरुले सन्तान पाउन छाडिसके । उनीहरु सेरोगेटमदर खोज्न थालेका छन् । यदि तपाईँको श्रीमतीले बच्चा जन्माउन मानिन भने तपाईँ सेरोगेटमदरलाई लाखौ रुपैया खर्च गर्न सक्नुहुन्छ । यदि तपाईले सक्नु भयो भने तपाई जस्ता अरु नेपाली पुरुषहरुले सक्लान् त ? फेरि तपाईँले नारीले सन्तान जन्माउने विषयमा अहिले क्लोनिग र टेष्टट्युव वेवीबाट सन्तान जन्माउन सकिन्छ भनेर नारीलाई चुनौति दिनु भएको छ । क्लोनिग प्रविधिलाई अहिलेसम्म पूर्ण सफल मानिएको छैन भने टेष्टट्युव वेवीको लागि के सबै पुरुष लाखौँ रुपैया खर्च गर्न सक्छन् । फेरि टेष्टट्युब वेबीमा नारीको डिम्ब चाहिदैन र ? जुन देशका कतिपय पुरुषहरु गर्भवती नारीलाई नियमित डाक्टरको चेकअप गराउन नसक्ने अवस्थामा छन् त्यो देशको पुरुषले यसरी खोक्नु भनेको हत्केलाल़े सूर्य छोप्छु भन्नु हो ।

एक्काइसौ शताप्दीमा पनि उन्नाइसौँ शताप्दीको अवस्थामा गुज्रिरहेको नेपाली नारीको चेतनामा तपार्इँको लेखले केही सचेतना जगाउनु पर्ने हो । तर अफसोच छ यहाँ त्यो वातावरण सृजना हुन अझै दुइसय शताप्दी लाग्छ भन्ने मेरो अनुमान छ । तपाईँले समस्या र अवगुणहरु प्रशस्त आफ्नो लेखमा छर्नु भएको छ तर त्यसको कारण र निराकरण पटक्कै बटुल्नु भएको छैन ।
तपाईँको लेख जन्मनुको पछाडि नेपाली समाजको सानो पृष्टभुमि खोल्न चाहन्छु म । राणाकालीन शासनले नेपाली जनतालाई घोर अन्धकारमा राख्यो केही सचेत पढेलेखेका युवाहरु वनारस, दार्जिलिङ गई शिक्षा लिन थाले । उनीहरुको घरव्यबहार, छोराछोरी, वृद्धा भएका बाआमा तिनै नारीहरुले स्याहार गरेर बसिन् जसलाई तपाईँ गाली गर्दै हुनुहुन्छ । ती महान नारीहरुले श्रीमानलाई उच्च शिक्षा दिन सक्दो सहयोग गरे तर आफू भने अन्धकारको गुफाभित्र थुनिरहे । देशमा भएका ठुलाठुला राजनिति क्षेत्रमा, प्रशासनिक क्षेत्रमा र देशका ठुला ठुला कार्यक्षेत्रमा तिनै पुरुषले देश हाकेका थिए र अझै कति हाँकिरहेका छन् । ती नारीहरुको त्याग बलिदान पुरुषहरुले कहिल्यै बिर्सन हुदैन । आज पनि धेरै पुरुषहरुलाई नारीहरुले घरव्यबहार, छोराछोरी सम्हालेर विदेश पढ्न वा कमाउन पठाइरहेका छन् । आज कुनै पनि घरमा पुरुषले भात पकाएर नारीलाई बाहिरी संसारमा पठाउने पुरुष बिरलै होलान् । सायद तपाईले यो लेख लेख्न अघि आमा, दिदी वा बहिनीले पकाएको भात नै खाएर बस्नुभएको होला । यदि तपाईले होइन आफै पकाउछु भन्नुभए पनि ठिकै छ । तर अधिकांश पुरुषहरुलाई खाना पकाएर र पस्केर अगाडि राखी दिने नारी नै हुन्छे । घरको सम्पूर्ण व्यवहार हेरिदिएर बाहिरीसंसारमा अघि बढाउने नारी नै हुन्छन् । त्यसैले भनाई नै छ कुनै महान पुरुषको सफलताको पछाडि नारीको हात हुन्छ भन्ने । कतै एउटी नारीले भाषण गरेको सुन्दैमा तपाईले आम नारीलाई दोषारोपण गर्नु कहाँ सम्मको बुद्धिमत्ता हो ?
हुन त हामी नारीमा धेरै विकृति छ हामी भर्खर शिक्षाको उज्यालोमा पस्दैछौ । वर्षौ हामीले घरको संघार काट्न पाएनौ । हामी आर्थिकरुपले, सामाजिक रुपले र मानसिक रुपले कमजोर भयौँ । हामी आफूमा परिपक्वता हुनु पर्दछ । हामीमा कमीकमजोरी छैन भन्न खोजेको होइन मैले किनभने कसैलाइ भन्नु अघि आफूलाई राम्ररी हेर्नु पर्छ भन्ने मान्यता राख्छु म । मैले हामी नारीको बारे खसखस डट कम मा ‘महिला शब्दको उत्पत्ति’ शीर्षकमा लेखिसकेको छु । पढ्नु भए राम्रो होला । नारी सृष्टिकर्ता, पालनकर्ता हो । तपाईँले धेरै धर्मशास्त्रका कुरा ल्याएर पुरुषलाई सर्वशक्तिमान देखाउनु खोज्नुभएको छ । धर्मशास्त्रले नारी, जनजाती, दलितलाई दबाइएर लेखिएका कतिपयकुराले आज समाजमा विरोधको आवाज उठिरहेको छ । नारी, जनजाति र दलितले वेदको ऋचा सुन्नु हुदैन सुनेमा कानमा तातो तेल हालिदिनु भन्ने मनुस्मृतिका कुराले आज समाजमा नयाँ विद्रोहको भावाना जन्मेको छ ।
आज देश संकटकालीन अवस्थामा छ । हिजो मधेस आन्दोलनले पहाडिया भन्दै टोपी फ्याक्न लगाएको, लिम्बुवानले नाकचुच्चे भन्दै विरोध गरेको, नेवार समुदायले आवाज उठाएको, अरु समुदायले आन्दोलन गरेको अवस्थामा त नारी तेरो नाम यस्तो म पुरुष मेरो पुरुषार्थ यस्तो भन्नुभन्दा देशमा चलेको आन्दोलनको निराकरण के होला भनी बौदिकता खर्च गर्नु भएको भए धेरैजनाको स्याबासी पाउनु हुने थियो । तपाईँजस्तै सामन्तीसोचले ग्रस्त जुडासेप्रवृत्तिका व्यक्तिहरुको कारणले नै आज देश अराजकतातिर गइरहेको छ । यस्ता प्रवृतिका व्यक्तिहरु नयाँ परिवर्तन हेर्न चाहदैनन् । जुडासे प्रवृत्ति भनेर केलाई भनिएको होला भनी भन्नुहोला । जुडासेप्रवृतिको बारेमा मैले मेरो ब्लग शखदा साहित्य मा सस्मरण स्तम्भमा जुडासेप्रवृति-1 भन्ने शीर्षकमा एउटा लेख छ । हो त्यहीबाट जुडासेप्रवृत्ति भन्ने शब्दको जन्म भएको हो । यस्ता जुडासे प्रवृत्ति भएका व्यक्ति तपाईँ एक्लै हुनुहुन्न अरु पनि हुनुहुन्छ । यस्ता मानसिकता बोकेका मानिसहरु आफूलाई सर्वेसर्वा ठान्छन् र अरुको आत्मस्वाभिमानको कहिल्यै सम्मान गर्दैनन् । यस्ता लेखक तपार्इँमात्र होइन अर्को एकजनाको पनि उदाहरणसहित तपाईँलाई यो सानो लेख मार्फत देखाउन चाहन्छु ।


हाम्रो समाज पुरुषप्रधान समाज हो भनेर मैले भनिरहनु नपर्ला भन्ने मलाई लाग्छ । बर्षौदेखि पुरुषवादी मानसिकता बोकेकाले हाकी आएको समाजमा कति नारीका हक अधिकार दबाइयो यसको लेखाजोखा गरेर साध्य पनि नहोला । मनोवैज्ञानिक रुपमा, आर्थिक रुप सामाजिक रुपमा दवाइएका धेरै घटना र कानूनहरु नै साक्षी वकपत्रका रुपमा नै तयार छन् । अहिले म यहा मनोवैज्ञानिक रुपमा दवाइएका कुराहरु गर्दैछु । समाजमा कला साहित्य भनेको परिस्कृत र सुशिक्षितहरुले हाक्ने गाडी हो । यही हकाइमा कति नारीको मनोविज्ञान खसाल्ने गरी गाडी हाकिन्छ, भन्नेकुरा नमूना म यहाँ पेश गर्न चाहन्छु । साहित्यक्षेत्र बौद्धिक क्षेत्रका व्यक्तिहरुले अभिव्यक्ति दिने थलो हो तर यस क्षेत्रका पुरुषवादी मनोविज्ञान बोकेकाहरु नारीका आत्मसम्मान गिराउने गरी अपहेलना गरी लेख्ने व्यक्तिहरु अझै पनि उत्तिकै गरी लागि परेका छन् । गरिमाको पुस अङ्कमा मुन पौडेलको मेरी सालीको बिह’ र मधुपर्कको माघ अंकको ‘सुखी जीवनका उपाय’मा नारीलाई अत्यन्तै खसालिएर बोलिएका छन् । हास्य व्यङ्ग्यका रुपमा लेखिएको यी दुबै लेखमा नारीको मनोविज्ञानलाई अत्यन्त सस्तो किसिमले खसालिएर लेखिएका छन् । मधुपर्कको सुखी जीवनका उपाय मा के भनिएको छ भने स्वास्नी लाई खुसी पार्न पुरुषले उसको दास बन्नु पर्ने मनोविज्ञान देखिइएको छ एउटा वाक्यांश पढौ – “हाम्रो नेपाली समाजमा घरकी, लाग्नेकी , लोग्नेकी श्री सम्पत्तिको मालकिन र चिफ एक्ज्युटिभ को त भने श्रीमती । श्रीमती लोग्नेको टोपी देखि मोजासम्म र बैङ्कको खातादेखि खल्तीसम्मको मालकिन । कुन पुरुष छ हुँ भन्ने पतिमा त्यो ताकत छ कि जसले श्रीमतीलाई ढाटेर ठगेर दुई पैसा कतै लुकाओस् । उल्टो आफ्नो नामको जग्गा । घरलगायत सञ्जयकोषको रकम पनि श्रीमतीको नाम गरिदिएका छन् हुन्छन् । जुन मै छु भन्ने मनुवाले “कमाउने म, त्यसको नाम के को राख्छु भनेर फुर्ति फार्ती लाएर हैकम वा प्रवृत्ति नै देखाउछ त्यसको दुखको दिन आयो भन्ठाने हुन्छ । हाम्रो समाजमा श्रीमती एउटा यस्तो प्रकारको लुतो हो जो फाल्न त सकिदैन सकिदैन , उल्टो जीवनभर कन्याइरहनु पर्छ ।”
मलाई यहाँ भन्न मन लाग्छ, के नारीले पुरुषको कार्यमा सहयोग गरेकी हुन्न । के पुरुषले फाल्न चाहेर पनि फाल्न नसक्ने नारी एउटा वस्तु हो ? उनको समाजमा कुनै अस्तित्व छैन । यो अन्तिम वाक्यले नारीको अस्मिता र स्वाभिमानमा निकै ठूलो अपमान गरिएको छ । यो कुरा कुनै पनि स्वाभिमानी नारीलाई पच्य हुने छैन । यी वाक्यांशले नै बुझिन्छ पुरै लेखमा नारीलाई कतिको होच्याएर लेखिएको छ ।
(यहाँ मलाई मुन पौडेललाई के भन्न मन लाग्छ भने सरकारले नारीको नाममा घरजग्गा खरिदगर्दा परसेन्ट 25 परसेन्ट छुट नारीलाई दिएको छ । धेरै पुरुषहरु त्यो छुट पाएर खुसी भएका छन् र धेरैजसो पुरुषहरुले नारीको नाममा घरजग्गा राख्न रुचाउछन् र राखिरहेका छन् । नारीप्रति त्यत्रो अविश्वास हुने हो भने सरकारले यो छुट दिने थिएनन् र पुरषले पनि राख्ने थिएनन् । नारीहरु पुरषबाट धेरै ठगिएका हुनाले पनि सरकारले नारीलाई केही राहतको रुपमा यो व्यवस्था मिलाइदिएको कुरा उल्लेख गरिएको थियो । तर मुन पौडेल सरकारलाई भन्न नसकेर किन नारीलाई भनेका हुन बुझ्न सकिएन । )

