मनोकामना जाने केबुलकार नचढ्नु भनेको नेपाली भएर चुनावमा भोट नखसालेर अनाधिकृत भएर बाँच्नु परेको भान भइरहेको थियो मलाई । धेरैले धेरैचोटिको 'अझसम्म केबुलकार चढ्नु भएको छैन' भन्ने जिज्ञासाका झटाराहरूले म घाइते भइसकेको थिएँ । मानिसको मन पनि अनौठोको हुँदोरहेछ । कुनै बेलाको समय हो यही मन घुम्न र डुल्न भनेपछि के केन विजयप्राप्त गरेझैँ मनमा उत्साह र उमङ्गले साम्राज्य फैलाउँथ्यो । तर अहिले यही मन घुम्न र डुल्न भनेपछि डाँडाले बादलको घुम्टो ओढेर बसेझैँ बसिदिन्छ । अब मनमा त्यो किसिमको जाँगर र रहरहरू सबै विलाइसके । जलवायु परिवर्तनले हिमालको हिउँ पग्लेझै दायित्वको भारीले सबै इच्छा र आकाङ्छाका चम्किला रहरहरू पगालिसके । त्यसैले पनि होला मनोकामनाको जाने उत्सुकतालाई मनले जन्माउन सकेको थिएन । तर सानो छोरीको बारम्बार 'मनोकामना जाने' भन्ने सुगा रटाइले मेरो मनलाई तात्तातो डोनट पकाउने तेलझैँ तताउन थालेको थियो । मनमा जाँगर उम्लेपछि मनोकामना जाने योजनाको डोनट पाक्न कुनै समय पर्खनु परेन । अब वि.स. २०६७ कात्तिक १५ गते मनोकामना जाने यात्राको डोनट पाकेर हाम्रो अगाडि थियो । अब हामीले यसलाई सेवन गर्न मात्र बाँकी थियो ।
यात्राकार दामादर पुडासैनीले भनेका छन् - 'यात्राका शृङ्खलाहरूको आकार हो जिन्दगी । जगतका रङ्गहरूसँग तादत्म्य कायम गर्दै अघि बढ्दछ जिन्दगी । घाम र जून, आकाश र धर्ती, प्रकाश र अँध्यारो त्यसमाझ छेडिने अनन्त यात्रा हो जिन्दगी ।
हरेक क्षणहरू उत्सव छन् यात्राका । हरेक मोडहरू स्मरण हुन्, यात्राका । हामीहरू कल्पनाभन्दा बाहिरका भेट्छौ कति मोडहरू । भेटिएका कैयौँ मोडहरूले अर्थ प्रेक्षण गर्दैनन्, बुझ्दैनौँ कति मोडका यथार्थ अर्थहरू र बुझेका कैयौँ मोडका अर्थहरू बाँच्दैनन् स्मृतिको अभिलेखमा ।
जिन्दगीलाई पूरै यात्रामय बनाउन सक्ने र यात्राको पूरै अभिलेख राख्न सक्नेहरू नै र्सार्थक सारथि बन्न सक्तछन् समकालीन परिवेशमा ।'
जीवन बाँच्ने नशामा यात्राको रस बेग्लै हुन्छ जसले यो रस लिन जान्दछ उसले दामोदर पुडासैनीका यी वाक्यहरू कहिल्यै विर्सन सक्दैनन् । साँच्चै जीवन यात्रा हो । यात्रा जीवन हो । जीवन एउटा गति हो । यात्राका अनेकौँ रङ्गले भरिँदै जीवन गतिवान भइरहेको हुन्छ । कहिले जीवन अनकन्टार जङ्गलमा एक्लै यात्रा गरिरहेको हुन्छ त कहिले महाभारतको सङ्ग्राममा हुन्छ त कहिले सोच्नै नसकिने घटना परिघटनाले चलायमान भइरहेको हुन्छ ।