त्यस्तै उनको सालीको विहे मा सालीको बिहे बाट सुरु भएको व्यङ्ग्यमा स्वास्नीदेखि लिएर सासु ससुरा सालीलाई समेत यति होच्चाएर लेखिएको छ । प्रत्येक वाक्य विश्लेषण गर्ने हो निकै लामो लेख तयार हुन्छ । तर यहा मैले छोटकरीमा लेखेको छु । उनले एक ठाउमा यसो भनेका छन् – “मेरा ससुरा कस्ता भने बतौरे अझ कडा र खरो शब्दको प्रयोग गर्ने हो भने गफाडी । हुने खाने चाहि केही होइन तर गफले आकाश पाताल एक गरिदिने खालका न खग्नुपरोस न ख्वाउनु परोस् उल्टो छोरी ज्वाईको पाए पाउञ्जेल खायो अनि गफ हाक्यो । ससुराली गयो र ससुरा छन भने गफबाहेक केही खान पाइदैन । खान त पाइन्न पाइन्न , बोल्न पनि पाइन्न । उनी चूप लागे न बोल्नु । यसरी ससुरालाई भनेका छन भने सासुलाई त्यस्तै – ‘अब अर्को पाटो हेनुस । सासु बज्यैचाहिँ सीधा ठाडा गाउँ बाट आएकी जस्ती । नहास्नु छ नबोल्नु छ , टकटक लट्ठी हिडेको जस्तो निर्जीव । .. । ’ यस्तै गरी साली र स्वास्नीलाई अघाउञ्जेल व्यङ्ग्यले हानेका छन् ।
हुन त यसलाई उनले सस्मरण भनि दिएको भए हामी कसैलाई टाउको दुख्ने थिएन तर हास्यव्यङ्ग्य लेख भने पछि यो प्रतिनिधि पात्र के सबैलाई पाच्य होला आज हामी नयाँ नेपालको कुरा गरिराखेका छौ । यस्ता विकृतिग्रस्त मानसिकता बोकेका व्यक्तिले नयाँ नेपाल बनाउन सक्ला र यस्ता लेखकका मानसिकता बढाउन लेख छाप्ने सम्पादकले पनि अब यसलाई हल्काफुल्काको रुपमा नलिई गम्भिर रुपमा लिनुपर्ने छ ।
हास्यव्यङ्ग्य लेख भनेको समाजका विकृति विसंगति विरुद्ध व्यङ्ग्य हानेर लेखिने लेख हो । के मुन पौडेल आफ्नो स्वास्नी ससुरालीमा मात्र विकृति विसंगति देखेका छन् त समाजमा अन्त छैन ? उनले आफ्नो सीप प्रतिभा नारीको मनोविज्ञान खसाल्नेमा खर्च गर्नु भन्दा राष्ट्रभित्र कति विसंगति छन् त्यसमा खर्च गरे कसो होला ? वास्तवमा ससुराली र स्वास्नीलाई यस व्यङ्ग्य बनाएर हाँसोको पात्र बनाएर देखाउने मुन पौडेल मात्र छैन अन्य लेखक, कलाकारहरु पनि छन् । कला क्षेत्रमा पनि केही समय अघि तीतो सत्य जस्तो चर्चित टेलिसिरियलले सासु र ससुरालाई हास्यको पात्र बनाएर निकै दर्शकलाई हँसाउन खोजिेको थियो । त्यस्तै अरु कतिपय चलचित्र तथा टेलिफिल्महरुले पनि गर्दै आएका छन् । अब समाजमा परिवर्तन आउनु पर्छ । यस्ता पुराना त्रुटिपूर्ण धेरै उखानटुक्का, लोककथा जुन नारीका मनोविज्ञानलाई गिराउने गरी बनाइएको छ त्यसलाई हटाउनुपर्छ अनि मात्र नया नेपाल हुन्छ । आफूमा बौदिकता छ भन्दैमा अव कसैले पनि नारी, जनजाति, दलित, असहाय बालबालिकाहरुको मनोविज्ञान खसाल्ने किसिमको कुनै पनि लेख लेख्नु हुदैन । सबैको आत्मस्वाभिमानको सम्मान गर्न सिक्नुपर्छ यो नै नया नेपालको अवधाराणा हो । जब सम्म हामीले यस्ता रुढिग्रस्त सामन्तवादी समाजले रोपेका यस्ता आत्मस्वभिमान र आत्मविश्वास मार्ने विषालु वृक्ष ढाल्दैनौ तबसम्म हामी नयाँ नेपाल बनाउन सक्दैनौँ नयाँ नेपाल कुनै कागजमा लेखिने शब्द मात्र होइन समाजमा रहेको यस्ता विसंगति र विकृति हटाएर बनिने स्वच्छ र सुन्दर नेपाल हो । जहाँ सबैले सम्मानपूर्वक बाँच्न पाउनु पर्छ । यो सबैले जानीलिनु पर्ने कुरा हुन्छ ।

यसरी हामी पुरुष सर्वेसर्वा हौ भन्ने भावाना नराखी अन्य निर्धा, असहायप्रति पूर्वाग्राही नबनी लेख्नुहोस् । आज देशमा ब्रामाणवादको जन्म भएको यस्तै व्यवहारले गर्दा भएको हो । आज देशमा ठूलठूला समस्याहरु छन् । आफूभन्दा कमजोरलाई आफ्नो विवेक बुदिले होच्याएर उसको आत्मविश्वास गिराउनको सट्टा उनीहरुलाई विशेष सरसल्लाह दिई मार्गदर्शक बन्नुहोस् । तपाईँ जे रोप्नुहुन्छ त्यही फल फल्दा त्यो फल मीठो होस् सबैलाई ग्राह्य र स्वादिष्ट बनोस् ।
यही मेरो यो लेखनको अभीष्ट हो ।

मौन विरोध

प्राकतिक छटाले भरिपूर्ण एउटा स्थानमा असाध्यै रमणीय पोखरी थियो । त्यस सौर्न्दर्ययुक्त पोखरीमा एउटा माछाको परिवार र भ्यागुताको परिवार बस्दथे । त्यस पोखरीको सौर्न्दर्यपान गर्न धेरै टाढाटाढाबाट मान्छेहरू आउँथे । उनीहरू त्यस पोखरीमा आएर त्यहाँका राम्राराम्रा माछाहरू देखेर आनन्दविभोर हुन्थे । अनि माछाहरूलाई चारो किनीकिनी खुवाउँदथे ।
यसरी मानिसहरूले आफूहरूलाई मात्र माया गरेको देखेर माछाका परिवारमा घमण्ड बढ्दै गयो । त्यही पोखरीमा रहेको भ्यागुताका परिवारलाई कसैले वास्ता गर्दैनथे । माछाहरू भ्यागुताहरूलाई हप्कीदप्की गरेर सानसँग बस्न थाले ।
एक दिन बूढी भ्यागुतीको धैर्यको बाँध टुट्यो अनि पोखियो बूढो भ्यागुतामाथि- "हैन चेपाँगाँडाका बाउ, हेर न ती भुराहरू हामीलाई कसरी हेप्छन् † हामी कसरी बांच्ने यिनीहरूको हुकुमी शासनमा । यसरी चूप लागेर बसेर हुन्छ - केही त गर्नुपर्यो नि । "
खुम्चेको विवशता र बाध्यता फुकाउँछ बूढो भ्यागुतो "खै, के गर्ने मानिसहरू उनीहरूलाई मात्र माया गर्छन् । उनीहरू राम्रा छन् । मानिसहरूलाई मनोरञ्ञन दिन सक्छन् । हामी राम्रा छैनौ“ । सधैँ उनीहरूको आँखाबाट ओझलमा पर्र्छौँ । अनि के गर्नु उनीहरूको चारो खाएर बाँच्नुसिवाय अरू उपाय नै छैन । अनि कसरी विद्रोह गर्नु । "
"कसरी गर्नु भनेर हुँदैन, अब केही गर्नु पर्यो । वर्षौँ भयो यिनीहरूको शासन सहेको, हामी नकराउने हो भने पानी पर्दैन । पानी नपरे कसरी पोखरी राम्रो हुन्छ, अनि कसरी बाँच्छन् यी भुराहरू -"माछाप्रतिको रिस द्वेग यसरी उकेलिन् बूढी भ्यागुतीले ।
बूढाबूढी यसरी कराएको सुनेर भ्यागुताका सन्तानहरू सबै भेला भए । सबैले बूढी भ्यागुतीको कुरामा हो मा हो मिलाए । अब ती भ्यागुताहरूले मौन विरोध गर्ने निर्णय गरे ।
वर्षायाम सुरु भयो । भ्यागुताहरू कराएनन् । पानी पनि परेन । विस्तारै त्यो स्थानको सौर्न्दय लोप हुँदै गयो । खडेरीले गर्दा त्यो पोखरी सुख्खा हुँदै गयो र निर्जन बन्दै गयो ।
एक दिन त्यस ठाँउमा त्यस सहरका ठूला हाकिम घुम्न आए । त्यस्तो सुन्दर ठाउँ यति निर्जन र उराठलाग्दो भएको देखेर त्यस ठाँउको सरसफाइ गर्ने आदेश दिए । सरसफाइ गर्ने क्रममा त्यस पोखरीको पानी हटाउने भनियो । पोखरी सफा गर्दा भ्यागुताहरूले डिलतिर गएर ज्यान जोगाए । माछाहरू सबै मारिए । त्यस पोखरीमा फेरि सफा पानी हालियो र राम्रो बनाइयो । भ्यागुताहरूले अबका माछा राम्रा, असल र मिलनसार आऊन् भनी भगवान्सँग प्रर्थाना गर्दै कराउन थाले ।

वास्तविकता १

‘हाइ कोइली !’
‘हाइ उल्लु !’
‘हिजो किन नआएको डेटिङ्गमा ?’
‘माओवादीको बन्दले आउन सकिनँ । ’
‘म आएर कुर्दाकुर्दा गरे यार । ’
‘गफ दिन्छौ ! पत्याउन्न म ।
‘नपत्याए के गर्छौ ?’
‘केही गर्दिन चुप लागेर बस्छु । ’
‘तिमी मलाई माया गछ्र्यौ हैन ?’
‘मैले माया गर्छु भनेर मख्ख नपर है ।’
‘माया नगर्ने भए किन डेटिङ्गमा बोलाएको त ?’
‘तिमीलाई उल्लुको पनि उल्लु बनाउन !’
‘ए ! म हजुरउल्लु भए हैन ?’
‘कस्तो हजुरउल्लु ?’
‘बुवाको बुवा हजुरबुवा जस्तो उल्लुको उल्लु हजुरउल्लु !’
‘तिमी गफ गर्न सारै सिपालु रहेछौ मलाई पनि सिकाइ देउ न गफ गर्न ।’
‘ट्रेनिङ्ग लिनुपर्छ मसँग यार ।’
‘ठीक छ लिउँला नि ’
‘मलाई माया गछ्र्यौ हैन त ?’
‘गर्छु तर तिमीले कठोर तपस्या गर्नुपर्छ ।’
‘कस्तो कठोर तपस्या ?’
‘विस्वासको अग्लो पहाडमा चढेर तपस्या गर्नुपर्छ ।’
‘भो यो गारो छ । अलिक सजिलो उपाय बताउन न अहिले सबै कुरा डुप्लिकेट आइसक्यो । खासाको जस्तो क्या ।’
‘तिमी त मान्छे नै डुप्लिकेट हौ कि क्या हो जहिले यस्तै कुरा गर्छौ । तिमी गफको पत्ता फ्याक्न सारै सिपालु छौ । तर असली फ्याक्दैनौ खाली नक्कली फ्याक्छौ ।’
‘सक्कली माल तिमीसँग छ नि किन डराएको ?’
‘ए ! हो म्यारिज गेमको जस्तो कुरा ग¥यौ नि !’
‘हो त तासको म्यारिज होइन लवको मैरिज क्या लव मैरिज !’
‘ आ ऽ तिमी ठीक पार्दैछौ । मलाई झुक्याएर सक्कली भन्दै नक्कली पत्ता फ्याक्छौ । केटाहरू यस्तै हुन्छन् । केटीहरूलाई मख्ख पारेर उसको भित्रको अन्तरकुन्तर छामेर फुत्त बाहिर भाग्छन् । म्यारिज खेल्दा आफ्नो माल लुकाएर अरुको माल चाहिँ तानेर खेल जितेझैँ गर्छौ ।’
‘तिमीलाई म्यारिज खेल्न आउदोरहेछ हैन ! राम्रो भो । ल तिम्रो माल हेरौँ न कति छ ?’
‘मसँग मालैमाल छ । यो गेममा तिम्रो हार निश्चित छ ।’
‘एकपल्ट हराइसक्यौ नि डेटिङ्गमा आउँछु भनेर अब कति पल्ट हराउछ्यौ यार ?’
‘भो नपत्याउ होला ! पचेन मलाई ।’
‘हजमोला खाउ न पचिहाल्छ नि । जे आउँछ त्यहि पचाउँछ ट्वाक्क ।’
‘तिम्रो हजमोला पनि तिमीजस्तै डुप्लिकेट होला नि ।’
‘भन न म कति नम्वरमा पर्छु ?’
‘कस्तो नम्बर भन्या ?’
‘डेटिङ्ग जानेमा ?’
‘भो कुरा नगर । तिम्रोचाहिँ नि ।’
‘मेरो फस्ट टाइम हो । त्यहिँ भएर तिमीलाई रिझाउन सकेको छैन । ’
‘उस् फेरि नपत्याउ होला । ’
‘साँच्चै म तिमीलाई पढ्न चाहन्छु । ’
‘पढेर के गर्छौ ?’
‘तिम्रा सबै परीक्षामा पास हुन चाहन्छु । ’
‘रियली ?’
‘साँच्चै’
‘फेल भयौ भने नि ?’
‘जे सजाय दिन्छौ भोग्न तयार छु ।’
‘ल भन अहिले मेरो मनमा के छ ?’
‘यो केटाले मलाई ढाँटिरहेकोछ कि साँचो बोल्दै छ भन्दैछ्यौ । होकि होइन भन त ?’
‘हो पक्कै हो । ल तिम्रो टेन नम्बर आयो ।
‘ल अब अरु सोध ।’
‘ल भन मलाई कुन हिरोइन मनपर्छ ?’
‘दीपिका !’
‘ठीक भन्यौ तिमीलाई अर्काको मनको कुरा बुझ्ने शक्ति रहेछ । तर भन मलाई दीपिका नै मन पर्छ भनेर कसरी थाहा पायौ ?’
‘तिम्रो नाम पनि दी बाट उठ्ने भएकोले । ’
‘ल तिम्रो फुल माक्स आयो ।’
‘म पास भए हैन त ।’
‘हो पास भयौ ।’
‘तिमीलाई पनि त मैले परीक्षा लिनु पर्ला नि होइन त ?’
‘हो.. हो.. लेउ न । ल सोध । तर सजिलो सोध नि ।’
‘तिमीलाई डेटिङ्गमा लादा मसँग पैसा भएन भने के गर्छौ ?’
‘तिमीलाई त्यहिँ होटलमा भाँडा माझ्न छोडेर म हिँड्छु ।’
‘यस्तो खरो कुरा नगर न यार ।
‘अनि डेटिङ्गमा बोलाउँदा पनि पैसा नबोकी जान्छन् त ?
‘सरी बाबा सरी म सापटी मागेर भए पनि बोकुँला । यदि साथमा पैसा नभए तिमीलाई बोकेर भागँुला नि हुन्न ।’
‘फेरि उही ठट्टाका कुरा सिरियस गफ गर न सिरियस । ’
‘कस्तो सिरियस ?’
‘हे प्राणप्यारी तिमीलाई म डेटिङ्गमा लगेर मीठामीठा खानेकुरा खुवाउँला अनि हातमा समाएर अँगलो मारेर घुमाउँला हो यस्तो कुरा गर न ।’
‘खानेकुरा खुवाउन पैसा नभए किस मात्र भए पनि खुवाउला..... यो पनि भन्नु ?
‘फेरि ठट्टा.... तिमी फेल भयौ अघिको नम्बर काटियो ।’
‘अहिले तिम्रो परीक्षा की मेरो ?
‘दुवैको ।
‘लौ बाबा लौ सरी । सरी भन्न पाइन्छ नि ।
‘त्यो पनि सापटी लिएर भन्छौ होला नि तिमीसँग च्याट नगर्नु नै वेश होला ।
केही छैन भन्छौ । यस्तो शरणार्थीस“ग के लव गर्नु ?’
‘गर न गर अमेरिका जान पाउँछौ । ’
‘भो भो तिम्रा सबै कुरा ठट्टा र नक्कली हुन्छन् । सिरियस गफ नै गर्दैनौ ।’
‘तिम्रो रिस हेर्न । ’
‘मेरो रिस हेरेर के हुन्छ ?’
‘गर्मी भा छ पानी पर्छ नि । ल साँच्चै म तिमीलाई प्रेम गर्छु भन न !’
‘भो म भन्दिनँ । ’
‘लौ भन डेटिङ्गमा कहाँ जाने भन न ।’
‘भन्दिनँ अब म जान्छु ।’
‘कोसँग ?’
‘तिमीसँग ...........मरे भन्दिनँ ।’
‘साँच्चै मेरो कानलाई पवित्र बनाएर जाउ न आइ लव यु भनेर । ’
‘भो तिमी मलाई उल्लु बनाउँदैछौ । ’
‘उल्लु होइन उल्लुनी ! उल्लुको उल्लुनी । ’
‘आफूजस्तो छौ अरुलाई पनि त्यस्तै देख्छौ !’
‘तिमीलाई फुटबल मन पर्छ । विश्वकपसगै बसेर हेरौ न ?’
‘के मलाई फुटबल बनाउने विचार छ, उल्लुनी बनाई सक्यौ । गोल हुँदा मलाई ‘मलाई खुट्टाले हान्न बेर लाउदैनौ । ’
‘होइन के क्या मजा आउँछ । ’
‘भो मलाई मन पर्दैन र्?’
‘के गर्न मन पर्छ ?’
‘मलाई सपिङ्ग गर्न मन पर्छ । मेरो हवी नै हो । सपिङ्गमा लान्छौ हैन ।
‘लान्छु नि पर्स खाली भएको दिन । ’
‘फेरि ठट्टा । भो तिमीसँग च्याट नगर्नु वेश । ’
‘भन न ?’
‘के ?’
‘डेटिङ्गमा भेट्छौ हैन ?’
‘कति डेटिङ्ग डेटिङ्ग भनेर रटन लगाउँछौ ? सुगाले जस्तो आ ऽ मलाई दिक्क लागिसक्या भन्या !’
‘मेरो कथाको शीर्षक नै डेटिङ्ग छ नि !’
‘के....... रे कथा रे ? तिमी कथाकार हौ ?’
‘हो .................इन । हुन खोजेको मात्र हो । हेर न एउटा केटा र केटीको लवको कथा लेख्नुपर्ने उनीहरूको भेट नै हुँदैन त्यसैले तिमी डेटिङ्गमा आयौ भने कथा समाप्त हुन्थ्यो ।’
‘ए अघिदेखि तिमीले मेरो दिमाग चाटेको कथा लेख्नलाई पो हो । ’
‘हो नि ।’
‘मैले सोच्दै थिए तिमी मलाई साँच्चै प्रेम गर्छौ । तर मलाई पात्र बनाएर कापीमा कैद गर्दैरहेछौ । भो मलाई कापीमा कैद हुन मन छैन ।’
‘भेट न भेट तिमीलाई अपहरण गरेर फिरौति त माग्दिनँ नि !’
‘भो तिमीले कति झुटा कुरा गरिरहेका रहेछौ । तिमी फेल भयौ अब तिमीले सजाय भोग्न पर्छ !’
‘सरी बाबा सरी मलाई माफ गर न । बरु एउटा जोक्स सुनाउला नि ।’
‘ल सुनाउन त ।’
एकपल्ट एउटा प्रेमीले प्रमिकालाई भनेछ हेर ‘तिमीलाई सपना म विहेको प्रस्ताव राख्दैथिए ।’
अनि प्रमिकाले भनिछे ‘तिमी त सपनामा मात्र विवेकको कुरा गर्दो रहेछौ ।’
‘हा ..हा .लाइक यु .।’
‘अब माफ गयौ होइन ?’
‘हुन्न पटक्क हुन्न म तिमीलाई डेटिङ्ग टाइम नै दिन्न । अनि तिम्रो कथा अधुरो रहने सजाय दिन्छु ।’
‘ठीकै छ तिमीले दिन्नौ भने अर्को पार्टनर खोजिहाल्छु नि डेटिङ्गमा जाने ।’
‘तिमीले अघि नै जे सजाय पनि भोग्न तयार छु भनेका हैनौ । अहिले किन आत्तिन्छौ नि । म डेटिङ्गमा पो जान्न भनेको च्याटमा त आइहाल्छु नि । किन पार्टनर खोज्छौ ?
‘ए ! ल त्यसो हो भने तिम्रो आज्ञा मेरो कलम शिरोपर । यो कथा अधुरो नै रहनेछ । अर्को च्याटसम्मको लागि, विदा है त ।’
‘साँच्चै तिमी इमान्दार छट्टु रहेछौ मैले माफ दिए ।’
‘ धन्यवाद, बाइ बाइ सि यु नेक्टस टाइम ।’

‘ल विदा बाइ बाइ ।’
पर्सिपल्ट

‘हाई मैना !’
‘मैना रे ?’
‘अस्ति मलाई सुगा भनेकी हैन ?’
‘ए त्यसो भए हाई सुगा !’
‘अब त डेटिगको टाइम दिन्छौ होला नि यार ?’
‘फेरि उही कुरा अरु कुरा गर न !’
‘पक्का भन त तिम्रो BF छ कि छैन ?’
‘के हो BF भनेको ?’
‘व्याय फ्रेन्ड हो !’
‘तिमीलाई किन चाहियो भए पनि नभए पनि ?’
‘त्यही भएर तिमीले मलाई डेटिङ्ग टाइम दिइरहेकी छैनौ जस्तो लाग्छ । ’
‘छैन छैन ।’
‘पक्कै मलाई रिजर्भमा राख्दैछौ । मलाई थाहा छ नि ?’
‘तिमी तड्पिदैनौ भने हो भन्छु ।’
‘को हो त्यो भाग्यमानी मलाई बताउन यार । तिम्रो डेटिगमा मपनि आउँछु गफ सुन्छु अनि कथा लेख्छु ।’
‘कथा, कथा, कथा.... म यो कवि कथाकार भनेकी टाउको दुख्छ ।’
‘म थिचिदिऊ ?’
‘बरु थपिदिऊ भनन ?’
‘ल ल थपिदिऊ ?’
‘अझ कति थप्छौ भो म जान्छु ।’
‘हेर अहिलेसम्म कुनै केटीलाई मैले यति लिफ्ट दिने हो भने ऊ एवरेस्ट चढिसक्थी यार ।’
‘नपत्याऊ एभरेस्ट चढ्ने होइन अव रेस्ट चाहिँ भन्थिहोला । तिमी च्याटमा त यति गलाउँछौ ।’
‘साँच्चै तिमी सारै राम्री छौ यार । ऐश्वर्या भन्दा पनि राम्री ।’
‘भो प्रशंसा गर्नुको पनि हद हुन्छ नि । ऐश्वर्याभन्दा राम्री त यो ब्रद्याण्डमा पनि जन्मेको छैन होला ।’
‘होइन यार तिमी त प्रशंसा गर्दा पनि रिसाउछौ , भगवानले तिमीलाई लोडसेडिगको बेला बनाएछन् कि क्या हो ।’
‘भो भो म जान्छु ।’
‘सुन न सुन एउटा मुक्तक सुनाउँछु ।
कल्पनाको सागरमा डुब्दै
डर लाग्छ कता कता तिमी साथ हु“दाहु“दै
पौडन थाल्छन् मनका भावाना
किन त्रास छु आफू आफू मै
लाग्छ शुन्यमा बिलाए भैm
तिम्रो याद नआएमा कतै
‘कहाँ बाट चोरेर ल्यायौ नि ?’
‘फेसवुकबाट चोरेर ल्याएको भन्दिनँ ।’
‘हो तिमीले चोरेको नै हो यस्तो राम्रो मुक्तक तिमीले लेखेको भनेर म मरे पत्याउन्न ।’
‘तिमी त केही कुरा पत्याउन्न यार । तिमीसँग त मेरो सहमति होला जस्तो छैन । तिमी त नेपालका प्रमुख दलका नेताजस्तै छौ । कहिल्यै सहमति नहुने ।’
‘एउटा कुरा भनन पत्याउँछु ।’
‘के कुरा ?’
‘म बाँदर हुँ, रुखमा चढ्दैछु भन न पत्याउँछु ।’
‘ए हो यार हेर न अहिले म कस्तो डराएको नि ?’
‘किन नि ? के भयो ?’
‘रुखबाट अर्को एउटी बादर्नीलाई झारिदिएको केटी पो रहिछे । त्यो को हो थाहा छ ?’
‘थाहा छ तिमीले पक्कै मलाई भन्नेछौ । तिमी त खाली ठट्टा मात्र गर्छौ ।’
‘ल भन डेटिङ्ग जाने होइन ?’
‘जान्न भन्या , मीठामीठा गफ गर्नुपर्छ । मुटु हल्लाउनु पर्छ । दिलमा कुछकुछ हुनुपर्छ । अनि पो डेटिङ्गमा जान्छु त यस्तो बाँदरे कुराले पनि कोही डेटिङ्गमा जान्छन् ।
‘ए हो त यार... हिजो पशुपतिमा बाँदरसँग डराउने कालो जिन्सको पेन्ट लगाउने, रातो टिसर्ट लगाउने केटी चाहिँ को हो नि ?’
‘के रे बाँदरसँग डराउने रे ? कहाँ देख्यौ तिमीले मलाई ?’
‘खोई गुहेश्वरीको जङ्गलमा दुई बाँदर र बाँदर्नी डेटिङ्गमा थिए । अर्को साँच्चिकै बाँदरलाई रिस उठेर झम्टदै थियो ।’
‘साँच्चै तिमी को हौ भन त ?’
‘उही बाँदर धपाउने बाँदर ।
‘तिमी मलाई कुरा छल्दैछौ । सबै कुरा भन त ।’
‘अनि बाँदरले तिम्रो हातको व्याग खोसेर लाँदा तिमी झन्डै रुन खोजेकी थियौ । अनि कसले खोसेर ल्याइदियो । ल्याएवापत तिमीले गालामा दिएको बक्किस् के थियो ?’
‘यु सिल्ली दिपक ! मलाई आशिष बनेर यति धेरै ठट्टा गरिरहेछौ हैन ?’
‘होइन होइन त्यो केटी हिरोइन दिपीकाको डुप्लिकेट थिई अनि हिरोको काखमा सुतेर के के हो ....त्यो इलुइलु गर्दै थिई ।’
‘भो.. भो.. नभन मलाई लाज लागेर आयो । तिमीले मलाई यसरी अर्कैको नाम राखेर फलो गर्छौ भन्ने कुरा मलाई के थाहा ? त्यो हिरोले डेटिङ्गको लागि कति धेरै परिश्रम गरेको थियो । दुई महिना च्याटमा र फोनमा । त्यो चाहिँ किन भन्दैनौ । आफ्नो कमजोरी चाहिँ किन लुकाउँछौ । सबै भन न ।’
‘भन्छु पख न यार । अब त डेटिङ्गको कथा पनि पुरा भइसकेको छ । वास्तवमा तिमीले मेरो परीक्षा लिएको होइन मैले तिम्रो परीक्षा लिइरहेको थिएँ ।’
‘यु छट्टु दिपक, आइ डन्ट नो वाट वुड आइ वी डुइङ टु यु । बट आइएम भेरी मच इमप्रेस्ट बाइ यु । आइ लव यु दीपु ।’
‘आइ टु यु दीडु '
‘दीडु ?'
‘दीडु मिन्स दीपिका डुप्लिकेट । '
‘यु छट्टु, उल्लु, सुगा,एन्ड बाँदर दीपक !’
‘नो नो योर लभली दीपु ।’
‘आइ लव यु दीपु ।’
‘माइ स्वीट हार्ट दीपा.... ।
‘बाई बाई सि यु ।
‘बाई बाई