अहिले म केबुलकार चढ्न कुरिनटारको रमणीयस्थल भनौँ केबुलकार चढ्ने स्टेसनमा लाइनबद्ध भएर उभिएको छु । यो क्षेत्रमा प्रबेश गर्न अधि नै मनले आनन्दको सगरमाथा चढ्न लिस्नो लगाइसकेको थियो । यति रमणीयस्थलमा आउन मैले अहिलेसम्म किन ढिला गरेँ भनेर मनले आत्मग्लानिको व्याड लगाउन थालिसकेको थियो । जब पारि डाँडामा एकपछि अर्को गर्दै केबुलका कारहरू सल्लाह गर्दै दौडेको रमणीय दृश्य देखेँ तब व्याडका नर्सरी हुर्केर हलहल हुँदै पाश्चतापको फूल उर्मान थाले ।
सुन्दर गेटबाट हाम्रो मनोकामना यात्रा गराउने गाडीभित्र छिेरेपछि त्यहाँ देखिएको हरियाली, स्वच्छ वातावरण र सुन्दर बोटबिरुवाहरू देखेर आँखा र मनले ठूलो विश्रान्ति पाएको महसुस गर्यो । ठाउँठाउँमा राखिएकोर् इश्वरको मूर्तिहरू अनि जनावरका मूर्तिहरू त्यही अनुसारको बोटबिरुवा, फूलहरूले कतै नेपाल होइन कि भन्ने भान पर्न गयो मलाई । लाइनबद्ध भएर सिढी उक्लेपछि पानीको व्यवस्थित र आर्कषित बगाईमा आँखाहरू आनन्दको तृप्तिमा लठ्ठएि । लाइबद्ध हुँदै हामी केबुलकार चढ्नलाई प्रतिक्षारत छौँ । मनोकामना जाने टुरिष्ट बसले सातसय बीस रुपैयाँमा यो यात्रा गराएको थियो । यसमा केबुलकारले तीनसय नब्बे रुपैयाँ टिकटको लिँदोरहेछ । यसरी यात्रा गर्दा खासै महंगो नपर्ने र झन्झटिलो पनि नहुने यात्रीहरूको भनाइ रहेछ । यो स्थल देखेर आफूलाई निकै गौरव लाग्दोरहेछ । हाम्रो देशमा पनि विदेशको जस्तो ठाउँ रहेछ भनेर । माथि डाँडामा के्बुलकारका कारहरू लाइनबद्ध भएर कुदिरहेका थिए ।
विज्ञानको चमत्कार पनि वर्णन गरिनसक्नुको छ । यति सानो तारमा झण्डै चारसय पचास केजी वजन भएको कार थाम्नु मात्र नभई लिएर दौडनु कुन शक्ति होला -त्यो पनि एक सेकेण्ड कतै तलमाथि नभई स्वचालित मेशिनबाट । यदि यही काम मानिसले गर्नुपरेको भए कति ठूलो जनशक्ति चाहिदो हो, हामी कल्पना गर्न सक्छौँ वा सक्दैनौ - यो प्रश्नको उत्तरलाई यही थाती राख्दै म फेरि मोडिन चाहान्छु केबुलकारको निरन्तर कुदिरहेको कारहरूको दृश्यमा । तेइस वर्षघि मेरो जीवनको कार यसरी नै यात्राको तारमा मनोकामना मन्दिरको दर्शनमा कुदिरहेको कारझै सस्मरणको तारमा ब्युझन्छ मभित्र । त्यो बेला मेरो विवाह भएको भर्खर एकमहिना भएको थियो । मेरो उमेर त्यस्तै उन्नाईस सकेर बीसमा टेकेको थियो । वास्तवमा जीवन कति गतिवान रहेछ, म त्यो केबुलकारको तार एकोहोरो हेरिहेको छु, विगतको स्मृतिमा अल्झेर । त्यो कार पनि मेरो जीवनजस्तै घुमिरहेको छ सस्मरणरुपी तारमा । तारसँगै जोडिएका कारमा कैयौँ यात्री आउँदै जाँदै गरिरहेका छन् । यी सबै यात्री एकै किसिमका छैनन् । ती प्रत्येक यात्रीहरू फरकफरक भेषभुषा, सामाजिकस्तर, प्रकृतिका छन् मेरो जीवनको भोगाइजस्तै । मेरो जीवनको केबुलकार विवाहपछि