चुलबुले बादल

बादलहरूकी आमा समुन्द्र थिइन् । समुन्द्र विशाल थिइन् । माता समुन्द्रले धेरै बादलहरूलाई जन्म दिएकी थिइन् । तीमध्ये फिका नीलो रङ्गको बादल अलिक चकचके थियो । उनीहरूले उसको नाम चुलबुले राखिदिएका थिए । बादलहरूले जन्म लिएपछि उनीहरूको धर्म पानी बोकेर आकाशमा जानु र संसारको रमिता हर्दै हिँड्नु थियो । त्यसैले सब बादलले गुरु हावाको साथमा आकाशमा जानुपर्दथ्यो ।
तीमध्ये चुलबुले बादलचाहिँ हतारहतार हावा गुरुको बुइ चढेर अकाश जान तम्सियो । आमा समुन्द्रले उसलाई सम्झाउँदै भनिन् "बाबु चुलबुले तिमी धेरै चकचक गर्र्छौ, त्यसैले बाटो बिर्सन सक्छौ । दाजुभाइहरूको साथ नछोड्नू हैं ।" आमा समुन्द्रको कुरा उसले सुनिरह्यो । तर उसलाई भने कहिले आकाशमा पुगिएला र धर्तीको रमिता हेर्न पाइएला भन्ने लागिरहेको थियो । त्यसैले उसले आमाको कुरा ध्यान दिएर नै सुनेन । सबैजना आमासँग विदावारी मागेर गुरु हावाको पछि लागेर आकाशतिर हिँडे । आमा समुन्द्रलार्इृ भने चुलबुले बादलको निकै चिन्ता लागिरहेको थियो ।
चुलबुले बादल जे कुरा पनि नसोधी नसम्झी गरिहाल्दथ्यो । त्यसपछि ऊ आफै पछुताउँथ्यो । तर आकाशमा पुगेर गल्ती गरियो भने पछुताउने समय पनि नहुन सक्दथ्यो । त्यसैले पहिलाको भन्दा अलिक र्सतकचाहिँ भएकोथ्यो । उनीहरूलाई गुरु हावाले आकाशमा कसरी हिँड्नुपर्छ भन्ने कुरा सिकाउनुहुन्थ्यो । तर चुलबुले बादलचाहिँ आकाशबाट देखिने रमिताले अझ बढी चञ्चल भई रहेकोथ्यो । उसले कल्पना गर्यो -"अहो † धरतीमा भएका रूखहरू कति साना देखिएको मानिसहरू त कमिलाजस्ता कति होचा देखिएका † उसलाई अचम्म लाग्यो ।"
ऊ अरू दाजुभाइ, साथीहरू छाडेर एक्लैएक्लै माथिमाथि जान खोज्यो । धेरै माथि नजान हावा गुरुले भनेका कुरा उसले सम्झ्थ्यो । तर पनि धेरै माथिबाट तल हेर्दा झन् मजा आउँदो रहेछ त्यसैले ऊ माथिमाथि जान थाल्यो । माथि त उसलाई चिसोचिसो हुनथाल्यो । उसलाई जाडो लागेर आयो । जाडोले ऊ थर्रर काम्यो । उसले गुरु हावाले भनेको कुरा झल्याँस्स सम्झ्यो । त्यसपछि ऊ पछुताउँदै तल झर्यो । तल उसका दाजुभाइ, साथीहरू आकाशमा चीलहरूबाट कसरी जोगिनुपर्छ भन्ने कुरा सिक्दै थिए । तर उसले भने यो कुरा सिक्न पाएन । उनीहरू आकाशमा उडदाउडदै रात परिसकेको थियो । राति पनि उनीहरू मजाले घुमे । जून लागेको दिन थियो । जून लागेको हुनाले धर्तीको दृश्य अझ राम्रो देखिन्थ्यो । उनीहरूले जूनको प्रकाश छेकिदिँदा धर्तीमा अँध्यारो भएको रमाईरमाई हेरे । उज्यालो हुने बेलामा उनीहरूले केहीबेर विश्राम लिए ।
भोलिपल्ट फेरि उनीहरू गुरु हावाको साथमा घुम्दैघुम्दै हिँड्न थाले । चुलबुले बादल फेरि साथीहरूलाई छोडेर एक्लिन पुग्यो । आकाशमा चीलहरू पनि उडिरहेका थिए । अरू बादलहरूले चाहिँ चीलबाट कसरी जोगिनुपर्छ भन्ने कुरा सिकिसकेका थिए । तर चुलबुले बादलले चाहिँ सिकेको थिएन । ऊ चीलको नजिक पुग्यो र भन्न थाल्यो -"ए डरछेरुवा चरो हो बाटो छोड, मलाई घुम्न देओ ।" चीलहरू पनि ऊसँग डरायो । उनीहरूले उसलाई बाटो छोडिदियो । ऊ झन् हौसिदै रमाईरमाई उड्न थाल्यो । त्यसैबेला एउटा चीलभन्दा ठूलो डरलाग्दो चरो उसको छेउमा आयो । उसले त्यो चरोलाई पनि चीललाई जस्तो हकार्ने सोच्यो । तर उसले सोच्तासोच्तै त्यो ठूलो चील उसको नजिक आइपुगिसकेको थियो । ऊ डरायो । यो त ठूलो हवाइजहाज थियो । उसले कहिल्यै देखेको पनि थिएन । उसले गुरुबाट यसबारे शिक्षा लिएकै थिएन । त्यो ठूलो चील उसको धेरै नजिक आइसकेको थियो । उसले साथीभाइ खोज्यो । तर देखेन उनीहरू धेरै टाढा थिए । त्यो ठूलो चीलले उसलाई धक्का दियो । उ झन्डै-झन्डै भूइ“मा खसेको तर उसले आफुलाई सम्हाल्यो । त्यसपछि उसलाई डर लाग्यो । डरले आफ्ना साथीभाइ खोज्यो । साथीभाइहरू गुरु हावासँग धेरै कुरा सिक्दै थिंए । ऊ पनि गुरुसँग सिक्न गयो ।
गुरु हावाले अब आफूसँग भएको पानी सबै धर्तीमा पोखेर पहाडको बाटो हुँदै घर र्फकनु पर्ने कुरा बतायो । तर चुलबुले बादल भने यति चाँडै घर र्फकन चाहदैनथ्यो । ऊ त अझै धेरै समय आकाशमा बिताउन चाहन्थ्यो । त्यसैले अहिले भने उसले गुरुको कुरा पटक्कै सुनेन् । अरू साथीभाईहरू धर्तीमा पानी पोखेर पहाडको बाटो हुँदै घर फर्के । तर चुलबुले बादलचाहिँ आकाशमा एक्लै घुमिरहेको थियो । सबै साथीभाइ घर गइसकेपछि चुलबुले बादल एक्लै आकाशमा घुम्न थाल्यो ।
एकदिन उसले आकाशमा इन्द्रेणीलाई देख्यो । उसले मनमनै भन्यो - 'ओहो † इंन्द्रेणी रहिछिन् कति राम्री उसलाई इन्द्रेणीसँग बिहे गरूँगरूँ लाग्यो । उसले इन्द्रेणीलाई सोध्यो -"तिमी मसँग बिहे गर्र्छौ ?" इन्द्रेणीले चुलबुले बादललाइ भनि

न् -"मेरो बाआमासँग मलाई माग , दिनुभयो भने बिहे गर्छु । "
चुलबुले बादल इन्द्रेणीका वुवा इन्द्रराजासँग इन्द्रेणीको हात माग्न गए । इन्द्रराजाले चुलबुले बादल आकाशमा एक्लै उडिरहेको थाहा पाएका थिए त्यसैले उनले बिहे गरिदिनुको साटो उल्टै हकारेर भने -"तिम्रो बास बस्ने ठाउँ छैन , तिमी आकाशमा उडिहिँड्नेलाई मेरो छोरी कहाँ दिन्छु मेरो छोरी बिहे गरेर कहा राख्छौ ? जाउ भाग यहाँबाट ।"
चुलबुले बादललाई अहिले आएर चित्त दुख्यो । ऊ एक्लै भएको हुनाले दुखमनाउ गयो । ऊ रुँदैरुँदै हिँड्यो त्यहाँबाट । अहिले उसले साथीभाइ र गुरु सम्झ्यो । रुँदारुँदै उसँग भएको पानी पनि सकियो । कतिखेर ऊ पहाडमा ठोकिन पुग्यो त्यो कुरा पनि उसलले थाहा पाउन सकेन । पहाडमा ठोकिएपछि ऊ घर आइपुगिसकेको थियो ।

‘गोधुलिमा दस पाइला’ लाई पछ्याउँदा

डा. गोविन्दराज भट्टराई (२०१० ) समालोचना क्षेत्रमा साथै मौलिक कृति लेखनमा विशिष्टता हासिल गरिसकेका व्यक्तित्व हुन् । मेची अञ्चलको विकट पहाडी जिल्ला ताप्लेजुङ मा जन्मेका उनी सङ्घर्ष, लगन र धैर्यका पचार्यवाची बनेका छन् । जीवनमा खेपेका घोर सङ्घर्षका दिनले उनलाई धेरै माझ्न र परिष्कार गर्ने समय दियो । आज उनी आफै एउटा दर्शन बनेर बाँचेका छन् । जुनबेला धेरै नेपाली युवाहरू विदेशी भर्तीकेन्द्रहरूमा भर्ना हुन लालायित थिए त्यस बेला उनी ज्ञानको ज्योतिको लागि लालायित भए । झापाको आदर्श विद्या मन्दिरमा वार्षिक ६०० रुपैयाको छात्रवृत्ति पाएर अध्ययन गरे । एसएलसी पास गरिसकेपछि अगाडिको अध्ययनको लागि खर्च नहुँदा कमाइ गर्न भुटान जानुपर्दाको क्षणलाई उनी जीवनको सबैभन्दा दुखदायी क्षण मान्दछन् । त्यहाँबाट केही कमाएर ल्याएर उनी अध्ययनको क्रममा निरन्तर लागि रहे । प्राध्यापक र डाक्टरको उपाधिले मात्र उनको जीवनको यात्रा पूरा भएको थिएन । जीवन अतृप्त तृष्णा बनेर तडपाइरहयो उनलाई । अतृप्तिको आगोले अधभरो भएको उनको हृदयलाई उनले जनजाति, मोफसल, डायस्पोराका लेखकहरूको सेवाले मलहमपटी गर्न पुगे ।
भाषा अनुवादमा विद्यावारिधि गर्ने पहिलो नेपाली डा. गोविन्दराज भट्टराई हाल त्रिभुवन विश्व विद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसमा कार्यरत छन् । जीवनको लामो समय राष्ट्रको भाषाशिक्षणमा र साहित्यमा समर्पित गरको डा. भट्टराई जीवनलाई बेग्लै अर्थमा बुझ्न खोज्छन् । नयाँ प्रयोग , नयाँ सिद्धान्तमा आफूलाई समपिर्त गरेर साहित्यिक माहौलमा सबैभन्दा चर्चित बन्न पुग्नु कुनै चानचुने खेल होइन । जब देशले जनयुद्धको पीडा भोग्यो उनी ‘सुकरातका पाइला’(२०६२) लिएर आए । जब धेरैअघि भुटानी नेपाली जनताको जीवन अन्धकारमा कुण्ठित भएको आफ्नै आँखाले देखे त्यसबेला ‘मुग्लान’(२०३१) बोकेर आए । विश्वमा चलेका विभिन्न धार, बादको विभिन्न कलमी हाँगा ल्याउदै नेपाली साहित्यमा रोप्न थाले । देशको चौधरा काट्न नसकेको नेपाली भाषालाई ‘सेलेक्टेड नेपाली एसेज, सेलेक्टेड स्टोरिज फ्रम नेपाल, डिक्लेश्सन अफ न्यु गड र स्टोरिज अफ कनाप्लिक्ट एण्ड बार’ मार्फत विश्वको साहित्यमा पुर्याउन अथक परिश्रम गरेँ । उनलाई विदेशीया भन्ने आरोप पनि लाग्यो । विश्वमा चलेको उत्तर आधुनिकताको थोत्रो सिद्धान्तलाई पोलिश लगाएर चम्काएर नेपालीलाई झुक्याउने भन्ने आरोप पनि लाग्यो । नयाँ कुरा नयाँ सिद्धान्त अनौठो हुन्छ । विदेशीका धेरै थोत्रा कुरालाई हामी नयाँ मानेर स्वीकारिरहेका हुन्छौ । त्यहाँ पचास वर्षअघि चलेका कुरा यहाँ भर्खर आउनु कुनै नौलो कुरो होइन । हुन त अहिले विकासको चरम विन्दुमा पुगेको सञ्चारले तुरुन्त ल्याइदिन्छ तर त्यसलाई भोग्ने छाम्न र बुझ्न हामीलाई वर्षौ लाग्न सक्छ । त्यही बुझाइ, छमाइ र भोगाइका सिद्धान्त रटाइरहेका छन् डा. गोविन्दराज भट्टराई ‘उत्तर आधुनिक ऐना’ र ‘उत्तरआधुनिक विमर्श’ सिद्धान्तका पहाड ल्याएर ।
देशले जनयुद्धको महामारी खेपिरहेको बेला जीवनलाई बन्दुकको नालमा राखेर मोफसलका विभिन्न कार्यक्रममा सरिक हुन पुगे उनी । के गर्मी के जाडो । के बन्द के नाकाबन्दी, सबै बिर्सिएर जीवनको कठिन यात्रामा लागिरहे । ‘सँगै बसौ यो रात भोलि यहाँ जे पनि हुन सक्छ’ जीवन कति निसहाय र निरुपराय छ । उनी भोगाइले जीवनलाई छाम्न पुग्छन् अनि हाम्रो आँखामा चित्र प्रतिबिम्बित बनाउन पुग्छन् ‘सँगै बसौ यो रात’मा । उनी पूर्वको सिक्किमसम्म पुग्छन् । साहित्यिक कार्यक्रम सकेर फर्कदा मेची खोलामा अबर परेर भौतारिन्छन् अनि भन्छन् – ‘म जोडले कराए ‘जय लिम्बूवान’ ।’ विदेशमा अर्को नेपाल तयार हुँदैछ भनेर उनी डायस्पोरा सम्बन्धी अध्ययन र अनुसन्धानमा लागी पर्छन । देशको माया भावना र अनुभूतिलाई पगारेर विदेशिनुको पीडालाई शब्दमा परिणत गर्ने डायस्पोरिक लेखनको ढुकढुकी छाम्न पुग्छन् । उनी उत्कृष्टता रुचाउँछन् , उत्कृष्टतामा रमाउन चाहन्छन् । त्यसैले उनी उत्कृष्ट पुस्तक हुनु पर्नेमा जोड दिन्छन् । मोफसलको मात्र नभई काठमाडौँको सर्जकहरूको स्तरिय कृतिको भूमिका उनैले लेखेका हुन्छन् । निबन्धकार गोविन्दराज भट्टराई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मान दारा सम्मानित छन् । ‘एक्लै एक्लैएक्लै’, ‘विश्वविद्यालयमा अग्निपूजा’ जस्ता निबन्धसङ्ग्रह नेपाली साहित्यमा समर्पित गरिसकेका तिनै निबन्धकारको ‘गोधूलिमा दस पाइला’लाई अहिले म पछ्याउँदै छु ।
जीवन समय हो । समय निरन्तर बगिरहेको हुन्छ । त्यो बगाइमा कहाँ कति खेर उतारचढाव आउँछ अनि हामी कतिखेर ठोक्किन पुग्छौँ हामीलाई थाहा हुँदो रहेनछ । हो, मेरो जीवनको निरन्तर बगाइमा जब म गोधूलि भन्ने शब्द जहाँ देख्छु त्यहाँ म अलिकति ठोक्किन्छु र मलाई लाग्छ त्यहाँ मेरो समय केहीछिन अडिन्छ । मैले पहिला पनि कतै भनिसकेको छु गोधूलि मेरो लागि अति प्रिय समय हो । यो समयमा जहिले पनि म अलिकति अल्झिन्छु । बिहे भएपछि मैले श्रीमान्सँग विभिन्न ठाउँ घुम्ने अवसर पाएँ । हाम्रो पहिलो बसाइ चितवनको रामपुर थियो । त्यहाँ मैले धान कसरी रोपिन्छ र कसरी काटिन्छ भन्ने कुरा प्रत्यक्ष आँखाले देख्न पाएँ । हामी एउटा सानो गाउँमा बसेका थियौँ । बिचमा लामो पिचरोड बगेको थियो । छेउछाउमा दुई चारवटा सिमेन्टका घरहरू थिए । टाढाटाढासम्म लामा खेतका फाँटहरू देखिन्थे । त्यहाँ धेरै जसो किसान बस्दथे र केही विद्यार्थी पनि बस्दथे । जब साँझ पर्दै जान्थ्यो टाढा क्षितिजमा घाम डुब्न लागेको दृश्यले मलाई तानिहाल्थ्यो । अनि म देख्दथे टाढाटाढा किसानहरू गाईबस्तु लिएर घर फर्कदै गरेका हुन्थे । ती गाईवस्तुका गोडाले उडाएको धूलोलाई गोधूलि भनेको होला भन्ने म अनुमान लगाँउथे । बिरानो देशमा चिनजान नभएको ठाउँमा मेरो प्रिय साथी त्यही गोधूलि भएको थियो । त्यसपछि हामी रंगेली भन्ने ठाउँमा आइपुग्यौँ । त्यो ठाउँ नेपालको अन्य ठाउँ भन्दा अलिक फरक मान्छु म । त्यहाँ पनि साँझ पर्न लागेपछि मानिसहरू हतारहतार गर्दै घर फर्कदै गरेको दृश्यले मलाई तानिहाल्थ्यो । धूलो उडाउँदै चर्न लागिएका गाईवस्तु फर्काएको दृश्य म मन्त्रमुग्ध भएर हेर्ने गर्दथे । किनमेल सकेर हतारहतार गर्दै घर फर्केका मानिसहरूको अनुहारमा बेग्लै किसिमको सन्तुष्टि पढ्दथे म । घरका जहान, छोराछोरीका लागि किनिएका चीजबीजहरू, मिठो मसिनो खानेकुरासँगै बसेर खाने मिठो तृष्णा कस्तो आनन्द होला त्यो धैर्यमा, त्यो मिलनमा । त्यस क्षणलाई कतै बेहुलीझै बनाएर सजाएर राख्न पाए हुने भन्ने मृगतृष्णा म हुन्थेँ । अझ गोधूलिमा हल्का पानी परेको होस अनि सामान बेच्नेलाई पनि हतार , किन्नेलाई पनि हतार र किनिसकेकालाई घर पुग्न हतार जीवनको यो रङ्गलाई कतै कोलाज बनाएर सजाउन पाए कस्तो हुन्थ्यो होला ? त्यस क्षणलाई सुन्दर मूर्ति बनाएर सजाउन पाए कस्तो हुन्थ्यो होला ? अझ त्यसमा धेरै लामो समयपछि भेट हुने मायालुको प्रतीक्षाको क्षण होस् । त्यो क्षण म व्याख्या गर्न सकुला र ? मनमा खुसीका हजारौँ किरणहरू फुलिरहेका हुन्छन् गोधूलिमा सूर्यास्तले फैलाएको किरणजस्तै । मन आफै बासना भएर मगमगाइ रहेको हुन्छ । फूल फुल्दा सुन्दर देखिन्छ टिपेर सजाउनु भन्दा । तर त्यो फुलेको क्षणको आनन्द खै के सँग तुलना गर्न सकुँला र ? त्यो समय त्यो खुसी मलाइ मात्र हैन जीवनको रङमा भिज्ने शायद सबैलाई हुन्छ होला ।
जीवनको त्यो व्यावहारिकतामा डुबेको, सांसारिक मोहमा फसेको जीवनले गोधूलिमा अरू पनि खुसी छ भनेर अनुमान लगाउन कसैले सक्ला र ? व्यवहारिक जीवनको आर्दश, सोचाइ र खुसीको विपयर्यको रूपमा गोधूलिको त्यो खुसीभन्दा बेग्लै खुसीका रङ्ग हुन्छन् भनेर कसैले कल्पना गरेको होला र ? तर त्यो खुसी कोरेका छन् निवन्धकार गोविन्दराज भट्टराईले ‘गोधूलिमा दस पाइला’ मा । मौलिक कृतिमा विशेषत उपन्यासलेखन, संस्मरणलेखन, निबन्धलेखनमा उत्कृष्ट शैली लेखनको दक्षता हासिल गरेका निबन्धकार भट्टराई ‘गोधूलिमा दस पाइला’ मा हास्य , करणा, व्यङ्ग्य बौद्धिकताका नयाँ रङ्ग भर्न सफल भएका छन् । सांसारिक व्यवहारबाट पर सर्दै गोधूलिमा अर्को खुसी खोज्दै हिडँनु उनको अथक साधनाको प्रतिबिम्ब बनेको छ । भाषा साहित्यको प्रेमले घरको रोटी छोडेर गोधूलिमा देश देशान्तर घुम्दै खुसी खोज्नु सामान्य जीवन बाँच्नेको लागि कल्पना पनि गर्न नसकिने कुरो हो । तिनै, कुरा उनले साकार पारेका छन् ‘गोधूलिमा दसपाइला ’ मा ।
आज म सोच्छु, मेरो जीवनको खुसीले कोल्टे फेरिसकेको छ । समयको काँटीले जीवनमा भोगिसकेका खुसीहरू खरानी पार्दो रहेछ र नभोगिएका नयाँनयाँ खुसीहरू जलाउदै जाँदो रहेछ । आज मभित्र पनि गोधूलिको त्यो अघिको खुसी मेटिइ सकेको छ । मलाई लाग्छ अब मलाई गोधूलिले अर्कै खुसी दिनुपर्छ । घरपरिवारभित्र मात्र होइन , समाज, राष्ट्र र विश्वको खुसी मभित्र जलाउन सक्नुपर्दछ । त्यसैले मेरा पाइलाहरू अब बन्धित हुने छैनन् ती जहाँ जसरी जान खोज्छन् जान सक्छन् । सायद मलाई लाग्छ म पनि निबन्धकार भट्टराईको जस्तै गोधूलिको खुसीमा रमाउन चाहन्छु किनभने मेरा पाइलाहरूले घरका सँघार काटिसकेका छन् । खुसीहरूले कुम्लो कसिसकेका छन् लामा यात्राको लागि त्यसैले म पछ्याउदै छु ‘गोधूलिमा दस पाइला’ लाई .......।..तर म भित्र एउटा डरले डेरा जमाइसकेको छ त्यो के भने के डा. भट्टराईको बौद्घिकताको हकाइलाई म पछ्याउन सकुला ? अथवा उनको अनुभूतिको खराइलाई म न्याय गर्न सकुला र ? तर मेरा पाइलाले उन्मुक्ति खोजेका छन् त्यसैले सीमित घेरामा ती बाधिन सक्दैनन् । भावानाको ससारमा दाइँ गर्दै अघि बढ्न चाहिरहेका छन् । त्यसैले म पछ्याउँदै ती पाइलाहरू ....। उनको लेखनको प्रवृत्तिगत वैशिष्टता तथा निबन्धको विषयगत आधारमा उनको सङ्ग्रहलाई दसवटा पाइलामा बिसौनी बनाउँदै पछ्याएको छु मैले यहाँ ।