अनेकौँ अनुभव घटनाका यात्री बोक्दै हिँडन थाल्यो । त्यसबेला सबै कुरा आँलाकाँचा र अपरिपक्व थिए । आमाबुवाले कुनै अपरिचित परपुरुषको हातमा जीवन सुम्पेका थिए । विवाह गरेर गएपछि एकपल्ट पनि माइत नगई मनोकामना दर्शन गर्न गएका थियौँ हामीहरू । मलाई ती दिनहरू निकै अनौठो लाग्दथे । चितवनको रामपुर कृषि क्याम्पस नजिकैको सानो गाउँको एउटा सानो कोठामा मेरो जीवनको कार गुडिरहेको थियो । म कहाँ बसेको छु - कोसँग बसेको छु - अपरिचित ठाउँ, अरिचित मानिसहरू ! जीवनमा अनेकौँ रङ्गहरूको मिश्रण हुन थालेको थियो । माइत धरानमा तीनतले घर,झण्डै चालीस पचास कोठाहरू, त्यत्तिकै घरका पच्चिस तीसजनाको परिवार अनि आउनेजाने परपहुनाको बेग्लै कुरा । त्यस्तो ठाउँबाट यो अनकन्टार ठाउँमा म किन, कसरी र कोसँग बसिरहेको छु भनेर आफैलाई प्रश्न गर्न मन लाग्दथ्यो अनि अचम्म पनि लाग्दथ्यो । संसारको सृष्टिको सानो नमूना रहेछ त्यो । किनभने सृष्टि यस्तै सानो बिन्दुबाट सुरु भएर बिशाल ब्रहाण्डभएर फैलदोरहेछ ।
त्यो बेला म बीस रुपैया दैनिकीमा एउटा बोङ्गगि स्कुलमा पढाउँथे भने आज मेरा दिनको हजारौँ रुपैयाँ खर्चदेखेर आफैलाई अचम्म लाग्छ । त्यहाँ चार रुपैयाँ लिटरमा हामी दूध खान्थ्यौँ, चार रुपैयाँ किलो केराउको दाना थियो । पाचसय रुपैयाँमा हामीले एउटा गाई किनेर पाल्न दिएका थियौ अधियामा । पछि दूध खाइसकेर पाचसय रुपैयाँमा नै हामीले त्यो गाई बेच्यौँ । यी कुरा सम्झदा मात्र पनि मलाई कल्पना हुनकी जस्तो लाग्न थालेको छ । अझ आजको पुस्तालाई सुन्दा कस्तो लाग्ला -
मेरो श्रीमानले बैकबाट जागिरे अवस्थामा त्यहाँ पढ्नलाई छात्रवृत्ति पाउनुभएको थियो । भनौँ हामीले सातसय पचासमा घर्रखर्च चलाउनुपर्दथ्यो । श्रीमानका साथीहरूका साथ हामी दुईको मनोकामना जाने योजना बनेको थियो । त्यो बेला आबुखैरेनीबाट दिनभर हिँडेर मनोकामना बास बसेर भोलिपल्ट मात्र डेरा आइपुगिन्थ्यो । योजनामुताविक हामी बिहान सात बजे रामपुरबाट मनोकामनाको लागि प्रस्थान गर्यौँ । भर्खर विबाह भएकोले हामी दुई एकआपसमा राम्रोसँग खुलिसकेका थिएनौँ । विवाहमा लगाएको नयाँ जुत्ताले मेरो खुटामा रामै्र घाउ बनाएको थियो । उमेरको अपरिपक्वताले जन्माएको अनविज्ञतामा म कुनै जङ्गलमा भौतारिएको यात्रीझैँ भएकी थिएँ । कस्तो खालको जुत्ता लगाउँदा ठीक होला भन्ने हेक्का समेत थिएन मलाई । पछि श्रीमानले थाहा पाउनुभयो । उकालो हिँडन थालेपछि घाउ मजाले दुख्न थाल्यो । अब के गर्ने - जुत्ता बोकेर खाली खुटा हिँडनुको सिवाय अर्को विकल्प थिएन मसँग । ढुगैढुगा भएको बाटो फेरि ठाडै उकालो हिँडनुपर्ने खाली खुटाले कति मुश्किल भयो होला - हातमा एउटा लौरो थियो । भएका केही सामान श्रीमानले बोक्नुभएको थियो । बाटामा हिँडने यात्रीहरू मेरो हालत देखेर सहनुभूति नजनाउने प्रायः कोही थिए होलान् ।