पहिलो पाइलाः- बाल्यकालीन सस्मरणात्मक तथा कलात्मक भावाव्यक्तिले भरिएका भावहरूः—

निबन्धकार भट्टराइको बाल्यकालीन सस्मरणले भरिएको यस पाइलाले सवेदनाको भित्री तहसम्म हल्लाउन सक्षम छ । यस पाइलामा मन भाच्ने लौरा र सिर्कनाहरूको सम्झनामा र यो हृदयको कुनामा दुख र उज्यालो मिसिएको बत्ती शीर्षकमा निबन्धकारको बाल्यकालको कारुणिक दृश्य चित्रित भएको छ । मन भाच्ने लौरा र सिर्कनाहरूको सम्झनामा म अत्यन्त सवेदनशील बन्न पुग्छु । मलाई लाग्छ ,मलाई प्रत्येक पल प्रत्येक क्षण यसका घटना, शब्द र शिल्पले मलाई पछ्याइरहेको छ । बालकको हृदय कति कोमल छ । बालमनोभावनाको भित्री तहसम्म पुगेर त्यसका प्रत्येक ढुकढुकीलाई सजीव रूपले उतार्नसक्नु एउटा कला, शिल्पको उत्कृष्ट नमुना मान्छु म । लाग्छ यो निबन्ध होइन कथा हो । कथा पनि होइन लोककथा हो । निबन्धकार आफूसँगै भावकलाई प्रत्येक घटनासँग साक्षात्कार गराउँदै संवेदनाको भित्री तहसम्म पुर्याउँछन् । त्यहाँ एउटा कारुणीक दृश्य सजीव भएर उत्रन्छ । भित्री हृदय वेदना र संवेदनाले उच्छवास लिन आइपुग्छ । आजभन्दा पचास वर्ष अघिको हाम्रो देश त्यसमा पनि अझ पहाडी भेगका बालबालिकाको बाल्यकाल कस्तो थियो ? त्यसको साक्षी प्रमाण सहित निबन्धकार यहाँ उभिन्छन् । घरको दयनीय अवस्था विद्यालयमा शिक्षकले प्रत्येक दिन कतिवटा लौरा भाचे भन्ने पाशविक याताना सहनुपर्ने वाध्यता, कल्पना गर्दा पनि आजको पुस्तालाई कहाली लागेर आउँछ । त्यसबेला अभिभावकले बालबालिकाप्रति राख्ने धारणा यो वाक्यले बुझौँ – ‘यो नयाँ गुरुजी साँच्चै तगडा रहेछ । उसले चाहिने दिनको एघार– वटा बाँसका सिर्कना भाच्तोरहेछ । बज्या केटाहरू त डरले छुलछुली । हाम्रा नसेले पनि पाठ बुझाएनछ हिजो । मजाले ताजन दिएछ गुरुजीले । रातभरि बज्या जोरो आयो भनेर काम्दै थियो । बिहान फेरि लप्सी मा झट्टी हान्दै थियो ।’ यी वाक्यांशमा त्यस बेलाका बालबालिकाको अवस्था कस्तो थियो होला भन्ने अनुमान लगाउन सकिन्छ । सायद बालमनोविज्ञान कुन चरो को नाम होला भन्ने थियो त्यसबेला । आजका सहरीक्षेत्रका केही बालबालिका सुविधाजनक विद्यालयमा अभिभावकको माया ममतामा हुर्कदै छन् । तर पहाड र गाउँका अधिकाँश बालबालिकाको अवस्था आज पनि उही छ । अभाव, गरिब र अशिक्षाले उही भोक्तान भोग्न बाध्य छन् । यो निबन्धलाई आजका दुर्गम क्षेत्रका अधिकांश बालबालिकाका प्रतिनिधि कथा मान्छु म । एक ठाउँमा गएर म मजाले अल्झन्छु – ‘हिउँदको चिसो सिरेटो र ठिडीले घरभित्र पसेर छेड्न खोज्थ्यो । फिलफिले दौरा छेडेर छाती र करङ्ग सम्म पुग्दथ्यो । म आज पनि बेलाबेला छाम्दछु अझै यो ढाड चिसै लाग्छ ।’ यो वाक्यमा कति करुणिकता छ , कति मर्मस्पर्शी वेदना छ । यहाँ निबन्धकार गरिवी र अभावमा तडपेका बालबालिकाको कारुणिकताको प्रतिनिधि बनेर उभिएका छन् । नहुनु जस्तो सारो संसारमा के छ ? जनयुद्धले विध्वश पारेको हाम्रो देशमा अस्थिर राजनीतिले विपन्न वर्गको आर्थिक अवस्था दिनपरदिन गिर्दो अवस्थामा छ । महङ्गी बढेर सगरमाथा नाघिसकेको छ । सर्वसाधारणको जीवन कति कष्टमय बनेको छ । आज हजारौ बालबालिका उही भोको पेट र चिसो ढाड लिएर सुत्न बाध्य छन् । संवेदनाको भित्री तहसम्म हल्लाउन सक्ने यो पाइलाले कुनबेला पाठकको मनमा हाँसोको फोहरा उठाउँछ थाहा पाउन सकिदैन । पाठकलाई रुनु कि हाँस्नु दोधारको स्थितिमा पु¥याउँछ । यो वाक्य पढौँ – ‘मलाई देखेर ऊ हिसिक्क हाँस्यो अनि अर्गेलीमा डोरीले पाटी भिरेर दौराका फेर फिलिलि पार्दै हामी चिहान डाडातिर उड्यौ ।’ यस वाक्यमा फिलिलि पार्दै भन्ने शब्दले बेग्लै हास्य मिश्रित भाव दिएको छ । बालकको मन पानीका फोका जस्तै हुन्छ छिनभरमा नै हराइजाने । जस्तो सुकै परिस्थितिमा पनि ऊ समयसँग तुरुन्त आफुलाई समायोजन गरिहाल्छ । यो बालकको मुख्य विशेषता हो । यहाँ राँके भन्ने केटो आफनो सम्पूर्ण पीडा भुलेर पढ्नलाई दौडन्छ । वास्तवमा जीवनको सानो कला यहाँ सिर्जिएको छ । त्यस्तै कवि दामोदर पुडासैनी ‘किशोर’ को विद्यालय सम्बन्धी कविता र कवि तिलक चाम्लिङको मातृभाषामा अध्ययन गर्न नपाउँदा कोरिएको कविताले यो पाइलालाई सार्थक र भावुक बनाउन सफल भएको छ । उत्कृष्ट भाव, शैली र शिल्पमा व्यक्तिगत अनुभूतिलाई विभिन्न रङ्गले रङ्गाइएको यो पाइलाले पढिसक्ता पनि प्रत्येक हृदयलाई पछ्याइरहन्छ । त्यस्तै यस पाइलाको दोस्रो शीर्षक छ — यो हृदयको कुनामा दुख र उज्यालो मिसिएको बत्ती । बाल्यकालीन सस्मरणको कलात्मक अभिव्यक्ति हो । यस निबन्धमा निबन्धकारको जीवनको एउटा नोस्टाल्जिया मान्छु म । वाल्यकालको जीवनले भविष्यको एउटा ठोस आकार कसरी लियो भन्ने कुरा यहाँ देखाइएको छ । यो निबन्धकारको एउटा मीठो इतिहास हो । त्यसैले मैले यसलाई नोस्टाल्जिया भन्न रुचाएँ । जीवनले नयाँ कुरा देखेको, नयाँ कुरा भोगेको अनि भविष्यका लागि अनगिन्ती सपनाहरूले आकार लिएको समय हो यो । यहाँ सुदुर भविष्यका लागि प्रत्येक पल समयले जग बसाउन थालेको जीवन हो । पहाडबाट भर्खर मधेश झरेको केटोले मधेशको धेरै चालचलनसँग परिचित हुँदै नयाँ कुरा सिक्दै जीवनको पाठ पढेको समय हो यो । आफनो सफल भविष्यको बलियो जग धैलाडुब्बा को श्री आर्दश विद्या मन्दिरले स्थापना गरिदिएकोमा निबन्धकार त्यस विद्यालय र त्यहाँका गुरुहरूप्रति हार्दिक श्रद्धाभाव अर्पण गर्दछन् । त्यहाँ बस्दा सैद्धान्तिकज्ञान मात्र नभई आफूले धेरै व्यवहारिक ज्ञान भोगेको कुरा निबन्धकार उत्कृष्ट भाषाशिल्पमा व्यक्त गर्दछन् । नौलानौला घटना र विगतको तराईको दृश्यले अब के होला भन्ने उत्सुकता र अभिव्यक्तिको उच्च कलाले पाठकलाई यो पाठ पढिरहुजस्तो लाग्छ । व्यक्तिको वाल्यकालमा के कस्ता घटना घटेका हुदाँ रहेछन् त्यस घटनाले उसको मानवीय संवेदनामा के कस्तो असर पारेको हुन सक्छ ती कुराहरू हामीले सोच्नै नसक्ने अवस्थामा उद्भाषित भएका छन् । कतिपय ठाउँमा घटना र विषयवस्तु को कारुणिकताले हामीलाई मजाले बाध्दछ । आफूलाई त्यो क्षणमा लगेर पछार्दछ र आफैसँग तुलना गर्न मन लाग्दछ । सबैको जीवनमा एउटा नोस्टाल्जिया हुन्छ तर त्यो नोस्टाल्जिया पुस्तक भएर बाँच्न सक्ला र निबन्धकार गोविन्दराज भट्टराईज्यूको झै ? यो प्रश्नले मलाई यो पाठ पढुञ्जेल लखेटिरह्यो सायद अरू कसैले यो पाठ पढ्यो भने उसलाई पनि यो प्रश्नले लखेटिरहनेछ नथाकुञ्जेलसम्म ।

दोस्रो पाइला :- विश्वविद्यालय तथा शिक्षणसम्बन्धी सचेतनाले भरिएको विचारशील अनुभवका छलाङ्गहरूः

निबन्धकार भट्टराईको कही भनेका छन् – ‘म चाहेर पनि यो विश्वविद्यालयभन्दा टाढा जान सक्दिनँ ।’ हुन पनि हो यो निबन्धसङ्ग्रहका अधिकांश पाइलाबाट यो लाग्छ उनी विश्वविद्यालयभन्दा टाढा जान सकेका छैनन् । उनको रातको चारपहर मध्ये अन्य समय विश्वविद्यालयको भाषा शिक्षण र साहित्यमा नै बितेको छ । प्रत्यक्षरूपले वा अप्रत्यक्ष रूपले प्रत्येक निबन्धमा उनी विश्वविद्यालयसँग जोडिएका छन् । शिक्षा क्षेत्रमा राष्ट्रको नै केन्द्रीय विश्वविद्यालयमा बसेर विभागीय प्रमुख भई काम गर्दा सँगालेका अनुभव विचारहरू अत्यन्तै पठनीय छन् । अझै शिक्षाक्षेत्रमा लागेका व्यक्तिहरूले यो पुस्तक एक पटक पढ्नै पर्छ । शिक्षामा देखिएको विसँगति र विकृतिको उनले खुलेर विरोध गरेका छन् । कुनै पूर्वाग्रह वा अनुग्रह नराखी आफनो ब्रहमज्ञानले देखेको र बुझेका कुरा यहाँ निर्धक्क राखेका छन् । पाठ्यक्रमको स्तर, परीक्षाको स्तर र उच्च मा.वि. र त्रि.वि.ले गर्ने कामको यहाँ विश्लेषण गरेका छन् । शिक्षा क्षेत्रले कस्ता निर्णय गर्दैछ र तिनले विद्यार्थीको भविष्यमा कस्तो असर पार्दछ भन्ने कुरा आफनो विवेकले भ्याएसम्मको तार्तिक सत्य खोलेका छन् । विश्वविद्यालय सम्बन्धी पाइलामा — यी डरलाग्दा अपारदर्शी निर्णयहरू, विदेशी पुस्तक चाहिदैन, लाठा फयाक्न पाइदैन, त्रिविमा सुधारको कल्पना छन् । यी शीर्षकमा विश्वविद्यालयसम्बन्धी घटनाका अनुभव र तार्किक विचारहरू छन् । यी मध्ये विदेशी पुस्तक चाहिदैन, लाठा फयाक्न पाइदैन मा तत्कालीन शाही सरकार्ले विद्यार्थीले पढने पुस्तकमा कर लगाएको कुरा विरोधाभासको रुपमा झल्काएका छन् । तत्कालीन सरकारले शिक्षा क्षेत्रमा अविवेकी निर्णय गर्यो । त्यो निर्णय थियो विदेशी पुस्तकमा लगाइएको कर । यस विषयमा देशका कति नागरिकले थाहा पाए वा पाएन अथवा शिक्षा क्षेत्रमा काम गरेकाले पनि थाहा नपाएको हुन सक्छ तर यो अविवेकी निर्णयलाई उनले ‘विदेशी पुस्तक चाहिँदैन ! लाठा फ्याँक्न पाइदैन !! भन्ने ब्यञ्जनात्मक शैलीमा जीवन्त बचाएका छन् । देशले जनयुद्ध खेपेको समय, सरकारलाई बन्दुक र गोली किन्न पैसाको आवश्यकता परेको बखत विद्यार्थीको पढ्ने पुस्तकमाथि कर लगाएर भाटा किन्न उठाइएको करप्रति निबन्धकारले तीखो आलोचनात्मक ब्यङ्ग्यवाण हानेका छन् । यहाँ लाग्छ साँच्चै निबन्धकारले विदेशी पुस्तक चाहिदैन भनेका हुन् कि तर यर्थाथमा लेखनको भाव गहिरिएर बुझदै जाँदा उनले कति मीठो ब्यङ्ग्यवाण हानेका रहेछन् भनेर पाठक आफै दङ्गदास पर्दछन् । साहित्यिक शब्द शिल्पले राजनीतिप्रति हानिएको मीठो व्यङ्ग्यवाणले निबन्धकारको भाषाशिल्पको हृदयदेखि नै प्रशंसा गर्न मन लाग्छ । त्यस्तै त्रिविमा सुधारको कल्पना शीर्षकमा निबन्धकारले त्रिभुवन विश्वविद्यालयमा घटेका घटनाहरू सचित्र व्याख्या गरेका छन् । त्रिभुवन विश्वविद्यालय देशको उच्च प्रांज्ञिक अङ्ग हो । देशका मुख्य बौद्धिकक्षेत्रको काम गर्ने अनुसन्धान गर्ने थलो हो । तर त्रिवि आफै कमजोर अवस्थामा रहेको र यसले सुधार हुनुपर्ने ठाउँ प्रशस्त छन् भन्ने कुरा यहाँ देखाइएको छ । दिनपरदिन त्रिवि आर्थिक अवस्था, र भौतिक अवस्था र निर्णय गर्ने क्षमता घटदै गएकोमा निबन्धकार चिन्तित देखिन्छन् । यहाँ निबन्धकार प्राध्यापकहरूको दयनीय अवस्था, विद्यार्थीहरूको भविष्य र देशको शिक्षा क्षेत्रप्रति कति संवेदनशील रहेछन् भन्ने कुरा देख्न सकिन्छ । त्रिविले गर्ने अपारदर्शी निर्णय र यसले विद्यार्थीको भविष्यमा पर्ने असरप्रति पनि खुलेर विरोध गरेका छन् ।