'सारै दुख पाउनुभएछ ।'
'बिस्तारै हिँडनु होला ।'
'अहो ! कस्तो कष्ट पाउनु भयो -'
त्यो बेला पराइृमान्छेमा पनि कति धेरै आत्मीयता थियो । विज्ञानले केबुलकार बनाइदिएर त्यो आत्मीयता, सदभाव खोसेको होकि जस्तो लाग्यो मलाई अहिले ।
त्यो बेलाको इश्वरप्रति प्रकट हुने आस्था र श्रद्धा अब यो केबुलकारले पन्ध्र मिनेटमा पूरा गर्न सक्ला र - आफैलाई प्रश्न गर्न मन लाग्यो । पन्ध्र मिनेटमा पुगिने मन्दिरमा पनि मानिसहरूको व्यग्रता देखेर आफैलाई पनि त्यो बेलाको अवस्थासँग तुलना गर्न मन लाग्यो । त्यो बेला म नाक ठाक्किने उकालोमा खाली खुटा फेरि एकादशी ब्रत परेकको दिन भोकै कसरी मन्दिर पुगेँ हुँला - आज सम्झदा पनि सपना होकि जस्तो लाग्छ । तर पनि त्यो दुख कष्टमा अर्कै रोमाञ्चकता थियो । त्यो रोमाञ्चकता अहिले म कुनै हालतमा पाउन सक्दिनथेँ । अहिले मलाई आधा घन्टा कुर्नुपर्दा पनि कैयौँ घन्टा कुर्नु परेझै लागिरहेको थियो । केबुलकारमा यात्रीहरू आउनेजाने क्रम भइरहेको छ । मेरो मनको तारले पनि तेइस वर्षअघिको जीवनको सस्मरणहरूलाई फन्को मारिरहेको छ, त्यो केबुलकारलेझै । यो केबुलकार इश्वरप्रतिको भक्ति आस्थाभन्दा केही बढी पर्यटन व्यवसायको एउटा ठूलो खम्बा भएको अनुमान गरेँ मैले । त्यहाँ मैले स्वदेशी मात्र नभई धेरै विदेशीहरू त्यसमा पनि भारतीय पर्यटकहरू बढी भएको देखेँ । पर्यटकको यति ठूलो जमात देखेर मेरो मन पारी डाँडामा फुलेको सयपत्री फूलझैँ ढकमक्क भएर फुल्यो । वास्तवमा यो मनोकामनाको केवुलकार बाह्य मात्र नभई आन्तरिक पर्यटनको लागि ठूलो गन्तव्य स्थल हो । यस क्षेत्रको सौर्न्दर्य देखेर मलाई मेरो इटहरीको सम्झनाले आतुर बनायो । इटहरी, पूर्वको कनिष्ठ सहर भए पनि यतिखेर साहित्य, कला र उद्योग व्यवसायमा निकै अगाडि आइसकेको सहर हो । इटहरीको तालतलैया प्रकृति आफैले सिँगारेको निकै समणीयस्थल हो । यस्तै चिन्तन चौतारी रेष्टुरेन्टको कलाकारिता देशकै एउटा अनुपम नमूना हो । विभिन्न जातजातिको भेषभुपा, सँस्कृति झल्कने नमूना घरहरू र कलात्मक फूलबुट्टले सिँगारिएको चिन्तन चौतारीको कलाको वर्णन गर्दा मलाई शब्दको कमी भएको हो कि भन्ने महसुस भइरहेको छ । कलाप्रेमी कोही पनि साहित्यकारले एकपल्ट चिन्तन चौतारीको कलालाई र्स्पर्श गर्ने सौभाग्य पायो भने ऊ धन्य हुनेछ भन्ने मेरो आफ्नै तर्क छ । त्यस्तै भव्यरुपमा बन्दै गरेको काव्यवाटिकाले साहित्य र कलालाई आजन्म जीवन्त राख्नेछ भन्ने मेरो अनुमान छ । यस्तै व्यवस्थित सहरीकरण र आर्कषक चोकको दृष्यले इटहरीको रौनकता दिनपरदिन बढ्दै गएको छ । त्यस्तै मेरो जन्मभूमि धरान पर्यटकीय दृष्टिले अति नै उत्तम स्थल हो । भेडेटारमा भएको चाल्सप्वाइन्टबाट देखिने समथर तराइदेखि कोसी नदीको फैलावटको दृश्यलाई जोकोही पर्यटक आँखाबाट ओझल पार्न सक्दैनन् । त्यस्तै एैतिहासिकस्थल विजयपुर डाँडामा भएको ऐतिहासिक मन्दिरहरु पिण्डेश्वरी बाबा, दन्तकाली मन्दिर, बूढासुब्बा मन्दिर र पञ्चकन्याको मन्दिर आ-आफ्नै ऐतिहासिक गरिमा बोकेर प्रसिद्धि पाएका मन्दिरहरु हुन् । धरानको पश्चिमपट्टि पर्ने चतराको सिरानमा रहेको बराहभगवानको मन्दिर अझ नेपालमा मात्र नभई भारतमा पनि धार्मिक र साँस्कृतिकरूपले गरिमामय महत्व बोकेको मन्दिर हो । विष्णुभगवान्को साक्षात अवतार मानिने यस मन्दिरमा कार्त्तिक महिनामा ठूलो मेला लाग्ने गरेको छ । जुनबेला भारतबाट हजारौँ तिर्थालुहरु दर्शन गर्न आउने गर्दछन् ।
यो मन जहाँ कहीँ गएपनि आफू जन्मेको हुर्केको ठाउँमा आएर मात्र रमाउँदो रहेछ । मलाई लाग्यो म युरोप, अमेरिका जहाँ पुगेपनि मेरो मन धरान र इटहरीको रमणीयस्थलमा अल्झिरहेको हुन्छ होला शायद । अहिले पनि मेरो हृदयले मेरै गाउँठाउँको चित्रलाई मेरो सस्मरणको भकारीमा भरिरहेको थियो ।
केवुलकारका कारहरू एक सेकेण्ड पनि नरोकिई घुमिरहेका छन् । अब हाम्रो चढ्ने पालो आएको छ । कहिले नचढेको ठाउँमा मनमा केही रोमाञ्चकता र त्रास छँदै थियो । तर यात्रामा डर, त्रास भय लिएर हिँड्यो यात्रा कहिले आनन्दमय हुँदैन भन्ने मन्त्र मैले मनमनै जपे । कार गुड्न थालेपछि हेलिकप्टरमा चढेको जस्तो लाग्यो मलाई । कान्छी छोरीकेही डराएजस्ती भएकीले उसलाई अलमलाउन पारि डाँडाका घरहरू र दृश्यहरू उसलाई देखाएर भुलाउन थालेँ । बाबु र छोराले पालैपालोगरी फोटो खिचे । चढेको केही मिनेटमा मन्दिर पुगिदा अझ चढिरहूजस्तो भइरह्यो । कारबाट झरेर हामी सिधै मन्दिरतिर लाग्यौँ । बाटामा दुईतर्फी पसलहरु लाइनबद्ध थिए । सुरुमा फूलप्रसाद बेच्नेको लाइन थियो भने त्यसपछि काठका र अन्य सामानहरु बेच्ने पसल थिए । खासगरी काठका र बेतका राम्राराम्रा सामानहरू यहाँ मैले देखेँ । छोरा र छोरीले निकै भोकाएको र खानाको माग तीव्ररूपमा गर्न थालेकाले लाइनमा नबसी बाहिरबाट फूलप्रसादीहरू चढाएर दर्शन गर्ने कामलाई न्युनिकरण गर्यौँ हामीले । केही समय फोटो खिचेर खाना खाने राम्रो होटलको निरीक्षणमा लाग्यौँ । खाना खाइसकेर दुई दम्पति तेइस वर्षघिको घटना सम्झँदै त्यो