तेस्रो पाइला :- समसामायिक राजनैतिक चेतना र भावानाले भरिपूर्ण भएको हास्यव्याङ्ग्यात्मक भावशैलीले भरिएका छालहरू :—
निबन्धकार भट्टराई जति राष्ट्रको शिक्षा, भाषा र साहित्यप्रति संवेदनशील छन्, त्यति नै देशको राजनैतिक अवस्थाप्रति सचेत देखिन्छन् । सङ्ग्रहका केही निबन्धहरू राजनैतिक घटना र उपघटनाबाट उत्प्रेरित भई निजात्मक अनुभूतिहरू पोखिएका छन् । यी निबन्धहरू हस्यव्यङ्ग्यात्मक भाव शैलीमा तत्कालीन शाही सरकारले गरेको निर्णय र राष्ट्रले भाग्नु परेको अत्यन्तै भयानक द्वन्द्वको अवस्थाको जीवन्त चित्रण छ । यस विषयवस्तुका निबन्धहरू - एउटा अमर नाटकका केही दृश्यहरू, यसरी ढल्यो वर्लिन पर्खाल, फ्रिडम एट मिडनाइट, नीलडाम कम्पनीमा एक रातमा, मन्त्रीहरू त्यहाँ मुस्कुराइ रहेका थिए हुन् । यी पाइला अन्तर्गत एउटा अमर नाटकका केही दृश्यहरूमा देशमा जनयुद्ध भइरहेको समय राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिइ आफैले शासन चलाएको समयताकाको राजनैतिक झल्को छ यस पाइलामा । राजा ज्ञानेन्द्रले शाही सत्ता टिकाउन स्थानिय चुनाव गराउदाको क्षणले भाषिक अभिव्यक्ति दिदै सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । देशमा अशान्ति मच्चिएको समय शाही सरकारले आफनो शासनसत्ता टिकाउन गरेको निरङकुश खेलको मीठो भाषा शैलीमा व्यङ्ग्य हानेका छन् । त्यस्तै नीलडाम कम्पनीमा एक रातमा शाही सरकारले आफ्नो सरकार चलाउन चाहिने उच्च कर्मचारी जनतालाई प्रभोलन देखाएर डाकिएको बारे व्यङ्ग्यवाण हानिएका छन् । जनतालाइ प्रभोलन देखाएर उच्च पद दिन खोजिएको बारे रोचक भाषा शैलीमा व्यङ्ग्य हानिएको छ ।त्यस्तै अर्को अति सुन्दर भाव शैलीमा लेखिएको निबन्ध छ । यहाँ अझै आगो निभेको छैन यस शीर्षकमा पनि उनी त्यससमयमा भएको अराजकताप्रति अत्यन्त असन्तुष्ट छन् र ती असन्तुष्टिलाई भावको एउटै बगाई नभई बिभिन्न बिचारको धाराबाट बगाउँछन् र अन्त्यमा एक मुस्टखोलो रूपमा बगाउँछन् । जुन खोलोको वेगले पाठकलाई पढुञ्जेल बगाएको बगायै गर्छ । यस पाइलाका प्रत्येक निबन्ध राजनैतिक व्यङ्ग्यवाण हानिएका छन् । यी मध्ये फ्रिडम एट नाइट, अत्यन्त उन्मुक्त भावशैलीमा लेखिएको शक्तिशाली निबन्ध हो । वि.स. २०६३ बैशाख ११ गते मध्यरातमा नेपालको इतिहासमा एउटा ऐतिहासिक खुसी कोरिएको समय थियो । मध्यरातमा २०७ वर्षसम्म चलेको शाही सरकार ढलेको थियो । मध्यरातमा देश निरङरकुश शाही सत्ताबाट मुक्त भएको घोषणा भयो । चारैतिर खुसीको लहर फैलिएको थियो । यहाँ उनाइसौँ दिनसम्म चलेको आन्दोलनको झल्काहरू पाइन्छन् । जनताले रगतको होली खेलेर, ज्यानका बाजी थापेर ल्याएको लोकतन्त्रको खुसीयाली यहाँ झल्कन्छ । राजैतिक सचेतनालाई निबन्धकारले बिम्बात्मक रूपमा निबन्धकारले यसरी पोखेका छन् :- विहान पाखा निस्केर हेर्छु ,कतै ठोकिने भीर छैन, पहरो छैन, पर्खाल छैन , घोचाभाटा छैनन् , सीमाहीन उन्मुक्तिजस्तै । यहाँ लडाईको मैदान छैन । हामीले फेर्ने सास कसैले नछेकेको, हाम्रो घाम कसैले नछेलेको , हाम्रो बतास सिरसिर चलिरहेको । कता जाऔ के गरौ जस्तो भयो । निर्बन्ध भएपछि , कहीँ ठाकिदैन भन्ने भएपछि उन्मुक्तिको नीलो दहमा हामफालौँ जस्तो भयो तर मध्यरातमा यो घडी आएको सुन्नै नपाइँ , देख्नै नपाई प्राणको आहुति चढाउनेहरू.. ।’ यस पाइलामा निबन्धकारले कुनै पनि कुरा सोझै नभनी प्रत्येक घटना , र विचारहरूलाई बिम्बात्मक अभिव्यक्ति दिएका छन् । लाग्छ यो उनको विम्बमा प्रस्तुत हुने विशेष खुबी हो ।

चौथो पाइलाः हास्यात्मक भाव अभिव्यञ्जनाले भरिएको नितान्त वैयक्तित कलात्मक अभिव्यक्ति

निबन्धका भट्टराइको नितान्त वैयक्तित अभिव्यक्ति कला दुई प्रकारका छन्— एउटा कला पाठकलाई बौद्घिक ज्ञान र सीपको अभिव्यञ्जनाले अत्यन्त गम्भीर बनाउने छ भने अर्को कला हास्यात्मक रूपले गम्भीर बनाउने कला । हास्यात्मक रूपले व्यक्त गरिएको निबन्धलाई यस पाइलामा समावेश गरिएका छन् ती हुन् — फित्कौलीसितको जम्काभेट र एक अपसकुन फिलिङ्गेबारीमा दावासँग उड्दा । फित्कौलीसितको जम्काभेट र एक अपसकुन यो हास्यरस मिश्रित कलात्मक अभिव्यक्ति हो । निवन्धकारको आफनै जीवनमा घटित घटनाझैँ लाग्ने यो पाइला काठमाडौं सहरमा पैसाको वचावका लागि दौडने साहित्यकारहरूको मार्मिक मनोदशा हो । हास्यरस मिश्रित यसमा साहित्यकारको टिढलाग्दो जीवनप्रति व्यङ्ग्य हानिएको छ । त्यस्तै फिलिङ्गेबारीमा दावासँग उड्दा विश्वविद्यालयको काम लिएर खाँदवारीको विकट पहाडी बाटोमा मोटरसाइकलमा यात्रा गर्दाको सस्मरणसँग यहाँ साक्षात्कार गर्न पाइन्छ । यो हास्यात्मक भावाव्यक्ति भएको उच्च भाषिक कलाले शृङ्गारिएको उत्कृष्ट निबन्ध हो । कतै ब्यङ्ग्य नहानी हास्यात्मक अभिव्यक्ति दिन सक्नु निबन्धकारको विशेष प्रतिभा मान्नुपर्दछ । यहाँ निबन्धकार पाठकलाई हास्यको मोटरसाइकलमा गुडाएको गुडायै गर्छन जसरी उनी यात्रामा दगुर्छन् । पढुञ्जेल पाठकलाई शिल्प र शैलीले तानिरहन्छ र पाठ पढुञ्जेल अझै नसकिए हुन्थ्यो जस्तो भइरहन्छ ।

पाचौँ पाइलाः गम्भीर भावअभिव्यञ्जनाले भरिएको नितान्त वैयक्तित अभिव्यक्ति

उनका बौद्घिक ज्ञान सीपद्वारा पाठकलाई अत्यन्त गम्भीर बनाउने खालका निबन्ध यस पाइलामा छन् जस्तै :- पुरानो घडीको लङ्गुर जस्तै घुमिरहेछु यो ससानो वृत्तमा– स्वान्त सुखाय लेख्छु भन्नेहरूका लागि ः चाहिदैन , अब हामीलाई केही पनि चाहिदैन –– कसले भत्काइरहेछ हाम्रो इतिहास । यी निबन्धहरू निबन्धकारको नितान्त वैयक्तित भावाव्यक्तिले भरिएको शक्तिशाली निबन्ध हुन् । यसमा निबन्धकारको आफ्नै निजात्मक अनुभूतिहरू पोखेका छन् । यहाँ पुरानो घडीको लङ्गुर जस्तै घुमिरहेछु यो ससानो वृत्तमा— निबन्धकार विश्वविद्यालयलाई घडी र आफूलाई त्यसको वरिपरि घुम्ने लङ्कुरको रूपमा स्वीकार्दछन् । तीसवर्षसम्म उनले आफ्नो जीवन सुम्पे विश्वविद्यालयलाई । यहाँबाट उनले के पाए, के गुमाए र के अनूभव गरेँ ती सबै कमाएका फलहरूको मिठो रस यहाँ पाठकलाई पिउन दिएका छन् । विश्वविद्यालयमा धेरै प्राध्यापक, धेरै सिद्धान्त र धार बोकेका होलान् तर यसरी ठूलो साहसका साथ आफूले देखेका भोगेका विसँगति र विकृतिलाई यसरी पोख्ने कतिजना पो होलान् र ? यो उनको कार्यक्षेत्रको ठूलो योगदान हो । उनले प्राध्यापकहरूका हक अधिकारका कुरा पनि बोलेका छन् भने प्राध्यापकहरूले पनि विश्वविद्यालय र विद्यार्थीप्रति गर्नुपर्ने उत्तरदायी कार्यको पनि दिल खोलेर प्रस्तुत गरेका छन् । कतिपय प्राध्यापकहरू व्यक्तिगत स्वार्थमा बगेर त्रिवि र विद्यार्थीहरू को भविष्यमाथि खेलवाड गरेको कुरालाई आक्रमक रूपमा प्रस्तुत भएका छन् । त्यस्तै विद्यार्थीहरूले खोज्ने सर्वसुलभता , सरलता , अनियन्त्रित र सहजताप्रति पनि कलात्मक अभिव्यक्ति पोखेका छन् । त्रिभुवन विश्वविद्यालय भित्र देखिने विसँगति र विकृतिलाई उनले आफनो भाषिक कलाले आर्दशता र नैतिकतालाई पालना गर्नु पर्ने सुझाव दिदै व्यक्त गरेका छन् । प्रत्येक विद्यार्थी प्राध्यापक र शिक्षकले पढ्नै पढने यो पाठ जीवनको अनुभूतिले खारिएको बौद्धिकताको कसीले माझिएको एउटा आर्दश व्यक्तिले पोखेको अत्यन्त मर्मस्पर्शी भावहरूको उच्चकोटीको निजात्मक निबन्ध हो । वास्तवमा सम्पूर्ण पुस्तकबाट नै यो थाहा हुन्छ कि निबन्धकार नेपाली मात्र नभई पाश्चात्य भाषा साहित्यका पनि गहना अध्येता हुन् । हुन त यो कुरा उनको महत्वपूर्ण पुस्तक काव्यिक आन्दोलनको परिचय, उत्तरआधुनिक विमर्श, उत्तरआधिुनिक ऐनाबाट थाहा हुन्छ तर त्यहा पोखिएका उनका वस्तुपरक सिद्धान्त यहाँ आएर आत्मपरक निबन्धका रूपमा पोखिएका छन् । चाहिदैन , अब हामीलाई केही पनि चाहिदैन निबन्धमा उनले आत्मपरकताले ती भावहरू यहाँ पोखेका छन् । प्रथम विश्व युद्धपश्चात विश्वमा जन्मिएको दादावादको यहाँ व्याख्या गरेका छन् । स्वान्त सुखाय लेख्छु भन्नेहरूका लागि –मा उनले नेपाली उपन्यास लेखनको कुरा उठाएका छन् र यससम्बन्धी केही जानकारी प्रस्तुत गरेका छन् । नेपाली उपन्यासलेख्ने उपन्यासकारको नामावलीसहित विश्वसाहित्यमा उपन्यासलेखनको कतिको महत्व छ भन्ने कुरा यहाँ देखाएका छन् । अन्त्यमा म किन लेख्छु भन्ने प्रश्नको उत्तर लेखकहरूले आ–आफ्नै तरिकाले दिने कुरा यहाँ उल्लेख गरिएको छ । त्यस्तै कसले भत्काइरहेछ हाम्रो इतिहास यस शीर्षकमा निबन्धकारको राष्ट्रियता झल्केको छ । साथमा हाम्रो देशको इतिहास, संस्कृति , सिमानामा भएको अतिक्रमणप्रति तिखो आलोचनात्मक टिप्पणी छ । शक्तिशालीले जे बोले पनि ठीक र सही हुने, निर्धाले शक्तिहीनले जति चिच्याए पनि केही नहुने अहिलेको अन्र्तराष्ट्रियस्तरमा नै मानवताको भन्दा शक्तिको पुजारीको बोलवाला रहेको यथार्थ पोखेका छन् । गौतम बुद्ध नेपालमा जन्मिएका सबुत प्रमाण हुँदाहुँदै पनि भारतले आफनो बनाइरहदा हामी मूख दर्शक बनेर केहीगर्न नसकेको स्थितिमा ब्यङग्य वाण हानेका छन् । निबन्धकारले बेलाबेलामा वाक्यलाई चोटिलो बनाउँदै राष्ट्रियताप्रति सबैलाई सजग रहन आव्हान गरेका छन् । उनको भाषाशिल्पले पढ्दै जाँदा कतैनकतै आफूलाई राष्ट्रियताको भावले च्वास्सच्वास्स घोचिरहन्छ । यो उनको लेखनको मुख्य विशेषता मानेको छु मैले । यस पाइलाका निबन्धहरू उनका नितान्त वैयक्तित गम्भीर भावाव्यक्तिले भरिएका छन् ।

छैटौँ पाइलाः महान् साहित्यकारप्रति श्रदाभावले भरिएको अभिव्यक्ति :—

यस पाइलामा निबन्धकारले महान साहित्यकारहरूप्रति गरिएका श्रदाभावले युक्त निबन्धहरू राखिएका छन् । यस विषय अन्तगर्त एथेनाका मन्दिरबाट महाकविलाई सम्झदा र जोराको समाधिस्थलमा दुई थुगा फूल निबन्ध छन् । एथेनाको मन्दिरबाट महाकविलाई सम्झिदा मा एथेन्स शहरको यात्रासंस्मरणको साथसाथै यूरोपिय साहित्यमा रचिएको पौराणिक कथा प्रमियसको चर्चा गरिएको छ । प्रमियसले कसरी स्वर्गबाट आगो चोरेर मानवताको कल्याण गरे भन्ने व्याख्या यहाँ गरिएको छ । यस पाइलामा निबन्धकारको मानवतावादी स्वरहरू प्रमियसको कथासँगै महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रशंसामा अवतरित भएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले राष्ट्रको भाषा, साहित्यको क्षेत्रमा गरेका योगदानको यहाँ चर्चा गरिएको छ । त्यस्तै जोराको समाधिस्थलमा दुई थुंगा फूलमा निबन्धकार अमेरिकी भ्रमणमा रहदा अमेरिकाको अत्यन्त शक्तिशाली व्ल्याक लेखिका जोराको समाधिस्थलप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्न पुग्दछन् । कालाजातिले आफ्नो हक अधिकारको लागि अमेरिकामा धेरै लडाइ लडनु प¥यो । अन्त्यमा उनीहरूले आफ्नो सार्वभौमिकता प्राप्त गर्न सफल भए । यसरी उनीहरू लामो समयसम्म दबिएर रहे । ती मध्ये व्ल्याक लिटरेचरको अध्ययनको रुची बढ्न थालेपछि उनको पुस्तक देअर आइजलाई उत्कृष्ट पुस्तक मानियो । उनको मृत्यु भएको १५ वर्षपछि एलिस वाकरले उनलाई उत्खनन गरेर निकालिन र विश्व समक्ष चिनाइन् । तिनै जोरा प्रति र उनको पुस्तकप्रतिको प्रेमले नतमस्तक निबन्धकारको विचारधारा यहाँ पढन पाइन्छ ।
सातौँ पाइला :- भुटानी शरणार्थीप्रति समर्पित बौदिक भावव्यक्तिः—
यस पाइलामा अन्तराष्ट्रियस्तर मा नै भुटानी शरणार्थी ठूलो राजनैतिक वहस र समस्याको रुपमा देखिएको विषयमा निबन्धकार गम्भीर भावव्यक्ति व्यक्त गर्दछन् । भुटानी शरणार्थीप्रति अत्यन्त संवेदनशील निबन्धकारले भुटानी नरेशको निरकुशताप्रति अत्यन्त मीठो भाषाशैलीमा आक्रोश व्यक्त गरेका छन् । निबन्धकारले यहाँ मानव सहअस्तित्व, मानवअधिकारको बारेमा उच्च स्वर सुनिन्छ । भाषिक कलाले छोपिएको ती स्वरहरू पढ्दा सामान्य लागे भएपनि त्यसको अर्थव्यन्जना गहिरो रहेको पाइन्छ । लेखेटिएका हजारौ शरणार्थीहरूले आफ्नो भूमिको लागि लड्नुपर्ने संदेश दिएका छन् । भूटानी शरणार्थीहरूको सार्वभौमिकताप्रति नै हृदय छुने भावव्यक्ति पाइन्छ । भुटानी शरणार्थीहरूको समस्याको उच्चस्वर अन्तराष्ट्रियस्तरमा उठेपनि यसको खास निकासा हुन नसकेपछि अमेरिकाले आफ्नो देशमा बोलाएको निर्णयबारे यहाँ तातिर्क अभिव्यक्ति छ । भुटानी शरणार्थीले अमेरिका जस्तो महाराष्ट्रको निम्तो स्वीकार्ने कि भुटानमा नै आफ्नो अस्तिक खोज्ने भन्ने बारे निबन्धकारले वैचारिक तर्क पेश गरेका छन् । त्यसैले उनी भन्छन् – तिमी अन्तिम मोडमा उभिएका छौ । यस पाइलामा :- तिनीहरू हाम्रो सम्झनाका कम्प्युटरबाट क्लिक, डिलिट र ओके हुनेछन् तिमी अन्तिम मोडमा उभिएका छौ निबन्ध छन् ।


आठौँ पाइला :- विदेश भ्रमणमा जाँदाका केही सस्मरणहरु —

सङ्गहका केही निबन्ध विदेशभ्रमणसँग सम्बन्धित छन् । त्यसैले यस पाइलामा ती निबन्धहरूलाई समावेश गरिएका छन् । यसअन्र्तर्गत दुखान्तहरूको रङ्गमञ्चमा पाइला टेक्ता र– एउटा अवोध गाउँले सहर पसे जस्तै छन् । एउटा अवोध गाउँले सहरमा निबन्धकारले अमेरिका भ्रमणमा रहदाको क्षणलाई आत्मगत रूपमा व्यक्त गरेका छन् । अमेरिकाले गरेको इलेक्ट्रोनिक विकास र त्यसले शिक्षण क्षेत्रमा पारेको प्रभाव देखेर निबन्धकार चकित बनेका छन् । साँच्चै एउटा अवोध गाउँले सहर पसेर अलमलिएको जस्तो भावव्यक्ति दिएका छन् । वास्तवमा नै हाम्रो देशको शैक्षिक अवस्था कस्तो छ र यहाँका विद्यार्थी र शिक्षकको मनोवृत्ति कस्तो छ भन्ने कुरा यहाँ निबन्धकारले प्रष्टाएका छन् । उनले शैक्षिक क्षेत्रमा लागेका व्यक्तिलाई संदेश मूलक अभिव्यक्ति दिएका छन् । यहाँ कतैकतै निबन्धकार मानवीय प्रवृत्तिमा दानवीय प्रवृत्ति बढ्दै गएको हाम्रो देशको वर्तमान अवस्थाप्रति तिखो आक्रोश पोख्न चुकेका छैनन् । त्यस्तै दुखान्तहरूको रङ्गमञ्चमा पाइला टेक्तामा उनी हामीलाई विकासशील राष्ट्रको सभ्यताको बारेमा वैचारिक अवतरण गराउन पुग्छन् । हाम्रो देशमा जब शिक्षाको ढोका उध्रियो त्यस बेला पश्चिमी मुलुकले विकासको लामो फड्को मारिसकेको थियो । सभ्यताको सही पथप्रदर्शनले विकासको लामो फड्को मार्नसकेका थिए पश्चिमाहरूले, जसको पृष्ठभूमि थियो तीनहजार वर्ष अघिको एथेन्सको सभ्यता । आफ्नो देशको सभ्यता अधभरो भएको बेला निबन्धकार ग्रीसको सभ्यतासँग आफ्नो देशको सभ्यता तुलना गर्न पुग्छन् । आफ्नो देशमा जनयुद्ध छेडिएको बेला, दानवीय प्रवृत्तिले साम्राज्य फैलाएको बेला पश्चिमी सभ्यता, सँस्कृति साहित्य र ज्ञानको अथाह भण्डार देखेर अचम्म मान्दै तुलनात्मक अभिव्यक्ति दिन पुग्छन् । देशमा चलेको द्वन्दले क्षतविक्षत उनको विवेकशील चिन्तन पश्चिमी मुलुकको सभ्यता र विकास देखेर छटपटाउँछ । उनी विवेक र भावलाई यही प्रस्तुत गर्छन् – ‘अब यो इ–लर्निङ हाम्रोमा प्रयोग गर्न सकिएला ? हामीले धेरैबेर सोच्यौ । हामीलाई शंकाले छोप्यो । त्यसबेला मेरो मनमा केही घटनाहरूको रिल फनफनी घुम्यो । हातमा लाठा बोकेर विनाशका गीत गाउँदै विद्यार्थीहरू मच्चिए । तीस वर्ष लगाएर गुरुहरूले जोडको एउटा ओएचपी धूलो पारिदिए, कम्प्युटर पडकाए ; कुर्सीहरू खरानी पारे, टेबुल ढुट्याए, पुस्तकालय बाले अझै बाँकी रहेकामा आगो झोस्न खोजिरहेका छन् । पाँच वर्ष भित्र कीर्तिपुरमा मात्रै कम्तीमा पचास लाखको सम्पत्ति स्वाहा भयो । कति गुरुहरूले राजीनामा ठोक्दै भाग्दै गरेका छन् र कति गोजीमा बोकेर काम्दै क्याम्पस पुगेका छन् । यस्ता डरलाग्दा कुरा आजानमा कसैलाई भन्न चाहिनँ तर सुकरातलाई सुनाउन पायो , अरस्तुलाई भन्नुपयो र प्लेटोसँग संवाद गर्नु पर्यो भनी म पनि ग्रीस सम्म पुगेको थिएँ । यहाँ निबन्धकारको उच्च आर्दश र विवेक प्रकट भएको पाइन्छ । ’

नवौँ पाइलाः मोफसलको सिर्जनाप्रति आत्मीय भाव पोखिएका निबन्धहरू

वास्तवमा केन्द्रमा बसेर मोफसलको साहित्यप्रति यति धेरै स्नेह प्रकट गर्नु निबन्धकारको भाषा साहित्यप्रतिको विशेष लगाव नै मान्नु पर्दछ । मोफसलको सहित्यलेखनको कम चर्चा हुने मोफसलका साहित्यकारहरूको सधैँ गुनासो रहने गरेको छ । यसलाई अपवादको रूपमा लिँदै सर्जक गोविन्दराज भट्टराईले मोफसलको साहित्यप्रति विशेष लगाव रहेको भनी यहाँ चर्चा गरेका छन् । उनले पूर्वको मेचीको दुई थुँगा फूललाई टिपेर यस पाइलामा सजाएका छन् । पूर्वका अन्य साहित्यकारहरूको नाम लिदै विशेषगरी श्यामकृष्ण श्रेष्ठ र गोपाल कुमार बस्नेतको क्रमश ‘मेरो जागिरे जीवन’ र ‘आफनै सेरोफेरो’ चर्चा गरेका छन् । दुबै साहित्यकारको लेखनमा उत्कृष्टता रहेको र झापाको ऐतिहासिक , प्रशासनिक, आर्थिक र सामाजिक अवस्थाको उजागर गर्ने यी कृति अत्यन्त महत्वपूर्ण रहेको व्याख्या गरेका छन् । यो पाइला कलात्मकता भन्दा बढी विवरणात्मकरूपमा पाठकलाई स्विकार गर्न सजिलो पर्दछ । मोफसलको सिर्जना र केन्द्रसँगको मुठभेड सधैँ ओझलमा परिरहने मोफसल साहित्य लेखनको आफनै पीडा हुन्छ । यस शीर्षकमा मोफसल साहित्यप्रेमी समेत रहेका निबन्धकार पश्चिमाञ्चलको साहित्यिक गतिविधिको चर्चा गरेका छन् । धवलागिरि बाङ्मय मञ्चले स्थापना गरेका कार्यक्रममा धवलागिरिमा भएका साहित्यकारहरूको साहित्यिक उत्साहलाई दिल खोलेर प्रशंसा गरेका छन् । निबन्धकारले यहाँ साहित्यिक क्षेत्रमा पनि साहित्यकार स्वयम् ले विकेन्द्रीकरण सिद्धान्त लगाउनुपर्ने र एकलताबाट बहुलतातिर लाग्नु पर्ने दृष्टिकोण राखेका छन् ।

दसौँ पाइला:- अङ्ग्रेजी भाषाको सङ्क्रमणले क्लान्त पारिएका केही घटनासहितका विचारहरूः—

निबन्धकार विश्वविद्यालयमा अङ्ग्रेजी भाषाशिक्षक रहेका हुनाले उनीसँग अङ्ग्रेजी भाषासम्बन्धी धेरै घटना र अनुभव रहेको यहाँको निबन्धबाट बुझिन्छ । ती निबन्धलाई यस पाइलामा समावेश गरेकी छु । ती हुन् - त्रिवि दिवसमा भानुको सम्झना , कुनै ढोका खुलेन । कतै उज्यालो देखिएन , त्रिवि दिवसमा भानुको सम्झनामा यो पाइला कवि कालीप्रसाद रिजालले गरेका पश्चातापका अभिव्यक्तिबाट प्रभावित भएको छ । उनले भनेका छन् – ‘हाम्रो देश कहिल्यै पनि अङ्ग्रेजहरूको गुलाम भएन तर हामी अङ्ग्रेजीको भने सधैँ गुलाम रहँदै आएका छौँ । अङ्ग्रेजी स्कुलमा पढ्न पाएको भए अङ्ग्रेजीमा लेख्न सकेको भए म कत्राकत्रा पुरस्कार जितिसक्थेँ हुलाँ ।’ यो अभिव्यक्तिबाट थाहा हुन्छ अङ्ग्रेजी भाषाको लोकप्रियताको कुहिरोले हामीलाई कसरी ढाकिसकेको छ भन्ने र यहाँ निबन्धकार त्यो कुहिरोको घुम्टो यसरी उधार्न खोज्छन् – ‘उनले अङ्ग्रेजीमा लेखेर प्रसिद्धी कमाएका सम्राट उपाध्यायलाई हेरेर त्यो भनिरहेका थिए, मञ्जुश्री, डिबी गुरुङ आदिले कमाएका प्रशंसालाई हेरेर बोलिरहेका थिए अन्य भाषामा लेख्नु अतिरिक्त क्षमताको कुरो हो । त्यसको हामी प्रशंसा गर्दछौ तर त्यो भनेको अरूको गोठमा बाधिएका जर्सी गाई दुहिन्जेलको आनन्द हो । आखिर त्यो दुध पनि उतै जान्छ ।’ उनले यहाँ आफनो भाषाप्रति वितृष्णा जगाउने अभिव्यक्ति र कामप्रति नै तिखो व्यङ्ग्य छानेका छन् । अङ्ग्रेजी भाषाको मोहले विश्वविद्यालयका प्राध्यापकहरू मातृभाषाको आस्तित्व कसरी उखेल्न खोजिरहेका छन् त्यो पनि यहाँ देखाइएको छ । नेपालभित्र रहेका विभिन्न भाषालाई भाटाहरूको रूपमा नेपाली भाषालाई राष्ट्रको खाँबोको रूपमा उनले प्रतिकात्मक ब्याख्या गरेका छन् । कुनै ढोका खुलेन । कतै उज्यालो देखिएन – यो पाइलामा निबन्धकारले नेपाली समाजमा मात्र नभई विश्वमा नै अङ्ग्रेजी भाषा कसरी भूतजस्तो बनेर सबैलाई तर्साइरहेछ भन्ने कुरा देखाएका छन् । अङ्ग्रेजी भाषाको कारणले नै एउटा प्रेमीले प्रेमिका गुमाउनु परेको र अङ्ग्रेजी भाषाको कारण नै विद्यार्थीले आत्महत्या गर्नु परेको कुरा यहाँ खुलाएका छन् ।
समग्रमा भन्नुपर्दा निबन्धकार गोविन्दराज भट्टराईको यो कृति नेपाली साहित्यको एउटा मानक कृति हो । यहाँ विचारको उग्र हकाइ छ, , भावको निस्छलन प्रभाव छ , भाषाशिल्पको अनुपम कला छ र विवेक र आर्दशको उच्च मूल्य छ । जीवनको अनुभूतिले खरिएको, बौदिकताले माझिएको भाषा कलाले शृगारिएको, आर्दश जीवनले पस्केको यस्ता कृति नेपाली भाषा साहित्यमा विरलै पाइन्छन् ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।