समयको मनोकामना मन्दिरको अवस्था र अहिलेको अवस्थाको विश्लेषण गर्न थाल्यौँ । यो ठाउँ त्यो समयमा र अहिले धेरै भिन्न थियो । त्यो बेला मन्दिरको वरिपरि केही काठका घरहरू, होटल र लजहरू थिए भने अहिले 'तँ ठूलो कि म ठूलो भन्दै अग्लिएका सिमेन्टका अग्ला घरहरू लाइनबद्ध थिए । मनोकामना मन्दिरको परिवर्तन देखेर म आफैलाई तुलना गर्न मन लाग्यो । त्यो बेला दुखेको हातखुट्टाको पीडा र ज्वरो अहिले मलाई थिएन । त्यो बेलाको मेरो मनस्थिति र परिस्थिति अहिलेको समयकोभन्दा बिल्कुल फरक थियो मनोकामनाको मन्दिरको परिवेशजस्तै । कहाँ त्यो बेलाको एक्लो जीवन, सीमित आय, सीमित सोचाइ अनि कहाँ अहिलेको चारवटा छोराछोरीको भविष्य उज्ज्वल बनाउने दायित्वको भारी, सामाजिक मानमर्यादा र प्रतिष्ठा, प्रतिभाको खानी फुटाउन चलाउनुपर्ने गैँती र बेल्चाहरू, दैनिक जीवनमा हजारौँ रुपैयाको आम्दानीखर्चले मनमा चलाउने रेती अनि सबैभन्दा ठूलो कुरो उमेरले दिनपरदिन गलाउने मानसिक थकाइ, त्यो बेलाको थकाइ र पीडाभन्दा धेरै गुणाले बढी भएको महसुस अहिले मैले गरेँ ।
आज म सोच्छु के मैले त्यो बेला मेरो जीवनको यात्रामा यो दिन र यस्ता दिन आउँला भन्ने कल्पना गरेको थिएँ हुलाँ र - भ भन्छु यी दिनहरू त्यो बेला भविष्यको यात्रा गन्तव्यको क्षितिजमा कतै पार्श्वचित्रझैँ कोरिएको थियो क्यार । त्यसैले आज मेरो जीवनको केबुलकारले यसरी सकुशल फन्को मार्न सकिरहेको छ । त्यहाँ एउटा ठूलो शक्ति थियो । नत्र कुनै पनि बेला मेरो जीवनको केबुल चुँडिएर मेरो जीवनको यात्रा गन्तव्यमा नपुगी दुर्घटनाग्रस्त हुनसक्थ्यो । कुनै कुराले कल्पना नगरी त्यसले साकाररूप लिन सक्दैन । त्यो बेलाको मेरो जीवन काँचोमाटो भएर कुमालेको चक्रमा घुमिरहेको थियो र आज यो आकार लिएको छ । यसले अझै पाक्न, खारिन र माझिन बाँकी नै छ । साँच्चै मेरो जीवनको यात्राले केबुलकारको कारले विभिन्न यात्री बोकेर दौडिएजस्तै विभिन्न अनुभूतिका भारीहरू बोकेर निरन्तर घुमिरहेको छ , घुमिरहेको छ ।
2 comments:
"त्यो बेला पराई मान्छेमा पनि कति धेरै आत्मीयता थियो । विज्ञानले केबुलकार बनाइदिएर त्यो आत्मीयता, सदभाव खोसेको होकि जस्तो लाग्यो मलाई अहिले ।"
लेखनमा जीवन उतार्नु नै लेखकको विषेशता हो । जीवन र जगतका भोगाइ, अनुभव र अनुभूति तथा मानवीय प्रवृत्ति र संचेतनालाई दार्शनिक, लाक्षणिक र श्रृंगारिक अभिव्यक्ति दिन सक्ने लेखिकाका रूपमा मैले शर्मिला खड्कालाई पढ्दै आएको छु ।
शिव प्रकाश
बोस्टन, अमेरिका ।
Padhi Rahu Lagne Sasmaran. Padhda Padhdai Sakiyako Thahai Bhayana.
Post a Comment